Breaking News
बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण

पोखरा । नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।

विभागद्धारा पोखरामा आयोजित महिलाहरुको बिशेष भेलाले नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।

सो पत्रमा महिलाहरुको आत्मसम्मानमा ठेस पुर्याउने गरि अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धि कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ ।

सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका बिषयलाई सम्बन्धित ठाउँमा पुर्याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसै माथि विभेद नहुने स्पष्ट पार्नुभयो । संसार चलाउन भगवान्ले लिङ्गको आधारमा महिला र पुरुष भनिएको उहाँले बताउनुभयो । शरीर महिला हो भने पुरुष आत्म हो भन्ने भनाई राख्नुभयो । उक्त कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले महिला नै काँग्रेस संगठनको मुल आधार भएको बताउनुभयो ।

त्यसैगरी अर्का उपसभापति मेखलाल श्रेष्ठले महिलाहरुलाई अझ सशक्त बनाई राजनीति मुलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार काँग्रेस भित्र महिला विभाग रहेको बताउनुभयो । पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली काँग्रेसमा मात्र समानुपातिक, समावेशीतालाई पहिलो मान्यता दिने भएकाले महिलाहरुलाई राजनीतिमा आउन उत्प्रेरित गर्नुभयो । गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले कार्यक्रमको अध्यक्षता गर्नुहुदै सरकारले ल्याउन थालेको विद्येयकको विरोध गर्नुभयो ।

प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गरियो । सहभागी महिला एवं विभागका प्रमुखहरुले नेपाली काँग्रेसको संगठन र भावी कार्यदिशा बारे बोल्नुभएको थियो ।

विष्णुपादुका टाेल विकास संस्थाकाे अध्यक्षमा रामबहादुर सापकोटा निर्विराेध

पाेखरा । पाेखरा २५ हेमजास्थित विष्णुपादुका टाेल विकास संस्थाकाे अध्यक्षमा राम बहादुर सापकोटा (राजु) निर्वाचित भएका छन् ।

पाेखरा २५ का वडा सदस्य तारा विश्वकर्माकाे प्रमुख आतिथ्यतामा बुधवार भएकाे संस्थाकाे दाेस्राे अधिवेशनबाट सापकाेटा निर्विराेध निर्वाचित भएका हुन् ।

संस्थाकाे उपाध्यक्षमा मोहन भण्डारी, सचिव झपटबहादुर नेपाली, सहसचिव सरस्वती नेपाली र कोषाध्यक्षमा दुर्गा केसी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा रोम नेपाली, सौजन तिवारी (जैसी) हरी नेपाली र  प्रकाश नेपाली चयन भए ।

नवनिर्वाचित अध्यक्ष रामबहादुर सापकाेटा (राजु) ले  समाज, टोल र छिमेकमा आवश्यक योजनाहरूको लागि पहल, सुरक्षित र सुन्दर टोल निर्माणमा हरदम इमानदारीपूर्वक लागि पर्ने वचनबद्वता जनाए ।

उनले  विष्णुपादुका टोल विकास संस्थाले विगतका वर्षहरूमा निकै राम्रो विकासका कामहरू गरेको उल्लेख गर्दै अब आउने दिनहरूमा पनि सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा सहित वडाले दिएको निर्देशनमा अहोरात्र विकासका कामहरूमा अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19198, citypokhara.com

प्याब्सनद्वारा स्याङ्जामा अनिवार्य पाँच विषयका शिक्षक तालिम सम्पन्न

पोखरा । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) स्याङ्जा जिल्ला कार्यसमितिको आयोजनामा असार ७ गतेदेखि साउन १७ गतेसम्म अनिवार्य पाँच विषय—नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक अध्ययन—का शिक्षकहरूलाई लक्षित गरी विशेष तालिम सम्पन्न भएको छ।

विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रवर्द्धन र माध्यमिक तहका शिक्षकहरूको विषयगत दक्षता अभिवृद्धि गरी सिकाइ उपलब्धि १०० प्रतिशत पुर्‍याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको प्याब्सनले जनाएको छ।

प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारले शिक्षकहरूको निरन्तर क्षमता विकासलाई अत्यावश्यक भन्दै भने, विद्यार्थीहरूको सिकाइ शैलीमा भइरहेका परिवर्तनहरूलाई ध्यानमा राख्दै शिक्षकको पठनपाठनलाई अझ प्रभावकारी र आधुनिक बनाउनु हाम्रो लक्ष्य हो। यसले विद्यार्थीहरूको शैक्षिक प्रगति र स्तरमा सकारात्मक प्रभाव पार्नेछ।

