गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं: प्रधानमन्त्री

बुटवल- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताउनुभएको छ ।
बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, “परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ । त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ। तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं ।”
पार्टी स्कुल कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थियो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो । तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ ।
विचारको पक्षमा चिन्तन, मनन् कमजोर भएको छ, त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन खोज्दैछन् । तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ ।”
“पार्टी विभाजित हुँदा पनि हामी कमजोर भयौं, प्रतिक्रान्तिहरूको मनोबल उठ्न थाल्यो। त्यसलाई चिर्न हामी रूपान्तरणका साथ अगाडि बढ्नुको बिकल्प छैन। रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन” उहाँले भन्नुभयो, “गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन । माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ। पछिल्लोसमय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन । गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ । यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।”
“परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं, राजनीतिक दलहरूबीच यसबारे छलफल चलिरहेको छ। केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्छौं ।”
“भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दवावमा हामी छौं । हाम्रा कारणले होइन महाशक्ति राष्ट्रहरूको शक्ति संघर्षको चेपुवामा हामी पर्नसक्ने खतरा छ। रूस-युक्रेन, इजरायल-हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ। तसर्थ, नेपालले सन्तुलित र परिपक्व कुटनीतिक बाटो लिनुपर्छ । त्यसमा सरकारले सकारात्मक पहल लिएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ” प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्छ। म पनि परीक्षामा छु, तपाईहरू पनि परीक्षामा हुनुहुन्छ । यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कार्वाही, कुटनीतिक सन्तुलन लगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ । अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो। हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन्।”
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन २०, बुधबार १०:२६बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
समाचार२०८२ फाल्गुन २०, बुधबार ०७:३६निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति








