Breaking News
नेपालमै पहिलोपटक स्वदेशी प्रविधिमा अत्याधुनिक हवाइ इन्धन डिपो निर्माण, साउनदेखि सञ्चालनमा

पोखरा । पोखरामा पहिलोपटक स्वदेशी पुँजी, सीप र प्रविधिमा आधारित अत्याधुनिक हवाइ इन्धन डिपो निर्माण सम्पन्न भएको छ। नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण गरेको डिपो साउन दोस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी छ ।

९,२१५ वर्गमिटरमा फैलिएको डिपोमा तीनवटा इन्धन भण्डारण ट्याङ्की छन्, जसको कुल क्षमता ३,६०० किलोलिटर (३६ लाख लिटर) रहेको छ। आगलागी नियन्त्रणका लागि १,२०० किलोलिटरको पानी ट्याङ्क, ४ हजार लिटर क्षमताको फोम स्टोरेज ट्याङ्क, दुईवटा २३० HP डिजल पम्प, १५ HP को जक्की पम्प, तथा ८ इन्चको पाइपसहित आधुनिक फायर फाइटिङ सिस्टम जडान गरिएको छ।

नेपालमै पहिलोपटक स्वदेशी प्रविधिमा अत्याधुनिक हवाइ इन्धन डिपो निर्माण, साउनदेखि सञ्चालनमा

परियोजना प्रमुख प्रदीप कुमार यादवले १५ महिनामा निर्माण सम्पन्न भएको जानकारी दिँदै भने डिपोले आन्तरिक उडानको तीन महिनासम्मको खपत धान्न सक्ने बताए । यदि अन्तर्राष्ट्रिय उडान दैनिक १–२ मात्र भएमा, एक महिनासम्म पर्याप्त इन्धन आपूर्ति गर्न सक्ने उनकाे भनाई छ ।

उनका अनुसार, डिपो नेपालकै स्रोत, जनशक्ति र प्रविधिबाट निर्माण गरिएको हो। भ्याट बाहेक कुल लागत ७५ करोड रुपैयाँ पुगेको छ। ‘यहाँ अमेरिकी मापदण्डअनुसारको अटोमेटिक फायर सिस्टम, हिट डिटेक्सन, र स्काडा प्रणालीमार्फत सम्पूर्ण प्रक्रिया सफ्टवेयरबाट नियन्त्रण गरिन्छ’ उनले भने।

नेपाल आयल निगमका प्रबन्धक निर्देशक अशोक अर्यालका अनुसार, डिपोमा तीनवटा इन्धन ट्याङ्की र एकवटा पानीको फायर टावर छन्। यहाँ अटोमेसन लेभल–३, पीएलसी स्टार र स्काडा सिस्टम जडान गरिएको छ, जसले आपतकालीन अवस्था स्वचालित रूपमा पत्ता लगाएर तुरुन्त सक्रिय प्रतिक्रिया दिन्छ।

अर्यालले डिपो स्वदेशी बजेट र प्राविधिक सहयोगमा, कुनै विदेशी ऋण नलिई निर्माण गरिएको नेपालकै पहिलो अत्याधुनिक नमुना भएको बताए।

हाल डिपोमा स्वचालन परीक्षण र तेस्रो पक्ष इन्सपेक्सनको तयारी भइरहेको छ। डिपी इन्सपेक्सन १० दिनभित्र सम्पन्न गरी साउन पहिलो हप्तामा ट्याङ्कीमा इन्धन भर्ने प्रक्रिया सुरु हुने निगमले जनाएको छ।

सहायक प्रबन्धक इन्जिनियर अनुपम पराजुलीले यो संरचना अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (API) को मापदण्डअनुसार निर्माण भएको बताए। ‘पहिलाजस्तै विदेशी परामर्शदाता र उपकरणको भर नपरी, यो परियोजना पूर्ण रूपमा स्वदेशी स्रोत, सीप र प्रविधिबाट सम्पन्न गरिएको नमुना हो’ उनले भने।

नेपाल आयल निगमको ५५ वर्षे इतिहासमा पहिलोपटक यति ठूलो पूर्वाधार परियोजना स्वदेशी श्रोत र जनशक्ति प्रयोग गरी सम्पन्न गरिएको हो। डिपो सञ्चालनमा आएपछि पोखराको हवाई सेवा, आपूर्ति प्रणाली र पर्यटन क्षेत्रमा ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18838, citypokhara.com

पोखरामा असार २४ देखि क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, तयारी अन्तिम चरणमा

पोखरा ।

पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित असार २४ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं, संस्थापक गुरुङले भने, ‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको फाउण्डेशनले आयोजना गरेको प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।

फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।

संस्थापक गुरुङका अनुसार तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने छ । यस्तै भेट्रान्स भलिबलमा ३८ वर्ष उमेर पुरा भएको खेलाडी मात्र समावेश गर्न पाइनेछ ।

उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ५ समूहको मात्र सहभागिता भए राउण्ड रोविनको आधारमा सञ्चालन हुने अन्र्तराष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले बताए ।

‘क्लबस्तरीय प्रतियोगितामा ६ टिमलाई मात्र समावेश गर्ने आयोजकले निर्णय गरेको छ, अहिलेसम्म ५ टिमले सहभागिता जनाउने जानकारी आएको छ’, थापामगरले भने, ‘प्रतियोगितामा ६टिमको नै सहभागिता भए लिग चरण र ५ टिमको मात्र सहभागिता भए राउण्ड रोविनको आधारमा सञ्चालन गर्छौ ।’

प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन गर्ने लामा अमृत फाउण्डेशनले जनाएको छ । प्रतियोगिताको पहिलो दिन दर्शकलाई निशुल्क प्रवेश रहेपनि दोस्रोदिन देखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18834, citypokhara.com

युनिकनद्वारा फुटबल खेल सामग्री वितरण तथा प्रशिक्षण शुरु

पोखरा। युनाइटेड कम्युनिटी नेपाल (युनिकन) संस्थाले ‘फुटबल फोर फ्युचर’ कार्यक्रम अन्तर्गत कन्या माध्यमिक विद्यालय, पोखराका छात्राहरूलाई फुटबल खेल सामग्री वितरण गर्नुका साथै निःशुल्क प्रशिक्षण शुरु गरेको छ । संस्थाले प्रशिक्षार्थीहरूलाई जर्सी सेट, फुटबल बुट, मोजा, खुट्टामा लगाउने प्याड वितरण गर्नुका साथै विद्यालयको लागि ३ वटा फुटबल वितरण गरेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूको फुटबल सीप विकास गर्नुको साथसाथै कथा वाचन, व्यक्तिगत क्षमता विकास, लैङ्गिक समता, वातावरणीय उत्तरदायित्व र दिगोपनासम्बन्धी प्रशिक्षण गराइनेछ । पाँच ओटा विद्यालयमा छुट्टाछुट्टै सञ्चालन हुने यस प्रशिक्षणको अन्तमा पोखरा रंगशालामा उक्त विद्यालयहरूबीच प्रतिस्पर्धा गराइनेछ ।

कार्यक्रममा संस्थाको उपाध्यक्ष जुनादेवी पुन तिलिजाले शुभकामना मन्तब्य राख्दै छात्राहरूको लागि यो एउटा सुनौलो अवसर भएको र यस प्रशिक्षण कार्यक्रमबाट फुटबलको आधारभूत सीप सिक्नुका साथै यस क्षेत्रमा कसरी करिअर बनाउन सकिन्छ भन्ने ज्ञान हासिल गर्न सकिने कुरा बताउनुभयो ।

युनिकनद्वारा फुटबल खेल सामग्री वितरण तथा प्रशिक्षण शुरु
त्यस्तै, विद्यालयका प्रधानाध्यापक प्रेम बुढाथोकीले अनुशासित भएर सीप सिक्नुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै उहाँले खेलले पढाइ बिग्रन्छ भन्ने आम मानिसको बुझाई भएकाले खेलको साथसाथै पढाईलाई राम्रोसँग अगाडि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रम बोल्दै एएफसि ‘सि’ लाइसेन्स प्राप्त प्रशिक्षक सुमन गुरुङले अनुशासनले मानिसलाई सफल बनाउने भएकाले अनुशासित भएर सिक्न आग्रह गर्नुभएको थियो ।

विद्यालयको अतिरिक्त समयमा सञ्चालन हुने उक्त कार्यक्रम छ महिनासम्म चल्नेछ भने उक्त प्रशिक्षण कार्यक्रममा कन्या माध्यमिक विद्यालयबाट २१ जना छात्राहरूको सहभागिता रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18829, citypokhara.com

ढिकुर पेाखरी समाज पेाखराले पोखरामा सकारात्मक सोच र क्षमता विकास प्रशिक्षण

पोखरा । ढिकुरपेाखरी समाज पोखराले सकारात्मक सोच एवं क्षमता बिकास कार्यक्रम गरेको छ ।

ढिकुरपेाखरी समाज पेाखराकेा आयेाजना र गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा मंगलवार सकारात्मक सेाच र क्षमता विकास प्रशिक्षण सम्पन्न भयेा । उक्त कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीले सकारात्मक सोचले ब्यक्तीको जिबनमा सकारात्मक ऊर्जा पैदा गर्ने बताऊदै सकारात्मक सोचले नै व्यक्तिलाई सफल बनाउने बताउनु भयेा ।सकारात्मक सोचको कमि हुदा आजको समाज बिखण्डन, बिग्रह तथा कुलतको बाटोमा गएको भन्दै सकारात्मक सोच जिवनको लागी अपरिहार्य रहेकोमा जोड दिनु भएकेा थियेा ।

ढिकुर पेाखरी समाज पेाखराले पोखरामा सकारात्मक सोच र क्षमता विकास प्रशिक्षण

समाजका अध्यक्ष लक्ष्मी अधिकारीले सकारात्मक सोचले आफ्नो क्षमता बिकास हुने र क्षमता बिकास भए आत्मनिर्भर हुन सकिने भन्दै सफल हुनको लागी सकारात्मक सोच निकै महत्वपूर्ण रहेको बताउनुभयो | उहाँले हरेक घर परिवारमा महिलाले क्षमता बिकास गर्दै आत्मनिर्भर बन्ने हो भने पारीवारीक तथा सामाजिक जिवन परिवर्तन गर्न सकिने कुरामा जेाड दिनुभयेा ।

कार्यक्रममा प्रशिक्षक बरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठले सोच जस्तो छ दृष्टि त्यस्तै हुने भन्दै संसार सृष्‍टिमा नभई दृष्टिमा भर पर्ने बताउनुभयो | ”बस्तु जस्तो छ त्यस्तो देखीदैन हामिले जस्तो सोच्छौ त्यस्तो देखिन्छ भन्दै जिवनमा जहिले पनी सकारात्मक सोच राख्नु पर्छ ।” उहाँले भन्नुभयो ।


अन्नपूर्ण बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष इन्द्र प्रसाद पौडेलले सेाच परिवर्तन गर्नका लागि प्रविधिहरुकेा पनि सहि उपयेाग गरि सकारात्मक धारणा राख्नु पर्ने कुरामा जेाड दिनु भयेा ।

ढिकुर पोखरी घर भई पोखरा बस्दै आएका सदस्यहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिव १०० जनाको उपस्थिति रहेको थियेा ।

कार्यक्रममा अन्नपूर्ण गाऊपालिकाका उपाध्यक्ष चन्द्रा देबकोटा अधिकारी, ढिकुर पोखरी समाज पोखराका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, पूर्व अध्यक्ष बाबुराम भण्डारी, निवर्तमान अध्यक्ष सोमनाथ पौडेल, ढिकुर समाज पोखराका अक्षयकोष संरक्षक कुल बहादुर गुरुङ कुलु, ढिकूर पोखरी समाज पोखराका सल्लाहकार मनपती अधिकारी लगायतले बेाल्नु भएकेा थियेा ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लोकनाथ भण्डारीले र संचालन सचिव गणेश अधिकारीले गर्नु भयेा ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18823, citypokhara.com

कास्की जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा

पाेखरा । कास्की जिल्लालाई पूर्णखाेप सुनिश्चितता घाेषणा गरिएकाे छ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले साेमबार एक जिल्लालाई पूर्णखाेप सुनिश्चितता घाेषणा गरेका हुन् । घाेषणासँगै कास्की जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा गर्ने पहिलाे जिल्ला समेत बनेकाे छ ।

जिल्लामा खोप लगाईरहेका १६ देखि २३ महिना उमेर समुहका बालबालिका ४७६२ जना छन भने पूर्णखोप प्राप्त १६ देखि २३ महिनाका ४७१६ वालवालिकाले पूर्णखोप लिएको र खोप छुट भएका ४६ जनालाई पनि खोप लगाईएकाे छ ।

कास्की जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा

कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्था तथा वाह्य २३० खोप केन्द्रहरुमार्फत नियमित खोप सेवा प्रदान हुदै आएको छ । खोप पाउनु पर्ने उमेर समुहका सबै वालवालिकहरुले नेपाल सरकारले उपलब्ध गराएका सबै खोप हरु पुरा गरेको सुनिश्चत गरी कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते जिल्ला पूर्ण खोप घोषणा गरे पश्चात नयाँ जन्मने तथा अन्यत्रवाट कास्की जिल्ला भित्र आई बसोवास गर्ने सबै बालबालिकाले पाउनु पर्ने सबै खोप पाएको सुनिश्चत गर्ने गरेकाे छ।

खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त र सबै भन्दा लागत प्रभावी (Cost Effective) जनस्वास्थ्य कार्यक्रम हो। वाल, शिशु र नव शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका रहेको यस कार्यक्रमलाई जन स्वास्थ्यको प्रमुख सफल कार्यक्रम मानिन्छ।

