Breaking News
अभय र आकाश अभिनीत ‘जिग्री’ को टिजर सार्वजनिक

काठमाडौँ। अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा मुख्य पात्रका अलावा लुट चलचित्रमा पाण्डे नामले परिचित सुशील राज पाण्डे देखी थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएको छ । यस अघि नै चलचित्रको पोस्टर सार्वजनिक गरी फागुन ४ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

चलचित्र `जिग्री´मा कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको छ । चलचित्रलाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा मुख्य कलाकारहरू सँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।

चलचित्र `जिग्री´ वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषय बस्तु रहेको छ ।

सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।

खल्ती स्थापनाको सात बर्ष पुरा, खल्तीबाट ५१ बढी हलमा सहजै टिकट काट्न सकिने

काठमाडौँ। खल्ती एपले स्थापनाको सात बर्ष पुरा गरेको छ । यो सात बर्षमा खल्ती एपले ग्राहकको विश्वास र माया पाइरहेको छ । खल्तीले विगत ३ बर्षदेखि नेपाली चलचित्रको प्रमोसनमा पनि सहकार्य गर्दै आएको छ । यो सहकार्य नेपाली चलचित्र र खल्तीका लागि सुखद बनिरहेको छ ।

३ बर्षमा खल्तीले ४० भन्दा बढी नेपाली चलचित्रसँग सहकार्य गरेको छ । यो सहकार्यले खल्तीसँगै नेपाली चलचित्रका निर्माता र कलाकारले पनि राम्रो फाइदा लिन सकेका छन् । 

खल्तीले केही नेपाली चलचित्रको टिकट काट्दा ३५ प्रतिशतसम्मको हिस्सा लिँदै चलचित्रको व्यापारमा ठूलो सहयोग गरेको छ । यस्तै, फिल्म प्रमोसनमा पनि खल्ती एपले निरन्तर सहकार्य गर्दै आइरहेको छ ।

खल्तीले चलचित्र ‘परस्त्री, हल्कारा, बिहे पास, छड्के २, छक्का पन्जा ४’ लगायतका चलचित्र रिलिजका क्रममा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको थियो । यस्तै, फिल्म ‘बहाव’को रिलिजका क्रममा क्विज समेत राखेर खल्तीले प्रमोसन गरेको थियो । खल्तीले फिल्म ‘महापुरुष’ रिलिजका क्रममा ‘आफ्नो महजोडी’को तस्विर खिचाएर ट्याग गर्न आग्रह गर्दै यो फिल्मको २ वटा टिकट जित्ने अवसर समेत प्रदान गरेको थियो । 
फिल्म बहावका निर्माता श्रीधर पौडेलले भने–‘खल्तीले नेपाली फिल्मलाई साथ दिन थालेपछि नेपाली फिल्मको मार्केटिङ नयाँ ढंगले अगाडि बढेको छ ।

खल्ती एपबाट ५० सेकेन्डमै फिल्मको टिकट काट्न सकिन्छ । यसैले, फिल्मको टिकट खरिदमा यो एप आएपछि दर्शकलाई निकै नै सहज हुने गरेको छ । यसको फाइदा नेपाली फिल्मले उठाएका छन् । फिल्म हेर्नका लागि प्रोत्साहन दिने उद्देश्यले खल्तीले थुप्रै अफरहरू समेत सार्वजनिक गर्यो । 
खल्तीबाट ५१ वटा हलहरुका १२० वटा पर्दामा सहजै टिकट काट्न सकिने भएकाले पनि दर्शकलाई निकै सहज भएको छ । 
खल्तीले ल्याएको विभिन्न योजनामा नेपाली फिल्मका नाम चलेका कलाकारहरूले पनि सहकार्य गरे । जसबाट खल्तीका कारण दर्शक र कलाकारबिचको दुरीलाई नजिक बनाउन निकै मद्दत गरेको छ । 

