Breaking News
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा।
कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् ।

पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका २ जनालाई हरेक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अनुसार २६ औं स्थापना दिवसका अवसरमा यो वर्ष पोखराका फोटोपत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आदिवासी जनजाति पत्रकारहरुलाई उत्प्रेरणा प्रदान गर्ने काम गरिरहेका बताए । फोनिजमा आवद्ध पत्रकारहरुले पत्रकारिता क्षेत्रको विकास गर्दै आदिवासी जनजाति समुदायका लागि सकारात्मक परिवर्तनको सन्देश दिने सामाचार सामाग्री तयार गर्नुपर्ने उनको सुझाव थियो ।

प्रमुख आचार्यले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै पुरस्कार प्राप्त गर्नु कुनै एकदिनको कर्मको फल नभएको बताए । निरन्तरको मेहनतले मात्र पुरस्कार र सम्मान प्राप्त गर्न सकिने उनको भनाई थियो । ‘पुरस्कार प्राप्त गर्नु चुनौती हो, फोनिजले यसलाई निरन्तरता प्रदान गरेको छ र पुरस्कृत व्यक्तिलाई प्रोत्साहन हो,’ उनले भने, ‘यस्ता पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तरता दिन अझै हौसला मिल्छ ।’

सम्मानित पत्रकार श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै पहिले र अहिलेको पत्रकारिता पेसामा धेरै परिर्वतन आइसकेको बताए । आफूहरुको पुरानो अनुभव हालका नयाँ पुस्तालाई कथा जस्तो लाग्न सक्ने समेत उनको भनाई छ । अर्का सम्मानित फोटो पत्रकार गुरुङले पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिलेको बताए ।

गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारिता क्षेत्रमा रहेर पत्रकारले निष्पक्ष ढंगले पारदर्शितापूर्ण काम गर्नुपर्ने बताइन् । प्रेस रजिष्ट्रार कार्यालयले संविधानको मर्म अनुसार केन्द्रमा गए मात्रै हुने काम गण्डकी प्रदेशबाटै हुने गरेर अगाडि बढिरहेको उनले जानकारी दिएकी छिन् । पत्रकारिता क्षेत्रको सृवृद्धिका लागि गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालयको स्थापना भएको भण्डारीको भनाई थियो ।

फोनिजभित्रको एकताबाट सबैले सिक्नुपर्ने भण्डारीले बताइन् । ‘विभिन्न आस्था र विचार भएपछि फोनिजभित्र प्रवेश गरेपछि एकरुप देख्छु,’ उनले भनीन्, ‘यसबाट गैर फेनिजकर्मीले समेत सिक्नुपर्छ ।’ प्रेस रजिष्टार कार्यालय फोनिज गण्डकी प्रदेशसंग मिलेर पत्रकारिता क्षेत्रमा काम गर्न तयार रहेको उनले बताएकी छिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश परिषदका उपाध्यक्ष खीम छन्त्याल आदिवासी जनजातिको मुद्दा उठानमा फोनिजमा आवद्ध पत्रकारहरुले ख्याल राख्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पुरस्कारदाता बिमलमान गुभाजू र प्रेस रजिष्ट्रार बिमला भण्डारीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो ।

फोनिज गण्डकीका इन्चार्ज तथा छनौट समितिका सदस्य रुद्र श्रीष मगरले पुरस्कृत व्यक्तित्वको परिचय दिएको कार्यक्रम फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) ले स्वागत मन्तव्य र सञ्चालन फोनिज गण्डकीका महासचिव सुरज थापा मगरले गरेका थिए ।
२०७७ सालबाट स्थापित कञ्चन पत्रकारिता पुरस्कारबाट योभन्दा अगाडि रुद्र हितान मगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला राना सम्मानित भइसकेका छन् ।

फोनिज स्थापना दिवसका अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले ३ दिवसीय कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।

यस अन्तर्गत साउन २५ गते मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल विषयक फोनिज संवाद, २६ गते पत्रकार महिला, पुरुष र भेट्रान्स फुटसलसँगै रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको थियो ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19260, citypokhara.com

