Breaking News
काउन्सिलद्वारा तथ्य जाँच कार्यदल गठन

काठमाडौँ, असोज २९ गते ।

काउन्सिलद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको छ । सदस्य भीमलाल श्रेष्ठको संयोकत्वमा सदस्यद्वय कुमारी निमा काफ्ले र बालकृष्ण अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको हो ।

काउन्सिलको सदस्य भीमलाल श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)मा भएका प्रावधानहरूको स्मरण गराउँदै वर्तमान बदलिँदो परिस्थितिमा संयमित भएर तथ्यपरक सामग्री सम्प्रेषण गर्न सम्पूर्ण पत्रकार तथा आमसञ्चार माध्यमलाई अपिल गरेको छ । साथै, सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने तथा घृणाजन्य, हिंसा भड्काउने खालका अभिव्यक्तिलाई प्राथमिकता दिएर सामग्री प्रकाशन/प्रसारण नगर्न/नगराउन यस्तो आग्रह गरेको हो ।

देशभरका आमसञ्चार माध्यममार्फत विज्ञापन बोर्डसँग समन्वय गरी पत्रकार आचारसंहितासम्बन्धी सन्देशमूलक सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

देशभरका पत्रकार र आमसञ्चार माध्यमको आधुनिकीकरण गर्नुपर्ने तथा व्यावसायिकता बढाउनुपर्ने भएकाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका पत्रकार तथा आमसञ्चार माध्यमलाई समेत विद्यमान सेवा–सुविधा उपलब्ध गराउन आवश्यकताअनुसार मिडिया विकास कोषसम्बन्धी विनियम र नीति संशोधन गरी प्रक्रिया अघि बढाउन सुझाव दिने समेत निर्णय गरेको प्रेस काउन्सिल नेपालद्वारा ज्ञारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/10/15/10128/, www.presscouncilnepal.gov.np

ओलीले भने-‘भदौ २३ र २४ का घटना देश सिद्ध्याउने योजनाअनुसार भएका हुन्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटना अहिलेको व्यवस्था र देश सिद्ध्याउने योजनाअनुसार भएकाे बताएका छन्।

बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले देखिएका घटनाहरू वर्षौँदेखि चलिरहेको योजनाको परिणाम भएको बताए। उनका अनुसार, ‘संसद् मान्दैनौं, व्यवस्था मान्दैनौं, व्यवस्था नै फेर्नुपर्छ’ भन्नेहरूले नै ती घटना गराएका हुन्। ओलीले भने, “सिंहदरबार जलाउँछौँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउँछौँ भनेकै हुने, चैत १५ मा पनि उनीहरू त्यसतर्फ गएका थिए।”

ओलीका अनुसार नेपालका सफलता, संस्कार र गौरव मन नपराउने, अन्तैबाट पालित तत्त्वहरूले देश र सम्पत्तिमाथि आक्रमण गरेका छन्। उनले भने, “सार्वजनिक धरोहर र सम्पत्ति जलाइयो, प्रहरीका हतियार खोसिए, निजी घर र उद्योगसमेत जलाइए — यी तमासा हुन्।” ओलीका भनाइमा, यस्ता शक्ति राष्ट्रवादी आन्दोलनका विरुद्ध सक्रिय छन्।

तानाशाही र अधिनायकवादलाई फालेर स्थापित लोकतन्त्रलाई जोगाउन एमाले अग्रसर रहेको बताउँदै ओलीले भने, “हामीले ती सबै अप्ठेरा पार गरेर अहिलेको अवस्था ल्याएका हौं, अहिले पनि असहज स्थिति छ, तर त्यसलाई काँधमा बोकेर अघि बढ्नुपर्छ।”

उनका अनुसार भदौ २३ र २४ का घटना अनेपेक्षित थिएनन्, तर त्यति ठूलो स्तरको हुने अन्दाज भने गरिएको थिएन। ओलीले भने, “उनीहरू प्रयास त गरिरहेका थिए, तर हामीले रोक्छौं भन्ने विश्वास थियो। राज्य संयन्त्रले चाहेको भए रोक्न सकिन्थ्यो, तर सकिएन।”

