Breaking News
नेत्रावती डबजोङमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सुरु

धादिङ, ७ मङ्सिर  : धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा आठ सामुदायिक विद्यालयका विद्यार्थीको रक्तसमूह पहिचान गर्ने कार्यक्रम आजदेखि सुरु भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रछात्रालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा पाँच माध्यमिक र तीन आधारभूत विद्यालय समेटिएका छन् । स्वास्थ्य शाखा प्रमुख मधु धमला क्षेत्रीका अनुसार विद्यालयमै पुगेर विद्यार्थीको रक्तसमूह परीक्षण गर्ने कार्यक्रम मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ ।

निर्धारित कार्यतालिकाअनुसार आज मङ्गलादेवी माध्यमिक विद्यालय र निमारचोक आधारभूत विद्यालयमा कार्यक्रम  सम्पन्न भएको छ। भोलि मङ्सिर ८ गते निरञ्जना माध्यमिक विद्यालयमा परीक्षण गरिनेछ ।

यसैगरी, मङ्सिर ९ गते चौतारा माध्यमिक विद्यालय र गैरा आधारभूत विद्यालय तथा १० गते कुण्डला माध्यमिक विद्यालय र कन्यादेवी आधारभूत विद्यालयमा विद्यार्थीको रक्तसमूह पहिचान गरिने कार्यतालिका छ । मङ्सिर ११ गते महेन्द्र बाराही माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रमका केहि झलकहरु

नेत्रावती डबजोङमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सुरु

अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा १९ वर्षीय सोफिन तामाङको दोहोरो सफलता

काठमाडौं । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता ‘द नरेश सूर्य क्लासिक्स २०२६’ मा नेपाली खेलाडी सोफिन तामाङले दुई विधामा उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

नयाँ दिल्लीस्थित शाह अडिटोरियममा आयोजित प्रतियोगिताको अन्डर–२१ मेन्स फिजिक विधामा १९ वर्षीय तामाङले तेस्रो स्थान हासिल गरेका हुन् ।

त्यस्तै, अन्डर–२५ जुनियर मेन्स फिजिक विधामा उनले पाँचौँ स्थान प्राप्त गरेका छन् ।

कलिलो उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगिताका दुई विधामा शीर्ष पाँचभित्र पर्न सफल तामाङको उपलब्धिलाई नेपाली शारीरिक सुगठन तथा फिटनेस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

उनको सफलतापछि खेलप्रेमी तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।

चलचित्र ‘आशा’ को फर्स्टलुकमा महेश,अन्जना र आशान्त

सेलिब्रेटी नेपाल । उडान स्टुडियोको प्रस्तुती रहेको चलचित्र ‘आशा’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । फर्स्टलुक अन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य पात्रहरु महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको यो चलचित्रको पोस्टरले दर्शकमा कौतुहलता छाड्न सफल भएको छ ।

पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्विरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रुपमा प्रस्तुत छन् भने महेश त्रिपाठी किरिया बसिरहेका देखिन्छन् । अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलोबाट चिहाएर हेरिरहेकी छिन् । रोयल भीमसेनले तयार पारेको पोस्टरले फिल्मको कथासार सङ्केत गर्नुकासाथै धेरै प्रश्न उब्जाएको छ ।

चलचित्रकी निर्मात्री शर्मिला थापाले फिल्मको विषयवस्तु अनुसार नै पोस्टर तयार गरेर सार्वजनिक गरिएको बताइन । उनले भनिन्,‘फिल्म पूर्णरुपमा पारिवारिक कथामा तयार भएको छ । यो एउटा परिवारले हेर्ने र मनन गर्न पर्ने फिल्म बनेको छ । हामीले विषयप्रधानसँगै यसलाई फिल्मको शैलीमै तयार गरेका छौँ, जसले हलसम्म पुग्नुभएका दर्शकको समय र पैसा वसुल हुन्छ ।’

उनले फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गतेलाई तय गरिएको जानकारी दिईन् । वितरक तथा प्रदर्शकको छलफल पश्चात उक्त डेटमा फिल्म प्रदर्शन गर्न लागिएको उनले जनाईन् ।

निर्देशक राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ ।

फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो । फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।

नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित


सेलिब्रेटी नेपाल । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। संघको ५२ औँ साधारण सभाबाट शनिबार अबेर साँझ सम्पन्न निर्वाचनमा जबरा तीन वर्षे कार्यकालका लागि अध्यक्ष चुनिएका हुन्।

