Breaking News
ग्लोबल मिडिया कांग्रेसमा सहभागी हुने अवसर पाएका शेर्पा

फुर्वा शेर्पा (संचारकर्मी तथा निर्देशक)
काठमाडौँ। हालै मैले अबु धाबीमा भएको ग्लोबल मिडिया कांग्रेसमा भाग लिने सुअवसर पाएको थिएँ । गत वर्षको उद्घाटन संस्करणको सफलताको आधारमा निर्माण गरिएको तीन दिने कार्यक्रममा शिक्षाविद्, युवा र विश्वविद्यालयका विद्यार्थीहरू सहित विश्वका केही शीर्ष उद्योगपतिहरू, विशेषज्ञहरू र प्रभावकार व्यक्तित्वहरूको सहभागिता रहेको पाइयो ।

‘सेपिङ द फ्युचर अफ द मिडिया इन्डस्ट्री’ भन्ने नाराका साथ यस वर्षको ग्लोबल मिडिया कांग्रेसले विश्वव्यापी सरोकारहरूसँग मिल्दोजुल्दो महत्वपूर्ण विषयवस्तुहरूलाई सम्बोधन गरेको छ। यो अद्भुत अवसर थियो र यस्तो अवसरमा प्रतिनिधिको रूपमा कार्यक्रममा भाग लिन निमन्त्रणा पाउँदा मैले आफूलाई सौभाग्यशाली ठानेको छु ।

पहिलो संस्करण एकदम राम्रो थियो तर यस वर्षको संस्करणमा आकार र मापनको हिसाबले मेरो अपेक्षाहरू पार गर्यो। यसले लगभग १३ हजार प्रतिनिधिहरू र २३ हजार भन्दा बढीको सहभागीका साथ एक प्रभावशाली र गर्विलो आयाम बन्न सफल भयो ।

ग्लोबल मिडिया कांग्रेसले २५७ ब्रान्डहरूको प्रदर्शन प्रस्तुत गर्यो । १७२ देशबाट सहभागिता जनाइयो र १६० जना विश्वव्यापी रूपमा प्रसिद्ध वक्ताहरूको अन्तर बिचार प्रस्तुत भयो । उल्लिखित प्रभावशाली संख्याहरू सहित त्यहाँ सात मुख्य विशेष क्षेत्रहरू थिए, जसले यश अवसरको समग्र भव्यतामा थप योगदान पुर्‍यायो।

मलाई के कुराले अझ बढी छोयो भने यो एउटा यस्तो विस्तृत कार्यक्रम थियो जसमा ३६ मुख्य सत्रहरू थिए जसले विषयहरूको विस्तृत दायरालाई समावेश गरेको थियो। यी सत्रहरूले दिगोपन, नवप्रवर्तन, अत्याधुनिक संचार प्रविधिहरू, खेलकुद मिडिया, युवा संलग्नता र संचार उद्योगको समग्र भविष्यलाई आकार दिन प्रशिक्षण र विकासको निर्णायक भूमिका जस्ता विविध विषयहरू समेटेका थिए। यो एउटा प्रतिबद्धता जनाइए अनुसार नै गहिरो अनुसन्धान र अन्वेषण द्वारा उपलब्ध गराइएका प्रभावशाली तथ्याङ्कहरूलाई समेत उछिनेर साँच्चै विशाल भेला जस्तो महसुस भयो।

अझ, यस ग्लोबल मिडिया कांग्रेसले शिक्षा, सह-उत्पादन मजलिस, इनोभेसन स्टेज, उच्च प्रविधि र भविष्यको मिडिया ल्याब सहित धेरै प्लेटफर्महरू प्रस्तुत गर्‍यो जुन सबै मिडिया लगायत शिक्षा र कृत्रिम बुद्धिमत्ता (AI) को अभिसरण अनुसन्धान गर्न डिजाइन गरिएको हो।

वास्तवमा, ग्लोबल मिडिया कांग्रेस एक पारंपरिक सम्मेलन र व्यापार मेला थियो। सम्मेलन स्थल, अबु धाबी राष्ट्रिय प्रदर्शनी केन्द्र, मा एउटा ठूलो सभा हल थियो जसमा पूर्ण सत्रहरू आयोजना गरियो। त्यस संगै, त्यहाँ एउटा मुख्य प्रदर्शनी स्थल थियो जहाँ सबै प्रकारका टिभि च्यानलहरू, समाचार एजेन्सीहरू, विद्वानहरु सहित अन्य मिडिया-सम्बन्धित व्यवसायको प्रदर्शनी गरिएको थियो। मैले ती सबै निरीक्षण गर्दै कोठाको वरिपरि घुम्नमा र विभिन्न प्रदर्शकहरूसँग परिचय आदानप्रदान गर्न धेरै समय बिताएँ। त्यसो गर्दा मैले केही राम्रा मानिसहरूलाई भेटें र केही साच्चै उपयोगी सम्बन्धहरु समेत बनाउन सफल भएँ ।
धेरै आकर्षणहरू मध्येमा मेरो लागि एउटा प्रमुख आकर्षण स्काई न्यूज अरेबियाको रुपमा देखियो किनभने यो मलाई मनपर्ने अरबी समाचार च्यानलहरू मध्ये एक हो । त्यहाँ तिनीहरूसँग कार्यक्रमको लागि चाहिने एउटा राम्रो मिनी स्टुडियो संगै रोभिङ रिपोर्टरहरू र ‘स्काई न्यूज एकेडेमी’ समेत थियो जुन अरबी भाषा बोल्ने पत्रकारहरूको लागि प्रशिक्षण केन्द्र हो।

टिभी समाचारहरूमा “शारीरिक भाषा र सञ्चार” सम्बन्धी कार्यशालामा भाग लिन पाउँदा मैले आफूलाई भाग्यशाली ठानेको छु । त्यहाँ मुख्य प्रदर्शनी स्थलमा एउटा विशेष, बक्स जस्तो ठाउँमा बनाएर ‘सम्मेलन भित्र सम्मेलन’ नामको कार्यक्रम गरिएको थियो, जसलाई ‘मिडिया फ्युचर ल्याब्स’ भनिएको थियो।

ग्लोबल मिडिया कांग्रेस
ग्लोबल मिडिया कांग्रेस उदघाटन धेरै राम्रोसंग संगठित र संचालित थियो। कार्यक्रमको उद्घाटन उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा राष्ट्रपतिको अदालतका अध्यक्ष शेख मन्सुर बिन जायद अल नाह्यानले गरेका थिए ।

सहभागीहरूका लागि विभिन्न स्थानको भ्रमण र विविध गतिविधिहरू आयोजना गरिएको थियो जसमध्ये एक शेख जायद ग्रान्ड मस्जिदको भ्रमण थियो जुन अबु धाबीको मुख्य आकर्षणहरू मध्ये एक हो । म पहिले अबु धाबी गएको बेलामा दिनको समयमा त्यो मस्जिदको भ्रमण गरेको थिएँ । तर यसपटक रातको समयमा गरिएको मस्जिद भ्रमणको अनुभव साँच्चै शानदार र अविस्मरणीय थियो।

ग्लोबल मिडिया कंग्रेसको बारेमा एउटा उल्लेखनीय कुरा के देखियो भने यसमा विदेशी सहभागीहरू मुख्यतया गैर-पश्चिमी देशहरूबाट थिए। उदाहरणको लागी, मैले उज्बेकिस्तान र ताजिकिस्तानका प्रदर्शकहरूसँग राम्रो कुराकानी गरें ।

आरटी अरेबिकबाट पनि ठूलो टोलीको उपस्थिति थियो । पश्चिमबाट Euronews, France 24, CNN, BBC, र National Geographic आदिको उपस्थिति मैले त्यहाँ देखें । त्यस्तै, चीनको CCTV र CGTN बाट मिडियाको उपस्थिति पनि हामीले त्यहाँ देख्न सक्थ्यौं । त्यस समारोहमा Viory (भिडियो समाचार एजेन्सी) र CCTV को बीचमा प्रसारण सामग्रीमा साझेदारी गर्ने सहमति भयो । Viory का ग्राहकहरूलाई CCTV को सामग्रीमा पहुँच गर्न अनुमति दिँदै Viory एजेन्सी पनि AUB (अफ्रिकन युनियन अफ ब्रोडकास्टिङ) को सदस्य बनेको छ जुन मिडिया पेशेवरहरूको प्रशिक्षण र AUB vision प्लेटफर्ममा सामग्री योगदानहरूको लागि प्रतिबद्ध छ।

११ औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ देखि

११ औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ देखि
काठमाडौंँ । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको यो ११ औं हो । नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सव ४ दिन चल्नेछ ।

महोत्सवको उद्घाटनमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिनेछ । विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाल लगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्कि, क्रोएसिया, इटली, अयारल्याण्ड, किर्जिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मत चलचित्र तथा वृत्तचित्रहरु सहभागी छन् ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । महोत्सवमा जुरीबाट छनौट भएका उत्कृष्ट पाँच चलचित्रहरुलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ । यसवर्ष महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिक अधिकार ः अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुईओटा प्यानल छलफल पनि राखिएको छ । साथै महोत्सव मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुनेछ । महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘एल्लो’ प्रदर्शन हुनेछ । समापन समारोह पनि मंसिर २६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डमा हुने आयोजकले जनाएको छ ।

सामाजिक न्याय र मानवअधिकार प्रवद्र्धनका उद्देश्यले सुरु गरिएको महोत्सवको ११ औं संस्करण आयोजना हुनु मुलुककै लागि गर्वको विषय भएको महोत्सवका निर्देशक तथा मानवअधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्रीे बताए । ‘महोत्सवले स्वदेशी तथा विदेशी चलचित्रकर्मी र मानव अधिकारकर्मीलाई एकअर्काेसँग जोड्ने छ ’बीच अन्तरक्रियाको अवसर प्रदान गर्छ’, खत्रीले भने ।

महोत्सवका लागि ८७ देशबाट ९०० बढी चलचित्रको आवेदन परेको थियो । महोत्सवमा लैगिंकता, जातीय विभेद, द्वन्द्व, बासाइँसराई, पर्यावरण, मानवअधिकार जस्ता विषयमा बनेका डकुमेन्ट्री, सर्ट र फिक्सन चलचित्रहरु प्राथमिकता परेका छन् ।

घिमिरे ‘फोकस २०२३, मिट द मेकर्स’ को लागी नेपालका तर्फबाट सहभागी

घिमिरे ‘फोकस २०२३, मिट द मेकर्स’ को लागी नेपालका तर्फबाट सहभागी
काठमाडौं । सम्पादक तथा निर्देशक निशान घिमिरे द लोकेशन गाइड लण्डनको आयोजनामा लण्डनमा यही डिसेम्बर ५ र ६ मा भएको ‘फोकस २०२३, मिट द मेकर्स’ नामक संसारभरका फिल्मकर्मी तथा मिडियाकर्मीहरुको सम्मेलनमा नेपालका तर्फबाट सहभागी जनाएका छन् । यो सम्मेलनका लागि निशानलाई आयोजकहरुले लामो अध्ययन र केही चरणको वार्तालापपछि छनोट गरेका थिए ।

लण्डनको विजनेस डिजाइन सेन्टरमा सम्पन्न भएको २ दिने सम्मेलनमा कोष्टारिका फिल्म कमिसन, ब्रिटिश फिल्म कमिसन, फिल्म् फ्रान्स सि एम सि, हङकङ टुरिज्म बोर्ड, इटालियन फिल्म कमिसन, जर्मन फिल्म कमिसन, इन्टरनेशनल कास्टिङ डिरेक्टर असोसियसन, मड्रिड फिल्म अफिस, फिल्म इन फिन्ल्यन्ड, पोल्याण्ड फिल्म असोसियसन, स्पेन फिल्म कमिसन, लगायत राष्ट्रका फिल्म तथा मिडियाकर्मी, व्यवस्थापक र विभिन्न देशका सुप्रसिद्ध बक्ताहरुले सहभागिता जनाएका थिए ।

