Breaking News
पुम्दीकोटदेखि बुद्ध पार्कसम्म ८ किलोमिटर पर्वतीय दौड, ६ विधामा प्रतिस्पर्धा

पोखरा । खेल पर्यटनमार्फत पोखराका ग्रामीण पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो पर्वतीय दौड प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।

शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजकले विश्व पर्यटन दिवसको अवसर पारेर आगामी असोज २४ गते प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो। ‘पुम्दीभुम्दी पर्वतीय दौड’ भन्ने मूल नाराका साथ आयोजना हुने दौड विश्वशान्ति स्तूपबाट सुरु भएर पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ।

८ किलोमिटर दूरीको प्रतियोगितामा खुला, वडास्तरीय, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ पाउनेछन्। छैटौँदेखि दशौँ स्थानसम्मका धावकलाई जनही १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

वडास्तरीय खुला, महिला र यू–१६ तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउनेछन्। विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित सम्मान गरिनेछ।

प्रतियोगिताका संयोजक दीननाथ बरालले खेल पर्यटनसँगै पोखरा आसपासका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। पर्वतीय दौडमार्फत ग्रामीण पर्यटकीय गन्तव्यलाई पर्यटकसँग जोड्दै स्थानीय अर्थतन्त्र र कृषि क्षेत्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

पोखरा–२२ का अध्यक्ष हिमलाल बरालले वडाका पर्यटकीय क्षेत्रको विकासका लागि पदमार्ग, पूर्वाधार तथा शौचालय निर्माणलगायतका काम अघि बढिरहेको बताए। पोखरा आउने पर्यटकलाई लेकसाइडमा सीमित नराखी ग्रामीण पर्यटकीय क्षेत्रमा समेत केही दिन बस्ने वातावरण बनाउने अभियानमा प्रतियोगिताले सहयोग गर्ने उनको भनाइ थियो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले यस्ता कार्यक्रमले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्यटकीय क्षेत्रको प्रचार हुने बताए। विदेशी धावक सहभागी हुँदा उनीहरूलाई स्थानीय क्षेत्रमा आवास, खानपान र यातायातलगायतका सेवा आवश्यक पर्ने भएकाले त्यसबाट पर्यटन व्यवसायमा समेत प्रभाव पर्ने उनको भनाइ छ। उनले पोखराको लेकसाइड केन्द्रित पर्यटनलाई पश्चिमतर्फका पुम्दीकोट, विश्वशान्ति स्तूप र बुद्ध पार्कजस्ता गन्तव्यसँग जोड्न पर्वतीय दौड उपयोगी हुने बताए।

बुद्ध पार्कका अध्यक्ष राजु गुरुङले पर्वतीय दौडले पर्यटनसँगै स्वास्थ्य प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने बताए। आगामी संस्करणमा विगतका कमजोरी सुधार गर्दै प्रतियोगितालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता उनले जनाए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पर्वतीय दौडले ग्रामीण पर्यटन र स्थानीय अर्थतन्त्रलाई जोड्ने बताए। पत्रकार महासंघले पनि प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।

प्रतियोगितामा सहभागी हुन पोखरा क्लिक अनलाइनमार्फत अनलाइन फाराम भर्नुपर्नेछ। असोज २१ गते राति १२ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक अवकाशप्राप्त लेफ्टिनेन्ट कुसाङकुमार गुरुङले प्रायोजन गरेका छन्। नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा–२२ को सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख ९७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22773, citypokhara.com

भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

काठमाडौँ । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। 

स्वास्थ्य तथा खाद्य स्वच्छताको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई अध्यक्ष नियुक्त गरिएको हो। त्यस्तै, नवराज तिमिल्सिना र अनिता खड्कालाई सदस्य नियुक्त गरिएको छ। 

शुक्रबार स्वास्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनीहरूलाई नियुक्ति पत्र प्रदान गरेकी छन्। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्ने विश्वास लिइएको जनाएको छ। 

भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।

दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन

पोखरा । दलित अधिकार तथा विकाससम्बन्धी प्रस्तावित विधेयकमाथि पोखरामा संवाद तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

दलित महिला संघ (FEDO) कास्कीको आयोजनामा भएको कार्यक्रममा सरकारले मस्यौदा गरेको ‘दलित अधिकार तथा विकास विधेयक’ मा समेटिएका विषय, दलित समुदायका अधिकार तथा कार्यान्वयनका सम्भावित पक्षबारे छलफल गरिएको हो।

कार्यक्रममा अधिवक्ता शिव सुनारले प्रस्तावित विधेयकका प्रमुख व्यवस्था, दलित अधिकारको संवैधानिक आधार तथा विधेयकले सम्बोधन गर्न खोजेका विषयबारे सहजीकरण गरेका थिए। सहभागीहरूले विधेयकमा दलित समुदायका सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी अधिकारलाई प्रभावकारी रूपमा समेटिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा निजी विद्यालय तथा अस्पतालमा दलित तथा विपन्न समुदायका लागि निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने, दलित महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरिएको थियो।

दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन

कार्यक्रमका प्रमुख अतिथि  जिल्ला समन्वय समिति कास्कीकी सदस्य सीतादेवी विश्वकर्माले दलित समुदायको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थासँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताईन्

कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, नेकपा (एमाले) कास्की जिल्ला कमिटीका सचिव लालबहादुर परियार, दलित महिला संघ गण्डकी प्रदेश संयोजक सुमित्रा गायक, संघका जिल्ला सदस्य सरस्वती परियार लगायतका सहभागीहरूले विधेयकलाई व्यवहारिक र कार्यान्वयनमुखी बनाउन स्थानीय तहको भूमिकालाई समेत स्पष्ट पारिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा पोखरा महानगर क्षेत्रका दलित अगुवा, अधिकारकर्मी, अभियन्ता, जनप्रतिनिधि, महिला समूह तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले प्रस्तावित विधेयकमा समेटिनुपर्ने विषय र सुधार गर्नुपर्ने प्रावधानबारे सुझाव दिएका थिए।

दलित महिला संघले जातीय भेदभाव तथा छुवाछुत र लैंगिक विभेदको दोहोरो शोषणमा परेका दलित तथा सीमान्तकृत महिलालाई संगठित, सचेत र सशक्त बनाउँदै उनीहरूको अधिकार स्थापित गर्ने उद्देश्यले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

दलित महिला संघ गण्डकी प्रदेश संयोजक सुमित्रा गायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तनुजा परियारले गरेकी थिइन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22671, citypokhara.com

निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड

पोखरा । निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा पोखरामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।

बहिनी एडुकेयर फाउण्डेसनको आयोजना र शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको समन्वयमा भएकाे ‘निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार र कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले साे कुरामा जाेड दिएका हुन् ।

कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, शिक्षामा पुनःसमावेश र सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो।

‎कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे प्रस्तुति राखेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले निःशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयनमा जोड दिइन्।

निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड

गैरसरकारी संस्था महासंघ नेपाल, कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले सामाजिक संघसंस्था सरकारका सहयोगी निकायका रूपमा शिक्षाको पहुँच विस्तारमा सहकार्य गर्नुपर्ने बताइन्।

‎बहिनी एडुकेयर फाउण्डेसनका निर्देशक सुरेन्द्र परियारले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए।

कार्यक्रममा स्थानीय तहका शिक्षा शाखा, राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था, विद्यालयका प्रधानाध्यापक, बाल क्लब, पत्रकार तथा अधिकारकर्मीलगायतको सहभागिता थियो।

कार्यक्रमका वक्ताहरूले निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, सरकारी निकाय र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए।

बहिनी एडुकेयर फाउण्डेसनका अध्यक्ष अभिजित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिगो विकास भविष्य कार्यक्रमकी संयोजक देवी चन्दले गरेकी थिइन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22667, citypokhara.com

रेडक्रस उपशाखा–१४ को रक्तदानमा २२ युनिट रगत संकलन

पोखरा। नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका–१४ उपशाखाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको छ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा–१४ का वडा अध्यक्ष एवं रेडक्रस उपशाखा–१४ का सल्लाहकार बोधबहादुर कार्कीले रक्तदान पुण्य कार्य भएकाले सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरे।

उनले वडामा रेडक्रसले सञ्चालन गर्ने सामाजिक तथा मानवीय सेवाका कार्यक्रममा वडा कार्यालयको तर्फबाट आवश्यक आर्थिक तथा भौतिक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमकी विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य पार्वती कार्कीले वर्तमान अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक सेवामा हातेमालो गरेको भन्दै उपशाखा–१४ लाई धन्यवाद दिइन्।

नेपाल रेडक्रस सोसाइटी उपशाखा–१४ का सभापति पदमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामजी जिसीले सञ्चालन, कार्यक्रम संयोजक निरोज केसीले स्वागत मन्तव्य तथा उपाध्यक्ष राधिका कार्कीले रेडक्रसका सात सिद्धान्त वाचन गरेकी थिइन्।

कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति तथा संघसंस्थाले आर्थिक सहयोग गरेका थिए। रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको उपशाखाका सचिव रामजी जिसीले जानकारी दिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22664, citypokhara.com

मिडिया कप फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च गण्डकीलाई

पोखरा। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रा.लि.द्वारा सञ्चालित नयाँलिपि न्यूज डटकमको आयोजनामा सम्पन्न गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसएफजे) गण्डकीले जितेको छ।

​शनिबार पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय खेलमैदानमा भएको रोमान्चक फाइनल भिडन्तमा एनएसएफजे गण्डकीले नेपाल पत्रकार महासङ्घ बागलुङलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो कब्जामा पारेको हो। उपाधिसँगै गण्डकीले नगद रु. ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

​प्रतियोगितामा उपविजेता बनेको नेपाल पत्रकार महासङ्घ बागलुङले नगद रु. ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

​विधागत उत्कृष्टमा गुरुङ र जिसी

​प्रतियोगिताको सर्वोत्कृष्ट प्रशिक्षक एनएसएफजे गण्डकीका धनबहादुर गुरुङ (सुमन) घोषित भए भने बागलुङका रोहन जिसी सर्वोत्कृष्ट खेलाडी चुनिए। उनीहरू दुवैले जनही नगद रु. ५ हजार प्राप्त गरे। साथै, सर्वोत्कृष्ट प्रशिक्षक र खेलाडीलाई एडभेन्चर पार्टनर ‘गो बन्जी’को तर्फबाट फ्लाई कुपनसमेत प्रदान गरिएको थियो।

​खेलमार्फत भाइचारा र स्वास्थ्यको सन्देश

​समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले विजयी टोली तथा खेलाडीहरूलाई पुरस्कार प्रदान गरे। सो अवसरमा बोल्दै डा. अधिकारीले सञ्चारकर्मीहरूले खेलकुदका माध्यमबाट स्वास्थ्य र भाइचाराको सन्देश प्रवाह गरेको भन्दै प्रशंसा गरे।

​विश्वविद्यालयले खेल व्यवस्थापन (Sports Management) विषयको अध्यापन गराइरहेको जानकारी दिँदै उनले आगामी शैक्षिक सत्रदेखि फुटसललाई पनि पाठ्यक्रममा समेट्ने योजना रहेको सुनाए। “पत्रकारहरूको जागरुकता र खेलप्रतिको प्रेम अनुकरणीय छ,” डा. अधिकारीले भने, “आगामी दिनमा मिडिया क्षेत्रसँग सहकार्य गर्दै विश्वविद्यालयले विभिन्न कार्यक्रमको खाका तयार पार्नेछ।”

​बाढीपीडितलाई सहयोग गरिने

​आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण पत्रकार तथा सञ्चार सम्बद्ध संस्थाहरूप्रति आभार व्यक्त गरे। उनले आगामी वर्षहरूमा प्रतियोगिताको आयतन अझ फराकिलो बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

​”यो प्रतियोगिता केवल खेल्ने वा खेलाउने मञ्च मात्र होइन, संस्थालाई मानवीय सेवासँग जोड्ने प्रयास पनि हो,” अध्यक्ष श्रेष्ठले भने, “प्रतियोगिताबाट आर्जित बचत रकम भोटेकोशी बाढीप्रभावितहरूको राहत तथा सहयोगमा खर्च गरिनेछ।” उनले आगामी दिनमा पत्रकारहरूको व्यावसायिकता र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अन्य रचनात्मक कार्यक्रमहरूसमेत आयोजना गरिने जानकारी दिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22642, citypokhara.com

