Breaking News
राजतन्त्र फर्कने भ्रम छोड्नुस्, जनताले उहिल्यै फालिसके : प्रंधानमन्त्री के•पी शर्मा ओली

पोखरा । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र पुनःस्थापना हुने कुनै सम्भावना नरहेको भन्दै त्यस्ता भ्रमहरू त्याग्न आग्रह गरेका छन्। शुक्रबार पोखरामा राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्था र जनअधिकारको रक्षा गर्न एमाले सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे।

ओलीले राजतन्त्र फर्काउने चर्चालाई भने-‘नेपाली जनताले राजतन्त्रलाई उहिल्यै उखेलेर फाले। अहिले संविधान, संसद, राष्ट्रपति र स्वतन्त्र न्यायालयसहित बलियो लोकतान्त्रिक व्यवस्था छ। हामी छँदैछौं, राजतन्त्र फर्काउने सपना देख्नेहरूले बेकारमा भ्रम नपालुन्।’

उनले जेठ १५ मा राजालाई सिंहासनमा राख्ने भन्ने राजावादीहरूको दाबीलाई भन्दै थपे-‘घरमा सानो सिंहासन बनाएर राख्लान्, तर देशको सिंहासन त कब्जा भएको छैन गइसक्यो।’

राजतन्त्र फर्कने भ्रम छोड्नुस्, जनताले उहिल्यै फालिसके : प्रंधानमन्त्री के•पी शर्मा ओली
राष्ट्रिय युवा संघको महाधिवेशनमा दीप प्रज्वलन गर्दै प्रधानमन्त्री ओली र अन्य विशिष्ट अतिथिहरू

प्रधानमन्त्री ओलीले विगतलाई स्मरण गर्दै राजतन्त्रको अन्त्य जनताको शक्तिको परिणाम भएको उल्लेख गरे। ‘जंगलमा जथाभावी हिंड्ने, जसलाई पायो त्यसलाई आक्रमण गर्ने राजतन्त्रलाई हामीले खोरमा थुनेर, त्यहाँबाट पनि निकालेर मुन्ट्याएर फालेका हौं’, उनले भने।

वैशाख ११ गते जनताले आफ्नो अधिकार फिर्ता लिएको र राजाले आत्मसमर्पण गरेको दिन भएको स्मरण गर्दै उनले राजावादीहरूले त्यसलाई उत्सवको रूपमा मनाउन खोज्दा आफ्नो योजना जेठ १५ मा सारेको व्यंग्य गरे।

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकाललाई कानमा घुसेको कन्सुत्तोजस्तो उफ्रने र अत्याचार गर्ने समयको रूपमा चित्रण गरे। उनले १९ दिनमै जनताले हतियारधारी राजालाई घुँडा टेकाएको उल्लेख गर्दै कुनै पनि प्रतिगामी वा जनविरोधी कदमलाई जनशक्तिले ध्वस्त पार्ने चेतावनी दिए। राष्ट्रिय स्वाधीनता, जनताको हकअधिकार र लोकतान्त्रिक स्थिरताको रक्षा गर्न सरकार र एमाले सधैं अग्रभागमा छ, उनले ठोकुवा गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङप्रति कटाक्ष गर्दै ओलीले भने, ‘उहाँले ज्ञानेन्द्रको कुण्डली हेरेर राजा बन्छ भन्नुभयो रे। म मेरो कुण्डली पठाउँछु, जनताको कुण्डली पनि हेर्नुहोस्, त्यसले के भन्छ थाहा हुन्छ। उनले राजावादीहरूको आन्दोलनलाई “भ्यागुताको ट्वारट्वार”सँग तुलना गर्दै यस्ता हल्लाहरू चाँडै हराउने दाबी गरे।

ओलीले एमालेमाथि भइरहेका आक्रमणहरूको चर्चा गर्दै पार्टीले राष्ट्रिय हित र लोकतन्त्रका लागि गरेको योगदानलाई बिर्साउने प्रयास भइरहेको बताए। उनले आगामी १४ महिनापछि सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याए। साथै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कायम राख्ने उनको भनाइ थियो।

“दरबार हत्याकाण्डपछि लखेटिएको पूर्वराजाको शासन देख्यौं। जनताले त्यसलाई फाल्यो। अब कुनै पनि देशद्रोही वा जनविरोधी गतिविधिलाई जनताले टुलुटुलु हेर्दैनन्,” उनले भने। राजतन्त्र फर्कने कुनै भविष्यवाणी सत्य नहुने र वर्तमान राजनीतिक स्थिरताले लोकतन्त्रलाई थप बलियो बनाउने उनको उद्घोष थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18312, citypokhara.com

काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

मातृभाषा पत्रकारिताको सुन्दरता होः अध्यक्ष बस्नेत

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ । योसहित नेपाली मिडियामा विभिन्न ८ मातृभाषाका आचारसंहिता प्रयोगमा आएका छन् । शुक्रबार काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बु भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गर्नुभयो । यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ ।

कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा नरहने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले आयोजना गरेको विभिन्न ५ भाषामा अनुवादित पत्रकार आचारसंहिता र संहिता भाषागत पत्रकारिता विशेषाङ्क सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी भएको उल्लेख गर्नुभयो । डा. ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवद्र्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताउनुभयो ।काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य साहसिक कार्य भएको बताउनुभयो, ‘भाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो यो एक एड्भेन्चर हो’ उहाँले भन्नुभयो । काउन्सिलले नेपाली भाषाामा रहेको पत्रकार आचारसंहितालाई नेपालभाषा, थारु, मैथिलि, राई वान्तावा, वाम्बुले राई, भोजपुरी, तामाङ र डोट्याली भाषामा समेत अनुवाद गरेको छ । ती मध्ये ५ भाषामा अनुवादित आचारसंहिता शुक्रबार सार्वजनिक गरिएको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले देशका विभिन्न भूभागमा बोलिने मातृभाषाको प्रबद्र्धनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहने बताउनुभयो ।उहाँले सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रबद्र्धनका निम्ति काउन्सिलले काम गरेको उल्लेख गर्नुभयो । ‘मातृभाषाका सञ्चार माध्यम नेपाली पत्रकारिताका सुन्दरता र राज्यको वैभव हुन् । त्यसैले यसलाई प्रबद्र्धन गर्न काउन्सिलले विभिन्न रचनात्मक काम गर्दै आएको छ, अध्यक्ष बस्नेतले भन्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले देशका धेरै भुभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी भएको उल्लेख गर्नुभयो ।आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प नभएको भन्दै उहाँले मातृभाषा र स्थानीयपनलाई वेवास्ता गरिए देशको लोकतन्त्र नै नबाँच्ने बताउनुभयो ।

यस्तै सार्वजनिक सेवा प्रसारणका सञ्चालक समिति सदस्य फुलमान बलले मातृभाषा सबल बनाउन तत् भाषामा पत्रकारिता गर्नु जरुरी रहेको बताउनुभयो । पत्रकारिताको माध्यमबाट मातृभाषाको विस्तारका लागि अहिले सञ्चारको शैली फेरिनुपर्ने उल्लेख गर्नुभयो । पत्रपत्रिका रेडियो र टेलिभिजन मात्र नभइ न्यू मिडियाको माध्यमबाट मातृभाषामा पत्रकार आचारसंहिताको प्रचार प्रसार गरिनुपर्ने उहाँको भनाई थियो । ‘मातृभाषामा भइरहेको पत्रकारिता न्यू मिडियामा रुपान्तरण हुनैपर्छ यसले मातृभाषा बचाउँछ’ उहाँले भन्नुभयो ।

गोरखापत्रका महाप्रबन्धक लाल ऐरीले गोरखापत्रले लामो समयदेखि मातृभाषाको प्रबर्द्धन हुनेगरी प्रकाशन गरिरहेको उल्लेख गर्दै काउन्सिलले मातृभाषा पत्रकारिताको प्रबर्द्धनका लागि गरेको प्रयास सह्रानीय रहेको बताउनुभयो ।

कार्यक्रममा लेखक एवं पत्रकार डा. कृष्णराज सर्वहारी, नृपेन्द्रलाल श्रेष्ठ, पुष्कर माथेमा, पदम राई, अमर तुम्वाहाङ, विष्णुमाया सिङगक, गणेश राई, अर्जुन तामाङ, बुनु थारु, मनोज वर्मा, वीणा सिन्हा, धनबहादुर मगर लगायतले भाषागत पत्रकारिताको अवस्था र अनुभव सुनाउनुभएको थियो ।कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/05/23/9702/, www.presscouncilnepal.gov.np

चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने

पोखरा । पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको थियो ।

एकादशीको पावन अवसरमा वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचनहरू सम्पन्न गरिएका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, यस अवसरमा युवा दार्शनिक चैतन्यकृष्ण महाराजको भोलि बिदाई गरिने छ भने अनन्त श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले भक्तिभावसहित कथा वाचन र भजन प्रस्तुत गरेका छन्।

महायज्ञका संकल्पकर्ता बालयोगेश्व विजयश्री कृष्णमूर्ति जी महाराजले पोखरा–१७ लाई कोटिहोमचोक को रुपमा घोषणा गरिएको जानकारी दिएका छन्। साथै भोलि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभा २५ जनाको टोलीसहित कोटिहोममा आगमन गर्नेछिन्।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन् भने जेठ १४ देखि २२ सम्म भागवत वाचिका राधिका दासीको पनि कथा हुने भएको छ । आयोजकका अनुसार यी दुई वाचिकाको आगमनले भक्तजनको सहभागिता अझ बढ्ने समेत जानकारी दिएका छन् ।
आजको कार्यक्रममा गुरुहरू सुदिप रिमाल, मिन राज गुरुङ्, यज्ञ प्रधान आचार्य लक्षमण भण्डारी, सुरेश रेग्मी, योगी आनन्द प्रेम, चैतन्यकृष्ण महाराज लगायत धेरैजसो विशिष्ट साधु–सन्तहरूको सहभागिता रहेको छ।

महायज्ञमा विभिन्न सामाजिक संस्थाहरू, टोल सुधार समितिहरू, आमा समूह र व्यक्तिहरूबाट लाखौं रुपैयाँ सहयोग प्राप्त भएको छ । कोटिहोमको रक्तदान कार्यक्रममा हालसम्म ६०० भन्दा बढी युनिट रक्तदान भएको छ। साथै राष्ट्रिय भजन प्रतियोगितामा २०० भन्दा बढी समूहले भाग लिइसकेका छन्।

कोटिहोममा आज फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, सामाजिक अभियन्ता र संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको छ भने भोलि बाँकीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता, सुप्रसिद्ध मोटिभेटर डा. तारा प्रसाद गिरीद्वारा प्रशिक्षण, र विभिन्न धार्मिक क्रियाकलापहरू सञ्चालन भइरहेका छन्।

दैनिक ४ सयभन्दा बढी ब्राह्मणद्वारा हवन सञ्चालन भइरहेकाले वातावरण शुद्ध र आध्यात्मिक ऊर्जा प्रदान हुनेछ । महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदानजस्ता विविध कर्मकाण्डहरूको पनि व्यवस्था छ।
यसै क्रममा दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिने भएको छ।
मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा संचालित सामाजिक अभियानको सहयोगार्थ कोटिहोम आयोजना गरिएको हो।

महायज्ञमा संसारकै सबैभन्दा सानो व्यक्तित्व मनोज गोर्खालीको पनि उपस्थिति उल्लेखनीय बनिरहेको छ। कार्यक्रमले धार्मिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको छ।

यहाँ १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण हुने कार्यक्रम, एक मुठी माटो ल्याएर भूमि पूजनमा सहभागी हुने व्यवस्था, विवाह इच्छुकका लागि शुभ विवाह कार्यक्रम, विभिन्न पाठ–पूजा, दान र अनुष्ठान गर्ने अवसरहरू प्रदान गरिएको छ।

पोखरामा राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीको देशव्यापी आन्दोलनको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले जेठ जेठ १ मा राजपत्रमा प्रकाशित गरेको ‘राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ को विरोधमा यातायात व्यवसायीहरूले कडा आन्दोलनको चेतावनी दिएका छन्।

यो नियमावली तत्काल फिर्ता लिन माग गर्दै व्यवसायीहरूले सरकारलाई जेठ १४ सम्मको समय सीमा दिएका छन्। यदि यो अवधिमा माग पूरा नभए जेठ १५ बाट गण्डकी प्रदेशमा यातायात सेवा ठप्प पार्दै देशव्यापी आन्दोलन सुरु गर्ने उनीहरूको अडान छ।

पोखरामा आयोजित एक विरोध सभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरूले नियमावलीले सार्वजनिक यातायात क्षेत्रलाई धरासयी बनाउने दाबी गरे।

महासंघका अध्यक्ष विजयबहादुर स्वारले यो नियमावलीले यातायात व्यवसायीको जीविकामाथि संकट ल्याएको बताए। उनले भने, ‘यो हाम्रो लागि हुन्छ कि हुँदैन,को लडाइँ हो। हामी जेठ १४ सम्म पर्खन्छौँ, त्यसपछि आन्दोलनको आगो देशभर फैलिनेछ।’ उनले विगतका आन्दोलन यात्रुमैत्री र लगानी संरक्षणका लागि भए पनि यसपटकको आन्दोलन अस्तित्व रक्षाको लडाइँ भएको उल्लेख गरे।

देशभर करिब चार लाख भाडाका सवारीसाधन सञ्चालनमा छन्, जसले १२ लाखलाई प्रत्यक्ष रोजगारी दिएको छ। होटेल, मोटर पार्ट्सलगायत सम्बद्ध व्यवसायमार्फत थप १२ लाखले अप्रत्यक्ष रोजगारी पाएका छन्। अध्यक्ष स्वारले भने, ‘यो नियमावलीले यातायात क्षेत्रको योगदानलाई बेवास्ता गरेको छ। हामी रोजगारी र लगानी जोगाउन लडिरहेका छौँ।’

यातायात व्यवसायीहरूले राइड सेयरिङ नियमावली गैरकानुनी र संविधानविपरीत भएको जिकिर गरेका छन्। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा निजी सवारी (रातो नम्बरप्लेट) लाई यात्रु बोक्न निषेध गरिएको छ। गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ ले निजी सवारीलाई निश्चित प्रकृयामार्फत यात्रु बोक्न अनुमति दिएको छ, जुन संघीय कानुनसँग बाझिएको व्यवसायीहरूको तर्क छ।

पोखरामा राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीको देशव्यापी आन्दोलनको चेतावनी
पोखरामा राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीहरूको विरोध सभा

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातो प्लेटका सवारीलाई यात्रु बोक्न अनुमति दिनु यातायात व्यवसायीकाे लगानी र रोजगारीमाथिको आक्रमण भएकाे बताए ।

विरोध सभामा व्यवसायीहरूले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यमाथि आक्रोश व्यक्त गरे। सिटौलाले मुख्यमन्त्री पाण्डेले व्यवसायीको ज्ञापनपत्र बुझ्नबाट भागेको आरोप लगाए। उनले भने -‘हामीले फोन गर्दा उहाँ दिउँसो १ बजेको टिकट बिहान ११ बजे नै सारेर भाग्नुभयो।’ पोखराको पर्यटन बसपार्कमा कालो नम्बरप्लेटका ट्याक्सीलाई प्रवेश निषेध गरिएको भन्दै मेयर आचार्यमाथि पनि व्यवसायीकाे असन्तुष्टि छ ।

स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले मुख्यमन्त्रीलाई जेठ १४ सम्म नियमावली खारेज वा संशोधन गर्न आग्रह गरे। ‘मुख्यमन्त्रीज्यू, बिचौलियाको प्रभावबाट मुक्त हुनुहोस्। यो नियमावलीले हामीलाई मुठभेडतिर धकेल्न खोजिएको छ।’ राईले भने यदि राइड सेयरिङबाट गण्डकीका जनतालाई सेवा दिने मन छ भने हामी सवारी थन्क्याएर घर बस्छौँ, तर भड्काउने सन्देश नदिन अनुरोध छ।’ उनले मुख्यमन्त्रीले राइड सेयरिङलाई प्रोत्साहन गरेर व्यवसायी र राइडरहरूबीच द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए।

आन्दोलनको तयारीस्वरूप व्यवसायीहरूले जेठ १५ बाट गण्डकीमा यातायात बन्द गर्ने र जेठ १६ बाट देशभर सवारी ठप्प पार्ने योजना बनाएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले विगतका आन्दोलन असफल भए पनि यसपटक निर्णायक हुने दाबी गरे। उनले भने – ‘याे पटक हामी पछि हट्दैनौँ। हाम्रो आन्दोलन शिक्षकहरूको भन्दा कडा र निरन्तर हुनेछ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव केसीले सरकारले छलफल नगरी एकतर्फी नियमावली ल्याएको बताए। उनले भने-‘हामीले गत वर्ष सातबुँदे माग राखेर आन्दोलन गरेका थियौँ, तर सुनुवाइ भएन। यो नियमावली हाम्रो पेसामाथिको धोका हो।’

