Breaking News
लेउवा संघमा लमजुङ उद्योग वाणिज्य संघको टोलीलाई स्वागत

लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले लमजुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ ।

संघमा शुक्रबार आयोजित कार्यक्रममा संघका पदाधिकारीहरु एवं सदस्यहरुको टोलीलाई स्वागत गर्दै अध्यक्ष जानुका पराजुली अधिकारीले संस्था व्यक्तिको हैन विधिको आधारमा सञ्चालन हुनुपर्नेमा जोड नेतृत्वको दासताको आधारमा संञ्चालन हुन नहुने सुझाव दिंदै सदैव व्यवसायिहरुको हितमा कार्य गर्न संघ सफल हुने विश्वास व्यक्त गरेकी थिईन ।

कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले यो आफुहरुको पहिलो अध्ययन अवलोकन भ्रमण भएको वताउँदै यो भ्रमण पनि नेपालकै उत्कृष्ट वाणिज्य संघको रुपमा स्थापित भएको लेखनाथ उद्योग वाणिज्य संघमा गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

श्रेष्ठले महोत्सवको पनि महोत्सवको रुपमा परिचय बनाउन सफल भएको लेखनाथ महोत्सव देशकै नमुना महोत्सव भएको र जिल्लाको आर्थिक चलायमान गराउन र पर्यटन क्षेत्रमा टेवा पुर्याउन सफल भएकोमा प्रशंसा व्यक्त गरेका थिए ।

अध्यक्ष श्रेष्ठले लमजुङ उद्योग वाणिज्य संघका विषयमा जानकारी गराउँदै २०३२ सालमा स्थापना भई ३ हजार २ सय सम्म सदस्य रहेको संघमा हाल नविकरण भएका ७ सय ५० सदस्य मात्र रहेको वताए । व्यवसायीहरुका लागि अहिलेको विषम परिस्थीती र गिरेको मनोबलका कारण यस्तो अवस्था आएको उनको भनाई थियो । उनले १० वटा बजार एकाई रहेको संघमा १ ईकाई थप गर्ने योजना रहेको पनि वताएका थिए ।

भ्रमण टोलीमा रहेका मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदीय कृष्ण कटुवालले जिल्ला÷नगर उद्योग वाणिज्य संघ, प्रदेश केन्द्र जुन ठाउँमा रहे पनि देशमा कति उद्योगधन्दा स्थापना भए, कति व्यवसाय फस्टाए, कति व्यवसायीहरु लाभान्वित भए भन्ने कुराले नै व्यवसायीक संघ संस्थाको सफलतालाई मापन गर्ने वताएका थिए ।

उनले सदस्य संख्या वृद्धि गर्नमा मात्रै ध्यान दिनुभन्दा पनि गुणस्तरीय सदस्यहरुको संख्या कायम राख्नमा ध्यान दिनुपर्ने वताउँदै महासंघमा पनि विभिन्न खालका वेथितिहरु रहेको वताउँदै त्यसका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं निर्वाचनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण कटुवाललाई बधाईपत्रका साथ वधाई ज्ञापन गरेकी थिईन ।

यस्तै लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य पदमा निर्वाचित संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, केन्द्रीय सदस्य पदमा निर्वाचित मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण कटुवाललाई र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21730, citypokhara.com

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार कान्तिपुरका भुपाल गुरुङलाई

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ यस वर्ष पत्रकार भुपाल गुरुङ लाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समितिको सिफारिसका आधारमा हाल कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारको राशि रु. २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । आगामी जेठ २० गते घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ (अन्नपूर्ण हिमाल आरोहण दिवस) का अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ रहेका थिए । समितिका सदस्यहरूमा पत्रकार तथा आयोजक समितिका कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक टंकराज अधिकारी तथा पदेन सदस्यका रूपमा समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए ।

यसअघि उक्त पुरस्कारबाट पत्रकारहरू बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली र रोहितराज पराजुली सम्मानित भइसकेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–३ राम्चेमा जन्मिएका पत्रकार गुरुङ हाल पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा बसोबास गर्दै आएका छन् । वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय उनी हाल पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिमसमेत प्राप्त गरेका छन् ।

गुरुङले गोर्खाली रेडियोमा तीन वर्ष, युनाइटेड राष्ट्रिय दैनिकमा पाँच वर्ष सहसम्पादक, सगरमाथा टेलिभिजनमा गण्डकी प्रदेश प्रमुखका रूपमा नौ वर्ष तथा विगत आठ वर्षदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत रही पत्रकारिता गरिरहेका छन् ।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानबापत उनी विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, टंकदेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९ तथा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ लगायतका पुरस्कार प्राप्त गरेका छन् ।

हाल उनी नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिव रहेका छन् । साथै आदिवासी जनजाति पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च गण्डकी, नेपाल प्रेस युनियन तथा चलचित्र पत्रकार संघलगायत विभिन्न संस्थामा आबद्ध छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21726, citypokhara.com

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उक्त आकारको बजेट घोषणा गरेका हुन् ।

बजेटअनुसार चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । बजेटका लागि ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ परिचालन गरिने उल्लेख गरिएको छ ।

यसैगरी आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने सरकारको योजना रहेको छ ।

budget 2083-84

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21719, citypokhara.com

प्रतिभा माविमा नमुना मतदान : क्याप्टेनमा प्राप्ति र भाइस क्याप्टेनमा कुसुम विजयी

पोखरा । नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आयोजित नमुना मतदान कार्यक्रममा स्कुल क्याप्टेनतर्फ प्राप्ति पौडेल र भाइस क्याप्टेनतर्फ कुसुम श्रेष्ठ विजयी भएका छन् ।

‎विद्यालयले कक्षा १० को सामाजिक विषयअन्तर्गत निर्वाचन प्रक्रियासम्बन्धी पाठलाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले आयोजना गरेको नमुना निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ७६० विद्यार्थी मतदाता सहभागी भएका थिए । कुल मतमध्ये ७४७ मत सदर र १३ मत बदर भएको विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

स्कुल क्याप्टेन पदका लागि प्राप्ति पौडेलले २३४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी शुभम सुबेदीले २०२ मत प्राप्त गरे । अन्य उम्मेदवारमध्ये प्रिन्स विकले १६२, सरगम रसाइलीले ७२, सिमरन पण्डितले ३२, सार्थक गैरेले २७ र क्रिश्चिना गुरुङले १८ मत प्राप्त गरेका थिए ।

प्रतिभा माविमा नमुना मतदान : क्याप्टेनमा प्राप्ति र भाइस क्याप्टेनमा कुसुम विजयी

‎यस्तै भाइस क्याप्टेन पदमा कुसुम श्रेष्ठ ३१२ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी कृतिका खड्काले १७४, विश्वास रानाभाटले १५७ तथा आस्था गुप्ताले १०२ मत प्राप्त गरेका थिए ।

‎स्कुल क्याप्टेनमा निर्वाचित भएपछि प्राप्ति पौडेलले आफू कन्फिडेन्ट र जिम्मेवारीबोधका साथ विद्यालयमा अनुशासन कायम राख्न प्रतिबद्ध रहेको बताइन् । उनले विद्यालयमा शान्त वातावरण निर्माण गर्दै भाइबहिनीहरूलाई अंग्रेजी सुधार गर्न प्रेरित गर्ने, गेम पिरियडलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तथा कुनै पनि विद्यार्थीलाई हेपिन नदिने वातावरण बनाउन प्रयास गर्ने बताइन् ।

भाइस क्याप्टेनमा निर्वाचित कुसुम श्रेष्ठले विद्यालयमा अनुशासन कायम राख्दै सकारात्मक र सिर्जनात्मक वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले गेम पिरियडको सदुपयोग गर्दै विद्यार्थीहरूलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउने, विद्यालयमा शान्त तथा मित्रवत् वातावरण कायम गर्ने र सबै विद्यार्थीबीच सहकार्य तथा आत्मीयता बढाउने लक्ष्य रहेको उल्लेख गरिन् ।

