रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् ।
सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ७७८ मतले पछि पारे ।
निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=21009, citypokhara.com
पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमप्रसादले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् ।
५२ हजार ५ सय १९ मत खसेकोमा १ हजार ८४४ मत बदर भएको छ । रास्वपाका उत्तमप्रसादले ३१ हजार ९११ मत कास्की–२ बाट प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । यो क्षेत्रमा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १ हजार ६४३ मत प्राप्त गरे ।
राप्रपाभन्दा पछि नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत पाएका छन् ।
उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन् । अन्य पार्टीले भने झिनो मत प्राप्त गरे । अहिलेसम्म नेकपा एमालेले जित्दै आएको क्षेत्रमा एमालेले युवा नेता केन्द्रीय सदस्य रश्मिलाई उठाएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=21000, citypokhara.com
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको विशेष राजनीतिक परिस्थितिमा आज प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान भइरहेको छ।
७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ। निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि प्रतिस्पर्धा भइरहेको छ।
प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका ३,४०६ उम्मेदवार चुनावी मैदानमा छन्। समानुपातिकतर्फ ३,१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनमा कुल १ करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ। मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान व्यवस्थापनका लागि करिब २ लाख १५ हजार कर्मचारी खटिएका छन्।
निर्वाचन आयोगले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई मतदानमा प्राथमिकता दिने व्यवस्था गरेको जनाएको छ।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिँदै आजको मतदानबाट आगामी सरकार, नीति र नेतृत्वको दिशा तय हुने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20997, citypokhara.com
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन आयोगले मौन अवधि सुरु गर्ने भएको छ । मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार मौन अवधिमा राजनीतिक दल, उम्मेदवार तथा तिनका समर्थकहरूले कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया वा प्रचारप्रसार गर्न पाउने छैनन् ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट पक्ष वा विपक्षमा प्रचार सामग्री प्रकाशन, प्रसारण, पोस्ट वा सेयर गर्न समेत रोक लगाइएको छ ।
यसैगरी, बाजागाजा, नाचगान, सार्वजनिक भोज, जुलुस, प्रदर्शन, हुलहुज्जत वा होहल्ला गर्न नपाइने व्यवस्था गरिएको छ । एसएमएस, साउण्ड सिस्टम वा अन्य माध्यम प्रयोग गरी मत माग्न समेत निषेध गरिएको छ ।
निर्वाचन आयोगले मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मतदान केन्द्रमा कुनै प्रकारको अवरोध वा बाधा पुर्याउने गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ ।
त्यसैगरी, मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका प्रचारप्रसार सामग्री ४८ घण्टा अघिनै हटाउनुपर्ने तथा सामाजिक सञ्जालमार्फत राखिएका विज्ञापन सामग्री समेत हटाउनुपर्ने आयोगले स्पष्ट पारेको छ ।
मतदान केन्द्र तथा आसपासका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र भय–त्रास सिर्जना हुने गतिविधि नगर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20994, citypokhara.com