तालिम तीन चरणमा सम्पन्न भएको थियो । असार ७ गते वालिङमा सम्पन्न वालिङमा सम्पन्न पहिलाे चरणकाे तालिममा निमा प्रकाशन र अस्मिता इन्टरप्राइजेजको सहजीकरणमा अंग्रेजी, विज्ञान र नेपाली विषयका करिब २०० शिक्षकलाई विद्यार्थी केन्द्रित शिक्षण विधि र प्रभावकारी शिक्षण सामग्री प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको थियो।

साउन ९ गते स्याङ्जामा एलाइड प्रकाशनको सहजीकरणमा गणित विषयमा तालिम सञ्चालन भयो। गणित विशेषज्ञ शुषिल खनालले प्रशिक्षण दिएका थिए भने एलाइड प्रकाशनका प्रमुख कार्यकारी अधिकृत बिनोद उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए ।

तेस्रो तथा अन्तिम चरण साउन १७ गते भिरकोट सिटी हलमा सम्पन्न भयो। गिनिज प्रकाशनको सहजीकरणमा सामाजिक अध्ययन विषयमा करिब १५० शिक्षकले समसामयिक विषयवस्तु र आधुनिक शिक्षण प्रविधिका विषयमा दक्षता अभिवृद्धि गर्ने अवसर प्राप्त गरे।

कार्यसमिति सदस्य स्मृति काफ्लाका अनुसार, तालिमको मूल उद्देश्य शिक्षकहरूलाई प्रश्नपत्र निर्माण, मूल्याङ्कन प्रणाली, र प्रभावकारी शिक्षण विधिमा दक्ष बनाउनु थियो। साथै, विषयगत सिकाइ उपलब्धिमा सुधार ल्याई विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको थियो।

कार्यक्रम प्याब्सन स्याङ्जाका अध्यक्ष गोदारको नेतृत्वमा सम्पन्न भएको थियो भने सचिव हरिप्रसाद अर्यालले सम्पूर्ण व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सम्हालेका थिए । तालिममा प्याब्सन स्याङ्जाका पदाधिकारीहरू, सम्बन्धित प्रकाशन संस्थाका प्रतिनिधिहरू तथा जिल्लाभरिका निजी विद्यालयका शिक्षकहरूको गरिमामय उपस्थिति रहेको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19194, citypokhara.com

सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढ्दैछ : मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् ।

सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान खोजिरहेका जीवनहरूको आशालु केन्द्र भन्दै सरकार सधैं यस सेवामूलक यात्रामा साथमा रहने प्रतिबद्धता उनको छ ।

मन्त्री थापाले आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइहरूको व्यवस्थापनका लागि कुल रु. १ करोड १८ लाख १० हजार बजेट विनियोजन गरेको जानकारी गराए ।

जसमा पोखरास्थित आश्रमका लागि ७० लाख, लमजुङका लागि १२ लाख ६० हजार,गोरखा जिल्लाका लागि रु. १४ लाख ५० हजार र बागलुङका लागि रु. २१ लाख विनियोजन गरिएको छ ।

त्यस्तै, वर्तमानमा आश्रमलाई मासिकरूपमा दिइँदै आएको रु. ३ हजार सहयोग राशी न्यून रहेको महसुस गरिएको भन्दै मन्त्री थापाले यसमा आवश्यक समायोजन गरिने संकेत समेत दिएका छन् ।

“मानवसेवा आश्रम स्वयंसेवी भावना, समर्पण र सेवा प्रवाहको अनुपम उदाहरण हो। ऊर्जा हस्तान्तरणजस्तो सहयोगले यसको सेवा अझ प्रभावकारी र सशक्त हुने विश्वास लिएको छु। यस सेवामा ऊर्जा थप्नु भनेको समाजको मानवताको मुटुमा उज्यालो थप्नु हो।”, उनले भने ।

सामाजिक न्याय, समावेशी सेवा र दिगो ऊर्जा प्रवद्र्धनलाई मूलमन्त्र मानेर अगाडि बढिरहेको गण्डकी प्रदेश सरकारले यस्ता सहकार्यलाई अझ सुदृढ बनाउने उनले उल्लेख गरे ।

मानवसेवा आश्रम जस्ता संस्था सरकारका लागि साझेदार मात्र नभई समाज परिवर्तनका उत्प्रेरक भएको भनाई उनको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19188, citypokhara.com

आत्मनिर्भर बन्ने सपना

बालकुमारी पौडेल (तारा)
पोखरा ।
कारागारमा जीवन बिताइरहेकाहरुलाई हातमुख जोर्न सरकारले दैनिक ८० रुपैयाँ र ७ सय ग्राम चामल दिइन्छ । कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेकी ४० वर्षीया एक महिला भन्छिन्, ‘हामीलाई सरकारले खाना त दिएको छ, तर त्यतिले बाँच्न पुग्दैन ।’

