Breaking News
सुरक्षा पन्तको ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज हुने

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ शुक्रबारबाट नेपाल र भारतका हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ । निर्माण पक्षका अनुसार फिल्मलाई भारतका सिलिगुडी, दार्जिलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ र डुवर्स क्षेत्रमा रिलिज गरिएको छ । यी क्षेत्रमा नेपाली भाषी दर्शकहरूको बसोबास उल्लेख्य रहेकाले फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

फिल्मले नेपालका हलहरूमा भने अपेक्षित शो पाउन सकेको छैन । हाल प्रदर्शनरत ‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेकाले ‘धागो’ न्यून शोमा खुम्चिएको छ । प्राप्त शोहरूमा टिकट बुकिङ पनि सन्तोषजनक देखिँदैन । यो अवस्थामा फिल्मलाई व्यापारिक गति समात्न बलियो वर्ड अफ माउथ आवश्यक पर्ने देखिन्छ ।

उदिप राणा थापाको निर्देशनमा बनेको यो फिल्मले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरूको जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेको छ । यसमा सुरक्षासहित प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतले अभिनय गरेका छन् । फिल्मको एक गीतमा वर्षा राउतले नृत्य गरेकी छन् । 

बलिउडका अनिकेर एम. घोघको छायांकन, अखिलेश रायको सम्पादन तथा पुष्पन प्रधानको संगीत रहेको फिल्ममा उमा थापा, उत्तम थापा र उदिप थापा निर्मातामा छन् । फिल्मले पारिवारिक सम्बन्धका उतार-चढाव, आर्थिक अभावले निम्त्याउने चुनौती, र विषम परिस्थितिमा पनि अभिभावकले सन्तानको सपनाका लागि गर्ने त्याग र संघर्षलाई चित्रण गरेको जनाइएको छ

साढे तीन करोड नाघ्यो परान’को कमाइ ‘सोल्टिनी’ हरिविजोग

अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो फिल्मले ९ दिनमा साढे तीन करोडको आँकडा नघाएको छ । गत शनिबारसम्म फिल्मको कुल कमाइ ३ करोड ७१ लाख ३६ हजार रुपैयाँ ग्रस छ । शनिबार मात्र फिल्मले १ करोड २० लाख कमाइ गरेको थियो । 

बोर्डले तिहारको अवसरमा प्रदर्शन भएका चार फिल्म ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘मैझारो’ र ‘सोल्टिनी’को पनि कात्तिक २२ गतेसम्मको कुल आम्दानी सार्वजनिक गरेको छ । जसमा ‘जेरी अन टप’ ११ करोड ७१ लाख ४१ हजार कमाउँदै शीर्षस्थानमा छ । योसँगै फिल्मले यस वर्ष सर्वाधिक कमाइको कीर्तिमान बनाएको ‘ऊनको स्वीटर’को रेकर्ड तोडेको छ । 

त्यस्तै, ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । ‘मैझारो’ले १ करोड ४ लाख कमाएको छ । बक्स अफिसमा सबैभन्दा हरिविजोग ‘सोल्टिनी’को भएको छ । यसको कमाइ २९ लाख मात्र छ । यसरी हेर्दा तिहारको अवसरमा चार फिल्मले साढे १५ करोडभन्दा बढीको व्यापार गरेको देखिन्छ । 

बोर्डले गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’को भने बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन । बुझिए अनुसार अर्को साताको सोमबार यी दुवै फिल्मको व्यापार सार्वजनिक गरिनेछ । दशैंदेखि बोर्डले हरेक सोमबार नेपाली फिल्मको व्यापार सार्वजनिक गर्दै आएको छ, जसले फिल्म क्षेत्रमा पारदर्शिता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ प्रदर्शन

अघिल्लो साताको फिल्म ‘परान’ले हलमा बलियो पकड बनाइरहेको बेला शुक्रबारबाट फरक स्वादका दुई फिल्म दर्शकमाझ आएका छन् । उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै फिल्मप्रति दर्शकको उच्च चासो देखिएकाले बक्स अफिसमा सुखद् व्यापार हुने अनुमान गरिएको छ ।

