Breaking News
पोखरामा ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक हुने

पोखरा । गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक गर्ने भएको छ । पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक हुने इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।

यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । सो अवसरमा सहभागी ग्राहकले आफ्नो ब्राण्डको ब्याट्री वारेन्टीलाई विस्तार गर्ने सुविधा पाउनेछन् । यस अगाडि बिक्री भएका ओमोडा, जेको र आइकारको ब्याट्री वारेन्टी ११ वर्षमा विस्तार गर्ने सुविधाले ग्राहकहरु लाभान्वित हुने र ब्राण्डप्रतिको विश्वास थप बढ्ने कम्पनीले विश्वास लिएको छ ।

‘पोखरा तथा गण्डकी प्रदेशमा ओमोडा जेको परिवारले हासिल गरेको उल्लेखनीय सफलताको उत्सव मनाउन पाउँदा हामी गौरवान्वित छौं,’ बरालले भने । पोखरा बजारमा प्रवेश गरेयता ब्रान्डले सयौं ग्राहकको विश्वास जित्न सफल भएको उनले जानकारी दिए । पोखराका सडकमा ३५० भन्दा बढी ओमोडा इ५, १०० भन्दा बढी जेको जे६, तथा ६० भन्दा बढी आइकार गुडिरहेका छन् ।

यस ऐतिहासिक उपलब्धिको सम्मान गर्दै तथा आफ्ना ग्राहकप्रति आभार व्यक्त गर्न ओमोडा जेको नेपालले विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा इ५ का ग्राहकलाई ११ वर्षसम्मको विस्तारित वारेन्टी प्रदान गर्ने घोषणा गरिएको बताइएको छ । यो पहलले ब्रान्डको गुणस्तर, प्रविधि तथा ग्राहक सन्तुष्टिप्रतिको दृढ प्रतिबद्धतालाई झल्काउनेछ ।

कम्पनीले पोखराका सम्पूर्ण ओमोडा तथा जेको ग्राहकलाई जेठ २२ गते (५ जुन २०२६) शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणासमेत गरेको छ । कार्यक्रममा सहभागीहरूले ओमोडा जेको परिवारसँग पुनः भेटघाट गर्नुका साथै नयाँ ओमोडा इ५ प्रोको प्रत्यक्ष अनावरणको अनुभव लिन सक्नेछन् ।

ग्राहकको निरन्तर विश्वास, समर्थन तथा माया नै ओमोडा जेकोको सफलताको प्रमुख आधार भएको उल्लेख गर्दै कम्पनीले आगामी दिनहरूमा पनि उत्कृष्ट उत्पादन तथा सेवामार्फत ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21775, citypokhara.com

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने दिशामा महत्त्वपूर्ण पहल अघि बढेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को वायुसेवा कम्पनी फ्लाई दुवई का जोखिम व्यवस्थापन उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षण तथा उच्चस्तरीय छलफल गरेको छ।

लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ  निराैलासहित प्राविधिक टोलीसँग करिब ६ घण्टासम्म गहन छलफल र निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार तथा उडान सञ्चालनसँग सम्बन्धित विभिन्न पक्षहरूको सूक्ष्म अध्ययन गरिएको टोलीले जनाएको छ।

निरीक्षणपछि टोलीले पाेखराका मेयर धनराज आचार्यसँग भेटघाट गरेको थियो। उक्त अवसरमा उपाध्यक्ष लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्राविधिक तथा सुरक्षा दृष्टिले पूर्ण रूपमा सक्षम र सुरक्षित रहेको प्रतिक्रिया दिएका छन्। विमानस्थलको पूर्वाधार तथा तयारीबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न फ्लाई दुबई इच्छुक रहेको बताएका छन्।

“हामीले विमानस्थलको प्राविधिक तथा सुरक्षा पक्षको विस्तृत निरीक्षण गरेका छौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार रहेको पाएका छौँ। हामी पोखरा र दुबईबीच दैनिक उडान सञ्चालन गर्न इच्छुक छौँ,” लुकासले भने।

उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक समन्वय र पहलमा मेयर आचार्यले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद पनि व्यक्त गरेका छन्।