चौकीदार पनि रहेकी ती महिलाको चाहना पेटमा चारो हालेर बाँच्नेभन्दा पनि सिप अनुसारको काम गर्ने पनि हो, जसबाट उनले केही पैसा कमाउन सकून् । उनी भन्छिन्, ‘तर सीपमूलक तालिम र बजारको अभावले आत्मनिर्भर बन्न सकिरहेका छैनौँ । झोला, पोते, मोजा, गलबन्दी बनाउँछौँ, तर बजार नहुँदा यी सामग्री आफन्तसम्म सीमित छन् ।’ त्यहाँ उत्पादन गरिएका कतिपय सामानहरू बजारको अभावमा भित्रै थन्किएर बसेका छन् । जसले गर्दा महिलाहरूमा निराशा पैदा भएको छ ।

कास्की जिल्ला कारागारको महिला ब्लकमा जीवन बिताइरहेका छन् ३२ जना (साउन १४ गतेको तथ्यांक) महिलाका लागि जेलको पर्खालभन्दा गह्रौँ छन्— आत्मनिर्भर बन्ने चाहना । २०७९ को नयाँ कारागार प्रबन्ध विधेयक र संयुक्त राष्ट्रसंघको ‘बैंकक नियम’ ले ग्यारेन्टी गरेका महिला–मैत्री अधिकारहरू कागजमा मात्र सीमित छन् ।

क्षमताभन्दा बढि कैदी, साँघुरो कोठा, चुहिँने छाना र सिमित सुविधा

२० जनाको क्षमता भएको महिला ब्लकमा ३२ जना कैदी जीवन बिताइरहेका छन् । कुनै समय यो संख्या ८० सम्म पुगेको कारागार प्रशासन स्वीकार्छ । तर विगत दुई वर्षको तथ्यांक अध्ययन गर्दा पनि असार र साउनबाहेक महिनाहरूमा क्षमताभन्दा दोब्बर कैदीबन्दीहरू पुगेका थिए ।

कैदको वास्तविकता केवल साँघुरो कोठा र चुहिने छानामा सीमित छैन; यहाँ तीनवटा मात्र शौचालय छन्, र दुईवटा स्नानघर । कैदीबन्दीको संख्या बढे पनि भौतिक पूर्वाधार भने सीमित नै छ । कारागारमा सोलार जडान गरिएको छैन । लाइन जाँदाको समयमा अँध्यारोमा बस्नुपर्ने महिलाहरूको गुनासो छ । यति मात्र होइन, पानी पर्दा बिस्तरा नै बोकेर ठाउँ सर्नुपर्ने बाध्यता अहिले पनि विद्यमान छ ।

किचनमा सामानहरू पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ । कास्की कारागारका प्रशासक राजेन्द्र शर्माले अवस्थालाई स्वीकार्दै भौतिक संरचनाको अवस्था र सुविधाको अभावबारे चिन्ता व्यक्त गरे । ‘५८ वर्ष पुराना पर्खाल, सीमित बजेट र विफल सीपमूलक कार्यक्रमहरूले हामीलाई अझै पछि धकेलिरहेका छन्,’ उनी भन्छन्, ‘यो कारागार २० जनाको क्षमता लिएर बनाइएको हो, अहिले ३२ जना महिला कैदी छन् ।

कोठा विस्तार गरिए पनि गोपनीयता, सरसफाइ र व्यक्तिगत रूपमा बस्न सक्ने पर्याप्त सुविधा भने छैन ।’ उनका अनुसार प्रत्येक महिला कैदीलाई महिनामा दुई/दुई पटक मासु र अण्डा पनि दिइन्छ । आश्रित बालबालिकालाई ५० रुपैयाँ, ४०० ग्राम चामल र लिटो दिइन्छ तर पोषण, स्वाभिमान र स्वास्थ्यका हिसाबले त्यो निकै अपुग छ ।

सरकारको सिदाले नपुग्ने र आफूहरुसँग सिप भएकैले आत्मनिर्भर बन्ने चाहना महिलाहरुमा छ । उनीहरुलाई इलमी बनाउने भनेरै कारागारमा ११ लाख रुपैयाँ अनुदानमा ल्याइएको थियो बेकरी मेसिन । तर यो प्रयोगविहीन भयो । बेकरी चलाउने सिपमूलक तालिम कैदीबन्दी महिलाले पाएका छैनन् ।

 

