Breaking News
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकीमा नयाँ नेतृत्व, अध्यक्षमा अमरजंग गुरुङ

पोखरा । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (FINYE) गण्डकी प्रदेशको अध्यक्षमा अमरजङ्ग गुरुङ (जीतु) चयन हुनुभएको छ। उहाँको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

नवनिर्वाचित महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार , कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन हुनु भएको हो ।

त्यसैगरी प्रवक्तामा कृष्णप्रसाद आचार्य, अन्य सदस्यहरुमा अस्मिता लामीछाने, भूपेन्द्र कुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, असुतोल प्रधान र सुरेन्द्र कुमार चयन हुनु भएको हो।

FINYE विश्वभर फैलिएको नेपाली उद्यमीहरूको सञ्जाल हो, जसले व्यापार, लगानी, र उद्यमशीलता प्रवर्द्धनमा योगदान दिँदै आएको छ। संस्था अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, हङकङ, चीन, मकाउ र मध्यपूर्वका विभिन्न शाखामार्फत सक्रिय छ।

गण्डकी प्रदेश समितिले स्थानीय उद्यमशीलता प्रवर्द्धन, युवा सशक्तिकरण र अन्तर्राष्ट्रिय लगानी समन्वयमा काम गर्ने लक्ष्य लिएको जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19166, citypokhara.com

२०८४ सालमा एकल बहुमतको सरकार निर्माण लक्ष्य : एमाले महासचिव पोखरेल

पोखरा।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिए।

महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताए। उनले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा राखे।

पार्टीका उपमहासचिव एवं सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी निर्माणका लागि अघिल्लो कार्यकालमा ल्याइएको दुई कार्यकालको सीमालाई परिमार्जन आवश्यक देखिएकाले विधान संशोधन प्रस्ताव आएको उल्लेख गरे।

उपमहासचिव गुरुङले समृद्धि र विकास एमालेकै प्रभावशाली नेतृत्वमा सम्भव रहेको भन्दै, मुलुकको आवश्यकता अनुसार पार्टीको नेतृत्व क्षमता अझै उचाइमा पुर्‍याउन संशोधन प्रस्ताव आएको बताए।

उनले नेतृत्व क्षमता र निरन्तर मिहिनेतका आधारमा नेतृत्व चयन हुने व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै, मन्त्रालय योजनामाफिक जनताको चाहना अनुसार अगाडि बढिरहेको र परिणाम दिन प्रयत्नशील रहेको दाबी गरे।

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङले प्रभावशाली पार्टी केवल प्रभावशाली नेतृत्वबाटै सम्भव हुने भन्दै सबै नेता तथा कार्यकर्तालाई एकता कायम गर्दै जनतामाझ जानुपर्नेमा जोड दिए।

त्यसैगरी, स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीमा दक्षिणपन्थी अवसरवाद र अनुशासनहीनता हाबी हुन नहुने बताउँदै सबै कमिटी तथा सदस्यहरू पार्टीको नीति र निर्णयअनुसार दृढताका साथ लाग्नुपर्ने धारणा राखे।

गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले बैठकमा प्रदेशमा भएका संगठनात्मक कार्य, आगामी रणनीति तथा अभियानबारे छलफल हुने जानकारी दिए।

सो अवसरमा गण्डकी प्रदेशबाट नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी राष्ट्रियसभा सदस्य तथा केन्द्रीय सदस्य भगवती न्यौपानेलाई बधाई ज्ञापनसहित सम्मान समेत गरिएको थियो।

अध्यक्ष शर्माको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्यहरू जगत बहादुर विश्वकर्मा, टुकराज सिग्देल, मन कुमारी जि.सी., लिलाबहादुर थापा तथा केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, भीम कार्की, इन्द्रलाल सापकोटा, कृष्ण थापा, चुडामणि जंगली, बालसिंह काउछा मगर, सिता सुन्दास, प्रभा कोइराला लगायतका नेताहरू सहभागी थिए।

त्यस्तै, प्रदेश उपाध्यक्ष मिनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव तथा प्रचार विभाग प्रमुख मन्जु अधिकारी, उपसचिव दामबहादुर बिक लगायतका सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीति सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए।

दुई दिनसम्म चल्ने बैठकले पार्टीको हालका गतिविधिको समीक्षा गर्दै समसामयिक विषयमा व्यापक छलफल गर्ने र आगामी कार्यक्रमको योजनासमेत तय गर्ने प्रचार विभाग सचिव रामजी प्रसाद लम्सालले जानकारी दिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19162, citypokhara.com

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् ।
“उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे ।
उनका अनुसार प्रदेश सरकार अहिले उद्योगमैत्री नीतिगत संरचना निर्माण, व्यवसाय दर्ता प्रणाली सरलीकरण, सीप विकास तालिम र युवा उद्यमशिलता प्रवद्र्धनमा केन्द्रित छ ।
“उद्यमशील युवाहरूलाई नेपालमै लगानी गर्न प्रेरित गर्दै हामीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको सीप विकास तालिम केन्द्रबाट १९ किसिमका तालिम सञ्चालन गर्दै आएका छौं”, उनले जानकारी गराए ।
तालिम लिएर स्वदेशमा नै उद्यम वा व्यवसाय गर्न चाहने युवालाई प्रदेश सरकारले ब्युपुँजी तथा बैंक ऋणको ५०% अनुदान उपलब्ध गराउने कार्यक्रम समेत ल्याएको भनाई उनको छ ।
मन्त्री थापाले गण्डकी प्रदेश सरकारले उद्योग–लगानी सम्मेलन गर्ने तयारी गरिरहेको र स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योग स्थापनामा प्रोत्साहित गर्ने वातावरण निर्माण तर्फ लागिरहेको धारणा राखे ।
शासन व्यवस्थामा सुधार ल्याउन शिक्षा परामर्श संस्थाहरुको दर्ता–नवीकरण अब पोखराबाटै हुने व्यवस्था मिलाइएको र कम्पनी रजिस्टारको युनिट समेत प्रदेशमा नै स्थापना गर्न लबिङ गरिरहेको उनले जानकारी गराए ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री थापाले व्यापार प्रवद्र्धन, व्यवसायिक एकता र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाको प्रयासको प्रशंसा गरे ।२७ औं साधारण सभा तथा १४औं अधिवेशनले एशोसियसनलाई अझ सुदृढ बनाउने र व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग गर्नेमा उनी विश्वस्त छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19158, citypokhara.com

कास्कीमा २६औं तायाः मचा नृत्य प्रतियोगिता हुँदै

पोखरा ।
नेवाः खल कास्कीको आव्हानमा शिशुवा नेवाः खलको आयोजनामा कास्की जिल्ला स्तरीय २६औं तायाः मचा नृत्य प्रतियोगिता  हुने भएकाे छ ।

आगामी श्रावण ३१ गते, श्रीकृष्ण जन्माष्टमीका दिन पोखरा–३०, शिशुवा बजारमा हुने कार्यक्रमबारे आयाेजकले आज पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हाे ।

‘कला संस्कृतिको संरक्षण, भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा कास्की जिल्लाभरिका ३५ टिमहरूको सहभागिता रहने कार्यक्रम संयाेजक अर्जून कुमार ताम्राकारले जानकारी दिए । कार्यक्रम बिहान ८ बजे उद्घाटन भई ९ बजेबाट प्रतियोगिता सुरु हुनेछ।

तायाः मचा नृत्य नेवार समुदायको मौलिक संस्कृति हो । जुन प्रतियोगितात्मक रुपमा देशभरमा कास्की जिल्लामात्रै मनाइँदै आएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए। उनका अनुसार कास्कीका विभिन्न कचाः खल र तायाः मचा समितिहरूको सहभागिता रहने प्रतियोगिता यसपटक अझ व्यवस्थित र मर्यादित बनाइनेछ।

शिशुवा नेवाः खलका संयोजक कृष्ण कुमार कतिलाले २५० वर्ष पुरानो सांस्कृतिक परम्परालाई सजीव राख्दै तायाः मचालाई सांस्कृतिक महोत्सवको रुपमा विस्तार गरिन लागेको जानकारी दिए। उनले गाईजात्रालाई केवल नेवार समुदायको पर्व नभई समस्त जात–धर्म, भाषा र संस्कृतिको साझा सम्पत्ति बनाउँदै लैजानुपर्नेमा जोड दिए।

प्रतियोगितालाई सफल बनाउन पोखरा–३, तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना दिवंगत आमाबाबु वालकुमारी श्रेष्ठ र हेमप्रसाद श्रेष्ठको स्मृतिमा पुरस्कार र प्रोत्साहन राशी सहयोग गर्ने भएका छन्।

करीब ३३ लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि पोखरा महानगरपालिका, वडा कार्यालयहरू, प्रदेश सरकार, संघसंस्थाहरू, उद्योगी व्यवसायी र सहयोगदाता प्रमुख स्रोतका रूपमा रहने आयोजकको भनाइ छ।

सञ्चार क्षेत्रको भूमिकालाई अत्यन्त महत्वपूर्ण ठान्दै आयोजकले प्रचार–प्रसारमा सहकार्य गर्न पत्रकार र मिडियाकर्मीहरूलाई विशेष अपिल गरेका छन्।

कार्यक्रम शिशुवा मिसापुच, शिशुवा ल्याम पुच, शिशुवा नेवाः खल र नेवाः खल कास्कीको संयुक्त कार्यसम्पादन समितिको अग्रसरतामा सम्पन्न हुने जानकारी दिइएको छ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19155, citypokhara.com

गण्डकी विश्वविद्यालयमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, आयुस र कृष्टिना विजेता

पाेखरा । गण्डकी विश्वविद्यालय अन्तर्गतको स्नातक तह खेलकुद कार्यक्रम चौथो ब्याचका विद्यार्थीहरूको आयोजनामा “एक्सपर्ट एजुकेशन गण्डकी विश्वविद्यालय अन्तर कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न भएको छ।

प्रतियोगितामा पुरुषतर्फ आयुस रावलले उपाधि जित्दा सुजन तिवारी दोस्रो स्थानमा रहे। महिलातर्फ कृष्टिना ढकाल विजेता घोषित भइन् भने मुना कुमारी बसाइँ उपविजेता बनिन्।

समापन समारोहमा विजयी खेलाडीहरूलाई सिल्ड, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरियो। गण्डकी विश्वविद्यालय कानून तथा व्यवस्थापन संकायका डीन हिमराज गिरीले खेलकुदमार्फत व्यवहारिक ज्ञानको अभ्यास सराहनीय रहेको बताए। उनले भने, “विद्यार्थीहरूले किताबी ज्ञानलाई व्यवहारमा उतारेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।”

एक्सपर्ट एजुकेशन पोखरा शाखाका बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णु प्रसाद गौतमले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। “विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा लैजाने उद्देश्यले यस्ता कार्यक्रमहरू आवश्यक छन्,” उनले स्पष्ट पारे।

समापन कार्यक्रमका अध्यक्ष सुरेशराज अधिकारीले विद्यार्थीहरूको सक्रियता प्रेरणादायी भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगिता सफल बनाउन विभिन्न उप-समितिहरू गठन गरिएको थियो। अर्थ समितिको संयोजकमा सुजित लामिछाने, सञ्चार समितिमा कृति गिरी, प्राविधिक समितिमा संजोक न्यौपाने, मञ्च व्यवस्थापनमा शान्ति सिरिश, तथा मैदान व्यवस्थापन समितिमा विमल विक लगायतको भूमिका उल्लेखनीय रह्यो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19152, citypokhara.com

जैविक विविधताका दृष्टिले महत्वपूर्ण वाली कोदो प्रवर्द्धन र अभियान

 

