Breaking News
‘हिटम्यान’ को पोस्टर र टिजर सार्वजनीक

काठमाडौ । नेपाली चलचित्रलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म ‘हिटम्यान’ को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं, पोखरा, भारत, फ्रान्सको पेरिस तथा दुवईमा खिचिएको छ ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने चलचित्रका निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । चलचित्र नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन । पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् ।

चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । आँचलले तेलगू सिनेमा भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् ।

99 सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको सिनेमामा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन् ।

दया, सौगात र उपासनाको ‘हात्तीछाप’ को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको चलचित्रमा दया र सौगात एकसाथ देखिन लागेका हुन् ।

सार्वजनिक टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा चलचित्रका अधिकांश कलाकार अटाएका छन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को अभिनय छ ।

टिजरमा दया र उपासनाको प्रेम, सौगातको राजा अवतारलाई देखाइएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।

चलचित्र माघको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।
रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएकोचलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । चलचित्रमा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो चलचित्रलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।

पौडेलले अमेरिकामा ‘भूठान’ बनाउने, हरिवंशआचार्य मुख्य भूमिकामा

काठमाडौँ। सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदानगर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोष्टर र नाम सार्वजनिक गरेका छन् । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै दयाहाङ राई,जोयस पाण्डेय,अनुराधा मजुमदार, पूजा चन्द लामा , ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुवन्धित भएका छन् । यो चलचित्रमा हलिउडका एक नामुदकलाकारलाई पनि अनुवन्ध गर्न लागिएको छ तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरुको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने कुरा निर्माता मध्यका एक राजेन्द्र ठकुराठीले बताएका छन् । राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन् ।

भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र भूठान (द वल्र्डस् ह्यापिएस्ट म्यान्) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो ।

विश्वका हरेक देशले आत्मसात गर्ने कथा, राम्रो लेखन र यस चलचित्रमार्फत नेपालअन्तर्राष्ट्रिय बजारमा जानसक्ने सुझाव आएपछि, विभिन्न देशका अन्तर्राष्ट्रिय समुहहरु यसमा हातेमालो गर्न आए । यो दक्षिण एसियाको कथा भएको र भू–राजनीति पनि जोडिएको हुनाले मुख्य भूभिकामा भारतका प्रसिद्घ कलाकारहरु राख्ने गरी उनीहरुको छलफल भई सम्झौता पनि भएको थियो । यसमा नसिरुद्घिनशाह, आदिल हुसेन, अनुपम खेर, प्रसिद्घ साउण्ड डिजाइजनर विश्वदीप चटर्जी, ए. आर रहमान तथा चीन, अमेरीका र बेलायतबाट समेत कलाकाहरु जोडिने पक्का भएको थियो । अनुपम खेरले, यस्तो राम्रो स्कृप्ट धेरै वर्षमा पढ्न पाएको भनी मुख्य भुमिकामा कम पारिश्रमिकमा पनि आफू काम गर्न एकदम रुचि भएको जनाएपछि उनीलगायत केही कलाकारहरुसग कानुनी रुपमै संझौताभयो र पहिलो किस्ता परिश्रमिक पनि दिईयो । अनुपम खेरले, “द फिल्म इज लाइक अ क्लासिकल हलिउड”भनेका थिए । अनुपम खेर लगायत अन्य भारतीय कलाकारलाई फिल्मसम्म जोड्ने काम नेपाली नाट्य निर्देशक विमल सुवेदीले गरेका थिए । विमलले यो चलचित्रमा निर्देशक पौडेललाई क्रियटिभ पाटोहरुमा सहयोग गरिरहेका छन् । तर जब विनोद, विमल र मुख्य पात्र अनुपम खेर स्कृप्ट रिडिङ सेसनमा वस्न थाले तब विनोदलाई अनुपम खेरले चरित्र र कथावस्तुलाइ लिएर अलि बढी क्रियटिभ हस्तक्षप गरेको अनुभुति भयो । अनुपम खेर उनको चरित्र अलिकति बलिउडको चलनचल्तीको मान्यता अनुरुप एडप्ट गरी आफ्नो चरित्रलाई लिएर नयां दृष्टिकोण दिन चाहन्थे । तर निर्देशक विनोद भने यो चलचित्र भारतीय फमुर्ला चलचित्र हेर्ने दर्शकको लागि मात्र नभएर विश्वबजारका लागि भएकोले बलिउड दर्शकको रुचिलाई मात्र ध्यान दिएर, कथाकोे आत्मा र उक्त चरित्रको गहिराईमा सम्झोता गर्नाले चलचित्रको दर्शनको लय बिग्रने हुँदा बरु सम्झौताको समयमा दिईएको पहिलो किस्ता वापतको रकम क्षतिपूर्ति स्वरुप अनुपम खेरवाट फिर्ता नलिने र पुनःभविष्यमा सहकार्य गर्ने आपसी समझदारी सहित अनुपखेर सँगको यात्रा टुंगियो । अन्तत, अनुपम खेरसँगको सहकार्य हाललाई नहुने र विश्वका केही प्रसिद्घ कलाकारहरु पनि उक्त समयमा अमेरिकामा भइ रहेको कलाकारहरुको आन्दोलनले गर्दा अन्योल भएपछि अन्तर्राष्ट्रिय ठूला लगानीकर्ताहरु पनि पन्छिए । अहिले मुख्य भूमिकामा हरिवंश आचार्यसहित नेपाल, अमेरिका र भारत सहितको समूह मिलेर चलचित्रको पूर्व तयारीमा जुटेको छ ।