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

काठमाडौँ ।

आर्थिक वर्ष २०८१/८२ मा देशभर प्रेस स्वतन्त्रता हनन्का ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले २०८१ असारदेखि २०८२ असार मसान्तसम्म गरिएको अनुगमनबाट प्रेस स्वतन्त्रता हननका ९४ घटना भएको मङ्गलबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी धम्की/दुर्व्यवहारका घटनाहरू ४१ रहेको उल्लेख गरिएको छ । ‘आक्रमण/कुटपिटका घटना २२, पेसागत असुरक्षा १३, कब्जा/अवरोध ७, पक्राउ/पक्राउ प्रयासका घटना ७ रहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘नीतिगत बन्देजका २, पत्रकार हत्या १, जातीय विभेदका घटना १ रहेका छन् ।’ प्रदेशगत तथ्याङ्कअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ३८ घटना भएको काउन्सिलले जनाएको छ । मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा ८/८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र देश बाहिर १ घटना भएका विज्ञप्तिमा उल्लेख छ ।

लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएको पाइएको छ । घटना ९४ वटा भएको भए पनि एउटै घटनामा एक वा एकभन्दा बढी व्यक्ति पीडित भएको हुँदा समग्र पीडितको सङ्ख्या घटना‐सङ्ख्या भन्दा बढी देखिएको बताइएको छ । यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बाग्मती प्रदेशमा ४, मधेस प्रदेशमा ३ र कर्णालीमा २ घटना भएको पाइएको काउन्सिलले जनाएको छ । काउन्सिलले पत्रकार आचारसंहिताका साथै प्रेस स्वतन्त्रताका सम्बन्धमा समेत नियमित अनुगमन गर्दै आएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/08/12/9961/, www.presscouncilnepal.gov.np

‘मिडियामा आदिवासी जनजातिको समावेशिता,आजको आवश्यकता’

पोखरा ।
प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको फोनिज संवादमा उनले मिडियामा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको ‘मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल’ कार्यक्रममा उनले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता र समावेशिता आजको आवश्यकता बताए । आदिवासी जनजातिलाई पत्रकारिताको क्षेत्रमा कसरी टिकाउने भन्ने कुरा सोच्नुपर्ने अवस्था आएको उनको भनाई छ । साथै, समग्र पत्रकारिता क्षेत्र नै जोगाउनुपर्ने अवस्था आएको सम्पूर्ण पत्रकारहरुको क्षमता विकासका कार्यक्रम भइरहनुपर्नेको उनको जोड थियो ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले नेपालमा भएको जातीय सद्भावलाई नियालेर सबै नागरिकले गौरव गर्नुपर्ने बताए । कुनै पनि समुदायका नागरिकलाई राज्यले विभेद गरेको जस्तो अनुभव नभएको उनको भनाई छ ।

‘राज्यले आदिवासी जनजाति लगायतकालाई विभेद गरेको जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘पिछडिएको र आफूलाई विभेद भएको जस्तो लाग्छ भने सम्बन्धित स्थानमा आवाज उठाउनुपर्छ ।’ आदिवासी जनजाति समुदायलाई मिडिया क्षेत्रमा क्रियाशील बनाउने विषयमा बहस गर्नु जरुरी रहेको उनको भनाइ थियो ।

फोनिज गण्डकी/कास्कीका सल्लाहकार हुमबहादुृर गुरुङले कार्यपत्र प्रस्तुत गर्दै राज्यलाई पूर्ण समावेशी नीति निर्माण गर्न र कार्यान्वयनका लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिए ।

मिडियामा समावेशिता नीतिगत रुपमा सकारात्मक तर्फ अग्रसर भएपनि आदिवासी जनजातिले चाहे अनुसार पूर्ण रुपमा समावेशीताको नीतिको भने अभाव रहेको उनको गुनासो छ । ‘नेपालमा व्यवस्था परिर्वतन भयो, आदिवासी जनजातिको विषय उठान हुँदै आयो, तर सोचमा परिर्वतन हुन सकेन,’ सल्लाहकार गुरुङले भने, ‘सञ्चारमाध्यमले मौलिकताको प्रचार गर्दै विभेदको अन्त्य र समानतामूलक समाज निर्माणका लागि भूमिका खेल्नुपर्छ ।’

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले आदिवासी जनजाति भन्नासाथ उनीहरुको पोशाक, खानपान र गरिबीलाई मात्र अहिलेसम्म बाहिर ल्याउने कार्य भइरहेको बताइन् । उनीहरुको समुदायमा भएका रहनसहन र सकारात्मक विषयलाई मिडियाले उठान गर्न सक्नुपर्ने उनको भनाई छ । यसका साथै महासचिव शर्माले कार्यक्रममा गण्डकी प्रदेश सरकारले कामकाजी भाषाका रुपमा मगर र गुरुङ भाषालाई प्रमाणीकरण गरिसकेको अवस्थामा कार्यान्वयनका लागि फोनिजको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।

‘अहिलेको संविधानले हरेक समुदायको हक अधिकारलाई समावेश गरेको छ ।’ उनले भनिन्, ‘कार्यान्वयनमा कसरी लैजाने भन्ने मात्रै हो ।’ संविधानले दिएको हक अधिकारले गर्दा नेपालमा लोकतन्त्र सफल भएको मान्न सकिने महासचिव शर्माको भनाई छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्ती मगर लगायतले आदिवासी समुदायका पत्रकारहरुको संरक्षणसँगै क्षमता विकासका लागि नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19255, citypokhara.com

हेमजाकाे तिब्रेकोट सामुदायिक वन कास्की जिल्लाकै उत्कृष्ट

पोखरा। पाेखरा २५ हेमजास्थित तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूह गत आ.व. २०८१/८२ को उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गर्दै कास्की जिल्लाकै उत्कृष्ट सामुदायिक वनको बनेकाे छ ।  यस समूहले प्रथम पुरस्कार स्वरूप १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै दोस्रो स्थानमा पोखरा–३३ को सितुम कस्यारी तथा सिम्सार पातलेस्वारा जुकेपानी सामुदायिक वन उपभोक्ता समूह बन्याे । जसले ८ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्याे । तेस्रो स्थान प्राप्त गरेकाे पोखरा–१८ को ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

आइतबार भएकाे पुरस्कार अर्पण कार्यक्रममा  कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले सामुदायिक वन व्यवस्थापनमा देखिएको उदाहरणीय कार्यको प्रशंसा गरे ।

हेमजाकाे तिब्रेकोट सामुदायिक वन कास्की जिल्लाकै उत्कृष्ट

सामाजिक र आर्थिक रुपान्तरणमा सामुदायिक वनले भूमिका खेल्ने हुनाले वनलाई समृद्धिसँग जाेड्न उनकाे आग्रह छ ।  ‘सामुदायिक वन व्यक्तिगत फाइदा होइन, शुद्ध सामाजिक र वातावरणीय सेवामा आधारित छ।’ उनले भने- सामूहिक कार्यक्रममा समन्वय र सहकार्यको एकीकृत भूमिकाले यसलाई अझ प्रभावकारी बनाउनुस् ।’

डिभिजनल वन अधिकृत काफ्लेले अरुलाई पनि यस्ता सकारात्मक अभ्यासबाट सिक्न र नक्कल गर्दा वातावरणीय क्षति नगर्न आग्रह गरे।

आगामी दिनमा वन व्यवस्थापनका चुनौतीहरु जस्तै डढेलो नियन्त्रण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि उत्कृष्ट समूहहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाए ।

पुरस्कार मूल्यांकन समितिको निर्णयअनुसार सब–डिभिजन वन कार्यालयहरुले सिफारिस गरेका समूहहरुबाट उत्कृष्ट छनोट गरिएको हो।

डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत राजेन्द्रप्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्दै पुरस्कृत समूह चयनका मापदण्ड र मूल्यांकनका आधारहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतम, माधुरी खड्का, लेखा अधिकृत ख्यामराज पौडेल, प्रशासन अधिकृत मोतिलाल ढकाल, सहायक प्रशासकीय अधिकृत मैयाँ वानिया लगायतका वन कार्यालयका कर्मचारीहरु, तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवर र सदस्य दण्डपानी अधिकारी, सितुम कस्यारी तथा सिम्सार पातलेस्वारा जुकेपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विजयप्रसाद अधिकारी र सदस्य नवराज भण्डारी, ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष लोकबहादुर थापा र कोषाध्यक्ष लक्ष्मी ढुंगाना उपस्थिति थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19249, citypokhara.com

गणतन्त्रचोकमा साेमबार स्वस्ती शान्ती पूजा हुने

पोखरा । पोखरा महानगरपालिका–५ गणतन्त्रचोक आसपासमा विगतमा भएका सडक दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै तथा भविष्यमा यस्ता दुर्घटना नहोस् भन्ने उद्देश्यले आउँदो सोमबार (साउन २६) गणतन्त्रचोकमा स्वस्ती शान्ती पूजा हुने भएको छ।

