Breaking News
प्रतिभा मा.वि.मा पहिलो त्रैमासिक परीक्षाकाे नतिजा सार्वजनिक

पोखरा ।
प्रतिभा माध्यमिक विद्यालय, पोखरा–३ नदिपुरले पहिलो त्रैमासिक परीक्षाकाे नतिजा शनिबार सार्वजनिक गरेकाे छ।

मन्टेश्वरीदेखि कक्षा १० सम्मकाे नतिजा सार्वजनिक कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो। जहाँ अभिभावकहरूसँग विद्यार्थीको अध्ययन अवस्था, व्यवहार र सुधारका सम्भाव्य उपायहरूबारे प्रत्यक्ष संवाद गरिएको थियो।

प्रतिभा मा.वि.मा पहिलो त्रैमासिक परीक्षाकाे नतिजा सार्वजनिक

विद्यालयका उपप्रधानाध्यापक बुद्धि मोहन पौडेलले  विद्यालयको आगामी शैक्षिक योजना र प्राथमिकताबारे जानकारी दिए । उनका अनुसार पहिलो त्रैमासिक परिक्षाकाे नतिजाकाे आधारमा पढाइमा सुधार आवश्यक देखिएका विद्यार्थीहरूलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गरिनेछ।

पौडेलले पढाइलाई अझ प्रभावकारी बनाउनका लागि आधुनिक प्रविधिको प्रयोग गरि शिक्षण प्रक्रिया भईरहेकाे जानकारी दिए । साथै, विद्यार्थीको सर्वांगीण विकासका लागि इन्डोर क्रियाकलापहरू (जस्तै: वक्तृत्व,हस्तलेखन, चित्रकला, कविता,लेखन, चेस आदि) मा समेत विशेष जोड दिइने जानकारी दिए ।

विद्यालयकी मन्टेश्वरी काे-अर्डिनेटर निर्मला सुवेदीले बालबालिकाकाे सर्वांगीण विकासका लागि विद्यालयले आगामी दिनमा अझ प्रभावकारी योजना ल्याउने बताईन् ।

उनले विद्यालय शैक्षिक सुधार, अनुशासन र सृजनशीलताको दिशामा अघि बढिरहेको उल्लेख गरिन्।

विद्यालयले गत असार २० गतेदेखि २८ गतेसम्म पहिलाे त्रैमासिक परीक्षा सञ्चालन गरेेकाे थियाे ।

विद्यालयले वार्षिक परीक्षा सहित चार वटा परीक्षा र अतिरिक्त ४ वटा मासिक परीक्षा सञ्चालन गर्ने गरेकाे छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19057, citypokhara.com

इक्यान कास्कीद्धारा दुबई अध्ययनका लागि शैक्षिक परामर्श तालिम ‘नेपाली विद्यार्थीका लागि दुबई नयाँ शैक्षिक गन्तब्य’

पोखरा  । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीले पोखरामा दुबई अध्यनका लागि जानकारीमुलक कार्यक्रम सम्पन्न गरेको छ । इक्यानले आफ्ना सदस्य र काउन्सीलरहरुका लागि दुबई अध्यनका लागि जनकारीमुलक कार्यक्रम आयोजना गरेको हो ।

धेरै नेपाली युवा कामका लागि दुबई जाने गरे पनि अध्ययनको लागि पनि दुबई नेपाली युवाहरूको लागि महत्वपूर्ण गन्तव्य रहेको कार्यक्रम बोल्ने बक्ताहरुले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल शैक्षिक परामर्श संघ (इक्यान), का प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले नेपालीहरु श्रमका लागि जाने गरेको दुबई अहिले शैक्षिक गन्तब्य बन्दै गएको बताए ।
पौडेलले विश्वका टप विश्वविद्यालयलाई दुबईले स्वागत गरिरहेको र सन् २०३० पछि दुबई उत्कृष्ट शैशिक गन्तब्य बनाउन लागि रहेको जानकारी दिए ।

कुनै बेला दुबइबाट विद्यार्थीहरु फर्कनु परेको इतिहास स्मरण गदैँ पौडेलले कलेज छनोटमा ध्यान दिन शैक्षिक परामर्श दिने व्यवसायीहरुलाई आग्रह गरे ।

यस्तै इक्यानका द्धितिय उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले विश्वस्तरको अवसरबाट दुवइमा विद्यार्थीहरु लाभान्वीत हुनसक्ने बताए । अष्ट्रेलिया, युएस, युरोपका विश्वविद्यालय स्तरको शिक्षा लिन दुवई सुरक्षित रहेको क्षेत्रीको भनाई थियो ।

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्ेले सुरक्षा र शान्तीको दृष्टिकोणले पनि दुवई अन्तराष्ट्रिय स्तरको लेवलमा देख्न सकिन्छ । जसको कारण दुबई शिक्षाको लागि पनि नयाँ गन्तब्य बन्दै गएको छ, भविश्यमा यो अझै बढ्दै जाने छ , गैह्ेले भने ।संघले इक्यान कास्की एजुकेशन फेयर गर्ने निर्णय गरेको गैह्ेले जानकारी दिए ।

इकायन कास्कीका उपाध्यक्ष धनबहादुर शाही (सन्तोष)ले अष्ट्रेलिया, क्यानाडा, युके लगायतका देशहरुमा विभिन्न कारणले एप्लाई गर्न नसक्ने विद्यार्थीहरुका लागि दुबइ विकल्प बनेको बताए ।इक्यान कास्कीका तालिम संयोजक राजन पन्थीले इक्यान कास्कीका सदस्यहरुका लागि समय अनुकुल र अन्तराष्ट्रिय बजार अनुसारको अभिमुखिकरण कार्यक्रम गदैँ आएको बताए ।

कार्यक्रममा रिगेन्ट मिडेल इस्ट, एक्सप्लोर एजुकेशन र रोयल रोड युनिभर्सीटीका प्रतिनिधिले दुबईको शैक्षिक अवस्था, नेपालका विद्यार्थीका लागि अवसर र सम्भावनाका वारे जानकारी गराएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19053, citypokhara.com

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

पोखरा ।

यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाए ।

“हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उनले प्रतियोगिता खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडिने भएकाले यसलाई बृहत् आयामबाट हेर्नुपर्नेमा जोड दिए ।

पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगी चन्द्रकान्त बरालले अघिल्लो संस्करणका कमजोरी सच्याउँदै यसपटकको प्रतियोगिता थप भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गरे । पुम्दी र भुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि पर्वतीय दौडजस्ता कार्यक्रम अन्य गन्तव्यहरूको प्रवद्र्धनमा सहयोगी हुने बताए ।

विश्व शान्ति स्तुप समितिका अध्यक्ष अशोक गुरुङले दोस्रो संस्करणलाई उत्कृष्ट बनाउन समिति सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । समितिका सचिव दुर्गाबहादुर गुरुङले यस वर्ष प्रतियोगितालाई उत्सवकै रूपमा लिएर सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले प्रतियोगिताका लागि आवश्यक स्वयंसेवक परिचालनको सम्पूर्ण व्यवस्थापन गर्ने जानकारी दिए ।

कार्यक्रम संयोजक दीननाथ बरालले अघिल्लो संस्करणको अनुभवलाई आधार बनाएर यसपटक प्रतियोगितालाई थप व्यवस्थित र पुरस्कार पक्षलाईसमेत प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए ।

पोखरा क्लिकको आयोजनामा हुने पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य र अफिसियल मिडिया पार्टनरमा सिटीवान टेलिभिजन रहेका छन् ।

प्रतियोगिताले स्थानीय प्रतिभाको प्रोत्साहनसँगै समग्र खेलसँग पर्यटन प्रवद्र्धनलाई जोडेर सामुदायिक एकता र आर्थिक समृद्धिका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।

विश्व पर्यटन दिवसको अवसरमा उक्त प्रतियोगिता हुने भएकोे हो । प्रतियोगिताका लागि आगामी भदौं पहिलो सातादेखि अनलाइन फर्ममार्फत् धावकले नाम रजिष्ट्रर गर्न सक्ने व्यवस्थापक सागर सुनारले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19050, citypokhara.com