७ बर्षको यात्राका क्रममा ग्राहकको राम्रो साथ पाएको खल्तीले आगामी दिनमा पनि नेपाली फिल्मसँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ ।

‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक, हलिउड स्तरको मेकिङ्ग

काठमाडौं। एतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियर आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रको नेपाली संस्करणको ट्रेलर बिहिबार काठमाडौंको विश्वज्योति सिनेमामा एक समारोहबीच सार्वजनिक गरिएको छ । मिलन चाम्सद्धारा निर्देशन गरिएको यो चलचित्रको ट्रेलरलाई हल रिलिजसँगै ओएसआर डिजिटल युट्युव च्यानलबाट बिहिबार रिलिज गरिएको छ ।

यस अघि फस्ट लुक्स र टिजर सार्वजनिक गरेपछि चलचित्र गोर्खा वारियरप्रति दर्शकको चासो निकै बढेको थियो । यसै क्रममा यो चलचित्रको ट्रेलरलाई रिलिज समारोहमा सञ्चारकर्मी तथा सिनेकर्मीले खुलेर प्रसँसा गरेका छन् । गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्म हिट हुने दर्शकको प्रतिक्रिया प्राप्त भईरहेको छ । २ मिनट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेका विभिन्न सँघर्ष र पीडालाई प्रस्तुत गरिएको छ । सन १९४९ का बेला दोश्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाहरुले लडेको मलाया युद्धको कथामा यो चलचित्र केन्द्रित रहेको छ । त्यो समय मलाया युद्ध कती कठिन थियो र सो युद्धमा गोर्खा सैनिकहरुले कति सँघर्ष गर्नु पर्यो भन्ने कुराको साराँस आज रिलिज ट्रेलरमा देखाईएको छ ।

अरु चलचित्रको ट्रेलरमा सम्बन्धित सिनेमाको कथा लुकाईए पनि गोर्खा वारियरको ट्रेलरमा यो चलचित्रको सँक्षिप्त कथा खुलाईएको छ । थोरै भए पनि मलाया युद्धबारे दर्शकलाई जानकारी होस भनेर ट्रेलरमा यसको केही कथा खुलाईएको निर्देशक चाम्सले सो कार्यक्रममा प्रकाश पारे । तथापि सिनेमा भित्र के छ भन्ने कुरा गोर्खा वारियर नहेरी थाहा नहुने उनले बताए ।

कार्यक्रममा बोल्दै निर्देशक चाम्सले भने,‘बीर गोर्खाली सैनिकले पहिलो र दोश्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथाहरु छन् । बीरताका ती कथा बिस्तारै हराउँदो जाने हुनाले हामीले १९४९ को मलाया युद्धको कथालाई यो चलचित्रमा प्रस्तुत गरेका हौं ।’ अन्तराष्ट्रिय जगतमा दर्शकको मन जितेको यो चलचित्रले नेपालका दर्शकको पनि मन जित्ने विश्वास उनले व्यक्त गरे ।

यो चलचित्रबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले करिब आठ वर्षको तयारी पश्चात आज अभिनेताको रुपमा यो सिनेमामा आफु आएको बताए । आफु गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न आफुलाई केही सजिलो भएको उनले बताए । यो चलचित्रको ट्रेलर अनुसार ३१ अगष्ट सन १९५७ मा उपनिवेशबाट मुक्त भएको मलाया (हालको मलेशिया) त्यसअघि बेलायतको अधिनमा थियो । आफ्नो स्वतन्त्रताको लागि मलायाका बिद्रोही समुहले १९४० को सुरुवात देखिनै बेलायती शासक बिरुद्ध गुरिल्ला युद्ध गर्दै आएका थिए । सुरुको चरणमा बेलायती सैनिकलाई समेत ति बिद्रोहीहरुले बन्दी बनाएपछि त्यहाँ बेलायतले पुन पठाईएको गोर्खा सैनिकले मलायाको जँगलमा सन १९४९ मा गरेको भिषण युद्धको झलक ट्रेलरमा समेटिएको छ । युद्धका क्रममा गोर्खाली सैनिकको परिवार प्रतिको बिछोड र सम्झनाका कारुणिक दृष्य पनि ट्रेलरमा हेर्न पाईन्छ । गोर्खा वारियरको ट्रेलर हेर्दा निकै महँगो बजेटमा बनेको हलिउडको वार जनराको फिल्मको ट्रेलर हेरिरहेको महसुस दर्शकलाई हुने गर्दछ ।