सो पूजाको तयारी बैठक प्रा. डा. सराेज काेईरालकाे अध्यक्षतामा शनिबार सम्पन्न भयाे । बैठकले प्रचार–प्रसारको जिम्मेवारी वसन्त गौतमलाई, प्रसाद वितरणको जिम्मेवारी लेखनाथ भट्टराईलाई तोकेको छ।

एकलधारा दिदीबहिनी समूहकी मिरा गौतम, एकलधारा टोल विकास समूहका कृष्ण अधिकारी, टिकाराम भन्तना, चित्रनाथ अधिकारी, जगनाथ गौतम, हरि अधिकारी लगायत वरिष्ठ समाजसेवी हेरम्भप्रसाद कोइराला, नेत्रपाणी अधिकारी, चोलाकान्त ओझा बैठकमा सहभागी थिए।

गणतन्त्रचोकमा साेमबार स्वस्ती शान्ती पूजा हुने

बैठकले पाँच जना पण्डितको उपस्थितिमा भव्य पूजा गर्ने निर्णय गरेको छ। जेष्ठ नागरिकहरूले पहिले यहाँ बरपिपलको रुख र चौतारी रहेको र दैनिक पूजा गरिने गरेको स्मरण गर्दै, हाल चौतारी फडानीका कारण देव–देवी रिसाएको र त्यसकै परिणामस्वरूप दुर्घटनाहरू बढेको धारणा राखेका छन्।

आर्थिक समितिका कृष्ण कोइरालाले बैठकमा हालसम्मको तयारी र आर्थिक स्थितिबारे जानकारी गराएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19241, citypokhara.com

आज जनैपूर्णिमा पर्व मनाइँदै

पोखरा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।

रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

तागाधारीहरूले यसैदिन आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बस्नुपर्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ।

क्वाँटी खाने दिन

जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19236, citypokhara.com

सिंचाई विकास डिभिजनको वार्षिक प्रगतिः७९ प्रतिशत बजेट खर्च,८२ प्रतिशत भौतिक उपलब्धि

तारा पौडेल /पोखरा । गण्डकी प्रदेशअन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीले आर्थिक वर्ष २०८१÷८२ मा करिव ७९ (७८.९७) प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार समग्रमा करिव ८२ (८१.९३) प्रतिशत भौतिक उपलब्धि हासिल गरेको छ ।

गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मातहतमा रहेको यस कार्यालयको गत आर्थिक वर्षका कुल ११२ वटा योजनामध्ये १०० वटा योजना वार्षिक कार्यक्रमको आधारमा सम्पन्न भएका छन् जुन कुल आयोजनाको ८९.२९ प्रतिशत हो । ९० प्रतिशत भन्दा बढि भौतिक प्रगति भएका ५ वटा आयोजनाहरु रहेका छन् ।सिंचाई विकास डिभिजनको वार्षिक प्रगतिः७९ प्रतिशत बजेट खर्च,८२ प्रतिशत भौतिक उपलब्धि

कार्यालयका प्रमुख आयोजनाहरूमा अर्मला क्षेत्र संरक्षण तथा कालीखोला तटबन्ध, काँहु खोला नदी नियन्त्रण कार्य र सिला थान घट्टेखोला संरक्षण, सुईखेत खोला नियन्त्रण कार्य रहेका छन् । कार्यालयका प्रमुख ईन्जिनियर रमेशराज शर्माले वजेट विनियोजन लगायतका कारणहरुबाट शुरु हुन नसकेका योजनाहरु यस वर्ष सम्पन्न हुनेमा विश्वस्त रहेको बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयलाई चालुतर्फ १ करोड ६५ लाख बजेट विनियोजन भएकोमा १ करोड ३८ लाख खर्च गरेको छ भने पूँजीगततर्फ ३० करोड २५ लाख रुपैयाँ वजेट विनियोजन थियो, जसमा २३ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।

 

कार्यालयको वार्षिक प्रगति प्रतिवेदनले कार्यक्रम कार्यान्वयन, बजेटको उपयोग, योजनाको गुणस्तर, समस्या समाधान र गुनासो सम्बोधनसमेत समेटेको छ ।

गुनासोका विषयमा कार्यालयले बजेट सीमितताको अवस्थामा योजना छनोट गर्दा कृषि सम्भावनामा आधारित क्षेत्रमै जोड दिइएको, साना योजनाको संख्या घटाउन प्रयास गरिएको र गुणस्तर सुनिश्चित गर्न निर्माणमा क्यूब टेस्ट (Cube Test), जिंक वायर टेस्ट (Zinc Wire Test) र श्मिट ह्यामर टेस्ट (Schmidt hammer test) गरिने अभ्यास सुरु गरिएको कार्यालयका सिनियर डिभिजन ईन्जिनियर समेत रहेका शर्माले जानकारी दिए ।


