Breaking News
पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे

पोखरा । पोखरा महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को भर्ना प्रक्रिया सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । महानगरको शिक्षा महाशाखाले मंगलबार सूचना जारी गर्दै भर्नाका लागि निश्चित समय र सर्तहरू तोकेको हो । नयाँ नियमअनुसार विद्यालयहरूले सुरुमा आफ्नै विद्यार्थीलाई भर्ना गर्नुपर्नेछ ।

महानगरको निर्देशनअनुसार वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउनेछन् । यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन । आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुला भर्ना प्रक्रिया अगाडि बढाउन भनिएको छ । खुला भर्ना भने जेठ ११ गतेपछि मात्र सुरु गर्न पाइने सूचनामा उल्लेख छ ।

संस्थागत (निजी) विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटा अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ । छात्रवृत्तिका लागि छुट्टाइएका सिटहरूमा कुनै असर नपर्ने गरी मात्र अन्य विद्यार्थी भर्ना गर्न निर्देशन दिइएको छ । साथै सबै संस्थागत विद्यालयले २०८३ सालको कक्षा ११ को शुल्क विवरण आफ्नो सूचना पाटीमा अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्नेछ । शुल्कमा पारदर्शिता कायम गर्न र अभिभावकलाई जानकारी दिन महानगरले यस्तो कडाइ गरेको हो ।

शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले यी निर्देशनहरूको पूर्ण पालना गर्न महानगरभित्रका सबै विद्यालयलाई आग्रह गरेका छन् । उनले भर्ना प्रक्रियालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बताए । निर्देशन उल्लंघन गर्ने वा छात्रवृत्ति कोटा सुरक्षित नराख्ने विद्यालयमाथि निगरानी गरिने समेत उनले जानकारी दिएका छन् । यो सूचना पोखरा महानगरपालिका क्षेत्रभित्र कक्षा ११ सञ्चालन गर्ने सबै सरकारी र निजी विद्यालयका लागि अनिवार्य रूपमा लागू हुनेछ ।

पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21596, citypokhara.com

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा केही समयपछि बोर्डको वेबसाइट तथा विभिन्न माध्यमबाट हेर्न सकिने जनाइएको छ ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिट्टै नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21593, citypokhara.com

६५ मिटर मापदण्ड वैज्ञानिक आधारविहीन, मुआब्जाबिना उठीबास लगाउन पाइँदैन: प्रकाश बराल

पोखरा । फेवाताल संरक्षणका नाममा लागू गरिएको ६५ मिटर मापदण्ड र मुआब्जाबिना चलाइएको डोजरप्रति जनप्रतिनिधिहरूले नै गम्भीर आपत्ति जनाएका छन् । सर्वोच्च अदालतको आदेश कार्यान्वयनको नाममा नागरिकका बस्तीमा रातारात डोजर चलाउनु मानवता विरोधी र राज्य आतंकजस्तो कार्य भएको टिप्पणी गरिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका सचेतक प्रकाश बराल ले हाल लागू गरिएको ६५ मिटर मापदण्ड वैज्ञानिक आधारविहीन रहेको बताएका छन् । उनका अनुसार सबै ठाउँमा एउटै मापदण्ड लागू गर्नु प्राविधिक र व्यवहारिक दृष्टिले उचित होइन ।

“कतै फेवाताल संरक्षणका लागि २०० मिटर आवश्यक पर्न सक्छ भने कतै भौगोलिक अवस्था र ऐतिहासिक बसोबासका आधारमा १०–२० मिटरमै संरक्षण सम्भव हुन्छ,” बरालले भने, “वैज्ञानिक अध्ययन र आवश्यकताको सिद्धान्तबिना जथाभावी ६५ मिटरको रेखा कोर्नु उचित हुँदैन ।”

बरालले ताल किनारमा पुस्तौंदेखि बसोबास गर्दै आएका स्थानीय र आदिवासी समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । मुआब्जा र उचित क्षतिपूर्ति व्यवस्था नगरी नागरिकलाई उठीबास लगाउन नपाइने उनको भनाइ छ ।