खोपकै माध्यमवाट २०३४ साल वैशाख १ गते विफर उन्मुलन भएको घोषणा भए पश्चात विस्तारित खोप नायोजना स्थापना भै ४ वटा रोगहरु (क्षयरोग, भ्यागुते रोग, लहरेखोकी र धनुष्टंकार) विरुद्धका खोपहरु ३ जिल्लाबाट शुरु भै हाल देशै भरी १६००० भन्दा बढी खोप केन्द्रहरु मार्फत १४ रोग विरुद्धका खोपहरु जन्मेदेखि १५ महिना सम्मका बालवालिका तया गर्भवति महिलाहरुलाई प्रदान गरिदै आएको छ।

खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण निवारण र उन्मुलन गरी अपाङ्गता दर तथा मृत्यु दर कम गर्नु खोप कार्यकर्मको उद्देश्य हो ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18818, citypokhara.com

नेपाली  खाना, संस्कृति र किसानको मिहिनेत सम्झाउँदै सकियाे हेमजा हिले महाेत्सव

पोखरा । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाँचौं हेमजा हिलो महोत्सव सम्पन्न गरेको छ ।  आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पाेखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हेमजामा विभिन्न समयमा हुने अन्य महोत्सव जसरी नै  हिले महोत्सव जोडिएको र आफ्नो छुटै मौलिकता महत्त्व रहेको  बताए ।

कार्यक्रम कृषि निर्देशनालय वरिष्ठ कृषि प्रसार  अधिकृत अर्जुन देव ज्ञवालीले नेपाली समाजको आफ्नो मौलिकता, पहिचान बोकेको हुँदा निरन्तरता दिनुपर्नेमा जाेड दिए ।

विष्णुपादुका धार्मिक क्षेत्र गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा देवीस्थान सेवा समाजका सल्लाहकार चूडामणि तिम्सिनाले युवा पुस्ताको सक्रियतामा आफ्नो रीतिरिवाज, परम्परागत संस्कार संकृतिको जर्गेना गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुनु समाजका लागि गर्वको विषय रहेको बताए । संस्कार संकृतिको युवामा पुस्तान्तरण आजको आवश्यकता रहेको उनकाे भनाई छ ।

महोत्सवमा हिले दौड, रस्साकस्सी , झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बिच असारे भाका, तथा माछा समाउने लगायतका प्रतियोगिता सम्पन्न भए ।

महोत्सव अन्तर्गत भएको झाँकी ¥याली तर्फ देवीस्थान  आमा समूह प्रथम, देवीस्थान भजन समूह दोस्रो तथा चापाघाट आमा समूह  तेस्रो भए।

त्यस्तै ४० वर्षमाथिको पुरुष हिले दौड तर्फ ईश्वर सापकोटा पहिलो तथा वसन्त सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फ रमा भण्डारी  पहिलो साथै कल्पना भण्डारी दोस्रो हुन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रकला पोख्रेले  जानकारी दिइन ।

त्यस्तै विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा विष्णुपादुका मा.वि पहिलो,  हेमजा बेडिङ दोस्रो भयो ।  हिले दौड खुल्लामामा  सागर नेपाली  प्रथम तथा अभियान तिम्सिना दोस्रो भए।

त्यसैगरी रस्साकस्सी प्रतिस्पर्धामा सुन्दर पुरी युवा समूह पहिलो तथा सिमपानी दाजुभाई  दोस्रो, बच्चा दौडमा वसन्त रसाइली प्रथम हुन सफल भए।

हलगोरु दौडमा हरी परियार प्रथम, रोशन परिवार दोस्रो भए । रस्साकस्सी महिलातर्फ  प्रथम र विश्वकर्मा आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा दहरे देउराली आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो साथै माछा समाउनेमा सरूँ परियार प्रथम र विवेक वि.क दोस्रो   भएको आयोजकले जानकारी दिएको छ।

हेमजाका कृषक डिल्लीनाथ अधिकारी,सीता तिम्सिना, र गोविन्द तिम्सिनालाई उत्कृष्ट किसान बाट सम्मानित भएका थिए । साथै हेमजाका विद्यालय मध्यबाट २०८१ को एसइइ मा ४ जिपिएका साथ उत्कृष्ट नतिजा ल्याउन सफल स्नो भ्यु सेकेन्डरी स्कुलका अंकित थापालाई पनि सम्मानित भए ।

हालै सम्पन्न मानव सेवा फाउन्डेसन नेपाल द्धारा आयोजित ऐतिहासिक श्री गण्डकी ज्ञान कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ मा आयोजित कोटिहोममा देशै भरीका तीन सय भन्दा बढी भजन प्रतियोगीहरू बिच हेमजाबाट प्रथम  भएको देविस्थान भजन समुह,द्धितिय माछापुच्छ्रे« सेवा समाज र उत्कृष्ट शब्द चयनको स्थान हासिल गर्न सफल मातृकेश्वर भजन समुहलाई भजन मार्फत हेमजालाई चिनाउन महत्त्वपूर्ण भूमिका रहेको भन्दै सम्मान गरियो ।