मिडियासँगै व्यवसायमा रोजी श्रेष्ठ, नाइटिङ्गेल सप्लायर्समार्फत व्यवसायिक यात्रा

‎पोखरा ।
‎सञ्चार क्षेत्रमा सक्रिय रोजी श्रेष्ठले व्यवसायिक यात्रालाई समेत अघि बढाएकी छन्। मिडियाकर्मी तथा फेवा टिभीकी निर्देशकसमेत रहेकी श्रेष्ठले पोखरा–१७ बिरौटाचोकस्थित अजाेध्या भगवान् (ग्रिन कम्प्लेक्स) मा ‘नाइटिङ्गेल सप्लायर्स’ सञ्चालनमा ल्याएकी हुन्।
‎
‎सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठले सञ्चारसँगै व्यवसायिक क्षेत्रमा पनि नयाँ अनुभव र सम्भावना खोज्ने उद्देश्यले व्यवसाय सुरु गरेको बताइन्।

‎श्रेष्ठ भन्छिन्-‘सञ्चार क्षेत्रमा काम गर्दै आएको अनुभवसँगै अब व्यवसायमा पनि केही नयाँ गर्ने सोचले नाइटिङ्गेल सप्लायर्स सुरु गरेकी हुँ। ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराउने मेरो उद्देश्य हो। व्यवसायलाई विश्वास, गुणस्तर र सेवासँग जोडेर अघि बढाउने प्रयास रहनेछ।’
‎
‎ ग्राहकको आवश्यकता, रोजाइ र सहजतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा सामग्रीको विविधता थप्दै व्यवसायलाई विस्तार गरिने उनकाे भनाई छ ।
‎

आजदेखि सञ्चालनमा आएको नाइटिङ्गेल सप्लायर्समा महिला तथा पुरुषका लागि ब्याग तथा ह्यान्डब्याग, लिंगरी तथा इन्टिमेट्स, एक्टिभ तथा जिम वेयर, नाइटगाउन तथा स्लीप वेयर, लाउन्जवेयर तथा टु–पिस सेट, पुरुषका आधारभूत तथा आवश्यक सामग्रीलगायतका लाइफस्टाइल सामग्री उपलब्ध छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22637, citypokhara.com

पोखरामा भित्रियो नेभो क्यू०५, ५१.९९ लाखमा विद्युतीय एसयूभी

पोखरा । चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ। यसको अल्ट्रा संस्करणको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

पोखरामा शुक्रबार साँझ आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले नेभो क्यू०५ सार्वजनिक गरिन। एमएडब्ल्यू वृद्धी अटोकर्प प्रालिले नेपालमा भित्र्याएको यो गाडीलाई कम्पनीले आकर्षक बनावट, आराम र अत्याधुनिक प्रविधिको संयोजन भएको कम्प्याक्ट विद्युतीय एसयूभीका रूपमा बजारमा ल्याएको हो।

कार्यक्रममा अध्यक्ष गौतमले पोखरामा विद्युतीय सवारी साधनको प्रयोग र बजार विस्तार हुँदै जानुले आर्थिक गतिविधिसँगै वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने बताइन्। नयाँ–नयाँ विद्युतीय सवारी साधन बजारमा आउनु उपभोक्ताका लागि विकल्प बढ्नुका साथै यातायात क्षेत्रलाई आधुनिक र दिगो बनाउने दिशामा महत्वपूर्ण रहेको उनले बताइन्।

८.१ सेकेन्डमै १०० किलोमिटरको गति
नेभो क्यू०५ मा १२० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्छ।

पूर्ण चार्जमा परीक्षण विधिअनुसार यसको अधिकतम यात्रा क्षमता ४६२ किलोमिटर रहेको कम्पनीले जनाएको छ। अर्को परीक्षण विधिमा भने यसको यात्रा क्षमता ४०५ किलोमिटर रहेको जनाइएको छ। यसको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट घण्टा रहेको कम्पनीको दाबी छ।