कोदो, नेपालको धान, मकै, र गहुँपछिको चौथो महत्वपूर्ण खाद्यन्न बाली हो। यसलाई पहाडी भेगमा मकै पछाडीको दोश्रो बालीको रुपमा लिईन्छ । कागुनो, चिनो जुनेलो यसै वर्गका बाली हुन। यो विपन्न परिवारको खानाको मुख्य श्रोत हो।
यसलाई कम उत्पादन हुने, रुखो, पाखो जग्गामा, आकाशे पानीको भरमा, रसायनिक मलको प्रयोग विना सिमान्त जग्गामा खेती गरिने बालीको रुपमा लिईन्छ । यस बालीमा रोग किसानको प्रकोप कम हुन्छ। यो जलवायु अनुकुलनीय अर्गानीक र बातावरणमैत्री बाली हो । यसको विउलाई १५ वर्ष सम्म भण्डारण गरि राख्न सकिन्छ ।

जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तता बारे जनचेतना अभिवृद्धि गर्ने उदेश्यले ७० भन्दा बढि देशहरुको समर्थनमा (भारतको अगुवाई) सन् २०२१ मार्चमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषणा गरेसंगै नेपाल लगायतका संयुक्त राष्ट्रसंघमा आवद्ध मुलुकहरु कोदो वर्ष मनाएका थिए।

खाद्य तथा कृषि सम्वन्धी संयुक्त राष्टसंघीय निकायले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको प्रचारप्रसार गरी कोदोलाई फाइबर, एन्टिअक्सिडेन्ट, प्रोटिन र मिनरलयुक्त खाद्य भनिएको छ ।

खाद्यान्नको (खाद्य अन्नको राजा) श्री अन्नलाई हामीले धेरै फल्ने र पैसा धेरै आउने बालीको रुपमा मात्रै हर्ने गर्नाले यति धेरै फाइदा महत्व र विशेषता हुँदा हुदै पनि कोदोलाई हेलाको रुपमा हेरिने गरिएको छ।

यसले उत्पादनमा धेरै ठूलो असर गरिरहेको छ। कृषि तथा पशुपन्छि मन्त्रालयका अनुसार नेपालमा २ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ। त्यसबाट करिव ३ लाख २७ हजार मेक्टिकटन उत्पादन हुने गरेको छ । सामान्य तथा ७७ जिल्ला मै कोदोको खेती गरिन्छ।

तराईमा कम र पहाडी तथा मध्य पहाडी जिल्लामा अधिक कोदो उत्पादन हुन्छ । धेरै जसो खोट्टाङ्ग, सि.पा, बाग्लुङ्ग, स्याङ्गजा, कास्की ओखलढुङ्गा, गोरखा र सिन्धुलीमा उत्पादन हुन्छ।

मनाङ्ग र मुस्ताङ्गमा कम हुन्छ। देशका कुल खाद्य उत्पादनको ७.७प्रतिशत कोदो बालीले ओगटेका छ । ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ । समुद्र सतहबाट ३१ सय मी सम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ ।

कोदोका औषधिक गुणहरू, र अन्य पोषक तत्वहरूले गर्दा स्वस्थ खानपानसम्बन्धी व्यवहारका लागि कोदोको प्रबर्द्धन अत्यावश्यक छ। कोदोका परिकारको बारेमा जानकारीको कमी, परिकार बनाउने ज्ञान नहुनाले स्वाद मन नपराउने जस्ता समस्याहरु समाधानका लागि कोदोका परिकार तयारीका शीप हस्तान्तरण आवश्यक छ । यसलाई खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम शुरुवात गर्न सकिन्छ ।

पौष्टिकता औषधीयपन तथा मानव स्वास्थमा पुर्याउने टेवा बारे ज्ञानको प्रसार गरि यसको प्रवर्द्धन आवश्यक छ । शिशु खाद्य, वृद्ध खाद्य, तथा विभिन्न परिकारको रुपमा विस्तार गर्न सकिन्छ ।