फ्लाई दुबई, इमिरेट्सको भगिनी (सिस्टर) एयरलाइन्स हो। फ्लाई दुबईले पोखराबाट उडान सुरु गरेसँगै पोखरा इमिरेट्सको विश्वव्यापी सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिने अपेक्षा गरिएको छ। यसले पोखरालाई विश्वका ३०० भन्दा बढी प्रमुख सहरहरूसँग पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै युरोप, अमेरिका र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सहज रूपमा पोखरा आउन सक्ने अवस्था सिर्जना हुनेछ।

यस उडानलाई मूर्त रूप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पाैडेल फ्लाई दुबईका उच्च अधिकारीहरू, कम्पनीका नेपाली प्रतिनिधिहरू तथा मेयर आचार्यको सहभागितामा पटक–पटक उच्चस्तरीय बैठकहरू सम्पन्न भइसकेका छन्।
मेयर आचार्यका अनुसार लामो समयदेखिको निरन्तर प्रयास, ६ घण्टे प्राविधिक निरीक्षण तथा सरोकारवालाबीचको गहन छलफलपछि अब नियमित उडानको मिति सार्वजनिक गर्ने चरण नजिक पुगेको छ।
उनले फ्लाई दुबईको चासो र हालसम्म भएको प्रगतिले पोखरेली जनता तथा पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको बताए। पोखरालाई विश्व बजारसँग प्रत्यक्ष रूपमा जोड्न फ्लाई दुबईको दैनिक उडान कोसेढुंगा सावित हुने उनको विश्वास छ।

यो उडान सञ्चालनमा आएमा गण्डकी प्रदेशका नागरिकहरूले वैदेशिक रोजगारी, व्यवसाय तथा भ्रमणका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। साथै मध्यपूर्व तथा अन्य मुलुकबाट सिधै पर्यटक पोखरा भित्रिने मार्ग खुल्ने विश्वास गरिएको

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21768, citypokhara.com

मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको अध्यक्षमा विष्णु श्रेष्ठ

‎पोखरा । मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको अध्यक्षमा बिष्णु श्रेष्ठ निर्वाचित भएकी छन् । संस्थाकाे हालै सम्पन्न चाैथाैं साधारण सभा तथा प्रथम अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।

‎नवनिर्वाचित समितिकाे उपाध्यक्षमा सकुन्तला के.सी., सचिवमा रुपाकला गुरुङ, कोषाध्यक्षमा सुशिला तिवारी निर्वाचित भएका छन्।
‎ कार्यसमितिको सदस्यहरूमा सरस्वती कार्की, रिना शर्मा रेग्मी,  तारा परियार, कल्पनाकुमारी पाैडेल, लक्ष्मी अधिकारी र सुशिला घिमिरे चयन भएका छन्।
‎
‎कार्यक्रममा पूर्व अध्यक्ष प्रमिला तझ्या, निवर्तमान अध्यक्ष जुना के.सी. प्रदेश अध्यक्ष मिना अधिकारी तथा प्रदेश अधिवक्ता सवनम शर्माकाे विशेष उपस्थिति रहेकाे थियाे ।
‎
‎अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्दै एकल महिलाको हकहित संरक्षण, क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण तथा सामाजिक न्यायका पक्षमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नवगठित कार्यसमितिले संस्थालाई थप प्रभावकारी र गतिशील बनाउँदै एकल महिलाका आवाजलाई सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21764, citypokhara.com

हिमाली सांस्कृतिक परिवारलाई कार्कीको ५ लाख सहयाेग घाेषणा, ढकालको सवा लाख सहयोग

पाेखरा । नेपाली लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा तीन दशकदेखि सक्रिय हिमाली सांस्कृतिक परिवारले आफ्नै सांस्कृतिक भवन निर्माण अभियानलाई तीव्रता दिएको छ। स्थायी पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित संस्थाले सहयोग संकलन अभियान सञ्चालन गरिरहेको जनाएको छ।

‎वि.सं. २०५४ सालमा “नेपाली लोक संस्कृति बचाऔँ” भन्ने नाराका साथ स्थापना भएको संस्थाले हाल पोखरा–९ पृथ्वीचोकस्थित कार्यालय छाड्नुपरेपछि आफ्नै जग्गा खरिद गरी सुविधासम्पन्न सांस्कृतिक भवन निर्माण गर्ने योजना अघि सारेको हो। हाल संस्थाको कार्यालय तमु धिं नेपाल परिसरमा सञ्चालन भइरहेको छ।

