Breaking News
जेनजी आन्दोलनमा घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे दुई मन्त्री

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिन दुई मन्त्री अस्पताल पुगेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उपचाररत ढकाललाई भेटेका हुन्।

भेटका क्रममा मन्त्रीद्वयले शान्तनु र उनका परिवारसँग कुराकानी गर्दै उपचारको पछिल्लो अवस्था, थप उपचारको आवश्यकता तथा परिवारले सामना गरिरहेका समस्याबारे जानकारी लिएका थिए।

उनीहरूले शान्तनुको उपचारलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै उपचारपछि आवश्यक पर्ने पुनर्स्थापना तथा परिवारको सामाजिक र आर्थिक सुरक्षाका विषयमा पनि सम्बन्धित मन्त्रालयमार्फत सहयोग, समन्वय र सहजीकरण गर्ने बताएका छन्।

आर्थिक वृद्धि दर घट्यो,कृषि उत्पादन र औद्योगिक क्षमता उपयोग पनि कमजोर

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर घटेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ४३ प्रतिशत आर्थिक वृद्धि भएकामा गत आर्थिक वर्षमा वृद्धिदर घटेको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । औद्योगिक क्षेत्रको अवस्था पनि कमजोर देखिएको छ ।

अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ । यद्यपि, सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या शून्य दशमलव ९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ ।

यसैगरी, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव ७२ प्रतिशत र कर्जा प्रवाह छ दशमलव ५५ प्रतिशतले बढेको छ ।

वैदेशिक व्यापारतर्फ कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले वृद्धि भई तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने आयात १६ दशमलव २० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेकाले नेपालको व्यापार असन्तुलनको चुनौती कायमै रहेको प्रतिवेदनले देखाएको छ ।

स्वास्थ्य क्षेत्रका सरोकारवालासँग प्रेस काउन्सिलको अन्तरक्रिया

स्वास्थ्य क्षेत्रका सरोकारवालासँग प्रेस काउन्सिलको अन्तरक्रिया
छलफल । तस्बिरः सुजन महर्जन ।

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले मिडियाप्रतिको जनगुनासो र आचारसंहिता विषयमा स्वास्थ्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रियामा गरेको छ । काउन्सिल सभाहलमा बुधबार भएको अन्तरक्रियामा सहभागीले सरोकारवालाहरूले स्वास्थ्यसँग सम्बन्धित समाचारमा संवेदनशीन हुन आवश्यक रहेको औँल्याएका छन् । उनीहरूले नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउने दायित्व पनि मिडियाकै भएको कारण समाचारका विषयमा संवेदनशील हुन आवश्यक रहेको औँल्याउनुभयो । अन्तरक्रियामा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, विभिन्न अस्पतालका निर्देशक, स्वास्थ्य क्षेत्रका सङ्घ/संस्थाका अध्यक्ष/प्रतिनिधि तथा चिकित्सकहरूले उपचार पद्धति, औषधिबारे यथेष्ट जानकारी र अस्पतालभित्रको सुरक्षा संवेदनशीलताका विषय नबुझि सञ्चार माध्यमबाट फैलाइएका विषयले पार्ने नकारात्मक असरबारे सचेत भइदिन मिडिया क्षेत्रलाई आग्रह गर्नुभयो। प्रेस काउन्सिल नेपालले मिडिया क्षेत्र र मेडिकल क्षेत्रबिच समाचार सम्प्रेषणको विषयलाई लिएर समन्वयकारी भूमिका खेलिदिनुपर्ने उहाँहरूको भनाइ थियो । स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीले सञ्चार माध्यमबाट सम्प्रेषण हुने आचारसंहिताप्रतिकूलका समाचारको परीक्षण (स्क्रिनिङ) हुनुपर्नेमा उहाँहरूको जोड थियो ।

काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रमको औचित्य प्रष्ट पार्दै सहभागीलाई स्वागत गर्नुभएको थियो । मिडिया अनुगमनकर्ता प्रकाश शर्माले संयोजन/सहजीकरण गर्नुभएको कार्यक्रममा आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा.विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी, पाटन अस्पतालका निर्देशक डा. शान्तवीर महर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप वास्तोला, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निराजन सुवेदी, नेपाल मेडिकल काउन्सिलका सदस्यद्वय डा. सम्राट पराजुली र डा‍. छवि पन्थी, नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा. लोचन कार्की, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रेडियोलोजिष्ट डा. कृष्ण बुढाथोकी, तिलगङ्गा आँखा प्रतिष्ठानका मुकेशकुमार सिंह, अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. सुदन ढकाल, काठमाण्डु मोडल अस्पतालका निर्देशक डा. उदय कोइराला, औषधि उत्पादक सङ्घका महासचिव सन्तोष बराल, नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)का अध्यक्ष ललितमोहन पन्त, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण जोशीलगायतले धारणा राख्नुभएको थियो । साथै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक डा. श्रीप्रसाद अधिकारी, निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. जितेन्द्र परियार, शहिद गंगालाल राष्ट्रिय हृदयराेग केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.आशिष गोविन्द अमात्य, कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रकाश जोशी, आयुर्वेद चिकित्सालय, नरदेवीका निर्देशक डा. रामआधार यादव, फार्मेसी काउन्सिलका रजिष्ट्रार हरिस सिंह थापा, ह्याम्स अस्पतालका निर्देशक डा. सविन कोइराला, काठमाडौँ मेडिकल कलेज (केएमसी)का अस्पताल निर्देशक डा. मिना थापा, फ्रन्टलाइन अस्पतालका मेडिकल अफिसर डा. रोहन झाको सहभागिता रहेको थियो ।

कार्यक्रममा काउन्सिलका सदस्यहरू प्रकाशभक्त माथेमा, उपासना घिमिरे, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृतहरू रहमतुल्ला मियाँ, सविता ढकाल, गीता पराजुली लगायत कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

तस्बिरः सुजन महर्जन ।

 

‘ककाकिकी’को भव्य प्रिमियर चलचित्रकर्मीले गरे प्रशंसा

सेलिब्रेटी नेपाल । कमेडी चलचित्र ‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका थुप्रै चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो।

प्रिमियरमा चलचित्र हेरिसकेपछि अधिकांशले यसको प्रस्तुतीकरण, कथावस्तु र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका थिए। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले चलचित्रमा प्रस्तुत गरेको फरकपन र मेहनतको तारिफ भएको थियो।

कमेडी जनरामा निर्माण भएको चलचित्र हेर्दा हलमा दर्शकको हाँसोका फोहोरा छुटेका थिए। चलचित्रका विभिन्न दृश्यमा उपस्थित चलचित्रकर्मी समेत हाँसेर रमाएका थिए। चलचित्रकर्मीहरूले कथालाई प्रस्तुत गरिएको शैली र कलाकारहरूको अभिनयलाई रुचाउँदै चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए।

प्रिमियरमा सहभागी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायतले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले आफूहरूलाई खुसी मिलेको बताए। आफ्नो टिमले चलचित्र निर्माणमा निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब चलचित्र दर्शकको हातमा सुम्पिने समय आएको बताए। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्रलाई दर्शकले दिने प्रतिक्रियालाई आफूहरूले सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।
त्यस्तै, चलचित्रका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए। अब आफूहरू दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको उनीहरूको भनाइ थियो।

चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। चलचित्रको कन्सेप्ट सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिनाले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्। चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्।

चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त गर्दै छायांकन सुरु



सेलिब्रेटी नेपाल ।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको सामाजिक हास्य चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त सम्पन्न भएको छ। बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो।

शुभ मुहूर्तसँगै बुधबारबाटै चलचित्रको छायांकन पनि सुरु भएको छ। निर्देशक सुब्रत आचार्यका अनुसार चलचित्रको छायांकन ४० दिनको तालिकामा सम्पन्न गरिनेछ।

