Breaking News
सहारा क्लवद्वारा राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिति राईलाई पुरस्कृत, २५ जनालाई सम्मानित

आहा ! रारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको अवसरमा आयोजक सहारा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सहित आहा रारा पोखरा गोल्ड कप सफल पार्न सहयोग गर्नुहुने अन्य २५ जना व्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको छ ।

पोखरा रंगशालमा मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटनको अवसरमा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिती राई नगद सहित सम्मान गरेको हो ।

खेलाडी राईलाई सम्मान पत्रको साथमा नगद ५१ हजार सहित पोखराका मेयर धनराज आचार्य क्लवका अध्यक्ष केशव बहादुर थापाले सम्मान गरेका हुन् ।

नेपाली फु्टवल खेलकुदको विकासमा राईले पुर्याएको योगदानलाई उच्च कदर गर्दै क्लवले उनलाई सम्मान गरेको क्लवका अध्यक्ष थापाले बताए । उक्त पुरस्कारको प्रायोजन भने खेलकुदकर्मी खेमबहादुर गुरुङले गरेका हुन् ।

त्यसै गरी सहारा क्लवले उक्त गोल्ड कपको रजत महोत्सवको अवसरमा २५ जना विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश के.सी., किरण के.सी., रोशन के.सी., गोल नेपालका विक्रम थापा, खेल पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, संचारकर्मी दिपेन्द्र श्रेष्ठ, गोर्खा मिडियाका मिलन तमु, दिलिप राई, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, समाजसेवी हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेम बहादुर गुरुङ, टिका बहादुर कार्की, सुनिल कुमार गुरुङ, फेवा सिटी हस्पिटल, बुद्ध एयर, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेम बहादुर गुरुङ, स्व.राजमान थकाली, दिपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।

आहा रारा पोखरा गोल्ड कप फु्टवल प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.आहा तथा रारा तयारी चाउचाउ० रहेको छ भने प्रतियोगितामा पोखरा महानगरपालिका संरक्षकका रूपमा रहेको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताए ।

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20847, citypokhara.com

‘भाषण होइन परिणाम’— कास्की–२ बाट कुशल गुरुङको २१ बुँदे घोषणापत्र

पोखरा । कास्की क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका उज्यालो नेपाल पार्टीका नेता कुशल गुरुङले सुशासन, समृद्धि र जलवायु न्यायलाई केन्द्रमा राख्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रमा पर्यटन प्रवर्द्धन, जलवायु संरक्षण, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र सुशासनका ठोस कार्यक्रम समेटिएका छन्।

जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जाका अन्तर्राष्ट्रिय विज्ञ गुरुङ एसिया सोसाइटी अमेरिकाको Asia 21 Young Leaders सम्मान प्राप्त व्यक्ति हुन्। उहाँ एस्पेन आइडियाज फेलो (२०१७) तथा एडिनबर्ग विश्वविद्यालय व्यवस्थापन विद्यालयको १०० वर्षे इतिहासका उत्कृष्ट १०० पूर्वविद्यार्थीमध्ये पर्छन् ।

पोखराको प्रकृति र पर्यटन जोगाउने प्रतिबद्धता
घोषणापत्रमा पोखराको पहिचान प्रकृति र पर्यटन भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण ताल, हिमाल र सिमसार क्षेत्र जोखिममा परेको जनाइएको छ। गुरुङले औद्योगिक राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनका कारण पोखरा प्रभावित भएको उल्लेख गर्दै जलवायु क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसंघको हरित जलवायु कोषमार्फत अन्तर्राष्ट्रिय वित्त ल्याउने पहल गरिने बताएका छन्।

पर्यटन र पूर्वाधार
घोषणापत्र अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गरी वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना अघि सारिएको छ। पृथ्वीचोकस्थित बसपार्कलाई अपांगमैत्री संरचना, सार्वजनिक शौचालय, स्तनपान कक्ष, स्नानगृह, बहुधार्मिक प्रार्थना स्थल र सुविधायुक्त प्रतीक्षालयसहित आधुनिक बसपार्कमा रूपान्तरण गर्ने उल्लेख छ।

फेवाताल संरक्षणका लागि रामसार मापदण्डअनुसार अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधताको संरक्षण गरिने बताइएको छ। सेती कोरिडोर विकास योजनाअन्तर्गत शान्ति वन जैविक विविधता उद्यान, रामघाट जलविहार मनोरञ्जन केन्द्र र बागमारा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्यक्रम पनि घोषणापत्रमा समावेश छ।

रोजगारी, डिजिटल अर्थतन्त्र र शिक्षा
आर्थिक रूपान्तरणका लागि Pokhara Digital Ecosystem (PDE) स्थापना गरी २५ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। सामुदायिक विद्यालय, क्याम्पस र विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) आधारित शिक्षा तथा तालिम लागू गर्ने योजना पनि घोषणापत्रमा उल्लेख छ।

कृषि, स्वास्थ्य र सामाजिक न्याय
घोषणापत्रले जलवायु उत्थानशील कृषि प्रणाली, कृषकका लागि जलवायु जोखिम बीमा, सिट्रस ग्रिनिङ रोगको वैज्ञानिक समाधान तथा ग्रामीण क्षेत्रलाई अर्गानिक कृषि–पर्यटन क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ। सरकारी अस्पताल र स्वास्थ्य चौकी स्तरोन्नति गर्दै विशेषज्ञ सेवा र आधुनिक स्वास्थ्य बीमा प्रणाली प्रभावकारी बनाइने उल्लेख छ।

सुशासन र कानुनी कडाइ
सुशासनका लागि कर्मचारीतन्त्रको कार्यसम्पादन मूल्याङ्कन, वित्तीय अनुशासन, वैज्ञानिक लेखापरीक्षण र AI आधारित सुशासन प्रणाली लागू गरिने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ। सहकारी संस्थामा भएको बचत हिनामिनामा संलग्न व्यक्ति तथा गिरोहमाथि तत्काल कानुनी कारबाही गरी पीडितको बचत फिर्ता गरिने पनि उल्लेख गरिएको छ।

घोषणापत्र सार्वजनिक गर्दै गुरुङले “भाषण होइन, काम र परिणाम” आफ्नो राजनीतिक प्रतिबद्धता भएको उल्लेख गर्दै कास्की–२ का मतदातालाई उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘चिम’ मा मतदान गर्न आग्रह गरेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20844, citypokhara.com

लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।
तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्फत व्यवसायीहरुले जिवनभर आफुलाई उपयुक्त हुने ज्ञान हासिल गर्न सक्ने र व्यवसायीक जिवनमा सफलता हासिल गर्न सकिने वताएका थिए ।
उनले व्यवसायीक जिवनमा कसैले खोट लगाउन नसक्ने स्वभिमानी जिवन बाँच्नको लागि विभिन्न किसिमका करहरुसम्बन्धी जानकारी हुनुपर्ने र कर तिर्नु हरेक नागरिकको कर्तव्य समेत भएकाले नियतवश कर छल्ने कार्य गर्दा भोलीका दिनमा कसैले पनि सहयोग गर्न नसक्ने अवस्था आउनेतर्फ सजग गराए ।
कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायीक जिवनमा अझै सफल बनाउने उद्धेश्यले र कर गणना, कर विवरण भर्ने, कर चुक्ता लिने, आय विवरण बुझाउने, करसम्बद्ध झन्झटहरु मिसम्याचमा पर्ने, ननफाइलर रहने जस्ता विषयमा व्यवसायीले भोगेका समस्याहरु निराकरणका लागि तालिमको आयोजना गरिएको बताईन ।
उनले राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता तथा जनताको करप्रतिको सकारात्मक भावना विकास गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरिन ।
उक्त अवसरमा तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीले भोगेका समस्याहरु निराकरणका तालिमको आयोजना गरिएको बताउँदै कर डराउनुपर्ने विषय नभई जान्नुपर्ने विषय भएकाले उद्यमी/व्यवसायीहरुलाई सचेत बनाउन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गराउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
यस्तै संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले व्यवसायीहरुमा करलाई प्राथमिकता र महत्व नदिइएका कारण विभिन्न समस्या भोगिरहनुपरेको र राज्यको ऐन कानुन एवं कर नितिको बारेमा ज्ञान भएन भनेर उन्मुक्ति नपाईने भएकाले यस विषयमा सचेत गराउन तालिम प्रभावकारी हुने वताएका थिए ।
उनले प्रत्येक आर्थिक वर्षको शुरुवातसँगै परिवर्तन भईरहने कर नितिको विषयमा पनि व्यवसायिहरुले आफुलाई अद्यावधिक राख्नुपर्ने वताएका थिए ।
७० भन्दा वढि उद्योगि/व्यवसायीहरुको सहभागिता रहेको तालिममा विवेक एण्ड एशोसिएट्सका सञ्चालक सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20840, citypokhara.com