१५ मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज
नेभो क्यू०५ मा ‘गोल्डेन सिल्ड ब्याट्री २.०’ प्रविधिको प्रयोग गरिएको छ। उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

गाडीमा १४.६ इन्चको सूचना तथा मनोरञ्जन प्रणाली, ताररहित मोबाइल कनेक्टिभिटी, चालक सहायता प्रणाली तथा चारैतर्फको दृश्य देखाउने क्यामेरा प्रणालीलगायत सुविधा छन्। भेरियन्टअनुसार १८ वटासम्म चालक सहायता सुविधा र ५४० डिग्रीसम्मको दृश्य प्रणाली उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्प्याक्ट आकार भए पनि गाडीको भित्री भागलाई फराकिलो र व्यवहारिक बनाइएको कम्पनीको भनाइ छ। २ हजार ७३५ मिलिमिटरको ह्विलबेस रहेको नेभो क्यू०५ मा पछाडिको सिटमा तीन जना वयस्क बस्न सक्ने तथा सिटलाई दुई फरक कोणमा ढल्काउन मिल्ने व्यवस्था गरिएको छ।

सामान राख्न ५४० लिटर क्षमताको दुई तहको बुट स्पेस, ९० लिटरको अतिरिक्त भण्डारण कक्ष तथा विभिन्न प्रयोजनका लागि २९ वटासम्म स्टोरेज स्पेस रहेको कम्पनीले जनाएको छ।

विश्वव्यापी डिजाइन टोलीको योगदान
नेभो क्यू०५ को बाहिरी डिजाइन चाङ्गानका विश्वव्यापी डिजाइनसम्बन्धी उपाध्यक्ष तथा फोक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिक्योरा नेतृत्वको टोलीले विकास गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञको योगदानमा यसको डिजाइन तयार गरिएको हो। ‘फुगुआङ’ डिजाइन अवधारणाबाट प्रेरित क्यू०५ मा वायुगतिकीय संरचनासहित आधुनिक बाहिरी बनावट दिइएको छ। यसको वायुगतिकीय प्रतिरोधाङ्क ०.२६५ रहेको जनाइएको छ।

गाडीमा पूर्ण चौडाइको अगाडिको प्रकाश संरचना, आकर्षक पछाडिको बत्ती, अर्धलुकेका ढोकाका ह्यान्डल तथा ठूला पारदर्शी छानाजस्ता सुविधा उपलब्ध छन्। कम्पनीका अनुसार नेभो क्यू०५ ले सन् २०२६ को गोल्डेन ए डिजाइन पुरस्कार समेत प्राप्त गरेको छ।

पोखरामा चारदिने परीक्षण कार्यक्रम
नेभो क्यू०५ सार्वजनिकसँगै पोखरामा चारदिने विशेष परीक्षण कार्यक्रमसमेत सुरु गरिएको छ। ग्राहकले असोज ३ देखि ६ गतेसम्म चाउथेमा रहेको दिपल पोखरा प्रदर्शनी कक्षमा पुगेर गाडीको प्रत्यक्ष परीक्षण गर्न सक्नेछन्।

चाङ्गान अटोमोबाइलले विश्वका एक सयभन्दा बढी देशमा आफ्नो उपस्थिति रहेको तथा विद्युतीय सवारी, नयाँ ऊर्जा र नयाँ पुस्ताको यातायात प्रविधिमा लगानी गर्दै आएको जनाएको छ।

नेपालमा चाङ्गानका दिपल, नेभो र अवात्र ब्रान्डका सवारी साधनको आधिकारिक बिक्री–वितरण एमएडब्ल्यू वृद्धी अटोकर्प प्रालिले गर्दै आएको छ। नेपाली बजारमा आधुनिक प्रविधि, नयाँ डिजाइन र विद्युतीय सवारीका विभिन्न मोडल विस्तार गर्ने लक्ष्यअनुसार नयाँ सवारी साधन सार्वजनिक गर्दै आएको कम्पनीका रुपेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल अटोमोबाइल डिलर्स संघका पूर्वअध्यक्ष ध्रुव थापा, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स संघका उपाध्यक्ष निरन केसी, दिपलका सद्भावना दूत प्रदीप खड्का, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, एमएडब्ल्यू वृद्धी अटोकर्पका निर्देशक पार्थ सिकरिया तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दलगायतको उपस्थिति थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22630, citypokhara.com