चलचित्रमा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतम लगातयले अभिनय गर्दैछन्। दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा यस चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्।

सुब्रत आचार्यले निर्देशन गरेको यो उनको तेस्रो चलचित्र हो। उनले यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। चलचित्रको कथा सुब्रत आचार्य र जयाको हो भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन निर्देशन हरि हुमागाईंको छ।

कर्ण कार्कीले निर्माण गरेको यो चलचित्र उनको दोस्रो निर्माण हो। उनले यसअघि ‘होस्टल ३’ निर्माण गरेका थिए। चलचित्रका कार्यकारी निर्माता दिपेन्द्र गौतम हुन्। सह-निर्माता धिरेन्द्र लाल कर्ण र मणिराज खड्का तथा लाइन प्रोड्युसर सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सफल बनाउन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिता र ऐक्यबद्धताका लागि आह्वान गर्नुभएको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने यस वर्षको अभियान नेपालमा पनि विभिन्न कार्यक्रमसहित सुरु भएको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक हिंसाको अन्त्यका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘लैङ्गिक हिंसाविरुद्ध एकजुट होऔँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गरेको छ ।

नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ ।

प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्नुभएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय यसबाट बढी प्रभावित हुने गरेको उल्लेख गर्दै उहाँले डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखिएको बताउनुभएको छ ।

संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ ।

सरकारले लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिएको प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यस वर्ष भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्‍याएको क्षतिका सन्दर्भमा विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उहाँले आह्वान गर्नुभएको छ ।।

जेन्सेन हुवाङको पुनर्बहाली र कर्पोरेटभित्रको ‘मोरल हाजार्ड’

अमेरिकी चिप निर्माता एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङको पुनर्बहालीले कर्पोरेट जवाफदेहिता, नैतिकता र ठूला कम्पनीलाई कारबाही गर्ने क्षमतामाथि बहस सुरु गरेको छ । कम्पनीको बोर्डले हुवाङलाई पुनः नेतृत्वमा ल्याउने निर्णय गरेपछि यसले गलत आचरण गर्ने शक्तिशाली व्यक्तिलाई पनि आर्थिक तथा संस्थागत प्रभावका कारण उन्मुक्ति दिन सक्ने जोखिम देखाएको विश्लेषण गरिएको छ ।

सीएनएनका विश्लेषक डेभिड गोल्डम्यानले हुवाङलाई ‘वाकिङ मोरल हाजार्ड’ अर्थात् नैतिक जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । 

उनका अनुसार कुनै व्यक्ति वा कम्पनीलाई उसको गैरजिम्मेवार व्यवहारका बाबजुद पनि संकटबाट जोगाइन्छ भने भविष्यमा उसले अझ बढी जोखिमपूर्ण निर्णय लिन सक्छ । किनकि उसलाई आफूले गल्ती गरे पनि अन्ततः संस्थाले जोगाउने विश्वास हुन्छ ।

एनभिडियाको बोर्डले हुवाङलाई पुनः नेतृत्वमा ल्याउनुको कारण कम्पनीको आर्थिक क्षति र अमेरिकी सरकारको दबाब रहेको विश्लेषण गरिएको छ । हुवाङको राजीनामापछि एनभिडियाको बजार मूल्यमा २८ प्रतिशत गिरावट आएको थियो । कम्पनीको बजार मूल्यमा ठूलो क्षति भएपछि बोर्डले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो ।

२००८ को वित्तीय संकटसँग तुलना

त्यसो त हुवाङको पुनर्बहालीलाई सन् २००८ को अमेरिकी वित्तीय संकटसँग तुलना गरेका छन् । तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले सेप्टेम्बर २४, २००८ मा राष्ट्रका नाममा सम्बोधन गर्दै वित्तीय प्रणालीलाई संकटबाट बचाउन ७०० अर्ब अमेरिकी डलरको राहत कोष प्रस्ताव गरेका थिए ।

