Breaking News
मन्त्रीहरुको मर्यादाक्रममा हेरफेर

 

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रममा हेरफेर गर्नुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा हेरफेर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ  मर्यादाक्रम कानून मन्त्री सोविता गौतम तेश्रो बरियतामा पर्नुभएको छ भने परराष्ट्रमन्त्री शिशिर खनाल चौंथो तथा उर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौ नम्बरमा हुनुहुन्छ ।

कानून मन्त्री गौतम रास्वापाको महाधिवेशनबाट पार्टीको उपसभापतिमा निर्वाचित हुनुभएको थियो ।।

 

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, विजय र अञ्जनाको प्रेममा को हो तगारो?

सेलिब्रेटी नेपाल । ‘पूर्णबहादुरको सारंगी’ फेम निर्देशक सरोज पौडेल निर्देशित चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले विहीबार एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरुको प्रेमले भोग्ने नियतिको कथा सिनेमाले बोल्ने देखाइएको छ । चलचित्रले तात्कालिन समयमा नेपाली समाजमा पुरुषको अहममा महिला कसरी पितृसत्ताको नियम र नतिजा भोग्न विवश थिए भन्ने कुरालाई सिनेमाले प्रस्तुत गर्ने बुझ्न सकिन्छ ।

ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् । विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्‍याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।

सिनेमा मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् ।

‘सिन्दुरे जात्रा’मा विजय, अञ्जना र विनोदका अलावा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन प्रोडुसर छन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ भने ओएसआर डिजिटल पार्टनरका रूपमा जोडिएको छ।

स्वास्थ्यमा मन्त्री मेहताको परिणाममुखी हस्तक्षेप « रिपोर्टर्स नेपाल

काठमाडौँ । नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्र लामो समयदेखि नीतिगत अलमल, व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहको सुस्तताजस्ता महारोगबाट ग्रस्त रहँदै आयो । नागरिकका लागि सरकारी अस्पताल शब्द आफैँमा लामो लाइन, औषधि अभाव र झन्झटिलो प्रक्रियाको पर्यायजस्तै बनेको थियो। तर, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बागडोर निशा मेहताको काँधमा आएसँगै दशकौँदेखिको यो जडता तोडिने बलियो सङ्केत देखिएको छ। परम्परागत राजनीतिक र प्रशासनिक कार्यशैलीलाई चिर्दै मन्त्री मेहताले अघि बढाएको नतिजामुखी हस्तक्षेपले नीतिगत तहदेखि अस्पतालको शय्यासम्म सकारात्मक कम्पन पैदा गरेको छ।

‘विषयविज्ञ’ नेतृत्वको प्रभाव

नेपालको संसदीय अभ्यासमा विषयगत ज्ञान र अनुभवभन्दा राजनीतिक भागबण्डाका आधारमा मन्त्रालय बाँडफाँट हुने प्रवृत्ति नौलो होइन। तर, मन्त्री मेहताको हकमा यो भाष्य बदलिएको छ। भारतको प्रतिष्ठित संस्थान एम्स, नयाँ दिल्लीबाट नर्सिङमा स्नातक र जिवाजी विश्वविद्यालय, ग्वालियरबाट स्नातकोत्तर उपाधि हासिल गरेकी मेहता आफैँ स्वास्थ्य क्षेत्रकी अनुभवी प्राज्ञ तथा क्लिनिकल प्रशिक्षक हुन्।

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लामो समय प्राध्यापन र नर्सिङ प्रशिक्षणमा बिताएको अनुभव अनि आसरा सुधार केन्द्रजस्ता सामाजिक संस्थामा गरेको कामले उनलाई भुइँतहका बिरामीको पीडा र स्वास्थ्य प्रणालीका सूक्ष्म छिद्रहरू बुझ्न सहज बनाएको छ। यही प्राविधिक दक्षता र व्यवस्थापकीय सुझबुझका कारण मन्त्रालयको नेतृत्व सम्हालेको छोटो अवधिमै उनले समस्याको चुरो पत्ता लगाएर उपचार थाल्न सकेकी हुन्।

‘छड्के’ अनुगमन र प्रशासनिक चुस्तता

मन्त्री मेहताको कार्यशैलीको सबैभन्दा चर्चित र प्रभावकारी पाटो हो— आकस्मिक (छड्के) अनुगमन। पूर्वसूचना दिएर औपचारिक स्वागत र माला थाप्ने पुरातन प्रवृत्तिलाई त्याग्दै उनी देशका विभिन्न भागका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा अकस्मात् पुग्ने गरेकी छन्। स्थलगत रूपमै बिरामीका गुनासा सुन्ने, उपकरणको अवस्था जाँच्ने र चिकित्सकको उपस्थिति तथा सरसफाइमा देखिने लापरबाहीलाई तत्कालै ‘एक्सन’मार्फत सच्याउने उनको शैलीले कर्मचारीतन्त्र र अस्पताल प्रशासनलाई हरबखत सतर्क र जिम्मेवार बनाएको छ।

