नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा

नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा

पोखरा । नौलो घुम्ती नेपालले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती महोत्सव, २५औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशन शनिबार आयोजना गरेको छ। कार्यक्रममा संस्थाले लागूपदार्थ प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना, एचआईभी रोकथाम, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र सामुदायिक विकासका क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले सरकारले गर्नुपर्ने कतिपय काम नौलो घुम्ती नेपालले गरिरहेको बताइन्। उनले संस्थाले निर्माण गरेको भवन सबैको एकता र सहकार्यको परिणाम भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताइन्।

पुनःस्थापनापछि समाजमा स्थापित हुन संघर्ष गरिरहेका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श, रोजगारी र सामाजिक स्वीकार्यताका लागि नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री गुरुङले नौलो घुम्ती नेपालसँग निरन्तर जोडिएर संस्थाको विकासमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्। उनले संस्थाको भवन पछाडिको भागमा पर्खाल निर्माण तथा धारापानीस्थित पुनःस्थापना केन्द्रको सडक पहुँच सुधार गर्नुपर्ने विषयमा पनि चासो व्यक्त गरिन्।

नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा

२५ वर्षमा हजारौँको जीवनमा परिवर्तन
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम सञ्चालक कमलप्रसाद अर्यालले नौलो घुम्ती नेपालले २५ वर्षको यात्रामा लागूपदार्थ प्रयोगकर्ताको उपचार तथा पुनःस्थापनासँगै शिक्षा, स्वास्थ्य, बाल संरक्षण, जीविकोपार्जन र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए।

उनका अनुसार सन् १९९५ मा परियोजनाका रूपमा सुरु भएको संस्था सन् २००२ मा गैरसरकारी संस्थाका रूपमा स्थापित भएको हो। हालसम्म ३ हजार ९२१ जनाले आवासीय उपचार सेवा प्राप्त गरेका छन् भने चालु आर्थिक वर्षमा मात्रै २२२ जनाले सेवा लिएका छन्।

यस वर्ष एचआईभीको जोखिममा रहेका ५६३ जनाको परीक्षण, ५३ जना नयाँ संक्रमितलाई एआरटी सेवाका लागि सिफारिस र ४१४ जनालाई समुदायस्तरमा हेरचाह तथा परामर्श सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।

शिक्षातर्फ कास्कीका ४२ सामुदायिक विद्यालयका ८२३ विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको छ। एसईई उत्तीर्ण १२८ विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ भने कृषकलाई तालिम, बीउबिजन तथा कृषि सामग्री सहयोगमार्फत जीविकोपार्जनमा सघाइएको छ।

यो पनि पढ्नुहोस् :  गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत

संस्थाका अनुसार ४९५ घरपरिवार व्यावसायिक उद्यममा आबद्ध भएका छन्। यसैगरी, कास्कीमा ६९ र मनाङमा आठ गरी ७७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।

संस्थाले हालै भोटेकोशी बाढीबाट प्रभावित रसुवाका ३० घरपरिवारलाई चार लाख २४ हजार ४७० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको जानकारी पनि प्रतिवेदनमा समेटिएको छ।

आर्थिक प्रतिवेदन सार्वजनिक
कोषाध्यक्ष कमला पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल आम्दानी पाँच करोड ४५ लाख तीन हजार ३१३ रुपैयाँ र खर्च पाँच करोड २८ लाख ६१ हजार १४८ रुपैयाँ रहेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पाँच करोड ३६ लाख ९१ हजार ८०५ रुपैयाँ आम्दानी र चार करोड ९६ लाख ८४ हजार ३७० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। संस्थाले दातृ निकायको सहयोग तथा संस्थागत स्रोतबाट सञ्चालित कार्यक्रमको वित्तीय कारोबारलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ।

 

भवन निर्माणमा एक करोड ४८ लाख खर्च
संस्थाको आफ्नै भवन निर्माणका लागि एक करोड ४८ लाख ९१ हजार २६४ रुपैयाँ ६३ पैसा खर्च भएको भवन निर्माण समितिका संयोजक रमेशबहादुर भट्टराईले जानकारी दिए। विभिन्न दाता, जग्गादाता, संस्थाका सदस्य तथा सहयोगीहरूको योगदानबाट भवन निर्माण सम्पन्न भएको हो।

कार्यक्रममा मन्त्री गुरुङले नवनिर्मित भवन उद्घाटनसमेत गरिन्। भवन निर्माणमा योगदान पुर्‍याउने जग्गादाता, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, सल्लाहकार तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पूर्वअध्यक्षहरू इन्दिरा बराल, योगराज पौडेल, खड्कबहादुर रानाभाट, पदमराज पहारी र मेयरमान श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्रिविनोद खनाल तथा भवन निर्माण समिति संयोजक रमेशबहादुर भट्टराईलगायत थिए।

भवन निर्माणका लागि सहयोग गर्ने समाजसेवी कृष्णबहादुर गुरुङ र सल्लाहकार दिलबहादुर गुरुङलगायतलाई पनि सम्मान गरिएको थियो।भवन निर्माण समिति संयाेजक रमेश बहादुर भट्टराईले भवन निर्माण तथा परोपकारी कार्यमा थप सहयोगस्वरूप एक लाख १ रुपैयाँ सहयाेग गरेका छन् ।

