Breaking News
गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, ४ जना पक्राउ

७ मंसिर, सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा आगो लगाउनुका साथै विभिन्न संरचनामा तोडफोड गरेका हुन् ।

मृत्यु हुनेमा बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवी रहेकी छन् । नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् र बरहथवा नगर अस्पतालमा उपचाररत थिइन् ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । तर, त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

घटनामा बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी तथा तोडफोड हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिएका छन् । प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार आइतबार बिहानसम्म घटनास्थलको अवस्था सामान्य भइसकेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ

धादिङ, ६ मङ्सिर  । संसदीय सुनुवाइ समितिका सभापति एवं धादिङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले शिक्षालाई रोजगारी र स्वरोजगारसँग जोड्न शैक्षिक नीति, पाठ्यक्रम तथा अध्यापन पद्धतिमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।

नीलकण्ठ क्याम्पस धादिङको २७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले विद्यार्थीको आवश्यकता र श्रमबजारको मागअनुसार शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक क्याम्पस सञ्चालनमा देखिएका कठिनाइ सम्बोधन गर्न अनुदान नीति पुनरावलोकन र नयाँ कार्यक्रमको सम्बन्धन प्रक्रियालाई छरितो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

“नीतिले सहजीकरण गर्नुपर्छ, देशलाई अगाडि लानुपर्छ, जनतालाई खुसी बनाउन सक्नुपर्छ”, सभापति श्रेष्ठले भन्नुभयो । उहाँले सम्बन्धन दिन मिल्ने वा नमिल्ने विषयमा समयमै निर्णय हुनुपर्ने उल्लेख गर्दै लामो समयसम्म निर्णय नहुँदा क्याम्पसलाई कार्यक्रम विस्तारमा कठिनाइ हुने बताउनुभयो ।

एकातिर युवा रोजगारीको खोजीमा रहेको र अर्कातिर होटल, कृषि तथा प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गर्दै उहाँले शिक्षालाई पेसागत सीपसँग जोड्नुपर्ने बताउनुभयो । अनुसन्धान र नवीन काममा लगानी बढाएर विद्यार्थीको सिकाइलाई कक्षाकोठाबाहिरका व्यावहारिक कामसँग जोड्न उहाँले आग्रह गर्नुभयो ।

विद्यार्थीले पढाइसँगै काम गर्न सक्ने वातावरण बनाउन आंशिक समय तथा घण्टाका आधारमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा सभापति श्रेष्ठले जोड दिनुभयो । विद्यार्थीको अनुकूलताअनुसार पठनपाठनको समय लचिलो बनाउन सके स्थानीय क्याम्पसप्रति आकर्षण बढाउन सहयोग पुग्ने उहाँको धारणा थियो ।

उहाँले विद्यार्थीलाई स्थानीय क्याम्पसमै अध्ययन गर्न प्रेरित गर्ने आधार शैक्षिक गुणस्तर र अध्ययनपछिको अवसर भएको बताउनुभयो । सामुदायिक क्याम्पसका समस्या समाधान तथा आवश्यक नीतिगत सुधारका लागि सांसदको हैसियतले भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

शिक्षामा भाषा, संस्कृति, संस्कार र प्रविधिलाई समेट्नुपर्ने उल्लेख गर्दै सभापति श्रेष्ठले देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई अध्ययन, पेसा र आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई विश्वको ज्ञान र अनुभव हासिल गरी नेपालमा काम गर्ने लक्ष्य राख्न आग्रह गर्नुभयो ।

जिल्लाको विकासबारे चर्चा गर्दै उहाँले आगामी २० वर्षपछिको धादिङको परिकल्पना गरी अनुसन्धानमा आधारित योजना बनाउन  विद्यार्थी, शैक्षिक संस्था, जनप्रतिनिधि र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

पर्यटनबाट स्थानीय रोजगारी विस्तार गर्न नौ स्थानीय तहलाई जोड्ने पर्यटन गुरुयोजना बनाउने तयारी रहेको र त्यसका लागि सरकारले रु पाँच करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । विनियोजित बजेटको उपलब्धि सुनिश्चित गर्न समयमै ठेक्का, गुणस्तरीय निर्माण र नागरिक निगरानी आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भारतको नयाँ दिल्लीस्थित होटल ताजमहलमा आइतबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

भेटका क्रममा विशेषगरी दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताइएको छ। दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएको हो। भ्रमणका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विभिन्न विषयमा उच्चस्तरीय छलफल तथा भेटवार्ताको कार्यक्रम रहेका छन् ।

फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने नगरप्रमुख ढुङ्गानाको चेतावनी

धादिङ, ६ मङ्सिर : नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले फुर्केखोलामा बेलीब्रिज जडान र स्थायी सडक पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको छ । उहाँले माग सम्बोधन नभए जनप्रतिनिधिसहित दबाबमूलक कार्यक्रममा जाने घोषणा गर्नु भएको छ ।

नीलकण्ठ क्याम्पसको २७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख ढुङ्गानाले स्थानीय तहको पहलमा जडान भइरहेको पोन्टुन पुल अस्थायी विकल्प भएकाले स्थायी पुल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । पानीमाथि तैरिने उक्त पुल नदीको बहाव बढ्नुअघिसम्म मात्र सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

“सम्भवतः जेठको १०–१५ गतेसम्म मात्रै यो चल्न सक्छ”, उहाँले भन्नुभयो । त्यसपछिको आवागमन सुनिश्चित गर्न अहिलेबाटै अर्को विकल्पको तयारी आवश्यक रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख ढुङ्गानाले पोन्टुन पुल सञ्चालनमा आएपछि जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको हस्ताक्षरसहित सङ्घ र प्रदेशका पूर्वाधारमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताउनु भयो । ज्ञापनपत्रमार्फत १५ देखि २० दिनभित्र मलेखुमा बेलीब्रिजका सामग्री ल्याउन र स्थायी पुलका लागि बजेट स्वीकृत गरी निर्माण प्रक्रिया अघि बढाउन समयसीमा दिने उहाँको भनाइ थियो ।

माग सम्बोधन नभए जिल्लाका जनप्रतिनिधि सिंहदरबार पुगेर दबाब दिने तथा राजमार्गमा चरणबद्ध अवरोधसहितका कार्यक्रम अघि बढाउने सोच रहेको उहाँले बताउनुभयो । यस पहलको नेतृत्व लिन उहाँले धादिङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठलाई आग्रह गर्नुभएको छ ।

पोन्टुन पुलका सामग्री खोजी, ढुवानी र जडानमा स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न व्यक्तिको सहयोग रहेको नगरप्रमुख ढुङ्गानाले उल्लेख गर्नुभयो । पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने भए पनि दीर्घकालीन समाधानका लागि स्थायी पुल आवश्यक रहेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहनुभएका श्रेष्ठले फुर्केखोलामा नयाँ पुल निर्माणका लागि प्रारम्भिक डिजाइनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले पोन्टुन पुल सञ्चालनका लागि सुरक्षा परीक्षण र सञ्चालनसम्बन्धी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै तीन तहका सरकार तथा राजनीतिक दलबीच सहकार्यमा जोड दिनुभयो ।

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । पुल नहुँदा धादिङका आठ स्थानीय तह तथा गोरखाका केही क्षेत्रका नागरिकको आवागमन समस्या भोग्दै आएका छन् ।

नागरिक समाज सिद्धलेकको भेला : संयोजनमा रकिम अन्सारी

धादिङबेशी,६ मंसिर । नागरिक समाज धादिङको आयोजनामा सिद्धलेकमा गाउँपालिका स्तरीय नागरिक समाजको भेला सम्पन्न भएको छ । नागरिक समाज धादिङका जिल्ला संयोजक उत्तम कँडेलको संयोजकत्वमा सम्पन्न भेलामा स्थानीय स्तरमा देखिएका व्यथिति, सुशासन, नागरिक अधिकार तथा समाजप्रति नागरिक समाजको भूमिका र जिम्मेवारीका विषयमा छलफल भएको थियो ।

भेलाले नागरिक समाजलाई थप सशक्त, सक्रिय र जिम्मेवार बनाउँदै स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिताका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ । साथै, समाजका साझा सवाल र स्थानीय समस्याको पहिचान तथा समाधानका लागि सामूहिक पहल र नागरिक खबरदारी आवश्यक रहेको निष्कर्ष भेलाको रहेको छ ।

समाजको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउन सबै सदस्यबीच आपसी समन्वय, सहकार्य र एकतालाई थप मजबुत बनाउने उदेश्यले भेला गरिएको आयोजकले जनाएको छ ।

आजको भेलाले आगामी पुस ४ गते पुन नागरिक समाजको भेला गर्ने र भेलाको संयोजन तथा व्यवस्थापनको जिम्मेवारी मोहमद रकिम अन्सारीलाई छ ।

त्रिविको पाठ्यक्रम परिमार्जन गरी सीप र रोजगारीसँग जोड्ने तयारी : रजिस्ट्रार सिवाकोटी

धादिङ, ६ मङ्सिर : त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा रवीन्द्र सिवाकोटीले विश्वविद्यालयको विद्यमान पाठ्यक्रमको कम्तीमा ५० प्रतिशत हिस्सा परिमार्जन गरी स्थानीय आवश्यकता, सीप र रोजगारीसँग जोड्ने तयारी भइरहेको बताउनुभएको छ ।
नीलकण्ठ क्याम्पस धादिङको २७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले समयानुकूल नभएका पाठ्यवस्तु हटाएर देशको आवश्यकता र श्रमबजारको माग सम्बोधन गर्ने विषय समेटिने जानकारी दिनुभयो । शिक्षालाई सीप, रोजगारी र आयआर्जनसँग जोड्ने विश्वविद्यालयको नीति रहेको उहाँको भनाइ थियो ।

रजिस्ट्रार सिवाकोटीले पुरानै विषय र कार्यक्रमका आधारमा मात्र शैक्षिक संस्था सञ्चालन गर्न कठिन हुने उल्लेख गर्दै समाज र बजारको मागअनुसार नयाँ कार्यक्रम आवश्यक रहेको बताउनुभयो । त्यस्ता कार्यक्रम सञ्चालन गर्न सक्ने वातावरण बनाउन विश्वविद्यालयले विषय तथा कार्यक्रम थपको व्यवस्था अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसले आफ्नो प्राथमिकताका आधारमा दुईवटासम्म कार्यक्रम वा विषय छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । विषय थपको उद्देश्य विश्वविद्यालयको शैक्षिक सुधार र आवश्यकताअनुसारका कार्यक्रम विस्तार गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो ।
सो अवसरमा रजिस्ट्रार सिवाकोटीले भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित विद्यार्थीका लागि शुल्क छुटको निर्णय भएको जानकारी पनि दिनुभयो । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढीबाट प्रत्यक्ष प्रभावित विद्यार्थीलाई लक्षित गरी विश्वविद्यालयको कार्यकारी परिषद्ले उक्त निर्णय गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार विसं २०८३ देखि २०८७ सम्म विश्वविद्यालयका शैक्षिक कार्यक्रममा भर्ना हुने त्यस्ता विद्यार्थीका लागि परीक्षा तथा रजिस्ट्रेसन शुल्कबाहेकका शुल्क मिनाहा गर्ने निर्णय भएको छ । विश्वविद्यालयको सेवा प्रवाह सुधारअन्तर्गत ट्रान्सक्रिप्ट र स्थायी प्रमाणपत्र हुलाकमार्फत विद्यार्थीको घरसम्म पठाउने व्यवस्था गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । विद्यार्थीले प्रमाणपत्र आफैँ उपस्थित भएर लिने वा हुलाकबाट प्राप्त गर्ने विकल्प छनोट गर्न सक्ने उहाँको भनाइ थियो ।

रजिस्ट्रार सिवाकोटीले शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट टाढा राखेर शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन आग्रह गर्नुभयो । शिक्षा सुधारबाट व्यक्ति, समाज र समग्र देशको सुधार सम्भव हुने उल्लेख गर्दै उहाँले क्याम्पसको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा फुलकन्ट्याक्ट कराते खेलाडीलाई जनही ६० हजारसम्म नगद पुरस्कार घोषणा

काठमाडौं। नेपाली खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै खेलकुद विकास र खेलाडीको प्रोत्साहनमा योगदान पुर्‍याउँदै आएका पुष्पलाल रोकाया ‘ज्वाला’को पहलमा नेपाल क्योकुशिन कराते संघ (KWF Nepal) ले फुलकन्ट्याक्ट कराते खेलाडीका लागि आकर्षक नगद पुरस्कार घोषणा गरेको छ।

बझाङ जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्षसमेत रहेका रोकायाले जिल्लाको समग्र खेलकुद विकासदेखि राष्ट्रिय स्तरमा कराते खेलको प्रवर्द्धन र खेलाडीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत फुलकन्ट्याक्ट कराते विधाको राष्ट्रिय प्रतियोगितामा छनोट हुन सफल संघका खेलाडीलाई प्रोत्साहनस्वरूप प्रतिखेलाडी ५ हजार रुपैयाँ पोषण भत्ता तथा मायाको चिनोस्वरूप टी–सर्ट प्रदान गर्ने घोषणा गरिएको छ।

त्यसैगरी, दशौँ राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगितामा पदक जित्ने खेलाडीका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार महिला तथा पुरुषका प्रत्येक तौल समूह र काता विधामा प्रथम हुने खेलाडीलाई ६० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

नेपाल क्योकुशिन कराते संघ (KWF Nepal) का अनुसार पुरस्कार वितरण कार्यक्रम २०८३ मंसिर १४ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुनेछ।

रोकायाको खेलकुद क्षेत्रप्रतिको योगदान बझाङ जिल्लाको खेलकुद विकासमा समेत देखिएको छ। जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा रहँदा उहाँले जिल्लाको खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

उहाँकै कार्यकालमा सम्पन्न १५औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बझाङ जिल्लाले तृतीय स्थान हासिल गरेको थियो। त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तत्कालीन दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रदेश छनोट प्रतियोगितामा समेत बझाङले तृतीय स्थान हासिल गर्न सफल भएको थियो। जिल्लाको खेलकुद क्षेत्रमा हासिल भएका यी उपलब्धिको कदर गर्दै प्रदेश खेलकुद परिषद्ले बझाङ जिल्लालाई सम्मानसमेत गरेको थियो।

खेलाडीको मेहनत, अनुशासन र प्रतिभाको उचित सम्मान गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम ल्याइएको हो।

खेलकुदलाई केवल प्रतिस्पर्धा र पदक प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई युवाको अनुशासन, आत्मविश्वास र राष्ट्रको पहिचानसँग जोडिएको क्षेत्रका रूपमा विकास गर्नुपर्ने मान्यता राख्दै रोकायाले खेलाडीको सम्मान र प्रोत्साहनलाई प्राथमिकता दिएका छन्। उहाँको यस पहलले फुलकन्ट्याक्ट कराते खेलाडीमा थप उत्साह र ऊर्जा थप्नुका साथै नेपाली कराते खेलको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालले निकाल्यो पहिलो जित, यूएई ६ विकेटले पराजित

काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो ।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए । बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ११ रन खर्चेर ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा समेटिएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ ।

प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित « रिपोर्टर्स नेपाल

वीरगन्ज (पर्सा), ६ मङ्सिर । समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–२३ स्थित प्रसौनी बिर्तामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३४६ जना लाभान्वित भएका छन् ।

समुदायमा स्वास्थ्य सचेतना बढाउने तथा सामाजिक उत्तरदायित्व प्रवद्र्धन पनि गर्ने उद्देश्यले ‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा आयोजित कार्यक्रममा उनीहरुले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।

सशस्त्र प्रहरी बल पर्साद्वारा नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, म्याग्नस फार्मा प्रालि र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा आयोजित बालरोग, नेत्ररोग, स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी, छाला रोगको उपचारसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

शिविरमा चिकित्सकले सेवाग्राहीको स्वास्थ्य परीक्षण,  विशेषज्ञ परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

सो अवसरमा समुदायमा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि  तथा मानवीय सेवामा समुदायको सहभागिता बढाउने उद्देश्यले रक्तदान कार्यक्रम पनि आयोजना गरियो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष सावित्राकुमारी जैसीले  सङ्घले विभिन्न सङ्घसंस्थासगको सहकार्यमा सामाजिक सेवामूलक अभियानमा सञ्चालन गर्दै आएको जानकारी दिए । 

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

सुर्खेत, ६ मङ्सिर । बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । 

दसौँ राष्ट्रिय खेलकुदलाई भव्यतापूर्वक सफल बनाउन सिङ्गो कर्णाली प्रदेश सरकार व्यवस्थापनमा जुटेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही विभिन्न बैठकमा सहभागी हुने, छलफल गर्ने र प्रतियोगितालाई व्यवस्थित बनाउने ध्याउन्नमा केन्द्रित भएको छ । 

प्रतियोगिताको मिति नजिकिएसँगै सुर्खेत आउने अतिथि, खेलाडी, प्रशिक्षक, अफिसियल, दर्शकलगायत खेलप्रेमीको स्वागतार्थ विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगरका बजार क्षेत्रमा दसौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि माइकिङ भइरहेको छ । 

घरेलु खेलकुद सबैभन्दा ठूलो प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन् । यतिबेला खेलकुदको ‘महाकुम्भ’ दसौँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षा सुरु भएको छ । राष्ट्रिय खेलकुद नवौँ संस्करण यसअघि २०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो । 

प्रतियोगिता नजिकिएसँगै विदेशमा रहेका खेडाली स्वदेश फर्कन थालेका छन् । कतिपय खेलाडी बन्द प्रक्षिणमा जुटिसकेका छन् । दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन् ।

सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने लुम्बिनी प्रदेशको नेपालगन्ज र बर्दिया तथा कर्णालीको सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान एक खेल हुनेछन् ।

कर्णालीका मुख्यमन्त्री शाही प्रतियोगिताका लागि पूर्वाधार निर्माण सम्पन्न भइसकेको र खेलका लागि तयारी अवस्थामा रहेको बताउँछन् । ‘पूर्वाधार सामान्य मर्मत गर्नेबाहेक सबै खेल स्थान प्रतियोगिताका लागि तयारी भइसकेका छन्, कतिपय खेल सामग्री आइसकेका छन्, कति आउने क्रममा छन्’, मुख्यमन्त्री शाहीले रासससँग भने । 

मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा अधिकारीको बैठकले प्रतियोगितामा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा तैनाथी बढाउने र सिसीटिभी क्यामेराबाट निगरानी गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सुरक्षार्थ दुई हजार सुरक्षाकर्मी खटिनेछन् । 

प्रतियोगितास्थल, मुख्य चोक तथा नगर क्षेत्रमा २०० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरिएका छन् । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीलाई आवासको अप्ठ्यारो भोग्नु नपरोस् भनेर होटलमा पर्याप्त कोठाको व्यवस्था गरिएको छ । 

प्रतियोगितालाई व्यवस्थित बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिङ्गो टोली सुर्खेतमा खटिएको छ । विभिन्न उपसमिति निर्माण गरेर तयारीका कामलाई तीव्र पारिएको दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुले जानकारी दिइन् । 

यसअघि २०३८ सालमा काठमाडौँमा पहिलो, २०४० सालमा पोखरामा दोस्रो, २०४२ सालमा वीरगन्जमा तेस्रो, २०५५ सालमा नेपालगन्जमा चौथो, २०६५ मा काठमाडौँमा पाँचौँ, २०६८ मा सुदूरपश्चिममा छैटौँ, २०७३ मा पूर्वाञ्चलमा सातौँ र २०७५/७६ मा लुम्बिनीमा आठौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो । 

एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । राखेपका अनुसार ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको औपचारिक उद्घाटनअगावै कतिपय खेल सञ्चालन हुने संयोजक खम्बुले जानकारी दिए । प्रतियोगिता उद्घाटनअघि विभिन्न १० खेल सञ्चालन हुनेछन् । 

प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र एनआरएनए गरी ११ टोलीको सहभागिता रहने छ । दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ ‘इभेन्ट्स’ समावेश छन् । 

प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन् । राखेपले पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । जसमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले रु २० हजार, रजतले रु १५ हजार र कास्य विजेताले रु आठ हजार पाउनेछन् । 

त्यसैगरी, टोली स्पर्धामा स्वर्ण पदक विजेताले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु आठ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि २५८ अन्तरराष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक रहनेछन् । त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगितामा परिचालित हुने राखेपले जनाएको छ । 

चार खेल लुम्बिनीमा

प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन् । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन् । ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापन भइसकेको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । 

नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाको भूरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल हुनेछ । दसौँ राष्ट्रिय खेलकुदको समापन भने यही मङ्सिर २७ गते सुर्खेतमा हुनेछ ।