दुई फिल्ममध्ये शो संख्याको आधारमा ‘जारी २’ अग्रस्थानमा रहेको छ । यसले देशव्यापी २ सयभन्दा बढी शो पाएको छ । ‘मन बिनाको धन’को शो संख्या एक सय हाराहारी छ । दुवै फिल्मको उपलब्ध शोहरूमा देशभर टिकट बिक्री सन्तोषजनक देखिएको छ । अब दर्शकबाट प्राप्त हुने प्रतिक्रिया नै दुवै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्ने मुख्य आधार बन्नेछ ।

लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यो फिल्म २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो ।

गायक अशोक दर्जीको जीवनकथामा आधारित ‘मन बिनाको धन’मा अशोकसहित सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको अभिनय रहेको छयसमा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन् । 

जेनजी आन्दोलनमा भएको क्षति मूल्यांकन गर्न टोली परिचालन

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्यांकन गर्न तथा पुनस्निर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् ।

आगामी हप्ताभित्र सबै क्षतिको विवरण संकलन गरिसक्ने गरी टोली परिचालन गरिएको राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा। दिवाकर लुइँटेलले बताउनु भयो । तथ्यांक संकलनमा एकरूपता तथा सहजताका लागि आयोगले ‘क्षति मूल्यांकन सर्वेक्षण पोर्टल’ समेत सञ्चालन गरेको र सम्बन्धित स्थानीय तह तथा प्रदेश र संघका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

“प्रदर्शनका क्रममा क्षति पुगेका ४४ जिल्लाका करिब २६० हाराहारी पालिका, सबै प्रदेश र संघीय सरकारका विषयगत मन्त्रालय एवं केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ । संकलित तथ्यांक तथा विवरण सर्वेक्षण पोर्टलमा राख्नुपर्नेछ”,सहायक प्रवक्ता लुइँटेलले भने ।

तथ्यांक उपलब्ध गराउनका लागि सम्बन्धित पालिका, प्रदेश कार्यालय तथा संघीय निकायलाई जिम्मेवार बनाइए पनि सहजीकरणको लागि प्राविधिक जनशक्तिसहितको टोली खटाइएको आयोगले जनाएको छ । आइतबारसम्म सबै टोली कार्यस्थलमा पुगिसक्ने र एक हप्ताभित्र तथ्यांक संकलन गरिसक्ने लुइँटेलले बताए ।

यसअघि, प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्यांकन तथा पुनस्निर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिलाई क्षतिको मूल्यांकन र पुनस्निर्माण योजना तयार गर्ने गरी कार्यादेश दिइएको छ ।

यस्तै, योजना आयोगका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका सहसचिवको प्रतिनिधित्व रहने गरी सहजीकरण उपसमितिसमेत गठन गरिएको छ । योजना आयोगका सहसचिवको नेतृत्वमा सचिवालय गठन गरिएको छ ।

यस्तै, आयोगका अनुसार उपसचिवको नेतृत्वमा ४१ जिल्लामा ३४ र उपत्यकाका तीन जिल्लामा चार वटा टोली गरी ३८ टोली परिचालन गरिएको छ । साथै सुपरिवेक्षणका लागि सहसचिवको नेतृत्वमा सबै प्रदेश र उपत्यकामा गरी ११ वटा टोली परिचालन गरिएका छन् ।

फिल्म ‘परान’ शुक्रबारबाट प्रदर्शन

 ‘परान’ले शुक्रबारबाट प्रदर्शन यात्रा सुरू गरेको छ । एकल रिलिजको अवसर पाएको यो फिल्मले देशव्यापी ६४ शो प्राप्त गरेको छ । तर, प्रदर्शनको पहिलो दिन नै फिल्मले चुनौतीपूर्ण स्थिति सामना गर्नुपरेको छ । फिल्मको अग्रिम टिकट बुकिङ अपेक्षाअनुसार देखिएको छैन भने झरीका कारण बिहानी शो पनि प्रभावित बनेको छ ।