चलचित्र गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो ।

यो चलचित्र नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।
यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गरेका हुन् ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।

‘मोदिबेनी’ बाट अमर प्रतापको डेब्यु, रेजिनाको कमब्याक

काठमाडौँ। छायाँकनमा जाने तयारीमा रहेको चलचित्र ‘मोदिबेनी’ को कलाकारको लाइनअप पुर्ण भएको छ । हाल कार्यशालामा रहेको यस चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् ।

यस चलचित्रबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छन् । उनले पछिल्लो चलचित्र ‘वरदान’मा ‘लिड रोल’मा अभिनय गरेकी थिइन् । दुई कार्यकाल कलाकार सङ्घमा उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष रही कार्य गरेकी उनले यस बिचमा केही म्युजिक भिडियो, विज्ञापन तथा लघु चलचित्रमा अभिनय भने गरिरहेकी थिइन् । उप्रेतीले यस चलचित्रमा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् ।

अभिनेता सरोज खनालले पनि चलचित्रमा प्रमुख भूमिका निभाउनेछन् । चलचित्रमा अमर, सरोज, रेजिना, केकी, दिलीपका अलावा कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गर्दैछन् । आनन्द बिक्रम क्षेत्रीले लेखेको यो चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्नेछ । चलचित्र माघ १६ गतेदेखि छायाङ्कनमा जानेछ ।

चलचित्रमा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेज डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।

पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा

काठमाडौं । लामो समय देखि चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा कार्य गरि सकेका विनयराज पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा गरिएको छ। केसित बाबु प्रोडक्सन हाउसको व्यानरम बन्ने चलचित्र पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुनेछ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक थिम पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ ।

हाल चलचित्रमा अभिनय गर्ने कलाकारहरुछ्नोटका काम भइरहेको बताईएको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने चलचित्रको आगामी बैशाखबाट छायांकन हुनेछ । चलचित्र ‘आम नागरिक’ मा टेली चलचित्र ‘सर्खारको सर’ को निर्देशन गरेका निर्देशक पौडेलको लेखन रहनेछ।

हाँस्य बिधाको नेपालकै पहिलो रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ फागुन ३ गतेबाट

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सीजन फागुन ३ गतेबाट प्रसारणमा आउने भएको छ । बुधबार काठमाण्डौँको पाँचतारे होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराईएको हो। पत्रकार सम्मेलनमा थ्रि प्रोडक्सनको तर्फबाट निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजन विच सम्झौता पत्रमा हस्ताक्षर भए संगै कार्यक्रम प्रशारणको घोषणा भएको हो। मार्केटिङ एजेन्सि एडि रिलिज र विज्ञापनदाताहरु संग सोही कार्यक्रमा सम्झौता पत्रमा औपचारीक हस्ताक्षर भएको थियो।

यस पटक कमेडि च्याम्पियनले आफ्नो कार्यक्रममा थोरै परिवर्तन ल्याएको कार्यक्रम निर्देशक विशाल भण्डारीले जानकारी दिए। अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरेका छन्। अर्थात अघिल्ला २ सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरुलाई राखेर संख्या बढाईएको छ भने यसपछि उत्कृष्ट १५को सट्टा उत्कृष्ट १६ को छनौट हुने भएको छ। अन्य नियम भने यथावत रहेको निर्देशक भण्डारीले जानकारी गराए।

