Breaking News
गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम सहित धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको छ । महायज्ञको आठौँ दिनमा १०० जना बटुकहरुको समुहिक ब्रतबन्ध सम्पन्न भएको छ भने हालसम्म करिब ५०जना बटुकहरुको ब्रतबन्ध गरिसकिएको छ ।

त्यसैगरी, १०० जना जेष्ठ नागरिक आमा–बुवाहरूको चौरासी पूजासमेत विधिपूर्वक सम्पन्न गरिएको छ। चौरासी पूजामा सहभागी जेष्ठ नागरिकहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै वैदिक विधिअनुसार पूजापाठ गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देल, बिशेष अतिथिमा किरात धर्मगुरु चन्द्रकुमार शेर्मा रहेका थिए। महायज्ञलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिन्देलले धर्मको नाममा राजनीति गर्नु आमाको रगत खानु सरह भएको कडा टिप्पणी गरेका छन्। उनले धर्मलाई संकीर्णताको रुपमा नबुझ्न र समाज रुपान्तरणको माध्यमका रुपमा लिनुपर्नेमा जोड दिए। “धर्म भनेको जीवनशैली हो, यसलाई शक्ति, पद र स्वार्थको हतियार बनाउनु दुर्भाग्यपूर्ण हो,” लिन्देलले भने।

कोटिहोममा प्रतिनिधी सभा संघीय संसद अन्तर्गतका महिला तथा सामाजिक मामिला समितिका सभापति तथा संस्कृत भाषामा सपथ लिने एकमात्र सांसद किरण कुमार शाहको पनि उपस्थिति रहेको थियो। उनले धार्मिक शिक्षा र संस्कारको प्रवर्द्धनमा यस्तो यज्ञले सकारात्मक भूमिका खेलेको बताउँदै महिलाहरूको समेत सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गरिन्।

यसैक्रममा, गण्डकी प्रदेश सरकारकी सचिव कमला दाहालले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपांग व्यक्तिका लागि संरक्षित आवासका रुपमा यो आश्रम सञ्चालन गरिने बताउँदै सामाजिक उत्तरदायित्वका कार्यमा सरकार प्रतिबद्ध रहेको प्रस्ट पारिन्।

कास्की जिल्लामा १३ रोपनी जग्गामा ‘मामाघर आश्रम’ स्थापना गरिने विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जीले समेत जानकारी दिएका छन्।

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबार देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन सुरु गरेका छन्। उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ।

नियमित हुने रक्तदान कार्यक्रममा सोमबार २८ यूनिट संकलन भएको छ भने आज सम्म जम्मा २७५ यूनिट रगत संकलन भएको छ। आजका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देलले पनि रक्तदान गरेका छन्। कोटिहोम आउने भक्तजनले आफू सक्ने सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको मानब सेवा फाउण्डेशनका प्रचार-प्रसार संयोजक लेखाराज ढकालले जनाएको छ । संयोजक ढकालका अनुसार आज मात्रै करिब २० हजार भक्तजनको सहभागिता भएको समेत जानकारी दिएका छन्।

महायज्ञमा गण्डकी प्रदेशका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत लगायत अन्य देशबाट समेत हजारौँ श्रद्धालुहरूको उपस्थित रहेको छ। महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन भएको थियो । यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले उपस्थिति रहेको थियो।

विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।

नेपाल बिमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवमा फुटसल प्रतियोगिता

पोखरा । नेपाल बिमा प्राधिकरण (ने‍‍.बि.प्रा.)को ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित मैन्त्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ आज सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्ष्यता नेपाल बिमा प्राधिकरण (ने.बि.प्रा.), गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले गर्नु भएको थियो । त्यस्तै, कार्यक्रमको प्रमुख अतिथिमा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा सदस्य सन्त बहादुर थापा हुनुहुन्थ्यॊ भने विशेष अतिथिहरुमा गण्डकी प्रदेश पोखरा निप्स, च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल तथा सर्भेयर एसोसियसन पोखरा च्याप्टरका संयोजक बुद्धिराज अधिकारी रहनु भएको थियो। सो कार्यक्रममा विभिन्न बिमा कम्पनीहरुका गण्डकी प्रदेश प्रमुखहरु, सर्भेयरहरु, अभिकर्ता लगायत विभिन बिमा कम्पनीका शाखा तथा उप-शाखाहरुका प्रमुख र बिमाकर्मिहरुको उपस्थिति रहेको ने.बि.प्रा.का गण्डकी प्रदेश कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो ।