त्यतिबेला लेहमन ब्रदर्स टाट पल्टिएको थियो भने अमेरिकी सरकारले एआईजीजस्ता ठूला वित्तीय संस्थालाई उद्धार गरेको थियो । बुस स्वतन्त्र बजारका पक्षधर भए पनि वित्तीय प्रणाली नै धराशायी हुने जोखिम देखिएपछि सरकारी हस्तक्षेप आवश्यक भएको बताएका थिए ।

उनको तर्क थियो, सामान्य अवस्थामा गलत निर्णय गर्ने कम्पनीलाई असफल हुन दिनुपर्छ । तर, असामान्य संकटका बेला समग्र अर्थतन्त्रलाई जोगाउन हस्तक्षेप आवश्यक हुन सक्छ ।

एनभिडियाको बोर्डले पनि यस्तै परिस्थिति सामना गरेको छ । हुवाङलाई हटाइराख्दा कम्पनीको बजार मूल्यमा थप क्षति हुने र एआई उद्योगदेखि अमेरिकी सरकारसम्म त्यसको प्रभाव फैलिन सक्ने जोखिम थियो । त्यसैले बोर्डले कम्पनीको दीर्घकालीन नैतिक सिद्धान्तभन्दा तत्कालको आर्थिक तथा रणनीतिक आवश्यकतालाई प्राथमिकता दिएको देखिन्छ ।

के हो ‘मोरल हाजार्ड’ अर्थात् नैतिक जोखिम ?

‘मोरल हाजार्ड’ अर्थशास्त्रमा प्रयोग हुने अवधारणा हो । कुनै व्यक्ति, संस्था वा कम्पनीले आफूले लिएको जोखिमको पूर्ण परिणाम भोग्न नपर्ने अवस्था सिर्जना भएमा उसले थप जोखिम लिन सक्ने व्यवहारलाई यसले जनाउँछ ।

यो अवधारणा १९औँ शताब्दीमा बीमा क्षेत्रको आलोचनाका क्रममा चर्चामा आएको थियो । बीमा गरिएको व्यक्तिले आफूलाई क्षति भए पनि त्यसको आर्थिक भार बीमा कम्पनीले व्यहोर्ने भएकाले बढी जोखिमपूर्ण व्यवहार गर्न सक्ने आशंका यससँग जोडिएको थियो ।

jensen-huang

पछि अर्थशास्त्री मार्क पाउलीले सन् १९६८ मा स्वास्थ्य बीमाको सन्दर्भमा यस अवधारणालाई व्याख्या गर्दै बीमा भएका मानिसले बढी स्वास्थ्य सेवा लिनु अनैतिक व्यवहार नभई आर्थिक दृष्टिले तर्कसंगत निर्णय पनि हुन सक्ने बताए । त्यसपछि यो अवधारणा बजार र अर्थतन्त्रमा जोखिम लिने व्यवहार बुझ्न व्यापक रूपमा प्रयोग हुन थाल्यो ।

सन् २००८ को वित्तीय संकटमा पनि यही विषय प्रमुख बहस बनेको थियो । आलोचकहरूले ठूला बैंक र वित्तीय संस्थालाई सरकारी रकमबाट उद्धार गर्दा उनीहरूले भविष्यमा पनि अत्यधिक जोखिम लिने र घाटा भए सरकारले बचाउने अपेक्षा गर्ने बताएका थिए ।

एनभिडियाको बोर्डले हुवाङलाई पुनः नियुक्त गर्नु पनि त्यस्तै जोखिमको उदाहरण भएको विश्लेषकको तर्क छ । कम्पनीको आर्थिक क्षति रोक्न नेतृत्वलाई पुनः जिम्मेवारी दिनु तत्कालका लागि उचित देखिए पनि यसले भविष्यमा गलत आचरणलाई प्रोत्साहन गर्न सक्छ ।