लोकतन्त्र जनताले ल्याएको व्यवस्था भएको भन्दै ओलीले भने, “अब यसको रक्षा पनि जनताबाटै हुनुपर्छ। संविधानमा लागेको चोटमा मलमपट्टी जनताले नै गर्नुपर्छ।”

त्यस क्रममा उनले असंवैधानिक सरकारले प्रतिनिधि सभा विघटन गरेको विषयमा टिप्पणी गर्दै भने, “हिजो आफू दुई तिहाइको सरकार हुँदा संसद् विघटन हुँदै भनेकाहरू आज कानुन लुकाएर संसद् विघटन ठिक भन्छन्, तर सर्वोच्च अदालतले पहिले नै नजिर कायम गरिसकेको छ।”

ओलीका अनुसार सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री बनेकी थिइन् र संसद् विघटन पनि त्यही ढंगले भएको थियो। उनले थपे, “अहिलेको सरकार अवैधानिक र चुनाव नगराउने बाटोमा लागेको प्रतिगामी सरकार हो।”

ओलीले अहिले चर्चामा रहेका ‘जेनजी आन्दोलन’ का माग कुनै राजनीतिक घटनाक्रमसँग नजोडिएको भन्दै  ओलीले भने भने, “उनीहरूको माग सुशासन र सामाजिक सञ्जाल खोल्नेमात्र हो। त्यसैले एमालेको काँधमा अहिले ठूलो जिम्मेवारी छ र त्यो पूरा गर्न एकता आवश्यक छ।”

फेसबुकमा आलोचना हुँदैमा आफूले पद नछोड्ने स्पष्ट गर्दै ओलीले भने, “फेसबुकले अध्यक्ष हटाउने होइन, कमिटीले आदेश दियो भने म एक मिनेट पनि बस्दिनँ। कमिटीभन्दा बाहिर गएर लोकप्रियतावादको पछि लाग्नु हुँदैन।”

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19800, citypokhara.com

पत्रकारलाई काउन्सिलको सहयोग

पत्रकारलाई काउन्सिलको सहयोग

काठमाडौँ  ।

प्रेस काउन्सिल नेपालले जेन्जी (Gen-Z) प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मङ्गलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुङ्गाना र नेपाल प्रेस डटकमका उमेश काकीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गर्नुभयो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उहाँहरूले समाचार सङ्कलनका क्रममा आफूले भोगेका अनुभव सुनाउनुभएको थियो ।
सोही प्रदर्शनका क्रममा गोली लागी घाइते भएका स्वतन्त्र पत्रकार शम्भु दङ्गाल भने अस्वस्थताका कारण उपस्थित हुन सक्नुभएन ।
यसैबिच काउन्सिलले समाचार सङ्कलनका क्रममा चितवनमा दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार अनिल ढकाल र सुदन पौडेललाई पनि आर्थिक सहयोग प्रदान गरेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/10/15/10123/, www.presscouncilnepal.gov.np

विष्णुपादुका माइस्थान गुठी व्यवस्थापन समितिको साधारणसभा,धार्मिक गतिविधिले मन्दिर थप आकर्षक

पोखरा । पोखरा महानगरपालिका-२५ हेमजास्थित धार्मिक एवं सांस्कृतिक प्रतीक विष्णुपादुका माइस्थान गुठी व्यवस्थापन समितिको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा मन्दिरको विकास, धार्मिक संरक्षण र समुदायको सहभागिताबारे विशेष चर्चा गरिएको थियो।

कार्यक्रममा पाेखरा महानगरपालिका वडा नं. २५ का कार्यबाहक अध्यक्ष सुवास भण्डारीले  विगतका वर्षमा सम्पन्न कार्यहरूको समीक्षा गर्दै मन्दिर परिसरको विकासमा सबैको योगदान प्रशंसनीय रहेको बताए।

उनले भक्तजन र स्थानीयवासीको एकताले विष्णुपादुका मन्दिरलाई हेमजाको मात्र नभई सम्पूर्ण पोखराको गौरवस्थल बनाएको उल्लेख गरे। विष्णुपादुका मन्दिरलाई “मुक्तिनाथ जाने प्रवेशद्वारका रूपमा विकास र प्रचार–प्रसार गर्ने योजना” रहेको उनकाे भनाई छ ।

समितिका अध्यक्ष चुणामणी तिम्सिनाले चालू आर्थिक वर्षका कार्यक्रमहरु प्रस्तुत गरे भने सचिव कमलमणि त्रिपाठीले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्दै जनैपूर्णिमा, नवदुर्गा पूजा, कोजाग्रत पूर्णिमा, शिवरात्रि, चण्डीपूर्णिमा लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा सम्पन्न गरिएको जानकारी गराए।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष देवकृष्ण पौडेलले मन्दिरमा नयाँ प्रवेशद्वार निर्माण, छाना छाउने र मर्मत कार्य पूरा भएको उल्लेख गर्दै करिब साढे चार लाख रुपैयाँ खर्च भएको बताए । यसका साथै आर्थिक प्रतिवेदनमा उनले गत वर्ष २०८१/८२ काे सम्पूर्ण आयव्ययकाे फेहरिस्त प्रस्तुत गरेका थिए ।

मन्दिरमा निरन्तर भइरहेका धार्मिक गतिविधिले मन्दिर परिसर थप आकर्षक बनेको समितिले जनाएको छ।

सामजसेवी भिमप्रसाद श्रेष्ठले मन्दिरमा हालै सम्पन्न भागवत् महापुराण कथा प्रवचनमा सक्रिय रुपमा काम गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समितिका पूर्व अध्यक्ष माधव बाँस्तोलाले मन्दिरको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक महत्त्वबारे जानकारी गराए भने वडा सूचना अधिकारी इश्वरीप्रसाद बाँस्तोलाले मन्दिरको संरक्षण र संवर्द्धनका लागि वडा कार्यालय सधैं सक्रिय रहने बताए।

महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाले विष्णुपादुका मन्दिरलाई हेमजाको गौरव भन्दै यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको धारणा व्यक्त गरिन्।

मन्दिर परिसरमा सम्पन्न छाना छाउने, प्रवेशद्वार निर्माण र मर्मत कार्यले स्थलको सौन्दर्य थपिएको छ। समितिले मन्दिरको इतिहास र गुठी जग्गा व्यवस्थापनका लागि २०७४ सालदेखि निरन्तर खोजतलास र व्यवस्थापन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

कार्यक्रममा विभिन्न आमासमूह, भजनसमूह, समाजसेवी, जेष्ठ नागरिक समिति र युवा समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्त्यमा समितिले मन्दिरमा सेवापूर्वक उपस्थित सबै दातृ, भक्तजन र संस्थाहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19795, citypokhara.com

बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी

काठमाडौं । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएको छ ।

मेयर शाहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई ‘फोहर’ भनेको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रमुख र आधारभूत उत्पादन शक्ति किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुर्‍याउने उक्त अभिव्यक्ति अत्यन्त घोर भर्त्सनीय र निन्दनीय छ।”

महासंघले यस्तो अभिव्यक्ति किसान समुदायको आत्मसम्मानमाथि ठाडो प्रहार भएको भन्दै महानगरको जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो टिप्पणी हुनु दुखद भएको जनाएको छ ।

महासंघले मेयर साहलाई आफ्नो फेसबुक स्टाटस हटाएर किसानसँग सार्वजनिक माफी माग्न माग गरेको छ । अन्यथा महासंघले विरोधका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ ।बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19789, citypokhara.com

पोखरामा उद्योगी व्यवसायीमाथि आक्रमणको घटनाप्रति महासंघको आपत्ति

पोखरा ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ पोखरा महानगरले हालै पोखरामा भएका उद्योगी–व्यवसायीमाथिका आक्रमण, लुटपाट, आगजनी र चोरीका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । महासंघको तेस्रो बैठकले भदौ २२ र २४ गते जेठ जेठे समूहले गरेको शान्तिपूर्ण आन्दोलनको आडमा भएका तोडफोड र आपराधिक गतिविधिको निन्दा गरेको हो ।