भावनात्मक सम्बन्धको कथामा आधारित फिल्म ‘परान’का लागि बक्स अफिसमा सबैभन्दा ठूलो चुनौतीको रूपमा फिल्म ‘जेरी अन टप’ रहेको छ । यसले दुई सातादेखि आक्रामक व्यापार गरिरहेकाले ‘परान’ले हलमा टिक्नका लागि बलियो ‘माउथ पब्लिसिटी’ हासिल गर्न जरूरी छ । बिहीबार साँझ प्रिमियरमा फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेर्दा ‘वर्ड अफ माउथ’ले व्यापारिक गति समात्ने बलियो सम्भावना देखिन्छ । 

फिल्मको प्रिमियरमा कथावस्तु, संवाद, अभिनय, ब्याकग्राउन्ड म्यूजिक लगायतका पक्षको निकै प्रशंसा भएको थियो । फिल्म हेरिसकेपछि अधिकांश भावुक देखिएका थिए । अभिनेता हरिवंश आचार्यले ‘परान’ मनछुने फिल्म बनेको बताए । गायक रामकृष्ण ढकाल, निर्देशक सुयोग गुरुङ लगायतले पनि उत्कृष्ट पारिवारिक फिल्म बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न अनुरोध गरे । 

दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले फिल्मको निर्माण गरेका हुन् ।

चलचित्र परान को टिकट बुकिङ खुल्यो

तिहारको छेकोमा रिलिज भएको फिल्म ‘जेरी अन टप’ले दुई सातादेखि बक्स अफिसमा एकछत्र रजाइँ गरिरहेका बेला शुक्रबार (१४ कात्तिक)बाट फिल्म ‘परान’ व्यावसायिक प्रतिस्पर्धामा उत्रिँदैछ । योसँगै साउथ फिल्म ‘बाहुबली’को नयाँ संस्करण ‘बाहुबली : द एपिक’ पनि एकसाथ प्रदर्शन हुन लागेकाले ‘परान’लाई बक्स अफिसमा ठूलो चुनौती सिर्जना भएको छ । 

बिहीबार साँझ प्रिमियर गर्न लागिएको यो फिल्मको बुधबारबाट देशभरका अधिकांश मल्टीप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । हलमा स्वदेशी र विदेशी फिल्मको चाप उच्च रहेकाले ‘परान’ले अपेक्षित शो भने पाउन सकेको छैन । फिल्मले पहिलो दिनका लागि देशभर ६४ शो पाएको खल्ती एपमा देखिन्छ । जसमा २८ शो क्यूएफएक्स चेनमा मात्र छ । 

‘जेरी अन टप’ र ‘बाहुबली : द एपिक’ले २ सयभन्दा बढी शो ‘होल्ड’ गर्दा ‘परान’ कम शोमा खुम्चिन बाध्य भएको हो । यद्यपि, ६४ शो न्यून भने होइन । यसमा ५० प्रतिशत मात्रै पनि अकुपेन्सी हासिल भएमा ओपनिङ सफल हुनेछ । फिल्म भावनात्मक सम्बन्धको कथामा आधारित भएकाले पारिवारिक दर्शकले साथ दिनेमा निर्माण टिम विश्वस्त छ ।

चर्चित हास्य कलाकार दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायतको अभिनय रहेको छ । चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले फिल्मको निर्माण गरेका हुन् ।

फिल्म‘यो मन त मेरो नेपाली हो अमेरिकी विशेष प्रदर्शनी

फिल्म ‘यो मन त मेरो नेपाली हो’को तीनवटा अमेरिकी सहरमा यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्मलाई विशेष प्रदर्शनी गरिएको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग सहरमा गरिएको विशेष शोमा फिल्म हेर्ने नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सोमबार बेलुका पिट्सबर्गमा भएको शोमा कतिले हलमा सिट नपाउँदा उभिएर समेत फिल्म हेरेका थिए ।

फिल्मलाई अमेरिका प्रदर्शनमा सुखद् प्रतिक्रिया मिलेको छ । नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्नुपर्छ र नेपालीहरुबीच मजबुत एकता हुनुपर्छ भन्ने सन्देश फिल्मले दिएको प्रायःको धारणा थियो । कतिपयले आफ्नै भोगाइ पर्दामा आएकोमा खुसी व्यक्त गर्दै फिल्म हेरिरहँदा भावुक भएको बताएका थिए । अमेरिकामा फिल्मलाई प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ ।

मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, नारायण खाती, आयुषा समाल, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतले अभिनय गरेका छन् । नेपाली भाषा, साहित्य, परम्परा र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि फिल्म बनाएको निर्देशक प्रधानको भनाइ छ ।

‘बाटो भिरको’ सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट अत्यन्त सकारात्मक प्रतिक्रिया

पोखरा, दीपेन्द्र ढकाल(राजु) । सार्वजनिक भएको छोटो समयमा नै ‘बाटो भिरको’ दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।


जीवनका संघर्ष, दुःख र पीडालाई सरल तर गहिरो शैलीमा प्रस्तुत गर्ने यो गीतका सर्जक शिव अखेली हुन् उनि आँफैले लय सिर्जना पनि गरेका छ्न् । बागलुङको बलेवामा जन्मेर हाल वैदेशिक रोजगारमा रहेका अखेलीका शव्द सिर्जनामा बजारमा आएका “भिर्ने झोला” ,”नैना रेशम” लगाएतका दर्जनौ गितले राम्रो सफलता पाएका छन् । भावनात्मक गहिराइ भएका उनका शब्दहरूलाई गायक सुर्य खड्का र निशा केसीको सशक्त स्वरले अझ प्रभावशाली बनाएको छ। यी दुवै गायक गायिकाले यसअघि पनि शिव अखेलीका थुप्रै गीतहरूमा आफ्नो स्वर दिइसकेका छन्।


गीतसँगै सार्वजनिक गरिएको सांगीतिक भिडियो पनि सशक्त बनेको छ। दुर्गा पौडेलको निर्देशनमा निर्माण गरिएको भिडियोमा गायक सुर्य खड्का स्वयं र स्मारिका ढकालले अभिनय गरेका छन्। उनीहरूको जीवन्त र सजीव अभिनयले गीतको भावनालाई अझ गहिरो बनाएको छ।


सारांशमा, ‘बाटो भिरको’ एक मार्मिक, कलात्मक र सन्देशमूलक सिर्जना बनेर आएको छ, जसले नेपाली संगीतमा भावनात्मक सम्प्रेषणको नयाँ उचाइ छोएको देखिन्छ।


भिडियो :

कोटीहोममा भजन चुट्का प्रतियोगिता सुरु

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आजदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गर्ने संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।


प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार पाउने छन् ।


प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था रहेको छ । वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले १४ दिन श्रीमद्भागवत कथा वाचनसँगै बिदाई गरिएको आयोजकले जानकारी दिएको छ । उनलाई कोटीहोममा पुनः ल्याउने प्रयास भइरहेको पनि आयोजकले जानाएको छ । शुक्रबारदेखि नै व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिरहनु भएको छ ।
कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

सुशासनसँग कार्यन्वयनमा डगमगायकाे सरकार

सुशासन अवधारणा भ्रष्टाचार, अनुत्तरदायि सरकार र मानव अधिकारको सम्मानको कमि जस्ता विशेषता भएको खराब शासन प्रणालीले गर्दा विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना भएकोले सन् १९९० को दशक देखिनै दिगो विकास र गरिवी न्युनिकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणालाई अगाडि सारेको पाइन्छ । यो अवधारणा पश्चिमी देश तथा वैदेशिक सहायता प्रदान गर्ने संस्थाहरुद्वारा विकासशील देशहरुको शासन व्यवस्थामा सुधार ल्याइ विकास निमार्णको प्रक्रियामा गतिशिलता प्रदान गर्ने प्रयोजनको लागि विकास गरिएको हो । 


समयक्रममा यस अवधारणाले आफ्नो प्रभाव गुमाएको छ । सार्वजनिक र निजी मामिलामा यसका अवयव र निष्पक्ष व्यवस्थापनका लागि अनुकूलजस्तो देखिए पनि सुशासनले जटिल सामाजिक एवं राजनीतिक समस्या समाधान गर्न सक्छ भन्ने धारणा त्रुटिपूर्ण रहेको देखाएको छ ।


यसबाहेक केही आलोचकले सुशासनको एजेन्डा राजनीतिक द्वन्द्वमा प्राविधिक निर्णयलाई समर्थन गरेर शक्ति संरचनालाई विषयान्तर गर्न अघि सारिएको हो भन्नेसमेत तर्क गर्छन् । नियतवश होस् वा नहोस्, सुशासनका समर्थकले प्रायः मूल मुद्दाको सट्टा सतही विषयलाई जोड दिएकै हुन् । तिनले ‘के’भन्दा ‘कसरी’लाई प्राथमिकता दिए, किनभने यिनले प्रभावकारी परिणाम स्वाभाविक रूपमा उचित प्रक्रियाबाट उत्पन्न हुनेछन् भन्ने विश्वास गर्थे ।
यसै वेलामा ‘सुशासन’को अवधारणालाई परिभाषित र परिमार्जन गर्न धेरै नयाँ उपाय तयार भएका छन् । यी उपाय ‘शासन गर्ने नयाँ प्रविधि’ बनेका छन्, अर्थात् शासन सञ्चालनको मानक बनेका छन् । तर, वास्तवमा यिनले सुधारको भ्रम मात्रै देखाउँछन् । सुशासनको मापन वा कार्यान्वयन कसरी हुन्छ भन्ने विषयमा आलोचना गर्नेको कमी छैन । यद्यपि, धेरै वर्षदेखि परिणामकेन्द्रित राजनीतिक प्रयासलाई किनाराकृत गर्ने यस अवधारणाका वास्तविक नकारात्मक पक्ष हालैका समयमा मात्रै स्पष्ट भएका छन् । उदाहरणका लागि सुशासनको एजेन्डाले जटिल समस्या समाधान गर्ने नीति–निर्माताको क्षमतालाई घटाएको छ । त्यसैगरी, एजेन्डा न्यायसंगत र राजनीतिक रूपमा पनि सामाजिक–आर्थिक क्षतिलाई सम्बोधन गर्न असफल भएको छ । निर्णयका लागि ‘सही’ दिशानिर्देश परिभाषित गरेर इच्छित परिणाम नै आउँछ भन्ने छैन । सुशासनको दृष्टिकोणअनुसार आर्थिक वृद्धिमा जोड दिँदा निष्पक्ष वितरण एवं हानिकारक वातावरणीय प्रभावलाई बेवास्ता गरियो । 


बढ्दो भ्रष्टाचारले विश्वलाई नै आक्रान्त पारिरहेको छ। सुन्दर एवम् सुरक्षित भविष्यको कल्पनामा रमाएको मानव जाति र खासगरी बालबालिका सबैमा भ्रष्टाचारका कारण पर्ने गम्भीर नकारात्मक असर न्यूनीकरण गर्न विश्वव्यापी प्रयास भइरहेका छन्।


तथापि आशातित सफलता प्राप्त हुन सकेको छैन। भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने प्रतिबद्धता हरेक नेतृत्ववर्गले गरेकै हुन्छ। तर ती प्रतिबद्धता नगण्य रूपमा मात्र कार्यान्वयन तहमा उत्रने गरेका पाइन्छन्। भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा भनाइ र गराइबीचको खाडल झन्झन् फराकिलो बन्दै गइरहनु अहिलेको प्रमुख चिन्ताको विषय हो।


ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक २०२४ को प्रतिवेदनले विश्वका अधिकांश मुलुकको स्थिति निराशाजनक देखाएको छ। उक्त संस्थाले एक सय ८० देशमा गरेको सर्वेक्षणमा सुशासन भएका देशहरूको श्रेणीमा पर्न प्राप्त गर्नुपर्ने न्यूनतम ५० प्रतिशत अंक प्राप्त गर्न नसकेका मुलुकहरूको संख्या दुई तिहाइभन्दा बढी छ।


एक सय पूर्णांकमा ५० अंकभन्दा कम पाउने देशको औसत अंक ४३ छ। नेपाल केवल ३५ अंक मात्र प्राप्त गरी सुशासनका दृष्टिले ज्यादै पछाडि अर्थात् १०८ औं स्थानमा पुगेको छ, जुन निकै चिन्ताजनक अवस्था हो।
नेपालका प्रधानमन्त्रीले एउटा शक्तिशाली प्रधानमन्त्रीका रूपमा सत्ता सम्हालेको करिब एक वर्ष पुग्नै लाग्यो। उहाँले बारम्बार ‘आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने’ प्रतिबद्धता दोहो¥याइरहनुभएको छ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने नीतिगत उद्घोष पनि गरिरहनुभएको छ। मुलुकमा झन्डै दुई तिहाइ बहुमतको स्थिर सरकार पनि छ। देशमा आन्तरिक विद्रोहको स्थिति पनि छैन।


विपक्षहरूबाट ठूलो आकारमा बन्द हडताल तथा नाराजुलुस पनि भएको देखिँदैन। बाह्य मुलुकबाट आक्रमण, नाकाबन्दी वा बहिष्कारको कुनै पनि स्थिति रहेको बिल्कुलै देखिँदैन। राज्यका संयन्त्रहरू माथिको पकड गुमाएको पनि कहीँ कतै देखिँदैन।


भ्रष्टाचार नियन्त्रण तथा नियमन गर्ने निकायहरू पनि आआफ्नो ठाउँमा गतिशील रहेकै देखिन्छन्। तापनि किन के कारणले हाम्रो मुलुक दक्षिण एसियाका आठ देशहरूमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने क्रममा तेस्रो स्थानमा उभिन पुगेको हो ? आश्चर्यजनक छ। यस सम्बन्धमा गहन तरिकाले अध्ययन अनुसन्धान हुनुपर्छ।


ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२४ को सीपीआई प्रतिवेदनमा भनिएको छ, ‘भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा धेरै देशको लोकतन्त्र संकटमा परेको देखिन थालेको छ। धेरै भ्रष्टाचार हुने मुलुकमा स्वतन्त्र नियमन र नागरिक अधिकारको स्थिति कमजोर छ।


ती मुलुकमा निरंकुश र पपुलिस्ट नेताले लोकतान्त्रिक मूल्य र शक्ति सन्तुलनविपरीत काम गर्दै भ्रष्टाचार नियन्त्रणको एजेन्डा आफू अनुकूल बनाएको पाइन्छ। तर भ्रष्टाचार कम भएका मुलुकहरूमा कानुनी शासन, स्वतन्त्र नियमनकारी निकाय, स्वतन्त्र प्रेस, नागरिक समाजलाई खुलापन र पर्याप्त राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरिएको हुन्छ। टीआईको उक्त प्रतिवेदनको पृष्ठभूमिलाई दृष्टिगत गर्दै नेपालको भ्रष्टाचारको स्थितिलाई विश्लेषण गर्नुपर्ने हुन्छ।


नेपालमा भ्रष्टाचार तथा अनियमितताको नियमन तथा नियन्त्रण गर्ने संस्थाहरू पर्याप्त छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षक, संसद्को लेखासमिति, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, विशेष अदालतलगायत संस्था अनियमितता एवं भ्रष्टाचार नियन्त्रणमा कानुनबमोजिम नै स्वतन्त्र भूमिका निर्वाह गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भन्ने कुरामा कमै मानिसले विश्वास गर्छन्।


संवैधानिक निकायका प्रायः सबैजसो पदाधिकारीका नियुक्ति राजनीतिक पार्टीहरूको भागबन्डाको आधारमा हुने गरेका छन्। संसदीय समितिहरूमा समेत पार्टीहरूको ह्विप लाग्ने गरेको छ। सरकारी विभागहरूमा त सरकारले आफू अनुकूलकै अधिकारीहरूको पदस्थापन गर्ने भइहाल्यो। कतिसम्म भने अदालतका न्यायाधीशहरूसमेत पार्टीको भागबन्डाका आधारमा नियुक्ति हुने भएपछि कसबाट स्वतन्त्र र निष्पक्ष नियमनको आशा गर्ने ?


