सौगात र विपिनको ‘द रेड सुटकेस’ नयाँ वर्षमा २०८१ मा

काठमाडौँ। विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् ।
सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा छनौट भएको थियो । निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट चलचित्रले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको बताएका छन् ।
‘विश्वका दर्शकहरुको प्रतिक्रिया हाम्रो लागि उत्साहपूर्ण रह्यो । अब हामी घरेलु दर्शकको पनि प्रतिक्रियाका लागि उत्सुक छौँ । त्यसैले नयाँ वर्षको पूर्वसन्ध्यामा हामीले फिल्म सार्वजनिक प्रदर्शन गर्ने निर्णय गरेका छौँ ,’ निर्माता पोखरेलले भने । निर्देशक फिडेल देवकोटाले फिल्मको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए । ‘ सुरुमा चलचित्र बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब चाहिँ यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो चलचित्र समसामयिक समाजको ऐना पनि हो । यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ । प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ ।’
चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड जिताएको थियो । फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।
फिडेलकै लेखन रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएकोचलचित्रमा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ६, बुधबार १०:०५राजस्थान रोयल्ससँग लखनउ ७ विकेटले पराजित
समाचार२०८३ जेष्ठ ६, बुधबार ०७:०५नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार २२:०४जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ









