Breaking News
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको  ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन्  ।

यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा रहेका छन् । स्याङजाबाट दिलिप कुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन बिक र शोभा परियार, बागलुङबाट प्रेम बिक र ललिता घर्ती छनोट भएका छन् । म्याग्दीबाट विजय परियार र गरिमा परियार, तनहुँबाट अन्जना गुरुङ, कमल आले, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ, लमजुङबाट मन बहादुर गुरुङ रञ्जित र युगेश परियार, नवलपुरबाट यजीकल परियार र कोपिला गुरुङ रहेका छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भने प्रतिष्ठानको शाखा छैन ।

 विश्व सङ्गीत दिवसको दिन  असार ७ गते हुने अन्तिम प्रतिष्पर्धाको लागि उनीहरू आ–आफ्नो जिल्लामा भएको जिल्ला अडिसनबाट छानिएको प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

 नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेको उनीहरूको प्रतिभा बाहिर ल्याएर अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाइ छ । कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि  बढिरहेको  उनले बताए ।

प्रतियोगितामा प्रथम हुन सफल प्रतिभाले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ समेत हात पार्नेछन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रथम, द्वितीय र तृतीयले निःशुल्क एउटा अडियो रेकर्ड गर्ने अवसर समेत पाउनेछन् ।

प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी रहेका छन् । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ रहेका छन् ।

सेमिफाइनल र फाइनल प्रतिष्पर्धा असार ७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ ।  प्रतियोगीले ५ मिनेटको प्रस्तुती राखेपछि उत्कृष्ट १० छनोट गरिने कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उत्कृष्ट १० पुग्नेले आयोजकले दिएका १९ वटा गीत मध्येबाट एउटा गीत र आफ्नो इच्छा अनुसारको एउटा गीत गाउनुपर्ने कार्यक्रम संयोजक सुवेदीले खुलाए ।

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान गण्डकीले गर्ने कार्यक्रम आउन एक महिना बाँकी हुँदै गर्दा तयारी तीव्रताका साथ अगाडि बढाइरहेको कार्कीले बताए । यो वर्ष अधिवेशनको वर्ष समेत भएको र यो कार्यक्रम आफ्नो कार्यकालको विशेष कार्यक्रम समेत भएको भन्दै कार्कीले सबैको साथ सर्पोटमा भव्यताका साथ कार्यक्रम सम्पन्न हुने विश्वास गरेको सुनाए ।

 प्रतियोगितामा मुख्य प्रायोजन पोखराको सिर्जनाचोकमा रहेको आरके हस्पिटालिटी ह्युमन रिर्सोस मेनेजमेन्ट प्रालिले गरेको छ । प्रतिष्ठान गण्डकी अध्यक्ष कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव रामजी पौडेलल गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18661, citypokhara.com

एकता समूहकाे एक रुपैयाँ अभियान, वृद्वाश्रममा सहयाेग

पोखरा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थापना गरिएको एकता दिदीबहिनी समूहले सामाजिक सेवाको क्षेत्रमा प्रेरणादायी कार्य गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

समूहका ३६ जना सदस्य दिदीबहिनीहरूले वर्षभरि प्रतिदिन एक रुपैयाँ बचत गरी वृद्धाश्रमलाई सहयोग गरेका छन्।

यो अभियानअन्तर्गत ३६ जना सदस्यहरूले एक वर्षसम्म प्रतिदिन एक रुपैयाँका दरले ३६५ रुपैयाँ सङ्कलन गरे। यसरी जम्मा भएको रकममा केही सदस्यहरूले इच्छा अनुसार थप रकम पनि योगदान गरे, जसले सहयोगलाई अझ सशक्त बनायो।

एकता समूहकाे एक रुपैयाँ अभियान, वृद्वाश्रममा सहयाेग

‘हाम्रो सानो प्रयासले वृद्धाश्रममा आश्रित आमाबुबाहरूको जीवनमा केही राहत पुगोस् भन्ने नै हाम्रो उद्देश्य हो ‘ समूहकी अध्यक्ष पूजा शर्माले भनिन्। सामूहिक रूपमा गरिएको सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने पाठ यस अभियानले हामी सबैलाई सिकाएको छ।

सामूहिक भावना र सेवाको मनोवृत्तिबाट प्रेरित यो कार्यले समाजमा एकता, महिला सशक्तीकरण र सामाजिक उत्तरदायित्वको गहिरो सन्देश दिएको छ।