च्याट जिपिटीमा दैनिक सोधिन्छन् साढे २ अर्ब प्रश्न,यस्ता छन् अरु रोचक तथ्य

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ओपन एआईले विकास गरेको च्याटबट च्याट जिपिटी विश्वभर निकै तीव्र गतिमा लोकप्रिय बनिरहेको छ । मिडिया फर्म एक्सियोसले तयार पारेको एक नयाँ रिपोर्ट अनुसार विश्वमा च्याट जिपिटीमा हरेक दिन साडे २ अर्बभन्दा धेरै प्रश्न (प्रम्प्ट) सोधिन्छन् । त्यस्ता प्रम्प्टमध्ये ३० करोड भन्दा धेरै त केवल अमेरिकी प्रयोगकर्ताबाट मात्रै आउने गरेका छन् ।

यस आधारमा च्याट जिपिटीमा एक वर्षमा ९ खर्ब १२ अर्ब प्रश्नहरु सोधिने गरिएका छन् । यसले च्याट जिपिटी कसरी प्रयोगकर्ताहरुको दैनिक अनलाइन गतिविधिको अहम् हिस्सा बनिसकेको छ भन्ने देखाउँछ । हुनत प्रयोगकर्ताको संलग्नता (युजर्स इन्गेजमेन्ट) को हिसाबले च्याट जिपिटी अहिलेपनि गुगल सर्चभन्दा पछि छ ।

गुगलसँग तुलना

गुगलको मातृ कम्पनी अल्फाबेटका अनुसार गुगल सर्चमा हरेक वर्ष करिब ५ ट्रिलियन प्रश्नहरू सोधिन्छन् । यसको अर्थ गुगलमा हरेक दिन औषतमा १४ अर्ब पटक विभिन्न कुरा सर्च गरिन्छ । जुन च्याट जिपिटीको संख्याभन्दा अत्यधिक धेरै हो । यद्यपि गुगलले आफ्नो दैनिक तथा मासिक सर्च डेटाको बारेमा आधिकारिक रुपमा विवरण सार्वजनिक गर्ने गरेको छैन । तथापि गुगल सर्चसम्बन्धी उल्लिखित तथ्यांकलाई स्वतन्त्र शोधकर्ताहरुले समेत पुष्टि गरेको प्रविधि सम्बन्धी वेबसाइट टेक क्रन्चले जनाएको छ ।

च्याट जिपिटीको तीव्र बढोत्तरी

सन् २०२४ को डिसेम्बरमा च्याट जिपिटीका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३० करोड रहेको ओपन एआईले जनाएको थियो । त्यसबेला हरेक दिन एक अर्बवटा प्रश्न च्याट जिपिटीमा सोधिन्थ्यो ।

ओपन एआईले हालै च्याट जिपिटी एजेन्ट नामक एक नयाँ फिचर ल्याएको छ । यो एउटा एआई एसिस्टेन्ट जस्तै हो जसले प्रयोगकर्ताको तर्फबाट कठीन कार्यहरुलाई आफैं गरिदिन्छ । यसमा वेब ब्राउजिङ, पावर प्वाइन्ट प्रस्तुति तयार गर्ने, बाह्य एप्लिकेसनसँग जोड्ने, एपिआई एक्सेसको माध्यमबाट प्रत्यक्ष डेटा प्रोसेसिङ जस्ता काम पर्दछन् । यस एजेन्टले एक भर्चुअल कम्प्युटरको मद्दतले काम गर्दछ र कुनैपनि कार्यका लागि सबैभन्दा उपयुक्त टुललाई स्वचालित रुपमा छनोट गर्दछ ।

च्याट जिपिटीबारेका केही रोचक तथ्य

च्याट जिपिटी सन् २०२२ को नोभेम्बर ३० मा सुरुवात भएको हो, यद्यपि यसको निर्माता कम्पनी ओपन एआईले उक्त एआई प्लाटफर्म विकासका लागि सन् २०१८ देखि नै भाषा मोडेलको विकास तथा प्रशिक्षणको काम गरको थियो ।

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईको स्थापना सन् २०१५ मा भएको थियो । त्यसको संस्थापक हालका सीईओ साम अल्टम्यानसँगै एलन मस्क समेत ६ जना थिए । तर, मस्कले ओपन एआईको बोर्डबाट सन् २०१८ मा राजीनामा दिएर अलग्गिए । माइक्रो सफ्टले सन् २०१९ मा ओपन एआईमा एक अर्ब डलर लगानी गरेको थियो र हालसम्म उसको लगानी ३ अर्ब डलर पुगिसकेको छ ।

सन् २०२१ म जम्मा १४ अर्ब डलर मूल्यांकन रहेको ओपन एआई कम्पनीको मूल्य अहिले ३ खर्ब डलर पुगेको छ, जुन अमेरिकाका मूल्यवान कम्पनीहरुको सूचीमा पर्न सफल भएको छ । ओपन एआईले यो वर्ष सन् २०२५ मा १२ अर्ब ७० करोड आम्दानी गर्ने प्रक्षेपण छ ।
च्याट जिपिटी सार्वजनिक भएको केवल ५ दिनमै यसका प्रयोगकर्ताको संख्या १० लाख नाघेको थियो ।

विश्वमा च्याट जिपिटीका साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या ४० करोड छ र हरेक महिना ५ अर्ब २० करोड पटक च्याट जिपिटी प्रयोग हुन्छ ।

च्याट जिपिटीका प्रयोगकर्तामध्ये करिब ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला छन् ।

च्याट जिपिटी विश्वका १६० भन्दा धेरै देशमा उपलब्ध भएपनि चीन, रुस, बेलारुस, इरान, अफगानिस्तान तथा भेनेजुयला लगायतका देशमा प्रतिबन्धित छ ।

विश्वमा सबैभन्दा धेरै च्याट जिपिटी प्रयोगकर्ता भएको देश अमेरिका हो । कुल च्याट जिपिटी प्रयोगकर्तामध्ये अमेरिकी प्रयोगकर्ताको हिस्सा करिब १५ प्रतिशत छ भने दोस्रो धेरै प्रयोगकर्ता रहेको भारतको हिस्सा करिब ९ प्रतिशत छ ।

गत फेब्रुअरीसम्म च्याट जिपिटी प्रयोगकर्ता अकाउन्टको कूल संख्या ४ खर्ब पुगेको छ। ज्बकि विश्वको जनसंख्या करीब ८ अर्ब २० करोड मात्रै छ।

एकजना प्रयोगकर्ताले च्याट जिपिटीमा औषतमा १३ मिनेट ५८ सेकेन्ड समय बिताउने र औसतमा २.७७ वटा पेज हेर्ने गरेका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19045, citypokhara.com

रुसमा दुर्घटनामा परेको विमानमा सवार सबैको मृत्यु भएको आशंका

एजेन्सी । रुसमा दुर्घटनामा परेको विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा सोभियत युगको पुरानो एन्टोनोभ एएन–२४ मोडेलको विमान बिहीबार दुर्घटनामा परेको हो ।

रुसी आपतकालीन सेवाका अधिकारीहरूका अनुसार ले दुर्घटनामा परेका सबै यात्रुको मृत्यु भएको प्रारम्भिक सूचना प्राप्त भएको रोयटर्सले उल्लेख गरेको छ ।

सन् १९७६ मा बनेको यो विमान करिब ५० वर्ष पुरानो भएको बताइएको छ । हेलिकप्टरमा सवार भएका व्यक्तिहरुले जंगलमा दुर्घटनाग्रस्त विमानमा आगो बलिरहेको देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सोसल मिडियामा सार्वजनिक एक अप्रमाणित भिडियोमा घना जंगलमा विमान खसेको देखिन्छ । उक्त विमान साइबेरियास्थित अंगारा एयरलाइन्सको रहेको र ब्लागोभेसेन्स्कबाट टिन्डा जाँदै गरेको जनाइएको छ । उडानको क्रममा टिन्डा नजिकै जंगलमा पुग्दा विमानसँग राडारको सम्पर्क टुटेको थियो ।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ५ बालबालकिासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।

रुसी आपतकालीन सेवाकी अधिकारी युलिया पेतिनाले टेलिग्राममा लेखेकी छन्, ‘खोजी अभियानका क्रममा रोसाभियात्सियाको एमआई–८ हेलिकप्टरले विमान जलेको अवस्थामा फेला पारेको हो ।’

उनका अनुसार उद्धारकर्मीहरू घटनास्थलतर्फ पुग्ने प्रयासमा छन् । विमान दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान गरिने रुसी अधिकारीहरुले बताएका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19042, citypokhara.com