अध्यक्ष पदका प्रतिस्पर्धी गोपालकाजी कायस्थलाई १६ मतले पछि पार्दै जबराले जित हासिल गरेका हुन्। संघको अन्य कार्यसमिति सदस्य भने निर्विरोध चयन भएका छन्।

चलचित्र प्रदर्शकको खुला समूहबाट दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी सदस्यमा चयन भएका छन्। चलचित्र वितरकको तर्फबाट करण श्रेष्ठ र गोविन्दबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्।

प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चेतन बराल तथा बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन भएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्य पदमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन्।

नेपाल चलचित्र संघ चलचित्र प्रदर्शक तथा वितरकहरूको साझा संस्था हो। नयाँ नेतृत्वले चलचित्र प्रदर्शन तथा वितरण व्यवसायका समस्या, व्यावसायिक चुनौती र समग्र नेपाली चलचित्र क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

चीनमा पखेटाविहीन उड्ने कार « रिपोर्टर्स नेपाल

एजेन्सी । चीनमा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ । मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिवार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक उडान भरेको हो ।

विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।

परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नरहेको यो कार व्यक्तिगत हवाई यातायातका लागि नयाँ अवधारणाका रूपमा प्रश्तुत गरिएको छ । एक जना मात्र यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम रहेको छ भने यसले १२० किलोग्रामसम्म भार बोक्न सक्छ ।

यस प्रविधिले भविष्यमा व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, ४ जना पक्राउ

७ मंसिर, सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्षमा आगो लगाउनुका साथै विभिन्न संरचनामा तोडफोड गरेका हुन् ।

मृत्यु हुनेमा बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवी रहेकी छन् । नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् र बरहथवा नगर अस्पतालमा उपचाररत थिइन् ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । तर, त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

घटनामा बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी तथा तोडफोड हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिएका छन् । प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार आइतबार बिहानसम्म घटनास्थलको अवस्था सामान्य भइसकेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ

धादिङ, ६ मङ्सिर  । संसदीय सुनुवाइ समितिका सभापति एवं धादिङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले शिक्षालाई रोजगारी र स्वरोजगारसँग जोड्न शैक्षिक नीति, पाठ्यक्रम तथा अध्यापन पद्धतिमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।

नीलकण्ठ क्याम्पस धादिङको २७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले विद्यार्थीको आवश्यकता र श्रमबजारको मागअनुसार शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक क्याम्पस सञ्चालनमा देखिएका कठिनाइ सम्बोधन गर्न अनुदान नीति पुनरावलोकन र नयाँ कार्यक्रमको सम्बन्धन प्रक्रियालाई छरितो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

“नीतिले सहजीकरण गर्नुपर्छ, देशलाई अगाडि लानुपर्छ, जनतालाई खुसी बनाउन सक्नुपर्छ”, सभापति श्रेष्ठले भन्नुभयो । उहाँले सम्बन्धन दिन मिल्ने वा नमिल्ने विषयमा समयमै निर्णय हुनुपर्ने उल्लेख गर्दै लामो समयसम्म निर्णय नहुँदा क्याम्पसलाई कार्यक्रम विस्तारमा कठिनाइ हुने बताउनुभयो ।

एकातिर युवा रोजगारीको खोजीमा रहेको र अर्कातिर होटल, कृषि तथा प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गर्दै उहाँले शिक्षालाई पेसागत सीपसँग जोड्नुपर्ने बताउनुभयो । अनुसन्धान र नवीन काममा लगानी बढाएर विद्यार्थीको सिकाइलाई कक्षाकोठाबाहिरका व्यावहारिक कामसँग जोड्न उहाँले आग्रह गर्नुभयो ।

विद्यार्थीले पढाइसँगै काम गर्न सक्ने वातावरण बनाउन आंशिक समय तथा घण्टाका आधारमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा सभापति श्रेष्ठले जोड दिनुभयो । विद्यार्थीको अनुकूलताअनुसार पठनपाठनको समय लचिलो बनाउन सके स्थानीय क्याम्पसप्रति आकर्षण बढाउन सहयोग पुग्ने उहाँको धारणा थियो ।

उहाँले विद्यार्थीलाई स्थानीय क्याम्पसमै अध्ययन गर्न प्रेरित गर्ने आधार शैक्षिक गुणस्तर र अध्ययनपछिको अवसर भएको बताउनुभयो । सामुदायिक क्याम्पसका समस्या समाधान तथा आवश्यक नीतिगत सुधारका लागि सांसदको हैसियतले भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