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

लेखनाथ । भक्तपुर उद्योग बाणिज्य संघको भ्रमण टोलिलाई लेखनाथ उद्योग वाणिज्य संघमा शनिवार स्वागत गरि छलफल तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरेको छ ।

वि.सं २०५८ माघ ५ गते लेखनाथ उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघ विच भातृत्व सम्बन्ध गाँसिएको र सो सम्बन्धलाई ताजगी बनाउदैं भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति टिमलाई लेखनाथमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले संस्थाका गतिविधिहरु, उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र संघबाट हुने कार्यक्रमका वारेमा चर्चा गर्नुहुदै लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति टिमलाई भक्तपुर उद्योग वाणिज्य संघमा भ्रमणको निम्तो समेत दिएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले विगतमा भातृत्व सम्बन्ध गाँस्नुको मुख्य उद्देश्य र पुराना दिन स्मरण गर्दै दुवै संघ विचको सहकार्यलाई मजबुद बनाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष क्रमश चतुराखर अधिकारी, सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, बलराम ढकाल, छत्रधर आत्रेय, त्यसै गरि भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रोशनीमैया धौवन्जा, पुर्व अध्यक्ष शिवप्रसाद मानन्धर लगायतले दुई संस्था विचको सम्बन्ध र भाईचार बारे चर्चा गरेका थिए ।

करिब २५ वर्षको भातृत्व सम्बन्ध र दुई संघ विचको भाईचार र आत्मियता कायम गर्दै एक आपसमा अनुभव साटासाट गरिएको सो छलफल कार्यक्रममा दुवै संघले गरेका काम र आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए ।

दुवै संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन संघका महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन सहित समापन संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20836, citypokhara.com

मंगलबारदेखि शुरु हुने २५ ओैं आहा ! रारा पोखरा गोल्ड कपकाे तयारी पूरा, विजेताले १४ लाख पाउने

पाेखरा ।
माेफसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको २५ औं संस्करण यही मंगलबारदेखि सुरु हुने भएको छ । सहारा क्लव पाेखराको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

खेलकुदको विकसमा सहकार्य गरौं, पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गरौं भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको यस प्रतियाेगिताकाे उद्घाटन खेलमा आयोजक सहारा क्लव र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब बिच प्रतिष्प्रर्धा हुने क्लवका अध्यक्ष केशव बहादुर थापा मगरले जानकारी दिए ।

उनका अनुसार फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब सहभागिता हुनेछ ।

त्यसैगरी जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, फ्रेण्ड्स क्लब, आयोजक सहारा क्लब पोखरा सहित उज्वेकिस्तानको आभा फुटबल क्लब, भारत सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब पनि सहभागी हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ र भाग्यशाली दर्शकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने भएको छ ।

यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् । सहारा क्लब पोखराले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट यस वर्ष राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिती राई सम्मानित हुने प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताए । क्लवका मानार्थ सदस्य खेमबहादुर गुरुङले उक्त पुरस्कारको लागि ५१ हजार प्रायोजन गरेका छन् ।

मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि. (आहा तथा रारा तयारी चाउचाउ) रहेको छ भने प्रतियोगितामा पोखरा महानगरपालिका संरक्षकका रूपमा रहेको छ ।