अस्पतालको बहिरङ्ग (ओपीडी) तथा आकस्मिक सेवाको समय व्यवस्थापन, प्रयोगशाला परीक्षणको छरितोपन र निःशुल्क औषधिको सहज उपलब्धतामा उनले गरेको कडाइले आम नागरिकलाई प्रत्यक्ष राहत दिन थालेको छ।

विज्ञ टिम र दीर्घकालीन गुरुयोजना

सुधार नेतृत्वको एक्लो इच्छाशक्तिले मात्र टिकाउ हुँदैन भन्ने यथार्थलाई आत्मसात् गर्दै मन्त्री मेहताले मन्त्रालयभित्र र बाहिर विषयविज्ञहरूको सक्षम टिम परिचालन गरेकी छन्। राजनीतिक निकटताभन्दा कार्यक्षमता र विज्ञतालाई प्राथमिकता दिएर नीति निर्माण तहमा योग्य व्यक्तिहरूलाई स्थान दिनुले मन्त्रालयको कार्यसम्पादनमा नयाँ ऊर्जा थपेको छ।

यसका साथै, तत्कालीन समस्याको टालटुले समाधानमा मात्र सीमित नरही उनले आगामी दशकौँसम्मका लागि स्वास्थ्य क्षेत्रको स्पष्ट मार्गचित्र कोर्ने उद्देश्यले दीर्घकालीन गुरुयोजना (मास्टरप्लान) निर्माणको थालनी गरेकी छन्। जनसङ्ख्याको चाप, रोगको बदलिँदो प्रकृति र भौगोलिक विकटतालाई सम्बोधन गर्दै स्वास्थ्य पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र स्वास्थ्य बीमा कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने यो योजना नेपालको स्वास्थ्य इतिहासमा कोसेढुङ्गा बन्ने देखिन्छ।

सरकारी सबलीकरण र निजीको नियमन

मन्त्री मेहताको सुधार अभियानको अर्को महत्त्वपूर्ण आयाम सरकारी र निजी स्वास्थ्य संस्थाबिचको सन्तुलन र प्रतिस्पर्धात्मक सुधार हो। जीर्ण सरकारी अस्पतालहरूको भौतिक पूर्वाधार मर्मत, आधुनिक चिकित्सा उपकरणको जडान र व्यवस्थापकीय सुधारमार्फत सरकारी स्वास्थ्य संस्थालाई निजीसरह भरोसायोग्य र मर्यादित बनाउने अभियानले गति लिएको छ।

अर्कोतर्फ, चर्को शुल्क असुल्ने तर आधारभूत मापदण्डसमेत पूरा नगर्ने निजी अस्पतालहरूलाई कडा नियमनको दायरामा ल्याउने उनको कदमले स्वास्थ्य क्षेत्रमा व्याप्त व्यापारिक मनोमानी रोकिने आशा जगाएको छ। साथै, खाद्य स्वच्छताको विषयलाई जनस्वास्थ्यको मूल आधारका रूपमा जोड्दै रोग लाग्नुअघि नै निरोधात्मक उपाय अपनाउने नीतिलाई उनले प्राथमिकतामा राखेकी छन्। निष्ठा, प्राविधिक विज्ञता र दृढ इच्छाशक्तिको त्रिवेणीका रूपमा मन्त्री मेहताले चालेका यी कदमहरूले वर्षौँदेखि थलिएको नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ जीवन दिएको छ। अल्पकालीन सुधार र दीर्घकालीन दृष्टिकोणको यही सन्तुलन कायम रहन सके आम नेपालीले गुणस्तरीय स्वास्थ्योपचारका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुनेछ।

क्रिकेटर रोहित पौडेलले थाइल्यान्डमा गरे प्रेमिकासँग विवाह

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका सिम्रन खड्कासँग वैवाहिक जीवन सुरु गरेका हुन् ।

रोहितले थाइल्यान्डमा आयोजित एक समारोहबीच सिम्रनसँग लगनगाँठो कसेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन् ।

विवाहका तस्बिरसँगै रोहितले आफ्नी जीवनसाथीका लागि भावुक सन्देशसमेत लेखेका छन् ।

‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि जीवनसाथी बन्न पुग्यौँ । सधैँभरि सँगै रहने वाचासहित,’ उनले लेखेका छन् ।