भवन निर्माण अभियानलाई व्यवस्थित बनाउन संस्थाका मानार्थ सदस्य तथा वरिष्ठ समाजसेवी टिका बहादुर कार्कीको संयोजकत्वमा ‘हिमाली सांस्कृतिक परिवार भवन निर्माण समिति’ गठन गरिएको छ। समितिले पोखरामा करिब दुई रोपनी जग्गामा कार्यालय, सभाहल, संग्रहालय तथा पार्किङसहितको भवन निर्माण गर्ने लक्ष्य लिएको छ।

‎यसै क्रममा संस्थाका सल्लाहकार, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष तथा गायक–साहित्यकार पद्मराज ढकालले भवन निर्माण अभियानका लागि रु. १ लाख २५ हजार ७८९ सहयोग हस्तान्तरण गकेा छन् ।

सहयोग हस्तान्तरण गर्दै ढकालले नेपाली लोकसंस्कृतिको संरक्षणमा हिमाली सांस्कृतिक परिवारले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । स्वर्गीय मेनकाजी गुरुङसँगको सहकार्य र लोकसंस्कृतिप्रतिको आफ्नो लगावका कारण हिमालीप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै उनले भवन निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।

अभियानका लागि भवन निर्माण समिति संयोजक टिका बहादुर कार्कीले रु. ५ लाख, सल्लाहकार सुबेदार मेजर जसबहादुर गुरुङले रु. १ लाख तथा बुद्धिमान दुरा धम्पुले रु. ७० हजार २०० सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यसैगरी, कार्यालय व्यवस्थापनका लागि चिजा गुरुङले रु. १८ हजार सहयोग प्रदान गरेका छन् भने अशोक पालिखेले छ महिनासम्म मासिक कार्यालय खर्चस्वरूप रु. ३६ हजार सहयोग गर्ने घोषणा गरेकाे संस्थाका सचिव डबिन गुरुङले जानकारी दिए ।

भवन निर्माण अभियानमा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा कलाकारहरूले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता तथा सचिव डबिन गुरुङको सञ्चालनमा सम्पन्न संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कार्यसमिति सदस्यहरूको छलफल कार्यक्रममा संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्य खेमबहादुर गुरुङ तथा सल्लाहकारहरू अशोक पालिखे, दीपेन्द्र श्रेष्ठ र हुमबहादुर गुरुङलगायतले अभियान सफल बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21761, citypokhara.com

विश्व खाद्य स्वच्छता दिवस : साताव्यापी सचेतना र अनुगमन कार्यक्रम सञ्चालन हुने

‎पोखरा ।
‎’खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले विश्व खाद्य स्वच्छता दिवस साताव्यापी कार्यक्रमका साथ मनाउने भएको छ।

‎कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारालाई आत्मसात् गर्दै जेठ १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक, अनुगमनात्मक तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो।

कार्यक्रममा कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले खाद्य स्वच्छता प्रवर्द्धन, उपभोक्ता सचेतना अभिवृद्धि तथा सुरक्षित खानपानको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले साताव्यापी कार्यक्रम तय गरिएको बताए।

‎उनका अनुसार जेठ १८ गते ब्यानर प्रदर्शन, प्रेस विज्ञप्ति प्रकाशन तथा कार्यालय परिसर र प्रयोगशाला सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। त्यसैगरी जेठ १९ देखि २३ गतेसम्म बजार, होटल, रेष्टुरेन्ट तथा खाद्य उद्योगहरूको अनुगमन, विद्यालयस्तरीय सचेतना कार्यक्रम र सुरक्षित खानेपानीसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछन्।

‎जेठ २४ गते विशेष समारोहका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइने कार्यालयले जनाएको छ।

‎श्रेष्ठले खाद्य स्वच्छता कायम राख्न स्थानीय तहको सक्रिय भूमिका, प्रभावकारी अनुगमन प्रणाली र उपभोक्ताको सचेत सहभागिता अपरिहार्य रहेको उल्लेख गरे । खाद्य स्वच्छता ऐन–२०८३ ले प्रदान गरेका अधिकार र जिम्मेवारीअनुसार स्थानीय तहसँगको समन्वयलाई थप सुदृढ बनाउँदै खाद्य स्वच्छताको अवस्था सुधार गर्न कार्यालय प्रतिबद्ध रहेको उनको भनाई थियो।

‎उनले खाद्य वस्तुमा हुने मिसावट, अखाद्य रङको प्रयोग तथा अस्वस्थकर प्रविधिको प्रयोगले जनस्वास्थ्यमा दीर्घकालीन असर पार्ने भन्दै चिन्ता व्यक्त गरे। यस्ता गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन, नियमन तथा जनचेतना अभियानलाई थप प्रभावकारी बनाइने बताए ।

‎कार्यालयका सूचना अधिकारी शिवजी बरालले विश्व स्वास्थ्य सङ्गठनका अनुसार असुरक्षित खानाका कारण हरेक वर्ष विश्वभर लाखौं मानिस विभिन्न रोगबाट प्रभावित हुने गरेको जानकारी दिए। यस वर्षको नाराले असुरक्षित खानाबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि तथ्यमा आधारित, लक्षित र किफायती उपाय अपनाउनुपर्ने सन्देश दिएको उनले बताए ।

कार्यक्रममा वक्ताहरूले खाद्य सुरक्षा र स्वच्छता जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले सरकारी निकाय, स्थानीय तह, व्यवसायी, सञ्चारमाध्यम र उपभोक्ताबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। खाद्य स्वच्छता प्रवर्द्धनमा सबै पक्षको साझा प्रतिबद्धता र सक्रिय सहभागिताले मात्र स्वस्थ समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरिएको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21757, citypokhara.com

एकल महिलाको नेतृत्व विकासमा जाेड

 पाेखरा ।

‎“वैवाहिक सम्बन्धको आधारमा विभेद नगरौँ” भन्ने मूल नारासहित एकल महिलाको सशक्तीकरण, नेतृत्व विकास, मनोसामाजिक परामर्श तथा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम पोखरामा सुरु भएको छ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा सञ्चालन भएको तालिममा कास्कीका विभिन्न पालिका तथा वडाका एकल महिलाहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले एकल तथा सीमान्तकृत महिलाको मानवअधिकार संरक्षण, कानुनी सचेतना र नेतृत्व विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताईन् । समाजमा अझै पनि एकल महिलाले विभिन्न सामाजिक, मानसिक तथा कानुनी चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले तालिमले उनीहरूलाई आत्मनिर्भर बनाउँदै राज्यको मूलधारमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले एकल हुनु कुनै कमजोरी वा दोष नभई जीवनको एउटा परिस्थिति मात्र भएको उल्लेख गर्दै विगतका विभेदपूर्ण कुप्रथाविरुद्ध महिलाले गरेको संघर्षको स्मरण गरिन् । नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकारको प्रभावकारी कार्यान्वयनका लागि महिलाहरूले आफ्नो क्षमता र नेतृत्व विकास गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिईन् ।

‎आसन्न स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै उपप्रमुख गुरुङले महिलाहरू अब केवल मतदाता मात्र नभई नीति निर्माण गर्ने तहमा प्रतिस्पर्धात्मक रूपमा पुग्नुपर्ने बताईन् । राजनीतिक चेतना र नेतृत्व क्षमताको विकासमार्फत महिलाहरूले निर्णय प्रक्रियामा सक्रिय भूमिका खेल्न सक्ने उनको भनाई थियो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयाेग गण्डकीका  प्रमुख नितु गर्तौलाले एकल तथा विधवा महिलाले अझै पनि सामाजिक लाञ्छना र विभेद भोग्नुपरेको भन्दै त्यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताईन् । विधवा महिलाले पुनः विवाह गरेपछि पनि पहिलो श्रीमान् पक्षको सम्पत्तिमा अधिकार कायम रहने सम्बन्धमा सर्वोच्च अदालतले गरेको पछिल्लो निर्णयलाई उनले सकारात्मक र प्रगतिशील कदमका रूपमा लिईन् ।

एकल महिलाको नेतृत्व विकासमा जाेड

‎त्यस्तै, अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयाेजक गणेश भण्डारीले मानव अधिकार सबैका लागि समान र नैसर्गिक अधिकार भएको उल्लेख गर्दै संविधानले एकल महिला, आदिवासी जनजाति, दलित तथा पिछडिएका समुदायका लागि सुनिश्चित गरेका विशेष अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा नागरिक समाज र अधिकारकर्मी संस्थाहरूको महत्वपूर्ण भूमिका रहने बताए ।

मानव अधिकार रक्षक सञ्जाल, गण्डकी प्रदेशका संयाेजक रामहरी ढुङ्गानाले विगतको पुरुषप्रधान सामाजिक संरचनाको स्मरण गर्दै महिलाहरू आज आफ्ना अधिकारका लागि संगठित रूपमा नेतृत्व विकास र क्षमता अभिवृद्धिका कार्यक्रममा सहभागी हुनु आफैंमा ठूलो उपलब्धि भएको धारणा राखे ।

‎कार्यक्रममा गैसस महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, संकल्प गण्डकी प्रदेशकी अध्यक्ष सरिता तिमिल्सिना लगायतले महिलाहरू सक्षम, सबल र आत्मविश्वासी बन्दै नेतृत्वदायी भूमिकामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

‎मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीकी अध्यक्ष जुना खत्रीले तालिमको औचित्यमाथि प्रकाश पार्दै एकल महिलाले भोगिरहेका अदृश्य विभेद, मानसिक तनाव तथा कानुनी जटिलताबाट बाहिर निस्कन तालिम उपयोगी हुने बताईन् ।

‎तालिमले सहभागी महिलाहरूलाई कानुनी रूपमा सचेत, मानसिक रूपमा सबल र सामाजिक नेतृत्वका लागि सक्षम बनाउने विश्वास व्यक्त गर्दै संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता  जनाइएकाे छ ।

संस्थाका उपाध्यक्ष विष्णु सुवेदीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन र सचिव विष्णु श्रेष्ठले गरेकी थिईन् । तालिम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21752, citypokhara.com

सीमान्तकृत महिलाको राजनीतिक सहभागिता बढाउन मिडियाको भूमिका अपरिहार्य

‎पाेखरा ।

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत, दलित, जनजाति तथा पछाडि पारिएका समुदायका महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चार माध्यमहरूले सचेतना र दबाबमूलक भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) गण्डकी प्रदेश समितिले आइतबार पोखरामा आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले महिलाको वास्तविक राजनीतिक सहभागिताका लागि निर्वाचन प्रणालीबारे नयाँ बहस आवश्यक रहेको बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीले संविधान संशोधनको बहस चलिरहेको सन्दर्भमा महिलाको जनसङ्ख्या अनुपातअनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवाज उठाउनुपर्ने बताए।

उनले नेपाली समाजमा अझै पुरुषप्रधान सोच विद्यमान रहेकाले महिलाको नेतृत्व विकासका लागि विशेष नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखे। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत केही क्षेत्रमा महिलाबीच मात्रै प्रतिस्पर्धा गराउने कानुनी वा संवैधानिक व्यवस्था गर्न सकिए योग्य तथा सीमान्तकृत महिलालाई नेतृत्वमा पुग्न सहज हुने उनको भनाइ थियो।

कार्कीले आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण सीमान्तकृत महिलाहरू दोहोरो मारमा परेको उल्लेख गर्दै उनीहरूलाई मूलधारमा ल्याउन राज्यले विशेष प्राथमिकताका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । साथै, उनले महिलाहरू स्वयं र उनीहरूका परिवार परिवर्तनका लागि सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रममा क्रियाशील महिला पत्रकार सङ्घ (डब्लुडब्लुजे) की केन्द्रीय सदस्य तथा सञ्चारकर्मी दुर्गा अधिकारीले स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता वृद्धि गर्न सञ्चार माध्यमको भूमिकाबारे सहजीकरण गरिन् ।

अन्तरक्रियामा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिलका निवर्तमान सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका महासचिव जमुना शर्मा वर्षा, पत्रकार भरत कोइराला तथा महासङ्घ कास्की शाखाका उपाध्यक्ष माधव रेग्मी लगायतले दलित, उत्पीडित, जनजाति तथा अन्य सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व आगामी निर्वाचनमा सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त राखे ।