बैठकले दोषीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । यस्ता घटनाले देशको आर्थिक वातावरणमा नकारात्मक असर पार्दै लगानीका सम्भावना कमजोर बनाएको महासंघको निष्कर्ष छ । पर्यटन क्षेत्रमा समेत यसको असर परेको भन्दै महासंघले आगामी दिनमा यस्ता घटनाबाट व्यवसायीलाई सुरक्षित राख्न राज्य गम्भीर हुनुपर्ने जनाएको छ ।

व्यवसायीहरूको हकहितका विषयमा काम गर्दै आएको महासंघले प्रहरी प्रशासनसँग सहकार्य गरी सुरक्षा निकायसँग व्यवसायीको मनोबल वृद्धि गर्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । यसका लागि ५१ सदस्यीय व्यवसायी सुरक्षा समन्वय समिति गठन गर्ने निर्णय पनि गरिएको छ ।

महासंघका अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले पोखरा महानगर क्षेत्रमा रहेका व्यवसायीको हकहितका कामलाई निरन्तरता दिने र अन्य व्यवसायिक क्षेत्रको विकासका लागि आगामी वर्षका कार्ययोजना तय गर्ने निर्णय गरेको छ । बैठकमा महासंघका कार्य समिति सदस्य लोकेन्द्र राईले निर्णयका बारेमा जानकारी दिएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19785, citypokhara.com

माछापुच्छ्रेमा ‘मुनाल भलिबल कप’ प्रचारार्थ मैत्रीपूर्ण खेल सम्पन्न

पोखरा । माछापुच्छ्रे गाउँपालिका–१ पिपरमा जैविक विविधता संरक्षण र पर्यावरणीय पर्यटन प्रवर्द्धनका लागि ‘मुनाल भलिबल कप’ प्रचारार्थ मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएकाे छ ।

आगामी वर्ष सन् २०२६ मा आयोजना हुने मुनाल भलिबल कपको पूर्वतयारीको रूपमा मैत्रीपूर्ण खेल भएकाे हाे । यस खेलमा स्थानीय समुदाय, शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूले सक्रिय सहभागिता जनाए ।

भलिबल प्रतियोगितामा भुपु खेलाडी, कर्मचारी, शिक्षक, जनप्रतिनिधि र ए क्याप्सिएमसीबीच उत्साहपूर्ण पहिलो खेलमा भुपु खेलाडीले जनप्रतिनिधिलाई २५–१६, २५–१३ ले पराजित गरे भने दोस्रो खेलमा कर्मचारीले भुपु खेलाडीलाई २५–२३ र २५–२३ को नतिजासहित हराए।

तेस्रो खेलमा भुपु खेलाडी ए ले ए क्याप्सिएमसीलाई २५–२३, १९–२५ र १५–७ ले पराजित गरे। फोर्थ खेलमा कर्मचारीले शिक्षकलाई २५–२३ र २५–१५ को स्पष्ट नतिजासहित जित्दा, फाइनलमा कर्मचारीले भुपु खेलाडीलाई २५–१० र २५–२० ले हराउँदै प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्‍यो।

कार्यक्रम विश्व कालिज संघ (WPA), Biocos नेपाल, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP), माछापुच्छ्रे गाउँपालिका र ग्रेट माछापुच्छ्रे ट्रेलको संयुक्त सहयोगमा  भएकाे हाे ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले खेलकुद, पर्यटन र संरक्षणलाई एउटै अभियानको रूपमा अघि बढाउने योजना रहेको बताए। स्थानीय तह, संस्थाहरू र समुदायबीच सहकार्यले मात्रै संरक्षणलाई दीर्घकालीन बनाउन सकिने उनकाे विश्वास छ । अध्यक्ष गुरुङले पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केपलाई विश्वस्तरमा चिनाउने पनि पालिकाको लक्ष्य रहेको  जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पालिकाका सबै नौ वडामा छुट्टाछुट्टै पर्यटकीय सम्भावना रहेकाे र यस्ता कार्यक्रमले संरक्षण र पर्यटन प्रवर्द्धनमा समुदायलाई सक्रिय बनाउने बताईन् ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. १ का अध्यक्ष इन्द्र गुरुङले सन् १९७२ देखि पिपर क्षेत्रमा विभिन्न चराचुरुङ्गी र कालिज प्रजातिको अध्ययन हुँदै आएको बताए । अहिले पनि विश्व कालिज संघसँग सहकार्यमा संरक्षण गतिविधि जारी रहेकाे उनकाे भनाई छ । उनका अनुसार स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने र खेलकुदमार्फत संरक्षण तथा पर्यटनलाई सँगसँगै अघि बढाउने लक्ष्य राखिएको छ।