जागे काँग्रेस नेता कार्यकर्ता,नेता केसी लगायतको कारबाही फिर्ता गर्न माग

पोखरा ।

नेपाली काँग्रेस कास्कीका नेताहरुमाथिको कारबाही फिर्ताको माग बरोबर उठिरहेको छ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकीका पूर्व मन्त्री कुमार खड्का र भावना श्रेष्ठलगायतमाथि गरिएको अनुशासन कारबाही फिर्ताको माग गरेको हो ।

बुधबार बसेको क्षेत्रीय बैठकले अनुशासनको कारबाही अनुमोदन नगर्नू भनी काँग्रेस सभापति शेरबहादुर देउवा र अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई छुट्टाछुट्टै पत्र पठाएको छ । क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेद्वारा हस्ताक्षरित सो पत्रमा अनुशासन समितिबाट गरिएका निर्णय कांग्रेसको विधानको मर्म र प्रक्रियासँग मेल नखाने, भेदभावपूर्ण, अपरिपक्व र असान्दर्भिक भएको उल्लेख छ ।

गत असार २५ गते भएको निलम्बन एवं निष्कासनको निर्णयले पार्टी झन् झन् कमजोर हुने देखिएकोले प्रत्येक कार्यकर्ताको मानसपटलमा चिराचिरा पार्ने र संगठनमा अपूरणीय क्षति हुने भएकाले उक्त कारबाही पुनरावलोकन फिर्ता गरी अनुशासन समितिले गरेको निर्णय अनुमोदन नगर्न अनुरोध गरिएको छ ।

यसअघि निर्वाचन क्षेत्रका उम्मेदवारबाट कारबाही सिफारिस भए पनि सोही क्षेत्रका जिल्ला, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा, पोखरा महानगरपालिका र विभिन्न गाउँपालिकाका पदाधिकारीहरूको संयुक्त बैठकले सो कारबाहीको संस्थागत असहमति जनाउँदै कारबाही खारेज गर्न आग्रह गरेको हो ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ कास्कीले सभापति शेर बहादुर देउवा र अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानालाई पत्र लेख्दै नेताहरु कृष्ण बहादुर केसी, कुमार खड्का, भावना श्रेष्ठ लगायतमाथि गरिएको कारबाही अनुमोदन नगरी र पुनरावलोकन फिर्ता गर्दै सम्पूर्ण कारबाही फिर्ता लिन माग गरेको छ । कारबाहीले सोही निर्वाचन क्षेत्रका नेता, कार्यकर्ताहरु संस्थागत रुपमा सो करबाहीको विपक्षमा देखिएका छन् ।

यसैगरी, अनुशासन समितिले २०७९ को स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई आधार मानी ढुंगाना संयोजक रहेको अनुशासन समितिले बहुमतको नाममा ३ वर्ष अन्तरालमा गरिएको कारबाही विधानलाई ख्याल नगरी, अनुचित, अपरिपक्व, असान्दर्भिक र भेदभावपूर्ण रहेको ठहर गरिएको छ ।

पत्रमा सभापति देउवालाई सुदृढ, एकता र विभाजनरहित बनाई सहयोग गर्न माग गरिएको छ । यो मागबारे सो क्षेत्रको बैठकमा जिल्ला, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा, पोखरा महानगरपालिका, गाउँपालिकाका पदाधिकारीको संयुक्त बैठकले निर्णय गरेको कांग्रेस क्षेत्रीय सभापति सभापति लामिछानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

देशैभरी क्रियाशील सदस्यता नविकरण चलिरहेको अवस्थामा धेरै कार्यकर्ताले केका लागि नविकरण गर्ने भनी अनिच्छा प्रकट गरिरहेका छन् । पार्टी अधिवेशनको संघारमा रहेको बेलामा महाधिवेशन नजिक गरिएको कारबाहीले झन् निराशा छाएको बताइएको छ भने नयाँ भन्ने पार्टीहरुको टोल टोलमा सदस्यता बनाउने कार्यको दबदबा बढिरहेको छ । यो स्थितिको ख्याल गर्दै निलम्वन निस्कासनको सम्पूर्ण कारबाही फिर्ता गर्न माग गरिएको छ ।

