Breaking News
गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न

पोखरा । संस्कृत युवामञ्च नेपालद्वारा प्रकाशित गण्डकी भित्तेपात्रो–२०८३ को विमोचन तथा नववर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम भव्य एवं गरिमामय रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष श्री महेन्द्र पौडेलको अध्यक्षतामा तथा धार्मिक एवं सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व, शिक्षाविद् सहप्राध्यापक डा. श्री त्रिभुवन शर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा भित्तेपात्रो विमोचन पश्चात् मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि डा. शर्माले संस्कृत युवामञ्चले समाजमा धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सर्वसाधारणले सहज रूपमा उपयोग गर्न सक्ने भित्तेपात्रो प्रकाशन गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले यस्ता रचनात्मक तथा समाजोपयोगी कार्यले संस्थाको गरिमा अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन अझै उर्जा मिलोस भन्दै सस्था लगाएत सम्पूर्ण उपस्थित महानुभावहरुमा २०८३ सालको शुभकामना व्यक्त गर्नुभयो।

उक्त अवसरमा संस्थापक अध्यक्ष श्री रामप्रसाद सिग्देल, संस्थाका सल्लाहकार पुष्पराज आचार्य (गिरिधर), माता तालबाराही आरती सेवा समितिका अध्यक्ष श्री जुना अधिकारी, कथा व्यास समिति गण्डकी प्रदेशका संयोजक श्री गोकर्ण बराल तथा विश्व हिन्दु महासङ्घ सांस्कृतिक समूहका अध्यक्ष श्री शिव बरालले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले गर्दै आएका धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरूको सराहना गर्नुभयो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्री भवानी शंकर शर्माले स्वागत मन्तव्य राख्दै भित्तेपात्रोको प्रकाशन उद्देश्य, संरचना तथा विशेषताबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँले भित्तेपात्रोमा समेटिएका धार्मिक तिथि–मिति, पर्व–उत्सव तथा सांस्कृतिक पक्षहरूले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री लक्ष्मण पौडेलले गर्नुभएको थियो भने कार्यक्रमसम्बन्धी जानकारी सह–सचिव श्री अर्जुन पौडेलले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको समापनसँगै उपस्थित सबैबीच नववर्ष २०८३ को अवसरमा आपसी सद्भाव, सहकार्य तथा समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरिएको थियो।

पोखरा-सिमरा हवाई सेवा सुचारु गर्न जोड

वीरगंज। नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको जाउँ है पोखरा अभियान सुरु भएको छ ।

होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो ।

आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुने छ । आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता अनुरुप २५ बर्षअघि यो अभियान सुरु गरिएको थियो । अभियान अन्तर्गत विराटनगर, इलाम र हेटौंडालाई पनि छनोट गरिएको छ ।

वीरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अभियानको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने बताए ।

सिमा नाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दुरीमा सात ठाउँमा चेकिङ गर्ने गरिएको भन्दै उनले असन्तुष्टी जाहेर गरे । पुलिसले पैसा खान यस्तो गरेको हो- उनले दाबी गरे । भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने सुझाव राखे ।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले माओवादी द्वन्द्व, भुकम्प, नाकाबन्दी, कोभिड र बैंकको चर्को ब्याजदेखि मध्यपूर्व तनावसम्म आइपुग्दा नेपाली पर्यटनले धेरै मार खेप्नु परेको बताए । सो अवसरमा उनले विगतमा संचालन भएर विचमा रोकिन पुगेको पोखरा-सिमरा हवाई उडान सेवा पुन: संचालन गर्नुपर्ने आबश्यकता औंल्याए ।

मधेश प्रदेशका पूर्ब मन्त्री ओमप्रकाश शर्माले पोखरा-सिमरा उडान रोकिनु दु:खद विषय भएको बताउँदै उडान सुरु गर्ने कार्यमा आफ्नो पनि भूमिका रहेको स्मरण गराए । यात्रु अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र नीजी क्षेत्र मिलेर उक्त रुटमा उडान सुचारु गरिनुपर्ने सुझाव उनले राखे ।

संघका अध्यक्ष सुबेदीले पोखराको होटल क्षेत्रमा मात्र ६ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिंदै पोखरा पुग्ने पर्यटक मध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहने गरेको जानकारी दिए ।

कार्यक्रममा उनले यही चैत २९ देखि बैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँबर्ष महोत्सवमा सहभागिताका लागि पुर्वका बासिन्दालाई निम्ता प्रदान गरे । महोत्सवका सहभागी पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा पनि उनले गरे ।

सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट र पहिलो रोजाइको पर्यटकीय गन्तव्य बनाउन बोर्डले ब्यबसायीसँग सहकार्य गरेर अगाडि बढीरहेको बताए ।

कार्यक्रममा ब्यबसायीले भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गारिएको, सिमा नाकामा भारतीय पर्यटकले हैरानी खेप्नु परेको, पोखराका ट्यक्सीले मनलाग्दी भाडा असुल्ने गरेको र पोखरामा भारतीय पर्यटकका सवारीलाई निर्वाध संचालनमा अबरोध सिर्जना गर्ने गरिएको गुनासो सुनाए ।

भारतीय सवारीलाई सिमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत् दिन पनि ब्यबसायीले माग गरे । २५ हजार भारु भन्दा बढी रकम बोकी नेपाल आउने भारतीयलाई सिमानामा अझै पनि दु:ख दिने गरिएको विषय पनि सो अवसरमा चर्चा गरियो । पोखरामा फोहोर बढेको, कंकृटका घर बढ्दै गएको र फेवाको उचित संरक्षण नभएको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरे ।

कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा र वरपरका उत्कृष्ट पदयात्रा गन्तव्यका बारेमा चर्चा गरेका थिए । पूर्ब र पोखराले एक अर्काको हितको लागि पर्यटक र व्यापार आदानप्रदान गर्न सक्ने पनि उनले चर्चा गरे ।

सो अवसरमा वीरगंज उद्धोग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, समाजसेवी एबं उद्धोगपती अशोककुमार बैद्य, पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जरा र आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेस्ठले भनाई राखेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21110, citypokhara.com

सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP

सिक्लेस, कास्की । प्रकृतिको अनुपम उपहार र गुरुङ संस्कृतिको केन्द्र मानिने कास्कीको सिक्लेसमा ‘समुदायमा आधारित संरक्षण’ कार्यक्रमले स्थानीयको जीवनशैलीमा आमूल परिवर्तन ल्याएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका कार्यालय सिक्लेसको सक्रियतामा जैविक विविधता संरक्षणलाई स्थानीयको आयआर्जनसँग जोडिएपछि यहाँको संरक्षण अभियान थप प्रभावकारी बनेको हो ।

परम्परागत खेती प्रणालीमा रमाएका सिक्लेसका कृषकहरू अहिले व्यावसायिक र प्रविधिमैत्री बन्दै गएका छन्। कार्यालय प्रमुख संग्राम कार्कीका अनुसार, कृषकको मेहनतलाई प्राकृतिक प्रकोपबाट जोगाउन ‘असिना जाली’ (Hailstone Net) वितरण गरिएको छ। गत वर्ष ३५ भन्दा बढी कृषकले यो सुविधा पाएपछि तरकारी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । साथै, स्थानीय कृषक तथा समुदायलाई फलफूल, डाले घाँस बेर्ना उत्पादन गरी वितरण गर्ने, अलैँची सुकाउने आधुनिक मेसिन र निःशुल्क बीउबिजन वितरणले स्थानीयलाई आत्मनिर्भर बन्न थप ऊर्जा प्रदान गरेको छ।

ACAP सिक्लेसद्वारा वितरण गरिएको असिना जालीले जोगाएको कृषकको सपना

इलाका कार्यालयले समय समयमा आमा समूह, होमस्टे संचालक, होटल व्यवसायीका सदस्यलाई वातावरण सम्बन्धी तालिम सचेतना मूलक अभिमुखीकरण प्रशिक्षण दिने गरेको छ । गाउँमा भएका महिला तथा दिदि-बहिनि लगायत विभिन्न टोलमा रहेका आमा समूहका सदस्यहरुलाई विभिन्न अचार बनाउने तथा सिस्नुको पाउडर बनाउने तालिम प्रदान गरे पश्चात उनीहरुले आफ्नो फुर्सदको समयमा अचार बनाई मनग्य आम्दानी गरेका छन् । उनीहरुले बनाएको अचार स्थानीय होटलमा खपत तथा त्यस ठाउँमा आउने पर्यटकले कोसेलीको रुपमा पनि लैजाने समेत गरेका छन् । स्थानीय महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन ACAP ले सिस्नुको पाउडर बनाउने र प्याकेजिङ गर्ने प्रविधि पनि हस्तान्तरण गरेको छ । खेर गइरहेको सिस्नुलाई मेसिनबाट प्रशोधन गरी २०० ग्रामको प्याकेटलाई ३०० रुपैयाँमा बिक्री गर्न थालिएको छ ।

सिक्लेसका महिलाहरू सिस्नुको धुलो तयार पार्ने प्रक्रियामा साथै खेर गइरहेको सिस्नुलाई आधुनिक मेसिनबाट प्रशोधन गरिँदै ।


“हामी सिस्नुलाई अब सिक्लेसको चिनारी र ब्रान्डका रूपमा पोखरा र बाह्य बजारमा पुर्‍याउने योजनामा छौँ,” ACAP सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्कीले कार्कीले बताउनुभयो । साथै, आमा समूहहरूले फुर्सदको समयमा तयार पारेको अचार अहिले यहाँ आउने पर्यटकका लागि लोकप्रिय ‘कोसेली’ बनेको छ । सिस्नुबाट उत्पादित पाउडरले मानिसलाई बहुउपयोगी स्वास्थ्य लाभ हुने, सुगर, प्रेसर लगायतका औषधिको काम गर्ने र विभिन्न स्वास्थ्य समस्याहरु कम गर्ने, प्रचुर मात्रामा भिटामिन, फोस्फोरस, क्याल्सियम जस्ता तत्व पाइने हुँदा यस ठाउँमा घुम्न आउने पाहुनाले खोजी खोजी लग्ने गरेको समेत बताउनु भयो ।

अब सिक्लेसको चिनारी ब्रान्ड बन्दै: बिक्रीका लागि तयार पारिएको सिस्नुको पाउडर स्वस्थ जीवनका आकर्षक प्याकेजिङमा तयार गरिएको पाहुनाको लागि सिक्लेसको उपहार सिस्नुको पाउडर देखाउदै ACAP सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्की

सिक्लेसको पहिचान बोकेको ‘इको म्युजियम’ अहिले स्वदेशी तथा विदेशी पर्यटकका लागि अध्ययन र अवलोकनको मुख्य थलो बनेको छ। २०७१ सालमा स्थापित यस म्युजियममा गुरुङ समुदायका ऐतिहासिक सामग्री, विभिन्न पुराना सामग्री देखि गुरुङ समुदायका भान्छामा प्रयोग गरिने वस्तु, गुरुङ समुदाय भित्र गरिने चाल चलन रितिरिवाज, संस्कृतिमा पहिरिने पोशाक साथै भेडाको ऊनबाट बनेका राडी र पुराना घरेलु हतियारहरू व्यवस्थित रूपमा प्रदर्शन गरिएका छन् ।

संस्कृतिको धरोहर: सिक्लेसस्थित ‘इको म्युजियम’, जहाँ गुरुङ समुदायको इतिहास र परम्परा संरक्षित छ । पछिल्लो समयमा पर्यटकको आकर्षणको केन्द्रमा गुरुङ संस्कृतिका पुराना सामग्री र ३D नक्सा देख्न सकिने सिक्लेस इको म्युजियम ।


गत आर्थिक वर्ष ०८०/८१ मा मात्रै २,६४९ जनाले यसको अवलोकन गरेका छन्, जसबाट करिब २ लाख ६२ हजार रुपैयाँ आम्दानी भएको छ। म्युजियम अवलोकनको लागि स्वदेशी नागरिकलाई प्रवेश शुल्कमा रु. ५०, स्वदेशी विद्यार्थीलाई परिचय खुल्ने कागजातको आधारमा प्रवेश शुल्क रु. ३० र विदेशी नागरिकको हकमा भने प्रवेश शुल्कमा १५० दस्तुर लाग्ने गरेको उल्लेख गर्नु भयो । यहाँ आउने पाहुनाले ९७० जनाले गुरुङ ड्रेस लगाएका थिए, गुरुङ पोशाक पहिरिँदा प्रति व्यक्ति रु.१५० शुल्क तिर्नु पर्दछ । म्युजियममा अन्नपूर्ण संरक्षण क्षेत्रको 3D नक्सा समेत राखिएको छ । ACAP ले म्युजियमको दीर्घकालीन व्यवस्थापनका लागि १६ लाख रुपैयाँको अक्षय कोष खडा गरी स्थानीय व्यवस्थापन समितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ। साथै ACAP ले म्युजियमलाई बेला बेलामा मर्मत सम्भार गर्दै आएको छ ।


सिक्लेस इलाकामा प्रचुर मात्रामा प्राकृतिक सम्पदा, परम्परागत शैलीमा निर्माण गरिएका पूर्वाधारका संरचना पनि देख्न सकिन्छ । पछिल्लो समयमा सिक्लेस क्षेत्र पर्यटकहरुको लागि आकर्षण केन्द्र विन्दु बन्दै गएको छ । पर्यटकको बढ्दो चापसँगै हुनसक्ने वातावरणीय प्रदूषणलाई रोक्न ‘शून्य फोहोर’ (Zero Waste) को नीति लिइएको छ। आमा समूह र स्थानीय व्यवस्थापन समितिको सक्रियतामा महिनाको दुई पटक अनिवार्य सरसफाइ गरिन्छ। पर्यटन बढ्दै जाँदा वातावरणमा असर नपरोस् भनेर यहाँ फोहोरमैला व्यवस्थापन गरिएको छ । आमा समूह, अन्नपूर्ण संरक्षण व्यवस्थापन तथा स्थानीय बासिन्दाको सक्रियतामा फोहोर संकलन गरिन्छ । होम स्टे, क्याम्प साइट, होटल बाट निस्किएको फोहोरलाई वर्गीकरण गरी छुट्याइन्छ । प्रत्येक महिनाको दुई पटक फोहोर व्यवस्थापन तथा सरसफाई गर्ने गरिन्छ । कुहिने तथा नकुहिने (सिसा जन्य पदार्थ ) फोहोरलाई छुट्याएर फोहोर संकलन केन्द्रमा राखिन्छ । फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरिन्छ भने रिसाइकल हुने सामग्रीलाई पोखरा पठाउने गरिएको छ।

सिक्लेसको परिचय: मौलिक वास्तुकला र ग्रामीण जीवन । परम्परा र प्रकृतिको सुन्दर सङ्गम सिक्लेसको मौलिक पहिचान बोकेका परम्परागत घरहरू र मकैको सुली ।

सिक्लेस क्षेत्रको जैविक विविधतामा महत्वपूर्ण वन पैदावारहरु चिराइतो, च्याउ, सतुवा, पाँच औले लगायतका आदि वन पैदावार पाइन्छ । साथै विभिन्न प्रजातिका साग, जंगली साग प्रचुर मात्रामा पाइने सिक्लेसका कार्यालय प्रमुख कार्कीले जानकारी दिनु भयो । ACAP ले दिगो वनस्पति संकलन योजना बनाएको छ, आवश्यक प्रक्रिया पुरा गरि कति परिमाणमा निकाल्ने ? कुनै पनि वनस्पति संकलनलाई असर नपुग्ने तरिकाले जडिबुटी उत्खनन र व्यावसायिक प्रयोजनका लागि ACAP ले सहजीकरण गर्ने गरेको जानकारी दिनु भयो । वनस्पति नियमावली संरक्षण पालनामा सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । चिराइतो, सतुवा र पाँचऔँलेजस्ता बहुमूल्य जडीबुटीको संरक्षणका लागि दिगो संकलन योजना लागू गरिएको छ। इलाका कार्यालय सिक्लेसले संरक्षण क्षेत्र भित्र वन वन्यजन्तु तथा अवैध गतिविधि रोक्न र जैविक विविधतामा खलल नपुगोस् भन्ने उद्देश्यले नियमित गस्ती र ‘हेरालो’ परिचालन गरिएको छ। गस्तीका क्रममा वन्यजन्तुका लागि थापिएका पासोहरू फेला पारी नष्ट गर्ने र स्थानीयमा सचेतना जगाउने कार्यलाई तीव्रता दिइएको छ।

प्रकृतिको सुन्दर आभास: सिक्लेसको यो दृश्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ, घना जङ्गल र पृष्ठभूमिमा अटल उभिएका हिमशृङ्खलाहरू।


ACAP ले यस सिक्लेस क्षेत्रमा खानेपानी तथा पानीको स्रोत संरक्षणका लागि ठूलो योगदान तथा सहयोग गरेको स्थानीयले बताउनु भयो । पहिला खानेपानीको साह्रै नै अभाव रहेको थियो भने हाल पर्याप्त मात्रामा शुद्ध पानी उपलब्ध रहेको स्थानीयले बताउनु भयो । ACAP को सहयोगमा करिब ८०/९० घरधुरीलाई पानी वितरण गरिएको छ । होटल व्यवसायी र होमस्टे संचालकलाई सरसफाई तथा पानीको प्रयोग बढी मात्रामा चाहिने हुँदा हाल पानीको कतै पनि अभाव नभएको बताए । सिक्लेस इलाका कार्यालय मार्फत ७५ हजार बजेट उपलब्ध र स्थानीयको श्रमदानबाट खानेपानी ट्यांकी निर्माण र पानी ट्यांकी व्यवस्थापन भएको बताउनु भयो ।

दिगो संरक्षणको परिणाम: ACAP को सहयोगमा संरक्षित पानीको मुहान र ट्याङ्की, जसले गाउँलाई शुद्ध पानी पुर्‍याएको छ ।

समिति मार्फत कार्यक्रम योजनाहरुको आहावन हुन्छ । विशेष गरी महत्वपूर्ण पद मार्गहरु जस्तै घलेखर्क-सिक्लेस, फुट ट्रयाक, सिक्लेस‍-कपुचे ट्रेक, सिक्लेस-कोरी पदमार्ग, ताङतिङ-कर्पु जस्ता धेरै पदमार्गको सुरक्षाको लागि सुधार मर्मत गर्नको लागि पनि विभिन्न शिर्षकमा बजेटहरु विनियोजित भएका छन् । यस अन्तर्गत गत वर्ष पनि झण्डै १.५ मिटर भन्दा बढी पदमार्ग निर्माण सम्पन्न भएका छन् भने चालु यो वर्ष झण्डै ३ हजार मिटर भन्दा धेरै पदमार्ग मर्मत तथा सुधार हुँदै छन् र केही योजनाहरु भने सम्पन्न भएका छन् । खिलाङ्ग देखि तारा हिल टप सम्मको पदमार्गको स्तरोन्नतीको काम सम्पन्न भएको जानकारी कार्यालय प्रमुख कार्कीले दिनुभयो ।

स्तरोन्नती सम्पन्न भएको खिलाङ्ग देखि तारा हिल टप सम्मको पदमार्ग


त्यस्तै, सिक्लेस देखि कपुचे जाने पदमार्गको मर्मत स्तरोन्नती सम्पन्न भइसकेको उल्लेख गर्नुभयो । यसरी निरन्तरताको साथ आगामी वर्षमा पनि मर्मत सुधार गर्दै यहाँ आउने पदयात्रीहरुको सुरक्षा तथा पदयात्रीहरुलाई सहज रुपमा पदयात्रा गर्नको लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अन्नपूर्ण संरक्षण क्षेत्र समितिहरु, स्थानिय समुदाय, वडा, पालिकासँग समन्य गारि यस्ता कार्यकमहरु सुचारु गर्दै आएको बताउनुभयो ।


कुराकानीको क्रममा प्रमुख कार्कीले अन्नपूर्ण संरक्षण क्षेत्रका प्रणेता स्व. डा. चन्द्रप्रसाद गुरुङको योगदानलाई स्मरण गर्नुभयो। “उहाँको परिकल्पना अनुसार नै आज समुदाय आफैँले आफ्नो गाउँको प्रकृति र संस्कृतिको मालिक बनेर संरक्षण गरिरहेको छ,” उहाँले थप्नुभयो।

पोखरामा अटो शो हुने

पोखरा ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) को आयोजनामा बुधबारदेखि दोस्रो अटो शो पोखरामा हुने भएको छ ।

प्रदर्शनीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले अटो व्यवसायको सुदृढिकरण प्रबद्र्धन गर्नका लागि आयोजना गर्न लागिको बताए ।

उनले अहिलेको परिस्थितिमा सवारी साधन मानिसका लागि विलासिता नभइन अत्यावश्यक भएको सुनाए । एउटै छानामुनि भेला गराइ सहज व्यवसायिक वातावरण निर्माण गर्नु प्रदर्शनीको उदेश्यक रहेको उनको भनाइ छ ।

प्रदशर्ननीले जिल्ला र प्रदेशबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रबद्र्धन मात्र नभइ समस्याहरुको पहिना गर्नुका साथै समाधानका विकल्प खोज्ने साझा थलोको रुपमा विकास गर्ने अपेक्षा लिएको छ ।

प्रदर्शनीमा सवारी साधन खरिद बिक्री तथा आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी समेत गराइनेछ । अटो शो मा १६ ब्राण्डका ४ पांग्रे, ६ ब्राण्डका लाइट कमर्शियल, १० ब्राण्डका २ पांग्रे, हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण लगायत वित्तिय संस्थाका २० वटा स्टल राखिने छ ।

५ दिनसम्म सञ्चालन हुने प्रदर्शनीलाइ थप आकर्षक बनाउनका लागि नेपालमा भित्रिएका पुराना मोडलका कारहरुको जानकारी तथा भिन्टेज कार समेत अवलोकनका लागि राखिने भएको छ ।

प्रदर्शनी पोखरा लेकसाइड बाराही घाटस्थित नेपाल ट्रष्टको चौरमा हुनेछ । गण्डकी प्रदेशकै ठुलो अटो प्रर्दशनीको प्रबद्र्धकको रुपमा पोखरा महानगरपालिका रहेको छ भने ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) व्यवस्थापनको रुपमा रहनेछ ।

प्रद्शनीमाकरिब ४५ दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ भने विद्यार्थीका लागि ५० र साधारणका लागि एक सय रुपैयाँ टिकट दर तोकिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21106, citypokhara.com

पूर्वी नेपालमा जाउँ है पोखरा अभियान

पोखरा। आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदै छ ।

यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको छ ।
पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पोखरामा आयोजना हुन लागेको २१ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका वासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियानले लिएको उनले बताए ।

होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा हुने यस अभियानलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सघाएका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको राजधानी रहेको र यो शहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याई उनीहरुको बसाई अवधि लम्ब्याएर बसाईलाई थप रमाइलो र उल्लासपूर्ण बनाउन फेवा नव बर्ष महोत्सव सहयोगी हुने पनि उनले बताए । पोखरा पुग्न चाहने पर्यटकलाई यहाँ निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले थप सहजता थपेको पनि लामिछानेले स्मरण गराए ।

आन्तरिक पर्यटन प्रबद्र्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ बर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई संघले निरन्तरता दिएको जनाइएको छ ।
हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पूर्वी नेपाल र पोखराविच पर्यटक तथा व्यवसायको आदानप्रदान गर्ने महत्वपूर्ण उद्धेश्य पनि अभियानले लिएको छ ।
यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती शहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा संचालनका लागि समेत संघले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने छ ।

पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार बिस्तारा रहेको र तिनमा १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संघको आँकलन छ ।
नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्धेश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २१ औं फेवा नव बर्ष महोत्सव आयोजना गर्दै छ । उक्त महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका बासिन्दालाई संघले निमन्त्रणा प्रदान गर्ने छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21102, citypokhara.com

पोखरामा जुवातास खेल्दै गरेका ११ जना तीन लाख ४६ हजार रूपैयाँसहित पक्राउ

पाेखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाईड मा जुवातास खेलिरहेको अवस्थामा ११ जना व्यक्तिहरू पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार बेलुका करिब साढे सात बजे ड्यामसाईड क्षेत्रमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद रु. ३ लाख ४६ हजार ९ सयल६५ र १० बुक तास बरामद गरेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरी बहादुर बस्नेतले छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21098, citypokhara.com

निर्वाचनपछिकाे निकाश : सत्ताको परीक्षा !

