धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने बाटो खुल्यो, फाप्लाको ठेक्का आह्वान
धनगढी । नेपाली क्रिकेटको महत्त्वाकाङ्क्षी पूर्वाधार परियोजनाका रूपमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान भएको छ।
क्रिकेटको सहर धनगढीमा बन्नलागेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम परियोजना अन्तर्गत क्रिकेट रङ्गशाला निर्माणका लागि शुक्रबार राति नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढी कैलालीबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सार्वजनिक खरिद प्रणाली (ई–जीपी)मार्फत बोलपत्र आह्वान गरिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनार बोराडाडी क्षेत्रमा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ।
ठेक्का आह्वान सँगै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामका नेतृत्वकर्ता सुवास शाहीले बहुवर्षीय ठेक्काको सूचना प्रकाशन हुनुलाई वर्षैँदेखिको सपना, संघर्ष र धैर्यको ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
‘यो उपलब्धि कुनै एक व्यक्ति वा समूहको मात्र होइन, फाप्लालाई आफ्नो मुटुको टुक्रा ठान्ने हरेक नेपालीको साझा विजय हो। अझै यात्रा बाँकी छ, जिम्मेवारी धेरै छन्। तर अब हाम्रो सपना केवल कल्पनामा सीमित रहेन, धरातलमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ शाहीले भने।
एक दशक लामो ‘ड्रिम फाप्ला’ अभियान
धनगढीमा विसं २०६६ सालदेखि क्रिकेटको व्यावसायिक विकास र प्रवर्द्धनका लागि थालिएका प्रयासले कालान्तरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियान जन्माएको हो।
क्रिकेट अभियन्ता सुवास शाहीको अगुवाइमा एसपीए कप, धनगढी क्रिकेट लिग (डीसीएल) तथा धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता प्रतियोगिता सञ्चालन भएसँगै धनगढीमा क्रिकेटको लोकप्रियता बढ्दै गएको थियो।
२०७१ सालमा अस्थायी क्रिकेट मैदानका रूपमा फाप्लाको पहिचान भएको थियो भने २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा विकास गर्न ‘ड्रिम फाप्ला’ अभियान अघि बढाइएको थियो।
आर्थिक वर्ष २०७२–७३ को संघीय बजेटमा फाप्ला रङ्गशाला निर्माणको विषयले प्रवेश पाए पनि जग्गा प्राप्ति नभएको हुँदा अन्य प्रशासनीक कार्यले गति लिन सकेको थिएन।
२०७८ माघ २४ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनका लागि विकास समिति गठन गर्ने निर्णय गरेको थियो।
त्यस पछि २०७९ वैशाख २६ गते नेपाल राजपत्रमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन आदेश प्रकाशित भएको थियो भने सोही वर्ष जग्गा प्राप्ति भएको थीयो ।
यस्तै, सोही वर्ष जेठ २३ गते सरकारले अभियानका नेतृत्वकर्ता सुवास शाहीलाई विकास समितिको अध्यक्षमा मनोनीत गरेको थियो।
विकास समिति गठनपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा आयोजनालाई राष्ट्रिय आयोजना बैंकमा समावेश गर्ने लगायतका प्रक्रिया अघि बढाइएका थिए।
यस संगै थप संघीय सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेट मार्फत फाप्लामै कम्तीमा दुई हजार दर्शक क्षमताको इन्डोर रङ्गशाला निर्माण गर्ने विषय पनी समेटेको छ।
क्रिकेटको सहरदेखि खेल पर्यटनको गन्तव्यसम्म
नेपाली क्रिकेटको व्यावसायिक विकासमा धनगढीको विशिष्ट योगदान छ। खेलाडीको लिलामी (अक्सन)मा आधारित फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको अभ्यास देखि क्रिकेटलाई व्यावसायिक मनोरञ्जन र आर्थिक गतिविधिसँग जोड्ने प्रयासमा धनगढीले अग्रणी भूमिका निर्वाह गरेको छ।
सन् २०१७ मा सुरु भएको धनगढी प्रिमियर लिगको तेस्रो संस्करण सन् २०१९ मा फाप्ला क्रिकेट मैदानमा आयोजना गरिएको थियो। यस्ता प्रतियोगिताले धनगढीको ‘सिटी अफ क्रिकेट’ पहिचानलाई थप बलियो बनाएका थिए।
अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण सँगै धनगढीको यो पहिचान थप संस्थागत हुने सम्भावना छ।
रङ्गशाला निर्माण सम्पन्न भई आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएमा एनपीएल जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, खेलाडी प्रशिक्षण, खेल शिविर तथा विभिन्न व्यावसायिक खेल गतिविधि सञ्चालन गर्न सकिनेछ।
यसले खेलकुदको विकाससँगै होटल तथा रेस्टुरेन्ट व्यवसाय, यातायात, स्थानीय व्यापार, रोजगारी र पर्यटन क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्न सक्नेछ।
भारतसँगको भौगोलिक निकटता र सुदूरपश्चिमका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यलाई क्रिकेटसँग जोड्न सके धनगढीलाई खेल पर्यटनको प्रवेशद्वारका रूपमा विकास गर्ने सम्भावना पनि उत्तिकै छ।
खप्तड, शुक्लाफाँटा, अपी, सैपाल, बडिमालिका, रामारोशन, घोडाघोडी लगायतका पर्यटकीय गन्तव्यलाई खेल पर्यटनसँग जोडेर सुदूरपश्चिममा पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने आधार समेत तयार हुन सक्छ।
फाप्ला परियोजनाको महत्त्व एउटा क्रिकेट रङ्गशाला निर्माणमा मात्रै सीमित छैन। यो सुदूरपश्चिमको खेल प्रतिभा विकास, व्यावसायिक क्रिकेट, एनपीएलको होमएण्ड अवे, धनगढीमै विश्वकप आयोजना गर्ने सपना साकार पार्ने, पर्यटन प्रवर्द्धन र आर्थिक विकास सँग जोडिएको दीर्घकालीन सम्भावना बोकेको गेमचेन्जर आयोजना हो भने फाप्लाका लागि ठेक्का आह्वान महत्त्वपूर्ण उपलब्धि हो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ७, आईतवार २१:०८शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ
समाचार२०८३ मंसिर ७, आईतवार २०:३३प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट
खेलकुद२०८३ मंसिर ७, आईतवार १७:३५पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा फुलकन्ट्याक्ट कराते खेलाडीलाई जनही ६० हजारसम्म नगद पुरस्कार घोषणा
समाचार२०८३ मंसिर ७, आईतवार ०७:१५प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै




