Breaking News
१४ औं पोखरा महोत्सवको समिक्षा

पोखरा ।

१४औँ संस्करणको पोखरा महोत्सवको समीक्षा बैठक सम्पन्न भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा गत पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखरास्थित अमरसिंह खेल मैदानमा आयोजना गरिएको महोत्सव भव्य तथा सभ्य रूपमा सम्पन्न भएको निष्कर्ष बैठकले निकालेको हो ।

सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले १४औँ पोखरा महोत्सव सम्पूर्णको साथ र सहयोगकै कारण भव्य र सभ्य ढंगले सम्पन्न भएको बताए। युनाइटेड क्लबको सामाजिक कार्यलाई सबैले नजिकबाट नियालेका कारण महोत्सवले १४औँ संस्करण पार गर्दै १५औँ संस्करणतर्फ अग्रसर भएको उनको भनाइ थियो ।

त्यसैगरी, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले पोखरा महोत्सव पोखराको मात्र नभई नेपालकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित भएको उल्लेख गर्दै सबैको साथ र सहयोग प्राप्त भएको बताए । उनले क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा सल्लाहकारहरूको दिनरातको खटाइका कारण महोत्सव सफल बनेको स्पष्ट पारे ।

क्लबका पूर्व अध्यक्ष लालकाजी गुरुङले हाल देखिएका कमी–कमजोरी सुधार गर्दै आगामी महोत्सवको तयारीमा जुट्नुपर्नेमा जोड दिए । अर्का पूर्व अध्यक्ष सुकबहादुर गुरुङले १४औँ संस्करणको महोत्सव अघिल्ला संस्करणहरूको तुलनामा पृथक र आकर्षक रहेको बताए ।

महोत्सवका सल्लाहकार बलराम ढुंगानाले सामूहिक प्रयासकै कारण महोत्सव सफलतापूर्वक सम्पन्न भएको धारणा राखे। त्यस्तै, अर्का सल्लाहकार सुवेदार जसबहादुर गुरुङले युनाइटेड क्लब युवा अवस्थामै रहेर पनि पोखरामै उत्कृष्ट महोत्सव आयोजना गर्न सफल भएको बताए ।

उनले हरेक महोत्सवमा १० हजार रुपैयाँ तथा दीपावलीका अवसरमा ५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन सल्लाहकारहरूको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष शान्तबहादुर थापा, महोत्सव सल्लाहकार कृष्णबहादुर थापा, स्वास्थ्य उपसमिति संयोजक नरहरि पनेरु तथा स्टेज संयोजक पूर्णकुमार श्रेष्ठलगायतले महोत्सव सफल बनाउन क्लबका सबै पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा सल्लाहकारहरूको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।

युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रम सञ्चालन गरेका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21241, citypokhara.com

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा । यही चैत २७  देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा  महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ। उक्त भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक, सदस्यहरू ,सम्बन्धित सरकारवाला एवं स्थानीयहरूको उल्लेखनीय  उपस्थिति रहेको थियो।

छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको  कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको  निष्कर्ष निकालेको छ । साथै उक्त भेलाले २०८२ चैत्र २३ गतेका दिन विष्णुपादुका खेलमैदानमा अवस्थित क्लब भवन प्राङ्गण दिनको ठिक १ः०० बजे महोत्सवको पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहनुभएका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले भेलाका बिच आलु महोत्सव पोखराको मात्र नभई समग्र देशकै ब्रान्ड बनेको उल्लेख गर्नुहुँदै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारेका थिए  ।

हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत् प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको थप उल्लेख गरे  ।

भेलामा पूर्व अध्यक्ष रमेश कार्की एवं निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवमा भएका कमी कमजोरीलाई मूल्याङ्कन गर्दै आगामी दिनमा त्यसको सुधार गर्नुपर्ने र नयाँपन झल्कने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए।

‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रूपमा आलु तथा ताजा तरकारीहरूको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी समेत रहने छ ।

मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव विकल थापाले  सञ्चालन गरे ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21238, citypokhara.com

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौं । कलाकार सागर लम्साल (बले) लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि बलात्कारसम्बन्धी आरोप लागेको बताइएको छ ।

अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन् ।

सोही आरोपको आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21235, citypokhara.com

पोखरामा नयाँ वर्षको अवसरमा ‘नाइट स्ट्रिट रन’ आयोजना हुने

पोखरा । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा ‘पोखरा नाइट स्ट्रिट रन–२०८३’ आयोजना हुने भएको छ।

पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा चैत २८ गते शनिबार साँझ ७ बजेबाट दौड सुरु हुने जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत दिएका छन्।

बाराहीघाटबाट सुरु हुने ५ किलोमिटरको रात्रिकालीन दौड सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर समापन हुनेछ।

‘जाग्दछ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा विभिन्न संघसंस्थाको सहयोग रहनेछ।

प्रतियोगितामा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। सहभागी धावकलाई बीमा सुविधा, रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोग गर्न सकिनेछ।

खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अन्य विधाका विजेताले सात हजार रुपैयाँसहित पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुकले चैत २५ गते बिहान ११:५९ बजेसम्म अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् । कार्यक्रम सम्पन्न गर्न करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आयोजकका अनुसार उक्त कार्यक्रमले पोखरामा पर्यटन प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा शहरी गतिशीलता र सुरक्षाबारे जनचेतना अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21231, citypokhara.com

पोखरा स्पोर्टस अवार्डमा आईएमई खल्तीको साथ, पिपुल्स च्वाइस अवार्डका लागि अनलाइन भोटिङ सहकार्य

पोखरा ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ ।

शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम पोखरा स्पोर्टस अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले औपचारिक सम्झौताअघि नै अवार्डको प्रवद्र्धन सुरु गरिसकेको उल्लेख गर्दै पोखरा तथा आसपासका दुई दर्जनभन्दा बढी कार्यक्रमहरूमा सफलतापूर्वक सहकार्य गरिसकेको जानकारी दिए । साथै, पोखरा स्पोर्टस अवार्डको गरिमा अझ उचो बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले आठ विधामा आयोजना हुने दशौं संस्करणमा पुनः समावेश गरिएको ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । विगतका केही संस्करणमा स्थगित रहेको उक्त विधा यसपटक पुनः सञ्चालनमा आउन लागेको उनले जानकारी दिए । पाँच उत्कृष्ट खेलाडीबीच हुने प्रतिस्पर्धामा अनलाइन भोटिङमार्फत विजेता छनोट गरिनेछ।

पोखरा स्पोर्टस अवार्ड २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको छ । दशौं संस्करणअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेताले टीभीएस एनटर्क स्कुटर पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। उक्त पुरस्कारको प्रायोजन पोखरास्थित गुरुङ गहना घर प्रालिले गरेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।

दशौं पोखरा स्पोर्टस अवार्ड आगामी वैशाख १८ गते पोखरामा आयोजना हुने कार्यक्रम रहेको छ । अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21227, citypokhara.com

पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ ।

उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबि आस्था र गुरुङ गहना घर प्रालिका तर्फबाट संचालक सीमा गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।

सो अवसरमा संचालक गुरुङले खेलाडी भनेका देशकै गहना भएकाले आफूले सहयोग गर्न चाहेको बताइन् । हालै मात्र नेपाली फुटबल साम्बाले उपचार सहयोगार्थ गरेको याचनाले आफू संवेदनशील बनेको उल्लेख गर्दै खेलाडीको सम्मानमा हुन लागेको पोखरा स्पोर्टस् अवार्डमा जोडिएको बताइन् । आफू विदेश नगई स्वदेशमै केही गर्न चाहेकाले व्यवसायमा हात हालेको जानकारी दिइन् । मानिसले चाहेमा स्वदेशमै पनि प्रगति गर्न सकिने उनको भनाइ थियो ।

सहयोगप्रति मञ्चका अध्यक्ष एमबि आस्थाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । सो अवसरमा मञ्चका महासचिव परशुराम शर्माले संचालन र धन्यवाद ज्ञापन उपाध्यक्ष राजाराम पौडेलले गरे ।

आगामी वैशाख १८ गते हुने उक्त अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मूल आयोजक समिति अध्यक्ष समेत रहेका मञ्च अध्यक्ष एमबि आस्थाले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21224, citypokhara.com

सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । चैत १८ गतेको निर्णयअनुसार जारी गरिएको उक्त पत्रले निजी तथा स्वतन्त्र सञ्चार माध्यमहरूलाई सरकारी सूचना तथा विज्ञापनबाट वञ्चित गर्ने संकेत गरेको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आपत्ति जनाएको छ ।
काठमाडौं शाखाले उक्त निर्णयलाई “ठाडो, असह्य र निन्दनीय हस्तक्षेप” को संज्ञा दिँदै यसले निजी सञ्चार माध्यमको आर्थिक आधार कमजोर पार्ने मात्र नभई दीर्घकालीन रूपमा तिनको अस्तित्वनै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञाप्ति प्रकाशित गर्दै सरकारी सूचना र विज्ञापन निजी मिडियाका लागि प्रमुख आम्दानीको स्रोत भएको अवस्थामा यसलाई सीमित गर्नु योजनाबद्ध रूपमा स्वतन्त्र मिडियालाई नियन्त्रणमा राख्ने रणनीति भएको समेत विज्ञाप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो व्यवस्था लागू भएमा राज्य सञ्चालित सञ्चार माध्यमहरूलाई अनुचित लाभ पुग्नेछ भने प्रतिस्पर्धात्मक वातावरण खलबलिनेछ । यसले बहुलवादी सञ्चार प्रणालीलाई कमजोर बनाउँदै एकतर्फी सूचना प्रवाहको जोखिम बढाउने छ । साथै, सरकारप्रति आलोचनात्मक दृष्टिकोण राख्ने स्वतन्त्र सञ्चार माध्यमहरूलाई आर्थिक रूपमा दबाबमा पारेर आत्मनियन्त्रण गर्न बाध्य पार्ने खतरा समेत औंल्याइएको छ ।’
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको मर्मविपरीत देखिएको यो निर्णयले लोकतान्त्रिक अभ्यासमा प्रतिकूल प्रभाव पार्ने भन्दै शाखाले सरकारलाई पुनर्विचार गर्न माग गरेका छन् । पत्रकार महासंघ काठमाडौं शाखाले निर्णय तत्काल फिर्ता नलिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै देशभरका पत्रकारहरू प्रतिरोधमा उत्रिने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसबीच, कानुनी तथा नीतिगत हिसाबले पनि उक्त निर्णय विवादास्पद देखिएको छ । सार्वजनिक खरिदसम्बन्धी सूचना पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले व्यापक रूपमा प्रवाह हुनुपर्ने प्रावधान विपरीत सीमित माध्यममार्फत मात्र प्रकाशन गर्न खोज्नुले पारदर्शिता र सुशासनमाथि प्रश्न उठाएको काठमाडौं शाखाले उल्लेख गरेको  छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21221, citypokhara.com

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य अनुभवका कारण सिप र दक्षता भएकाहरुलाई कसरी रोजगारीको क्षेत्रमा ल्याउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सिप भएर पनि रोजगारिको क्षेत्रमा राज्यका सेवा सुविधाबाट बञ्चित भईरहेका व्यक्तिहरुका लागि कार्यक्रम फलदायी हुने वताउँदै यसबाट उद्योगी व्यवसायीहरु समेत लाभान्वित हुने वताएकी थिईन ।

उक्त अवसरमा समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उप–सचिव तोयानाथ लम्सालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको नितिगत व्यवस्था, सिप परिक्षणका लागी तिन तहका सरकारले गर्न सक्ने काम र प्रदेशमा पूर्व सिकाइको मान्यताको आधारमा सिप परिक्षणको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए ।

प्रदेशमा यसरी सिप परक्षिण गरेर दक्षताको प्रमाणपत्र लिनेमा आ.व. २०७९/०८० मा १ सय ३३ जना, आ.व. २०८०/०८१ म १सय ९४ जना र आ.व. २०८१/०८२ मा ३ सय ४९ जना रहेको जानकारी गराएका थिए ।
यस्तै नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना गण्डकी प्रदेशका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको सान्र्दभिकताको विषयमा र पोखरा महानगरपालिका व्यवसाय प्रर्बद्धन केन्द्रका नवराज अधिकारीले सिप परिक्षा उर्तिण व्यक्तिहरु र रोजगारदाताका लागि अवसर विषयमा प्रशिक्षण दिएका थिए ।

संघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले कार्यक्रम समय सापेक्ष एवं महत्वपुर्ण रहेको वताउँदै यसले राज्य, निजि क्षेत्र र स्वयंम सिप र दक्षता भएर पनि अवसर पाउन सकेका व्यक्तिहरुका पनि लाभदायक हुने वताएका थिए ।

संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले बजारको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर तालिमहरु सञ्चालन गनुपर्नेमा जोड दिंदै उसो गर्न नसके अस्वस्थ प्रतिष्पर्धा जस्ता दुष्परिणाम निम्तने सक्ने वताएका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य विरेन्द्रराज भुर्तेलले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21218, citypokhara.com

पर्यटन, संस्कृति र स्वादको संगम: पोखरामा फेवा नव वर्ष महोत्सव आगामी २९ गतेदेखि

पोखरा । पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र स्थानीय खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा २१औं फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ । होटल संघ पोखरा नेपालद्वारा आयोजित महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म खहरेचोकदेखि सहिदचोकसम्म सञ्चालन हुनेछ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ।

होटल संघ पोखरा नेपालका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले महोत्सवलाई आधुनिक शैलीमा उद्घाटन गरिने बताए । उनले भाषणभन्दा बढी सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए ।