समूहले पहिलो वर्षमै यति उदाहरणीय कार्य गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता देखाएको छ। वृद्धाश्रममा आर्थिक सहयोग प्रदान गर्नुका साथै, उनीहरूले त्यहाँ आश्रित सबै आमाबुबाहरूलाई आत्मीयताका साथ खाना खुवाएर सम्मान प्रकट गरेका थिए। समूहले आगामी दिनहरूमा पनि यस्तै सेवामूलक र प्रेरणादायी अभियानहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18656, citypokhara.com

पोखरामा यु-14 अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सुरु

पोखरा । सुशान्त आमा समूहको आयोजना र सुशान्त बाल क्लबको व्यवस्थापनमा यु-14 अन्तरविद्यालय पुरुष–महिला ह्यान्डबल प्रतियोगिता पोखराको रंगशालामा सुरु भएको छ।

कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोग तथा गण्डकी प्रदेश खेलकुद परिषद्को सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा पोखराका २१ वटा विद्यालयका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिता असार ३ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य पञ्चराम गुरुङले यस्ता प्रतियोगिताले बालबालिकामा अनुशासन, नेतृत्व विकास र सामूहिक कार्यको भावना जागृत गर्ने विश्वास व्यक्त गरे। उनले यस्ता गतिविधिहरू खेलकुदमा मात्र सीमित नभई बालबालिकाको समग्र व्यक्तित्व विकासमा समेत सहयोगी हुने बताए । साथै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको उल्लेख उनले जोड दिए।

प्रतियोगिताको उद्देश्य बालबालिकामा खेलप्रतिको रुचि जगाउनु र उनीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउनु रहेको आयोजकले जनाएको छ। छात्र र छात्रा दुवैतर्फ सञ्चालित यो प्रतियोगिताको प्रारम्भिक चरणमा नगरका विभिन्न विद्यालयहरूबीच प्रतिस्पर्धा भइरहेको छ।

पोखरामा यु-14 अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सुरु

सुशान्त आमा समूहकी अध्यक्ष पवित्रा थापाले बालबालिकालाई खेलकुदमा सक्रिय बनाउने र उनीहरूको प्रतिभा देखाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्। यस्ता कार्यक्रमले भविष्यका खेलाडी तयार पार्न मद्दत गर्ने र बालबालिकाले आत्मविश्वास र अनुशासन सिक्ने वातावरण पाउने उनकाे भनाई छ।

प्रतियोगिताको व्यवस्थापन गर्दै आएको सुशान्त बाल क्लबले पनि बालमैत्री कार्यक्रमहरू सञ्चालन गर्ने गरेकाे छ । क्लबले बालबालिकाको विकासलाई पहिलो प्राथमिकता दिएको छ।

सुशान्त बाल क्लबका अध्यक्ष परिवेश थापाले खेलकुदले हामीजस्ता बालबालिकामा आत्मबल र सामाजिक कौशल विकास गर्न सहयोग पुग्ने बताए। उनले यस्ता प्रतियोगिताले हामीमा सहकार्य, आत्मविश्वास र मित्रताको भावना जागृत गर्नुका साथै उज्ज्वल भविष्यतर्फ डोर्‍याउन मद्दत पुग्ने उल्लेख गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र, शिल्ड र मेडल दिइनेछ। पहिलो स्थान प्राप्त टोलीलाई १३ हजार, दोस्रो स्थानलाई १० हजार र तेस्रो स्थानलाई ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, प्रत्येक खेलमा उत्कृष्ट खेलाडी र प्रदर्शनी खेलाडीलाई सम्मान स्वरूप प्रमाणपत्र दिइनेछ। अनुशासित टोलीलाई पनि प्रमाणपत्रबाट सम्मान गरिनेछ।

सचिव सुदर्शन कोइरालाले सञ्चालन गरकेाे कार्यक्रममा वडा नं. १७ की अध्यक्ष राधिका कुमारी शाही योगी, गण्डकी प्रदेश ह्यान्डबल सङ्घका अध्यक्ष केशव पाठक, कास्की जिल्ला ह्यान्डबल सङ्घका अध्यक्ष चित्रबहादुर थापा, मुख्य रेफ्री रामबहादुर क्षेत्री, रेफ्री साइमन कार्की लगायत उपस्थित थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18651, citypokhara.com

मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ।

मादी गाउँपालिका वडा नम्बर ५ स्थित चण्डिका आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरबाट ८१ जनाले सेवा लिएका थिए । शिविरको उद्घाटन गर्दै मादी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हुमानाथ अधिकारीले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम गरिएको बताए ।

मादी गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक गोपाल चन्द्र बरालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल परिवार नियोजन सङ्घ कास्कीका सभापति नवीन सिग्देलले स्थानीय सरकार, आमा समूह, टोल विकास संस्था र क्लबहरूसँग सहकार्य गर्दै संघ अगाडि बढेको उल्लेख गरे ।

शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर प्रेम पंगेनीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18647, citypokhara.com

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट सार्वजनिक

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री डा. टंकराज गुरुङले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ अर्थात् ३९.५ प्रतिशत चालु खर्चका लागि विनियोजन गरिएको छ । पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ अर्थात् ५६.७ प्रतिशत छुट्याइएको छ। त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन ०.८ प्रतिशत हो।

बजेटको स्रोततर्फ हेर्दा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान ७ अर्ब ९३ करोड रुपैयाँ, राजस्व बाँडफाँट ९ अर्ब ७९ करोड रुपैयाँ, रोयल्टी ४९ करोड रुपैयाँ र सशर्त अनुदान ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। यस्तै, समपूरक अनुदान ६३ करोड रुपैयाँ, विशेष अनुदान ४९ करोड रुपैयाँ र प्रदेशको आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

मन्त्रालयगत रूपमा विनियोजित बजेटमध्ये भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थातर्फ सबैभन्दा बढी ११ अर्ब ९८ करोड रुपैयाँ छुट्याइएको छ। ऊर्जा, जलस्रोत तथा खानेपानीतर्फ ३ अर्ब ८८ करोड, स्वास्थ्यतर्फ ३ अर्ब ३२ करोड, सामाजिक विकासतर्फ २ अर्ब ३९ करोड, कृषितर्फ २ अर्ब ८ करोड, वन तथा वातावरणतर्फ १ अर्ब ६ करोड र उद्योग तथा पर्यटनतर्फ ८४ करोड २१ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।

मन्त्री गुरुङले बजेट प्रस्तुत गर्दै प्रदेशको समावेशी तथा दिगो विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना, तथा सामाजिक क्षेत्रको सुदृढीकरणमा प्राथमिकता दिइएको उल्लेख गरे।

यस्ताे छ गण्डकीकाे बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट सार्वजनिक

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18638, citypokhara.com

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए ।

संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे । समापन कार्यक्रममा कोटीहोम सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गरे ।

समापनमा कोटीहोमका सहसंयोजक युवक लामिछानेले गणतन्त्रभित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जोड दिए । उनले मामाघर अनाथ आश्रम बनाउनका लागि पाँच लाख, कोटीहोमका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

कोटीहोममा आयोजित रक्तदानमा नौ सय छ युनिट रगत संकलन भएको छ । साथै कोटीहोममा हालसम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला भएको थियो ।

जेठ २६ गते पूर्णाहूति भएको हवनमा चार सय ब्राम्हणद्वारा एक करोड ५० लाख हवन भएको थियो ।

कोटीहोममा पाँच सय २५ जनाको आयोजित ब्रतवन्ध, एक सय २० जनाको तुलादान, एक सय ३५ जनाको चौरासी पूजा, एक सय ४६ जनाको नवग्रह शान्ति, १४ जनाको काल सर्प योग पूजा, पाँच जनाको अर्क विवाह, अष्ट महादान चार, पितृको अर्चना ३३, लघु रुद्री पाँच, अति रुद्री १८, विवाह एक, गुन्यू चोली पाँच, लाखवत्ती सेवा २२ अन्य पूजा ४५ जनाले गरेको प्रचारप्रसार संयोजक लोकराज ढकालले जानकारी दिए ।

कोटीहोमको हवन पूर्णाहूतिमा २१ करोड दीप प्रज्ज्वलन गरिएको थियो । कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार आठ नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।

हवन कुण्डमा वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश, ७ बजेर १९ मिनेटमा अग्निमा समीधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी शुरु भएको थियो ।

कुण्डमा तीन, तीन जना ब्राम्हणले हरेक दिन भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राम्हणले पाठ गरेका थिए ।

प्रचारप्रसार संयोजक ढकालका अनुसार कोटीहोममा भागवत मञ्जरी राधिका दासी, अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरेका थिए ।

कोटीहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा वैशाख १७ देखि जेठ ३१ सम्म सञ्चालन भएको थियो । यसअघि कोटीहोम जेठ २६ गते समापन हुने भनिए पनि भक्तजनको चापका कारण समयावधि थप भई ३१ गतेसम्म सञ्चालन भएको थियो ।