खेलको उद्घाटन नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले खेलाडीहरुलाई बल हस्तान्तरण गरि खेल औपचारिक रुपमा शुरु भएको घोषणा गर्नु भएको थियो । साथै यस्ता मैन्त्रीपूर्ण खेलहरुले बिमाकर्मिहरुमा एकापसमा आतिथ्यता, भाइचाराको भावना बढाउने तथा शरीरलाई स्फुर्त राख्न समेत अपरिहार्य भूमिका रहेको मिश्रले बताउनु भएको छ ।

उक्त फ़ुटसल खेल प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो । जसमध्ये निर्जीवन र लघु निर्जीवन कम्पनि, जीवन र लघु बिमा, सर्भेयर एसोसियसन पोखरा, निप्स पोखरा च्याप्टर र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय रहेका थिए । उक्त टिमहरुबिचको खेल निकै उत्साहजनक रुपमा अगाडी बढ्दै फाइनल खेलमा नेपाल बिमा सर्भेयर संघ नेपाल (NISA) र नन लाइफ इन्सुरेन्सबीच भएको थियो । खेलको सुरुवात संगसंगै खेलको समयावधिसम्म दुवै तर्फबाट १/१ गोल भएको थियो । खेलको निर्धारित समयसम्म दुवै टिमबाट बराबरी गोल भएपछी पेनाल्टी सुटआउट मार्फत बिमा सर्भेयर संघ नेपाल विजेता हुन सफल भएको थियो । खेलमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई प्रमुख अतिथि र अतिथिले मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

त्यस्तै, आज भएको उक्त खेलमा खेल अवधिभर सर्वाधिक गोल गर्न सफल खेलाडी तिलक पोख्रेल हुनुहुन्थ्यो । विजेता खेलाडी तथा सर्वाधिक गोलकर्तालाई प्रमुख अतिथिले मायाको चिनो हस्तान्तरण तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो।

विशेष अतिथिहरुले कार्यक्रममा बोल्दै विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपाल बिमा प्राधिकरणले विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको विशेष धन्यवाद दिएका थिए । खेलले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्ने बताएका थिए । साथै यस कार्यक्रममा सबैको साथ्, सहयोग र सहभागिताले कार्यक्रम सफल भएको बताएका थिए ।

यसै कार्यक्रममा बोल्दै प्रमुख अतिथिले ५७ औं वार्षिकोउत्सवको अवसरमा नेपाल बिमा प्रधिकरणले रचनात्मक र सन्देशमुलक कार्यक्रमहरु गरिरहेको खुशी व्यक्त गर्नु भएको थियो । साथै संयोगबस आज परेको प्राधिकरणको ५७ औं वार्षिकोउत्सव मनाइरहदा : ५ र ७ को जोड पनि १२ नै हुने र उक्त कार्यक्रम र बिमा प्राधिकरणको प्रदेश जार्यालय पनि पोखरा महानगरपालिका वडा १२ मै रहेको उल्लेख गर्दै यसमा आफु पनि खुसि भएको र आगामी दिनहरुमा वडा मार्फत हुने विभिन्न कार्यक्रमहरुमा वडा नम्बर १२ को पनि बिमाको कार्यक्रमहरुमा सहकार्य, सहभागिता र साथ्, सहयोग रहने पनि प्रतिबद्धता गर्नुभएको छ ।

बिमा प्राधिकरणका आगामी कार्यक्रमहरु अन्तर्गत भोलि मंगलबार बिमा सचेतनाका लागि जिल्ला ट्राफिक कार्यालय कास्कीको समन्वयमा सार्वजनिक यातायातमा स्टिकर टाँस्ने कार्यक्रम, बैशाख ३१ गते बृहत रक्तदान कार्यक्रम र जेठ १ गते प्रभातफेरी कार्यक्रम संगै शुभकामना आदान प्रदान तथा समीक्षात्मक कार्यक्रम रहेको पनि बिमा प्राधिकरण गण्डकी प्रदेश, सहायक निर्देशक रिचा कुशुम लम्सालले जानकारी दिनुभएको छ ।

केहि तस्बिरहरु :

