Breaking News
भण्डारीको चलचित्र ‘एक्टर’ मा प्रदीप खड्का अनुबन्धित

काठमाडौं । अभिनेता प्रदीप खड्काले ‘पुजार सार्की र ऐरी’पछि नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलाचिरा ‘एक्टर’ मा खड्का अनुबन्ध भएका छन्। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रका निर्देशक राजन भुसाल हुन् । ‘पण्डित बजेको लौरी’ निर्माण गरेका भण्डारीले धेरै वर्षको पर्खाइमा यो चलचित्र बनाउन तयारी गरेका छन्। भण्डारीले चलचित्र केहि बिसेष हुने बताएका छन्।

चलचित्रको कथा तथा अन्य विषयमा अरु केही पनि बताइएको छैन । चलचित्रको छायांकन आगामी बैशाख गर्ने निर्माण टिमको लक्ष्य रहेको छ। चलचित्रलाइ सन् २०२५ मा रिलिज गर्ने बताइएको छ । प्रदीपका फ्यानले अझै एक बर्ष यो फिल्मको प्रतिक्षा गर्नुपर्नेछ । अभिनेता खड्काले एक बर्ष नयाँ फिल्म साइन गरेका थिएनन् । तर, अब भने उनी धमाधम नयाँ नयाँ प्रोजेक्टमा अनुवन्धित भइरहेका छन् ।

आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक

काठमाडौं। आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक गरिएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडियोमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो। पहिलो हाट बजार भरेको अनुभव यही पञ्चमीको छ,’ भिडिओ सार्वजनिक गर्दै फेसबुक पोस्टमा निर्देशक नवीन चौहानले सम्झिएका छन्।

करिब ८ मिनेटको म्युजिकल फिल्ममा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ। भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन्। दुईबीचको प्रेममार्फत् भिडिओमा बजारको सौन्दर्य र पूर्वको स्वाद पस्किएको छ। ‘तिथिमा लाग्ने यो बजारमा भेट भएका कति युवायुवतीको विवाह भएर घरजम नै भएको छ। बिडम्बना अहिलेयो बजार धेरै उजाडिएको छ,’ नवीन भन्छन्।

गीतमा गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाले स्वर दिएका छन्। गीतकार हर्क साउदले शब्द कोरेको गीतमा भुषणकै कम्पोजिसन छ।

भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ। भिडिओलाई योगेश ढकालले खिचेका छन्। भिडिओलाई नवीन र केर कोइँच लिनुचले निर्देशन गरेका छन्।

चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक

काठमाडौँ। दीपक श्रेष्ठले निर्देशन गरेको पछिल्लो चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चट्ट गाजल’ बोलको गीतमा कृष्ण हरी बरालको शब्द,दीपक शर्माको संगीत र स्मिता दाहालको स्वर रहेको छ। यस चलचित्रबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरंजन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । चलचित्रको छायांकन नेपालसँगै सिक्किममा गरिएको छ । चलचित्र काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनिले वितरण गर्नेछन् ।

मनोरन्जनको नयाँ विधा पाक-मनोरन्जनको रुपमा ‘सेफ नेपाल’

काठमाडौं । प्राकृतिक सम्पदाले धनी देश नेपाल साँस्कृतिक विविधता, भेषभुषा, रहन सहन, भाषा आदी मात्र नभएर पाक-सँस्कृतिमा पनि त्यती नै धनी छ । पाक-कला, पाक-सँस्कृति, बिभिन्न पक्वान्न र त्यसको वरिपरी रहेर टेलिभिजनको पर्दामा अहिले एउटा एकदमै नौलो कार्यक्रम संचालनमा रहेको छ । कान्तिपुर टेलिभिजनमा हरेक शुक्रबार राती ९ बजे “सेफ नेपाल” नामक कार्यक्रम आउने गर्दछ। उक्त कार्यक्रम खाना पकाउने कला र खाना पकाउने कलाकारहरु बिचको प्रतिस्पर्धात्मक कार्यक्रम !

यो नेपालकै पहिलो त्यस्तो कार्यक्रम हो जहाँ पकाउने, चखाउने, र सो क्रममा उत्कृष्ट प्रस्तुती दिने जमर्कोमा प्रतिस्पर्धिहरु लागेको देखिन्छ । अनगिन्ती टिभी रियालीटी शोहरु एक पछी अर्को गरी बिभिन्न टेलिभिजनमा आइरहदा “सेफ नेपाल” देशकै पहिलो फुड रियालिटी शो भएको दाबी यस कार्यक्रमका रचयिता एवं निर्माता धर्मराज पाण्डेको रहेको छ । “देशमा ३ दर्जन भन्दा धेरै टेलिभिजन च्यानल देखिन्छन्, पत्रकारिता जगत पनि ठुलो छ तर न त कुनै टेलिभिजन या पत्रपत्रीकाले नेपाली खानाको कार्यक्रम गरेको छ, न त कसैले यसलाई समाचारको बिषय नै देख्दछ”, निर्माता पाण्डे भन्छन । उनि भन्छन्, “पाक-पत्रकारिताको अवधारणा नै नभएको र पाक-कलालाइ मनोरन्जन को बिधामा कसैले नराखेकोले हामिलाई यो शो एक मनोरन्जनात्मक कार्यक्रम हो भनेर दर्शक माझ पुर्याउन धेरै अप्ठेरो भएको छ, पाक-कला या पाक-मनोरन्जन बारे बुझेर लेखिदिने कोही रहेनछन्” ।

निर्माता धर्मराज पाण्डेको भनाइ धेरै हद सम्म सही पनि हो । टेलिभिजनका समाचारहरु राजनिती या त अन्य बिषय केन्द्रीत हुने गर्दछन् । मानव जिवनको प्रमुख आवश्यकता खाना को बिषय खासै समाचारको बिषय नभएको जस्तो नै देखिन्छ । पकाउने कार्य पनि एक कला हो तर यो कला बारे हामी तेती चर्चा पनि गर्दैनौ । खाना हाम्रो जिवन सँग जोडिएको छ, जिवन शैली र रहन-सहन सँग जोडिएको छ, सँस्कृती र धर्म सँग जोडिएको छ, भौगोलिक विविधता सँग जोडिएको छ, पर्यटन र अर्थतन्त्र सँग पनि जोडिएको छ । तर संचार माध्यम सँग भने खाना जोडिन नसकेको गुनासो रहेको छ, सेफ नेपाल टिभी शो का निर्माता पाण्डेको ।

निर्माता पाण्डे कारीब १६ वर्ष देखी बिभिन्न पेशामा संलग्न रही पर्यटन र अतिथि सत्कार उद्योगलाई नजिक देखी नियालेको अनुभव सुनाउछन् । नेपाली पाक-उद्योगमा बिकास नै नभएको र खानामा देखिनु पर्ने कलाकारिता प्रस्फुटन नै हुन नसकेको देख्दा निर्माता पाण्डे बिदेशको जस्तै पाक-कला सम्वन्धी शो नेपालामा पनि गर्ने कोशीस गरेको अनुभव पनि सुनाउछन् । “मैले २०१६ मा मास्टर सेफको फ़्रेञ्चाइज नेपालामा ल्याउन चाहेको थिए, तर नेपाली बाजार सानो भएकोले त्यस्तो शो अहिले पनि गर्न असम्भव नै छ । त्यसैले नेपालको आफ्नै शो “सेफ नेपाल” को परिकल्पना गरिएको हो” उनले बताए।

“सेफ नेपाल” को पहिलो संस्करण पाक-कलाका सौखिनहरु माझको प्रतिस्पर्धात्मक शोको रुपमा तय गरिएको छ । जम्मा १८ भागमा प्रशारण हुने यस कार्यक्रमको १३ भाग प्रशारण भइसकेको छ । अनलाईन अडिसन लिएर प्रतिस्पर्धिहरु एकत्रित गरिएको यस कार्यक्रममा १०० प्रतिस्पर्धी छनोट गरी प्रत्यक्ष अडिसनको लागी बोलाईएको थियो । प्रत्यक्ष अडिसनमा प्रतिस्पर्धिहरुले “सेफ नेपाल” कै स्टुडियोमा खाना बनाइ निर्णायकत्रय मास्टर सेफ सन्तोष साह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीलाई आफ्नो स्वाद चखाएका थिए । सो अडिसन राउण्डबाट २४ जना छनोट भइ बिभिन्न प्रतिस्पर्धामा खारो उतृदै अहिले उत्कृस्ट १० प्रतिस्पर्धिहरु पाक-कलाको प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाललाई पहिलो फुड रियालिटी शो र पहिलो उत्कृस्ट १० प्रतिस्पर्धी दिँदै नेपाली टिभी मनोरन्जनको विधामा पाक-मनोरन्जन पनि थपेर निर्माता पाण्डेले राम्रो काम गरेका छन् ।

पाक-कलाको बिषयमा थप कुरा गर्दै गरौंला, पाक-पत्रकारिताको पनि महत्वका साथ समाचार लेखौंला तर अहिले भने मनोरन्जन लिने कार्य पहिले गरौँ । धर्मराज पाण्डेको निर्माणमा बनेको धर्म पिक्चर्सको प्रस्तुती नेपालको पहिले फुड रियालिटी टिभी शो “सेफ नेपाल” हेरेर मनोरन्जन लिगौँ, हाम्रा पाक-कलाकारहरुको कला नियालौँ, अनि नेपाली खाना, खाना संस्कृतिको देश र विदेशमा प्रचार गरौँ । “सेफ नेपाल” को पुराना भागहरु यसैको युट्युव च्यानलामा गएर हेर्न सकिने रहेछ । नयाँ भाग हरेक शुक्रबार राती ९ बजे कान्तिपुर टिभिमा प्रशारण हुने गरेको छ ।