Breaking News
पोखराका १८ वर्षीय युवा क्रिएटर आशिक, डिजिटल र खेलकुदमा उदाउँदो प्रतिभा

पोखरा । डिजिटल जगतमा नयाँ पुस्ताका प्रतिभाहरू क्रमशः उदाउँदै छन्। तीमध्ये एक हुन् पोखराका १८ वर्षीय युवा क्रिएटर आशिक तिमिल्सिना । जसको युट्युब च्यानल (MR AASHIK YT) ले हालै ३ लाख सब्सक्राइबर पार गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। Minecraft, Free Fire र कमेडी भिडियोहरू मार्फत उनले छोटो समयमै दर्शकको मन जितेका छन्।

उनी निरन्तर सिर्जनशील सामग्री प्रस्तुत गर्दै आएका छन् र हालसम्म ५९ वटा भिडियो अपलोड गरिसकेका छन्। उनको भिडियोहरूमा मनोरञ्जन, हास्य र गेमिङको सन्तुलित संयोजन पाइन्छ, जसले विशेषगरी युवा दर्शकहरूलाई आकर्षित गरेको छ।

अमरसिंह स्कूल/कलेजका विद्यार्थी आशिक १२ कक्षा पास गरिसकेका छन्। उनी केवल डिजिटल क्रिएटर मात्र होइनन्, Under-16 र Under-17 कास्की फुटबल खेलाडी समेत हुन्। विद्यालयको फुटबल टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रशिक्षकको प्रशंसा पाएका छन्। उनका कोचका अनुसार, “आशिक भविष्यका आशावादी फुटबलर हुन्।”

पोखराका १८ वर्षीय युवा क्रिएटर आशिक, डिजिटल र खेलकुदमा उदाउँदो प्रतिभा

MR AASHIK YT जस्ता युवा क्रिएटरहरूले नेपालमा डिजिटल सामग्री निर्माणको स्तर उकास्न सहयोग गरिरहेका बताईएकाे छ । आशिकले युवाहरूमाझ सिर्जनशीलता, आत्मविश्वास र परिश्रमको सन्देश फैलाइरहेका छन्।

आगामी दिनमा उनको च्यानलबाट अझै रोचक, रमाइला र मनोरञ्जनमूलक भिडियोहरू आउने अपेक्षा गरिएको छ। पोखरा र कास्कीका युवाहरूका लागि MR AASHIK YT अब केवल युट्युबर होइन, डिजिटल सिर्जनशीलता र खेलकुदको प्रतीक बनेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19867, citypokhara.com

‘जेरी अन टप’ चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई

पोखरा ।
विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए ।
प्रचारले यसअघि क्यानडामा पूर्णबहादुरको सारंगी, तेल भिसा, छक्का पञ्जा ५ र ह्रस्व दीर्घ जस्ता चलचित्रहरु प्रदर्शन गरिसकेको छ । विभिन्न म्यूजिकल इभेन्ट पनि गर्दै आएको छ । प्रचारका साजनजंग पाण्डेले नोभेम्बर १ बाट क्यानडाका मुख्यमुख्य शहरमा ‘जेरी अन टप’ चलचित्र प्रदर्शन हुने बताए । उनले चलचित्रका लागि टिकट खुला भइसकेको उल्लेख गरे ।
अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेदेखि नेपाली हलहरु चलिरहेको छ । दोस्रो सातामा पनि चलचित्रको हाउस फुल भइरहेको निर्माता थापाले बताए । चलचित्रले हालसम्म ६ करोड बढी आम्दानी गरिसकेको चलचित्रको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए । ७५ हजार दर्शकले चलचित्र हेरिसकेको उनको भनाइ छ । यो चलचित्र अमेरिका, अष्टे«लिया, माल्टामा पनि प्रदर्शन भइरहेको निर्माता थापाले उल्लेख गरे ।
सुयोग गुरूङको निर्देशनमा बनेको यो चलचित्रमा सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथालाई मुख्य विषय बनाइएको छ । भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरूको अभिनय पनि यस चलचित्रमा देख्न सकिन्छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19861, citypokhara.com

पाेखरा २२ स्थित माछापुच्छ्रे भ्यूपोइन्टमा स्कुटर दुर्घटना,१६ वर्षीय युवक घाइते

पोखरा ।
कास्की जिल्ला पोखरा–२२ माछापुच्छ्रे भ्यूपोइन्टमा शनिबार बिहान एक स्कुटर दुर्घटना भएको छ। दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–२ निवासी १६ वर्षीय सुमिन गुरुङ घाइते भएका छन्।

प्रहरीका अनुसार गा २६ प १९४५ नम्बरको स्कुटर पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको बेला सडक छेउको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइते गुरुङलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि पोखरा मेट्रो सिटी अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार उनको खुट्टा र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार स्कुटर तीव्र गतिमा हुँदा अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19857, citypokhara.com

पोखरामा भाइटिका महोत्सवको उल्लास

पोखरा । हाेटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा एक सय भन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् ।
महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले यो पटकको भाइटिका महोत्सव पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए । महोत्सवमा अमेरिका, वेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्यूजिलैण्ड, नेदरलैण्ड लगायतका देशका पर्यटकको सहभागिता रहेको थियो ।

लेकसाइड स्थित होटल पौवामा आयोजना भएको महोत्सवमा रेन्वो चिल्ड्रन होमका छात्राहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरुले सेलरोटी लगायत नेपाली परिकार चाखे र महोत्सवका अवसरमा आयोजित देउसीभैलोमा रमाए ।

सप्तरंगी टिका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दंग थिए । अष्ट्रेलियाबाट आएकी एक पर्यटक एनिले आफू धेरै पटक नेपाल आएको र यो पटक नेपाल आएर टिका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् । उनले नेपाल सांंस्कृतिक रुपमा धनी रहेको भन्दै नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको बताइन् ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै संघले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै महोत्सवका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए । महोत्सवमा तिहारको महत्व, दिपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी गराइएको थियो ।
गोर्खा वियर र सोमरसबीले महोत्सवलाई सघाएका छन् । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबद्र्धन गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19853, citypokhara.com

आज भाइटीका:प्रेम र आशीर्वादको पर्व,उत्तम साइत बिहान ११:३९ बजे

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आजको दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा र माया सहित पञ्चरंगी टीका लगाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई दक्षिणा र उपहार प्रदान गरेर सम्मान व्यक्त गर्छन् ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार दिनभर पनि टीका लगाउन कुनै बाधा छैन । तर राज्य सञ्चालन गर्ने व्यक्तिहरूले भने साइतमै टीका लगाउनुपर्ने परम्परा समितिले जनाएको छ ।

यस वर्ष तिथि वृद्धि भएकाले पाँच दिनको तिहार छैटौँ दिनमा पुगेको छ । भाइटीकाको दिनलाई ‘यमद्वितीया’ पनि भनिन्छ । यस दिन दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्केर टीका लगाउने परम्परा छ । यसो गर्दा शुभ कर्मका लागि चन्द्रमा तुला राशिमा पश्चिमतर्फ रहने शास्त्रीय विश्वास छ ।

टीका लगाउनु अघि दिदीबहिनीले घरमा स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टदलमा अष्ट चिरञ्जीवी — मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम — सहित अन्य देवताको पूजा आराधना गर्छन् । त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाउने, माला लगाउने र आशीर्वाद दिने परम्परा रहिआएको छ ।

शास्त्रअनुसार तिहारको टीका पञ्चरंगी (रातो, सेतो, पहेंलो, हरियो र नीलो) हुनुपर्छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईका अनुसार सप्तरंगी टीकाको चलन पछिल्ला वर्षमा प्रचारका कारण फैलिएको हो, तर धार्मिक रूपमा पञ्चरंगी नै उपयुक्त मानिन्छ ।

टीका लगाइसकेपछि दिदीबहिनीले ओखर, कटुस, मसला, सेलरोटी र मिठाई जस्ता परिकार दाजुभाइलाई दिन्छन् । दाजुभाइले पनि गच्छेअनुसार कपडा, दक्षिणा वा अन्य उपहार दिएर स्नेह र कृतज्ञता प्रकट गर्छन् ।

भाइटीका केवल टीकाको मात्र पर्व होइन, दिदीबहिनी र दाजुभाइबीचको प्रेम, माया र आत्मीयताको गहिरो बन्धनको प्रतीक पनि हो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19849, citypokhara.com

आजदेखि सुरु भयो नेपाल संवत् ११४६

काठमाडौं । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । नेवार समुदायले यस संवतलाई नयाँ वर्षका रूपमा विशेषरूपमा मनाउने गर्छन् ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं. ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गर्नुभएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक राष्ट्रिय संवत्का रूपमा प्रचलनमा थियो, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले बताए ।

वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान सुरु भएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा भीमेश्वरलगायत क्षेत्रमा नेवार समुदायले आज नयाँ वर्षका रूपमा यो पर्व उत्सवपूर्वक मनाइरहेका छन् ।

गरिबको ऋणमोचन गरी सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वालाई २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए । पछि २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए ।

कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा आज पनि काठमाडौँमा निरन्तर चलिआएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19846, citypokhara.com

नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा दिउन्ः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल संवतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।

नेपाल संवत् ११४६ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् भनी कामना गरेका हुन् ।

प्रदेश प्रमुख भट्टको सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ । उहाँले सन्देशमा भन्नुभएको छ– “नेपाल संवतले हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले शाख्वाको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको उल्लेख गरेका छन् । उनले भनेका छन्ः ‘नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको हो ।’

शंखधर शाख्वाले गरिबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो संवत् सुरु गरेको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले भनेका छन् – “शाख्वाले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभयो । त्यसै अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता विरुद्ध, गरिबी विरुद्धको लड्न नेपाल संवतको नयाँ बर्षले मद्दत पुर्‍याओस ।”

सन्देशमा उल्लेख छ “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पुर्‍याओस् ।”

नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा दिउन्ः प्रदेश प्रमुख भट्ट

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19843, citypokhara.com

प्रधानमन्त्रीको आह्वानमा वालुवाटारमा सर्वदलीय बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा विभिन्न दश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले सुरक्षा व्यवस्थासम्बन्धी चिन्ता व्यक्त गरेपछि प्रधानमन्त्री कार्कीले संवादको सुरुवात गरेकी हुन्। उनले प्रधानमन्त्री बनेपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल थालेकी हुन्।

कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा उनी सहभागी भएकी थिइन्।

तर हाल नेकपा एमालेले फागुन २१ गते हुने भनिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुनःस्थापनाको माग गरेको छ। यसै सन्दर्भमा अन्य दलहरूले समेत आफ्नो धारणा राख्ने तयारी गरेका छन्।

प्रधानमन्त्रीको पहलमा सुरु भएको यस बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक लगायतका नेताहरूलाई पनि बोलाइएको छ। बैठकमा चुनावी सुरक्षा, राजनीतिक स्थायित्व र आगामी निर्वाचनको तयारी सम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19841, citypokhara.com

इजरायल–हमास युद्धमा मारिएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदैं

धनगढी । इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।

जोशीको शव यात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकास्थित उनको निवासबाट महाकाली नदीको भुजेला घाटका लागि प्रस्थान गर्ने कार्यक्रम छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार राष्ट्रिय सम्मानका साथ धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिनेछ। उनले जानकारी दिएअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ।

अध्ययनका क्रममा इजरायल पुगेका जोशी गत २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला बन्धक बनाइएका थिए। लामो समयदेखि बेपत्ता रहेकामा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।

सोमबार मात्रै इजरायलबाट जोशीको शव नेपाल पठाइएको थियो। काठमाडौंबाट नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थल ल्याइएपछि नेपाली सुरक्षाकर्मीले राष्ट्रिय सम्मानका साथ सलामी अर्पण गरी परिवारलाई शव बुझाइएको थियो।

विपिनको शव ल्याइएपछि नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहित तीन सदस्यीय इजरायली प्रतिनिधिमण्डल पनि कञ्चनपुर पुगेको थियो। राजदूतसहितको टोलीले जोशीको निवासमा पुगेर परिवारप्रति संवेदना व्यक्त गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19838, citypokhara.com

आज कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा एकैदिन मनाइँदै

पोखरा । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज  तेस्राे दिन एकैदिन कुकुर पूजा, नरक चतुर्दशी र लक्ष्मी पूजा मनाइँदैछ। गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेका छन्।

शास्त्रसम्मत् निर्णयअनुसार, कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खुवाउने र यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाइन्छ। धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार, वैवस्वत मन्वन्तरको कुलमा जन्मेका कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा स्नान र तर्पण गरेपछि यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन नपर्ने धार्मिक विश्वास छ।

लक्ष्मी पूजाको तयारी दिउँसोदेखि घरमा सुरु हुन्छ। घरका झ्याल, ढोका, कौसी, अटाली, भर्याङ र कोठा सरसफाइ गरी गाईको गोबर र रातो माटोले लिपपोत गरी दीपावली गरिन्छ। लक्ष्मीपूजा सन्ध्याकालमा आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म चामल, अबीर, फूल, गरगहना, पैसा, फलफूल र सेलरोटी राखेर विधिपूर्वक गरिन्छ। पूजा पछि कन्या केटीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणा दिने प्रचलन छ।

आज साँझ युवतीले समूह बनाएर घरघरमा भैलो खेल्ने परम्परा छ। धर्मशास्त्रविद् गौतमका अनुसार, भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मृत्यु र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको र वरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको स्मरणमा भैलो खेल्ने चलन शुरु भएको हो। भैलो खेल्दा धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ, जसले पुण्य प्राप्त हुने विश्वास छ।

शहर बजार पनि लक्ष्मीपूजाको अवसरमा झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार, गाईको पूजा औँसीपछि मात्र गर्नुपर्ने धार्मिक शास्त्र उल्लेख गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19834, citypokhara.com