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अनलाइन पत्रकार सङ्घको संयोजनमा काठमाडौँमा भएको अन्तरक्रियामा निर्वाचनको मौन अवधिमा सञ्चार माध्यमले के गर्न हुने के गर्न नहुने एवं सञ्चार माध्यमको भूमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको छ । छलफललाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले मतदातालाई अवाञ्छित तरिकाले प्रभावित पार्नेगरी कुनै पनि सामग्री तथा सङ्केत विषयवस्तु सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । ‘मतदातालाई अवाञ्छित तवरबाट प्रभावित पार्नेगरी सङ्केत, चिन्ह, विवरण अथवा त्यस्ता सामग्री प्रकाशन/प्रसारण गर्नुहुँदैन । यो बुझ्नुभएकै कुरा हो । ती कुराको परिपालना राजनीतिक दलमात्रै होइन, अरुले पनि कतिको गर्नुहुन्छ ?’ उहाँले प्रेस काउन्सिललाई आग्रह गर्दै भन्नुभयो, ‘केही जो मुख्य प्रतिष्पर्धी, उम्मेदवार भनेर सञ्चार जगत्ले उल्लेख गरेका र हो जस्तो लागेका सबै किसिमका उम्मेदवारका विषयमा वैध/अवैध, स्वस्थ/अस्वस्थ सबै किसिमका गतिविधि हुने शंका आम जनता सरकार सबैमा छ । यहाँहरूले त्यसको पनि अनुगमन गरिदिनुहुनेछ भन्ने सरकारको अपेक्षा छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि निर्वाचनको शुन्य समय भएको भन्दै राष्ट्रपतिबाट निर्वाचनको घोषणा भएबाट नै सञ्चारजगत्ले सकारात्मक भूमिका खेलेको बताउनुभयो । उहाँले पछिल्लो समय झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको बताउँदै सञ्चार जगतको गलत प्रचार रोक्ने भूमिकाको अपेक्षा आयोगले गरेको उल्लेख गर्नुभयो । उहाँले मौनअवधिपूर्व सम्प्रेषण भएका दलपक्षीय सामग्री एवं प्रचारात्मक सामग्री सेयर हुनेतर्फ सचेत गराउन्ुभयो । ‘मौन अवधि अगाडि आचारसंहिता लागु भइसकेपछाडि दल र दलका उम्मेदवारले मनोनयन दर्ता गरेपछि विविध प्रकारका साम्रगीहरु आए । यहाँहरुले पनि लेख्नुभयो । अब मौन अवधि सुरु भएपछि दलहरुका घोषणापत्र नीति तथा कार्यक्रम आदिको घनिभूत रुपमा छलफल गरेर सम्पूर्ण विश्लेषण गर्ने दायित्व यहाँहरुको हो । त्यो गर्नसक्नुहुन्छ ।’ उहाँले मतदाता शिक्षा र निर्वाचन आयोगका सामग्री सम्प्रेषणमा जोड दिन आग्रह गर्नुभयो ।
काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मौन अवधि झन् संवेदनशील समय भएकाले सञ्चार माध्यमको दायित्व स्वतः बढने हुनाले समाचार सम्प्रेषणमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले निर्वाचनको पूर्वसन्ध्यामा डिजिटल प्लेटफर्ममार्फत पर्नसक्ने भूराजनीतिक असरका विषयमा पनि सञ्चार माध्यम सजग रहनुपर्ने उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण भण्डारीले मौन अवधिको आचारसंहिता पूर्णपालना हुनैपर्ने जिकिर गर्नुभयो । निवार्चन अघि र मतदान अवधिमा समेत मतदाता प्रभावित पार्ने सामग्री सञ्चार माध्यमले सम्प्रेषण गर्दा त्यसको असर गुणात्मक रुपमा बढ्ने सङ्केत गर्नुभयो । उहाँले निर्वाचनको पूर्वसन्ध्यामा कसैको पक्ष र विपक्षका सामग्री देख्दा मतदाताको मुडमा तत्काल असर गर्ने बताउनुभयो । विश्वका कतिपय मुलुकले नेपालको निर्वाचन पद्धतिबाट सिको गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पत्रकारहरू बैरागी जेठा, चुडामणि कोइराला, केपी ढुंगाना, धनबहादुर मगर, पवित्रा सुनार, भीम आत्रेय, सुसन धमला, नवराज चालिसे, अनुपराज ढुंगेल, राजिव तिमिल्सेना, विद्यार्थी अन्जना शाही शर्मा, प्रकाश कपाली लगायतले जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिँदै काउन्सिल सदस्य नकुल अर्यालले निर्वाचनका बेला पत्रकार आकर्षित हुने सम्पूर्ण विषय काउन्सिलले आफ्नो दायित्व कर्तव्य अनुसार गरिरहेको प्रष्ट पार्नुभयो । उहाँले पत्रकार र सञ्चार माध्यमका सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत काउन्सिलले नै गरिरहेको प्रष्ट पार्दै २४ सै घण्टा स्वअनुगमन, उजुरी प्रणाली र हटलाइन नम्बर सक्रिय बनाइ काउन्सिलले अनुगमन गरिरहेको बताउनुभयो ।
सहभागीलाई स्वागत गर्दै काउन्सिल सदस्य बालकृष्ण अधिकारीले संवैधानिक सङ्कटका बेला घोषित निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने र यस्तो निर्वाचन पूर्ण सफल बनाउन सञ्चार माध्यमको सबैभन्दा महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रको सहजीकरण मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभएको थियो भने दोस्रो सत्रको सहजीकरण सदस्य शन्तराम बिडारीले गर्नुभएको थियो । सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य–सचिव छविन्द्र पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । दोस्रो सत्रको समापन अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले गर्नुभएको थियो । कार्यक्रममा काउन्सिलका सदस्य रामप्रसाद दाहाल, पूर्वसदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमला लगायत विभिन्न सञ्चार माध्यमका प्रकाशक एवं सम्पादकहरूको सहभागिता थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । https://www.presscouncilnepal.gov.np/np/2026/03/01/11596/, www.presscouncilnepal.gov.np
पोखरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
उम्मेदवार आचार्यले आज आफ्नो फेसबूक पेजमा एक स्टाटस साझा गर्दै सामाजिक संजाल फेसबूक र टिकटकबाट अब आउने काम र दायित्वका बारेमा प्रत्यक्ष संवाद गर्ने उल्लेख गरेका हुन् ।
भूगोल सहित अन्य कारणले भेटघाट हुन नसकेका आम कास्की क्षेत्र नं. २ का मतदाता समक्ष आचार्यले सुझाव सहित आगामी कार्यदिशा सम्बन्धमा सुझाव लिन प्रत्यक्ष संवादमा जुट्न लागेको उनले बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा उम्मेदवार आचार्यले लेखेका छन् :- ‘के हामी संवाद गर्न सक्छौँ ? देशमा सुशासन कायम गरी कास्की क्षेत्र नम्बर २ मा हामीले अगाडि बढाएको समावेशी विकासको मोडललाई प्रभावकारी बनाउन कसरी हातेमालो गर्न सकिन्छ होला? हो, यसै सन्दर्भमा आज साँझ ८ बजे यहाँहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्नको लागि मेरो फेसबुक पेज र टिकटकमा प्रत्यक्ष संवादमा जोडिनेछौँ ।’
इरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनप्रति सरकारले ४० दिन राष्ट्रिय शोक तथा सात दिन सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ।
फार्स समाचार एजेन्सीका अनुसार खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा रहँदा मारिएका थिए। उक्त समाचारलाई तस्निम समाचार एजेन्सीले पनि पुष्टि गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको अन्तर्वार्तामा खामेनी सुरक्षित रहेको बताएका थिए।
विविसी र अलजजिराले पनि इरानको राज्य टेलिभिजनलाई उद्धृत गर्दै खामेनीको मृत्यु पुष्टि भएको उल्लेख गरेका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20988, citypokhara.com
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी कास्कीमा दिनदिनै बढ्दो छ । घरदैलो अभियानले तिब्रता पाउँदै गर्दा उम्मेदवारसंगै मत माग्दै हिडँने नेता कार्यकर्ताको भीड देखिन्छ । तर यस पटकको दृष्यमा एउटा विशेष उपस्थितिले सवैको ध्यान खिचिरहेको छ, त्यो हो ७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासीको निरन्तर सहभागिता ।
नेकपा एमालेका तर्फवाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रश्मी आचार्यको घरदैलो कार्यक्रममा प्यासी उम्मेदवारसंग संगसंगै हिँडिरहेका छन् । उमेरले ढल्किँदै गएपनि उर्जा र प्रतिवद्धतामा कमी नआएको उनको उपस्थितिले अभियानलाई भावनात्मक उचाई दिएको छ ।
२०४३ सालमा जनपक्षीय उम्मेदवारका रुपमा बाल्टी चिन्ह लिएर चुनाव जितेका प्यासीलाई अहिले पनि मतदाताले त्यो ऐतिहासिक क्षण सम्झाईदिन्छन् । पञ्चायती व्यवस्थाको कठोर समयमा जनताको मतवाट विजयी बन्नुभएको उनले प्रजातन्त्र स्थापनापछि २०४८ सालको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. ४ बाट समेत विजयी भएका थिए ।
कोशी प्रदेशको प्रदेश प्रमुखको समेत भूमिका निर्वाह गरेका प्यासी घरदैलोका क्रममा मुस्कुराउँदै भन्छन्, “प्रचारमा उमेरले छेक्दैन, विचार र विश्वास बलियो भए पुग्छ ।” उनको यही सक्रियता अहिलेका युवा कार्यकर्ताका लागि प्रेरणा बनेको छ ।
रश्मी आचार्यको अभियानमा प्यासीको उपस्थिति केवल समर्थन मात्र होइन, एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भईरहेको राजनीतिक निरन्तरताको संकेत पनि हो । पाँच छ दशक लामो राजनीतिक यात्राले उनलाई मतदातावीच विश्वासको प्रतिक बनाएको छ ।
घरघरमा पुग्दा मतदाताले उनलाई पुराना संघर्षका दिन सम्झाउँछन् भने युवा पुस्ताले जीवित इतिहासका रुपमा हेर्ने गरेका छन् । कतिपय कार्यकर्ता मात्र होईन मतदाता समेत उनीसँग फोटो र भिडियो बनाउन मोवाईल निकाल्ने गरेका छन् ।
यस पटकको निर्वानमा एमाले उम्मेदवार रश्मी आचार्यको पक्षमा मत माग्दै हिंडिरहेका प्यासीको सन्देश स्पष्ट छ राजनीति केवल पदका लागि मात्र होइन, रिन्तर प्रतिवद्धताका लागि हो । कास्की २ को चुनावी माहोलमा उनको उपस्थिति एउटा सशक्त सन्देश वनिरहेको छ उमेर होइन, उत्साह र आस्थाले नै अभियानलाई चलायमान बनाउँछ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20984, citypokhara.com