शक्तिशाली सीईओलाई हटाउन नसकिने अवस्था

हुवाङमाथि कम्पनीको आचारसंहितासम्बन्धी गम्भीर उल्लंघनको आरोप लागेको छ । प्रमुख ग्राहकसँग सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि उनले प्रेम सम्बन्ध स्वीकार गरेको बताइएको छ । उक्त ग्राहकको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका पनि गरिएको छ । साथै, उनी कम्पनीकै एक कर्मचारीसँग सम्बन्धमा रहेको खबर सार्वजनिक भएको उल्लेख छ ।

यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् । तर, यस्ता सम्बन्धले कम्पनीभित्र शक्ति सन्तुलन, कर्मचारीको स्वायत्तता र व्यावसायिक निर्णयमा प्रभाव पार्न सक्ने भन्दै कर्पोरेट नैतिकतासम्बन्धी प्रश्न उठाइएको छ ।

कुनै वरिष्ठ अधिकारीले मातहत कर्मचारीसँग सम्बन्ध राख्दा कर्मचारीले आफ्नो जागिर जोगाउन सम्बन्ध कायम राख्नुपर्ने दबाब महसुस गर्न सक्ने जोखिम हुन्छ । त्यस्तै, प्रमुख ग्राहकसँग व्यक्तिगत सम्बन्ध हुँदा कम्पनीको व्यावसायिक निर्णय निष्पक्ष नहुन सक्छ ।

यही कारण विभिन्न कम्पनीमा प्रमुख कार्यकारी र कर्मचारी वा ग्राहकबिचको सम्बन्धलाई कडा रूपमा नियमन गरिन्छ । यस्ता विवादले विगतमा अमेरिकन अप्यारेल, बोइङ, इन्टेल, म्याकडोनाल्ड्स र हेवलेट प्याकार्ड (एचपी) जस्ता कम्पनीका नेतृत्वसमेत संकटमा पारेका उदाहरण छन् ।

कोलम्बिया बिजनेस स्कुलका कर्पोरेट गभर्नेन्स प्राध्यापक शिवराम राजगोपालका अनुसार कुनै व्यक्तिलाई हटाउनै नसकिने अवस्था सिर्जना भएमा उसले आवश्यकभन्दा बढी जोखिम लिन सक्छ ।

हुवाङको पुनर्बहालीले एनभिडियाको तत्कालीन आर्थिक तथा रणनीतिक संकट टार्न मद्दत गर्न सक्छ । तर, कम्पनीको आर्थिक प्रभाव, राष्ट्रिय सुरक्षासँग जोडिएको भूमिका र एआई उद्योगमा उसको प्रभुत्वका कारण नेतृत्वलाई जबाफदेही बनाउने क्षमता कमजोर भयो भने यसले अन्य कम्पनीका नेतृत्वलाई पनि गलत व्यवहारबाट उन्मुक्ति पाइने सन्देश दिन सक्ने देखिन्छ ।

नेपालीले आगामी एक महिनाभित्र भारतमा क्यूआरबाटै भुक्तानी गर्न पाउने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणपछि नेपाली नागरिकले भारतमा पनि मोबाइलबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने भएका छन्। नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने लक्ष्यसहित सहमति जुटेको हो।

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपालको फोनपेका प्रतिनिधिबीच सोमबार र मंगलबार यस विषयमा छलफल भएको थियो। छलफल सकारात्मक बनेपछि आवश्यक प्रक्रिया पूरा गरेर सेवा सञ्चालन गर्न दुवै पक्ष सहमत भएका छन्।

दुवै देशले क्यूआरमार्फत भुक्तानीका लागि आवश्यक प्राविधिक पूर्वाधार तयार गरिसकेका छन्। भारतीय पक्षसमेत सेवा सञ्चालनका लागि सकारात्मक देखिएकाले एक महिनाभित्रै सेवा सुरु गर्ने लक्ष्य राखिएको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिएका छन्।