छैन महिलामैत्री स्वास्थ्य सेवा

कारागारमा एकजना सिनियर अहेब ७ वर्षदेखि कार्यरत छन् । कारागारमा ७५० भन्दा बढी कैदीबन्दीहरूको नियमित चेकजाँच र प्राथमिक उपचार उनी आफैँ गर्छन् । उनका अनुसार अलि बढी समस्या देखिएमा नजिकैको मेडिकलमा लैजाने र गम्भीर बिरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरिन्छ । हाल कारागारको स्वास्थ्य शाखामा भने ९६ प्रकारका औषधिहरू उपलब्ध छन् । कारागारमा महिला स्वास्थ्यकर्मीको दरबन्दी प्रस्तावमा छ, तर कार्यान्वयनमा ढिलाइ छ । महिनावारी व्यवस्थापन, प्रजनन स्वास्थ्य, युटीआईजस्ता सेवाहरू अपर्याप्त छन् ।

यहाँ रहेका महिलाहरू पनि स्वास्थ्य सेवाप्रति गुनासो गर्छन् । महिनावारी र प्रजनन स्वास्थ्यसम्बन्धी समस्या खुलेर भन्न सक्ने वातावरण छैन । ‘पुरुष स्वास्थ्यकर्मीबाट जाँच गराउन असहज हुन्छ । महिला डाक्टर भए हाम्रा समस्या खुलेर भन्न सजिलो हुन्थ्यो,’ महिलाहरूले भने । महिलामैत्री चौकीदारको नियुक्तिले केही सहजता भए पनि गोपनीयता, सरसफाइ र मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि छन् ।

कानुनी सहायता
उच्च अदालत पोखराकी वैतनिक कानुनी व्यवसायी शोभाकुमारी थेबेले आर्थिक रूपले कमजोर महिलाहरूलाई निःशुल्क कानुनी सहायता दिइरहेको बताइन् । कैदीहरूसँग छलफल गर्न सक्ने परामर्श टोलीको व्यवस्था र अनुशासन समितिले आन्तरिक संयम कायम राखेको पनि उनले जानकारी दिइन् । तर मानसिक स्वास्थ्य, पोषण र खानपिनको गुणस्तरमा सुधारको आवश्यकता औँल्याइन् । उनका अनुसार अहिले बैंकिङ कसुरमा पाँच प्रतिशत जरिवाना तिरेर छुट्न पाइने भएपछि धेरैजना छुटेका छन्, तर थोरै जरिवाना पनि तिर्न नसक्दा केही महिलाहरू जेलमै छन् । उनले अहिले लागूपदार्थ, चोरी, ज्यानमार र ठगीका मुद्दा बढी रहेको बताइन् ।

मानवअधिकार र बाल अधिकारको सवाल
मानवअधिकार संस्थाहरूले यो अवस्थालाई गम्भीरतापूर्वक लिएका छन् । ‘यो अवस्था केवल कारागार प्रशासनको कमजोरी होइन, यो सामाजिक न्यायको सवाल हो,’ इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल भन्छन्, ‘८० रुपैयाँ र ७०० ग्राम चामलले जीवन चल्दैन, महिला स्वास्थ्यकर्मी नहुँदा महिनावारी र प्रजनन स्वास्थ्यबारे खुलस्त बोल्न सक्दैनन् । यस विषयमा सरकारले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।’ उनले काउन्सेलिङ र मनोरञ्जनको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।

उनी विशेषतः दुईजना आश्रित बच्चाहरूको अवस्थाप्रति चिन्तित छन् । ‘१७ महिनासम्म बालमैत्री वातावरण सुनिश्चित हुन नसक्नु राज्यको असफलता हो,’ उनको टिप्पणी थियो । खकुरेलले कारागारमा बालमैत्री वातावरणको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए । उनले कारागारलाई सुधार गृहका रूपमा बुझेर मनोसामाजिक पुनस्र्थापनामा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । भौतिक पूर्वाधारमा पनि राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको जोड छ ।

प्रशासनको प्रयास र चुनौती
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कारागार सुधारका लागि प्रयास भइरहेको जानकारी दिइन् । उनका अनुसार शौचालय निर्माण, छाना मर्मत र भान्सा व्यवस्थापनमा सुधार गरिएको छ । उनले आत्मनिर्भर बनाउन स्थानीय तहसँग सहकार्य भइरहेको र मानसिक स्वास्थ्यका लागि परामर्श शिविर सञ्चालन भइरहेको बताइन् । तर बजेट र जनशक्ति अभावले अपेक्षित सुधारमा चुनौती आएको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले आ.व. २०८२/८३ मा कारागार सुधारका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, आश्रित बालबालिकाको हकको सुनिश्चिततासँगै अहिलेको अवस्थाको कारागारको अवस्था सुधार गर्न यो बजेट पर्याप्त नहुने देखिन्छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19185, citypokhara.com