‘कृषिमा कृषकलाई प्रोत्साहन विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय विष्णुपादुका टोलमा महोत्सव भएको हो । कार्यक्रम शुरु अघि कृषि झाँकी सहितको शोभा यात्रामा विष्णुपादुका  मार्ग हुँदै मिलनचोक परिक्रमा गरी  महोत्सव स्थलमा पुगेकाे थियाे ।

महोत्सव देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत कार्यक्रम संयोजक चन्द्रकला पोख्रेलले र सञ्चालन सचिव पुष्पराज तिम्सिनाले गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18815, citypokhara.com

इन्टरसिटी एडभेन्चर ट्राभल्सले पर्यटक लक्षित छोरेपाटन–काठमाडौं लग्जरी बस सेवा सुरु

पोखरा । इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रा.लि.ले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ।

पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले आज रिबन काटेर बसको उद्घाटन गर्नुहुँदै यात्रुको आवश्यकता र चाहनाअनुसार गुणस्तरीय, आरामदायी र प्रविधिमैत्री सेवा प्रदान गर्न समितिसहित व्यवसायीहरू नयाँ लगानी र पहलमा सक्रिय रहेको बताउनुभयो। उहाँले समय र प्रविधिको मागअनुसार सेवाहरू परिमार्जन गर्न नसके व्यवसायमै पछि पर्ने अवस्था आउन सक्ने समेत बताउनुभयो।

इन्टरसिटी एडभेन्चर ट्राभल्सले पर्यटक लक्षित छोरेपाटन–काठमाडौं लग्जरी बस सेवा सुरु

निकट भविष्यमा मिनिबार सुविधा र थप प्रविधियुक्त गाडीहरू सञ्चालन गर्ने तयारी समितिको रहेको अध्यक्ष केसीको भनाई छ। यो बस सञ्चालनका लागि कासिराम न्याैपाने, रामु न्यौपाने र अमित बहादुर भण्डारी `माइला’ले संयुक्त रूपमा ४ करोड रुपैयाँ लगानी गर्नुभएको छ। छोरेपाटनमा काउण्टर रहेको यस कम्पनीले पर्यटक लक्षित चार वटा बस मार्फत पोखरा – काठमाण्डौ र काठमाण्डौ – पोखरा गरी दैनिक सेवा दिने छ।

“पर्यटक तथा स्थानीय यात्रीका लागि सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” सञ्चालक काशीराम शर्माले भन्नुभयो। उहाँका अनुसार यो सेवा काठमाडौं–पोखरा यात्रा अझ सुरक्षित, आरामदायी र व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको हो।

शर्माका अनुसार, गाडीमा वाइफाइ, आरामदायी सिट, सीसीटीभी सुरक्षा र अनुभवी चालकको व्यवस्था गरिएको छ। यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नियमित मर्मतसम्भार तथा समयमै सेवा सुरुवातमा विशेष ध्यान दिइएको छ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति लिमिटेड अन्तर्गत सञ्चालित बसबाट यात्रुहरू अब हरेक दिन बिहान र बेलुका गरी दुई–दुईवटा लग्जरी बस छुट्ने छन्। बसमा विशेषगरी रातको लामो यात्रालाई आरामदायी बनाउन बसमा स्लिपर सिट, एसी, वाइफाइ, मोबाइल चार्जिङ, चिया–बिस्कुट, स्न्याक्स र ब्ल्याङ्केटजस्ता सुविधाहरू रहेको अर्का सञ्चालक अमित बहादुर भण्डारीले जानकारी दिनुभयो।

“यो बस प्रविधियुक्त र पर्यटकमैत्री हो, हामीले यात्रुहरूलाई घरजस्तो महसुस गराउने सबै सुविधा राखेका छौं, बस सेवा आन्तरिक र बाह्य पर्यटकलाई जोड्न तयार पारिएको हो,”भण्डारीले भन्नुभयो।

कम्पनीले हालका लागि पोखरा – काठमाडौंको भाडादर १५ सय रुपैयाँ तोकेको छ। आगामी दिनमा थप गाडी र सेवा विस्तार गर्ने योजना इन्टरसिटी एडभेन्चर ट्राभल्सको छ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18803, citypokhara.com

प्रतिभा मावि (मन्टेश्वरी व्लक) का बालबालिकाहरुले खेतमा नै मनाए धान दिवस

पाेखरा । प्रतिभा मा विमा नर्सरीदेखि कक्षा १ सम्म  (मन्टेश्वरीका व्लक) मा अध्ययनरत बालबालिकाहरुले खेतमा नै गएर धान दिवसमा मनाएका छन् ।

राष्ट्रिय धान दिवसकाे अवसरमा विद्यालयले बालबालिकालाई भलाम फाँटमा भएकाे राेपाईँ महाेत्सवमा लगेकाे हाे ।

प्रतिभा मावि (मन्टेश्वरी व्लक) का बालबालिकाहरुले खेतमा नै मनाए धान दिवस

नेपाली  खाना, संस्कृति र किसानको मिहिनेत सम्झिने विशेष दिनकाे रुपमा मानिने असार १५ मा किसान, खेत र  परम्पराको सम्मान गर्न सिकाउने उद्देश्यले बालबालिकालाई राेपाईँ गराउन खेतमा लगिएकाे मन्टेश्वरी व्लग काेअर्डिनेटर निर्मला सुवेदीले जानकारी दिईन् ।

‘हामी हाम्रा बालबालिकालाई सैद्वान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि सिकाउँछाैं ।’ उनले भनिन्-‘धान दिवस मार्फत बालबालिकाले कृषि, धान रोप्ने प्रक्रिया, र खाद्य उत्पादन कसरी हुन्छ भनेर अनुभवात्मक सिकाइ गर्न सक्छन् भन्ने विश्वास लिएका छाैं ।’ उनले विद्यालयमा बालबालिकालाई विभिन्न दिवस, जयन्ती, चाडपर्व लगायतका अवसरहरुमा पनि साेहि अनुसारकाे व्यवहारिक ज्ञान दिने गरेकाे बताईन् ।

धान दिवसमा बालबालिकाहरुले  प्रत्यक्ष खेतमा हिलाेमा खेल्दै रमाउँदै, खेत खन्ने, धान राेप्ने लगायतका कार्यमा सरिक भए । यस अवसरमा उनीहरुले धान राप्ने कार्यमा प्रयोग हुन उपकरणहरू, हलो, ट्याक्टर, कोदाली आदिको चिनारी पाए भने आफूले खाने चामल खेतमा कसरी उम्रिन्छ भन्ने कुरा देखेर सिक्न पाए ।

धान राेप्ने व्यवहारिक सिकाईले किसानहरूले खेतमा कस्तो मेहनत गर्छन्। यसले गर्दा उनीहरूमा कृषकप्रतिको कदर र कृतज्ञता गर्नुपर्छ भन्ने कुरा बुझ्न पाए ।

कतिपय बालबालिकाहरु संस्कृति झल्कने पहिरनमा समेत सहभागी थिए । जसले नेपाली परम्परा र संस्कृति चिनाउन मद्दत गरेकाे थियाे भने खाजाकाे रुपमा खाएकाे दहि चिउराले नेपाली खानाकाे महत्वलाई पनि बुझाएकाे छ ।

‎

धान दिवस केवल कृषि होइन, यो हाम्रो संस्कृति, गीत, नृत्य र  सामुहिक मेलमिलापको उत्सव हो। यसले बालबालिकाले परम्परा बुझ्न र नेपालीपनको गर्व अनुभव गर्न सक्छन्।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18790, citypokhara.com

२२ औं राष्ट्रिय धान दिवस : धान खेतीमा हामी कसरी चुक्दैछौ ?

पंचकाजी श्रेष्ठ-अध्यक्ष/ राष्ट्रिय कृषक समूह महासंघ नेपाल । नेपाल कृषि प्रधान देश हो । यहाँका ६२% जनसंख्या कृषि पेशामा संलग्न छन । देशको कुल क्षेत्रफलको १,४७,१८१ बर्ग कि.मी. मध्य २७% ( ४२,२१,००० हेक्टर ) खेती योग्य जमीन छ । उक्त खेतीयोग्य जमीन मध्ये २०% (३०,९१,००० हेक्टर ) मा खेती गरिएको छ भने ७% ( १०,३०,००० हेक्टर ) खेती नगरिएको खेती योग्य जमीन रहेको छ । खेतीपातीको लागि अनुकुल हावापानी एवं बाली विविधताको लागि प्रचुर सम्भावना रहेर पनि हामी कहाँ चुक्दैछौ र पेशागत पलायनता बढदैछ साथै आयत आकासीदो छ ।