सन्ध्याकालिन रुपमा अस्थायी फ्लाइटलाइटमा फुटवल प्रतियोगिता हुने भएको महासचिव गंगाराज पौडेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सहारा युकेका अध्यक्ष सारदा गुरुङले ‘म्यान अफ दी म्याच’ ट्रफी क्लब अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे ।

हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीले स्व.सूर्य बहादुर केसीले आहा! रारा गोल्डकपसँग जोडेको सम्बन्धलाई निरन्तरता दिँदै खेलकुदसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए । निर्देशक किरण केसीले आहा! रारा पोखरा गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा स्थापित गर्न सहकार्यलाई निरन्तरता दिने उल्लेख गरे ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पोखरामा फुटबल विकासमा सहारा क्लबले उदाहरणीय भूमिका खेलेको भन्दै वडाले प्रतियोगितालाई विशेष सहयोग गर्दै आएको बताए ।

यस अवसरमा आहा ! रारा पोखरा गोल्डकपलाई २५ औँ संस्करणसम्म ल्याउन योगदान पु¥याउने २५ जना व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिनेछ ।

सम्मानित हुनेहरुमा हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश के.सी., किरण के.सी., रोशन के.सी., सहारा क्लवका पूर्व अध्यक्ष विक्रम थापा, खेल पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, संचारकर्मी दिपेन्द्र श्रेष्ठ, गोर्खा मिडियाका मिलन तमु, दिलिप राई, राष्ट्रिय खेलकुद परिषद छन् ।

यसैगरी अखिल नेपाल फुटबल संघ, समाजसेवी हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेम बहादुर गुरुङ, टिका बहादुर कार्की, सुनिल कुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेम बहादुर गुरुङ, स्व. राजमान थकाली, दिपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20831, citypokhara.com

पोखराको जेठो सामाजिक संस्था पोउवा संघ ७२ औं वर्षमा

पोखरा। पोखरा उद्योग वाणिज्य संघ ७२ औं वर्षमा प्रवेश गरेको छ । २००७ सालको क्रान्तिपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखरा व्यापार संघको स्थापना गरेका थिए ।
विधिवत् रुपले २०११ सालमा स्थापित भए पनि २००८ सालतिरै पोखराका व्यापारीहरु एकजुट भइसकेका थिए र व्यापार संघको तदर्थ समिति पनि बनेको थियो । २०११ सालमा विधिवत् स्थापना भएपछि चाहिँ तत्कालीन समयको पोखरा व्यापार संघ यहाँको जेठो सामाजिक संस्थाको रुपमा प्रतिस्थापित भयो ।
यही संघको अगुवाइमा शैक्षिक उन्ननयनको लागि बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पससहित दर्जनौं शैक्षिक संस्था,पोखरा विश्वविद्यालयको स्थापना, पृथ्वीनारायण क्याम्पसमा वाणिज्य अनि अर्थशास्त्रको पढाइ हुन थाल्यो । भौतिक निर्माणको अगुवाइ पनि संघबाटै भएको हालका अध्यक्ष गोकर्ण कार्की बताउँछन् । उनका अनुसार संघले पोखराको महेन्द्रपुलदेखि काहुँको धरहरा,पोखरा सभागृहलगायतका संरचना निर्माणमा नेतृत्वदायी भूमिका निभाएको थियो ।
पोखरालाई शिक्षा,स्वास्थ्य र पर्यटनको सहर बनाउनुपर्छ भन्ने आवाज पहिलोपटक मुखरित गर्ने तथा सोही अनुरुपका कार्यक्रम तय गर्ने श्रेय पनि संघलाई नै जान्छ । २०३१ सालमा पोखरा औद्योगिक क्षेत्र स्थापना भएपछि पोखरा व्यापार संघले आफूलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गरेको थियो । अहिले पोखरा उद्योग वाणिज्य संघमा करिब ३ हजार साधारण सदस्य रहेका छन् ।
यो निजी क्षेत्रको हक अधिकारको पैरवी गर्ने र खुल्ला अर्थतन्त्रको पक्षमा आवाज उठाउने संस्था भएको अध्यक्ष कार्कीको भनाइ छ ।
‘पोखराले सहरको स्वरुप नलिँदै पोखरा उद्योग वाणिज्य संघ जन्मेको हो । यसका संस्थापक अध्यक्ष नै मुस्ताङमा जन्मेर पोखरालाई कर्मक्षेत्र बनाउनुभएका स्वर्गीय अमृतप्रसाद शेरचन हुनुहुन्छ,’अध्यक्ष कार्की भन्छन्,‘यो संस्था कति समावेशी छ भन्ने दृष्टान्त त्यहीँबाट पुष्टि हुन्छ । पोखरालाई देशका कुनाकुनामा रहेका उद्योगी/व्यवसायीको आकर्षणको केन्द्र बनाउन हामी निरन्तर लागिरहेका छौँ ।’
संघको ७२ औं स्थापना दिवसको अवसरमा आइतबार सचिवालय गैह्रापाटनमा झण्डोत्तोलन गरिएको छ । सो कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनसहित वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।
संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाका अनुसार संघले चुनावी आचार संहिताका कारण वार्षिकोत्सव केही कार्यक्रमलाई भने थाँती राखेको छ ।
यसैबीच संघको ७२ औं वार्षिकोत्सवकै अवसरमा भगिनी सम्बन्ध गाँसिएको भक्तपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएको छ ।
महासचिव गौतमका अनुसार भक्तपुृरको प्रतिनिधिको सम्मानमा संघले कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिकाको ताङतिङमा सो सम्मान कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा भक्तपुरका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेसहित,पूर्वअध्यक्ष एवं सल्लाहकार शिवप्रसाद मानन्धर, निवर्तमान अध्यष रोशनीमैयाँ धौबन्जासहितको प्रतिनिधिमण्डलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति,पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन,कृष्णमोहन श्रेष्ठ,विश्वशंकर पालिखे एवं संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरुले बधाइ ज्ञापन गरेका थिए ।
सांस्कृतिक सहर भक्तपुृरसँगको भगिनी सम्बन्धमार्फत् पोखराको पर्यटन प्रवद्र्धन गर्ने,संस्कृति र सीप हस्तान्तरणमार्फत् पर्यटकीय गतिविधि बढाउने लक्ष्य पोखरा उद्योग वाणिज्य संघको रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20827, citypokhara.com

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले नव उद्यमी व्यवसायीहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार आयोजीत कार्यक्रममा व्यवसाय दर्तादेखी कसरी शुरु गर्ने, यसको बजारीकरण, ब्राण्डीङ, वित्तिय व्यवस्थापन, अभिलेख राख्ने, नविकरण एवं करका विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिमको शुभारम्भ गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव प्रसाद ढुंगानाले सुचना प्रविधिको विकाससँगै अब राज्यले पनि पेपरलेस र फेशलेस प्रशासनको अबलम्बन गरिरहेकाले यसबाट व्यवसायीले अनलाईनको माध्यमबाटै व्यवसाय दर्तादेखी, नविकरण, करचुक्ताका सुविधाहरुको लाभ लिन सक्नुपर्ने वताएका थिए ।

प्रमुख ढुंगानाले व्यवसायीहरुले कहिल्यै पनि वास्तविक कारोवार लुकाउन नहुने सुझाव व्यक्त गर्दै विभिन्न संयन्त्रहरुबाट कडा निगरानी हुने भएका कारण झुट्टा विवरणहरु पेश गर्दा सजायको भागिदार हुनुपर्ने अवस्था आउन सक्ने वताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघले उद्यमशीलतालाई प्राथमिकतामा राखेको भन्दै संघमा आवद्ध व्यवसायीहरुका लागि आफ्नो व्यवसाय सफल एवं मजबुद बनाउन तालिम कोशेढुंगा सावित हुने वताएकी थिईन ।

संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले विभिन्न वहानामा हुने आन्दोलन, बैंक तथा वित्तिय संस्थाहरुको घटवढ भईरहने ब्याजदर लगायतका कारणले व्यसायीमैत्री वातावरण निर्माण हुन नसक्दा निजि क्षेत्र जहिल्यै मारमा पर्ने गरेको वताएका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको तालिममा सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20824, citypokhara.com