पोखरा । देशको वर्तमान अवस्था अत्यन्त जटिल छ। देश अत्यन्त खराब मोडमा पुगेको छ। देशमा आम जनताले केही गर्न सक्ने अवस्था नै देखिँदैन। विकास निर्माण ठप्प छ। हरेक क्षेत्रमा अस्तव्यस्त छ । राजनीतिक दलका नेतृत्वप्रति आम जनताको विश्वास टुटेको अवस्थाले गर्दा अबको दिनमा देशले हरेक क्षेत्रमा परिवर्तन खोजेको छ ।

देशको वर्तमान अवस्था अत्यन्त जटिल छ। देश अत्यन्त खराब मोडमा पुगेको छ। देशमा आम जनताले केही गर्न सक्ने अवस्था नै देखिँदैन। विकास निर्माण ठप्प छ। हरेक क्षेत्रमा अस्तव्यस्त छ । राजनीतिक दलका नेतृत्वप्रति आम जनताको विश्वास टुटेको अवस्थाले गर्दा अबको दिनमा देशले हरेक क्षेत्रमा परिवर्तन खोजेको छ ।

समग्रमा भन्दा गणतान्त्रिक व्यवस्थाले मुलुकको राष्ट्रिय सार्वभौमसत्ता कमजोर बनाएको जस्तो लागेको छ । धर्म, संस्कृति, परम्परामा हस्तक्षेप बढ्दै गएको छ । यतिखेर सामाजिक एकता कमजोर हुँदै गएको छ । जातीयता, क्षेत्रीयता, धार्मिकतामा द्वन्द्व बढ्दै गएको आभास भएको छ । नेपाल र नेपालीको पहिचानमा संकट पैदा हुँदै गएको छ । जनता नेतृत्वप्रति आक्रोशित बन्दै गएका छन् । त्यसैले आर्थिक, सामाजिक, सांस्कृतिक समस्या समाधान गरी मुलुकलाई स्पष्ट दिशानिर्देश गर्न जनताले नयाँ शिराको आवश्यकता महसुस गर्दै गएका छन् । यही चाहनाको परिपूर्तिका लागि जनता सडकमा उत्रन थालेका छन् । यस कारणले नयाँ किसिमले अगाडि बढ्नका लागि नेपाली समाज अग्रसर भइरहेको देखिन्छ ।

भ्रष्टाचार माथिदेखि तलसम्म व्यापकरुपमा फैलिरहेको अवस्था छ । सबै कुरा सरकारको नेतृत्व गर्ने मान्छेहरुबाटै संरक्षित भएको देखिन्छ । भ्रष्टाचारका अनेक काण्ड आएका छन् । तर राजनीतिक संरक्षणमा ती भ्रष्टाचारीलाई प्रश्रय दिइरहेको पाएका छौं । सरकारमा रहने नै भ्रष्टाचारमा लिप्त भएपछि त्यसको मातहतमा भएका सबै निकायहरु स्वतः भ्रष्टाचारीलाई संरक्षण गरी फाइल मिलाउने र आफू अनि सम्बन्धित व्यक्तिहरु उम्काउने सेटिङको रुपमा काम भएको देखिन्छ । आम जनताले यस्ता कुरा पत्तै नपाउने गरी भ्रष्टाचारीहरु संरक्षित भएको अवस्था छ।

हरेक राष्ट्र विश्व कूटनीति र महाशक्तिका स्वार्थका कारणले आत्मनिर्णयको अधिकार गुमाइरहेका छन्। राष्ट्रिय चरित्र हराउन थालेको छ। आर्थिक र सामरिक हितमा ठूला राष्ट्रले निर्वल, निर्धन र निरीह राष्ट्रलाई नचाइरहनु नियमित आकस्मिकता बनेको छ। तसर्थ हाम्रो अबको बाटोमा हामी भ्रान्त पथिक बन्दा राष्ट्र झन् ठूलो संकटमा पर्नेछ। सोभियत संघ टुक्राटुक्रामा विभक्त हुँदा पन्ध्र राष्ट्र जन्मिन सक्छन् भनेर कसैले कल्पना गरेकै थिएनन्। वासिङ्टनसँग सिङ जुधाउने प्रवल शक्तिको केन्द्र थियोे, मस्को। पूर्वी युरोपका हंगेरी, रोमेनिया, पोल्यान्ड, चेकोस्लोभाकिया, अल्बानिया, पूर्वी जर्मनीजस्ता कम्युनिस्ट राष्ट्रमा साम्यवादको सूर्यास्त हुन्छ, भन्नेलाई बौलाहा भनिन्थ्यो। अहिले अमेरिकले एक छत्रछायाँमा राज्य सञ्चालन गर्ने प्रयत्न गरिरहेकाे देखिन्छ ।

हरेक राष्ट्र विश्व कूटनीति र महाशक्तिका स्वार्थका कारणले आत्मनिर्णयको अधिकार गुमाइरहेका छन्। राष्ट्रिय चरित्र हराउन थालेको छ। आर्थिक र सामरिक हितमा ठूला राष्ट्रले निर्वल, निर्धन र निरीह राष्ट्रलाई नचाइरहनु नियमित आकस्मिकता बनेको छ। तसर्थ हाम्रो अबको बाटोमा हामी भ्रान्त पथिक बन्दा राष्ट्र झन् ठूलो संकटमा पर्नेछ। त्यसैले संविधानको उचित प्रयोग, समयसापेक्ष संशोधन गर्ने माहौल बनाउन र त्यो जिम्मेवारी पूरा गर्न सक्षम, दूरदर्शी र जनताप्रति घात नगर्ने जनप्रतिनिधि छान्ने तयारीका लागि पनि अहिलेको संसद बाधक हुने कुरा नकार्न सकिन्न । किनकि यिनै भ्रष्ट र बेइमान नेताहरूलाई वर्तमान संसदमा प्रवेश गराइयो भने अस्ति जलेको संसद भवनको खरानीमा टेकेर भए पनि आफ्नो भ्रष्ट कर्तुत छोप्न र जेन–जी पुस्ताको आन्दोलनको मर्म कुल्चिन यी अहिलेका सबै पार्टीहरूका असान्दर्भिक भइसकेका नेताहरूलाई असजिलो लाग्दैन भन्ने कुरा यिनीहरूका विगतले पुष्टि गरिसकेको छ ।