शिक्षामा भाषा, संस्कृति, संस्कार र प्रविधिलाई समेट्नुपर्ने उल्लेख गर्दै सभापति श्रेष्ठले देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई अध्ययन, पेसा र आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई विश्वको ज्ञान र अनुभव हासिल गरी नेपालमा काम गर्ने लक्ष्य राख्न आग्रह गर्नुभयो ।

जिल्लाको विकासबारे चर्चा गर्दै उहाँले आगामी २० वर्षपछिको धादिङको परिकल्पना गरी अनुसन्धानमा आधारित योजना बनाउन  विद्यार्थी, शैक्षिक संस्था, जनप्रतिनिधि र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

पर्यटनबाट स्थानीय रोजगारी विस्तार गर्न नौ स्थानीय तहलाई जोड्ने पर्यटन गुरुयोजना बनाउने तयारी रहेको र त्यसका लागि सरकारले रु पाँच करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । विनियोजित बजेटको उपलब्धि सुनिश्चित गर्न समयमै ठेक्का, गुणस्तरीय निर्माण र नागरिक निगरानी आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भारतको नयाँ दिल्लीस्थित होटल ताजमहलमा आइतबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

भेटका क्रममा विशेषगरी दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताइएको छ। दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएको हो। भ्रमणका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विभिन्न विषयमा उच्चस्तरीय छलफल तथा भेटवार्ताको कार्यक्रम रहेका छन् ।

फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने नगरप्रमुख ढुङ्गानाको चेतावनी

धादिङ, ६ मङ्सिर : नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले फुर्केखोलामा बेलीब्रिज जडान र स्थायी सडक पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको छ । उहाँले माग सम्बोधन नभए जनप्रतिनिधिसहित दबाबमूलक कार्यक्रममा जाने घोषणा गर्नु भएको छ ।

नीलकण्ठ क्याम्पसको २७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख ढुङ्गानाले स्थानीय तहको पहलमा जडान भइरहेको पोन्टुन पुल अस्थायी विकल्प भएकाले स्थायी पुल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । पानीमाथि तैरिने उक्त पुल नदीको बहाव बढ्नुअघिसम्म मात्र सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

“सम्भवतः जेठको १०–१५ गतेसम्म मात्रै यो चल्न सक्छ”, उहाँले भन्नुभयो । त्यसपछिको आवागमन सुनिश्चित गर्न अहिलेबाटै अर्को विकल्पको तयारी आवश्यक रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख ढुङ्गानाले पोन्टुन पुल सञ्चालनमा आएपछि जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको हस्ताक्षरसहित सङ्घ र प्रदेशका पूर्वाधारमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताउनु भयो । ज्ञापनपत्रमार्फत १५ देखि २० दिनभित्र मलेखुमा बेलीब्रिजका सामग्री ल्याउन र स्थायी पुलका लागि बजेट स्वीकृत गरी निर्माण प्रक्रिया अघि बढाउन समयसीमा दिने उहाँको भनाइ थियो ।

माग सम्बोधन नभए जिल्लाका जनप्रतिनिधि सिंहदरबार पुगेर दबाब दिने तथा राजमार्गमा चरणबद्ध अवरोधसहितका कार्यक्रम अघि बढाउने सोच रहेको उहाँले बताउनुभयो । यस पहलको नेतृत्व लिन उहाँले धादिङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठलाई आग्रह गर्नुभएको छ ।

पोन्टुन पुलका सामग्री खोजी, ढुवानी र जडानमा स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न व्यक्तिको सहयोग रहेको नगरप्रमुख ढुङ्गानाले उल्लेख गर्नुभयो । पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने भए पनि दीर्घकालीन समाधानका लागि स्थायी पुल आवश्यक रहेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहनुभएका श्रेष्ठले फुर्केखोलामा नयाँ पुल निर्माणका लागि प्रारम्भिक डिजाइनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले पोन्टुन पुल सञ्चालनका लागि सुरक्षा परीक्षण र सञ्चालनसम्बन्धी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै तीन तहका सरकार तथा राजनीतिक दलबीच सहकार्यमा जोड दिनुभयो ।

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । पुल नहुँदा धादिङका आठ स्थानीय तह तथा गोरखाका केही क्षेत्रका नागरिकको आवागमन समस्या भोग्दै आएका छन् ।