Breaking News
गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, ४ जना पक्राउ

७ मंसिर, सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा आगो लगाउनुका साथै विभिन्न संरचनामा तोडफोड गरेका हुन् ।

मृत्यु हुनेमा बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवी रहेकी छन् । नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् र बरहथवा नगर अस्पतालमा उपचाररत थिइन् ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । तर, त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

घटनामा बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी तथा तोडफोड हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिएका छन् । प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार आइतबार बिहानसम्म घटनास्थलको अवस्था सामान्य भइसकेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित « रिपोर्टर्स नेपाल
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   10   =