फोटो पत्रकार अक्षयकोषमा नागरिक अभियान्ता रामबहादुर पौडेलको १० हजार सहयोग

पोखरा।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा नागरिक अभियान्ता रामबहादुर पौडेलले आर्थिक सहयोग गरेका छन् ।

नागरिक अधिकार, सुशासन र पारदर्शिताका विषयमा आवाज उठाउने पौडेलले कोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । पोखरा महेन्द्रपुलस्थित फल्चामा शुक्रबार भएको फोटो प्रदर्शनीमा अभियान्ता पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण पछि अभियान्ता पौडेलले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने बताए ।

सहयोग ग्रहण पछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता पाैडेललाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

यसैबिच, एनपिजेए कास्कीको आयोजना र सहरा क्लब पोखराको आयोजनामा शुक्रबार भएको फोटो प्रदर्शनी भव्यताका साथ सकिएको छ ।

प्रदर्शनीमा सहारा क्लबको आयोजनामा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेर १ सय वटा फोटो प्रदर्शन गरिएको थियो ।

२०५८ सालमा क्याराभान गोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको छ । यो वर्षको प्रतियोगिता माघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदैछ ।

प्रदर्शनीमा राखिएको फोटोहरु आहारारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरु प्रतियोगिता अवधिभर रंगशाला परिसरमा पुगेर उक्त फोटोहरु अवलोकन गर्न सक्ने उनले बताए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20820, citypokhara.com

आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

पोखरा ।
सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको छ । प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए ।

‘हाम्रो देशले एक खालको स्ट्रगल गरिरहेको अवस्थामा सबै स्ट्रगलबाट मुक्त भएर हामीले गरिरहेको खेलकुदको फोटो प्रदर्शनी समृद्धिको संकेत हो,’ उनले भने, ‘यो काम अन्त्यन्तै सह्रानीय कार्य हो । यस्तो काम मैले अरु ठाउँमा देखेको छैन् ।’

प्रदर्शनीमा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेरे १ सय वटा फोटो प्रदर्शनी गरिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले बताए । आहाराराको २५ वर्षे इतिहास, सङ्घर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत् जनसमक्ष प्रस्तुत गरिएको हो ।

५० भन्दा बढि फोटोमा फटबल मैदान भित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको फुटबल संस्कृतिलाई प्रस्तुत गरिएको छ ।

पोखरा महानगरपालिका वडाध्यक्ष दीपेन्द्र मर्सानीले फोटोमा देखिने हरेक विषयवस्तु सत्य हुने भएकाले पत्रकातिरामा फोटोको महत्वपूर्ण भूमिका हुने बताए । उनले नेपाल फोटो पत्रकार संघ, कास्की हरेक क्रियाकलापमा आफूले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्न प्रदर्शनीले सहयोग गर्ने सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । यसले पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न समेत योगदान पु¥याउने अपेक्षा गरिएको उनले सुनाए ।

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष माधव बरालले २५ वर्षको इतिहासमा कुनै पनि वर्ष नछुटाइ आयोजना हुनेले निरन्तरताको गतिलो सन्देश गएको बताए । ‘देशमा ठूला घटना र परिवेश आयो ।

६२/६३ को आन्दोलन, ७२ को भूकम्प र कोरोना महामारीको समयमा पनि आहारारा गोल्डकप रोकिएन,’ उनले भने, ‘प्रतियोगिताले अहिले २५ वर्षमा लागेको छ । अझै सयौं सयौं वर्ष सञ्चालन भइरहोस शुभकामना ।’ उनले प्रतियोगितालाई पत्रकारले प्रचारप्रसारमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाए ।

२०५८ सालमा क्याराभान कोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको हो भने आहा रारा गोल्ड कपको २५ औँ संस्करण माघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदैछ । यो पटक ३ विदेशी, एडिभिजन क्लब, विभागीय, आयोजकसहित १२ टिमको सहभागिता रहनेछ ।