प्रसारण संस्था कान्तिपुर टेलिभिजनको प्रतिनिधित्व गर्दै सुरजसिंह ठकुरीले हाँस्यव्यङ्ग्य कार्यक्रममा गरिने सेन्सरसिपमा आफू केही हदसम्म गम्भिर र कार्यक्रमको प्रकृती दुवैलाई सन्तुलन गरेर अगाडि बढ्नेमा विश्वास दिलाए।

डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो । हाल उक्त अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन शुरु गरिएको जानकारी गराएका छन्।

तेस्रो सीजनमा उमेरको हिसाबले ११ वर्षकी बालिका देखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न तथा पेट मिची मिची हाँस्न अब धेरै कुर्नु नपर्ने निर्देशक भण्डारीको भनाई रहेको छ।

चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् । निर्माण पक्षका अनुसार यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्नेछ ।

‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक,कमेडी, मित्रता र प्रेमको कथा

काठमाडौँ । माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा भूकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । अभिनेता सौगात मल्लको ‘बोतल राजा’ को गेटअपसमेत देख्न सकिन्छ ।

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

फिल्म ‘हात्तीछाप’मा अर्गानिक प्रेमकथा भएको उपासनाको दाबी

यही आउदो माघ २६ गतेबाट फिल्म ‘हात्तीछाप प्रदर्शनमा आउने तयारीमा रहेको छ।फिल्मलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित छिन् । किन कि एकातिर ‘दुई नम्बरी’ जस्तो सफल फिल्मको टिम र अर्कोतिर गाउँले चरित्र रहेकाले उनी प्रचारमा पनि सक्रिय देखिएकी छन् । पत्रकार भेटघाटमा उनले फिल्म मनोरञ्जनात्मक रहेको र दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरिन् ।

सामाजिक कथावस्तुलाई ल्वाङ गाउँको अर्गानिक प्रेमकथामा ‘हात्तीछाप’ बुनिएको उनको तर्क छ । भन्छिन्, ‘म म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न तयार हुन्छु । त्यसैले ‘हात्तीछाप’को कथा पढ्दा मज्जा लागेको थियो । फिल्मको कथामा फरकपन छ । समसामयिक विषयवस्तुमा मीठो प्रेमकथा बुनिएको छ ।’ फिल्ममा भूकम्पको कथालाई पनि जोडिएको उनले खुलासा गरेकी छन् ।

कतिपय कुराहरु हामीले समाजमा देखेर पनि वेवास्था गरिरहेका हुन्छौं, ती विषयहरु फिल्ममा आएका छन् ।हाम्रो फिल्मले समाजमा भइरहेको यथार्थ घटनालाई नै प्रस्तुत गरेको छ । फिल्मले भूकम्पको कथालाई पनि छोएको छ । सामाजिक विषयलाई निकै रोचक तरिकाले उठान गरिएकाले ‘हात्तीछाप’ विशेष छ ।’ फिल्ममा उनको जोडी दयाहाङ राईसँग बाँधिएको छ ।त्यस्तै, अभिनेता सौगात मल्ल फिल्ममा ‘बोत्तल राजा’को भूमिकामा प्रस्तुत छन् । टिजर हेर्दा उनी दम्भी स्वभावको चरित्रमा रहेको प्रष्ट बुझिन्छ । यो फिल्मका लागि उनले कपाल लामो पालेका थिए । उनी भन्छन्, ‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोशिश गरेका छौं । यसका लागि फिल्मका सबै टिमको मिहिनेत छ । मैले निभाएको चरित्र दर्शकलाई रोचक लाग्न सक्छ ।’
सिमोस सुनुवारद्वारा निर्देशित फिल्ममा बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कमलमणी नेपाल, कविता आले, विल्सन विक्रम राई, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, विनोद न्यौपाने लगायतको पनि अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ भने प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ ।