गण्डकी प्रदेशको सिंचाई सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ मा भएको व्यवस्था बमोजिम सिंचाई प्रणालीहरुको संरचना र सोसँग सम्वन्धित जमिन वा अन्य भौतिक संरचना सिंचाई वा जलस्रोतको वहुउद्देश्यीय उपयोगको प्रयोजन बाहेक अनुमतिविना अन्य प्रयोजनका लागि प्रयोग गर्न पाईने छैन् ।


कार्यालयले प्रमुख चुनौतीका रूपमा संघीय सरकारबाट पर्याप्त वजेट विनियोजन नहुनु, सहर क्षेत्रका नहरहरूमा अतिक्रमण, सडक पुल तथा अन्य विकास कार्यले सिंचाई संरचनामा पर्ने असर, जग्गा अतिक्रमण र पुरानो मुआब्जा सम्बन्धि समस्या, सिँचित क्षेत्र घट्दै जानु लगायतका उल्लेख गरेको छ ।

‘स्थानिय सरकार सञ्चालन ऐन अन्तर्गत स्थानिय सरकारले सरकारी जग्गा संरक्षण र सम्वद्र्धन गर्दा सिंचाई प्रयोजनका लागि छुट्टयाईएको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्नुपूर्व विस्तृत अध्ययन प्रतिवेदन गरेर मात्र गर्न अनुरोध गरिराखिएको छ ।’ उनले भने- ‘व्यवस्थित रुपले जग्गा एकीकरण र विकास गर्दा नहरको पानीको बहावलाई असर नगर्ने, बाढी तथा डुवान व्यवस्थापन हुने र सिंचाइ प्रणालीहरुको पुनर्निमाण तथा संरक्षण हुने गरि कार्य गर्न सिंचाइको जग्गा संकुचन हुनबाट जोगिने देखिन्छ ।’

कार्यालय प्रमुख शर्माले संघीय सरकारलाई ठूला सिंचाई प्रणाली सञ्चालन, व्यवस्थापन तथा मर्मत सम्भारमा आवश्यक नीतिगत निर्णय, कार्यविस्तृतिकरण अन्तर्गत सिञ्चित क्षेत्रका आधारमा सञ्चालन, पुरानो जग्गा मुआब्जासम्वन्धि समस्या, निजी जलविद्युतसँग भएका समझौताहरु अद्यावधिक र सिंचाई भूमिको संरक्षण लगायतका समस्याहरू समाधान गर्नको लागि आवश्यक समन्वय गर्न अनुरोध गरेका छन् ।

समग्रमा, कास्की सिंचाई डिभिजनले उपलब्ध स्रोत र बजेटअनुसार प्राथमिकतामा आधारित योजना कार्यान्वयन गरेको देखिन्छ । यद्यपि संरचनागत, कानुनी तथा बजेटीय सीमितता र अत्यधिक माग जस्ता चुनौतीहरुका कारण कार्यान्वयन प्रभावकारिता अझै पूर्ण हुन सकेको छैन् । आगामी दिनमा अझै नीतिगत स्पष्टता, समन्वय र कार्यान्वयनमा थप सुधार आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।

वातावरणीय प्रभाव तथा जलवायु परिवर्तनले कहिले अतिवृष्टि हुन्छ त कहिले अनावृष्टि हुन्छ । एक्कासी आउने बाढीले समस्या भई भविष्यमा ठुलो क्षति हुन सक्छ, यसतर्फ सबै सचेत हुनुपर्छ । तसर्थ सिंचाईको जग्गालाई सिंचाइ तथा सिंचाई संरचनाको व्यवस्थापन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाईने व्यवस्था टड्कारो रुपमा कार्यान्वयन गरि सम्पूर्ण सिंचित क्षेत्रमा वर्षैभरि सिंचाई हुने अपेक्षा गर्न सकिन्छ ।

http://citypokhara.com/wp-content/uploads/2025/08/आ.व.-२०८१-८२_चौथो-चौमासिक-तथा-वार्षिक-प्रगति.pdf