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि काठमाडौंलाई नै चलचित्रको मुख्य केन्द्र मानिँदै आएको छ। चलचित्र निर्माणदेखि प्रचार–प्रसार र प्रदर्शनसम्म काठमाडौं केन्द्रित हुनुपर्ने मानसिकता अझै पनि बलियो छ। काठमाडौंमा बसेर चलचित्र प्रदर्शन गरेपछि मात्रै ‘मेनस्ट्रीम’ चलचित्रको पहिचान बनाउन सकिन्छ भन्ने बुझाइ पनि नेपाली चलचित्र वृत्तमा पाइन्छ। तर निर्देशक माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ ले यही स्थापित मान्यतालाई चुनौती दिँदै पोखराबाट पनि मेनस्ट्रीम चलचित्र निर्माण र सफल प्रदर्शन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ अहिले दोस्रो सातामा प्रवेश गरिसकेको छ। प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा चलचित्रले २ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रले प्राप्त गरिरहेको दर्शकको साथ, हलमा देखिएको उत्साह र बढ्दो माउथ पब्लिसिटीले ‘पेन्सन पट्टा’प्रतिको आकर्षण अझै बढिरहेको देखाएको छ।

पोखरालाई आधार बनाएर लामो समयदेखि कला, संस्कृति र चलचित्र क्षेत्रमा सक्रिय माओत्से गुरुङले ‘पेन्सन पट्टा’मार्फत आफ्नो सिर्जनात्मक यात्रालाई अझ फराकिलो बनाएका छन्। काठमाडौंलाई केन्द्र नबनाई पोखरामै बसेर चलचित्र निर्माण गर्ने र त्यहीँबाट चलचित्रको प्रचार–प्रसार तथा दर्शकसँग प्रत्यक्ष जोडिने उनको शैली अहिले चर्चाको विषय बनेको छ।

‘पेन्सन पट्टा’को सफलताले चलचित्र चल्नका लागि काठमाडौंमा मात्रै केन्द्रित हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमै प्रश्न गरेको छ। पोखराबाटै निर्माण भएको चलचित्रले देशभरका दर्शकको ध्यान तान्दै दोस्रो सातासम्म आइपुग्दा उत्साहजनक व्यापार गर्नु यसकै उदाहरण बनेको छ।

‘पेन्सन पट्टा’को मुख्य शक्ति यसको कथा र विषयवस्तु रहेको दर्शक प्रतिक्रिया तथा बढ्दो माउथ पब्लिसिटीले देखाएको छ। सामान्य परिवारको जीवन, पेन्सनसँग जोडिएको सपना, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र जिम्मेवारीलाई सामाजिक यथार्थसँग जोडेर प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई आफ्नै जीवनसँग जोडिन सक्ने वातावरण बनाएको छ।

चलचित्र हेरेपछि दर्शकले आफ्ना परिवार, आफन्त र साथीभाइलाई चलचित्र हेर्न आग्रह गर्ने क्रम बढ्दै गएको छ। यही माउथ पब्लिसिटी अहिले ‘पेन्सन पट्टा’को प्रचारको महत्वपूर्ण आधार बनेको छ। सुरुवाती दिनमा प्रचारबाट हलसम्म पुगेका दर्शक अहिले चलचित्र हेरेर फर्किएपछि अरूलाई पनि हलसम्म पुग्न आग्रह गरिरहेका छन्।

कथा र विषयवस्तु बलियो भएको चलचित्रलाई दर्शकले आफैं अगाडि बढाउन सक्छन् भन्ने उदाहरणका रूपमा पनि ‘पेन्सन पट्टा’लाई लिन थालिएको छ। चलचित्रको विषयले दर्शकको मन छोएपछि प्रचारको प्रभावभन्दा पनि दर्शकको व्यक्तिगत सिफारिस महत्वपूर्ण बन्ने गरेको देखिएको छ।