पिपर क्षेत्र सन् १९७६ देखि फेजेन्ट प्रजातिका लागि विशेष क्षेत्रको रूपमा परिचित छ। यहाँ हिमालयन फेजेन्टका छ प्रजातिहरू पाइन्छन्। Biocos नेपालका अध्यक्ष लक्ष्मण प्रसाद पौडेलले खेलकुदजस्ता सामाजिक माध्यमहरूले संरक्षणबारे जनचेतना फैलाउन ठूलो भूमिका खेल्ने बताए ।

मुनाल भलिबल कपको नाममै संरक्षणको सन्देश छ। डाँफे, मुनाल र कालिज जस्ता प्रजातिहरू नेपालको राष्ट्रिय पहिचान भएकाले स्थानीय तहले खेलकुदमार्फत संरक्षण चेतना फैलाउने उद्देश्यसहित यो अभियान सुरु गरेको हो। Biocos नेपालका निर्देशक पारस विक्रम सिंहका अनुसार खेलकुदले मानिसहरूमा जैविक विविधताप्रतिको जिम्मेवारीबोध जगाउने माध्यमको रूपमा काम गर्छ।

मुनाल भलिबल कप–२०२६ अन्तर–वडा स्तरमा आयोजना हुने छ। प्रत्येक टिममा ९ खेलाडी रहने छन्, जसमा ३ जना राष्ट्रिय स्तरका खेलाडी र बाँकी स्थानीय बासिन्दा रहने व्यवस्था छ। विजेताले नगद तीन लाख, उपविजेताले दुई लाख र तृतीयले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीका लागि विशेष पुरस्कार पनि तोकिएको छ।

खेलसँगै स्थानीय झाँकी प्रदर्शन र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। यसले स्थानीय संस्कृति र खेलकुदको प्रदर्शन सुनिश्चित गर्‍यो। दशैं–तिहारअघि आयोजना गरिएको यस कार्यक्रमले संरक्षण, संस्कृति र पर्यटनलाई एउटै अभियानमा जोड्ने उद्देश्य पूरा गरेको छ।

पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केप माछापुच्छ्रे गाउँपालिकाको जैविक सम्पदाको केन्द्रबिन्दु हो। यहाँ डाँफे, मुनाल, कालो भालु, कस्तुरी मृग र ध्वाँसे चितुवा जस्ता दुर्लभ जनावरहरूको वासस्थान रहेको छ। खेलकुदमार्फत यहाँ संरक्षण र पर्यटनको सन्देश प्रत्यक्ष रूपमा समुदायसम्म पुर्‍याइएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19781, citypokhara.com

काउन्सिलको स्वायत्तताको सम्मान गर्छौं, प्रभावकारी बनाउन सहयोग गर्छौंः सञ्चारमन्त्री खरेल

काउन्सिलको स्वायत्तताको सम्मान गर्छौं, प्रभावकारी बनाउन सहयोग गर्छौंः सञ्चारमन्त्री खरेल
काठमाडौँ, असोज २६ गते ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपालको स्वयत्तताको सम्मान गर्दै काउन्सिललाई थप प्रभावकारी बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।
काउन्सिलमा आज भएको स्वागत तथा स्थलगत भ्रमणका क्रममा उहाँले सरकार तोकिएको मितिमा निर्वाचन गराउन इमान्दार रहेकाले निर्वाचनलाई प्रभावित बनाउने गरी कतिपय न्युज मिडिया र सोसल मिडियाबाट सम्प्रेषित हुने सामग्रीको तथ्य जाँच गरी काउन्सिलले गहिरोसँग अनुगमन गर्ने अपेक्षा गर्नुभयो ।
काउन्सिलको तत्काल बढाउन सकिने, साधन–स्रोत बढाउन, विनियमवली संशोधन तथा थप बजेटसम्बन्धी कार्यलाई अर्थ मन्त्रालयसँग समन्वय गरी मन्त्रिपरिषद्मा लैजान आफू तयार रहेको स्पष्ट पार्दै मन्त्री खरेलले काउन्सिल मिडिया क्षेत्रको न्यायालय भएकोले अझै निष्पक्ष भएर अनुगमन गर्न सुझाव दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्ने क्रममा काउन्सिल सदस्य बालकृष्ण अधिकारीले काउन्सिलले सक्रितापूर्वक अनुगमन गर्दै आएको बताउँदै प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचनलाई समेत मध्यनजर गरी सदस्यहरूको नेतृत्वमा ३ जना ‘फोकल पर्सन’ बनाएर विशेष अनुगमन गर्न थालिएको जानकारी दिनुभयो ।
कार्यक्रममा काउन्सिलका सदस्यहरू नकुल अर्याल, पदम राज जोशी, भीमलाल श्रेष्ठ, विजयराज अधिकारी, शन्तराम बिडारीले काउन्सिलले यसअघि र जेन्जी आन्दोलनपछि पनि सक्रिय रूपमा भूमिका निर्वाह गरेको प्रष्ट पार्नुभयो ।
मन्त्रीलाई स्वागत गर्दै काउन्सिल सदस्य कुमारी निमा काफ्लेले काउन्सिल परम्परागत रूपमा नभई मिडिया क्षेत्रका सबै पक्षलाई हेर्ने गरी आधुनिक काउन्सिलका रूपमा उभिन चाहेकाले यस अभियानमा सहयोग गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले काउन्सिललाई नीतिगत र प्रशासनिक रुपमा सहयोग गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो ।
काउन्सिलका सदस्य–सचिव उदय बहादुर रानामगरले सहजीकरण गर्नुभएको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले हालसम्म गरेका प्रगति, समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यका लागि मन्त्रालयले गर्नुपर्ने विभिन्न सहयोगलगायतका विषयमा जानकारी गराउनुभएको थियो । उक्त अवसरमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय, काम गर्दाका अप्ठ्यारा आदिबारेमा पनि जानकारी गराइएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/10/12/10119/, www.presscouncilnepal.gov.np

मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १०० जनालाई उपहार

पोखरा ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका प्रतिष्ठानबाट मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १ सय जनाले विभिन्न उपहार जितेका छन् । अनुज थापा (कुपन नम्बर १७२३४)ले ३२ इन्चको स्मार्ट टिभी जितेका छन् ।

संघमा आवद्ध प्रतिष्ठानहरुबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामान किन्नेहरुले उपहार पाएका हुन् । प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२ अन्तर्गत शनिबार दोस्रो चरणको उपहार जित्नेहरु चयन गरिएका हुन् । चार स्मार्ट फोन विजेतमा कुपन नम्बर ४७७०, ३८०३६, ६८४५ र ११३४२ छन् ।

उपहार योजनाअन्तर्गत २५ जनाले किप्याड फोन उपहार पाएका छन् । यसरी उपहार पाउनेमा कुपन नम्बर ३०७३, ३९६३७, ४२१७७, २६३०४, ४१७४७, ९०२६, ३०४७८, २५५८२, १०४७९, २४१७३, ३९१४५, २७३५२, ४०२४१, १४१५८, २३२४२, २१३९८ र कुपन नम्बर १९८०३ छन् । यस्तै, कुपन नम्बर २१३०४, ४७२८३, ३१०९०, ४५७३२, १५५१२, ४२५४७, ५६६९ र १५६४९ ले पनि किप्याड फोन जितेका छन् ।