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19207, citypokhara.com

बढ्दैछ विदेशिने युवाकाे भीड: रहर होईन बाध्यता

पोखरा । सहरका साँघुरा गल्लीमा बिहानको घाम पस्नासाथ जीवनको चहलपहल सुरु हुन्छ । कोही स्कुल जाने बच्चा लिएर दौडिन्छन्, कोही पसलको सटर खोल्दैछन् । म भने आफ्नै कोठामा कुर्सीमा बसेको छु—हातमा तातो चियाको कप, तर कपको तापभन्दा बढी तातो दिमागमा दौडिरहेका विचारहरू हुन् ।

चियाको पहिलो घुट्को नपिउँदै दिनको सूची तयार भइसकेको छ—कोठा भाडा, बिजुलीको बिल, औषधि, अनि कहिल्यै नटुट्ने स–साना खर्चहरू । मध्यमवर्गीय नेपालीको जीवन सधैं एउटा अदृश्य हिसाब–किताब हो—जसको खाता दिमागमै खुल्छ । एक सय रुपैयाँ खर्च गर्नलाई २०० पटक सोच्नुपर्ने बाध्यता ।

यो सोच्ने क्रममा जीवनका स–साना खुसीहरू पनि कहिलेकाहीँ छायामा परेर हराउँछन् । जस्तै, साथीको जन्मदिनमा स–सानो उपहार किन्ने इच्छा, वा बच्चालाई मनपर्ने खेलौना ल्याउने चाहना, सबै हिसाब–किताबको खातामा हराउँछन् ।

केही नयाँ सुरु गर्ने सपना पलाउँछ, तर तुरुन्तै प्रश्न आउँछ—पुँजी कहाँबाट ल्याउने? बैंकले धितो माग्छ, ऋणको ब्याजदर सपना मार्ने हतियार जस्तै हुन्छ । त्यसमाथि राजनीतिक अस्थिरता—आजको नीति भोलि बदलिन्छ, सुरु गरेको योजना आधा बाटोमै अलपत्र पर्छ ।

समाजको नजर
यस्तो संस्कृतिमा, सफलता भन्दा पनि देखावटी प्रमाणको महत्व हुन्छ—जसले गर्दा वास्तवमा मेहनत गरेर बाँच्नेहरूलाई भन्दा, बाहिरबाट चम्किलो देखिनेहरूलाई बढी मूल्य दिइन्छ ।

मोबाइलको स्क्रिनमा देख्छु, विदेशिएका साथीहरू रमाइरहेका छन् । अस्ट्रेलिया, अमेरिका, युके, क्यानडामा । नयाँ घर, गाडी, ब्रान्डेड लुगा र छुट्टिको तस्बिरहरू तर म जान्दछु, ती तस्बिरहरूको पछाडि कस्तो श्रम, पसिना र आँसु लुकेको छ ।

समाजलाई त्यो देखिँदैन् । उनीहरूको नजरमा विदेश गएकै मानिस मात्र ‘सफल’ हुन्छ । यहाँ देशमा १ लाख कमाउनेभन्दा विदेशबाट ३० हजार पठाउनेको इज्जत बढी हुन्छ।

यस्तो मानसिकताबीच आफ्नो इज्जत जोगाउनु यही सबैभन्दा ठूलो युद्ध हो । कसैको प्रगति देख्दा साथ दिने सट्टा तुच्छ पार्ने शब्दको वर्षा हुन्छ । “तँ अझै नेपालमै?” भन्ने मौन प्रश्नले कहिलेकाहीँ शब्दभन्दा गहिरो चोट मनमा दिन्छ ।

परिवारलाई सुनायो भने चिन्ता मात्र बढ्छ, समाजलाई भन्यो भने मूल्य झन् घट्छ । त्यसैले पीडा मनमै थुनिन्छ । कहिलेकाहीँ त यस्तो लाग्छ, यो समाजलाई हाम्रो वास्तविकता भन्दा हाम्रो बाहिरी आवरण बढी महत्वपूर्ण छ । लुगा ब्रान्डेड भए, फोटो चम्किलो भए, अनि मात्र मान्छेले ‘तिमी राम्रो भैरहेका छौ’ भन्छन् ।

बढ्दैछ विदेशिने युवाकाे भीड: रहर होईन बाध्यता

विदेशको मोह कि बाध्यता ?
देशमै बसेर केही गर्ने चाहना अझै मरेको छैन । तर यथार्थ के हो भने,देश छोड्नु अहिले बाध्यता बन्दै गएको छ । यहाँ काम गर्ने वातावरण छैन, अवसर निष्पक्ष छैन, र मेहनत गर्नेको सम्मान अझै दुर्लभ छ ।

