Breaking News
कोटीहोममा भजन चुट्का प्रतियोगिता सुरु

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आजदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गर्ने संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।


प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार पाउने छन् ।


प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था रहेको छ । वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले १४ दिन श्रीमद्भागवत कथा वाचनसँगै बिदाई गरिएको आयोजकले जानकारी दिएको छ । उनलाई कोटीहोममा पुनः ल्याउने प्रयास भइरहेको पनि आयोजकले जानाएको छ । शुक्रबारदेखि नै व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिरहनु भएको छ ।
कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।


कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ । शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनसँगै आर्थिक संकलनमा पनि वृद्धि भएको छ । शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेको जानकारी दिएको छ ।


कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएको छ भने सो अवसरमा लोक दोहोरी गायक राजन कार्कीले गीत प्रस्तुत गरेर भक्तजनलाई नचाएका थिए ।

त्यस्तै, आज बिहान ८ बजेर ५ मिनेटमा हवन कुण्डमा हवन गरिएको थियो । हवन कार्य जेठ २६ गतेसम्म चल्ने प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए ।


कोटीहोममा पोखराका शिक्षासेवी पम्फा गुरुङ, पोखरा महानगरपालिका शिक्षा महाशाका सदस्य तारा पौडेललगायतको पनि सहभागीता रहेको थियो ।

कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु,

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ ।

यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो ।

बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गतेसम्म चल्नेछ ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार एक सय वटा हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटीहोममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।

कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।

हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजेसम्म चल्ने छ भने ११ देखि १ बजेर १५ मिनेटसम्म विश्राम भई पुन: ४ बजेसम्म हवन कार्य हुनेछ ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ। हवन कुण्डमा बस्दा ब्राह्मणदेखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्नेछ।

यसैगरी शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गर्ने खुला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने समूहलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई समूहलाई ६५/६५ हजार रहेको उनले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ । वैशाख १९ गते शनिबारका लागि पालो परेका सम्पूर्ण प्रतियोगीलाई प्रतियोगितामा सहभागी भइदिन उनले आग्रह गरे ।

हवन कुण्डको मूल मण्डपमा ब्राम्हणको पूजा विधिबाट महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका बुबा मणिराम भण्डारी र आमा जानका भण्डारीले विधिवत् रूपमा अग्नि मन्थन, अग्निमा समिदा दान र अग्नि कुण्डमा आहुति प्रदान गरी हवन शुरु भएको हो ।कोटीहोममा आजदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन शुरु गरेका छन् । शुक्रबार पोखरा आइपुगेका उनले आजदेखि रामायाण कथा वाचन शुरु गरेका हुन् । उनले नौ दिनसम्म रामायण कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

परांकुशले वैशाख २७ गतेसम्म पोखरामा रहने र रामायण कथा वाचन गर्ने जानकारी दिए । रामायण कथा पोखरेली भक्तलाई सुनाउन उत्साहित भएको उनले बताए । चित्र राम्रो नभइ चरित्र राम्रो बनाउनुपर्ने भन्दै उनले कसैले कसैको नराम्रो सोच्न नहुने बताए । साथै कथा वाचिका सुप्रिया क्रिशोरीले नित्य कथा वाचन गरिरहेकी छन् ।

१५औं दिनको कोटीहोममा नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य सगुन लम्साल, विश्व हिन्दू महासंघ भजन समूहका अध्यक्ष, आचार्य १००८ मोहानन्द गुरुजी महाराज, नेपाली सेनाका सेनानी रेशम कोइराला, पोखरा-७ वडाध्यक्ष राममोहन आचार्यसहित सदस्य तथा पोखरा-५ जनाप्रतिनिधि र पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सहभागी थिए ।

उक्त अवसरमा भारतका महाकुम्भ मेलाका संकल्पकर्ता नीरञ्जनी पिठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीजीले हरिहर मन्दिर अवलोकन गरेका छन् ।
कार्यक्रममा आचार्य १००८ मोहानन्द गुरु महाराजले धर्मलाई सबैले अपनाउनुपर्नेमा जोड दिए ।