संविधान संशोधनलाई दोस्रो प्राथमिकता राखी अघिल्लो साता भएको प्रतिनिधि सभा निर्वाचनले ताजा जनादेश प्राप्त भएको छ ।अब यसको मूल प्राथमिकता छानबिन, जुन थपिएको काम छ, त्यसलाई जोड्दै भ्रष्टाचारको फाइल खोल्नु, दैनिक सुशासन सुध्रिँदै गर्छ भन्ने लाग्छ, यदि यसाे गरमा जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्ने छ र यो कार्य निर्वाध रूपमा गर्नका लागि भ्रष्टहरूको अड्डा बनाइएको अहिलेको संसद प्रतिपक्ष विहिन जस्तैः छ । जसले गर्दा निर्वाचित संसदको ठूलो दलले देशको अनुकूल कानुन निर्माण गर्न सक्दछ ।

देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, सिंहदरबार जलाइएको छ । यो राज्यको ठुलो क्षति हो । यसमा संलग्न जो कोही भए पनि दोषी पत्ता लगाएर कडाभन्दा कडा कारबाही गरियोस् । यसका लागि छुट्टै कानुन बनाइरहन पर्दैन अहिलेकै कानुनले दिन्छ । यो सरकारले यो २ काम अबिलम्ब गर्नुपर्यो । यो २ वटा काम गरेपछि सरकारले अरू काम थालनी गर्नुपर्छ ।

पोखरामा २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–सम्पन्न:भारतका अक्षय र चीनका झाउ च्याम्पियन, महिलातर्फ कोङ सियाङ यान उत्कृष्ट

पोखरा । नेपाल हवाई खेलकुद संस्था को आयोजनामा पोखरा मा सम्पन्न २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि पुरुषतर्फ भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रूपमा जितेका छन्।

सराङकोटबाट उडान भरी खपौदी नजिक निर्धारित लक्ष्यमा पुग्दै दुवैले समान ७ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेका हुन्। भारतका इमान रम्तेल ८ अंकका साथ तेस्रो स्थानमा रहे।

नेपालका पवन परियार र अर्जुन जलारीले समान ११ अंक ल्याउँदै क्रमशः छैटौँ र सातौँ स्थान प्राप्त गरे।

महिला एकल ‘एक्युरेसी’ विधातर्फ चीनकी कोङ सियाङ यानले ७ अंकसहित उपाधि जितिन्।

पाँच राउण्डसम्मको प्रतिस्पर्धामा नेपालकी दुर्गा माया गुरुङ १२६ अंकसहित दोस्रो र भारतकी श्रेयशी तामाङ १४९ अंकसहित तेस्रो भइन्। त्यस्तै इस्का राई (नेपाल) चौथो र कृषु पौडेल पाँचौँ स्थानमा रहे। महिला विधामा १० जना खेलाडी सहभागी थिए।

नेपालीतर्फको प्रतिस्पर्धामा पुरुषतर्फ पवन परियार र अरुण जलारी संयुक्त रूपमा पहिलो तथा रिखि पौडेल तेस्रो भए। महिलातर्फ दुर्गा माया गुरुङ पहिलो, इशा राई दोस्रो र कृषु पौडेल तेस्रो स्थानमा रहे। गण्डकी प्रदेशस्तरीय छनोटबाट पुरुषतर्फ पवन परियार, अरुण जलारी र रिखि पौडेल तथा महिलातर्फ दुर्गा माया गुरुङ र कृषु पौडेल राष्ट्रिय टोलीका लागि छनोट भएका छन्।

शनिबार प्रतिकूल मौसमका कारण खेल स्थगित भए पनि अघिल्ला दुई दिनको नतिजाका आधारमा अन्तिम नतिजा घोषणा गरिएको प्रतियोगिता संयोजक सुनिल भट्टराईले जानकारी दिए।

टिम इभेन्टतर्फ भारतीय मिक्स टोली (वर्कला) ३८ अंकसहित विजयी भयो। इन्डो–नेपाल संयुक्त टोली दोस्रो र टिम नेपाल तेस्रो स्थानमा रह्यो। प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका ६२ खेलाडी (५२ पुरुष, १० महिला) सहभागी थिए।

विजेताहरूलाई पुरुष व्यक्तिगततर्फ १ लाख ५० हजार, उपविजेतालाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। महिलातर्फ विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्। समूहतर्फ पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ।