‎मंगलबार बिहान ११ः१० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा छात्र र छात्राका लागि छुट्टाछुट्टै लाइन व्यवस्थापन गरिएको थियो । मतदान केन्द्रमा मतपत्र, स्वस्तिक छाप, मतपेटिका लगायत सामग्री राखी वास्तविक निर्वाचनजस्तै वातावरण तयार गरिएको विद्यालयका सह–प्राचार्य प्रदीप खनालले बताए ।

विद्यालयका सामाजिक विषय विभागीय प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत डम्बर क्षेत्रीका अनुसार विद्यार्थीलाई मताधिकार, मतदान प्रक्रिया र लोकतान्त्रिक निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
‎
‎सैद्धान्तिकभन्दा प्रयोगात्मक सिकाइ प्रभावकारी हुने भएकाले यसले विद्यार्थीलाई लोकतान्त्रिक अभ्यास बुझ्न सहयोग पुगेको विद्यालयका सहायक प्राचार्य बुद्धिमोहन पौडेलले बताए ।
‎
‎विद्यार्थीहरूले पनि प्रत्यक्ष मतदान प्रक्रियामा सहभागी हुँदा निर्वाचनबारे स्पष्ट बुझाइ बनेको बताएका छन् । कक्षा १० का छात्र गौरव कुँवरले व्यवहारिक रूपमा मतदान गर्न पाउँदा सिकाइ अझ प्रभावकारी भएको बताए । छात्रा दिलसा थापाले नागरिक भएपछि मतदान कसरी गर्ने भन्ने विषयमा राम्रो जानकारी प्राप्त भएको बताइन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21704, citypokhara.com

फोनिज गण्डकीको आयोजनामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम

पोखरा  ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम भएको छ ।
प्रेस रेजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा भएको तालिम मंगलबार र बुधबार हुनेछ ।

तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् । उक्त कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारितामा निरन्तरको तालिम र क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताइन् ।

भण्डारीले समाजको पिँधमा रहेका आवाजहरूलाई मूलधारमा ल्याउनुपर्ने धारणा राखिन् । गुरुङ, मगर, थकाली, तामाङ र दलित लगायतका विभिन्न जातजाति र भाषाभाषीको विविधताले सजिएको गण्डकी प्रदेशमा सबैका कथा र व्यथाहरुलाई सञ्चार माध्यमले स्थान दिनुपर्ने उनको भनाइ थियो ।

रजिष्ट्रार भण्डारीले भनीन्, ‘समावेशी पत्रकारिता भनेको एउटा कोटा प्रणाली जस्तो मात्र होइन, बरु जसले समाजको पिँधमा रहेका मानिसहरूको आवाजलाई केन्द्रसम्म ल्याउँछ, त्यो नै समावेशिताको वास्तविक नमुना हो ।’ उनले पत्रकारितालाई केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको न्यायको कडीका रुपमा समेत व्याख्या गरिन् ।
भण्डारीले पत्रकारहरु आफ्नो पहिचान र संस्कृतिको ‘ब्रान्ड एम्बेसडर’ समेत भएको उल्लेख गर्दै उनीहरुको व्यावसायिक सुरक्षा र क्षमता विकासका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताइन् ।

आगामी वर्षको बजेट र योजनाहरूमा पत्रकारहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी प्रस्तावहरु ल्याउन समेत उनले सम्बन्धित पक्षलाई आग्रह गरिन् । उनले तालिममा सिकेका कुराहरूलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई सुझाव दिइन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय महासचिव समिर बलामीले पत्रकारितामा समावेशिताको मुद्दालाई केवल नारामा मात्र सीमित नगरी व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार फोनिजको स्थापना केवल छुट्टै संगठन बनाउनका लागि मात्र नभई राज्यको पहुँचबाट टाढा रहेका, सीमान्तकृत र अल्पसंख्यक समुदायका आवाजलाई मूलधारको सञ्चार माध्यममा ल्याउनका लागि भएको हो । उनले भने, ‘हामीले गर्ने दैनिक पत्रकारितामा कम्तीमा २० देखि २५ प्रतिशत समाचारहरू समावेशिता, आदिवासी जनजातिका मूल मुद्दा र ओझेलमा परेका समुदायका विषयमा केन्द्रित हुनुपर्दछ, तब मात्र हाम्रो व्यावसायिक पहिचानको औचित्य पुष्टि हुन्छ ।’

कार्यक्रममा उनले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि (आईएलओ १६९) र नेपालको संविधानले प्रत्याभूत गरेका आदिवासी जनजातिका अधिकारका बारेमा पत्रकारहरु जानकार हुनुपर्नेमा बताए ।

कानुन र अधिकारका बारेमा स्पष्ट भएपछि मात्र पत्रकारले सशक्त रूपमा समाचार पैरवी गर्न सक्ने उनको तर्क थियो । उनले भने, ‘राज्यका विभिन्न निकायमा समावेशिताको कार्यान्वयन भए÷नभएको बारे सञ्चार माध्यमबाट खबरदारी गर्नु हाम्रो मुख्य दायित्व हो ।’ समावेशी सिद्धान्त र सीमान्तकृत वर्गको हकहितका लागि पत्रकारितामार्फत निरन्तर लडिरहनुपर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले आदिवासी जनजाति समुदायमा रहेका प्रतिभा र उनीहरूका मुद्दालाई सञ्चार माध्यमको मूलधारमा ल्याउन विशेष पहल आवश्यक रहेको बताइन् । यो किसिमको तालिमले ओझेलमा परेका आवाजलाई स्थापित गर्न र पत्रकारहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

महासचिव शर्माले मिडियाको निष्पक्षता र स्वतन्त्रताले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा राखिन् । उनले भनिन्, ‘मिडिया निष्पक्ष भए मात्र लोकतन्त्र संस्थागत र बलियो हुन्छ, यसका लागि सबै क्षेत्रबाट दबाब र आवाज उठाउन जरुरी छ ।’

तालिममा कास्की, स्याङ्जा, बागलुङ, म्याग्दीलगायत जिल्लाका ५० जना पत्रकार सहभागी छन् । तालिमको प्रशिक्षकमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, संघीय सचिव एमबी आस्थामगर, फोनिज गण्डकीका सल्लाहकाहरु हुमबहादुर गुरुङ, दीपेन्द्र श्रेष्ठ र मनोज घर्ती मगर रहेका छन् ।

फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव सुरज थापाले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21685, citypokhara.com

BPR प्रतिवेदन

प्रेस काउन्सिल नेपालको विद्यमान सेवा प्रवाहलाई कसरी छिटोछरितो, सहज र आगामी दिनमा काउन्सिललाई कसरी बलियो, प्रभावकारी बनाउन सकिन्छ भन्‍ने विषयमा अध्ययन गर्न गठित कार्यप्रक्रया पुनर्संरचना (Business Process Re-engineering: BPR)  कार्यान्वयनसम्बन्धी प्रतिवेदन, २०८३ कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

BPR प्रतिवेदन

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) एवं  प्रशान/अनुसन्धान तथा मिडिया प्रवद्र्धन महाशाखा प्रमुख दीपक खनालको संयोजकत्वमा गठित कार्यदलले मुख्य अधिकृत झबिन्द्र भुसाललाई उक्त प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ.एन्ड.एम. सर्भे) गरी काउन्सिलको बोर्ड तथा कर्मचारी संरचनालाई आधुनिक ढाँचाको बनाउनुपर्ने, सबै सेवालाई अनलाइन प्रणालीबाट प्रवाह गर्न सर्वप्रथम काउन्सिलमा एकीकृत अभिलेख तथा डिजिटलाइजेसन प्रणालीको व्यवस्था हुनुपर्ने, तत्कालको संरचनाभित्र रहेर पनि सेवाग्राहीलाई शीघ्र र सहज सेवा प्रदान गर्न सेवाग्राहीलाई पर्ने दोहोरो झन्झट, कागजात हटाउने, घटाउने लगायतका कुरा व्यवहारमा लागु गर्नेजस्ता विषय उल्लेख छ ।