निर्माता अविरल थापाले यो चलचित्र विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय चलचित्रको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए । कार्यकारी निर्माता एल. एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वभरिका सम्पूर्ण प्लेटफर्महरुमा र सिनेमा हलहरुमा हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई प्रदर्शन गरिने बताए । चलचित्रकी कार्यकारी निर्माता कौशिला खनालले “भुटानी शरणार्थीहरुको कथा र संवेदनालाई लिएर विगत लामो समयदेखि अत्यन्तै मिहिन ढंगबाट लेखक एवं निर्देशक पौडेलले काम गरिरहेको देखेर यसमा जोडिएको बताइन्” । यस चलचित्रका लाईन प्रोड्युसर दीपक गजमेरका अनुसार, “हाम्रो कथा अहिलेसम्म यति गहिराइबाट नलेखिएको र नभनिएकोले यो फिल्मले आफ्नो सिंगो समुदायको आवाजलाई विश्व बजारमा बुलन्द गर्नेमा आफ् विश्वस्त रहेको बताए” । यस चलचित्रमा सन् २०१७ मा अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोसियट निर्माताकोे रुपमा जोडिएका छन् । यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी,अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनेछन् । साथै कार्यकारी निर्मातामा एलएन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीवभार श्रेष्ठ, नवराज पराजुलीको सह निर्माण रहनेछ । चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायाँकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्नेछ ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गर्नेछन् ।

यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।

‘अन्जिला’को ३४औँ दिनमा ‘ईन्ड क्ल्याप’

काठमाडौँ। नेपाली चलचित्र ‘अन्जिला’को छायाङ्कन सकिएको छ । छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो ।

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायाङ्कन सुरु भएको थियो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ ।

यो चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिध्दार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ । यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् ।

झन्डै दुई वर्ष अघि घोषणा गरी अहिले छायाङ्कन भएको यो चलचित्रकी कथा पात्र एन्जिला तुम्बापोको खेल जीवनको व्यस्त तालिकाका कारण निकै ढिलो छायाङ्कन गरिएको हो । ‘ईन्ड क्ल्याप’सँगै निर्देशक चाम्सले उपयुक्त मिति हेरी रिलिज गरिने बताए । उनले अत्यन्तै उत्साहका साथ छायाङ्कन भएको र आफ्नो निर्देशन करियरमा यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरे ।

शनीबार चलचित्रको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन् । छायाङ्कन सकिएपछि एन्जिलालाई लिगमा विजयीको शुभकामना सहित म्याजिक फूटवेयर र चलचित्रका सह-निर्माता विनोद अग्रवालले स्कूटर उपहार प्रदान गरेका छन् । म्याजिक फूटवेयर यस चलचित्रका अर्का सह-निर्माता राजेश बगडियाको हो । दुवै सह-निर्माताले एन्जिलाले चलचित्रमा गरेको काम र उनको खेल जीवनबाट प्रभावित भएर उपहार प्रदान गरेको बताए ।

म्याजिक फूटवेयरले एन्जिलाको नाम अङ्कित गरी जुत्ता बनाएको छ । यसरी नेपाली खेलाडीको नाम अङ्कित गरी पहिलो पटक टी-शर्ट र जुत्ता (म्याजिक) बनेका हुन् । साथै, एन्जिला चर्चित क्लोथिङ ब्रान्ड ली-निङको नेपालको पहिलो र विश्वको पाँचौँ ब्रान्ड एम्बासडर हुन् । साथै, उनी गोर्खा वाच र हन्ड्रेड स्पोर्टसको पनि पहिलो ब्रान्ड एम्बासडर हुन् ।

एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।

निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा चलचित्रमा देखिने बताए । १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले एन्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ गर्छ भन्ने लागेर चलचित्र बनाएको बताए ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।

एन्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।

सुदीप बरालको डिओपी रहेको यस चलचित्रका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन् ।

खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ मा दयाहाङ र रिस्माको जोडी पक्का

काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को औपचारिक घोषणा गरिएको छ। ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैंया’ बनेकी अभिनेत्री रिस्मा गुरुङ्ग पुनः अभिनेता दयाहाङ राईसँग चलचित्रमा देखिने छिन्। गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘रिमै’ मा दया र रिस्माका अलावा विरबल घले प्रमूख भूमिकामा देखिनेछन्।

चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ (युके), जित यात्री गुरुङ (नर्वे) तथा सचि कुमारी घले रहेका छन्। दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा चलचित्रमा सह-निर्माताका रुपमा रहनेछन्।

चलचित्रको हाल प्रिप्रोडक्सन चलिरहेको छ भने निर्माणपक्षले थप जानकारी केही समयपछि दिने जनाएको छ। ‘रिमै’को चैत्रमा फ्लोरमा जाने गरी तयारी भइरहेको छ। चलचित्र २०८१ सालको तीजमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ। चलचित्रलाई बितरण आरआर फिल्मस्ले गर्दैछ।