विगत १० वर्ष देखि सरकारले नीति तथा कार्यक्रम मार्फत उत्पादनलाई दोब्बर बढाउने आयात प्रतिस्थापन कृषिको ब्यवसायिकरण, यान्त्रीकरण, र औधोगिकरणको रटान लगाउँदै आएको छ । कृषि लगानी दशक जस्ता कर्णप्रीय नीति पनि घोषणा गरेको छ । तर यसको ठोस कार्यनीति, कार्ययोजना छैन । नेपाली कृषिको वस्तविक धरातल फरक छ । देशको करिब ४४ लाखको हाराहारी घर परिवारले कुषि कर्म गर्दै
आएका छन । जसमध्ये करिब ४१ लाख घर परिवार पारिवारिक खेती प्रणालीमा रहेका छन । पारिवारिक खेती नेपालको मौलिक खेती प्रणाली हो । यसबाट ८०% खाद्यान्न उत्पादन हुने गरेको छ । अहिलेको अवस्थामा कृषि पेशामा संलग्न हुने भनेको अधिकांश महिलाहरु छन । देशको १९.७१% जमीन मात्र महिलाको नाममा छ । उक्त जमीन मध्ये पनि ११% मात्र उनीहरुको आफ्नो अधिनमा रहेको छ । महिलामैत्री
कृषि प्रविधिको विकास हुन सकेको छैन । बैँक तथा वित्तिय संस्थाले उनीहरुलाई पत्याउँदैन ।

नेपालमा १५ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ । उत्पादनको हिसावमा विश्वमा नेपाल धान उत्पादन गर्ने १७ औं स्थानमा रहेको छ । तर प्रतिवर्ष धान उत्पादनको क्षेत्रफल विस्तार कम हुँदै गएको छ । । विगत ६० को दशकमा चामल निर्यातक कार्यालय राखेर नेपाली स्वस्थ उत्पादन धान चामल निर्यात गर्ने १९८० देखि विस्तार उत्पादन घटदै गएर देश हाल आयात गर्ने देशमा परिणत भयो ।

नेपालमा अनुसन्धान किसानको घर खेत सम्म पुगेन । किसानको चाहना र उपभोक्ताको रोजाई र आवश्यकता अनुसारको धानको जाल विकास गरी उपलब्ध गराउन सकेन । एउटा उदाहरण हेरौं हाम्रो बजारले मध्येम स्तरको जीरा मसिनो चामाल बढि खोज्छ । तर नेपालमा हाईब्रीड धान बढी फलाईन्छ र मोटा चामल निकालीन्छ । मसिनो धान निकै कम खेती गरीन्छ । कृषि प्रधान देशले उपभोक्ताको आवश्यकता अनुसारको धान उत्पादन गर्न सकेको छैन । उल्टै बाहिरबाट किनिन्छ । उत्पादनको हिसाबमा हामिले वार्षिक ४८ लाख टन धान उत्पादन हुन्छ । वार्षिक माग ६० लाख टन हो । माग अनुसार साथै बजारको चहाना अनुसारको उत्पादन नहुदा वार्षिक १६ अर्व भन्दा बढि मुल्यको धान चामलको खरिद गरिदै आएको छ ।

हाल प्रति हेक्टर २ देखि ३ मेट्रिक टन उत्पादन हुदै आएको छ । हामीले प्रविधिको उपयोग, सिंचाईको सहि ब्यवस्थापन गर्न सकेमा प्रति हेक्टर ५ मेट्रिक टन उत्पादन बनाउन सकिने विज्ञको सुझाव छ । यसले अपुग चामलको मागको आपूर्तिमा सहयोग गर्दछ । सिचाई योग्यमा सिंचाई चाहिने धान, चैते धान, सुख्खा सहने जातको धानमा विविधिकरण गर्दा धान जन्य खाद्यन्नको संतुलनमा हामीलाई समस्या रहदैन ।

यसर्थ साना किसानको विविधिकृत उत्पादन र खानेबानीको सुधार एवं उत्पादनमा आधारीत खाद्य सुरक्षाको प्रवद्र्धन आवश्यक देखियो ।
उत्पादनको लागि आवश्यक विउमा नेपालको परनिर्भरता बढदो छ । मलखादको उपलब्धता छैन । कृषि प्रसार बरालीएको छ । आयातीत खाद्य वस्तुले बजार बहकीएको छ । स्थानीय उत्पादनले बजार र उचीत मुल्य पाउँदैन । उत्पादन गर्ने किसानले भण्डार र प्रशोधनको ब्यवस्थाबाट लाभ लिन पाएको छैन । कृषि उत्पादन विउ मल, औजार, बजारमा दिईने अनुदानको दुरुपयोग एवं किसानको पहुँचमा पुगेन ।

कुराले कृषि बिग्रियो । कृषि भनेको कर्म हो । कृषि पेशा भनेको धर्म हो । धर्म र कर्मको प्रतिफल भनेको उत्पादन, रोजगारी र जीविकोपार्जन हो । कृषि अन्य देश र भूगोलको देखेर नक्कल गर्ने बस्तु पनि होइन, यो त नितान्त हावापानी, किसानको क्षमता, आर्थिक अवस्था, राज्यको नीति नियम, ऐन कानुन र उपभोक्ताको चेतानस्तर र उपयोग क्षमतामा भर पर्ने कुरा हो ।