सबै शाखा, महाशाखालाई मिलाएर गठन गरिएको यस कार्यदलमा सहप्रशासकीय अधिकृत (आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाई महाशाखा प्रमुख) रामशरण बोहरा, उपप्रशासकीय अधिकृत (नीति, योजना तथा प्रशासन शाखा प्रमुख) रहमतुल्ला मियाँ, उपप्रशासकीय अधिकृत (आचारसंहिता अनुगमन शाखा प्रमुख) सबिता ढकाल, शाखा अधिकृत विष्णु शर्मा लम्साल, शाखा अधिकृत सुवास राई र अनुगमन अधिकृत सञ्‍चिता घिमिरे सदस्य रहनुभएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/05/26/11800/, www.presscouncilnepal.gov.np

तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता

पाेखरा।

फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा यहि १८ जेठ गते पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।

अध्यक्ष गिरीका अनुसार पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्म झण्डै ३ किमी दूरीमा तथा महिलातर्फ बाराहीघाटदेखि पारि लिची गार्डेनसम्म २ किमी तथा प्रतिस्पर्धा गराइने छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धनमा हुने डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार तथा सान्त्वनाले ५ हजार सहित ट्रफि,प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ ३५ टिम तथा महिलातर्फ १५ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीनजना डुंगा चालक रहने छन् ।

प्रतियोगिता सफल पार्न फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा मूल आयोजक समारोह गठन गरि विभिन्न उपसमिति गठन गरिएको छ ।

जसअनुसार खेलकुद संयोजकमा बत्ति गुरुङ, प्रचार प्रसार समितिमा शिव रुद्र जि.सी., आर्थिक समितिमा बुद्धिनाथ पाण्डे, मञ्च व्यवस्थापन तथा स्वयंसेवक समितिमा धनबहादुर बि.क., अतिथि सत्कार समितिमा तारा बि.क. रहेका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21682, citypokhara.com

प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

‎पोखरा । प्रतिभा फाउण्डेशन अन्तर्गतको  प्रतिभा मन्टेश्वरीमा अभिभावक र शिक्षकबीच अन्तरक्रिया तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न भएको छ । पोखराको नदिपुरस्थित विद्यालय परिसरमा आइतबार आयोजित कार्यक्रममा नर्सरीदेखि युकेजीसम्म अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षिका तथा विद्यालय व्यवस्थापन पक्षको सहभागिता रहेको थियो ।

‎प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
‎कार्यक्रममा विद्यालयका फाइनान्सियल डाइरेक्टर विश्वगोपाल पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयले शिक्षण–सिकाइमा प्रविधिमैत्री पद्धतिलाई प्राथमिकता दिएको बताए । उनले बालबालिकालाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा पनि आवश्यक रहेको उल्लेख गरे । उनले प्रत्येक बालबालिकाको सिकाइ क्षमता फरक हुने भएकाले आफ्ना बालबालिकालाई अरूसँग तुलना नगर्न अभिभावकलाई आग्रह गरे ।‎


‎विद्यालयका सहप्राचार्य प्रदीप खनालले वर्कसिट तथा गतिविधिमूलक शिक्षामार्फत प्रभावकारी पढाइ सञ्चालन गरिएको जानकारी दिए । उनले ‘बुक फ्रि फ्राइडे’, थिम बेस्ड एक्टिभिटिज, संगीत, नृत्य, कला लगायतका क्रियाकलापमा विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराइँदै समग्र अंग्रेजी सुधारमा विशेष जोड दिइएको बताए ।
‎
‎उनका अनुसार विद्यालयमा निरन्तर मूल्यांकन प्रणाली लागू गरी विद्यार्थीको सिकाइ उपलब्धि मूल्यांकन गरिन्छ । हरेक टपिक विद्यार्थीले कत्तिको बुझेको छ भन्ने आधारमा ‘रियल लर्निङ’लाई प्राथमिकता दिइएको उनले बताए । साथै अभिभावकका सुझाव तथा गुनासा नियमित रूपमा सुन्ने, सेवा–सुविधा, फराकिला कक्षाकोठा तथा भौतिक संरचनामा सुधार गर्दै समान शैक्षिक उद्देश्य पूरा गर्न विद्यालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।‎


‎कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयकी मन्टेश्वरी कोअर्डिनेटर निर्मला सुवेदीले शिक्षकहरूले बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्ने, सर्वाङ्गीण विकासमा ध्यान दिने तथा मायाममता र आत्मीयतासहित अध्यापन गराइने बताइन् ।
‎
‎कार्यक्रममा विद्यालय र अभिभावकबीचका अपेक्षाबारे छलफल गरिएको थियो । सहभागी अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनले बालबालिकालाई हरेक क्षेत्रमा सक्षम र आत्मविश्वासी बनाउन आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‎
‎कार्यक्रममा शिक्षिकाहरु रक्षा बराल, नाजिया अली तथा मञ्जु श्रेष्ठले अभिभावकहरूलाई विद्यालयका नियम, पठनपाठन प्रक्रिया, नर्सरीदेखि युकेजीसम्मका नयाँ शैक्षिक सत्रका योजना, शिक्षण गतिविधि तथा बालबालिकाको समग्र विकाससम्बन्धी जानकारी गराएका थिए ।
‎
‎कार्यक्रमअन्तर्गत स्वागत नृत्य, शिक्षक परिचय, शिक्षकहरूको समूह नृत्य, कविता वाचन, समयको महत्वबारे नाटक प्रस्तुति, अभिभावक सहभागितामूलक खेल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
‎
‎अभिभावकहरूबीच क्विज तथा विभिन्न खेलहरू सञ्चालन गरी विजेतालाई पुरस्कृतसमेत गरिएको थियो । विद्यालयले कार्यक्रममार्फत अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्य राखेको जनाएको छ । साथै शिक्षण तथा अध्ययन सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो ।
‎
‎शिक्षिकाद्वय नाजिया अली र कविता यादवले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सन्देश पौडेलको पनि उपस्थिति रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21668, citypokhara.com

फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र

पोखरा, १० जेठ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आगामी जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ आयोजना हुने भएको छ। फेवा ढुङ्गा व्यवसायी संगठन, लेकसाइडको आयोजनामा पुरुष तथा महिला दुवै विधामा प्रतियोगिता हुन लागेको हो।

संगठनले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको उद्देश्य, पुरस्कार र प्राविधिक तयारीबारे विस्तृत जानकारी गराएको छ। फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, जलयात्राका क्रममा हुन सक्ने भवितव्य घटनाबारे सचेतना जगाउने, तालको पर्यावरणीय महत्त्व बुझाउने र पोखरामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको प्रवर्द्धनमा हुने यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ फरक-फरक दूरी र मार्ग (रुट) निर्धारण गरिएको छ। जसअन्तर्गत पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्मको करिब ३ किलोमिटर दूरी र महिलातर्फ बाराहीघाटदेखि पारि लिची गार्डेनसम्मको करिब २ किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइने छ।

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फका विजेताहरूलाई समान पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा पुरुषतर्फ ३५ टिम र महिलातर्फ १५ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ। नियम अनुसार प्रत्येक प्रतिस्पर्धी टिममा तीन जना ढुङ्गा चालक रहने जनाइएको छ।

प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि फेवा ढुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा ५१ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको छ। यसका साथै तयारीलाई तीव्र पार्न विभिन्न उपसमितिहरू समेत क्रियाशील बनाइएको छ।

आयोजक संगठनले पोखराको पर्यटन र साहसिक खेलको विकासमा टेवा पुर्‍याउने यस कार्यक्रमलाई सफल पार्न आम सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूबाट सकारात्मक सहयोगको अपेक्षा राखेको छ।

नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा शनिबार पोखरामा भएको छ ।

साधारण सभा तथा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहको गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्कीले मोफसलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानको कदर गर्दै उनीहरूको वृत्तिविकासका लागि सरकार सधैँ तत्पर रहेको बताए । उनले भने, ‘मोफसलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानलाई मूल्यांकन गर्ने राष्ट्रिय माध्यमहरू कम छन्, त्यसैले गण्डकी प्रदेश सरकार पत्रकारमैत्री वातावरण निर्माणका लागि पूर्ण रूपमा प्रतिबद्ध छ ।’ उनले सरकारले पत्रकारिताको विकासका लागि बजेट विनियोजन गर्नेदेखि लिएर विभिन्न तालिमका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०८०÷८४ को बजेट निर्माणको प्रक्रिया सुरु भइसकेको सन्दर्भमा पत्रकारिता क्षेत्रका लागि आवश्यक योजनाहरू समेटिने उनले विश्वास दिलाए । ‘बजेट निर्माणको सन्दर्भमा यहाँहरूका सुझाव, सल्लाह र रायलाई हामी ध्यान दिनेछौँ,’ उनले भने, ‘प्रेस रजिस्ट्रारको कार्यालय स्थापना गरेर पत्रकारितालाई अझ व्यवस्थित बनाउने हाम्रो कोसिस जारी छ ।’

पत्रकारिताको धर्म र जिम्मेवारीका बारेमा चर्चा गर्दै उनले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यलाई मात्र आधार मान्न आग्रह गरे । ‘हामीले प्रश्न सोध्नेदेखि समाचार प्रस्तुतिसम्मका विषयलाई निकै महत्वपूर्ण ढंगले हेर्नुपर्छ,’ उनले भने, ‘आवेग र उत्तेजनाका भरमा समाचार सम्प्रेषण गर्दा त्यसले समाजलाई सही दिशा दिन सक्दैन, त्यसैले सत्य–तथ्यमा आधारित सूचना मात्रै प्रवाह गर्नुपर्छ ।’

पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा लिइने हुनाले यसले सबै क्षेत्रलाई नियमन र मार्गदर्शन गर्नुपर्ने उनको धारणा थियो । उनले सतही अध्ययनले मात्र पत्रकारिता पूर्ण नहुने भन्दै गहिरो अनुसन्धान र चिन्तन आवश्यक रहेको बताए । सोही अवसरमा पत्रकारिताको क्षेत्रमा दशकौँदेखि पु¥याएको योगदानको कदर गर्दै लालप्रसाद शर्मा लगायतका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, उपाध्यक्ष माधव रेग्मी, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारको प्रतिभा छनोट समितिका संयोजक नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्की, पुरस्कार स्थापनाकर्ता सावित्री भण्डारीलगायतले पत्रकारिताको मर्यादासँगै पत्रकारहरूको पेसागत सुरक्षा र हकहितका विषयमा जोड दिएका थिए ।

साधारण सभामा सचिव भूपाल गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजाराम पौडेलको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहभागी सदस्यहरुले प्रतिवेदनमाथि छलफल गर्दै पत्रकारिता क्षेत्रमा देखिएका समसामयिक चुनौतीहरू, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका समस्या समाधानका लागि महासंघ अझ सक्रिय हुनुपर्ने सुझाव दिएका थिए ।
साधारण सभाले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको अनिवार्य सर्तका रूपमा स्वीकार गर्दै यसको रक्षाका लागि दृढ प्रतिबद्धता व्यक्त गरेको हो । जेन्जी आन्दोलनपछि बनेको वर्तमान सरकारको विज्ञापन नीतिप्रति कडा असन्तुष्टि पनि जनाएको छ ।