जिल्ला, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा, पोखरा महानगरपालिका, गाउँपालिकाका पदाधिकारीको संयुक्त बैठकमा ९२ जना उपस्थित थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19040, citypokhara.com

विपि स्मृति एमेचर फुटसलको उपाधि

पोखरा । पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि मिकी एफसीले उचालेको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा भएको प्रतियोगिताको फाइनलमा मिकी एफसीले सुजन डल्ले एफसीलाई २–१ गोलले हराउँदै उपाधि चुमेको हो । उपाधिसँगै मिकी एफसीले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ ।

उपविजेता बनेको सुजन एफसीले ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भेट्रान्सतर्फको फाइनलमा डल्फिन भेट्रान्सले नयाँ गाउँ भेट्रान्सलाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै उपाधि चुमेको छ । डल्फिनले उपाधिसँगै बोका प्राप्त ग¥यो भने नयाँ गाउँले भाले प्राप्त ग¥यो ।

युगपुरुष विपि कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । मेलमिलाप तथा राष्ट्रिय एकता कायम गराउने व्यक्तिले दिएको सन्देशलाई आत्मसात गर्दै अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वर्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका थिए ।

दुई दिनसम्म चलेको प्रतियोगितामा ३० टिमको सहभागिता रहको थियो । प्रतियोगीताबाट बचत हुने रकम तनहँुको भानु नगरपालिका ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।

सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित रहेका छन् । अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा उनका साथिद्धय अमित र अन्तिमले मुख्य प्रायोजन गरेका हुन भने, प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँ गाउँ युवा क्लबले सहयोग गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19037, citypokhara.com

फर्निचर तथा फर्निसिङ व्यवसायी संघको रक्तदान,५१ युनिट रगत संकलन

पोखरा ।
फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रममा भएको छ ।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ गण्डकी र कास्कीको आयोजनमा भएको कार्यक्रममा ५१ युनिट रगत संकलन भएकाे छ ।

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष युवराज पौडेलले रक्तदान कार्यक्रममा सबैले मानवताको उत्कृष्ट उदाहरण देखाएकाे बताए । उनले रगत दिएर अरूको जीवन बचाउनु महान कार्यकाे अभियानले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघको रक्तदान,५१ युनिट रगत संकलन

संघ कास्कीका महासचिव परमेश्वर दवाडीले दर्ता नगरी सञ्चालन गरिएका फर्निचर उद्योगका कारण समस्या परेको बताए । प्लाई र फर्निचरका कच्चा पदार्थको मूल्यवृद्धिले उद्योग प्रभावित भएको उनकाे भनाई छ ।

‘पोखरा महानगरले कर महंगो लिएको छ । वार्षिक १२ हजार रुपैयाँ कर तिछौं । साना उद्योगीका लागि यो ठूलो भार हो । व्यवसायको आकारका आधारमा कर निर्धारण हुनुपर्छ,’  उनले भने ।

बिहीबार महतगौंडा स्थित हरिहर मन्दिर परिसरमा वृक्षरोपण तथा गोडमेल गरिने उनले जानकारी दिए ।

मल्ल फर्निचरका सञ्चालक तथा संघका सल्लाहकार श्यामकुमार मल्ले २० औं पटक रक्तदान गरेको बताए । रक्तदान गर्नु पुण्यको काम रहेको उनको भनाइ छ ।

‘रक्तदान लिने दिने काम हो । स्वस्थ रहुन्जेल रक्तदान गनुपर्छ । भोली आफुलाई चाहिएको बेलामा पाउन सकिन्छ । रक्तदानप्रति सकारात्मक सचेतना जोगाउन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर नेपाली, पोखरा उद्याग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम, पोखरा चेमर्स अफ कास्कीका अध्यक्ष उमराज बास्तोला लगायतले बाेलेका थिए ।

रक्तसञ्चार केन्द्र पाेखराकाे प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

संघ गण्डकीका अध्यक्ष हिरामणी पण्डितले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन कास्कीका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद तिवारीले गरेका थिए ।

संघमा कास्कीका ५०० वटा फर्निचर उद्योग समावेश छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19026, citypokhara.com

पुष्पलालको स्मृतिमा एमाले कास्कीको तीनदिने कार्यक्रम, सरसफाइदेखि विचार गोष्ठीसम्म