पोखरामा भेला भएका यातायात व्यवसायीहरू, जेठ १५ बाट सशक्त आन्दोलनको घोषणा

गत माघमा पनि राइड सेयरिङ नियमावली ल्याउने प्रयास भएको थियो, तर तत्कालीन कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापासँगको वार्तापछि आन्दोलन रोकिएको थियो।

विरोध सभापछि व्यवसायीहरूले गण्डकीका प्रमुख सचिव रघुराम विष्टलाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमा नियमावली फिर्ता गर्न, सार्वजनिक यातायात सञ्चालनको स्पष्ट नीति बनाउन र वैज्ञानिक भाडादर लागू गर्न माग गरिएको छ। माग सम्बोधन नभए गण्डकीबाट सुरु भएको आन्दोलन देशव्यापी हुने चेतावनी दिइएको छ।

गण्डकी सरकार र यातायात व्यवसायीबीचको यो तनावले नयाँ द्वन्द्वको संकेत गरेको छ। व्यवसायीहरूले आफ्नो पेसा र लगानी जोगाउन निर्णायक लडाइँ लड्ने अठोट व्यक्त गरेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18304, citypokhara.com

शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण सभामा पोखराबाट ५,००० सहभागी हुने

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको विस्तारित बैठक सहिद पार्कको घनश्याम स्मृति कक्ष, पोखरा-१७, सहिद चोकमा हालै सम्पन्न भएको छ।

बैठकले “मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत जेष्ठ १० गते शनिवार हुने जनसभामा पोखरा महानगरपालिकाबाट ५,००० जनाको सहभागिता सुनिश्चित गर्ने प्रमुख निर्णय गरेको छ।

बैठकले जनजागरण अभियानलाई भव्य बनाउन वडा नं. २५, हेमजा मिलनचोकमा अभियान टिमलाई स्वागत गर्ने निर्णय गरेको छ। साथै, आगामी जेष्ठ २४ गते उद्घाटन र २५ गते बन्दसत्रसहित पोखरा सभागृहमा महानगर सम्मेलन सम्पन्न गर्ने तयारी गरेको छ।

सम्मेलनमा पार्टी अध्यक्ष क. प्रचण्ड प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। प्रतिनिधि छनोटका लागि प्रत्येक वडाबाट न्यूनतम ५ जना प्रतिनिधि र ३ जना पर्यवेक्षक, २० जना बराबर १ जना प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ। प्रतिनिधि छनोटमा पार्टी विधान २०८० को भाग ७, धारा ३२(२) बमोजिम भूगोल, जनजाति, युवा, अल्पसंख्यक, एक दलित र एक महिला अनिवार्य समावेश हुनुपर्ने प्रावधान राखिएको छ।

हालसम्म ५,५८० पार्टी सदस्यहरूको नवीकरण भएको र सम्मेलनमा ५५० प्रतिनिधि र ९९ पर्यवेक्षक सहभागी हुने जानकारी दिइएको छ।

महानगर समितिमा नयाँ सदस्य मनोनयनको निर्णय पनि भएको छ। वडा सम्मेलनबाट निर्वतमान भएका मनोज रसाइली (वडा ११), गोविन्द घिमिरे (वडा १२), निर्मल आचार्य (वडा १६), शालिकराम देवकोटा (वडा १७), निर्मल वास्तोला (वडा १९), पूर्णदिप सिग्देल (वडा २१), नवराज बराल (वडा २२), पुरुषोत्तम सुवेदी (वडा २४), मेघराज भण्डारी (वडा २६), यज्ञ प्रसाद तिवारी (वडा २८), लालबहादुर सुनार (वडा २९) र कृष्ण प्रसाद तिमिल्सेना (वडा ३१) लाई महानगर समिति सदस्यमा मनोनयन गरिएको छ। सम्मेलन तयारीका लागि व्यवस्थापन, आर्थिक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्रतिवेदन लेखन, निर्वाचन सहजीकरण, सम्मान सिफारिस र स्वयंसेवक परिचालन उपसमितिहरू गठन गरिएको छ। यी उपसमितिहरूमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी, विमला पहारी, जनकराज पराजुली, निर्मला सुवेदी, शिवजी लामिछाने, अनिल परियार लगायतका कमरेडहरूलाई संयोजकको जिम्मेवारी दिइएको छ।

आर्थिक व्यवस्थापनका लागि आन्तरिक स्रोत परिचालन गरी सम्मेलन सम्पन्न गर्ने निर्णय भएको छ। प्रतिनिधि छनोटका लागि जेष्ठ २० गतेभित्र वडा समितिको बहुमत निर्णय र वडा अध्यक्ष तथा इन्चार्जको संयुक्त हस्ताक्षरसहित माइन्युटको छायाप्रति महानगर कार्यालयमा बुझाउनुपर्ने छ।

