Breaking News
पोउवा संघद्वारा संचारकर्मीलाई भ्याटसम्बन्धी तालिम

पोखरा । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन ।

तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो  ।मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत् राजश्व बढाउने नीति पारित भयो । नेपालको निजी क्षेत्र त्यसको विरुद्धमा थियो । उनीहरुले भ्याटविरुद्ध उभिन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई दबाब दिइरहेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिए–पोखराका आनन्दराज मुल्मी । सरकारले लिएको उदारीकरणको नीतिलाई समर्थन गरेको महासंघ र अध्यक्ष मुल्मीलाई गाह्रो भयो । जिल्ला–जिल्ला र खासगरी ठूला व्यवसायीहरुले दिएको दबाबका कारण उनी तनावमा परे । आर्थिक विकासको लागि वैज्ञानिक कर प्रणाली कार्यान्वयनमा आउनुपर्छ भन्नेमा उनी प्रष्ट थिए ।

भ्याट भनेको व्यवसायीले तिर्ने नभइ संकलन गरेर राज्यलाई बुझाउने हो र त्यो दायित्व निभाउँदा निजी क्षेत्रमाथिको भरोशा बढ्छ भन्ने बुझे पनि दबाब झेल्न उनलाई कठीन भयो । देशैभरका उद्योग वाणिज्य संघहरु भ्याटको विपक्षमा हुँदा उनी पोखरा आए । आफ्नो मातृ संस्था पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष र पदाधिकारीलाई अवस्थाबारे जानकारी गराए । भ्याटको महत्वबारे बुझाए ।

त्यसपछि पोखरा उद्योग वाणिज्य संघ भ्याट कार्यान्वयनको पक्षमा उभियो । तर,सुधार र कार्यान्वयमा ल्याउन समय माग भयो । अन्ततः २०५४ साल मंसिर १ गते नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आयो ।

अहिले नेपालको मुख्य राजश्वको श्रोत नै भ्याट बनेको छ । नेपालका उद्योग वाणिज्य संघहरुमध्ये पहिलोपटक भ्याटको पक्षमा उभिएको पोखरा उद्योग वाणिज्य संघले बुधबार भ्याट के हो भन्नेबारे संचारकर्मीहरुलाई पनि जानकारी गरायो ।

पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडीको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीसँग समन्वय गर्दै एकदिने तालिमको आयोजना गरेको हो ।

‘भ्याट के हो र यसले राजश्वमा कति योगदान दिएको छ भन्ने कुरामात्र हैन, भ्याट कसरी तिर्ने,बिल–बिजक कसरी राख्ने अनि दण्ड–जरिवानाबाट कसरी बच्ने भन्ने कुरा पत्रकारले पनि थाहा पाउनुपर्छ भन्ने सोचेर तालिम आयोजना गरिएको हो,’आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भने,‘कतिपय अवस्थामा गलत सूचना जाँदा फलानो व्यवसायीले भ्याट छल्यो भन्ने अफवाहसमेत फैलिने गरेको छ । संचार जगतले भ्याटबारे जानकारी पाउँदा गलत समाचार आउँदैनन् भन्ने पनि हामीले ठानेका छौँ ।’

तालिमको उद्घाटन सत्रकी प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी सूचना दिनु र सही सूचना दिनु फरक कुरा भएको बताउँदै भ्याटबारे जानकारी राख्दा पत्रकारको दैनिक जीवनमा पनि त्यसले सघाउने बताइन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले कर आफैंमा जटिल विषय भए पनि आम नागरिकको चासोमा रहने हुँदा सरल तरिकाले यसबारे बुझाउनको लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार तालिममा करिब ६५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । चार्टर्ड एकाउण्टेण्ट विवेक श्रेष्ठले सो तालिमको सहजीकरण गरेका थिए । संघकी महासचिव गौतमका अनुसार संघले इच्छुक संचारकर्मीको लागि दोस्रो चरणमा पनि भ्याटबारे तालिम दिने छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20612, citypokhara.com

सुनको मूल्य एकैदिन तोलामा १० हजार ४ सयले उकालो, हालसम्मकै उच्च दर कायम

काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च दर हो ।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले वृद्धि भई आज ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20610, citypokhara.com

पोखरामा पृथक स्वादको पोखरा महोत्सव, दर्शकको उर्लदो सहभागिता

पोखरा ।

युनाईटेड क्लबले अन्य मेला–महोत्सवभन्दा फरक पहिचान बनाउँदै आएको पोखरा महोत्सवको १४ औं संस्करण भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएर स्थापना कालदेखि नै अमरसिंह खेल मैदानमा महोत्सव आयोजना गर्दै आएको क्लबले यस वर्ष पनि पृथक शैलीलाई निरन्तरता दिएको छ ।

पुष २९ गतेदेखि सुरु भएको पोखरा महोत्सव आठौं दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । पोखरामा आयोजना हुने अन्य मेला–महोत्सवभन्दा फरक ढंगले सञ्चालन हुने भएकै कारण पोखरा महोत्सवले दर्शकको साथ र माया पाउँदै आएको युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।

उनका अनुसार पोखरा महोत्सवको मुख्य विशेषता भनेकै १२ देखि १३ दिनसम्म हरेक साँझ लाइभ ब्याण्डको प्रस्तुती हो । युवाहरूको रुचि र चाहनालाई केन्द्रमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्याण्डहरूको लाइभ प्रस्तुती दिइने भएकाले पोखरा महोत्सव पृथक बनेको बख्रेलको भनाइ छ । लाइभ ब्याण्ड प्रस्तुती खर्चिलो भए पनि सुरुवाती समयदेखि नै हरेक संस्करणमा निरन्तरता दिँदै आएको र दर्शकको भरपूर साथकै कारण महोत्सव १४ औं संस्करणसम्म आइपुगेको उनले बताए ।

महोत्सवमा यसअघि लाहुरे, डीमर्चा, लेकाली, अनुप्रस्थ लगायतका चर्चित ब्याण्डले प्रस्तुती दिइसकेका छन् । कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाका अनुसार माघ ८ गते चर्चित गायक सबिन राईको लाइभ कन्सर्ट हुन बाँकी छ । त्यसैगरी रकहेड्स, जेम्सी, भीटेन, पर्पललगायतका कलाकारहरूको ¥याप तथा लाइभ प्रस्तुती पनि महोत्सवको आकर्षण बनेको छ ।

महोत्सवको आठौं दिन लोकदोहोरी गायिका प्रीति आलेले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिन् । भाइरल गीत ‘झोरा’ प्रस्तुत हुँदा दर्शक नाच्दै माहोल रंगीन बनेको थियो । प्रीति आलेसँगै प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पूजा तामाङलगायत कलाकारहरूको प्रस्तुतीले दर्शकलाई रमाइलो बनायो । साँझको लाइभ ब्याण्डतर्फ एवाईजीको प्रस्तुतीमा युवाहरू झुमेका थिए ।

महोत्सवको नवौं दिन लोकदोहोरीतर्फ शान्तारानी परियार, पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाललगायत कलाकारहरूको प्रस्तुती रहनेछ । साथै जादुगर दीपक थापा मगरको जादु कला र साँझको लाइभ ब्याण्डतर्फ रकहेड्सको प्रस्तुती रहने महोत्सवका प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मंगलबार डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुलको प्रस्तुती रहेको थियोभने बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुती रहने छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20606, citypokhara.com

कास्की क्षेत्र न २ मा एमालेका प्रभावशाली, बौद्धिक युवा नेता रश्मी आचार्यको उम्मेदवारी

पोखरा । यहि फागुन२ १ गते सम्पन्न हुन गइरहेको आशन्न प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि  ने क पा( एमाले ) कास्की क्षेत्र न २ बाट युबा नेता सो  पार्टीको केन्द्रिय सदस्य रश्मि आचार्यले उम्मेदवारी दर्ता गरेका छन। उनको  प्रस्ताबकमा एमाले केन्द्रिय सदस्य प्रभा कोइराला  र समर्थक सो पार्टीका जिल्ला उपाध्यक्ष भेषराज बराल  रहेका छन।

उम्मेदवार आचार्यले मंगलबार पार्टीको  आग्रह र  समृद्धिको अभियानलाई सार्थक बनाउन सम्पूर्ण  युबाहरू र  कास्की क्षेत्र न २ का मतदाताको इच्छा बमोजिम उम्मेदवारी दर्ता गरेको उल्लेख गरे। उनले आफ्नो उम्मेदवारी समृद्ध नेपाल  सुखी नेपालीको अभियानलाई ठोस निष्कर्षमा पुर्याउदै नवीन सोच र योजना अनुसार बिकासको अभियानलाई उचाइमा पुर्याउनु रहेको उल्लेख गर्दै अब राजनिती र बिकास गौरब गर्न लायक बनाउनेतर्फ आफू केन्द्रित हुने प्रतिबद्धता जनाए।

देश र जनताको हितको खातिर सम्पूर्ण जीवन लगाउने दृढ़ संकल्प लिएर  प्रष्ट योजना र  उद्देश्य सहित मतदाता समक्ष आएको भन्दै कास्की क्षेत्र न दुइका जनतालाई साथ दिन आग्रह गरे। उनले देशलाई दुर्घटना हुनबाट बचाउन युबाहरूको दर्हो  साथ र अग्रजहरूको आशिर्वाद लिएर अघि बढ्ने उल्लेख गर्दै  सार्थक बिकासको अबधारणालाई साकार पार्ने प्रतिबद्धता जनाए ।

पोखरा महानगर पालिका  वडा ३३ , गैरागाउँका स्थायी बासिन्दा आचार्य ने क पा एमालेका समकालीन युबाहरूमा  बौद्धिक नेताका रूपमा चिनिन्छ्न। जन्म:  बि.स.२०३७/०५/०८ गते (तात्कालिन भरतपोखरी, गा बि स , गैरागाऊ) हालको पोखरा ३३ मा पिता  रघुनाथ आचार्य र आमा रमाकुमारी आचार्यको जेष्ठ पुत्र रश्मि आचार्यले प्राथमिक शिक्षा स्थानिय  ब्रमहज्योति प्रा. वि. र माध्यमिक शिक्षा सोही स्थानको  श्री शान्ति उदय मा. वि. वरपाण्डेथु कैलास, कास्कीबाट प्राप्त गरेका हुन। बिद्यालय शिक्षा सहित बिश्वबिद्यालयमा समेत पढाइमा सधैं प्रथम र  अब्बल उनले  पृथ्वीनारायण क्याम्पस पोखराबाट आई. एस्. सी, वि. वि. एस्  एम्. वि. एस्. त्री बि बि बाटै  राजनितीक शास्त्र  मा प्राइभेट तर्फबाट स्नातकोत्तर उपाधी हासिल गरेका छ्न।

नेपाल ल क्याम्पस काठमाडौँबाट एल्. एल्. वी. उतिर्ण गरि  अधिवक्ता समेत  रहेका उनी हाल ईन्टरनेसर्नल रिलेसन र डिप्लोमेसिमा पि एच डि स्कलर हुन ।

बिद्यालय जीबनमा  नै एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीका संगठित भएका उनी

बि स २०५० देखि २०७७ सम्म निरन्तर अनेरास्ववियुमा २७ बर्ष विभिन्न कमिटीमा रहेर काम गरेका एक प्रभावशाली युबाको रूपमा चिनिन्छ्न ।

अनेरास्ववियुको कास्की जिल्ला कमिटी अध्यक्ष (२०६०), गण्डकी अन्चल कमिटी अध्यक्ष ( २०६३),केन्द्रीय सदस्य (२०६३) , केन्द्रीय कोषाध्यक्ष (२०६७),केन्द्रीय उपाध्यक्ष (२०६९)  स्ववियु सचिव, पृथ्वीनारायण क्याम्पस ( २०६२) हुँदै २०६५ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको  स्वबियु सभापति निर्बाचित भएका थिए।

२०५६ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका आचार्यले  सो पार्टीको कास्की जिल्ला कमिटी सदस्य ( २०६६) ,तत्कालीन नेकपाको केन्द्रीय कमिटी सदस्य ( २०७७), गण्डकी प्रदेश उपसचिव (२०७८)  हुँदै भर्खर सम्पन्न सो पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका आशा लाग्दा इमानदार उम्मेदवार हुन।

पार्टीको  कार्यक्रम र  अभियानमा रणनीति चातुर्यता र दुरदृष्टी सोचाइका कारण नेतृत्वमा समेत अब्बल हुँदै आएका रश्मि सबैको प्रिय मानिन्छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20603, citypokhara.com

आज १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

पाेखरा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।

उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक रहने आयोगले जनाएको छ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै तडकभडक नगरी शान्त, मर्यादित र अनुशासित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। भीडभाड कम गर्न प्रमुख दल र उम्मेदवारका लागि दर्ता समयसमेत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20599, citypokhara.com

पोखरा महोत्सवमा दर्शकको घुइचो

पोखरा ।

पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्रामा मिलेको हो । महोत्सवको सातौं दिन हजारौं दर्शकले महोत्सवको अवलोकन गरे ।

महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार दिन प्रतिदिन वढ्दै गइरहेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा विशेष गरी लत्ता कपडा, घरायसी सामाग्री, कृषिजन्य सामाग्रीको विक्री वढिरहेको उनको भनाइ रहेको थियो ।

महोत्सवकै आयोजना गरि सामाजिक काम गर्ने भएकाले पनि युनाईटेड क्लबको पोखरा महोत्सवलाई दर्शकको साथ पाएको महोत्सवका कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पोखरा महोत्सव दर्शकहरुकै साथले १४ औं संस्करण सम्म आइपुगेको बताउदै १४ औं संस्करणको पोखरा महोत्सवको आम्दानीको मुख्य हिस्सा क्लबले आफ्नै जग्गामा निर्माण गरिरहेको छात्राबासमा खर्च खरिने बताए । युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य खेलकुद पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ ।

महोत्सवमा दिन प्रतिदिन फरक फरक चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि पोखरा महोत्सवमा दर्शकको उल्लेख्य साथ रहेको महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार दिनमा लोकदोहोरी र महोत्सव अवधिभर हरेक साँझ लाईभ ब्याण्डको प्रस्तुती हुने भएकाले पनि युवाहरु दिनमा भन्दा साँझको समयमा बढी मात्रामा महोत्सवको अवलोकनको लागि आउने गरेका छन ।

महोत्सवको सातौं दिन लोकदोहोरी गायक अर्जुन सापकोटाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अर्जुन संगै सोमबार चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुतीमा दर्शक झुमे । साँझको लाइभब्याण्ड तर्फ लेकाली ब्याण्डको प्रस्तुतीमा पोखरेलीहरु झुमे ।

त्यसैगरी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहेको प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

महोत्सवको आठौं दिन मंगलबार लोकदोहोरी तर्फ प्रीति आले, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पुजा तामाङ लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ ब्याण्ड तर्फ एवाइजीको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20596, citypokhara.com

सोनाम ल्होसारले मौलिक संस्कृतिको संरक्षणमा योगदान पुर्‍याएको छः प्रदेश प्रमुख भट्ट

सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको उल्लेख गरेका छन् ।

सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, आर्थिक रुपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

सोनाम ल्होसार पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताको भनाई छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्परा अनुसार यस पर्व मनाउँदै आएको पाइन्छ ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20593, citypokhara.com

पोखरा महोत्सवमा दर्शकहरुलाई अफरै अफर

पोखरा ।

पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा दुई तर्फी यात्राको अफर ल्याएको छ ।

महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए ।

भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ । महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए ।

महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ ।

ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन ।

महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ ।

महोत्सवमा आइतबारदेखि छेलो प्रतियोगिता शुरु भएको छभने गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता समेत आइतबार देखिनै शुरु भएको छ । आइतबार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञानगंगा स्कुलले आफ्नो प्रस्तुती राखेभने सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

महोत्सवको छैठौ दिन समीक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अधिकारी संगै लोकदोहोरी कलाकारहरु राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुतीमा युवाहरु झुमे ।

महोत्सवको सातौं दिन सोमबार लोकदोहोरी तर्फ अर्जुन सापकोटा, चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा लेकाली ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20589, citypokhara.com

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखरा ।

२०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी भएका हुन् । कार्यक्रममा उपस्थित दर्शकले सिनेमाप्रति दिएको प्रतिक्रिया अत्यन्तै प्रशंसालायक देखियो ।

साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका थिए। समय सान्दर्भिक विषयवस्तु, पारिवारिक कथा र सामाजिक सन्देशले आफूहरूलाई छोएको दर्शकको भनाइ थियो। हल भिजिटपछि कलाकारहरूसँग फोटो खिच्दै प्रतिक्रिया दिँदा दर्शकहरू उत्साहित र खुशी देखिन्थे।

यसै अवसरमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘भाइरल गोर्खे’ बाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । “अहिले भाइरलको जमाना छ, विशेषगरी टिकटकमार्फत। यही समसामयिक विषयलाई आधार बनाएर यो सिनेमा निर्माण गरिएको हो,” उनले भने।

सौगातले सिनेमाको छायांकन लमजुङ जिल्लाको भुजुङ गाउँमा गरिएको जानकारी दिँदै गोरखा क्षेत्रका विभिन्न सुन्दर भूगोललाई पनि सिनेमामा समेटिएको बताए। ग्रामीण परिवेश र आधुनिक प्रवृत्तिको संयोजनले दर्शकलाई फरक अनुभूति दिएको उनको विश्वास छ ।

अभिनेत्री सृष्टी श्रेष्ठ पनि ‘भाइरल गोर्खे’ बाट सन्तुष्ट देखिइन्। सिनेमामा आफ्नो अभिनयलाई दर्शकले रुचाएको प्रतिक्रिया पाउँदा खुशी लागेको बताउँदै उनले कथावस्तु समय सान्दर्भिक भएकाले हलमा दर्शकको आकर्षण क्रमशः अझै बढ्दै जाने विश्वास व्यक्त गरिन्।

“कथा राम्रो लागेकै कारण म यो सिनेमामा अनुबन्धित भएकी हुँ,” उनले भनिन्। पोखराबाट आफू निकै आशावादी भएर फर्किएको उनको भनाइ थियो।

निगम श्रेष्ठको कथा तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ मा सौगात मल्ल, सृष्टी श्रेष्ठ, रिसी धमला, बुद्धी तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

समय सान्दर्भिक विषयवस्तु र सामाजिक सन्देश बोकेको यो सिनेमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ ।

चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कास्की चलचित्र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20586, citypokhara.com

काठमाडौंका मेयर बालेन शाहद्वारा राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।

उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामापछि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने तयारीमा छन्, जहाँ उनलाई स्वागत गर्ने कार्यक्रम छ।

रास्वपाबाट झापा–५ बाट निर्वाचन लड्ने तयारीसमेत उनले गरेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20583, citypokhara.com