इन्डोनेसियाको बाली र भियतनामको हानोईमा पोखराको पर्यटन प्रवद्र्धन

पोखरा । । इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोई शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरेको छ ।
संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत स्वदेश एवम् विदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा यस वर्ष अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोई लगायत शहरमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए ।
भ्रमणका क्रममा बालीबाट कला र संस्कृतिबारे धेरै जान्न र बुुझ्न पाइएको उल्लेख गर्दै लम्सालले त्यहाँबाट हामी नेपालीले धेरै सिक्न सक्ने बताए । । कला र संस्कृतिको संरक्षण गर्न सकेमा त्यसबाट पर्यटकीय रुपमा धेरै फाइदा लिन सकिने अनुुभव त्यहाँबाट हासिल भएको उनको भनाइ छ ।
कार्यक्रमकै क्रममा प्रवद्र्धन टोलीले स्थलगत रुपमा हानोईको ग्रामिण क्षेत्रमा रहेको सिल्कका कपडाको उद्योगहरूको अवलोकन समेत गरेको थियो ।
कार्यक्रमको इन्टरनेशनल ट्राभल्स व्यवस्थापनको सहजीकरण एगा पोखराका पूर्व अध्यक्ष विश्वराज पोखरेलले गर्नुुभएको थियो । भ्रमणका क्रममा तत्तत् स्थानका पर्यटन व्यवसायी एवम् सर्वसाधारणलाई पोखरा सहित नेपाल भ्रमणका लागि आग्रह गरिएको पोखरेलले जानकारी दिए ।
प्रवद्र्धन टोलीमा अध्यक्ष लम्साल सहित पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, विश्वराज पोखरेल, जीवनाथ गौतम, कार्यसमितिका पदाधिकारी सहित ३५ जनाको सहभागिता रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19182, citypokhara.com

साउनको तेश्रो सोमबार: हरिहर मन्दिरमा भक्तजनको आकर्षण

साउनको तेश्रो सोमवार शिवालयहरुमा आज विहानै देखि भक्तजनको भिड देखियो । सेतीनदीमा स्नान गरि शिवलिङ्गमा गाईको दुध र वेलपत्र चढाउदा मनोकांङक्षा पूरा हुने विश्वास  भक्तजनले शिवालयमा दर्शन गर्ने प्रचनल छ ।

त्यस्तै पोखराका  एउटा ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक स्थल हो पोखरा १७ सितापाईलास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर जुन मन्दिरमा साउनका प्रत्येक सोमवार भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

सेतीनदीको सिताघाटबाट स्नान गरि भक्तजनले ल्याइएको जल मन्दिर परिसरमा निर्मित एक सय आठ शिवलिङ्गमा चढाउनुको साथै हरिहरको दर्शन गरेर दिन भरि उपवास वस्ने प्रचलन रहेको छ । सेतीनदी र मन्दिरको दुरी लगभग एकसय मिटर मात्र रहेको छ ।

उक्त मन्दिर परिसरमा २२ लाख भन्दा बढीको लागतमा निर्मित १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माणले यस क्षेत्रको धार्मिक महत्व बढनुको साथै साउन महिनामा भक्तजनको उल्लेखनिय सहागिता रहदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिनुभयो ।

साउन महिनाको अन्तिम सोमवार मन्दिरमा महाआरती र लाखेनाच समेत प्रदर्शन गरिने तयारी भई रहेको छ बताउँदै उहाले भन्नुभयो, यस क्षेत्रमा हुने प्रत्येक कृयाकलापले धार्मिक गतिविधि बढनुका साथै मन्दिरको आम्दानी बढेको छ । भक्तजनले स्वरुफुर्त सहयोग काटेको रसिदवाट साउन महिनामा ६८ हजार आम्दानी भएको थियो । दानवाकर र मन्दिर शिवलिङ्गमा चढाएको दान गणना भएको छैन ।

उहाँले भन्नुभयो,तत्कालिन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेतीनदीस्थित सिताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको र आफु शिलाको रुपमा रहेको दिव्यवाणी भई खोज्ने क्रममा काप्mली गाईले दूध चढाई रहेको शिला भेटिएपछि उक्त पुण्येभूमिमा मन्दिर निर्माण गरि नित्य पुजा सञ्चालन हुँदै आएको किम्मदन्ति रहेको छ ।

मन्दिर निर्माण गरिएसंगै नित्य पुजा सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नं. १७ पार्दी विरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको व्यवस्था गरिएको विक्रम सम्वद १८६४ मा  प्राप्त लालमोहरले पुष्टि गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिनुभयो ।

हरिहरको दर्शन गर्दा आफुले सोचेको पुग्ने हुँदा प्रत्येक बर्ष माघे सङक्रान्तिका दिन लाग्ने ढुङ्गेसाँघु मेला, शिवरात्री, रामनवमी लगायताका विभिन्न पर्वको अवसरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीका धारा निर्माणले थप आकर्षण बढेको उहाँको भनाई छ ।