भूर्तेल बन्धु समाज कास्कीको कुलपूजा तथा आठौं वार्षिक साधारण सभा

पोखरा । भूर्तेल बन्धु समाज नेपाल कास्कीको नियमित वार्षिक कुलपूजा तथा आठौं साधारण सभा सम्पन्न भएको छ । सोमबार शुक्ल पूर्णिमा (बुद्धजयन्ती)को अवसर पारेर आयोजित साधारण सभाको शिक्षाविद तथा भूर्तेल बन्धु समाज नेपाल नवलपुरका अध्यक्ष चन्द्रराज भूर्तेलले उद्घाटन गर्दै भुर्तेलहरुको नाममा रहेको एक मात्र स्कूल भुर्तेल प्रा.वि. हुनु गर्वको कूरा रहेको बताए ।

उनले आफूले कर्मथलो नवलपुरलाई बनाएपनि जन्मथलोलाई कहिल्यै नविर्सने उल्लेखगर्दै यहाँको पर्यटन प्रर्वद्धनमा राज्य र समाजसंग मिलेर काम गर्ने बताए । विकासको पहिलो मार्ग सडकले नै खोल्ने भन्दै उनले बाटोघाटोको स्तरोन्नती र कुलमन्दिर निर्माणमा सबै जुट्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडा मार्फत हुने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको बताए । उनले विकास निर्माणमा राजनीति गर्न नहुनेमा जोड दिए । कार्यक्रममा भूर्तेलबन्धु समाज कास्कीका सललाहकारहरु कृष्णमणी भूर्तेल, लक्ष्मीप्रसाद भूर्तेल, बास्तोला कुल सेवा समितिका अध्यष हरिप्रसाद बास्तोला र भूर्तेल बन्धु समाज नेपाल केन्द्रीय तदर्थ समिति संयोजक लिलाकृष्ण भूर्तेल लगायतले भूर्तेलहरुले देश र समाजलाई दिएको योगदान र इतिहासका बारेमा बोलेका थिए ।

अध्यक्ष केपी भूर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ट नागरिक एवं अगुवा यादवचन्द्र भूर्तेल, कोपिला भूर्तेल, ढुसुरी भूर्तेल, यमनाथ भूर्तेललाई जेष्ठ नागरिक सम्मानबाट सम्मान गरिएको थियो । त्यसैगरी भूर्तेल बन्धु समाजका लागि विशेष योगदान दिने कृष्णमणी/पार्वती भूर्तेललाई सम्मान र कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने सुस्मिता भूर्तेलाई सो अबसरमा सम्मान गरिएको थियो ।

कुल पूजाको अवसरमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर के सी भूर्तेल र भूर्तेल बन्धु समाजका केन्द्रीय तदर्थ समितिका पदाधिकारी एवं सदस्यहरुको समेत सहभागीता रहेको थियो ।

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबारदेखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन् । पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन गर्ने छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई गरे सँगै आइतबार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु भएको हो । कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा आइतबार सम्म दुई सय बढीले रक्तदाताले रक्तदान गरेका छन् । कोटिहोम आउने भक्तजनले आफू सक्य सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

दैनिक रूपमा कोटिहोम परिसरमा रक्तदान कार्यक्रम भएको हुँदा सबै भन्दा ठुलो दान रक्तदान जस्तो पुण्य कार्यमा नछुट्न महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिले आग्रह गरे ।

आज बुद्द पुर्णिमाको अबसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन,माननीय किरण शाह सहितको विशेष उपस्थिति रहनेछ। बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिएको छ ।

महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ। यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले मन्तव्य दिने कार्यक्रम तय भईसकेको छ ।
यो विराट ज्ञान महायज्ञ धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको प्रतिकको रूपमा आयोजना गरिएको हो ।

विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।

आयोजकका अनुसार धर्म र सम्प्रदायहरूबीचको एकता र आपसी आदरलाई केन्द्रमा राखेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको जानकारी दिएका छन् ।

यस्तै कोटिहोममा भजन प्रतियोगितामा देशभरबाट तीन सय बढी भजन समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा आइतबार सम्म ५५ समूहले भाग लिइसकेका छन् ।भजन प्रतियोगितामा हुने विभिन्न खालका झाकी, विभिन्न जिल्लाको भजन प्रस्तुतिले भक्तजनको ध्यान प्रतियोगिता तानेको छ ।