‎सञ्जालकी अध्यक्ष तथा अधिवक्ता सरिता तिमिल्सिना पङ्गेनीले सञ्चार क्षेत्र आर्थिक चुनौतीबाट गुज्रिरहेको भए पनि संस्थाले महिलाका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको बताईन् । आगामी दिनमा पनि समसामयिक विषयमा यस्ता कार्यक्रम सञ्चालन गरिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

‎पङ्गेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिलन भुजेलले स्वागत मन्तव्य राखेकी थिईन् भने सञ्चालन सचिव ईश्वरी विकले गरेकी थिईन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21747, citypokhara.com

बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

पोखरा ।

‎इन्टरनेट र डिजिटल प्रविधिको तीव्र विकाससँगै नेपालमा पनि अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौन दुर्व्यवहार, शोषण तथा हिंसाका घटनामा वृद्धि भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। बालबालिकालाई सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्न सञ्चारकर्मी, अभिभावक, विद्यालय, नीति निर्माता, न्यायिक निकाय, सेवा प्रदायक संस्था तथा समग्र समाजको सक्रिय भूमिका आवश्यक रहेको उनीहरूले बताएका छन्।

“अनलाइन यौन दुर्व्यवहार र शोषणबाट बालबालिकालाई सुरक्षित राखौँ” भन्ने नारासहित आयोजित बालअधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना भ्वाइस अफ चिल्ड्रेनले गरेको थियो भने बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को सहकार्य तथा केएनएच जर्मनी र जर्मन कोअपरेसनको सहयोग रहेको थियो।

कार्यक्रममा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले संस्थाले विगत २६ वर्षदेखि सडकमा रहेका, यौन दुर्व्यवहार तथा अन्य जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा बालअधिकार संरक्षणका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । उनले गण्डकी प्रदेशमा अनलाइनमार्फत हुने बाल यौन दुर्व्यवहार रोकथामका लागि विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन भइरहेको बताए ।

उनका अनुसार नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, नियमावली तथा विभिन्न कानुनी व्यवस्था पनि बनेका छन्। तर प्रभावकारी कार्यान्वयनको अभावमा बालबालिका अझै यौन दुर्व्यवहार, शोषण, हिंसा, बेचबिखन तथा ओसारपसारजस्ता घटनाको जोखिममा रहेका छन्। विशेषगरी बालकहरूमाथि हुने यौन दुर्व्यवहारका घटनाहरू पर्याप्त रूपमा बाहिर नआएको उनले उल्लेख गरे।

कार्यक्रमका सहजकर्ता तथा पत्रकार गंगाधर पराजुलीले बालअधिकार प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका विषयमा प्रस्तुति दिएका थिए । उनले संवेदनशील विषयको समाचार सम्प्रेषण गर्दा बालबालिकाको गोपनीयता, सुरक्षा र अधिकारलाई प्राथमिकता दिनुपर्ने बताए ।

‎कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपाल प्रहरी साइबर ब्यूरो मा साइबर अपराधसम्बन्धी ७७२ जना बालबालिकासम्बन्धी उजुरी दर्ता भएका थिए, जसमा ३५१ बालक र ४२१ बालिका रहेका छन्। डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै अनलाइनमार्फत हुने यौन दुर्व्यवहार तथा शोषणका घटना चुनौतीका रूपमा देखिएको सरोकारवालाहरूले बताएका छन्।

अन्तरक्रियामा बासुदेव पौडेल, जमुना शर्मा, केशवशरण लामिछाने, कमल पौडेल अथक, युवाराज श्रेष्ठ, सन्देश श्रेष्ठ, प्रकाश ढकाल तथा केशव पौडेल लगायतले डिजिटल वातावरणलाई बालमैत्री र सुरक्षित बनाउन राज्यले प्रभावकारी नीति तथा नियमन लागू गर्नुपर्नेमा जोड दिएका थिए।

‎उनीहरूले सामाजिक सञ्जालको प्रभावकारी नियमन, अभिभावक तथा समुदायस्तरमा डिजिटल सचेतना अभिवृद्धि र सञ्चारकर्मीको जिम्मेवार भूमिका मार्फत अनलाइन बाल यौन दुर्व्यवहार नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत अप्सरा गुरुङले गरेकी थिईन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21744, citypokhara.com

आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको संरक्षणमा जोड

‎पोखरा । ‘आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति, रहनसहन र जीवनयापनमा परम्परागत गीत, नृत्य तथा साहित्यको प्रभाव’ विषयक सांस्कृतिक नृत्य प्रस्तुति तथा विमर्श कार्यक्रम शनिबार  सम्पन्न भएको छ ।

‎पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोग तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ समन्वय परिषद् गण्डकी प्रदेशको आयोजनामा

‎महासंघकी अध्यक्ष मिलन भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विना थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी थिईन् ।

कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिको मौलिक पहिचान जोगाउन भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।

‎कार्यक्रममा सहभागी अतिथिहरूले सांस्कृतिक विविधता नेपालको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव, पहिचान संरक्षण र सांस्कृतिक प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको संरक्षणमा जोड

कार्यक्रममा मगर समुदायको कौडा नृत्य, तामाङ समुदायको ढुङ्गा नृत्य, छन्त्याल समुदायको सोरठी, गुरुङ समुदायको घाटु नृत्य तथा बुद्धिमान दुराद्वारा ठाडो भाका गीत प्रस्तुत गरिएको थियो।

‎विभिन्न जातीय समुदायका मौलिक कला, संस्कृति र परम्परागत जीवनशैली झल्काउने प्रस्तुतीहरूले सहभागीहरूको विशेष ध्यान आकर्षित गरेका थिए।

विमर्श सत्रमा आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, साहित्य, परम्परागत ज्ञान तथा जीवनशैली संरक्षणका विषयमा छलफल गरिएको थियो। विषय विज्ञ तथा सहजीकर्ताको भूमिका गौरी गुरुङले निर्वाह गरेकी थिईन् ।

र्यक्रममा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, महासंघका सल्लाहकार पूर्ण लामा, दीपक तामाङ, निवर्तमान अध्यक्ष दिलमाया गुरुङ, धनप्रसाद तामाङ, हर्कबहादुर मगर, गौरी गुरुङलगायत विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21736, citypokhara.com

शिशुवामा युआरएलको शिविर, ६०१ को सित्तैमा जाँच

पोखरा ।
युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शुक्रबार शिशुवामा निशुल्क रक्त परीक्षणसहितको सचेतना कार्यक्रम भएको छ । युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधि सहयोगमा आयोजना गरेको कार्यक्रममा ६ सय १ जनाको सित्तैमा जाँच गरिएको छ ।

कार्यक्रममा मधुमेह तथा थाइराइडसम्बन्धी रगत जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचमा विशेष छुटको व्यवस्था गरिएको थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा प्रकाश भट्टराईले मधुमेह, थाइराइड जस्ता रोगहरु लाग्नुका कारण र निदानका उपायहरुबारे प्रकाश पारेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा प्रदीप भट्टराई र मणिपाल शिक्षण अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विभा महतोले पनि सहभागीहरुलाई विविध रोगबारे प्रकाश पारे । शुक्रबार रगत जाँच गराएकाहरुलाई परामर्शसहित मंगलबार र बुधबार रिपोर्ट वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व वहन युआरएलको मुख्य परिचय भएको बताए । उनले भने, “हामीले सेवा र सामाजिक दायित्वलाई सँगसँगै लगेका छौँ । राजधानी बाहिरको पहिलो रेफरेन्स ल्याब युआरएल गुणस्तरीय सेवा सबै गण्डकी प्रदेशबासीमा पु¥याउने लक्ष्यमा छ ।”

युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो २ सय २५ औं शिविर हो । पोखरा महानगरको स्वास्थ्य महाशाखासँग सहकार्य गरी पोखराका पाँच स्थानमा शिविर आयोजना गर्ने तयारी भएको युआरएलका सञ्चालक मणि न्यौपानेले बताए ।

कार्यक्रममा शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले सहज र सुलभ स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक कार्यान्वयन गर्न राज्यसँगै निजी क्षेत्रको यस खालका प्रयास जरुरी हुने विचार राखे । आइएसओ प्रमाणपत्र प्राप्त युआरएलले अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा २४ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21733, citypokhara.com