अनुशन्धानबाट उन्नत प्रविधिको विकास गरि उत्पादन गराउन सकिन्छ । सम्मानित बालीको रुपमा विकास गरी यसको महत्वलाई वृद्धि गर्न सकिन्छ । राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारको रुपमा विकास गर्न सकिन्छ । जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकाले दिर्घकालीन कृषि बालीको रुपमा विकास गर्न सकिन्छ ।

पछिल्लो समय कोदोको विशेष महत्व र उपयोगीताको बारेमा बहस संवाद प्रचार प्रसार भए पनि खानेवालीमा परिवर्तन भएको छ । यसको माग कोदो र कोदो जन्य खाद्यको भाग बढेको छ । आ.व २०८०/८१ मा १ करोड ५२ लाख केजी बरावरको कोदो आयत भएको छ । जुन ७५ करोड ४४ लाख २३ हजार वरावर थियो।

आ.व २०७९/८० मा ७३ करोड २० लाख १३ हजार रुपैयामा १ करोड ८४ लाख केजी बरावरको कोदो आयात भएको थियो । कोदो उत्पादनको हिसावले नेपाल १३ औं स्थानमा पर्छ । गत आ.व मा मात्रै चीनबाट १ सय २५ केजी कोदो भित्रियो भने भारतबाट १ करोड ५२ लाख ९८ केजी हाराहारीमा ७५ करोड ४४लाख रुपैया बरावरको कोदो भित्रिएको थियो ।

नेपालले कोदो आयात संगसंगै निर्यात पनि गर्दै आइरहेको छ । आ.व ०६८/६९ कोदो निर्यात गरेको व्यापार तथा निकासी केन्द्रले ०६८/०६९ मा १ लाख ५हजार रुपैयामा ३ हजार ५ सय केजी कोदो निर्यात गरेको देखिन्छ ।

निर्यात क्रमश बढ्दै भएर आ.व ०८/०८१ मा नेपालबाट ६१ लाख ९६ हजार बरावर मा ४६ हजार ७ सय ५८ केजी कोदो निर्यात गर्न सफल भएको छ। यो आ.व मा अष्ट्रेलिया, क्यानाडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत, अमेरीकामा कोदो विक्री गर्दै आइरहेको छ ।

नेपालको अहिले खेती गर्नेक्रम घट्दो भएता पनि अहिले खेती पनि विस्तारै बढ्न थालेको र यसको महत्व विशेषतालाई बुझेर प्रयोग गर्नेको संख्या बढ्‌दै गएको छ ।

२०७३ साल देखि राष्ट्रिय कृषक समुह महासंघ नेपालले कोदो महत्व विषयमा छलफल संवाद एवं सचेतिकरणका गतिविधि गर्दै आइरहेको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल र अनाज नेपालले २०७७ साल श्रावन १५ गते देखि राष्टिय वहशको शुरुवात गरिएको थियो ।

त्यस पश्चात हरेक वर्षको श्रावण १५ मा कोदो दिवस मनाउदै आईएकोमा नेपाल सरकारले श्रावण १६ लाई राष्ट्रिय कोदो दिवसको घोषणा गरेको छ । जैविक विविधताका दृष्टिले महत्व रहेकाले कोदो अव राष्ट्रिय महत्वको बालीको रुपमा स्थापित भएको छ ।

यसको व्यवसायिक उत्पादन र प्रवर्द्धनको लागि स्थानीय पालिकाहरुको नीति र कार्यक्रम मार्फत स्थानीयकरण गर्दै अभियानको रुपमा लैजान आवश्यक छ यसको लागि महासंघले आफ्‌नो संरचना परिचालन गरी तहगत सरकारसंग सहकार्य गरिन रहनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19147, citypokhara.com

नेपाल निजामती कर्मचारी युनियनको ९औं जिल्ला तथा प्रथम प्रदेश विभागीय अधिवेशन पोखरामा हुने