यस महामेलामा नेपालको तर्फबाट एकमात्र प्रतिनिधिका रूपमा रहेका निशान नेपाली पोशाक दौरा सुरवाल र भादगाउँले टोपीमा ठाँटिएर बस्दा धेरै सहभागीहरुको नजर उनीतर्फ पुगेको थियो । नेपाल म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्षसमेत रहेका निशानले नेपाल र नेपाली संस्कृतिलाई झल्काउन र नेपाली फिल्म क्षेत्रका बारेमा केही जानकारी दिलाउन एउटा स्टल नै राखेका थिए ।

जहाँ अन्य देशका सहभागीहरुले नेपालका विभिन्न महत्वपूर्ण स्थल र संस्कृति झल्काउने तस्बिरसहित भिडियो क्लिप्सहरु, नेपाली फिल्म, म्यूजिक भिडियो र वृत्तचित्रका भिडियो क्लिप्सहरु अवलोकन गरेका थिए ।

‘नेपाली फिल्म क्षेत्र विश्व बजारका अन्य देशहरुका फिल्म क्षेत्रभन्दा कमजोर छैनन् । नेपालमा विदेशी फिल्म छायाङ्कन गर्न प्रशस्त स्थलसहित अनुकुल वातावरण रहेकोले विदेशी फिल्मकर्मीहरुलाई नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्न छायाङ्कनका लागि नेपालमा आउन आह्वान गर्दै सहजिकरणका लागि प्रतिबद्धता जनाएँ’ निशानले भने ‘अन्तर्राष्ट्रिय निर्माताहरुलाई नेपालमा सुटिङ गर्दा सहजीकरण गर्ने, नेपालका प्राविधिकलाई काम पाउने वातावरण बनाउने र राजस्व वृद्धिमा सहयोग गराउने कुरामा सहयोग गर्ने कुरामा आफ्नो कुरा राखें । नेपालमा अन्तराष्ट्रिय फिल्म सुटिङको अझ माहोल बनाउन सकियो भने हाम्रो लागि राम्रो हुन्छ भनेर विदेशी फिल्मकर्मीको स्टलमा पुगेर आफ्नो धारणा राखें ।’

लण्डन जानुपूर्व निशानले कार्यक्रमका बारेमा नेपाल चलचित्र विकास बोर्डलाई जानकारी गराएपछि बोर्डले समेत उनको यो कदम र उपलब्धिप्रति समर्थन जनाउँदै स्टलका लागि आवश्यक केही दस्तावेजहरु उपलब्ध गराएको थियो ।

निशानका अनुसार महामेलामा सहभागी मार्भल, नेटफ्लिक्सका प्रतिनिधिहरुले नेपालको विषयमा चासो राखेका थिए । ‘मैले मेरो स्टलमा द सोल अफ द हिमालयजको व्यानर राखेको थिएँ । चलचित्र विकास बोर्डको फिल्मिङ इन नेपाल पुस्तक अन्य देशका सहभागीलाई देखाउँदा उनीहरु नेपालको सुन्दरता देखेर प्रभावित भएका थिए’ निशानले भने ‘केही देशका फिल्ममेकरहरु डकुमेन्ट्री खिच्नका लागि नेपाल आउँछु भनेका छन् ।’

चाँडै फिल्म ‘मूना’को निर्देशन र सम्पादनको तयारीमा रहेका निशानले यो कार्यक्रममा सहभागिता जनाएपछि फिल्म निर्माण र बजारीकरणमा समेत थप टेवा पुगेको बताए । ‘विश्वभरका चलचित्रकर्मीहरुसँग साक्षात्कार भएर अनुभव साटासाट गर्न पाउँदा धेरै कुरा सिक्न पाइदो रहेछ’ उनले भने ।