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीले पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा तीनदिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत विविध गतिविधि आयोजना गरिँदैछ, जसमा सरसफाइ अभियान, श्रद्धाञ्जली सभा, रक्तदान तथा विचार गोष्ठी समावेश छन्।

कार्यक्रमको पहिलो दिन साउन ५ गते पोखरा–७ स्थित पुष्पलाल पार्कमा सरसफाइ अभियान चलाइएको थियो। दोस्रो दिन आज साउन ६ गते पोखरा–२१ फेदिपाटनमा रहेको पुष्पलाल अध्ययन केन्द्रमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गर्याे ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका वरिष्ठ नेता सोमनाथ अधिकारी “प्यासी”ले कमरेड पुष्पलालले जहानिया राणाशासनकालमा अन्तर्राष्ट्रिय कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्दै नेपालको पहिलो कम्युनिष्ट पार्टी २००६ साल वैशाख १० गते स्थापना गर्न खेलेको भूमिकाबारे चर्चा गरे।

पुष्पलालको स्मृतिमा एमाले कास्कीको तीनदिने कार्यक्रम, सरसफाइदेखि विचार गोष्ठीसम्म

नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएकाे श्रद्धाञ्जली सभाकाे सञ्चालन सचिव सुशील बस्नेतले गरेका थिए भने स्वागत उपाध्यक्ष नरेन्द्र ढुंगानाले गरेका थिए।

कार्यक्रमको अन्तिम दिन साउन ७ गते बिहान ७ बजे राष्ट्रिय युवा संघ नेपाल कास्कीको आयोजनामा पोखरा पृथ्वीचोकमा खुला रक्तदान कार्यक्रम हुनेछ।

त्यसपछि दिउँसो ११:३० बजे सृजनाचोकस्थित साईमन पार्टी प्यालेसको हलमा उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा विचार गोष्ठी आयोजना गरिने नेकपा (एमाले) कास्कीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19022, citypokhara.com

पदयात्रा पर्यटन सुधारका लागि टान गण्डकीको सरकारलाई १४ बुँदे सुझाव

पोखरा । पदयात्रा पर्यटन प्रवर्द्धनका लागि सक्रिय ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले वन तथा वातावरण मन्त्रालय समक्ष पदयात्रा क्षेत्रका समस्या र समाधानका प्रस्तावसहित वन तथा वातावरण मन्त्रालयलाई १४ बुँदे ध्यानाकर्षण गराएको छ।

पदयात्रा पर्यटनको समुन्नत विकास, व्यवसायीको हकहित संरक्षण र संरक्षित क्षेत्रको प्रभावकारी व्यवस्थापनमा लामो समयदेखि सक्रिय  पदयात्रा क्षेत्र सुधारका विविध पक्षमा विशेष ध्यान दिन टानले माग गरेको छ।

हाल पदयात्रा पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव, नीतिगत अस्पष्टता, समन्वयको कमी, संरक्षण प्रयासमा कमजोरी, अवैध गतिविधि तथा विपद् व्यवस्थापनमा कमजोरीजस्ता समस्याहरूले व्यवसायमा गम्भीर असर पारिरहेको टानले जनाएको छ। मन्त्रालय समक्ष पठाइएको ध्यानाकर्षण पत्रमा पदयात्रा क्षेत्रको दिगो विकास, सुरक्षित यात्रा, व्यवसायमैत्री वातावरण र संरक्षित क्षेत्रको संरक्षणका लागि स्पष्ट र व्यावहारिक नीति आवश्यक भएको उल्लेख टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

पर्यटकबाट संकलन हुने ACAP लगायतका सेवा शुल्कको पारदर्शी र क्षेत्रगत विकासमा लक्षित उपयोग हुनुपर्ने, जसले ट्रेल मर्मत, सूचना केन्द्र सञ्चालन, उद्धार तयारीजस्ता क्षेत्रमा प्रत्यक्ष योगदान दिने बताइएको छ। त्यस्तै, राष्ट्र बैंक, अध्यागमन विभाग, संरक्षण क्षेत्र र अन्य निकायबीच नीति र कार्यविधि बाझिने समस्या समाधान गर्दै स्पष्ट र अद्यावधिक नीति आवश्यक भएको टानको धारणा छ।