सरकारी विज्ञापनलाई केवल सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र केन्द्रित गर्ने निर्णयले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने र निजी तथा स्वरोजगारमूलक मिडियालाई विस्थापित गर्ने भन्दै महासंघले यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग साधारण सभाले माग गरेको छ । महासंघले संघीय, प्रदेश र स्थानीय सरकारलाई समानुपातिक विज्ञापन नीति अवलम्बन गर्न र आलोचनात्मक पत्रकारितालाई लोकतन्त्रको अंगका रूपमा स्वीकार गर्न आग्रह गरेको छ ।

सञ्चार क्षेत्रलाई थप समावेशी बनाउनुपर्नेमा जोड दिँदै उक्त सभाले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।

बदलिँदो डिजिटल परिवेश र कृत्रिम बौद्धिकता (एआई) को विकासले पत्रकारितामा अवसर र चुनौती दुवै थपेको भन्दै पत्रकारलाई प्रविधिमैत्री र तथ्यपरक बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता सभाले औंल्याएको छ ।

पत्रकारको आर्थिक र सामाजिक सुरक्षाको सवालमा महासंघले श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयनका लागि दबाब दिएको छ । न्यून पारिश्रमिक र रोजगारीको असुरक्षाका कारण पत्रकारहरू संकटमा परेको निष्कर्ष निकाल्दै सबै सञ्चार प्रतिष्ठानलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आह्वान गरिएको छ ।

साथै, प्रदेश सरकारले विनियोजन गरेको पत्रकार कल्याण कोषको रकम महासंघलाई हस्तान्तरण गर्न र संयुक्त समिति मार्फत कोष सञ्चालन गर्न समेत माग गरिएको छ ।

साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यम आर्थिक मन्दी र सरकारी विभेदका कारण अस्तित्वको संकटमा परेको भन्दै सभाले तिनको संरक्षणका लागि विशेष नीति ल्याउन आग्रह गरेको छ । मिडिया दर्ता र नवीकरणका लागि काठमाडौं जानुपर्ने झन्झटिलो व्यवस्था अन्त्य गरी प्रदेशको प्रेस रजिस्ट्रार कार्यालयबाटै सेवा प्रवाह गर्न महासंघले जोडदार माग गरेको छ ।

पोखरालाई मुलुकको पर्यटकीय राजधानी घोषणा गरिएको सन्दर्भमा सभाले पर्यटकीय पूर्वाधारको विकास र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि राज्यको ध्यानाकर्षण गराएको छ । पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै पर्यटन र सञ्चार क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ ।

साधारण सभामा पत्रकार लालप्रसाद शर्मा सम्मानित
नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभार्मा गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मानित भएका हुन् । उनलाई गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्की, पुरस्कार स्थापनाकर्ता भण्डारी परिवार, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले नगद २५ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ सदस्य रहेको छनौट समितिले उनको पत्रकार शर्माको नाम सम्मानका लागि सिफारिस गरेको थियो ।

पर्वतको कुस्मा नगरपालिका–१३, खौलालाँकुरी पर्वतमा वि.सं. २०३२ सालमा जन्मिएका लालप्रसाद शर्माले २०५४ सालदेखि पत्रकारिता सुरु गरेका हुन् ।

सुरुवाती दिनमा नारी सन्देश पत्रिकामा लेखरचना प्रकाशित गरी पत्रकारितामा लागेका शर्माले आदर्श समाज, नेपाल समाचारपत्र, पोखरा हटलाइन पत्रिका, निष्पक्ष अभिमत, कान्तिपुर दैनिकहुदैं उनी अहिले ढोरपाटन दैनिकमा सहसम्पादकको रुपमा कार्यरत छन् ।

सम्मानपछि पत्रकार शर्माले यस सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न अझ प्रेरित गरेका बताए । कार्यक्रममा पुरस्कार स्थापनाकर्ता भण्डारी परिवारले उक्त पुरस्कारको अक्षयकोषमा थप १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21665, citypokhara.com