पोउवा संघको चुनावः फेन्सी तथा रेडिमेड व्यवसायी संघका ९ उम्मेदवार, मनोहरी पौडेल मात्र विजयी

पोउवा संघको चुनावः फेन्सी तथा रेडिमेड व्यवसायी संघका ९ उम्मेदवार, मनोहरी पौडेल मात्र विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा संघमा सबैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन्।

फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनमा अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म विभिन्न पदमा ९ जना व्यवसायीले उम्मेदवारी दिएका थिए।

तीमध्ये कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका पौडेलले उत्कृष्ट मतसहित विजयी हुँदै संघको कार्यसमितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेका हुन्।

फेन्सी तथा रेडिमेड व्यवसायी संघका तर्फबाट अध्यक्ष पदमा संघका पूर्वमहासचिव बलराम आचार्य उम्मेदवार थिए। वरिष्ठ उपाध्यक्षमा संघका आजीवन सदस्य टिकाराम सुवेदी तथा वाणिज्य उपाध्यक्षमा साधारण सदस्य भीम गौतम उम्मेदवार बनेका थिए।

त्यस्तै, उपमहासचिव पदमा संघका अध्यक्ष यादवप्रसाद पोखरेल र साधारण सदस्य रामचन्द्र तिमिल्सेना उम्मेदवार थिए। कोषाध्यक्ष पदमा साधारण सदस्य जीवनप्रकाश श्रेष्ठले उम्मेदवारी दिएका थिए।

कार्यसमिति सदस्यतर्फ आजीवन सदस्य हरिप्रसाद अधिकारी, साधारण सदस्य नवीन नापित र साधारण सदस्य मनोहरी पौडेल चुनावी मैदानमा थिए।

प्यानलमा नपरेका पौडेल एक्लो विजयी
हालै अध्यक्षमा निर्वाचित शोभा गौतमको प्यानलमा समेत नपरेका पौडेलले कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। फेन्सी तथा रेडिमेड व्यवसायी संघसँग आबद्ध ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहे पनि निर्वाचन परिणाममा पौडेल मात्र निर्वाचित भएपछि उनको विजयलाई संघभित्र विशेष चासोका रूपमा हेरिएको छ।

पौडेलको विजयसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा फेन्सी तथा रेडिमेड व्यवसायी क्षेत्रको प्रतिनिधित्व भएको छ। व्यवसायीको हकहित, फेन्सी तथा कपडा व्यवसायको प्रवर्द्धन र व्यवसायमैत्री वातावरण निर्माणका विषयलाई कार्यसमितिमा प्रभावकारी रूपमा उठाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट अध्यक्षसहित महत्वपूर्ण पदमा उम्मेदवारी परे पनि अन्य उम्मेदवार निर्वाचित हुन नसक्दा निर्वाचन परिणाम संघभित्र चर्चाको विषय बनेको छ।

यो पनि पढ्नुहोस् :  कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

नौ उम्मेदवारमध्ये एक जनाको विजयसँगै फेन्सी तथा रेडिमेड व्यवसायी क्षेत्रका साझा समस्या र मागलाई संघको कार्यसमितिमा प्रभावकारी रूपमा उठाउने जिम्मेवारी पौडेलको काँधमा थपिएको छ।

व्यवसायीका आशालाग्दा प्रतिनिधि

व्यवसायी, सामाजिक अभियन्ता तथा पत्रकारसमेत रहेका मनोहरी पौडेलले कार्यसमिति सदस्य पदमा उत्कृष्ट मत पाएसँगै व्यवसायी मतदाताले उनलाई आशालाग्दो प्रतिनिधिका रूपमा हेरेका छन्।

लामो समयदेखि व्यापार–व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय पौडेल यसअघि पोखरा उद्योग वाणिज्य संघको मनोनीत कार्यसमिति सदस्यका रूपमा समेत जिम्मेवारी पूरा गरिसकेका छन्।

संघका बैठकहरूमा व्यवसायीका समस्या र सरोकारका विषय निरन्तर उठाउँदै आएका पौडेलले व्यवसायीका समस्यालाई नजिकबाट बुझेको बताउँदै आएका छन्।

सरल र सहयोगी स्वभावका पौडेललाई संघलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन व्यवसायीहरूले जिम्मेवारी दिएको बताएका छन्। व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ।

पौडेलको विजयसँगै फेन्सी तथा रेडिमेड व्यवसायी संघले पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा आफ्नो आवाज संस्थागत रूपमा प्रस्तुत गर्ने प्रतिनिधि पाएको छ। व्यवसायीहरूले निर्वाचित पौडेललाई व्यवसायीका साझा समस्या र मागलाई प्रभावकारी रूपमा उठाउन आग्रह गरेका छन्।

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्षसमेत रहेका पौडेल पत्रकारितामा पनि सक्रिय छन्। उनी हाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद् सदस्य हुन्। व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रबाट प्राप्त अनुभवलाई उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको भनाइ छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22569, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  तीजको दर कार्यक्रम स्थगित गरी रसुवाका बाढीपीडितलाई ५० हजार सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   7   =