अध्यक्ष भण्डारीले भन्नुभयो, सिताघाटमा स्नान गरि हरिहर मन्दिर, अकालादेवी, सिताको पाईला, राम मन्दिर , शिद्धेश्वर, लगायतका देवदेवीको वासस्थान  रहेको यस पवित्र भूमिमा मानव फउण्डेशन नेपालले लगायतको सत कुण्डीय कोटिहोमको मुख्य होमन कुण्ड मन्दिर परिसरमा रहेको जुन कुण्डमा अहिले पनि नित्य होमन भई रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19179, citypokhara.com

गण्डकीमा अब मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा मान्यता, प्रदेश प्रमुख भट्टद्वारा प्रमाणिकरण

पोखरा । गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाले सरकारी कामकाजी भाषाको रूपमा मान्यता पाएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयकलाई संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गरेका छन् ।

पारित भएका विधेयकमा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ रहेका छन् ।

गत असार २४ गते प्रदेशसभाबाट पारित भएको विधेयक प्रमाणिकरणका लागि साउन १२ गते कार्यालयमा आएको र सोमबार प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिइन् । विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै अब राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ ।

देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरक्त मगर र गुरूङ भाषाको लागि प्रयोग लिपिलाईसमेत सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नुपर्ने विधेयकमा उल्लेख छ ।

गण्डकीमा अब मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा मान्यता, प्रदेश प्रमुख भट्टद्वारा प्रमाणिकरण

गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा सरकारले सुझाव सङ्कलन पनि गरेको थियो । यहाँका मगर तथा गुरूङ समुदायले आफ्ना मातृभाषालाई सरकारी कामकाजमा मान्यता प्रदान गर्न पटक पटक ध्यानाकर्षण गराएका थिए भने आदिवासी जनजाति आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सिफारिस गरेको थियो । भाषा आयोग काठमाडौँले पनि प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरु पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको थियो ।

गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदायको रुपमा छ । पछिल्लो २०७८ को जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ छ । त्यसमध्ये ४ लाख ६४ हजार ३ सय १० (१८.८ प्रतिशत) मगर र २ लाख ७२ हजार २ सय ७० (११ प्रतिशत) गुरुङ समुदायका छन् ।

सरकारी कार्यालयमा रहने सार्वजनिक दस्तावेज पनि अनुवाद गरी अभिलेखीकरण गर्न सकिने, प्रदेश राजपत्रमा पनि दुई भाषामा प्रकाशन गर्न सकिने, मगर र गुरुङ भाषालाई उच्च शिक्षासम्म अध्ययन–अध्यापनको व्यवस्था गर्न सकिने विषय पनि विधेयकले समेटेको छ ।

सरकारी कामकाजको भाषा प्रयोगलाई मानकीकरण, आधुनिकीकरण, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आवश्यक उपकरण, भाषा अनुवादसम्बन्धी प्रविधि र यन्त्रको आवश्यक व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने विधेयकमा उल्लेख छ । सरकारी कामकाजका भाषाका अतिरिक्त अन्य भाषाको संवर्धन र संरक्षण गर्न कार्यक्रम सञ्चालन गर्ने विषय विधेयकमा उल्लेख छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19176, citypokhara.com

पोखरामा अन्तर्राष्ट्रियस्तरका टुरिस्ट गाइड उत्पादनका लागि ६ दिने तालिम सुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष टुरिस्ट गाइड उत्पादन गर्ने उद्देश्यसहित ६ दिने विशेष तालिम आज (आइतबार) देखि पाेखरामा सुरु भएको छ। नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको तालिममा गण्डकी अल्पाइन क्लब र काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेसन प्रोजेक्ट (KEEP) ले प्राविधिक सहयोग प्रदान गरेका छन्।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले पोखरामा अन्तर्राष्ट्रियस्तरका दक्ष गाइडको अभाव दीर्घकालदेखि रहेको बताए । “हाम्रो लक्ष्य सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्षम गाइड उत्पादन गर्नु हो,” उनले भने।

छ दिनसम्म चल्ने तालिममा ३३ जना लाइसेन्सप्राप्त ट्रेकिङ गाइड सहभागी छन्, जसमा सात महिला गाइड पनि छन्। सहभागीहरूलाई प्राथमिक उपचार, नक्सा अध्ययन, पदयात्रा व्यवस्थापन, माउन्टेन गाइडिङ, टोपोग्राफिक म्यापिङ र हिमाल आरोहणका लागि आवश्यक सीपमा प्रशिक्षण दिइँदैछ।