‘पेन्सन पट्टा’ले पोखराका हलमा पाएको दर्शक सहभागिता पनि उल्लेखनीय छ। प्रदर्शनको दोस्रो सातामा पुग्दासमेत चलचित्रप्रति दर्शकको चासो घट्नुको सट्टा बढिरहेको निर्माण पक्षको दाबी छ। कतिपय शोमा अग्रिम बुकिङमै टिकट पाउन कठिन हुने अवस्था सिर्जना भएको छ भने दर्शकहरू टिकट लिन समय कुर्नुपर्ने अवस्थामा समेत पुगेका छन्।

पोखराका विभिन्न हलमा चलचित्र हेर्न आउने दर्शकको संख्या बढेसँगै सामाजिक सञ्जालमा समेत चलचित्रको चर्चा बढेको छ। चलचित्र हेरेका दर्शकले आफ्ना प्रतिक्रिया सार्वजनिक गर्ने र अरूलाई पनि हेर्न आग्रह गर्ने क्रमले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीलाई थप बल दिएको छ।

विशेषगरी पोखरामा चलचित्रको प्रदर्शनले स्थानीय दर्शक र चलचित्रबीचको सम्बन्धलाई समेत बलियो बनाएको छ। पोखराकै कलाकार, सिर्जनाकर्मी र चलचित्रकर्मीले निर्माण गरेको चलचित्रलाई पोखरेली दर्शकले अपनत्वका साथ ग्रहण गरेका छन्।

नेपाली चलचित्रमा ‘मेनस्ट्रीम’को चर्चा गर्दा काठमाडौंलाई केन्द्रमा राख्ने प्रवृत्ति पुरानै हो। ठूला चलचित्रका गतिविधि, प्रिमियर, प्रचार अभियान र मिडिया कभरेज धेरैजसो काठमाडौंमै केन्द्रित हुने गर्छन्। यस्तो अवस्थामा पोखरालाई आधार बनाएर निर्माण गरिएको ‘पेन्सन पट्टा’ले काठमाडौं बाहिरबाट पनि राष्ट्रिय स्तरको चलचित्र निर्माण, प्रचार र प्रदर्शन गर्न सकिने सम्भावना देखाएको छ।

माओत्से गुरुङले पोखरामै बसेर चलचित्र निर्माणको अभ्यासलाई निरन्तरता दिँदै आएका छन्। ‘पेन्सन पट्टा’ले भने उनको यो यात्रालाई अझ फराकिलो दर्शकमाझ पु¥याएको छ। चलचित्रले प्राप्त गरिरहेको व्यावसायिक सफलता र दर्शकको प्रतिक्रियाले चलचित्रको केन्द्र केवल राजधानी नभएर कथा, सिर्जना र दर्शकसम्म पुग्ने क्षमतामा पनि निर्भर हुन्छ भन्ने सन्देश दिएको छ।

‘पेन्सन पट्टा’को प्रचार–प्रसारमा सञ्चारमाध्यमको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ। चलचित्रको विषय, कलाकारको प्रतिक्रिया, दर्शकको अनुभव, हलमा देखिएको सहभागिता र चलचित्रसँग जोडिएका गतिविधिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत निरन्तर स्थान दिइँदा चलचित्रको चर्चा देशभर फैलिएको छ।

चलचित्रको सफलतामा निर्माता, निर्देशक, कलाकार र प्राविधिक टोलीसँगै दर्शक, सञ्चारमाध्यम तथा चलचित्र क्षेत्रसँग जोडिएका व्यक्तिहरूको साथ पनि महत्वपूर्ण हुने गर्छ। ‘पेन्सन पट्टा’ले यही सहकार्यको एउटा उदाहरण प्रस्तुत गरेको छ।

दोस्रो सातामा प्रवेश गरिसक्दा पनि चलचित्रप्रतिको दर्शक आकर्षण कायमै रहनु र ग्रस कलेक्सन २ करोड रुपैयाँभन्दा माथि पुग्नुले ‘पेन्सन पट्टा’ अहिले नेपाली चलचित्र क्षेत्रमा चर्चाको विषय बनेको छ।

