Breaking News
आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

पोखरा ।
सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा गोल्ड कपको २५ औं अर्थात रजत वर्षको अवसरमा फोटो प्रदर्शन हुने भएको छ ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो ।

पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका अविस्मरणीय क्षणहरू समेटिएको फोटो प्रदर्शन गरिने एनपिजेए कास्की अध्यक्ष राम गुरुङले जानकारी दिए ।

प्रदर्शनीमार्फत प्रतियोगगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत जनसमक्ष प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताए ।

प्रदर्शनीमा मैदानभित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको जीवन्त फुटबल संस्कृतिलाई तस्बिरमार्फत प्रस्तुत गरिने उनले बताए । प्रदर्शनीमा ५० भन्दा बढि फोटो राखिनेछ ।

प्रदर्शनीले नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न समेत योगदान पु¥याउने अपेक्षा सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । रजत जयन्तीमा उत्साह थप्नका लागि फोटो प्रदर्शनीमा सहयोग गरिएको उनले सुनाए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20809, citypokhara.com

प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवस, पत्रकार सापकोटा सम्मानित, लस्माल पुरस्कृत

पोखरा ।
प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ । बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित दुवैलाई सम्मान गरे । लम्साललाई सम्मान–पत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरियो । सम्मानपछि बोल्दै सापकोटाले संगठनले दुई दशक लामो आफ्नो त्रियाशीलतालाई स्मरण गरेकोमा खुसी व्यक्त गरे ।

उनले सम्मानले संगठनप्रतिको दायित्व बढेको महसुस भएको बताए । पुरस्कृत पत्रकार लम्सालले अनेक ठक्कर–हण्डरबीच निरन्तर गरिरहेको कर्मको मूल्यांकन भएको बताए ।

विगतको पुरस्कार, पुस्तक विमोचन र हाल प्राप्त पुरस्कार एमाले नेता अधिकारीकै हातबाट प्राप्त गर्ने संयोग मिलेको उनले सुनाए । एमाले सचिव अधिकारीले देशको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुने बताए ।

सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेकोमा उनले असन्तुष्टि जनाए । सम्पूर्ण जनता र राजनीतिक दल एकताबद्ध भएर देशको विकासमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बरालले बोलेका थिए ।

चौतारीले सम्मानित र पुरस्कृत व्यक्तित्व छनोट गर्न पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो । त्यसमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य थिए ।

हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका थिए । उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ ।

उनी हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रसियान भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक हुन् । उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो ।

सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ (साविकको थुमाको डाँडा गाविस–७) का स्थायी बासिन्दा हुन् । २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन् ।

मुख्यतः सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा उनी सक्रिय छन् । उनी प्रेस चौतारी नेपाल कास्कीका पूर्वकोषाध्यक्ष (२०६५ देखि २०६७ सम्म) हुन् । सापकोटा २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए । उनलाई चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा सम्मान गरेको थियो ।

प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20806, citypokhara.com

नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने

पोखरा। ।
नमस्ते ब्याण्डले ३७ औं वार्षिक उत्सव र नेपाल जापान मैत्री सम्बन्ध ७० वर्षको उपलक्ष्यमा १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ ।

विगत ३६ वर्षदेखि नेपालमा मात्र नभएर विश्वमा नै एक अमिट छाप राख्न सफल भएको नमस्ते ब्याण्डले फागुन १ गते काठमाडौँमा, फागुन ३ गते आईतबार लेकसाईड पोखरामा र मार्च महिनामा जापानको टोकियोमा महाशिवरात्रीको छेको पारी सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको संयोजक एवम् नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङले जानकारी दिएका छन ।

नमस्ते ब्याण्डले महाशिवरात्री पर्वको अवसरमा आयोजना गर्ने विश्व संगीत महोत्सवको यो १९ औं संस्करण हो । फागुन ३ गते साँझ ६ बजेदेखि पोखराको लेकसाईडमा आतिसबाजी, शिवधुनी सहित नमस्ते ब्याण्डसँगै राजु लामा एण्ड मंगोलिएन हर्ट, राजेश पायल राई, दिप श्रेष्ठ लगायतको प्रस्तुति रहने उनले जानकारी गराए । नेपाल सहित अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ बताइएको छ ।

महाशिवरात्रीको अवसरमा ब्याण्डले निरन्तर कार्यक्रम विश्वसंगीत महोत्सव गर्दै आएको छ । नेपाल तथा जापानका विभिन्न ठाउँमा हुने सांगितिक महोत्सवमा दशर्कको व्यापक सहभागीता रहने अपेक्षा
गुरुङको छ । ५० को दशकमा पोखराका पप ब्याण्डको सक्रियता र चर्चाका कारण नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण उपस्थिति रहेको स्मरण गर्दै पुनः पोखराको सांगीतिक क्षेत्र पुरानै अवस्थामा फर्कन सक्ने आशा थपिएको उनले बताए ।

महोत्सव अवलोकनका लागि एक सय र दुई सयको टिकट राखिएको छ । महोत्सवले पोखराको सांस्कृतिक उचाईलाई थप मजबुत बनाउने आशा गरिएको छ । पोखराको नै ब्याण्ड भएकाले उक्त महोत्सवलाई सफल पार्न पोखरेलीको साथ रहनेमा आयोजक आशावादी देखिन्छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सुरेश सुनारले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20803, citypokhara.com

निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गरिने

निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गरिने

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने भएको छ । धादिङ जिल्लाको सल्यानटारमा माघ १७ गते बसेको काउन्सिल बोर्ड बैठकले ‘निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने’ निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी, प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार/परिमार्जन गर्ने निर्णय भएको उल्लेख छ ।

बोर्डका निर्णय सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा यसै आर्थिक वर्षको हालसम्मको कार्यक्रम, प्रगति, थप कार्यक्रमसहित निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल भयो ।’ निर्वाचन आचारसंहिता जागरण अभियान धादिङबाट शुभारम्भ गर्ने गरी काउन्सिल बैठकले विभिन्न निर्णय गरेको हो ।
पहिलोचरणमा सात प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम सञ्चालन गर्ने तथा अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय भएको काउन्सिलले जनाएको छ । बोर्ड बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधि–सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्न/गराउन सम्बन्धित सबैमा अपिल गर्ने निर्णय समेत गरेको छ ।

बैठकपश्चात् माघ १८ गते धादिङबेसीमा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, स्थानीय शैक्षिक एवं सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरूको सहभागितामा ‘निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/02/05/11533/, www.presscouncilnepal.gov.np

सल्यूट गोर्खाकाे १८औँ स्थापना दिवस,’पैसाले होइन,साहस,क्षमता र अनुशासनले भईन्छ लाहुरे’

पोखरा ।  सल्यूट गोर्खा ट्रेनिङ सेन्टर प्रा. लि.ले  १८औँ स्थापना दिवस मनाएकाे छ । सल्युट गाेर्खाले स्थापना दिवसकाे अवसरमा विभिन्न खलकुदका कार्यक्रम  गर्दै मंगलबार स्थापना दिवस मनाएकाे हाे । साे अवसरमा बाेल्ने वक्ताहरुले गोर्खा भर्तीमा सफल हुन सही निर्णय, कडा मिहिनेत, अनुशासन र आत्मविश्वास अनिवार्य रहेकोमा जोड दिएका छन्। सल्यूट गोर्खा ट्रेनिङ सेन्टरको तालिमले व्यावहारिक अनुभव, आत्मविश्वास र सफलता हासिल गर्न सहयोग गर्ने उनीहरूको भनाइ थियो।

गोर्खा भर्ती शारीरिक क्षमतामा मात्र सीमित नरही उम्मेदवार मानसिक, सामाजिक, शैक्षिक, सकरात्मक साेच, निरन्तर अभ्यास र सर्वाङ्गिण रुपमा फिट हुनुपर्नेमा कार्यक्रमका वक्ताहरुकाे जोड  छ ।

कार्यक्रमका प्रमुख अतिथि सुवेदार मेजर (ह्ननरी क्याप्टेन) प्रेम थापाले सही समयमा सही निर्णय लिन सक्ने युवाहरू नै सफल हुने बताए। ‘सल्युट गाेर्खाका प्रशिक्षार्थीहरु एजुकेशनमा ९९ प्रतिशत पास हुनु, यहाँ अनुभवी शिक्षकको छनोट, उपयुक्त वातावरण र निरन्तर मिहिनेतले मात्र सपना साकार बनाउँछ ।’उनले भने,’सपना सुतेर होइन, ब्युँझेर देख्नुपर्छ।’ उनले स्वास्थ्य, अनुशासन र फिजिकल फिटनेस नै सफलता प्राप्त गर्ने मूल आधार भएको उल्लेख गरे।

सल्यूट गोर्खा ट्रेनिङ सेन्टरका सञ्चालक राहुल पाण्डेले गोर्खा भर्तीमा हुने भ्रम, आर्थिक चलखेल र झुटा आश्वासन विरुद्ध सल्यूट गोर्खाले निरन्तर आवाज उठाउँदै आएको बताए । उनले भने-“लाहुरे बन्न पैसा होइन, साहस, क्षमता र आत्मविश्वास चाहिन्छ। जसमा क्षमता छ, उ नै भर्ति हुन्छ ।” सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले गरिब, जेहेन्दार र अनुशासित प्रशिक्षार्थीहरूलाई छात्रवृत्ति तथा विशेष छुट, निःशुल्क प्रि–मेडिकल चेकअप र परामर्श प्रदान गर्दै आएको उनकाे भनाई छ । सल्यूट गोर्खा एप मार्फत गोर्खा भर्तीसम्बन्धी पुस्तक, प्रश्नपत्र तथा अनलाइन सेवा निःशुल्क उपलब्ध गराउँदै आएको सञ्चालक पाण्डेले बताए ।

सल्यूट गोर्खाकाे १८औँ स्थापना दिवस,’पैसाले होइन,साहस,क्षमता र अनुशासनले भईन्छ लाहुरे’

कार्यक्रममा सुवेदार मेजर उमनसिंह गुरुङ,सुवेदार वेलबहादुर गुरुङ, सुवेदार भिमबहादुर पुन, अंग्रेजी प्रशिक्षक हेम रानाभाट सल्युट गाेर्खाका चिफ इन्स्टक्टर कृष्णबहादुर आले लगायतले बाेलेका थिए । कार्यक्रम सल्युट गाेर्खामा लाहुरे प्रशिक्षण गरिरहेका युवाहरुकाे विचमा भएका खेलकुद कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएकाे थियाे भने युवाहरुले गायन, नृत्य, वासुरी बजाउने लगायतका प्रस्तुति राखेका थिए ।

सन् २००९ मा पोखरामा स्थापना भएको सल्यूट गोर्खा ट्रेनिङ सेन्टर हाल काठमाडौं, ललितपुर, दाङ, बुटवल र चितवन गरी ६ जिल्लामा सञ्चालनमा छ। संस्थाले आफ्नै अन्तर्राष्ट्रिय स्तरको तालिम मैदान, सुविधा सम्पन्न छात्रावास सहित सम्पूर्ण तालिम आफ्नै क्याम्पभित्र सञ्चालन गर्दै आएको छ।

सल्युट गाेर्खा स्थापनाकालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस, इन्डियन आर्मी, नेपाल आर्मी लगायत विभिन्न देशहरुमा गोर्खा सैनिक भर्ती गराउन सफल संस्था हो ।

सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा. लि.ले सन् २०२२/२०२३ को एसियाको बेस्ट गोर्खा भर्ती तथा प्रशिक्षण एकेडेमी अवार्ड र २०२२/२०२३ को एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्ड समेत प्राप्त गरेको छ । यसका साथै  ट्रेनिङ सेन्टरका सञ्चालक राहुल पाण्डे योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ बाट पनि सम्मानित भएका छन् ।

भर्ती हुनका लागि चाहिने आधारभूत आवश्यकताहरुका बारेमा फोन, सामाजिक सञ्जाल ( फेसबुक/युट्युब) मार्फत वा यस तालिम केन्द्रको कार्यालयमै उपस्थित भएर समेत जानकारी लिन सकिन्छ । यस संस्थाले भर्तीको सम्पूर्ण तालिम प्रदान गर्दै आएको छ ।

हाल सल्यूट गोर्खामा १०० भन्दा बढी प्रशिक्षार्थीहरू शारीरिक, शैक्षिक तथा अन्तर्वार्ताकाे तयारी कक्षामा सहभागी छन्।

सल्यूट गोर्खाले अहिलेसम्म करिब ४ सय जनालाई ब्रिटिस आर्मी र सिंगापुर पुलिस, तथा ६ सय जनालाई इण्डियन आर्मीमा भर्ती गराउन सफल भइसकेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20798, citypokhara.com

युनाईटेड क्लब पोखराद्वारा अमरसिंह माविमा डिजिटल स्मार्टबोर्ड प्रदान

पोखरा ।

युनाईटेड क्लब पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वन संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखिनै अमरसिंह मावि संग सहकार्य गरि अमरसिंह खेल मैदानमा पोखरा महोत्सवको आयोजना गरि विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताए ।

१४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न गरेको एक हप्तामै पुन अमरसिंह माविमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री हस्तान्तरण गर्न पाउदा खुसी लागेको बताउदै युनाईटेड क्लबले शिक्षा क्षेत्रमा एक उदाहरणीय काम गर्न लागेको बताए । युनाईटेड क्लबको पहलमा पोखरामा खुल्ला चिडियाखाना निर्माणको काम शुरु भइसकेको बताउदै त्यसको सम्पूर्ण जिम्मा हाल गण्डकी प्रदेश सरकारले लिइ काम अगाडी बढिरहेको समेत बताए ।

१३ औं संस्करणको पोखरा महोत्सवको समापन संगै १४ औं पोखरा महोत्सव सम्म आइपुग्दा युनाईटेड क्लबले लेखनाथको अर्चलेमा आफ्नै जग्गामा ४० लाखको लागतमा युनाईटेड छात्राबासको काम शुरु गरिसकेको र छिट्टै नै त्यसलाई सञ्चालनमा ल्याइने बताउदै श्रेष्ठले त्यसका लागि कुनैपनि दातृ निकाय संग सहयोग नलिएको समेत बताए । युनाईटेड क्लबले पोखरा महोत्सवकै आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन पर्वद्र्वन संगै सेती नदी संरक्षणमा लागिरहेको श्रेष्ठको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले युनाईटेड क्लब पोखरा र अमरसिंह मावि बीच नङ र मासु बिचको सम्बन्ध जस्तै सम्बन्ध रहेको बताए ।

युनाईटेड क्लबले अमरसिंह मावि संगको सहकार्यमा पोखरा महोत्सव सञ्चालन गरी विभिन्न सामाजिक कामहरु गर्दै हरेक बर्ष अमरसिंह माविको शैक्षिक स्तरोन्नतीका लाथि आर्थिक, नैतिक र भौतिक सहयोग गरेको बताए । जस अनुरुप १४ औं संस्करणको पोखरा महोत्सव सम्पन्न हुनासाथ विद्यार्थीहरुको आवश्यक्तालाई मध्येनजर गरी दुई थान आधुनिक स्मार्ट बोर्ड हस्तान्तरण गरेकोमा युनाईटेड क्लब परिवार प्रति धन्यवाद ब्यक्त गरे ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए । अमरसिंह माविको साथकै कारण १४ औं पोखरा महोत्सव सम्म सञ्चालित सम्पूर्ण महोत्सव सभ्य र भब्य ढंगले सम्पन्न भएको र आगामी महोत्सवहरु समेत भब्य र सभ्य रुपमा सम्पन्न हुने उनको भनाइ रहेको थियो ।

युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सवको आम्दानीबाट युनाईटेड क्बले दर्जन बढी विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना संगै अमरसिंह माविमा अध्ययनर विद्यार्थीहरुलाई आर्थिक सहयोग समेत गर्दै हरेक महोत्सवमा विद्यालयलाई सहयोग गर्दै आइरहदा यो पटक विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड वितरण गरिएको बताए ।

क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्यहरु विष्णु कुमार गुरुङ, पूर्ण कुमार श्रेष्ठ, बिजय कार्की, बुद्ध कार्की, सल्लाहकार रमेश बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20795, citypokhara.com

प्रतिभा सुपर कप क्रिकेट: लगातार दुई खेल जित्दै बाल मन्दिर सेमीफाइनलमा, बाराहीको पहिलो जित

पोखरा ।

प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको बाल मन्दिरले बुधबार भएको आफ्नो दोस्रो खेलमा डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै कुल ४ अंकसहित सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । यस समूहमा रहेका डायमण्ड मावि र ग्लोबल कलेजियट जितविहीन् छन् । यी दुई टोलीको लिग चरणको अन्तिम खेल बुधबार सान्त्वना जितका लागि खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै वाराही माविले सेमीफाइनल पुग्ने आशा जिवितै राखेको छ । समूह ‘सी’ अन्तर्गत भएको पहिलो खेलमा प्रतिभा माविसँग ३ विकेटले पराजित वाराही माविले मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । प्रतिभा मावि र वाराही माविको एक/एक जित भएकाले अब सेमीफाइनल यात्रा सुनिश्चित गर्न माघ २२ गते यी दुई टोली आमनेसामने हुनेछन् ।

लगातार दोस्रो जित दर्ता गने क्रममा मंगलबार बाल मन्दिर माविले डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर डायमण्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि व्याटिङमा आएको बाल मन्दिरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनायो । बाल मन्दिरका लागि अभिषेक क्षेत्रीले १८ बलमा २० रन, सुमन अधिकारीले २३ बलमा १५ र श्रीनिवास कठायतले २० बलमा १४ रनको योगदान दिए । बाल मन्दिरलाई ठूलो स्कोर हुनबाट रोक्ने क्रममा डायमण्डका मिलन पौडेलले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट तथा सुशांक तिवारीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट हत्याए ।

१२७ रनको बिजय लक्ष्य पछ्याएको डायमण्ड मावि १३.३ ओभरमा सबै विकेट गुमाएर केवल ५६ रनमा समेटियो । बाल मन्दिरका बलरहरुसामु निरीह देखिएका डायमण्डका लागि अविरल पोखरेलले सर्वाधिक ३१ बलमा ३२ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । अधिकांश खाता नखोली पेभेलियन फर्किदा सचिन तिमिल्सिनाले मुस्किलले १५ बलमा ६ रन बनाए । डायमण्डलाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले २.३ ओभरमा १७ रन खर्चेर ६ विकेट तथा श्रीनिवास कठायतले ३ ओभरमा ९ रन खर्चेर २ विकेट हत्याए ।

सो खेलमा व्याटिङमा १५ रन तथा ६ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।

मंगलबारको दोस्रो खेलमा वाराही माविले नेपाल भारत मैत्री विद्यालयलाई ३४ रनले हरायो । टस जितेर नेपाल भारत मैत्रीले फिल्डिङ गरेपछि पहिले व्याटिङमा उत्रिएको १८.२ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गर्यो । वाराहीका लागि ब्रिजेश भट्टराईले २५ बलमा १९ रन, सक्सेल तिमिल्सिनाले १३ बलमा १५ रन र अभिषेक अधिकारीले १८ बलमा ११ रनको योगदान दिए । नेपाल भारत मैत्री विद्यालयका रोसन अग्रवालले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट र विराज गुप्ताले ४ ओभरमा २२ रन नै खर्चेर २ विकेट लिए ।

११० रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्रीले १५ ओभरमा सबै विकेट गुमाएर केवल ७५ रन मात्रै बनाउँदा पहिलो खेलमै पराजय बेहोर्नु पर्यो । नेपाल भारत मैत्रीका क्याम्मुदिनले २४ बलमा २३ रन र जरुण शर्माले १९ बलमा १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाल भारत मैत्रीलाई सस्तैमा समेट्न वाराही माविका विवेक सुनारले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट तथा सविन विकले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।

सो खेलमा ५ विकेट लिएका बिजयी वाराहीका खेलाडी विवेक सुनार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा टप्स मावि र छोरेपाटन मावि तथा दोस्रो खेलमा डायमण्ड मावि र ग्लोबल कलेजियट मावि प्रतिष्पर्धामा उत्रिने छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20792, citypokhara.com

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि,घोडा दौड  र भेडाको साँड जुडाई मुख्य आकर्षण

पोखरा।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन ६ देखि ९ गतेसम्म महोत्सव हुने रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले बताए ।

‘सबै मौसममा पर्यटन भन्ने नारासहित विगत केही वर्षयता हामीले घान्द्रुक पर्यटन महोत्सव गर्दै आएका छौं, उपाध्यक्ष गुरुङले भने, ‘घान्द्रुकमा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन ६ देखि ९ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रमको साथ महोत्सव आयोजना गरिएको हो ।’

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको बताए । ‘घान्द्रुकमा हामीले एकैदिन २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल तथा होमस्टे रहेका छन्, अध्यक्ष गुरुङले भने, ‘महोत्सव अवधीभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुट दिन्छौं ।’

रोधीं क्लब कोँड (घान्द्रुक)का अध्यक्ष लक्षिण गुरुङले महोत्सवले घान्द्रुकको पर्यटन प्रवद्र्दन गर्न मद्दत पुग्ने बताए । ‘घान्द्रुक ढुङ्गेनी गाउँको नामले पनि परिचित छ, घान्द्रुकका कला संस्कृति, रीतिरिवाज बचाई राख्न महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिएका छौं ।’ अध्यक्ष गुरुङले भने ।
महोत्सव सफल बनाउन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)ले पोखरा र घान्द्रुकमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

महोत्सवमा भलिबल,घोडा दौड र भेडाको साँड जुडाई मुख्य आर्कषण

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता,भेडाको साँड जुडाई प्रतियोगिता,रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान १ लाख ६६ हजार ६ सय ६६, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै घोडा दौड प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले
९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

घान्द्रुक चक्रिय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६, उपविजेताले ७ हजार ४ सय ४४ र तृतीय हुनेले ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै छेलो प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६ र उपविजेताले ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार १ सय ११ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै भेडाको साँड जुडाई प्रतियोगिताको प्रथम हुनेले ११ हजार, द्धितिय हुनेले ९ हजार,तृतीय हुनेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20788, citypokhara.com

नेपालको उच्च शिक्षा विश्व प्रतिस्पर्धातर्फ लैजाने विषयमा पोखरामा अन्तर्राष्ट्रिय बहस

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस, पोखराले नेपालको उच्च शिक्षा प्रणालीलाई विश्व प्रतिस्पर्धी बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ।

विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहयोगमा आगामी २०८२ चैत १२, १३ र १४ गते (मार्च २६–२८, २०२६) पोखरामा “नेपालमा उच्च शिक्षाको रूपान्तरणः विश्व प्रतिस्पर्धातर्फका मार्गहरू” विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

क्याम्पस प्रमुख तथा सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्णबाबु बरालले सम्मेलनमा नेपाल, भारत, चीन, थाइल्याण्ड र बंगलादेशका ख्यातिप्राप्त शिक्षाविद्हरूले कीनोट स्पिकरका रूपमा सम्बोधन गर्ने बताए । उनीहरूले विश्व उच्च शिक्षाका नवीन अभ्यासलाई नेपाली सन्दर्भमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नेछन्।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताबाट ५० भन्दा बढी समिक्षित अनुसन्धानपत्र प्रस्तुत हुनेछन्। ती अनुसन्धानपत्रहरू गुणस्तर प्रत्यायन, डिजिटल रूपान्तरण, शैक्षिक सुशासन, संस्थागत स्वायत्तता र दिगो विकास लक्ष्यजस्ता विषयमा केन्द्रित रहने विद्यालय सञ्चालक समिति अध्यक्ष राजेन्द्र पहारीले बताए।

उच्च शिक्षाका नीतिगत चुनौती र सुधारका उपाय पहिचान गर्न दुईवटा उच्चस्तरीय प्यानल छलफल पनि आयोजना गरिने सहायक क्याम्पस प्रमुख नवीन खनालले जानकारी दिए।

सम्मेलनले पोखरालाई पर्यटनसँगै शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20783, citypokhara.com

प्रतिभा सुपर लिग क्रिकेट शुरु, प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात

पाेखरा । पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे ।

प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित गर्दै बिजयी सुखद शुरुवात गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक प्रतिभा माविले वाराही माविलाई ३ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको वाराहीले निर्धारित १७.१ ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । वाराहीका लागि अभिषेक अधिकारीले ३७ बलमा ४२ रन, ब्रिजेश भट्टराईले २५ बलमा २० रन र कुशल पौडेलले ८ बलमा १५ रन बनाए ।

१२७ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभाले १८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रतिभाको जितमा सहबुदिन अन्सारीले ४० बलमा ४३ रन, मिसन विकले २८ बलमा १४ रन र साहिल खानले १३ बलमा १२ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा वाराहीका ब्रिजेश भट्टराईले ४ ओभरमा १८ रन खर्चे भने समीर विकले ४ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए ।

सो खेलमा बिजयी प्रतिभाका खेलाडी सबुदिन अन्सारी प्लेयर अफ दी म्याच बने ।

आईतबार नै भएको दोस्रो खेलमा बाल मन्दिर माविले ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजियटले कमजोर प्रदर्शन गर्दै १५.१ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो । ग्लोबलका लागि विमोचन सापकोटाले ३४ बलमा ४० रन र अपिल पौडेलले १७ बलमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।

ग्लोबललाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले ३.१ ओभरमा ९ विकेट दिएर ह्याट्रिक विकेटसहित ५ विकेट लिए । सुवास पठायतले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट हत्याए ।

७२ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिरले केवल १२.१ ऋोभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । बाल मन्दिरका लागि सुरज अधिकारीले २६ बलमा १९, श्रीनिवास कठायतले २६ बलमा १७ रन र सुवास कठायतले १५ बलमा १६ रनको योगदान दिए ।

बाल मन्दिरलाई दवाबमा राख्न ग्लोबल कलेजियटका सौगात आचार्यले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा आयुष्मान गौतमले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

सो खेलमा बिजयी बाल मन्दिरका ह्याट्रिक विकेटसहित ५ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउने उद्देश्यले गरिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए ।

त्यस्तै, विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले शैक्षिक सान बनेको प्रतिभा माविले शिक्षासँगै खेलकुद र पर्यटनको विकासमा योगदान गर्न प्रतियोगिता आयोजना गरेको बताए । प्रमुख अतिथि पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले प्रतिभाले प्रतियोगितामार्फत खेलकुदको क्षेत्रमा योगदान गरेको भन्दै धन्यवाद दिए ।

प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20779, citypokhara.com