कोटीहोम समापनसँगै भागवत मञ्जरी राधिका दासीको भव्य बिदाई गरिएको छ । दासीले जेठ १७ देखि समापनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन् । दासीको बिदाईमा कोटीहोममा सहभागी सबै भावविह्वल भएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18635, citypokhara.com

पोखरामा सूचना प्रविधि सम्मेलन सम्पन्न

पोखरा । पोखरामा वर्डप्रेस पोखरा समाजको आयोजनामा दुई दिने सूचना प्रविधि सम्मेलन सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको सम्मेलनमा नेपाल, भारत, बंगलादेश, जर्मनी, फिलिपिन्सलगायत देशका करिब ८०० जना सहभागी थिए।

सम्मेलनमा वेब डिजाइन, साइबर सुरक्षा, युजर इन्टरफेस डिजाइन, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन, मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स र वर्डप्रेस समुदायको विकासजस्ता विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूले आफ्नो अनुभव र ज्ञान आदानप्रदान गरे।

पोखरामा सूचना प्रविधि सम्मेलन सम्पन्ननेपालबाट नारायण कोइराला, मिलन खनाल, क्षितिज बराल, सारिका घिमिरे, आविष्कार भट्टराई, जर्मनीबाट अर्तुर न्युमन, भारतबाट आदित्य शाह, आस्था जैन, अभिषेक कौशिक, बंगलादेशबाट ममुता हिना फागुनीलगायत ३० जना वक्ता थिए।

दोस्रो दिन ‘नेपालमा डिजिटल नोम्याड: सम्भावना र चुनौती’ विषयमा बहस भएको थियो। बहसमा अनिकेश मिश्र, अर्तुर न्युमन, निहार चमरबन्दु, सविन बराल सहभागी थिए भने सुवास खड्काले सहजीकरण गरे।

वर्डप्रेस पोखरा समाजका सहसंयोजक पारस देवकोटा

वर्डप्रेस पोखरा समाजका सहसंयोजक पारस देवकोटाले यो सम्मेलनले सूचना प्रविधि क्षेत्रमा प्रशिक्षण, सहकार्य र समन्वयलाई मजबूत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। यसअघि २०२३ मा पनि पोखरामा वर्डक्याम्प नेपाल सम्मेलन भएको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18628, citypokhara.com

वडा स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पोखरा । सुशान्त बाल क्लबको आयोजना र वडा नं. १७ को सहयोगमा आयोजित वडा स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा १४ वटा विद्यालयहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा छोरेपाटन माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु. ३ हजार र प्रमाणपत्र प्राप्त गर्‍यो। दोस्रो भएकाे पार्दी माध्यमिक विद्यालयले नगद रु. २ हजार र प्रमाणपत्र प्राप्त गर्‍यो। त्यसैगरी, तेस्रो स्थान प्राप्त पार्दै विद्या निकेतन माध्यमिक विद्यालयले नगद रु. १ हजार ५ सय र प्रमाणपत्र हात पार्‍यो भने सहभागी सबै विद्यालयहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

वडा स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

प्रमुख अतिथि वडा प्रमुख राधिका कुमारी शाहीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस्ता रचनात्मक कार्यक्रमहरूको आयोजना आवश्यक रहेको बताउँदै आयोजक टिमलाई धन्यवाद दिइन्। उनले आगामी दिनमा पनि वडाबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।

विशिष्ट अतिथि तारा परियारले बालबालिकाको प्रतिभा प्रस्फुरणका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताइन्। प्रतियोगिताको क्विज मास्टरको भूमिकामा सन्तोष पौडेलले उत्कृष्ट प्रस्तुति दिएका थिए।

कार्यक्रममा बोल्दै सुशान्त बाल क्लबका अध्यक्ष परिवेश थापाले हाजिरी जवाफ प्रतियोगिताले बालबालिकाको बौद्धिक क्षमता र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता र नेतृत्व विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूको उत्साह र सक्रियताले सबैलाई प्रभावित पारेको थियो।

यो प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै वडा नं. १७ मा बालबालिकाको बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18620, citypokhara.com

नेपाली कोदो बिस्कुट पहिलोपटक अष्ट्रेलिया निर्यात

पोखरा । नेपालको आफ्नै कोदोबाट बनाइएको बिस्कुट अब अष्ट्रेलियामा पनि बिक्री हुने भएको छ। Arksh Food ले बनाएको ‘कोदो बिस्कुट’ पहिलोपटक अष्ट्रेलिया निर्यात भएपछि नेपाली खानेकुराले विश्व बजारमा ठूलो सफलता पाएको छ। अष्ट्रेलियाको Hama Global Pty. Ltd. कम्पनीमार्फत यो बिस्कुट त्यहाँका पसलहरूमा पुग्नेछ।