तालिमका लागि कम्तीमा चार वर्षको अनुभव भएका गाइड मात्र छनोट गरिएको संघका सचिव मनशान्त घिमिरेले जानकारी दिए। ‘हामीले अनुभवी विज्ञहरूमार्फत प्रशिक्षणको व्यवस्था गरेका छौं, जसले गाइडहरूलाई हिमाली क्षेत्रमा आइपर्ने चुनौतीहरू सहज रूपमा सामना गर्न सक्षम बनाउनेछ’, घिमिरेले भने ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले उद्घाटन समारोहमा बोल्दै दिगो पर्यटन प्रवर्द्धनका लागि यस्ता तालिमको महत्त्वमाथि जोड दिए। यस वर्ष समयमै बजेट प्राप्त भएकाले यस्ता कार्यक्रम सञ्चालन गर्न सहज भएको छ। हामीले यसलाई निरन्तरता दिनेछौं, उनले बताए ।

हाल पोखरामा करिब ३,५०० गाइड कार्यरत भए पनि अन्तर्राष्ट्रियस्तरको दक्षता प्राप्त गाइडको संख्या न्यून छ। संस्थापक अध्यक्ष शेषकान्त शर्मा पौडेलले पेशागत सुरक्षाका लागि दैनिक भत्ता दोब्बर गर्नुपर्ने माग गरे। हाल गाइडहरूले दैनिक २,००० देखि २,५०० रुपैयाँ पाउने गरेकोमा, गाइड विशाल बरालले कम्तीमा ४,००० रुपैयाँ दैनिक भत्ता आवश्यक भएको बताए।

आयोजकले तालिमपछि सहभागी गाइडहरू हिमाली चुनौतीहरू सामना गर्न सक्षम, दक्ष र आत्मविश्वासयुक्त बन्ने विश्वास व्यक्त गरेका छन् । जसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा अझ मजबुत बनाउन मद्दत गर्ने बताईएकाे छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19172, citypokhara.com

मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विज्ञहरूसँग सुझाव सङ्कलन

मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विज्ञहरूसँग सुझाव सङ्कलन
काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले सङ्घीय संसदमा विचाराधीन रही हाल छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विज्ञहरूसँग सुझाव लिएको छ । काउन्सिलमा शुक्रबार आयोजित कार्यक्रममा काउन्सिलका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष, वर्तमान उपाध्यक्ष तथा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग सुझाव लिइएको हो ।
कार्यक्रममा काउन्सिलका पूर्वअध्यक्ष हरिहर विरहीलेअन्य कानुनबाट पत्रकारलाई नियन्त्रण गर्न सकिने अवस्था नरहेपछि सरकारले मिडिया काउन्सिलका माध्यमबाट नियन्त्रणको प्रयास गरेको देखिएको बताउनुभयो । उहाँले सरकार नियन्त्रित भएर स्वतन्त्रतापूर्वक काम गर्न नसकिने भएकाले मिडिया काउन्सिलजस्ता कानुन निर्माणका क्रममा सजग हुनुपर्ने भन्दै नियुक्ति सरकारले स्वेच्छाले, सञ्चालन सरकारको बजेटबाट अनि कसरी स्वायत्त स्वतन्त्र भएर काम गर्छ ? भनी प्रश्नगर्नुभयो । अहिलेकै अवस्थामा खराब विधेयक आउनुभन्दा बरू मिडिया काउन्सिल विधेयक नै नहुनु ठिक भएको तर्क गर्नुभयो ।
काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले विधेयकमा उद्देश्य नै उल्लेख नगरिएको तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनावश्यक आकर्षण देखिनुले यो विधेयक नियन्त्रणकै अवधारणाबाट आएको प्रष्ट भएको बताउनुभयो । काउन्सिललाई सुन्दा र देख्दा नै भरोषायोग्य संस्था बनाउनुपर्नेमा उहाँको जोड थियो । काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल न्याय दिने निकाय भएको हुँदा यसको मर्यादाक्रम तोक्ने र बलियो नेतृत्व बनाउनुपर्ने र काउन्सिलल शक्तिशाली हुनुपर्ने बताउनुभयो । बार काउन्सिल, मेडिकल काउन्सिलजस्ता पेसागत काउन्सिलको अभ्यास पनि अनुशरण गर्न सकिने भन्दै उहाँले समस्या पर्दा काउन्सिल खोज्ने तर अरु बेला वास्ता नगर्ने हुनु दुःखद् भएको उल्लेख गर्नुभयो । आर्थिक अधिकारसहितको स्वायत्त काउन्सिल हुनुपर्नेमा उहाँको जोड थियो ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले काउन्सिलको गठनमा पत्रकार र गैरपत्रकारको सहभागिता बराबर हुनसके आम मानिसले विश्वास गर्ने संस्था बन्ने उल्लेख  गर्नुभयो । मिडिया काउन्सिललाई स्वच्छ र मर्यादित बनाउने कि स्वतन्त्र र जिम्मेवार बनाउने ? भन्दै उहाँले आफूहरुको मत स्वतन्त्र र जिम्मेवार बनाउने भन्ने हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले काउन्सिललाई अर्धन्यायिक निकाय बनाउने हो भने नेतृत्वमा न्यायिक क्षेत्रको व्यक्ति हुनैपर्ने जिकिर गर्नुभयो । उहाँले स्वनियमनकारी निकायको रुपमा लैजाने हो भने पत्रकारले समेत नेतृत्व गर्न सकिने बताउँदै स्वनियमन जस्ता अवधारणा सही रूपमा आएको उल्लेख गर्नुभयो । विधेयकमा उल्लेख गरिएको गठन, स्वरुप र संरचनासम्बन्धी व्यवस्था संशोधन हुनुपर्नेमा उहाँको जोड थियो ।
अग्रज पत्रकार बबिता बस्नेतले विधेयकमा उल्लिखित नामदेखि नै संशोधन आवश्यक रहेको भन्दै यो आमसञ्चार परिषद् होइन मिडिया काउन्सिल वा प्रेस काउन्सिल नै ठिक भएको बताउनुभयो । काउन्सिलको काममा मिडियाप्रतिको आमधारणाबारे अध्ययन पनि थपिनुपर्नेमा उहाँको जोड थियो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितलृ  राष्ट्रिय सभाबाट २१ बुँदामा संशोधनसहित पारित भएर अघि बढेको विधेयक अझै पनि हामीले चाहेजस्तो भने नभएको बताउनुभयो । ‘अहिलेको मिडियाको अवस्थालाई विधेयकले समेट्न सकेको छैन । ऐन अपरिहार्य छ तर संशोधन हुनुपर्छ । स्वायत्त र स्वतन्त्र भन्ने कुरा विधेयकमै समेटिनुपर्छ ।’ उहाँले भन्नुभयो ।
बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले सरकार जहिले पनि नियन्त्रणमुखी हुने हुँदा मिडिया काउन्सिल विधेयकबाट पनि मिडिया क्षेत्रलाई जिम्मेवार बनाउन नभइ नियन्त्रण गर्न खोजिएको बताउनुभयो । ‘पत्रकारिता गर्ने सबै माध्यम मिडिया हुन् कि नगर्ने पनि मिडिया हुन् ? अहिले सबै जना व्यक्ति सबै जनाको पहुँचमा पुग्न सक्ने अवस्था छ, यस्तोमा ती सबैलाई नियन्त्रण गर्न खोजिएको हो ?’ उहाँले भन्नुभयो । उहाँले हालको विधेयकमा राखिएको गठन प्रक्रिया र संरचना नै गलत भएको भन्दै मन्त्रालयमा गठित समितिले सिफारिस गरेको आधारमा बनाइएको काउन्सिल बलियो नहुने उल्लेख गर्नुभयो ।
कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले पनि विधेयक मिडिया र पत्रकारलाई तह लगाउनैपर्छ भन्ने मानसिकताबाट विकसित भएको देखिएको बताउनुभयो । योसँगै आमसञ्चार विधेयकबारे समेत छलफल गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
इमेज ग्रुपका समाचार प्रमुख जगदीश खरेलले विधेयक नियन्त्रणमुखी र पश्चगामी रहेको भन्दै कानुन निर्माणकै प्रक्रियामा व्यापक छलफल गरेर संशोधन गर्नुपर्ने सुझाव दिनुुभयो । न्युज एजेन्सी नेपालका सम्पादक सविन धमलाले  यो विधेयक सुरुदेखि अन्त्यसम्म नै पुनर्लेखन हुनुपर्ने अन्यथो यो कर्मकाण्डी मात्रै हुने भन्दै जुन विधेयक छलफलमा छ त्यसले त न्यु मिडिया भन्ने नदेखेको जिकिर गर्नुभयो ।
काउन्सिलको यही साउन १२ गते बसेको बैठकले यस विधेयक सम्बन्धमा अध्ययन तथा सुझाव सङ्कलन गर्न सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । सदस्य पदमराज जोशीले सहजीकरण गर्नुभएको आजको छलफलको संयोजन अधिकारीले गर्नुभएको थियो । सदस्य भीमलाल श्रेष्ठले सहभागीलाई स्वागत गर्नुभएको छलफलमा सदस्य शन्तराम बिडारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । छलफलमा काउन्सिल सदस्य विजयराज अधिकारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा तथा विभिन्न मिडियाका प्रतिनिधि समेतको सहभागिता रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/08/03/9931/, www.presscouncilnepal.gov.np