यो पनि पढ्नुहोस् :  ६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत

संस्थापकदेखि पूर्वअध्यक्षसम्मले सम्झिए संघर्षका दिन
शुभकामना मन्तव्यका क्रममा संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले संस्थाको सुरुवाती दिनमा लागूपदार्थ प्रयोगकर्ताप्रति समाजको नकारात्मक दृष्टिकोणका कारण संस्था सञ्चालन गर्न कठिन भएको स्मरण गरे। समाजबाट उपेक्षित हुने र भाडामा कोठासमेत नपाउने अवस्थामा सानो कोठाबाट सेवा सुरु गरिएको उनले बताए।

संस्थाको कामको प्रशंसा गर्दै तत्कालीन अमेरिकी राजदूतले सानो कोठामै पुगेर हौसला दिएको प्रसङ्ग सुनाउँदै उनले सबैको सहयोगबाट संस्थाको आफ्नै भवन निर्माण सम्भव भएको बताए।

पूर्वअध्यक्ष मेयरमान श्रेष्ठले लागूपदार्थको दुर्व्यसनका कारण परिवार र समाजमा उत्पन्न हुने समस्याको चर्चा गर्दै नौलो घुम्तीले उपचार तथा पुनःस्थापनामार्फत हजारौँ व्यक्तिको जीवनमा परिवर्तन ल्याएको बताए। संस्थामा उपचारपछि पुनःस्थापित भएका व्यक्तिहरू नै पछि कर्मचारीका रूपमा जोडिएर अरूलाई सकारात्मक जीवनतर्फ प्रेरित गरिरहेको उनको भनाइ थियो।

पूर्वअध्यक्ष पदमराज पहारीले पोखराको तत्कालीन अवस्थामा लागूपदार्थ दुर्व्यसन र एचआईभी संक्रमणले युवाहरूको जीवनमा गम्भीर असर पारेको स्मरण गरे। त्यही पीडाले आफूलाई संस्थाको सेवामा निरन्तर लाग्न प्रेरित गरेको बताउँदै उनले आफ्नो कार्यकालमा भवन निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको उल्लेख गरे।

पुनःस्थापित अमृत खड्काको अनुभव
संस्थामा उपचारपछि पुनःस्थापित भएका अमृत खड्काले नौलो घुम्तीले आफूलाई नयाँ जीवन दिएको बताए। आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको अवस्थामा संस्थाको सहयोगबाट उपचारको अवसर पाएको उनले सुनाए।

उपचारका क्रममा लागूपदार्थको लतबाट मुक्त हुने प्रक्रियासँगै पारिवारिक सम्बन्ध सुधार, नैतिक जिम्मेवारी र इमानदारीको महत्त्व सिकेको उनले बताए। संस्थाबाट प्राप्त शिक्षालाई जीवनमा लागू गर्दै अघि बढेको उल्लेख गर्दै खड्काले अहिले बुटवल उपमहानगरपालिका–३ को वडा सदस्यका रूपमा काम गरिरहेको जानकारी दिए।

आफूजस्तै समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले पुनःस्थापित व्यक्तिलाई समाजमा सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन सरकार र समुदायसँग आग्रह गरे।

सामाजिक परीक्षणमा दिगोपनको चुनौती
सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको आर्थिक पारदर्शिता, सुशासन, सेवा प्रवाह र कार्यक्रमको प्रभावकारिताबारे समीक्षा गरिएको छ। प्रतिवेदनअनुसार संस्थाले एचआईभी रोकथाम, लागूपदार्थ प्रयोगकर्ताको पुनःस्थापना, शिक्षा, स्वास्थ्य, झोलुङ्गे पुल निर्माण र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यो पनि पढ्नुहोस् :  जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल 

४२ सामुदायिक विद्यालयका ९५१ विद्यार्थीलाई शैक्षिक सहयोग, एसईई उत्तीर्ण १२८ विद्यार्थीलाई छात्रवृत्ति तथा सहकारीमार्फत ४९५ घरपरिवारलाई जीविकोपार्जनमा सहयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।

संस्थाको विभिन्न बैंकमा ६५ लाख रुपैयाँ मुद्दती निक्षेप रहेको र ४५ कर्मचारी तथा स्वयंसेवक कार्यरत रहेको जनाइएको छ। दातृ निकायमा निर्भरता, परियोजना निरन्तरताको अनिश्चितता र स्थानीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाउनु संस्थाका प्रमुख चुनौती रहेको प्रतिवेदनले औँल्याएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र थापामगरलगायत पदाधिकारी, सदस्य, पूर्वपदाधिकारी, सहयोगी तथा सरोकारवालाहरूको सहभागिता थियो। कार्यक्रममा सांस्कृतिक तथा नृत्य प्रस्तुति पनि राखिएको थियो।

वरिष्ठ उपाध्यक्ष मंगलबहादुर नेपालीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन कमलप्रसाद बरालले गरेका थिए।

रजत जयन्ती महोत्सव तथा वार्षिक साधारण सभाको अवसरमा संस्थाले विगत २५ वर्षका उपलब्धि सार्वजनिक गर्दै आगामी दिनमा उपचार, पुनःस्थापना र सामाजिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। संस्थाको १३औँ अधिवेशन भने सम्पन्न हुन बाँकी रहेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22835, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   4   =