जब युवाले आफ्नो जीवनका महत्वपूर्ण वर्षहरू रोजगारी खोज्दै र असफल योजनाहरू टाल्दै बिताउँछन्, तब विदेशको बाटो सजिलो मात्र हैन, सुरक्षित विकल्प झैँ लाग्छ । त्यहाँ पनि संघर्ष छ, तर कम्तीमा मेहनतको मूल्य पाइन्छ ।

नेपालमै बसेर त्यसै किसिमको मूल्य पाउने वातावरणको खोजी गर्नेहरू पनि छन्, तर राजनीतिक अनिश्चितता, अवसरमा पहुँचको असमानता र भ्रष्ट संरचनाले गर्दा त्यो खोज प्रायः असफलमा टुंगिन्छ ।

अहिले स्थिति यस्तो छ कि देशभित्र बस्न चाहनेहरूलाई ‘असफल’ भन्ने सोच हावी छ, अनि विदेश गएकाहरूलाई ‘सफल’को ट्याग सजिलै दिइन्छ । यस्तै सोचले गर्दा, यहाँ मेहनत गर्ने मान्छेलाई सम्मान गर्नभन्दा सजिलो विदेशको हवाई टिकट किनेर जानु ठानिन्छ ।

सामाजिक प्रतिस्पर्धाको चपेटा

शब्दले गर्ने प्रहार खुकुरीभन्दा पनि धारिला हुन्छन् । आजको समाजमा अरूलाई तल पारेर, औकात देखाएर, वा पीडामा रमाउने सोच गहिरो बनेको छ । साथ दिने वाचा सबैले गर्छन्, तर दिने बेला कोही हुँदैन । र, जब आवश्यकता पर्छ, त्यही मानिस प्रयोग मात्र हुन्छ—साथ कहिल्यै पाइँदैन् ।

सहरका चिया पसलदेखि फेसबुकका कमेन्टसम्म, सबै ठाउँमा अरूको जीवनको हिसाब गर्नेहरू भरेका छन् । को कहाँ गयो, के किने, के खायो—यी कुरा चर्चा गर्न सबैलाई समय छ, तर कसैको संघर्ष बुझ्न समय छैन् ।

मध्यमवर्गीयको अदृश्य संघर्ष
मध्यमवर्गीय जीवनमा सपना देख्नु सजिलो छ, तर त्यस्ता सपना पूरा गर्न दिनरात पसिना बगाउनु मात्र पर्याप्त हुँदैन । यहाँ त्यस्तो वातावरण छैन जहाँ अवसर बराबरी होस् । धेरै युवाको क्षमताभन्दा पनि पहुँच, चिनजान र सिफारिसको आधारमा काम बाँडिन्छ ।

यसरी, जब तपाईं मेहनत गरेर पनि नतिजा पाउनु हुँदैन, तब तपाईंको आत्मविश्वास बिस्तारै हराउँदै जान्छ । अनि विदेशको बाटो केवल पैसाको लागि मात्र होइन, आफ्नो आत्मसम्मानको लागि पनि देखिन थाल्छ ।

किनकि यहाँ रहँदा आफूलाई प्रमाणित गर्न धेरैपटक योग्यताको भन्दा पनि पहिचान र सम्बन्धको प्रमाण चाहिन्छ, जुन सबैको हातमा हुँदैन् ।
यो समाजमा सम्मान र इज्जतको मापन विदेशको हवाई टिकटले गरिन्छ । यसैले, हरेक बिहान उठ्दा मनमा एउटै प्रश्न घुम्छ-‘यहाँ सम्मानको वातावरण कहिले आउला? कि भविष्य सुरक्षित गर्न विदेशको बाटो नै समाउनु पर्ने हो?’