त्यसैले कृषिलाई पर निर्भरतामुखी नभई स्थानीय श्रोत साधन, क्षमता बिज्ञता तथा ज्ञान सीपमा केन्द्रित गर्दै समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्दछ । अनुदान, लगानी र उत्पादनमा भएको समस्याको निमर्म विश्लेषण सुधार आवश्यक छ । कृषि भूमिको वर्गिकरण, किसानको पहिचान, वर्गिकरण र किसान परिचयपत्रको आधारमा सेवा सुविधाको व्यवस्थाको लागि स्थानीय सरकारलाई जीम्मेवार बनाउन सकिएमा रुपान्तरणको शुरुवात, उत्पादकत्वको बृद्धि र धान दिवसको सन्दर्भिकता थप बलियो बन्छ ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18784, citypokhara.com

पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जना पुरस्कृत

पोखरा ।
पोखरा महानगरपालिका नगर युवा परिषदले अनलाइनखबरकर्मी अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत भएका हुन् ।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पत्रकारिता गरिरहेका सुवेदीलाई युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका हुन् । सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा थियटरका सञ्चालक मुक्तिबहादुर कार्की (परिवर्तन) कृषिबाट अर्गानिक ‘हरिलो’ उत्पादन तथा विक्री गरिरहेकी रोशनी आचार्य, खेलकुद क्षेत्रबाट लङ टेनिशका खेलाडी प्रदीप खड्का पुरस्कृत भए ।

पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा दीगो विकास क्षेत्रमा क्रियाशील पौडेल फोहोरमैला व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेर काम गरिरहेका छन् । विज्ञान तथा प्रविधि, शिक्षा क्षेत्रबाट पुरस्कृत नेपालीले रेस्ट्रो एक्स एपमार्फत देश तथा विदेशमा १० हजार होटल, रेस्टुरेन्टलाई डिजिटल सेवा दिइरहेको छ । उनले ४६ जनालाई रोजगारी दिइरहेका छन् ।

कला, साहित्य, संस्कृति तथा नाट्य क्षेत्रबाट पुरस्कृत परिवर्तनको नेतृत्वमा नाटक घर निर्माण गरेर नाटक निर्माण, मञ्चन तथा प्रवद्र्धनमा लागि परेका छन् । हरिलो नाममा अर्गानिक अचार देश तथा विदेशमा पु¥याइरहेकी रोशनीले मासुजन्य अचारसहित विभिन्न कृषि उत्पादनको बजारीकरण गरिरहेकी छन् । हरिलोमा अहिले २५ जनाले रोजगारी पाएका छन् ।

लङ टेनिश खेलाडी प्रदीप नेपालकै उत्कृष्ठ खेलाडी हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।

गण्डकी विश्वविद्यालयका डिन डा। कपिल अधिकारीको संयोजकत्वमा गण्डकी प्रेस रजिस्टार विमला भण्डारी, पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, कानुन व्यवसायी कुञ्जनी प्यासीपरियार, पोखरा खेलकुद समितिका उपाध्यक्ष दीपक गोदार, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा ६ जनालाई पुरस्कृत गरिएको पोखरा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । ६ जना युवाहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरे ।

विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यक्तिहरुले ६ जना युवाहरुको नाम सिफारिस गरेका थिए । छनोट समिति संयोजक डा। अधिकारीले आआफ्नो क्षेत्रमा दख्खल राखेका देशमै सम्भावना देखाइरहेका युवाहरुको सूचीबाट ६ जनाको नाम सिफारिस गरिएको बताए । ‘६ वटा क्षेत्रमा विभाजन गरेर विभिन्न चरणको छनोट प्रक्रियाबाट नाम टुंग्यायौं तर यो सूचीमा हुने अन्य पनि योग्य नभएर होइन, भएकामध्येबाट राम्रो छानिएको हो,’ संयोजक अधिकारीले भने ।

साहित्यकार उपेन्द्र पौडेलले पोखरा अब भूगोल नभएर संस्कृति बनेको बताउँदै नागरिकता हेरेर युवा प्रतिभा छनोट गरिएको बताए । पोखरा महानगरका मेयर आचार्यले अहिले समाजमा निराशामात्रै व्यक्त भइरहेका बेला आशा जगाइरहेका युवाहरुलाई पुरस्कृत गर्दा अन्य युवाका निम्ति पनि प्रेरणादायी हुने बताए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18781, citypokhara.com