यसअघि २०८० जेठमा भारत भ्रमणका क्रममा व्यक्ति–व्यक्ति तथा व्यक्ति–व्यापारीबीच डिजिटल भुक्तानी सेवा विस्तार गर्ने विषयमा एनपीसीआईसँग सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मार्फत व्यक्ति–व्यक्तिबीच रकम पठाउने सेवा गत जेठदेखि सञ्चालनमा आइसकेको छ। तर फोनपेमार्फत हुने क्यूआर भुक्तानी सेवा भने कार्यान्वयनमा आउन सकेको थिएन।

यस्तै, गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल रेमिट्यान्स सेवा सुरु गरिएको थियो। त्यसबेला व्यापारीलाई क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था अर्को चरणमा लागू गर्ने बताइएको थियो।

भारतमा नेपालीलाई मोबाइलबाटै भुक्तानी गर्न सहज हुने

हाल नेपाली नागरिकले भारतमा बैंक खाता, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस तथा नेपाली बैंकले जारी गरेका कार्डमार्फत निश्चित सीमा र सर्तभित्र रहेर कारोबार गर्दै आएका छन्।

क्यूआर भुक्तानी सेवा सुरु भएपछि भने भारतका पसल, होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा नेपाली नागरिकले मोबाइलबाटै क्यूआर स्क्यान गरी सहज रूपमा रकम तिर्न सक्नेछन्। यसले भारत भ्रमणमा जाने नेपाली पर्यटक, व्यवसायी तथा अन्य यात्रुलाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

अहिले नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच रकम पठाउने सुविधा पनि सञ्चालनमा छ। यस व्यवस्थाअन्तर्गत नेपालमा रहेका भारतीय नागरिकले प्रतिकारोबार १५ हजार र मासिक एक लाख भारतीय रुपैयाँसम्म पठाउन सक्छन्।

त्यस्तै, भारतमा रहेका नेपाली तथा भारतीय नागरिकले नेपाली बैंक खातामा प्रतिकारोबार दुई लाख भारतीय रुपैयाँसम्म रकम पठाउन पाउने व्यवस्था छ।

नेपाली बैंकका कार्ड प्रयोग गरी भारतमा एटीएमबाट दैनिक १५ हजार र मासिक एक लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था छ। अस्पताल, औषधि पसल तथा होटलको बिल कार्डमार्फत भुक्तानी गर्दा १० लाख रुपैयाँसम्म पूर्वअनुमति लिनु पर्दैन। सोभन्दा बढी रकम भुक्तानी गर्नुपरेमा भने सम्बन्धित बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

नयाँ क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएपछि नेपाल–भारतबीचको डिजिटल कारोबार थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबीच छलफल

काठमाडौं-मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो ।

बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्री, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो ।

छलफलमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएको सम्झौता तथा चिकित्सा शिक्षा सुधारका विषमाय भएको सम्झौताका कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गरी पठाउने तथा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

त्यसैगरी, कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

बैठकमा शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा उठेका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।

चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आयोगलगायत सम्बन्धित संस्थाहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. अग्रवालले सम्झौता कार्यान्वयनसँगै मेडिकल शिक्षालाई सुदृढ, गुणस्तरीय र प्रभावकारी बनाउन अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. खत्रीले चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा नतिजा समयमै सार्वजनिक गर्नेलगायतका विषयमा आयोगले आवश्यक काम गरिरहेको जानकारी दिनुभयो ।

बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र अन्तरनिकाय समन्वयलाई तीव्रता दिने दिशामा जोड दिएको छ ।

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

बनेपा (काभ्रे), ८ मङ्सिर । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । जिल्लाका चार स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएको छ ।

उनका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा भने जिल्लामा डेङ्गीका नयाँ सङ्क्रमित थपिएका छैनन् । कक्षपतिका अनुसार, जिल्लाका अन्य स्थानीय तहमा हालसम्म सङ्क्रमण देखिएको छैन ।