“संविधानले नागरिकलाई सम्पत्तिको हक र मौलिक अधिकारको ग्यारेन्टी गरेको छ,” उनले भने, “मुआब्जाको कुनै सुनिश्चितता नगरी रातारात नागरिकका घरमा डोजर चलाउनु राज्य हितविपरीतको कार्य हो ।”

उनले सरकारले पहिले आफ्नै संरचनाबाट सुधारको थालनी गर्नुपर्ने धारणा राख्नुभयो । डेमसाइड क्षेत्रमा रहेका सरकारी संरचना हटाएर उदाहरण प्रस्तुत गरेपछि मात्रै नागरिकका घरटहरा हटाउने प्रक्रिया अघि बढाउनुपर्ने उनको तर्क छ ।

बरालले ६५ मिटर मापदण्डका कारण विश्व शान्ति स्तुपाजस्ता धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रसमेत संकटमा पर्न सक्ने चेतावनी दिए । फेवाताल संरक्षणमा कसैको विमति नरहे पनि स्थानीय नागरिकलाई ‘भू–माफिया’ वा ‘अतिक्रमणकारी’को रूपमा चित्रित गरेर अपमान गर्न नहुने उनको तर्क छ । उनले प्रधानमन्त्रीलाई हतारमा निर्णय नगर्न र प्रभावित नागरिक तथा स्थानीय जनप्रतिनिधिसँग पर्याप्त छलफल र परामर्श गरेर मात्रै अघि बढ्न आग्रह गरेका छन् ।

विवेकपूर्ण निर्णय, वैज्ञानिक अध्ययन र उचित व्यवस्थापनबिना गरिने हस्तक्षेपले फेवाताल संरक्षण हुनुको सट्टा यसको भविष्य झन् संकटमा पर्ने बरालको निष्कर्ष छ ।

पोखराको फेवाताल संरक्षणका लागि लागू गरिएको ६५ मिटरको मापदण्ड तालको किनार (हाई फ्लड लेभल) बाट ६५ मिटरभित्रको क्षेत्रलाई संरक्षित ‘बफर जोन’का रूपमा कायम गर्ने व्यवस्था हो। यस मापदण्डअनुसार उक्त क्षेत्रभित्र नयाँ भौतिक संरचना निर्माण गर्न निषेध गरिएको छ भने पहिलेदेखि बनेका घर, होटल तथा अन्य संरचना हटाउनुपर्ने प्रावधान रहेको छ। २०६४ सालमा तय गरिएको यो मापदण्डलाई पछि सर्वोच्च अदालतले परमादेशमार्फत कार्यान्वयन गर्न निर्देशन दिएको थियो। तालको जैविक विविधता जोगाउने, अतिक्रमण रोक्ने र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले यो सीमा निर्धारण गरिएको हो।

फेवाताल संरक्षणको उद्देश्यप्रति कसैको असहमति देखिँदैन, तर त्यसका लागि अपनाइएको ६५ मिटरको एकरूप मापदण्डमाथि गम्भीर प्रश्न उठेका छन्। विज्ञ, विकासकर्मी र नागरिक समाज सबैको साझा धारणा के देखिन्छ भने—संरक्षणका नाममा वैज्ञानिक आधार बेवास्ता गर्दै र स्थानीय तथा आदिवासी समुदायलाई विस्थापन गर्न नहुने धेरैको तर्क रहेको छ ।

काठमाडौं अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानमा आगलागी, सबै यात्रु सुरक्षित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार काठमाडौंमा अवतरण गर्ने क्रममा Turkish Airlines को विमानमा आगलागी भएको छ ।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित छन् ।

इमर्जेन्सी ढोका खोलेर यात्रुको उद्धार गरिएको थियो । उक्त विमानमा चार बालबालिकासहित २७७ यात्रु सवार थिए ।

आगलागीपछि उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् । विमानमा केही शव तथा यात्रुका सामानसमेत रहेको बताइएको छ ।