ACAP अन्तर्गत एउटै परमिटबाट पर्यटकले विभिन्न गन्तव्यमा पुनःप्रवेश गर्न सक्ने Multiple Entry सुविधा प्रदान गर्नाले व्यवस्थापन सहज हुने टानले विश्वास लिएको छ। साथै, अधिकांश संरक्षित पदमार्गमा गुणस्तरीय होटल, विश्रामस्थल र ट्रेल सेवाको अभाव रहेकोले पूर्वाधार विकासमा राज्यको स्पष्ट भूमिका आवश्यक टानकाे ठहर छ।

अवैध रूपमा हुने पदयात्रा सञ्चालनमाथि कडाइ गर्नुपर्ने, मान्यता प्राप्त कम्पनी र अनिवार्य गाइडको सहभागिताबाट मात्र पदयात्रा गर्न दिने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने सुझाव पनि टानले दिएको छ। टिम्स प्रणालीको प्रभावकारी कार्यान्वयन, चेकपोष्टहरुको पुनर्संरचना तथा कडाइका साथ निगरानी हुनुपर्ने माग गरिएको छ।

साहसिक पदयात्राका क्रममा सम्भावित दुर्घटनाबाट पर्यटकलाई सुरक्षित राख्न उद्धार प्रणाली सुदृढीकरण, तालिम, उपकरण र समन्वय संयन्त्र आवश्यक भएको बताइएको छ। साथै, पर्यटन नीति निर्माण तथा कार्यान्वयनमा सरोकारवाला संस्थाहरूसँग समन्वयको खाँचो देखिएको पनि टानले उल्लेख गरेको छ।

परमिट नवीकरण प्रक्रिया अस्पष्ट हुनु, नवीकरण नभएको अवस्थामा समेत शुल्क असुली भइरहनुजस्ता कार्यप्रति गम्भीर आपत्ति जनाउँदै यस विषयमा वैधानिक स्पष्टता माग गरिएको छ। यस्तै, पछिल्लो समय केही प्रख्यात पदमार्गहरू संरक्षणविहीन अवस्थामा पुगेका कारण तिनको तत्काल संरक्षणमा ध्यान दिन पनि आग्रह गरिएको छ।

उच्च हिमाली पदमार्गहरूमा मौसम पूर्वानुमान तथा सूचना सेवा कमजोर रहेको, सुरक्षित यात्रा सुनिश्चित गर्न मौसम सूचना प्रणाली र पर्यटक सूचना केन्द्र स्थापना गर्नुपर्ने टानको माग छ। साथै, धवलागिरी हिमशृंखला क्षेत्रलाई औपचारिक संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने र सम्पूर्ण पदमार्ग क्षेत्रलाई “पदयात्रा संरक्षण क्षेत्र” का रूपमा विकास गरिनुपर्ने भनिएको छ।

हिमाली क्षेत्रमा अनियन्त्रित रूपमा भइरहेको जलविद्युत् निर्माणले पदमार्ग मास्ने खतरा बढेको भन्दै, जलविद्युत् परियोजना सञ्चालनका लागि छुट्टै क्षेत्र निर्धारण गरी कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि मन्त्रालयबाट स्पष्ट निर्देशिका ल्याउनुपर्ने भनिएको छ। साथै, संरक्षित क्षेत्रका बन्यजन्तु तथा चराचुरुङ्गीहरू लोपोन्मुख अवस्थामा पुगेका कारण चोरी पैठारी नियन्त्रणका लागि कडा निगरानी र कानुनी कार्यान्वयन आवश्यक भएको पनि ध्यानाकर्षणमा उल्लेख गरिएको छ।

टानले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेका संरक्षित क्षेत्रका ऐन तथा कार्यविधिहरूलाई समयानुकूल संशोधन गरी पारदर्शी र व्यवसायमैत्री वातावरण निर्माणमा मन्त्रालयले अग्रसरता लिनुपर्ने माग राखेको छ। संघीय सरकारसँगै प्रदेश सरकारसँग पनि समन्वय गर्दै, व्यावहारिक सुधारका लागि सकारात्मक पहल होस् भन्ने अपेक्षा टान गण्डकीले गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19016, citypokhara.com