यो निर्यातले नेपालको कृषि, खानेकुरा र संस्कृतिलाई विश्वमा चिनाउने मौका दिएको छ। ‘Made in Nepal’ को नामलाई बलियो बनाउन यो बिस्कुटले ठूलो भूमिका खेल्नेछ।

कोदो नेपालमा धेरै पहिलेदेखि खाइँदै आएको स्वस्थ अन्न हो। पहिला कोदोबाट ढिँडो र रोटी बनाइन्थ्यो, तर Arksh Food ले नयाँ पुस्तालाई मन पर्ने बिस्कुट, कुकीज र पफ बनाएर बजारमा ल्याएको छ। यो बिस्कुट स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि राम्रो छ।

नेपाली कोदो बिस्कुट पहिलोपटक अष्ट्रेलिया निर्यात

कम्पनीले नेपालमै उब्जिएको कोदो प्रयोग गर्छ। “हामी विदेशी कोदो होइन, नेपाली किसानले फलाएको कोदो प्रयोग गर्छौं,” कम्पनीले भन्छ। यसले नेपाली किसानलाई पनि फाइदा पुग्छ।

अष्ट्रेलियामा बस्ने नेपालीहरू र स्वास्थ्यलाई ध्यान दिने अष्ट्रेलियालीहरूका लागि यो बिस्कुट बनाइएको हो। यो बिस्कुटमा फाइबर र खनिज धेरै हुन्छ, जसले स्वास्थ्यलाई फाइदा गर्छ।

Arksh Food ले यो बिस्कुटलाई नेपालको स्वाद, पोषण र संस्कृतिको मिश्रणको रूपमा बजारमा ल्याएको छ। नेपालमा यो बिस्कुट चिनी भएको र चिनी नभएको दुवै प्रकारमा पाइन्छ। पछि कोदो पफ र कुकीज पनि बनाइयो, जुन धेरैले मन पराए।

नेपालमा लोकप्रिय भएपछि कम्पनीले अब अमेरिका, बेलायत, जापान र मध्यपूर्वमा पनि यो बिस्कुट पठाउने योजना बनाएको छ।

Arksh Food ले खानेकुरा मात्र बनाउँदैन, नेपाली किसानलाई पनि सहयोग गर्छ। नेपालमै कोदो खेतीलाई प्रोत्साहन गरेर किसानको आम्दानी बढाउने र वातावरणमैत्री खेतीलाई जोड दिने कम्पनीको लक्ष्य छ।

कम्पनीको नारा छ “नेपालदेखि विश्वसम्म: स्वस्थ खाना, स्वस्थ जीवन!”यो नाराले नेपालको कृषि, स्वास्थ्य र संस्कृतिको कुरालाई विश्वमा फैलाउने सन्देश बोकेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18615, citypokhara.com

कास्कीका गणित शिक्षकलाई तीन दिने तालिम

पोखरा । कास्कीका गणित शिक्षकहरूलाई विद्यार्थीको सिकाइमा एकरूपता र गुणस्तर सुधार गर्ने उद्देश्यले तीन दिने तालिम दिइएको छ। पोखरा महानगरपालिका वडा नं. २९ को आर्थिक सहयोग र जनप्रकाश माविको व्यवस्थापनमा आयोजित तालिममा ४० विद्यालयका ८० शिक्षक सहभागी थिए।

मंगलबारदेखि सुरु भएको तालिमको समापनमा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समयानुकूल शिक्षण विधि अपनाएर विद्यार्थीको सिकाइमा स्पष्टता ल्याउन तालिम उपयोगी हुने बताए। जनप्रकाश माविका व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भवानी कालीका माविका प्रअ रमेश भट्टराई, कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल र प्रअ शेखरनाथ शर्माले सरल र सहज शिक्षण विधिको महत्वमा जोड दिए।

तालिममा प्राध्यापक दयाराम श्रीखण्डा (डिआर), प्रेमनारायण पोखरेल (पानी पोखरेल), वेद शर्मा, स्थिरबाबु सुवेदी र वेदप्रसाद ढकालले आधुनिक र प्रभावकारी गणित शिक्षण विधिबारे प्रशिक्षण दिएका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18612, citypokhara.com