इस्तानबुलबाट काठमाडौं आएको TK726 उडान आज बिहान करिब पौने ७ बजे अवतरणका क्रममा चक्कामा आगो लागेको थियो ।

विमान धावनमार्गमै रोकिएकाले हाल अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । ठूला अन्तर्राष्ट्रिय जहाजहरूको नियमित उडान तालिकासमेत अवरुद्ध भएको बताइएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21587, citypokhara.com

एसईई नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

परीक्षा सम्पन्न भएको करिब एक महिनामै नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको हो।

अहिले नतिजा तयारीको अन्तिम चरणमा इन्ट्री तथा रुजु (भेरिफिकेसन) को काम भइरहेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ।

“नतिजा सार्वजनिक गर्ने काम अन्तिम चरणमा छ। सम्भवतः पर्सिसम्म नतिजा आउँछ। आईटी टोलीले काम गरिरहेको छ,” उनले भने, “त्रुटिरहित रूपमा नतिजा सार्वजनिक गर्ने प्रयासमा छौं।”

यस वर्ष उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।
“शिक्षकहरूको राम्रो सहयोग रह्यो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकोले रणनीति परिवर्तनसँगै नतिजा छिटो ल्याउन सफल भएका हौं,” अधिकारीले बताए।

आईटीसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएपछि बोर्ड बैठक बोलाइने र बैठकले अनुमोदन गरेपछि नतिजा सार्वजनिक गरिने तयारी छ।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21584, citypokhara.com

इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पार्‍यो : पुटिन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग जोडिएको जारी सङ्घर्ष चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन्। उनले युद्ध लम्बिँदा सबै पक्षलाई नोक्सान पुग्ने चेतावनी पनि दिएका छन्।

बीबीसीका अनुसार शनिबार पत्रकारसँग कुरा गर्दै पुटिनले भने, “यो अत्यन्त जटिल सङ्घर्ष हो। इरान तथा फारसको खाडीका देशहरूसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध भएकाले यसले हामीलाई अप्ठ्यारो अवस्थामा पारेको छ।”

इरान र अमेरिकाबीच भइरहेको वार्ताको उल्लेख गर्दै उनले कुनै पनि पक्षले द्वन्द्व लम्ब्याउन नचाहेको बताए। “मेरो विचारमा कसैलाई पनि यो सङ्घर्ष थप लम्ब्याउने इच्छा छैन,” उनले भने।

हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।

रुसले यसअघि पनि सबै पक्षलाई संयमता अपनाउँदै शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आग्रह गर्दै आएको छ। साथै, रुसले आफू इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको संकेत पनि दिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21581, citypokhara.com

गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम सुरु

पोखरा ।
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तथ्यांक पत्रकारिता (डेटा ड्रिभन) को अन्तिम चरणको तालिम आइतबारदेखि सुरु भएको छ ।

पहिलो हप्ता भौतिक तालिम त्यसपछिको छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल ८ हप्तासम्म तालिम सञ्चालन हुनेछ । जसमध्ये अन्तिम चरणको भौतिक तालिम आइतबारदेखि सुरु भएको हो ।

तालिमको उद्धाटन सत्रमा बोल्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताइन ।

पत्रकारको दक्षता वृद्धिका लागि अनेकन अड्चन झेलेरै भएतापनि यो प्रकृतिको तालिम आयोजना गरिएको उनको भनाई छ । उनले तालिमपश्चात पत्रकारले अरूलाई पनि सिकाउन सक्नेगरि दक्ष बन्नेमा विश्वास गरिन ।

“अरूलाई पनि सिकाउन सक्ने क्षमता बनाउनु होला । प्राविधिक तालिमको लागि उमेरले छेक्दैन । समय परिपालन गर्नुहोला ।” उनले भनिन ।

तालिममा सहभागी युवराज श्रेष्ठले रजिष्ट्रारको कार्यालयले आवश्यकता अनुसार उत्कृष्ट तालिम आयोजना गरेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकृतिका तालिम सञ्चालन गर्न आग्रह गरे ।

तालिमका स्रोतव्यक्ति चेतना कुँवरले सबै सहभागीमा सिक्ने इच्छा उत्कृष्ट रहेको बताइन । अर्का स्रोत व्यक्ति उमेश श्रेष्ठले दोश्रो चरणको भौतिक कोर्षबाट तालिममा सहभागी अझै दक्ष बन्ने विश्वास गरे ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21578, citypokhara.com

पोखरा स्पोर्टस् अवार्डमा गायिका मिलन नेवारको प्रस्तुतीमा रम्न पाइने

पोखरा ।
चर्चीत गायिका मिलन नेवारको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका नेवारको प्रस्तुती रहने भएको हो ।
यहीं वैशाख ३१ गते बिहीबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा मिलनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन् ।
कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको मञ्चका सचिव तथा सांस्कृतिक उपसमिति संयोजक राजु गिरीले जानकारी दिए । उनको प्रस्तुतीले कार्यक्रममा रौनकता थप्ने मञ्चको विश्वास छ । कार्यक्रममा मिलन नेवारका अलावा अन्य सांस्कृतिक प्रस्तुती समेत रहने गिरीले जानकारी दिए ।
अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार, पिपुल्स च्वाइस र स्पेशल अवार्ड गरि ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा अवार्ड संयोजक एमबी आस्थाले बताए ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान स्कुटर प्रदान गर्ने छ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा सहित सम्मान अर्पण गरिनेछ ।
त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गरिने अध्यक्ष आस्थाले जनाए । कार्यक्रम भव्य बनाउन तयारीमा तिव्रता दिइएको उनले बताए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21574, citypokhara.com

ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड

पोखरा ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा ओलम्पियन टीका बहादुर बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गर्ने भएको छ ।

वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याए बापत यो सम्मान पाउन लागेका हुन् । गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर आफूलाई अब्बल सावित गरे ।

बोगटीको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि सन् १९८८ को सियोल ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु हो । विश्वका हस्ती धावकहरूसँगै ओलम्पिकको ट्रयाकमा दौडिएर उनले नेपालको चन्द्र–सूर्य अंकित झण्डालाई विश्वमाझ चिनाएका थिए । उनले सन् १९९४ मा भएको १२ औँ एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए । दक्षिण एसियाली खेलकुद (साग) मा उनको प्रदर्शन निकै लोभलाग्दो रह्यो । चौथो देखि सातौँ सागसम्म लगातार सहभागी भएका उनले १९९१ मा श्रीलंका र १९९३ मा बंगलादेशमा काश्य पदक जितेका थिए भने १९९५ मा भारतको मद्रासमा भएको सागमा स्वर्ण पदक चुम्न सफल भए ।

अन्तर्राष्ट्रिय म्याराथनमा नेपालको प्रतिनिधित्व गर्दै सिंगापुर र अस्ट्रेलिया जस्ता देश पुगेका बोगटीले सन् १९८९ मा जर्मनीबाट तीन हप्ताको कोचिङ कोर्स समेत पूरा गरेका थिए । खेलका क्रममा उनले अनेकौँ उतारचढाव र अभावहरू भोगे । आमाको निधन हुँदाको मर्माहत पीडामा समेत उनले खेललाई निरन्तरता दिएको स्मरण गरे । खेल जीवनमा प्राप्त सफलताकै कारण उनलाई तत्कालीन सरकारले ’गोरखा दक्षिणबाहु’ बाट समेत विभूषित गरेको थियो । तत्कालीन समयमा अहिलेको जस्तो सेवा सुविधा नभए पनि दृढ संकल्पका साथ आफू खेलमा लागिरहेको उनले बताए ।

हाल ६४ वर्षको उमेरमा पुगेका बोगटी अझै पनि उत्तिकै ऊर्जावान् छन् । खेलबाट सक्रिय विश्राम लिएपछि उनी अहिले गोरखाको आफ्नै माटोमा कृषि कर्ममा रमाइरहेका छन् । खेतीपातीसँगै उनले नयाँ पुस्तालाई एथ्लेटिक्सको ज्ञान र अनुशासन सिकाउने गुरुको जिम्मेवारी समेत निभाइरहेका छन् । गाउँको विकास निर्माण र सामाजिक संघसंस्थामा स्वयंसेवकको भूमिकामा सक्रिय बोगटीले समाज सेवालाई पनि उत्तिकै महत्व दिएका छन् । एउटा सफल धावकदेखि कर्मशील किसानसम्मको उनको यो प्रेरक यात्रालाई सम्मान गर्दै प्रदान गर्न लागिएको यो अवार्डलाई नेपाली खेलकुदको सुनौलो इतिहासको सम्मानका रूपमा हेरिएको छ ।

आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको उक्त अवार्ड कार्यक्रममा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार  रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल,  नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), पोखरा एभेन्जर्स, टाइगर ग्रुप अफ पोखरा, तमु धिँ युके,  चन्द्र÷शान्ता गुरुङ गोर्खा हिल क्यास एण्ड क्यारी(युके), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा  सहारा क्लब पोखरा, सहारा युके, सहारा हङकङ, पोखरा महानगरपालिका वडा नं १ , वडा नं ३, वडा नं ७, वडा नं ८, वडा नं ९, वडा नं १०, वडा नं १२, वडा नं १३, वडा नं १४, वडा नं १५, वडा नं १७ र वडा नं २६, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला तेक्वान्दो संघ, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले,  विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया, प्रेमकाजी गुरुङ अष्टे«लिया, राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, दीपक बहादुर थापा (पूर्व वडा सदस्य पो.म.न.पा. १०) लामा कलेक्सन न्यूरोड पोखरा, प्रेम पुन (पुन फोटोग्राफी), हेम्जाकोट होमस्टे कास्की रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21570, citypokhara.com

भण्डारीको अनुसन्धान : लघुवित्तले कृषि र जीवनस्तरमा

‎पाेखरा ।
‎नेपालमा लघुवित्त सेवाले कृषि क्षेत्रमा लगानी गर्ने सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा उल्लेखनीय सकारात्मक परिवर्तन ल्याएको एक विस्तृत अनुसन्धानले देखाएको छ। अनुसन्धानकर्ता विष्णु प्रसाद भण्डारीले विद्यावारिधि (PhD) उपाधिका लागि पाँच वर्षसम्म गरेको अध्ययनले लघुवित्तमा आबद्ध सदस्यहरू आर्थिक रूपमा सशक्त बन्दै सामाजिक रूपान्तरणतर्फ अग्रसर भएको निष्कर्ष निकालेको हो।

‎यो अनुसन्धान प्राध्यापक डा. केशरजंग बराल र प्राध्यापक डा. केशव राज जोशीको निर्देशनमा सम्पन्न भएको हो। अध्ययनमा Sequential Explanatory Mixed Methods विधि प्रयोग गरिएको थियो, जसअन्तर्गत पहिलो चरणमा संख्यात्मक तथा दोस्रो चरणमा गुणात्मक अध्ययनमार्फत तथ्यहरूको विश्लेषण गरिएको थियो।

‎संख्यात्मक अध्ययनका क्रममा ३८० जना लघुवित्त सदस्यसँग सर्वेक्षण गरिएको थियो भने गुणात्मक अध्ययनअन्तर्गत पाँच वटा प्रतिनिधिमूलक केस अध्ययनमार्फत सदस्यहरूको अनुभव, व्यवहार र जीवनस्तरमा आएको परिवर्तनको गहन अध्ययन गरिएको थियो। अनुसन्धान कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका तथा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा केन्द्रित थियो।

‎अध्ययनअनुसार लघुवित्त संस्थामा आबद्ध भएपछि सदस्यहरूको औपचारिक वित्तीय सेवामा पहुँच उल्लेखनीय रूपमा विस्तार भएको छ। पहिले साहु–महाजन तथा अनौपचारिक ऋणमा निर्भर सदस्यहरूले अहिले लघुवित्त तथा बैंकिङ प्रणालीमार्फत ऋण, बचत र अन्य वित्तीय सेवा उपयोग गर्न थालेका छन्। सहरी क्षेत्रमा यसको प्रभाव बढी देखिए पनि ग्रामीण क्षेत्रमा पनि लघुवित्त क्रमशः महत्वपूर्ण वित्तीय आधारका रूपमा स्थापित हुँदै गएको अध्ययनले देखाएको छ।
‎
आर्थिक दृष्टिले सदस्य परिवारहरूको औसत आम्दानी, बचत, खर्च र सम्पत्तिमा स्पष्ट वृद्धि भएको पाइएको छ। सदस्यहरू पशुपालन, तरकारी खेती तथा कृषि आधारित साना उद्यमतर्फ आकर्षित भएका छन्। यस्ता उद्यममा संलग्न सदस्यहरूको आम्दानी तुलनात्मक रूपमा बढी देखिनुले लघुवित्तले स्थानीय उद्यमशीलता र रोजगारी प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको पुष्टि गरेको छ। साथै, परिवारभित्रको बेरोजगारी दर पनि घटेको देखिएको छ।
‎
लघुवित्त सेवाले बजार पहुँच विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग तथा खाद्य आत्मनिर्भरता सुदृढीकरणमा समेत योगदान पुर्‍याएको अध्ययनले देखाएको छ। आधुनिक कृषि अभ्यास अपनाउने सदस्यहरूमा खाद्य सुरक्षाको अवस्था तुलनात्मक रूपमा राम्रो पाइएको छ।

‎सामाजिक क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन देखिएको छ। लामो समयदेखि लघुवित्तमा आबद्ध परिवारहरूमा बालबालिकाको विद्यालय उपस्थितिमा वृद्धि, स्वास्थ्य सचेतनामा सुधार, नियमित स्वास्थ्य परीक्षणको अभ्यास तथा समुदायगत सहभागिता र नेतृत्व क्षमतामा विकास भएको पाइएको छ।

‎अध्ययनले सूक्ष्मकर्जा सेवाप्रतिको सन्तुष्टि नै लघुवित्तप्रतिको समग्र धारणा निर्धारण गर्ने प्रमुख आधार भएको देखाएको छ। सहरी क्षेत्रका सदस्यहरू कर्जासेवाप्रति बढी सन्तुष्ट देखिए पनि ग्रामीण क्षेत्रका सदस्यहरूको सन्तुष्टि स्तर तुलनात्मक रूपमा कम रहेको अध्ययनले जनाएको छ। यसले ग्रामीण क्षेत्रमा लक्षित सेवा, कर्जा व्यवस्थापन तथा सहायक कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
‎
उक्त अध्ययनको बाह्य मूल्याङ्कन दिल्ली विश्वविद्यालयका वाणिज्य विभागका पूर्व डिन प्राध्यापक डा. सी. पी. गुप्ताले गरेका थिए। अनुसन्धानको सार पृथ्वी नारायण क्याम्पसमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको थियो। कार्यक्रममा व्यवस्थापन अनुसन्धान विभागका प्रमुख सह–प्राध्यापक डा. वीर बहादुर कार्कीको अध्यक्षता तथा QAA प्रमुख अमृत भण्डारीको सञ्चालन रहेको थियो।
‎
समग्रमा, कर्जा, बचत, तालिम, बीमा तथा सामाजिक सहायतासहितको एकीकृत लघुवित्त मोडेल कृषि क्षेत्रमा संलग्न सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि प्रभावकारी माध्यम बन्न सक्ने निष्कर्ष अनुसन्धानले प्रस्तुत गरेको छ। अध्ययनले उपयुक्त नीतिगत व्यवस्था, वित्तीय साक्षरताको विस्तार, ग्रामीणमैत्री सेवा विकास तथा संस्थागत समन्वय सुदृढ गर्न सके लघुवित्तले दीर्घकालीन रूपमा सदस्य परिवारहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21566, citypokhara.com