महोत्सव अवधिभर पञ्चेबाजा प्रतियोगिता, भजन, रत्यौली, सारङ्गी वादन, लोकदोहोरी तथा पप कन्सर्ट, सांस्कृतिक प्रस्तुति र विविध खानाका परिकारहरूको प्रदर्शनी हुनेछन्। सबै कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क रहनेछन्।

आयोजकका अनुसार करिब तीन लाख आन्तरिक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । नयाँ वर्षको अवसर, पर्यटकीय सिजन तथा विद्यालय–कलेज बन्द रहने समय भएकाले पर्यटकको चहलपहल बढ्ने विश्वास गरिएको छ ।

महोत्सवको अवसरमा होटल संघअन्तर्गतका सदस्य होटलहरूले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिनेछन् भने इ–सेवामार्फत बुकिङ गर्दा १० प्रतिशतसम्म क्यासब्याक सुविधा पनि उपलब्ध हुनेछ ।

प्रदेशस्तरीय सांस्कृतिक कार्यक्रम, परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड तथा खानाको प्रदर्शनी महोत्सवका प्रमुख आकर्षणका रूपमा रहेका छन् । खहरेबाट निकालिने झाँकी अम्बोट पुगेर औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न हुनेछ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच, होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले पछिल्लो समय पोखरामा पर्यटन विस्तारको सम्भावना अझ बढ्दै गएको उल्लेख गर्दै यस्ता महोत्सवहरूले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महोत्सव सफल बनाउन १९ वटा उपसमिति गठन गरिएका छन् भने “जाऔं है पोखरा” अभियानमार्फत देशका विभिन्न भागमा प्रचारप्रसारसमेत गरिएको आयोजकले जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21216, citypokhara.com

आजदेखि एसईई परीक्षा शुरु, गण्डकीमा ४३ हजार बढी विद्यार्थी सहभागी हुँदै

पोखरा ।
आजदेखि यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा शुरु हुदैछ । एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन् ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन् ।

जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङमा ४ हजार २ सय ३९ विद्यार्थी रहेका छन्। त्यस्तै गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १ सय ८६ जना विद्यार्थी रहेको विवरणमा उल्लेख छ।

प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको छ भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको जनाइएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले एसईई परीक्षालाई विद्यार्थीमैत्री, सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाहरूलाई समन्वय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

मन्त्रालयका अनुसार एसईई विद्यार्थीहरूको शैक्षिक जीवनको महत्वपूर्ण मोड भएकाले यसलाई तनावमुक्त, अनुशासित र सकारात्मक वातावरणमा सम्पन्न गराउन अभिभावक, शिक्षक, विद्यालय प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीबीच सहकार्य आवश्यक छ।

अभिभावकहरूलाई घरमै शान्त र अध्ययनमैत्री वातावरण सिर्जना गर्न, बालबालिकासँग नियमित संवाद गर्न र अनावश्यक दबाब नदिन आग्रह गरिएको छ। “निश्चित ग्रेड ल्याउनैपर्छ” भन्ने सोचभन्दा प्रयासको कदर गर्दै आत्मविश्वास बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। साथै पोषिलो आहार, पर्याप्त निद्रा र अध्ययनबीच सन्तुलन कायम गर्न तथा मोबाइलजस्ता उपकरणको प्रयोग सीमित गर्न सुझाइएको छ।

विद्यालय र शिक्षकहरूलाई विद्यार्थीको शैक्षिक अवस्था र मनोस्थिति बुझी अभिभावकसँग समन्वय गर्न, डररहित वातावरण सिर्जना गर्न तथा आवश्यक परे अतिरिक्त सहयोग उपलब्ध गराउन निर्देशन दिइएको छ । टाढाबाट आएका विद्यार्थीहरूको व्यवस्थापनमा पनि विशेष ध्यान दिन भनिएको छ।

केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षाकर्मीहरूलाई परीक्षा वातावरण बालमैत्री बनाउन, अनावश्यक कडाइ वा त्रास नदेखाउन तथा परीक्षार्थीको गोपनीयता कायम गर्न निर्देशन दिइएको छ। परीक्षा केन्द्रमा स्वच्छ खानेपानी, शौचालय, सेनिटरी प्याड र प्राथमिक उपचारको व्यवस्था अनिवार्य गरिएको छ।

नक्कल तथा नक्कली परीक्षार्थी नियन्त्रणमा सजग रहन र परीक्षा आचारसंहिता पूर्ण रूपमा पालना गराउन मन्त्रालयले जोड दिएको छ।

सरोकारवाला सबै पक्षको सहकार्य, जिम्मेवारी र संवेदनशीलताबाट मात्रै एसईई परीक्षा सफल, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सकिने विश्वास गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । एसईई परीक्षा विहिबार गतेदेखि २९ गतेसम्म हुँदैछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21206, citypokhara.com