प्रचारप्रसार संयोजक ढकालका अनुसार शुक्रबार पनि करिब १० हजार पाँच सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म एक लाख १० हजार भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दावी छ।

भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ संकलन कार्य पनि बढिरहेको बताइएको छ । महायज्ञमा हालसम्म सबैभन्दा धेरै मुस्ताङको घरपझोंग गाउँपालिकाका मोहन सिंह लालचनले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ दान गरेका छन् ।

बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका थिए ।

यस्तै पोखरा-१४ का नीरबहादुर कुँवरले ५५ हजार एक सय, पोखरा १७ का दिनेश कार्की र उनका परिवारजनबाट ५१ हजार एक सय ५१, पोखरा-९ की परिणीता दिजु (ओम शान्ति) बाट ५१ हजार पोखरा-५ का ध्रुव थापाबाट ५० हजार पाँच सय २१, पोखरा-११ का शिव तिलिजा पुनले ३५ हजार पाँच रुपैयाँ कोटीहोममा सहयोग गरेका छन् ।

कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

सो अवसरमा ११ हजार कलश पुजन र व्रतवन्ध भएको छ भने राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।

क्षत्री महिला समाजको रक्तदानमा ४६ युनिट रक्त संकलन

पोखरा । क्षत्री महिला समाजको रक्तदानमा ४६ युनिट रक्त संकलन भएको छ । पोखराको पृथ्वीचोक स्थित उक्त समाजले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०८२ को अवसरमा क्षत्री महिला समाज नेपाल, जिल्ला कार्यसमिति, कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रमको मूल उद्देश्य समाजमा सकारात्मक सन्देश फैलाउने र आवश्यक समयमा रगतको अभाव नहोस भन्ने रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रिब थापाले समाजका महिला दिदिबहिनीहरुले रक्तदान आयोजना गरेकोमा आभार व्यक्त गर्दै सबैभन्दा ठूलो पुन्यको काम गरेको बताए । उनले भने, यो धेरै ठूलो तीर्थ हो । यस्तो मानविय संवेदनासंग, स्वास्थ्यसंग जोडिएका विषयहरुमा कार्य गर्नु महत्वको कुरा हो । यस्ता कर्म गरेपछि तीर्थ गर्नका लागि अन्यत्र जानै पदैन ।

नेपाल रेडक्रस सोसाइटी कास्कीकी नवनिर्वाचित सभापति उर्मिला खड्काले महिलाहरु अग्रसर भएर जिवन बचाउने अभियानमा जोडिनु र रक्तदान कार्यक्रम आयोजना गर्नु धेरै राम्रो काम गरेको बताईन् । संयोगले ६० वर्षको इतिहासमा कास्की रेडक्रसले महिला नेतृत्व पाएको छ । र म महिलाले नै आयोजना गरेको कार्यक्रममा सरिक हुन पाउँदा गर्व लागेको छ उनले भनिन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजलाई स्वस्थ बनाउन र आफु पनि स्वस्थ रहन रक्तदान अति आवश्यक भएको बताए । उनले भने, म पनि हरेक तीन तीन महिनामा रक्तदान गरिरहन्छु तपाँई पनि गर्नुस् । यसले आफु पनि स्वस्थ भईन्छ र अरुको जिवन बचाउन सकिन्छ ।

सितलदेवी माविका कक्षा ७ का विद्यार्थी सार्थक अधिकारीले आफुले रगतको बारेमा चासो लिने गरेको बताउँदै हरेक व्यक्तिले तीन तीन महिनामा रक्तदान गरेर रगतको अभावमा छटपटिएका कसैको जिवन बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।

क्षत्री महिला समाजका सचिव माया भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अर्चना बस्नेत लगायतले आगामी दिनहरुमा पनि विविध सामाजिक कार्यका साथमा रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिईने बताईन् । कार्यक्रम अध्यक्ष गंगा देउजा के.सी.को अध्यक्षतामा भएको थियो ।