त्यो दिन, जब देशमै बसेर इज्जत कमाउन सकिन्छ, जब मध्यमवर्गीयको संघर्षलाई सम्मान दिइन्छ, अनि जब अवसर निष्पक्ष हुन्छ । त्यस दिन यो भीड घट्छ । तर त्यो दिन अझै धेरै टाढा छ ।

त्यस दिनसम्म, कतिपय हामीजस्ता मान्छेहरू बिहानको चियाको कपसँगै विदेशिने योजनाको तातो वाफ फुकिरहेका रहनेछौं—रहरले होइन, बाध्यताले।

तस्बिर: एआईबाट तयार गरिएको

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19226, citypokhara.com

प्रेस युनियनको सदस्यता अभियान कास्कीमा सुरु सय दिने अभियान पुराना सदस्य व्यवस्थित गर्ने र नयाँ पत्रकारलाई जोड्ने उद्देश्य – अध्यक्ष लम्साल

पोखरा । नेपाल प्रेस युनियन कास्कीले आजदेखि सय दिने सदस्यता अभियान आरम्भ गरेको छ। संघका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यमा कास्कीमा अभियानको उद्घाटन गरिएको हो।

यो अभियानले पुराना सदस्यहरूको विवरण व्यवस्थित गर्ने र सक्रिय पत्रकारहरूलाई नयाँ सदस्यतामा आबद्ध गराउने लक्ष्य राखेको छ। साउन १५ देखि कात्तिक २१ गतेसम्म चल्ने अभियानबारे जानकारी दिँदै अध्यक्ष लम्सालले भने— “हामी यो विशेष अभियानमार्फत संस्थामा लामो समय योगदान दिएका सदस्यलाई सम्मान गर्ने र नयाँ साथीलाई प्रेस युनियनमा स्वागत गर्ने उद्देश्य लिएका छौँ।”

उनका अनुसार यो अभियान कुनै प्रकारको कठोर ‘शुद्धिकरण’ होइन। “अघिल्लो पटक पत्रकार महासंघको शुद्धिकरण अभियानले अप्ठ्यारो उत्पन्न गरेको थियो, त्यसैले हामीले यस्तो शब्द प्रयोग नगरी सहज र स्वतःस्फूर्त रूपमा पत्रकारहरूलाई संस्थासँग जोड्ने बाटो रोजेका छौँ,” लम्सालले स्पष्ट पारे।

अभियानमार्फत कास्कीमा रहेका तर प्रेस युनियन छोडेका, पत्रकारिता छोडेर राजनीतिमा लागेका वा निष्क्रिय सदस्यलाई पनि व्यवस्थित गर्ने योजना छ। साथै, सदस्यता अभियानसँगै मंसिर दोस्रो हप्तासम्म विधान सभा गर्ने तयारी भइरहेको पनि अध्यक्ष लम्सालले बताए।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासु मिश्रले अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता जनाए।

आजको कार्यक्रममा कास्कीका सक्रिय पत्रकार विमल तिवारी, सागर ढकाल, भानु पाण्डे, विनोद पहारी, रिदेस सुनार र सुजन पौडेललाई नयाँ सदस्यता वितरण गरिएको छ। पत्रकार विमल तिवारीले भने रुपन्देहीबाट कास्कीमा सदस्यता स्थानान्तरण गरेका हुन्।

प्रेस युनियन कास्कीले अभियानलाई अझै तीव्र बनाउने घोषणा गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19218, citypokhara.com

तुलसीघाटमा पुल निर्माण सकियो

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ जोड्ने तुलसीघाटमा पुल निमार्ण सम्पन्न भएको छ । दुई लेनको आर्कब्रिज (पुल) सम्झौता समयभित्रै निमार्ण सकिएपछि यातायात सञ्चालनमा आइसकेको छ ।

पुल निर्माण सम्पन्न भएसँगै महेन्द्रपुलमा देखिँदै आएको ट्राफिक चाप कम हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले बताए ।

स्थानीय विकास मात्र नभइ यसले समग्र महानगरकै सडक सञ्जालमा सकारात्मक भुमिका खेल्ने उनको भनाइ छ । हजारौं यात्रुलाई सहयोग पुग्ने उनले बताउँदै तुलसीघाट थप व्यवस्थित बन्ने उनले बताए ।

पुल निमार्ण सम्पन्न भएसँगै स्थानीयले लामो समयदेखि आउजाउमा दैनिक जसो भोग्नुपरेको सास्तीको अन्त्य भएको महसुस गरेका छन् ।

आर्कब्रिज’को लम्बाई ६५ मिटर लामो र ११ मिटर चौडाइ छ । पुलको दुवैतर्फ पैदल यात्रीका लागि वाक—वे पनि छ । पुल निर्माणका लागि २०७९ पुसमा कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्झौता गरिएको थियो ।

पोखराको इन्द्रेणी निर्माण कम्पनीले १२ करोड, ८० लाख, ५७ हजार रुपैयाँ लागतमा पुल निर्माण भएको हो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19203, citypokhara.com