शिवम अधिकारीको चलचित्र ‘सेतो कोट’ को छायाङ्कन सुरु


काठमाडौं । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘सेतो कोट’ को छायाङ्कन सुरु भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको प्राङ्गणमार्फत फिल्मको छायाङ्कन सुरु गरिएको हो । निर्माण टिमले क्यामेरा पूजा गर्दै छायाङ्कन सुरु गरेको हो । पूजा शर्माको पहिलो सट लिँदै छायाङ्कन सुरु गरेको फिल्मको छायाङ्कन काठमाडौँ र मकवानपुरमा हुने छ ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा तथा सन्देश थापा रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। चलचित्रमा पूजा शर्मा, नीर शाह,अशोक दर्जी, सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, सुप्रिया शर्मा, फलित राई, सुरेश थापा मगर, सरिता अधिकारी,शङ्कर श्रेष्ठ लगायतको अभिनय रहनेछ।

चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ।

दशौँ राष्ट्रिय खेलकुद : पदक तालिकामा बागमतीको अग्रता, एनआरएनए दोस्रो स्थानमा

काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्मको पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ।

हालसम्म विभिन्न खेलमा २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको टुंगो लाग्दा बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित १९ पदक जितेको छ।

पदक तालिकामा एनआरएनए दोस्रो स्थानमा रहेको छ। एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदक हात पारेको छ।

त्यस्तै, नेपाल पुलिस क्लबले ३ स्वर्ण, ७ रजत र ८ कास्य गरी १८ पदक जितेको छ। नेपाल आर्मीले पनि २ स्वर्ण, ८ रजत र ८ कास्यसहित कुल १८ पदक आफ्नो नाममा गरेको छ।

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजत गरी ३ पदक जित्दा कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेको छ।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते गर्ने कार्यतालिका रहे पनि केही खेलका प्रतिस्पर्धा भने यसअघि नै सुरु भइसकेका छन्।

दोस्रो दिनसम्मको नतिजाले पदक तालिकामा बागमतीको अग्रता देखिएको छ भने एनआरएनए, नेपाल पुलिस र नेपाल आर्मीबीच पनि पदकका लागि प्रतिस्पर्धा जारी छ।

जेनजी आन्दोलनमा घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे दुई मन्त्री

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिन दुई मन्त्री अस्पताल पुगेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उपचाररत ढकाललाई भेटेका हुन्।

भेटका क्रममा मन्त्रीद्वयले शान्तनु र उनका परिवारसँग कुराकानी गर्दै उपचारको पछिल्लो अवस्था, थप उपचारको आवश्यकता तथा परिवारले सामना गरिरहेका समस्याबारे जानकारी लिएका थिए।

उनीहरूले शान्तनुको उपचारलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै उपचारपछि आवश्यक पर्ने पुनर्स्थापना तथा परिवारको सामाजिक र आर्थिक सुरक्षाका विषयमा पनि सम्बन्धित मन्त्रालयमार्फत सहयोग, समन्वय र सहजीकरण गर्ने बताएका छन्।

आर्थिक वृद्धि दर घट्यो,कृषि उत्पादन र औद्योगिक क्षमता उपयोग पनि कमजोर

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर घटेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ४३ प्रतिशत आर्थिक वृद्धि भएकामा गत आर्थिक वर्षमा वृद्धिदर घटेको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । औद्योगिक क्षेत्रको अवस्था पनि कमजोर देखिएको छ ।

अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ । यद्यपि, सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या शून्य दशमलव ९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ ।

यसैगरी, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव ७२ प्रतिशत र कर्जा प्रवाह छ दशमलव ५५ प्रतिशतले बढेको छ ।

वैदेशिक व्यापारतर्फ कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले वृद्धि भई तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने आयात १६ दशमलव २० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेकाले नेपालको व्यापार असन्तुलनको चुनौती कायमै रहेको प्रतिवेदनले देखाएको छ ।

स्वास्थ्य क्षेत्रका सरोकारवालासँग प्रेस काउन्सिलको अन्तरक्रिया

स्वास्थ्य क्षेत्रका सरोकारवालासँग प्रेस काउन्सिलको अन्तरक्रिया
छलफल । तस्बिरः सुजन महर्जन ।

