Breaking News
‘मिस्टर ग्लोबल’ मा सहभागी हुन थाइल्यान्ड उडे मिस्टर नेपाल कार्की

काठमाडौँ । ‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार साँझ त्यसतर्फ उडेका हुन् ।

प्रतियोगिताको फाइनल २६ नोभेम्बरमा हुँदैछ । कार्की नेपाली कलासंस्कृति सहित प्रतियोगितामा सहभागी हुन लागेको हुन् । प्रतियोगीताका लागि उनको फेसन ज्वालाराज पोखरेलले तयार गरेका छन् ।

थाइल्यान्ड उड्नु अगाडि एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले यो पटक प्रतियोगिताको ताज नेपाल भित्र्याउने लक्ष्य सहित आफू सहभागी हुन लागेको बताए ।

२०२३’को उपाधि जितेका थिए । उक्त उपाधि सहित उनले प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका हुन् । पेशाले पाइलट कार्कीलाई प्रतियोगितामा नेक्स्ट मोडल्स नेपालले पठाएको हो ।

‘को–हजबेन्ड’ ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड

काठमाडौँ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित ३६ बर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित आज उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो ।

मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आज आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी हुनुभएको थियो । अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ बर्षदेखि हरेक बर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यसबर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ । उक्त महोत्सवमा संसारभरीबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरुको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो ।

‘विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीहरुको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ । नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । अझ त्यसमा पनि अमेरिका र क्यानडाका क्याम्पस र विश्व विद्यालयमा को–हजबेण्डलाई सन्दर्भ सामाग्रीका रुपमा पठनपाठनमा सहभागी गराइदिने भएको कुरा थाहा पाउँदा निकै खुसी लागेको छ । मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरुलाई एउटा सन्दर्भ सामाग्रीको रुपमा सुवर्ण अवसर समेत प्रदान गर्ने उत्कृष्ट सन्दर्भ सामाग्रीको रुपमा राख्ने संस्थाको तर्फबाट घोषणा गरेकोमा आफैमा गौरवान्वित लागेको छ ।’– निर्देशक पाण्डेले भने ।

निर्देशक पाण्डेको को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा अवार्डहरु जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गर्नुभएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन् । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् । यसैगरी, चन्द्रमान डंगोल, अविनाश लामाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन्। संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

गीतकार मोहन र संगीतकार सौगातको ‘गरौँ रमाइलो’ सार्वजनिक

काठमाडौँ। गीतकार मोहन हेक्चाइ मगरको शब्द, सौगात जंग थापाको संगीत र विशाल निरौला र अनु चौधरीले स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गरौँ रमाइलो’ बोलको गीत फेमस एचडि टिभी युटब च्यानल मार्फत सार्वजनिक गरिएको हो । लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार मगरका यस अघि पनी केहि गीतहरु सार्वजनिक भईसकेका छन्।

चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश बोकेको चलचित्रलाई यज्ञजंग विके(आयुष बिसी) ले निर्देशन गरेका हुन्। चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ ।

निर्देशक विकेले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको बताए । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ ।

विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको चलचित्रमा सम्राट थापाको पार्श्व संगीत, राज गौतमको सहायक निर्देशन, सुजन विश्वकर्माको छायांकन छ । चलचित्रमा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् ।

रश्मिका पछि काजोलको डिपफेक भिडियो भाइरल

एजेन्सी। अभिनेत्री रश्मिका मन्डन्नाको एउटा डिपफेक भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको थियो, अब यो सूचीमा बलिउड अभिनेत्री काजोलको नाम पनि थपिएको छ । अभिनेत्रीको एउटा डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियोमा काजोलले आफ्नो पहिरन परिवर्तन गरेको दाबी गरिएको छ । भिडियो भाइरल भएपछि काजोलका फ्यानहरूले असन्तुष्टि जनाएका छन् ।

फ्याक्ट चेकिङ प्लेटफर्म बुमका अनुसार यो भिडियो काजोलको नभई सामाजिक सञ्जाल प्रभावकारीको हो । जुन २०२३ मा सामाजिक सञ्जालमा ‘गेट रेडी विथ मी’ ट्रेन्ड अन्तर्गत अपलोड गरिएको थियो। अब काजोलका फ्यानहरूले यो डिपफेक भिडियोलाई लिएर असन्तुष्टि जनाएका छन् ।

भिडियो भाइरल भएपछि, रश्मिका मन्डन्नाले यसको विरुद्ध आवाज उठाइन्, जसमा अमिताभ बच्चन र मृणाल ठाकुरलगायत धेरै सेलिब्रेटीहरूले पनि उनको समर्थन गरेका थिए ।

‘दिमाग खराब’ को प्रदर्शन मंगलबार सम्म गर्ने सहमती

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म जारी राख्ने सहमती भएको छ । चलचित्र हलसँग विमति राख्दै चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन स्थगित गर्ने निर्माण कम्पनीले बिज्ञप्ती मार्फत जानकारी दिएको थियो ।

प्रदर्शन स्थगित गर्ने घोषणा गरेको दोस्रो दिन बिहीबार चलचित्रको निर्माता र नेपाल चलचित्र संघबीच मंसिर ५ गते मंगलबार सम्म प्रदर्शन गर्ने सहमति भएको हो । चलचित्र संघमा भएको बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो । बैठकमा चलचित्रका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।

फिल्म ‘बार्बी’ को छायांकनले बेलायती अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान

एजेन्सी । यसवर्षको ब्लकबस्टर फिल्म ‘बार्बी’ले छायांकनको क्रममा बेलायती अर्थतन्त्रमा ८० मिलियन पाउण्डको योगदान गरेको वितरण कम्पनी वार्नर व्रदर्सले जनाएको छ ।

स्टुडियोका अनुसार यो फिल्मले ६८५ जनालाई रोजगारी दिएको छ, ६००० भन्दा अतिरिक्त रोजगारी सिर्जना गरेको छ, ७५४ स्थानीय ब्यापारीलाई प्रत्यक्ष फाइदा पुगेको छ र स्थानीय ज्यालामा ४० मिलियन पाउण्ड भुक्तानी गरेको छ ।

ग्रेटा गेर्विगद्वारा निर्देशित फिल्म आंशिक रूपमा हर्टफोर्डशायरको लिभ्सडेनस्थित वार्नर ब्रदर्स स्टुडियोमा शूट गरिएको थियो । यो फिल्मले बेलायतको अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान दिएको बीबीसीले उल्लेख गरेको छ ।

बार्बील्याण्डजस्तो देखिने क्यालिफोर्नियाको स्वरुपको सेट डिजाइन गरिएको थियो । वार्नर ब्रदर्स डिस्कवरी स्टुडियोमा आंशिक रूपमा छायांकन गरिएका अन्य फिल्ममा फ्यान्टास्टिक बिस्ट फिल्म, ब्याटम्यान, एक्वाम्यान र हाउस अफ द ड्रयागन समावेश छन् ।

स्टुडियोमा ह्यारी पोटर फ्रान्चाइजीको घर पनि छ, जसलाई त्यहाँ १० वर्षभन्दा बढी समयसम्म खिचिएको थियो । बेलायतमा मात्र वार्नर ब्रोस डिस्कभरिका ४ हजार स्थायी कर्मचारी छन् । यो संख्या अमेरिकाबाहिर सर्वाधिक रहेको उल्लेख छ ।

चलचित्र ‘दिमाग खराब’को प्रदर्शन रोकिने

काठमाडौँ। गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित हुने भएको छ । चलचित्र हलसँग विमति राख्दै यो चलचित्रको प्रदर्शन स्थगित गर्ने चलचित्र निर्माण कम्पनी सिनेमा आर्ट्सले एक वक्तव्य जारी गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा हलहरूले नेपाली चलचित्रलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको बताइएको छ । “विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ । विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,” विज्ञप्तिमा भनिएको छ, “पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०%-५०% प्रतिशत हुन्छ तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ र यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ ।”

विज्ञप्तिमा जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शेयर बाँडफाँड हुँदैन तब सम्मको लागि नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको उल्लेख गरिएको छ । हलमा रिलिज गर्ने वातावरण नरहे दर्शकलाई अन्य कुनै माध्यमबाट चलचित्र देखाउने बताइएको छ ।

‘दिमाग खराब’ को सन्तोषजनक व्यापार,‘वर्ड अफ माउथ’ अब्बल

काठमाडौँ। कार्तिक २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ले आक्रामक व्यापार गरिरहेको छ। आज रिलिजको पॉचौ दिन हो । अब्बल वर्ड अफ माउथका कारण यो चलचित्रको व्यापार आज पनि बिहानी सो देखिनै आक्रामक देखिएको छ । सिनेमा हलका अनलाइन साइटमा हेर्दा बिहान देखि राती सम्मका शोमा दर्शकको चाप देखिएको छ। चलचित्रको बिषयमा दर्शकको प्रतिक्रिया एकदम राम्रो भएका कारण व्यापार अझै बढ्ने देखिन्छ । तिहार बिदाको फाइदा सिनेमाले पर्याप्त मात्रामा उठाइरहेको छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

सुनसरीमा थपियो नयाँ सिनेमा घर

काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका अवस्थित चक्रघट्टीमा विगत ५ वर्षदेखि बन्द रहेको सिनेमा घर ‘बराह चित्र मन्दिर’ पुन: संचालनमा आएको छ । गएको शुक्रवार अर्थात कार्तिक २४ गते एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सिनेमा घरको उद्घाटन गरिएको हो । नयाँ व्यवस्थापन सहित उच्च क्वालिटिको प्रोजेक्टर र साउण्ड सिस्टम सहित उक्त हलको शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रधानले हल पुन: संचालनमा आएकोले नयाँ व्यस्थापन टिमलाई शुभकामाना दिएका छन् । उनले आगामी दिनहरुमा यो हलले दर्शकको माग अनुसार सुविधालाई अझै विस्तार गर्दै लैजान पनि सुझाए ।