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति कास्कीको आयोजनामा ९औं जिल्ला तथा प्रथम प्रदेश विभागीय अधिवेशन पोखरामा हुने भएको छ। दुईदिने अधिवेशन साउन २२ र २३ गते हुनेछ ।

अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा विशिष्ट अतिथि रहनेछन् ।

त्यस्तै, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापा, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, सांसदद्वय प्रकाश बराल र सरस्वती गुरुङ, नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक केन्द्रीय अध्यक्ष उत्तम कटुवाल, तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको विशेष आतिथ्यता रहनेछ ।

अधिवेशनको सफल आयोजना तथा व्यवस्थापनका लागि उपाध्यक्ष केदार सापकोटाको संयोजकत्वमा १०१ सदस्यीय व्यवस्थापन समिति, कोषाध्यक्ष चेतराज आचार्यको संयोजकत्वमा आर्थिक संकलन समिति, र जिल्ला अध्यक्ष सुरेश श्रेष्ठको संयोजनमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ।

कार्यक्रममा युनियनका वर्तमान तथा पूर्व पदाधिकारीहरू, अग्रजहरू, कर्मचारीहरू, शुभेच्छुकहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने बताइएकाे छ।

अध्यक्ष सुरेश कुमार श्रेष्ठले अधिवेशनले निजामती कर्मचारीहरूको हकहित, अधिकार र पेशागत मर्यादा प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19137, citypokhara.com

ऐतिहासिक चौतारो वर–पिपलका रूख काट्ने  सात जनाविरुद्ध डिभिजन वन कार्यालय कास्कीद्वारा अभियाेगपत्र दायर

पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्रका सडक छेउ र सार्वजनिक स्थानमा रहेका पुराना ऐतिहासिक चौतारीका वर र पिपलका रूखहरू गैरकानूनी रूपमा कटान गरिएको घटनामा संलग्न सात जनाविरुद्ध डिभिजन वन कार्यालय कास्कीले कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

यस घटनामा संलग्न ठहरिएका व्यक्तिहरूमा मानवसेवा फाउण्डेशन नेपालका प्रवन्धक विष्णु राज गिरी, पाेखरा १४ शुभमार्ग टोलका तारा प्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुन बहादुर कार्की र रामकृष्ण अधिकारी तथा साधना मार्गका ज्ञानेन्द्र सार्कीलर रमेश पौडेल रहेका छन्।

पोखरा महानगरपालिका, नगरकार्यपालिका, पोखरा पंक्षी समाज, मेरो नेपाल युवा समाज, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायत संघसंस्थाहरूले यसबारे उजुरी दिएका थिए। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पनि उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा पोखरा–१४ स्थित शुभमार्ग टोल, राधाकृष्ण टोल तथा साधना मार्गमा रहेका चौतारीका वर–पिपलका रूख तथा हाँगाहरू ऐन, नियमावलीअनुसारको प्रक्रिया नपुर्‍याई आफूखुसी रूपमा काटिएको पाइएको हो।

अनुसन्धानबाट रूख काट्ने प्रक्रिया पूरा नगरी सम्झौता गरेर समिदा बनाउने कोटिहोमको नाममा रकम उठाइने, रूखका हाँगाहरू बेचविखनसमेत गरिएको प्रमाणित भएपछि उक्त कार्यमा संलग्नहरूलाई वन ऐन, २०७६ को दफा ३७ (३) र वन नियमावली, २०७९ को नियम ८४ (६) काे प्रकृया नपुर्याई उक्त कार्य गरेकाे देखिएकाेले वन ऐनको दफा ४९ (घ) अनुसार सजायको मागसहित कारबाही अघि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरि प्रसाद गौतमले साउन १२ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरिएको जानकारी दिँदै, यस्ता ऐतिहासिक तथा सार्वजनिक महत्वका वृक्षहरूको संरक्षणमा सबै सचेत रहनुपर्ने बताएका छन्।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19130, citypokhara.com

लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने

पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ«े गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ ।
नेपाल सरकारले “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार” भन्ने नाराका साथ यसै वर्षदेखि साउनको १६ गते राष्ट्रिय कोदो दिवस मनाउन गइरहेका सन्दर्भमा लाहाचोकमा पहिलो कोदो महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए ।
महोत्सवका अवसरमा ख्यातीप्राप्त जनगायक जीवन शर्माका साथै स्थानीय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसँगै पञ्चेवाजाका साथमा आमा समूहहरूबीच कोदो रोपाई प्रतियोगिता समेत गरिने भएको उनले बताए ।
“हामीहरू स्वदेशी उत्पादनमा  आत्मनिर्भर बन्नु आवश्यक छ”, उनले भने, “कोदोजन्य बालीको प्रवद्र्धन गर्दै यसतर्फ कृषकलाई आकर्षित गरी उत्पादन बढाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको हो ।”
कोदो वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने यसको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ ।
विशेष गरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् ।
कोदोको उत्पादन घट्दै गए पनि यसको माग भने अत्यधिक बढ्दै गएको पाइन्छ । कोदोबाट रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ ।
महोत्सव मार्फत बहुउपयोगी कोदो खेतीप्रतिको आकर्षण बढाउन खोजिएको गुरुङले बताए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19126, citypokhara.com

‘हरित रोजगारी सिर्जना’ परियोजनाअन्तर्गत पोखरामा दुईदिने आरयू फेस्ट

पोखरा ।
हरित रोजगारी सिर्जना परियोजनाको प्रचार–प्रसार र जनचेतनामूलक उद्देश्यसहित आगामी साउन १६ र १७ गते पोखरामा दुईदिने ‘आरयू फेस्ट–२०२५’ हुने भएको छ । पोखरा इभेन्ट सेन्टरमा हुने यो कार्यक्रम पोखराको फोहोर व्यवस्थापनमा केन्द्रीत हुने जनाइएको छ । कार्यक्रम पोखरा महानगरपालिकाको आयोजनामा कोइकाको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक साझेदारीमा सञ्चालन हुने मेयर धनराज आचार्यले जानकारी दिए ।

उनका अनुसार फोहोरलाई स्रोतको रूपमा प्रयोग गरी रोजगारी सिर्जना गर्न सकिने सम्भावनाबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । महोत्सव हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा लिइने मेयर आचार्यले बताए । फेस्टमा दिगोपन, नवीनता र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिइने जनाइएको छ ।

पोखरामा आहिले दैनिक १ सय ७६ टन फाहोर उठ्ने गरेको मेयर आचार्यले बताए । उनका अनुसारले यो प्रोजेक्टले नेपाललाई दीर्घकालीन रुपमा स्मार्ट सिटीको परिकल्पना पूरा गर्नेछ । फेस्टमा प्रयोगशालागत वस्तुहरूबाट उत्पादित सामग्री र हरित उद्यमशीलताको प्रदर्शन, फोहोर व्यवस्थापनसम्बन्धी समाधान, जलवायु परिवर्तन, नवीकरणीय उर्जा, प्लास्टिकको पुनः प्रयोग, स्मार्ट बिन, जीवनशैली परिवर्तनका उपायलगायतका विषयमा विविध कार्यक्रम समावेश हुने छन् । युवालाई रोजगारीका सम्भावना र उद्यमशीलताको दिशामा प्रेरणा दिने उद्देश्यले व्यावसायिक सञ्जाल विस्तारका अवसर पनि फेस्टमार्फत दिइने जनाइएको छ ।

यसका लागि कोइकाले ८.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.२९ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गरेको मेयर आचार्यले बताए ।

पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा स्थानीय सरकारको साथमा युवाको नेतृत्व, उद्यमशीलता र सिर्जनात्मकताको महत्वपूर्ण योगदान हुने मेयर आचार्यको भनाइ थियो । फेस्टमा सहभागी हुने विद्यार्थी, उद्यमी, नीति निर्माता र सरोकारवालालाई समर्पित गर्दै पोखरा महानगरपालिकाले सबैलाई आमन्त्रण गरेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19121, citypokhara.com