उपल्लो समितिका कमरेडहरूले महानगर प्रतिनिधि हुन चाहेमा सम्बन्धित समितिको राजीनामा स्वीकृत पत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको छ। यी निर्णयहरूले पार्टीको संगठन विस्तार, जनजागरण अभियान र आगामी सम्मेलनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बैठकमा पार्टी केन्द्रीय सदस्य हरिराज अधिकारी (क. कुमार) को प्रमुख आतिथ्यता, कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीको विशेष आतिथ्यता, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ (करण), रामजी प्रसाद बराल (जीवन), महानगर इन्चार्ज तेजकुमारी पौडेल, सोमति तमु, बखान सिंह तमु, गंगाप्रसाद पोखेल, कास्की जिल्ला संयोजक विश्वप्रकाश लामिछाने र सचिव विनय थापाको उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता महानगर समितिका अध्यक्ष हरिनारायण गिरी (विज्ञान) ले गरेका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18300, citypokhara.com

तनहुँ माथि कास्कीको १ रनको रोमाञ्चक जित

पाेखरा ।

पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा कास्कीले तनहुँमाथि १ रनको रोमाञ्चक जित निकालेको छ । निर्धारित ३५ ओभरको खेलमा टस जितेर व्याटिङ रोजेको कास्कीले २९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । प्रत्युत्तरमा जितको नजिकै पुगेको तनहुँले १ सय २९ रन जोड्दा ३१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

कास्कीको जितमा नायक सावित भएका प्लेयर अफ द म्याच सोनु यादवले महत्वपूर्ण ३ विकेट लिए । कास्कीको ब्याटिङमा विमोचन सापकोटाले २७ रनको पारी खेले । उनले २ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, सौरभ सिद्धिकीले टिमका लागि २५ रनको योगदान गरे । तनहुँका बलरहरु बरदान यादवले ४ तथा सौरब कुशवाह, सुप्रिम सुनार र स्पर्श तामाङले समान २/२ विकेट लिए ।

तनहुँका ब्याटर रोज श्रेष्ठले अर्धशतकिय पारी खेल्दै ५९ रन जोडेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, सुप्रिम सुनारले व्यक्तिगत २२ रनको योगफल तयार पारे । कास्कीका अन्य बलरहरु अनिस रावत र स्मित कँडेलले २/२ तथा राज परियारले १ विकेट लिएका थिए । जितसंगै कास्कीले समुह ‘ए’ मा शिर्षस्थान कायम गरेको छ । उसले २ खेलमा २ जित निकाल्दै ४ अंक बटुलेको छ । दोश्रो स्थानमा रहेको तनहुँसंग २ अंक छ भने कुनैपनि खेल जित्न नसकेको बाग्लुङ पुच्छरमा रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18295, citypokhara.com

धार्मिक सेवा र दानसहित थाहा नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो। मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो। नगरप्रमुख विष्ट र उप–प्रमुख गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए, जसले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।


कार्यक्रमका क्रममा नगरप्रमुख विष्टले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए। “ज्येष्ठ नागरिकहरूप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य हो,” उनले भने। साथै उनले कोटिहोमका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे।


प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको सहभागिताले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।


यस महायज्ञमा पहिलोपटक पोखरा बाहिरका पालिकाका प्रमुखहरूको उपस्थिति देखिएको हो, जसले कार्यक्रमलाई राष्ट्रिय स्तरको स्वरूप दिएको छ। थाहा नगरपालिकाको सहभागिता यस अर्थमा विशेष रह्यो कि त्यो नगरको प्रतिनिधित्व गर्दै प्रमुख तथा उपप्रमुख दुबै उपस्थित भएका थिए।


महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले पनि नगरप्रमुख विष्टको उपस्थिति र सहयोगको खुलेर प्रशंसा गर्दै भने, “हामीप्रति कुनै रिसराग छैन। म र हाम्रो मानव सेवा फाउण्डेशन सधैं स्वागत गर्न तत्पर छौं।” उनले अन्य नगर र पालिकाका अध्यक्षहरूलाई पनि आउन र सहभागिता जनाउन आह्वान गरे।


कार्यक्रमको दौरान कोटिहोम सम्पूर्ण स्थलमा नगरप्रमुख सहितको टोलीले भ्रमण गरेको थियो। विभिन्न भागहरूमा पुगेर कार्यक्रमको अवलोकन गर्दा भक्तजनहरूले उत्साहपूर्वक ताली बजाएर स्वागत गरेका थिए। प्रवचन स्थलमा विद्युत सजावट, फूलमालाले सजाइएको प्रवेशद्वार, र सांस्कृतिक कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो।


यस्ता कार्यक्रमहरूले धर्म, संस्कृति र सामाजिक समृद्धिलाई जोड्ने पुलको काम गर्छन् भन्ने जनविश्वास रहेको छ। नागरिकहरूले स्थानीय जनप्रतिनिधिहरूको सक्रियताले उनीहरूप्रति जनस्तरको विश्वास अझ मजबुत हुने बताए।

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।


युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्।


महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो छ। त्यसैगरी आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको जानकारी दिए। त्यसैले पनि कोटिहोममा आएका भक्तजन शिवलिङ्ग र शिवमूर्तिसँगै फोटो खिच्दै जाने गरेका छन्।


तनहुँ दमौलीकी कामना क्षेत्री बुधबार कोटिहोम दर्शन गर्न आइन्। उनले कोटिहोम प्रवेश गर्नासाथ सबैभन्दा पहिला शिवलिङ्ग खोजिन् र दर्शनपछि कोटिहोमका अन्य स्थानहरू घुमिन्।


“घरमा टिभी हेर्दा शिवलिङ्ग देखेँ, अनि त्यत्तिकै बेलादेखि कोटिहोम पुगेर प्रत्यक्ष दर्शन गर्ने धोको थियो, जुन आज पूरा भयो,” उनले भनिन्। पोखरा–१० अमरसिंहचोककी अर्को कामना क्षेत्रीले पनि सामाजिक सञ्जालमा शिवलिङ्ग देखेपछि कोटिहोम आएकी बताइन्। यस्तै प्रतिक्रिया अधिकांश भक्तजनको सुनिएको छ।


त्यसैगरी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा र १०० कुण्डीय कोटिहोमको परिक्रमा गर्ने भक्तजनको पनि भिड लागेको छ।

अर्कोतर्फ, मूलद्वारको प्रवचन स्थल भने आजका अन्य दिनहरूभन्दा केही फरक देखिएको छ। प्रवचन स्थललाई विशेषरूपमा सजाइएको थियो, जहाँ भक्तजनहरूको उपस्थिति उल्लेखनीय थियो। सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो।


नगरप्रमुख विष्णुबहादुर विष्ट र उप–प्रमुख भरत गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए। कार्यक्रमको क्रममा नगरप्रमुखले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए। उनले ज्येष्ठ नागरिकप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य भएको बताए। साथै, उनले केही सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाए। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे।
प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको उपस्थितिले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। यस्तो सहभागिताले जन–प्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन कोटिहोम दर्शनमा आउने संकेत पाएको बताएका छन्। जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो अनुमान गरिएको हो।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन्। जेठ १४ देखि २२ गतेसम्म श्रीमद् देवीभागवत कथावाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीको पनि प्रवचन हुनेछ। यी दुई ख्यातिप्राप्त वाचिकाहरूको उपस्थिति भक्तजनको आकर्षण बढाउने आयोजकको विश्वास छ।

कोटिहोममा युवा दार्शनिक चैतन्यकृष्ण महाराज, अनन्त श्री विभूषित पुज्य १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले पनि भजनसहित कथा वाचन गरेका छन्। राष्ट्रिय भजन प्रतियोगितामा बुधबारसम्म १७० समूहले भजन प्रस्तुत गरिसकेका छन्।
खुला रक्तदान कार्यक्रममा ३०० भन्दा बढीले रक्तदान गरिसकेका छन्।


कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, गुरु, धार्मिक तथा सामाजिक अभियन्ता, संघसंस्थाका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ।


मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम को नयाँ भवनको शिलान्यास गरिसकेको छ। यसै उद्देश्यले पोखरामा कोटिहोम सञ्चालन गरिएको हो। यहाँ विभिन्न जातजातिका संस्कृतिहरूको पनि प्रस्तुति भइरहेको छ।
कोटिहोममा जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुनेछ। नामावली दर्ता जेठ १० गतेसम्म खुला गरिएको छ।
जेठ १४ गते नेपालका सुप्रसिद्ध मोटिभेटर डा. तारा प्रसाद गिरीले निशुल्क प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। विद्यालयस्तरका विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आयोजकले आह्वान गरेका छन्।


धार्मिक क्षेत्रमा उदाउँदै गरेका प्रतिभालाई कोटिहोममा उचित स्थान दिइने संकल्पकर्ता महाराजले जानकारी दिएका छन्।

कोटिहोममा दैनिक ४ सय बढी ब्राह्मणले हवन कुण्डमा हवन गरिरहेका छन्। यहाँ तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, हनुमान चालीसा १०८ आवृत्ति पाठ, रुद्राभिषेक, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, दशमहादान, भूमिदान, गोदान लगायतका धर्मकर्महरूको व्यवस्था गरिएको छ।


जेठ १० गते दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट झाँकी प्रस्तुत हुनेछ। उनीहरूले थाली नृत्यसमेत प्रदर्शन गर्नेछन्।

गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताएकी छन् ।


उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी पुस्ताहरुले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राख्नको लागि कोटिहोम चोक भनेर नामकरण गरिएको हो ।” उनले थपिन–हामी धन्य रहेछौं हाम्रो आगनमा आएर अहिले सम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौं ।

त्यस्तै अर्का स्थानिय धनी प्रसाद ढकालले भने –“हामी कोटिहोम चोक बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौं,यो कोटिहोम महायज्ञको इतिहास जिवन्त गर्नका लागि अर्काे बर्ष स्थानियको सक्रियतामा नै ठूलो प्रवेशद्धार निर्माण गर्ने छौं ।”

त्यस्तै अर्का स्थानिय बिनोद केसीले नयाँ मान्छे आउदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामाकरण गर्दा हाम्रो पहिचान नै उच्च रहने बताएका छन् । त्यस्तै बैशाख ९ गते एकादशीको दिन उक्त चोकको अनावरण गर्ने कार्यक्रम रहेको स्थानियको भनाई रहेको छ ।
मानव सेवा फाउण्डेसन नेपाल लगायतको आयोजनामा अहिले सञ्चालन भएको कोटिहोम महायज्ञमा दैनिक बाक्लो भक्तजनको सहभागीता रहेको छ ।

गैरपेसागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

गैरपेसागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरी लगायतका जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘मिडियाको आवरण दिइ आफू पत्रकार भएको भन्दै गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी÷गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा गइ विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृतरुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउने, प्रेस कार्डको दुरुपयोग गर्दै कतिपय जिल्लाका सिमाना गएर धाकधम्की दिने, असुली गर्ने, पत्रकार सम्मेलन गराइदिने भनी पीडितसँगबाट रकम असुली गर्ने, युट्युब च्यानलमार्फत राष्ट्रियता/राष्ट्रिय एकताविपरीत वैयक्तिक गोपनीयता प्रतिकूल, सामाजिक सद्भाव विगार्ने र पारिवारिक विखण्डन गराउने किसिमको सामग्री प्रसारण गर्ने गरेका गुनासाका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ ।’ काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले यस्ता कार्य पेसागत आचरण विपरीत एवं गैरकानुनी कार्य भएको हुँदा त्यस्ता कार्य नगर्न÷नगराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । पत्रकारका विषयमा प्रश्न उठेपछि काउन्सिलले नेपाल पत्रकार महासङ्घ सिरहा जिल्ला शाखालाई ७ दिनभित्र उजुरीसहितको विवरण उपलब्ध गराउन पत्राचारसमेत गरेकोे छ ।
कार्यविधि नै बनाइ युट्युब र फेसबुक च्यानलको समेत अनुगमन गरिरहेको प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्षमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वैष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने ६ वटा युट्युब च्यानल, ५ वटा फेसबुक पेज तथा ६ वटा अनलाइनलाई निर्देशन दिइ सचेत गराएको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई अटेर गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता÷सूचीकरण नभएका ६५ युट्युब च्यानल र ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको विज्ञप्तिमा जनाइएको छ ।

आचारसंहिताबमोजिम दिएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन सञ्चार माध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखिएको काउन्सिलले जनाएको छ । ३ वटालाई सूचीकरणबाट समेत हटाइ थप कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धतासहित निवेदन दिने ५ वटालाई कालोसूची फुकुवासमेत गरिएको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/05/21/9697/, www.presscouncilnepal.gov.np