बलियो सरकार भएको समयमा जनताले बढी आशा गरेका हुन्छन्। ठूलादेखि सानासम्मका अनियमितता र अव्यवस्थाबारे जनताले बारम्बार आवाज उठाइरहेका हुन्छन्। सरकारले ती आवाजहरूलाई क्रमशः सम्बोधन गर्दै जानुपर्ने हो। तर सरकार ती आवाज आफ्नै विरोधमा उठेको ठान्छ। र त्यस्ता विरोधलाई संसदीय प्रणालीको विरोध तथा गणतन्त्रको विरोधसँग जोडेर अर्थ लगाउँछ।


भ्रष्टाचारविरुद्धको अभियानमा जागरूक सक्रियता आवश्यक छ । स्थानीय तहमा हुने साना तथा मझौला खालका भ्रष्टाचारदेखि नीतिगत आधारमा केन्द्रमा हुने ठूला खालका भ्रष्टाचार सरकार र सम्बन्धित निकायहरूलाई नागरिक समाजले निरन्तर दबाब सिर्जना गरिरहनुर्छ ।


एउटा सत्याग्राहीले विशुद्ध बृहत्तर सार्वजनिक हितमा उठाएका आवाजलाई प्रतिपक्षको सत्तापक्षलाई असफल पार्ने षड्यन्त्रको मतियार बनेको आरोप लगाउँछ। स्वतन्त्र नागरिक तथा बुद्धिजीवीको आवाज दबाउन कहिले उनीहरूलाई थला पार्ने त कहिले अरिंगाल लगाइदिने धम्की सरकारबाट आउनुले नागरिक अधिकारको स्थिति छर्लंग हुन्छ।


सीपीआईको प्रतिवेदन भन्छ, ‘जहाँ निरंकुश तथा पपुलिस्ट नेता हुन्छन्, त्यहाँ लोकतान्त्रिक मूल्यहरू र शक्ति सन्तुलन भत्काएर भ्रष्टाचार नियन्त्रणका एजेन्डा आपूm अनुकूल बनाउँछन्। र मुलुकलाई झन्झन् भ्रष्टाचारको दलदलमा पुर्याउँछन्। कतै हाम्रो मुलुक पनि त्यही दिशातिर उन्मुख त हुँदै छैन ?

यो वा त्यो कोणबाट स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्न खोजिएको अनुभूत हुनु, नागरिकहरू स्वतन्त्र रूपमा भेला हुन पाउने तथा अभिव्यक्ति दिन पाउने अधिकारमाथि प्रतिबन्ध लगाउने प्रयास हुनु, मानवअधिकार, सूचनाको हकलगायत अन्य मौलिक हकमाथि नियन्त्रण गर्ने प्रयास हुनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत कार्य हुन्।

त्यस्तै अमुक व्यक्तिलाई गैरकानुनी रूपमा निर्वाचनमा विजयी गराउन संवैधानिक निकाय निर्वाचन आयोग मात्र होइन, सर्वोच्च अदालतलाई समेत राजनीतिक शक्तिको प्रभावमा पार्नु, संसदीय सुनुवाइका क्रममा प्रधानन्यायाधीशले न्यायसम्पादनका क्रममा सरकारलाई अप्ठ्यारो नपार्ने वचन दिनु तथा राजनीनिक शक्ति केन्द्रको दबाब र इसारामा सर्वोच्च अदालतबाट मुलुकलाई अर्बौं रुपैयाँ क्षति पुग्ने गरी अन्तिम फैसला जस्तै गरी अन्तरिम आदेश आउनुले मुलुकको शक्ति सन्तुलनको दयनीय अवस्था चित्रण गर्छ।


त्यति मात्र मात्र होइन, अदालतको आदेशले थुनामा रहेका गम्भीर अपराधका अभियुक्तलाई प्रधानमन्त्रीको निर्देशनमा प्रतिनिधिसभाका सभामुखले सांसदको शपथ ग्रहण गराउनु र आफ्नो कार्यक्षेत्र बाहिर गएर वाइडबडी जहाज खरिद प्रकरणमा लेखा समितिको निर्णयलाई अमान्य घोषणा गर्दै सरकारले न्यायिक जाँचबुझ समिति गठन गर्नु राज्यको शक्ति सन्तुलनका हिसाबले अत्यन्त उदेकलाग्दो परिस्थिति हो।


सुशासनकाे  सहि कार्यन्वयन गर्न नेपालले संविधान तथा दिगो विकासमा सहित चालू योजनामा समेत समावेश गरी नागरिकलाई सुशासनको अनुभव वा अनुभुति गराउनु राज्यको उदेश्य हुनुपर्दछ ।