विष्णुपादुका माइस्थान गुठी व्यवस्थापन समितिको साधारणसभा,धार्मिक गतिविधिले मन्दिर थप आकर्षक

पोखरा । पोखरा महानगरपालिका-२५ हेमजास्थित धार्मिक एवं सांस्कृतिक प्रतीक विष्णुपादुका माइस्थान गुठी व्यवस्थापन समितिको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा मन्दिरको विकास, धार्मिक संरक्षण र समुदायको सहभागिताबारे विशेष चर्चा गरिएको थियो।
कार्यक्रममा पाेखरा महानगरपालिका वडा नं. २५ का कार्यबाहक अध्यक्ष सुवास भण्डारीले विगतका वर्षमा सम्पन्न कार्यहरूको समीक्षा गर्दै मन्दिर परिसरको विकासमा सबैको योगदान प्रशंसनीय रहेको बताए।
उनले भक्तजन र स्थानीयवासीको एकताले विष्णुपादुका मन्दिरलाई हेमजाको मात्र नभई सम्पूर्ण पोखराको गौरवस्थल बनाएको उल्लेख गरे। विष्णुपादुका मन्दिरलाई “मुक्तिनाथ जाने प्रवेशद्वारका रूपमा विकास र प्रचार–प्रसार गर्ने योजना” रहेको उनकाे भनाई छ ।
समितिका अध्यक्ष चुणामणी तिम्सिनाले चालू आर्थिक वर्षका कार्यक्रमहरु प्रस्तुत गरे भने सचिव कमलमणि त्रिपाठीले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्दै जनैपूर्णिमा, नवदुर्गा पूजा, कोजाग्रत पूर्णिमा, शिवरात्रि, चण्डीपूर्णिमा लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा सम्पन्न गरिएको जानकारी गराए।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष देवकृष्ण पौडेलले मन्दिरमा नयाँ प्रवेशद्वार निर्माण, छाना छाउने र मर्मत कार्य पूरा भएको उल्लेख गर्दै करिब साढे चार लाख रुपैयाँ खर्च भएको बताए । यसका साथै आर्थिक प्रतिवेदनमा उनले गत वर्ष २०८१/८२ काे सम्पूर्ण आयव्ययकाे फेहरिस्त प्रस्तुत गरेका थिए ।
मन्दिरमा निरन्तर भइरहेका धार्मिक गतिविधिले मन्दिर परिसर थप आकर्षक बनेको समितिले जनाएको छ।
सामजसेवी भिमप्रसाद श्रेष्ठले मन्दिरमा हालै सम्पन्न भागवत् महापुराण कथा प्रवचनमा सक्रिय रुपमा काम गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समितिका पूर्व अध्यक्ष माधव बाँस्तोलाले मन्दिरको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक महत्त्वबारे जानकारी गराए भने वडा सूचना अधिकारी इश्वरीप्रसाद बाँस्तोलाले मन्दिरको संरक्षण र संवर्द्धनका लागि वडा कार्यालय सधैं सक्रिय रहने बताए।
महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाले विष्णुपादुका मन्दिरलाई हेमजाको गौरव भन्दै यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको धारणा व्यक्त गरिन्।
मन्दिर परिसरमा सम्पन्न छाना छाउने, प्रवेशद्वार निर्माण र मर्मत कार्यले स्थलको सौन्दर्य थपिएको छ। समितिले मन्दिरको इतिहास र गुठी जग्गा व्यवस्थापनका लागि २०७४ सालदेखि निरन्तर खोजतलास र व्यवस्थापन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
कार्यक्रममा विभिन्न आमासमूह, भजनसमूह, समाजसेवी, जेष्ठ नागरिक समिति र युवा समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्त्यमा समितिले मन्दिरमा सेवापूर्वक उपस्थित सबै दातृ, भक्तजन र संस्थाहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19795, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश