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले मिडियाप्रतिको जनगुनासो र आचारसंहिता विषयमा स्वास्थ्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रियामा गरेको छ । काउन्सिल सभाहलमा बुधबार भएको अन्तरक्रियामा सहभागीले सरोकारवालाहरूले स्वास्थ्यसँग सम्बन्धित समाचारमा संवेदनशीन हुन आवश्यक रहेको औँल्याएका छन् । उनीहरूले नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउने दायित्व पनि मिडियाकै भएको कारण समाचारका विषयमा संवेदनशील हुन आवश्यक रहेको औँल्याउनुभयो । अन्तरक्रियामा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, विभिन्न अस्पतालका निर्देशक, स्वास्थ्य क्षेत्रका सङ्घ/संस्थाका अध्यक्ष/प्रतिनिधि तथा चिकित्सकहरूले उपचार पद्धति, औषधिबारे यथेष्ट जानकारी र अस्पतालभित्रको सुरक्षा संवेदनशीलताका विषय नबुझि सञ्चार माध्यमबाट फैलाइएका विषयले पार्ने नकारात्मक असरबारे सचेत भइदिन मिडिया क्षेत्रलाई आग्रह गर्नुभयो। प्रेस काउन्सिल नेपालले मिडिया क्षेत्र र मेडिकल क्षेत्रबिच समाचार सम्प्रेषणको विषयलाई लिएर समन्वयकारी भूमिका खेलिदिनुपर्ने उहाँहरूको भनाइ थियो । स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीले सञ्चार माध्यमबाट सम्प्रेषण हुने आचारसंहिताप्रतिकूलका समाचारको परीक्षण (स्क्रिनिङ) हुनुपर्नेमा उहाँहरूको जोड थियो ।

काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रमको औचित्य प्रष्ट पार्दै सहभागीलाई स्वागत गर्नुभएको थियो । मिडिया अनुगमनकर्ता प्रकाश शर्माले संयोजन/सहजीकरण गर्नुभएको कार्यक्रममा आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा.विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी, पाटन अस्पतालका निर्देशक डा. शान्तवीर महर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप वास्तोला, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निराजन सुवेदी, नेपाल मेडिकल काउन्सिलका सदस्यद्वय डा. सम्राट पराजुली र डा‍. छवि पन्थी, नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा. लोचन कार्की, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रेडियोलोजिष्ट डा. कृष्ण बुढाथोकी, तिलगङ्गा आँखा प्रतिष्ठानका मुकेशकुमार सिंह, अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. सुदन ढकाल, काठमाण्डु मोडल अस्पतालका निर्देशक डा. उदय कोइराला, औषधि उत्पादक सङ्घका महासचिव सन्तोष बराल, नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)का अध्यक्ष ललितमोहन पन्त, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण जोशीलगायतले धारणा राख्नुभएको थियो । साथै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक डा. श्रीप्रसाद अधिकारी, निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. जितेन्द्र परियार, शहिद गंगालाल राष्ट्रिय हृदयराेग केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.आशिष गोविन्द अमात्य, कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रकाश जोशी, आयुर्वेद चिकित्सालय, नरदेवीका निर्देशक डा. रामआधार यादव, फार्मेसी काउन्सिलका रजिष्ट्रार हरिस सिंह थापा, ह्याम्स अस्पतालका निर्देशक डा. सविन कोइराला, काठमाडौँ मेडिकल कलेज (केएमसी)का अस्पताल निर्देशक डा. मिना थापा, फ्रन्टलाइन अस्पतालका मेडिकल अफिसर डा. रोहन झाको सहभागिता रहेको थियो ।

कार्यक्रममा काउन्सिलका सदस्यहरू प्रकाशभक्त माथेमा, उपासना घिमिरे, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृतहरू रहमतुल्ला मियाँ, सविता ढकाल, गीता पराजुली लगायत कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

तस्बिरः सुजन महर्जन ।

 

‘ककाकिकी’को भव्य प्रिमियर चलचित्रकर्मीले गरे प्रशंसा

सेलिब्रेटी नेपाल । कमेडी चलचित्र ‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका थुप्रै चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो।

प्रिमियरमा चलचित्र हेरिसकेपछि अधिकांशले यसको प्रस्तुतीकरण, कथावस्तु र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका थिए। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले चलचित्रमा प्रस्तुत गरेको फरकपन र मेहनतको तारिफ भएको थियो।

कमेडी जनरामा निर्माण भएको चलचित्र हेर्दा हलमा दर्शकको हाँसोका फोहोरा छुटेका थिए। चलचित्रका विभिन्न दृश्यमा उपस्थित चलचित्रकर्मी समेत हाँसेर रमाएका थिए। चलचित्रकर्मीहरूले कथालाई प्रस्तुत गरिएको शैली र कलाकारहरूको अभिनयलाई रुचाउँदै चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए।

प्रिमियरमा सहभागी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायतले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले आफूहरूलाई खुसी मिलेको बताए। आफ्नो टिमले चलचित्र निर्माणमा निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब चलचित्र दर्शकको हातमा सुम्पिने समय आएको बताए। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्रलाई दर्शकले दिने प्रतिक्रियालाई आफूहरूले सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।
त्यस्तै, चलचित्रका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए। अब आफूहरू दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको उनीहरूको भनाइ थियो।

चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। चलचित्रको कन्सेप्ट सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिनाले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्। चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्।