अन्ततः पोखरामा बसेर चलचित्र बनाउने माओत्से गुरुङले ‘पेन्सन पट्टा’मार्फत पोखरा पनि नेपाली चलचित्रको बलियो सिर्जनात्मक र व्यावसायिक केन्द्र बन्न सक्छ भन्ने सम्भावनालाई थप बलियो बनाएका छन्। राम्रो कथा, मन छुने विषयवस्तु र दर्शकसँग जोडिने प्रस्तुतिले चलचित्रलाई राजधानीको सीमाभन्दा बाहिर पनि व्यापक बनाउन सकिन्छ भन्ने सन्देश ‘पेन्सन पट्टा’को यात्राले दिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22625, citypokhara.com

पोखरामा जिडब्ल्युएमको इन्ट्री, ‘ओरा ५’ र ‘जोलियन म्याक्स’ सार्वजनिक

पोखरा । ग्रेट वाल मोटर (जिडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको उत्तम चोकमा नयाँ डिलरसिप सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमसँगै कम्पनीले जिडब्ल्युएमका दुई विद्युतीय मोडल ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स इभी’ सार्वजनिक गरेको छ।

विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै कम्पनीले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति विस्तार गरेको हो। नयाँ शोरुमबाट ग्राहकले गाडी बिक्री, मर्मतसम्भार र स्पेयर पार्ट्ससहितको थ्रीएस सुविधा एउटै छानामुनि पाउनेछन्।

सार्वजनिक गरिएको ‘ओरा ५’ मा ५८.३ किलोवाट आवरको ब्याट्री र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। पूर्ण चार्जमा यसले ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीको छ।
त्यस्तै, १५० किलोवाट क्षमताको मोटर भएको ‘हाभल जोलियन म्याक्स इभी’ मा पनि ५८.३ किलोवाट आवरको ब्याट्री रहेको छ।

यसले ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ। गाडीमा प्यानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) तथा भेहिकल–टु–लोड (भीटुएल) प्रविधि उपलब्ध छन्।

कम्पनीका अनुसार नेपाली बजारमा हाभल जोलियन म्याक्स इभीको मूल्य ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। ‘ओरा ५ सेमी’को मूल्य ४८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र ‘ओरा ५’को ५३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ।

शोरुम उद्घाटन कार्यक्रममा रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले ग्राहकलाई गुणस्तरीय गाडीका साथै बिक्रीपछिको भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए।

उनले जिडब्ल्युएमजस्तो अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड पोखरामा भित्र्याउन पाउँदा खुसी लागेको बताए। ‘हाम्रो उद्देश्य उत्कृष्ट गाडी बिक्री गर्नु मात्रै होइन, बिक्रीपछिको सेवालाई पनि भरपर्दो बनाउनु हो,’ उनले भने।

कम्पनीका सेल्स एन्ड अपरेसन महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पोखराको बजार जिडब्ल्युएमका लागि महत्वपूर्ण रहेको बताए। उनले भविष्यमा थप प्रिमियम उत्पादनहरू पोखरा भित्र्याउने आधार नयाँ शोरुमले तयार गर्ने बताए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले विभिन्न समस्याका कारण प्रभावित अर्थतन्त्र विस्तारै चलायमान बन्दै गएको बताउँदै नयाँ व्यवसायका लागि शुभकामना दिइन्। पोखरामा उच्च गुणस्तरका विद्युतीय गाडीको शोरुम सञ्चालनमा आउनु र उपभोक्ताको आकर्षण बढ्नु सकारात्मक पक्ष भएको उनको भनाइ थियो।

कार्यक्रममा अटोवेजका सञ्चालक नारायणप्रसाद पौडेल, चालिसे ग्रुपका संस्थापक शिवप्रसाद चालिसे, पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालासहित बैंक तथा वित्तीय संस्था प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मीको उपस्थिति थियो।

सोही अवसरमा अनिलमणि भण्डारीलाई ‘ओरा ५’ गाडीको चाबी हस्तान्तरण गरिएको थियो। उत्तम चोकस्थित नयाँ शोरुमबाट दुवै मोडलको टेस्ट ड्राइभ र बुकिङसमेत खुला गरिएको कम्पनीले जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22622, citypokhara.com