यस्तै, २५ जनालाई इयरबड, ६ जनालाई स्मार्ट वाच, चार जनालाई ब्लुटुथ स्पिकर, छ जनालाई पावर बैंक, दुई जनालाई राइस कुकर, दुई जनालाई इलेक्ट्रिक जग र २५ जनालाई भित्तेघडी उपहार परेको छ ।

यसअघि पहिलो चरणमा कमल अधिकारी र अमिन दाहालले च्यांग्रा जितेका थिए भने अरुन राईले ३२ इन्चको स्मार्ट टिभी पाएका थिए । संघ अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित संघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

व्यवसायी र ग्राहकको हितलाई ध्यानमा राखी साउन १५ गतेदेखि आउँदो पुस १५ गतेसम्म ५ महिनाका लागि चाडपर्व लक्षित उपहार योजना ल्याइएको हो । योजनाका मुल आयोजक समितिका संयोजक तथा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष खरेलले इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छनिएको जनाए ।

उनले भने, ‘अझै दुई चरणमा थप उपहार विजेताहरु छानिने छन् । यो योजनामा व्यवसायी र उपभोक्ता दुवैको उत्साहपूर्ण सहभागिताले हामीलाई हौसला थपेको छ ।’ योजना अन्तर्गत ५ सय ६ जना भाग्यशाली विजेताले उपहार प्राप्त गर्ने छन् । भाग्यशाली विजेतामध्ये एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर, २ जनालाई च्यांग्रा, २ जनालाई फ्ल्याकसिप मोबाइल फोन, २० जनालाई स्मार्ट फोन, ५ जनालाई ३२ इन्चको टिभी, १० जनालाई राइसकुकर दिइनेछ ।

१० जनालाई इलेक्ट्रिक जग, १ सय २५ जनालाई किप्याड फोन, १ सय २५ जनालाई इयरबड, २० जनालाई स्पीकर, ३० जनालाई पावर बैंक, ३० जनालाई स्मार्ट घडी, १ सय २५ जनालाई भित्ते घडी प्रदान गरिनेछ ।

संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका सल्लाहकार नारायण सुवेदीले यो मेलालाई सिग्नेचर कार्यक्रमका रुपमा निरन्तरता दिइनुपर्ने बताउँछन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19776, citypokhara.com

सञ्चार माध्यमको अनुगमन प्रभावकारी गराउन काउन्सिलले तोक्यो ‘फोकल पर्सन’

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले रेडियो/टेलिभिजन, छापा र अनलाइन सञ्चार माध्यममा आचारसंहिता अनुगमन प्रभावकारी बनाउन फोकल पर्सन नै तोकेको छ । शुक्रबार काउन्सिल सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले तीन जना सदस्यलाई विशेष जिम्मेवारी दिँदै आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन फोकल पर्सन तोकेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा टेलिभिजन/एफएम रेडियोतर्फ सदस्य नकुल अर्याल, छापातर्फ पदम राज जोशी र अनलाइनतर्फ शन्तराम बिडारीलाई फोकल पर्सन तोकिएको जनाइएको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन देहायानुसारका सदस्यहरूलाई ‘फोकल पर्सन’ का रूपमा तोक्ने र आचारसंहिता प्रतिकूल घटनाका सम्बन्धमा जुनसुकै बखत सम्पर्क गरी उजुरी वा गुनासा राख्न आम जनमानसमा आग्रह गर्ने ।’

यस्तै बैठकले पछिल्लो एक महिना अर्थात् २०८२ भदौ ५ देखि असोज ५ सम्म आमसञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी प्रतिवेदन तयार गर्न सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ । सातै प्रदेशमा पत्रकार आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले यसअघि काठमाडौँ उपत्यकाका ६ वटा टेलिभिजनमा पत्रकार आचारसंहिता, श्रमजीवी पत्रकार र तत् तत् माध्यमको अवस्थाबारे गरेको स्थलगत नमुना अनुगमन प्रतिवेदनका आधारमा विभिन्न छापा माध्यम, एफएम रेडियो र अनलाइन माध्यमको पनि स्थलगत अनुगमन गर्ने भएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/10/10/10117/, www.presscouncilnepal.gov.np