प्रतियोगिता सुरक्षित रूपमा सम्पन्न भएको सेफ्टी डाइरेक्टर योगेश भट्टराईले बताए। विजेतालाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए।

आयोजकका अध्यक्ष अनिल केसीका अनुसार आगामी वर्ष क्रसकन्ट्री विधासहित प्रि–वर्ल्ड कप आयोजना गर्ने योजना रहेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21095, citypokhara.com

१२ चैतमा सांसदको,१३ चैतमा प्रधानमन्त्रीको शपथ

काठमाडाैं । रास्वपाका उच्चतहका नेताको बैठकले प्रधानमन्त्रीको शपथग्रहणका लागि आगामी १३ चैत तय गरेको छ । संघीय संसद् सचिवालयले १२ चैतमा नवनिर्वाचित सांसदको शपथग्रहण तय गरेपछि नेताहरूले १३ चैतमा प्रधानमन्त्रीको शपथ मिति तय गरेका हुन् ।

रास्वपा अध्यक्ष रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपाध्यक्षद्वय डिपी अर्याल तथा स्वर्णिम वाग्लेबीच बिहीबार बसे को बैठकले शपथ मिति तय गरेको हो ।

प्रधानमन्त्रीमा वरिष्ठ नेता शाहले शपथ लिने तय भए पनि मन्त्रीको नाम भने टुंगो लाग्न सकेको छैन । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यको शपथग्रहण कार्यक्रम भने १२ चैत दिउँसो २ बजे तय गरेको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदको शपथग्रहणअघि ज्येष्ठ सदस्यको राष्ट्रपतिसमक्ष शपथ गराइने छ ।

निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष बुझाएको निर्वाचन परिणाम राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई पठाउनेबित्तिकै ज्येष्ठ सदस्य पहिचान गरी शपथ व्यवस्था गरिने गिरीले बताए ।

ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणका लागि तीनजनाको नाम राष्ट्रपति कार्यालय पठाइने र राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ सदस्यलाई शपथग्रहण गराएसँगै कार्यक्रम अघि बढाइने भएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21092, citypokhara.com

पोउवा संघले दियो महिलाहरुलाई भ्याट र करकाे तालिम

पोखरा।   पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमी र व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) र करबारे तालिम दिएको छ । जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना

(आरएसआरएसडी) को सहयोगमा उद्योगी/व्यवसायीलक्षित भ्याट र करसम्बन्धी तालिम संचालन गर्दै आइरहेको संघले शुक्रबार र शनिबार महिलाहरुका लागिमात्र तालिम आयोजना गरेको संघकी महासचिव तथा कार्यक्रम संयोजक शोभा गौतमले जानकार दिइन् । करिब ६५ जना महिलाको सहभागिता रहेको तालिममा सीए विवेक श्रेष्ठ प्रशिक्षक रहेका थिए ।

तालिम समापनको अवसरमा शनिबार प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा बोल्दै उनले भ्याट र करसम्बन्धी जानकारी व्यवसायीहरुका लागिमात्र नभएर सबै नागरिकको सरोकारको विषय भएको औंल्याए । भ्याट र करको भुक्तानी प्रक्रिया नबुझ्दा वा हेलचेक्र्याइँ गर्दा भोग्नुपर्ने दण्ड जरिवाना कडा रहेको भन्दै उनले आफू सचेत हुँदा त्यस्तो दण्डबाट जोगिन सकिने बताए ।

जीआइजेड राजश्व सुधार परियोजना (आरएसआरएसडी) का वित्त व्यवस्थापन तथा प्रशासकीय सल्लाकार नविन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै स्वास्थ्यकर्मी जिता बरालले शैेक्षिक चेतनास्तर कमजोर भएका तथा आर्थिक स्थिति दरिलो नभएका महिलाहरुलाई पनि यस्ता तालिम प्रदान गर्नुृपर्ने आवश्यकता औंल्याइन् । स्वास्थ्यकर्मी रहेकी उनले आफू व्यवसायमा जोडिने जमर्को गरिरहेकाले तालिममा सहभगिता जनाएको बताइन् ।

यसअघि शुक्रबार भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले हरेक वर्ष कर कानूनमा परिवर्तन हुने भए पनि करका सामान्य सिद्धान्तमा परिवर्तन नहुने भएकाले आधारभूत जानकारी सधैँ काम लाग्ने बताए । उनले कर कार्यालयले प्रदान गर्ने छुटका व्यवस्थाबारे ध्यान दिन पनि व्यवसायीसँग आग्रह गरे । महिलाहरु व्यवसायमा आउँदा र वित्त व्यवस्थापनको काम सम्हाल्दा चुहावट घट्ने उनको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै जीआइजेड राजश्व सुधार परियोजना (आरएसआरएसडी) का वित्त व्यवस्थापन तथा प्रशासकीय सल्लाकार नविन श्रेष्ठले करदाताको क्षमता वृद्धिको उद्देश्यले आयोजित तालिमले कर प्रणालीमा सुधार तथा राजश्व बृद्धिमा योगदान पु¥याउने अपेक्षा रहेको बताएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21089, citypokhara.com