प्रदर्शनीमा राखिएको फोटोहरु आहारारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरुले प्रतियोगिता अवधिभर अवलोकन गर्न सक्ने उनले बताए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20817, citypokhara.com

प्रतिभा सुपर लिग क्रिकेट: प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

पाेखरा ।

आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो ।

यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् ।

जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक/एक खेल जितेकाले शुक्रबारको खेल जित्ने विद्यालय सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित विद्यालय प्रतियोगिताबाट बाहिरिने छ ।

प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा प्रतिभा माविले नेपाल भारत मैत्री विद्यालयलाई ८४ रनले पराजित गर्यो । पहिलो खेलमा वाराही माविलाई ३ विकेटले पराजित गरेको प्रतिभा मावि लगातार दुई खेल जित्दै प्रतियोगिताको सेमीफाइनलमा पुगेको हो ।

शुक्रबारको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको प्रतिभा माविले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षेतीमा १४० रनको योगफल तयार गर्यो । चुनौतिपूर्ण लक्ष्य बनाउने क्रममा प्रतिभाका सहबुदिन अन्सारीले ४८ बलमा अर्ध सतकसहित ६१ रन, मिसन विकले २४ बलमा २१ रन र सफल थापाले २६ बलमा २० रनको योगदान दिए ।

प्रतिभा माविलाई विशाल स्कोर हुनबाट रोक्न नेपाल भारत मैत्री विद्यालयका समी उल्लाह आलमले ४ ओभरमा २० रन खर्चेर २ विकेट, विवेक कुमारले ४ ओभरमै १६ रन खर्चेर २ विकेट तथा सत्यानन्द उपाध्यायले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।

१४१ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्री विद्यालय ११ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सिमित रह्यो ।

प्रतिभा माविका बलरहरुसामु नेपाल भारत मैत्री विद्यालयका प्रायः सबै व्याटर निरीह देखिए । नेपाल भारत मैत्री विद्यालयलाई सस्तैमा समेट्न प्रतिभाका निश्चल दाहालले २ ओभर बलिङ गर्दै ९ रन खर्चेर ५ विकेट हत्याए भने सफल थापाले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट तथा सफल श्रेष्ठले २ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिए ।

सो खेलमा बिजयी प्रतिभा माविका ५ विकेटधारी निश्चल दाहाल प्लेयर अफ दी म्याच घोषित भए ।

शुक्रबार भएको अर्को खेलमा गुरुकुल सेकेण्डरीले जनप्रिय माविलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्ने आशा जिवितै राखेको छ ।

टस जितेर जनप्रिय माविले बलिङ रोजेपछि पहिले व्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षेतीमा १४४ रन बनायो । गुरुकुलका लागि विवेक अधिकारीले ३७ बलमा ४१ रन, सुदीप सुनारले १५ बलमा २६ रन र एलोन भट्टले २८ बल सामना गर्दै २४ रनको योगदान दिए ।

गुरुकुललाई विशाल योगफल बनाउनबाट रोक्ने क्रममा जनप्रियका हेमराज प्रसाद उपाध्यायले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर २ विकेट, मौषम भट्टराईले ४ ओभरमा २५ रन खर्चेर २ विकेट तथा सम्राट क्षेत्रीले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिए ।

१४५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको जनप्रिय मावि ८.३ ओभरमा सबै विकेट गुमाएर केवल ३४ रनमा समेटियो । जनप्रियको ईनिङमा सन्देश स्याङ्तानले १४ बलमा १० रन बनाउनुबाहेक अन्यको व्याट चलेन ।

जनप्रियलाई सस्तैमा समेट्न गुरुकुलका सुदीप सुनारले २.३ ओभरमा २ रन खर्चेर ३ विकेट, हेमन्त नेपालीले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा प्रमिस गैह्रेले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए । सो खेलमा गुरुकुलका सुदीप सुनार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा मदरल्याण्ड र गुरुकुल तथा दोस्रो खेलमा कुमुदिनी होम्स र टप्स मावि प्रतिष्पर्धामा उत्रिनेछन् । शुक्रबारको खेलसँगै सेमीफाइनल समीकरण पूरा हुनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20812, citypokhara.com