लोयाङ शेर्पाले जितिन् ‘वर्ल्ड राइजिङ स्टार २०२४’

काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘ वर्ल्ड राइजिङ स्टार २०२४’ मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन् । प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि सुरक्षित गरे ।

प्रतियोगितामा सहभागी एन्जल बाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जिते । उनीहरु प्रतियोगितामा सहभागी भई मंगलबार बिहान काठमाडौं फर्किएका छन् । त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोयाङले शीर्ष उपाधि जित्दा खुशी लागेको बताए । ‘मैले धेरै स्थानमा स्टेजमा उपस्थिति जनाइसकेको छु । त्यसकारण जर्जियाको प्रतियोगितामा स्टेजमा उभिँदा डर लागेन । शीर्ष उपाधि जित्छु भन्नेमा म ढुक्क थिएँ’, उनले भने ।

शेर्पाले प्रतियोगिताको ‘कल्चरल राउण्ड’मा शेर्पा जातिको पोसाक बख्खु लगाएका थिए । उनले आफूले त्यहाँ धेरै साथीहरु बनाएकाले उनीहरुलाई नेपाल आउन निम्तो पनि दिएको खुलाए ।

लोयाङका पिता जाङ्बु शेर्पाले छोराले प्रतियोगिताको शीर्ष उपाधि जित्छ नै भन्ने आफूले नसोचेको बताए । ‘सानोदेखि नै नृत्य र गायनमा चासो राख्थ्यो । धेरै स्टेज कार्यक्रममा नाँचेर र गीत गाएर पुरस्कार पनि जितेको । तर अन्तर्राष्ट्रिय प्रतियोगितामा नै शीर्ष उपाधि जित्दा मलाई खुशीको सीमा छैन’, उनले भने ।

प्रतियोगितामा ‘वल्र्ड राइजिङ स्टार २०२३’ का विजेता प्रसुन जंग पोखरे विशेष अतिथिका रुपमा गएका थिए । उनले यसपटक पनि नेपालले शीर्ष उपाधि ल्याउँदा खुशी लागेको बताए ।

प्रतियोगीलाई जर्जिया पठाउने व्यवस्थापन गरेको परिवर्तन इभेन्ट हाउसकी प्रमुख सोनिया जीआरले आफ्नो कार्यक्रम ‘डीएसए स्टार’का विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा शीर्षसहित विधागत अवार्ड जित्दा गौरवको अनुभव गरेको जनाइन् ।

सौगात भन्छन् ‘हात्तीछाप ले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ’

काठमाडौंँ । अभिनेता सौगात मल्लले चलचित्र ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले चलचित्र आफूले अभिनय गरेको अहिलेस सम्मकै फरक चरित्र रहेको बताए ।

चलचित्रमा सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा छन् । चलचित्रका लागि सौगातले कपाल पनि लामो पालेका थिए । ‘फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ । मेरो गेटअप पनि भिन्न छ,’ सौगातले भने ।

कुराकानीको क्रममा अभिनेत्री उपासना सिंह ठकुरीले पनि चलचित्र आफ्नो अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र भएको बताइन् । चलचित्रले दर्शकलाई २ घण्टा बाँधेर राख्ने क्षमता राख्ने उनको भनाइ थियो । ‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दयाहाङ दाइ र सौगात दाइ भएपछि फिल्म यसै रमाइलो भइहाल्छ,’ ठकुरीले थपिन्, ‘फिल्मले भूकम्पको कथा पनि भनेको छ ।’

‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात र उपासनाको अलावा दयाहाङ राईको पनि मुख्य भूमिका छ । यी तीनै कलाकार फिल्म ‘२ नम्बरी’मा पनि देखिएका थिए । चलचित्रका निर्देशक सिमोस सुनुवार हुन् । किरण नेपालीको प्रस्तुतिमा तयार भएको टिजरले दर्शकको माया पाइसकेको छ ।