Breaking News
‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड

पाेखरा ।
पोखरा महानगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय केन्द्र ‘पोखरा घर’ सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा निर्माण गरिएको ‘पोखरा घर’को शुक्रबार नगरप्रमुख धनराज आचार्यले एक समारोहबीच औपचारिक उद्घाटन गरे।

उद्घाटन गर्दै नगरप्रमुख आचार्यले पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्धन गर्ने उद्देश्यले ‘पोखरा घर’ निर्माण गरिएको बताए। उनले ‘पोखरा घर’ समग्र पोखराका लागि खुसीको क्षण भएको उल्लेख गरे।

स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणमा ‘पोखरा घर’ले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले पोखरा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘कोसेली घर’मार्फत स्थानीय हस्तकला तथा घरेलु उत्पादनको प्रवर्धन गरिने बताए।

प्रमुख आचार्यले करिब ५० वर्षअघि ‘पोखरा घर’ निर्माणका लागि जग्गा उपलब्ध गराउने तझ्या तथा रञ्जित परिवार, गण्डकी पेट्रोलियम परिवारलगायत निर्माण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरे।

‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड

‘पोखरा घर’मा कोसेली घर, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा कला प्रदर्शनी केन्द्र, पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको टिकट बुकिङ काउन्टर र पोखरा प्राज्ञ प्रतिष्ठान सञ्चालनमा आउनेछन्।
साथै, आन्तरिक तथा बाह्य पर्यटकका लागि शुल्कसहितको शौचालय तथा स्नान कक्ष र घण्टाघरसमेत निर्माण गरिएको छ।

कार्यक्रममा पोखरा महानगरपालिकाकी इन्जिनियर लक्ष्मीप्रसाद घिमिरेले ‘पोखरा घर’ निर्माणका क्रममा भएका काम तथा संरचनाबारे विस्तृत जानकारी दिइन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका कुमारी शाही, वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं. २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले शुभकामना मन्तव्य राख्दै ‘पोखरा घर’लाई कसैको व्यापारिक केन्द्र बन्न नदिन खबरदारी गरे।

उनीहरूले ‘पोखरा घर’लाई यसको उद्देश्यअनुसार सार्वजनिक हित, स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।

कुल दुई रोपनी क्षेत्रफलमा फैलिएको ‘पोखरा घर’ निर्माणमा ६ करोड १२ लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत मन्तव्य राखिन् भने उपसचिव तथा सूचना अधिकारी कृष्ण तिवारीले कार्यक्रम सञ्चालन गरे।

उद्घाटन समारोहमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, पर्यटन व्यवसायी, यातायातकर्मी, सामाजिक सङ्घसंस्थाका प्रमुख, स्थानीय नागरिक तथा सरकारी कर्मचारीको उल्लेखनीय सहभागिता रहेको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22345, citypokhara.com

मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानास्थित नयाँपुल–बिरेठाँटी सडक खण्ड नजिक मोदी खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीले सकुशल उद्धार गरेको छ।

बिहान करिब २:१५ बजे आएको बाढीले मन्दिरसम्म पुग्ने पर्वत र कास्कीतर्फका दुई वटा मेटल पुल बगाएपछि मन्दिरमा एक जना पुजारी र दुई जना भक्तजन फसेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ सदस्यीय रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक सामग्रीसहित परिचालन गरिएको थियो। नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १६ जना प्रहरीसमेत उद्धारमा खटिएका थिए।

रोप रेस्क्यु विधिमार्फत बिहान ७:५५ बजेदेखि ८:१५ बजेसम्म तीनै जनालाई सुरक्षित रूपमा उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएका व्यक्तिहरूमा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई बिरेठाँटी माध्यमिक विद्यालयमा अध्यापनरत करिब ३० वर्षीय रेवन्तप्रसाद सिंह तथा विगत पाँच वर्षदेखि मन्दिरमा पुजारीका रूपमा कार्यरत ५२ वर्षीय भारतीय नागरिक निर्माण गिरी रहेका छन्।

उद्धार कार्यमा सशस्त्र प्रहरीका देवराज खनाल, सन्तोष बाँनियाँ, इन्द्रबहादुर गुरुङ र जनक बुढालगायतको टोली सक्रिय रहेको थियो।

बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडक खण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडक बग्दा यातायात अवरुद्ध भएको छ। साथै, नयाँपुल क्षेत्रमा विद्युत् पोलसमेत बगाउँदा विद्युत् सेवा प्रभावित बनेको छ।

घटनास्थलको अनुगमन तथा उद्धार टोलीलाई हौसला प्रदान गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू स्थलगत रूपमा पुगेका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22342, citypokhara.com

गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश

पोखरा। गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गरे ।
‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्यायाधिवक्ताको हो’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । उहाँले संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्नाकार्य सम्पादन गर्दै आएको विश्वास व्यक्त गरे ।
मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रूपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधानअनुसार कार्यालयले वर्षेनी प्रतिवेदन प्रस्तुत गर्ने गरेको जनाउँदै गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यको संक्षिप्त विवरण पनि प्रस्तुत गरे ।
उहाँले मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको बताए । उनले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकमा निर्माणमा सहयोग गरेको र कार्यालय शुन्य बेरुजुको प्रयासमा रहेको बताए ।
नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
प्रतिवेदनमा कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानुनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरणलगायत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22339, citypokhara.com

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले बुधबार पोखरामा थिम सेमिनार र साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।

‘परिष्कृत युवा: सशक्त नेतृत्व’ बिषयमा आयोजना हुने थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडका युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन्।

कार्यक्रममा युवाको नेतृत्व विकास, बदलिँदो परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ।

यस्तै, पोखरा जेसीजले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा ‘साहित्यिक साझ कार्यक्रम’ समेत आयोजना गर्ने भएको छ। ‘शब्दमा युवा आवाज, सिर्जनामा युवा चेतना’ विषयमा हुने कार्यक्रममा बाबु त्रिपाठी, शिव त्रिपाठी, प्राञ्जल, गीता अधिकारी (जूनु) र ट्रुपक सहभागी हुनेछन्।

दुवै कार्यक्रम साउन २७ गते (अगस्ट १२) पोखरा सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुनेछन्। कार्यक्रम अपराह्न ४ बजे सुरु हुनेछ।

पोखरा जेसीजले युवाको क्षमता, नेतृत्व र सिर्जनशीलता विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22335, citypokhara.com

सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो

काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो पाँच कारोबार दिनमा भने सुनको मूल्य प्रतितोला १७ हजार ७ सय रुपैयाँले बढेको छ। गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर ४ हजार ६ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22331, citypokhara.com

‎​पोखराका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेका १८ जना पक्राउ

पाेखरा । कास्की प्रहरीले पोखरा महानगरपालिकाका दुई फरक स्थानबाट जुवातास खेलिरहेका १८ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन २३ गते बेलुकी पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइडस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई नेपाली नगद रु. २८,०७०, भारतीय रुपैयाँ २,५०० र १५६ पत्ती ताससहित नियन्त्रणमा लिएको हो ।

‎​त्यसैगरी, सोही दिन दिउँसो पोखरा महानगरपालिका वडा नं. ३१ भाटामुलस्थित अर्को स्थानबाट जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद रु. ३१,७६० र ४ बुक तास बरामद गरेको छ ।

‎​पक्राउ परेका सबै १८ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22325, citypokhara.com

पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

‎पोखरा । पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ। यससँगै पोखरामा बीवाईडीको थ्री–एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सेवा पूर्ण रूपमा उपलब्ध भएको छ।

‎नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि.मार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। यसबाट गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकले अझ सहज, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । कार्यक्रममा कम्पनीले नेपालभर बिक्रीपछिको सेवा सञ्जाल विस्तारलाई तीव्रता दिइरहेको उल्लेख गर्दै पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई बिक्रीपछि पनि उच्चस्तरीय र विश्वसनीय सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

‎यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत सेवा लिँदै आएका थिए। अब भने आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएसँगै अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

‎उद्घाटन कार्यक्रममा साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीको सवारी खरिदसँगै ग्राहकसँगको सम्बन्ध सुरु हुने र सम्पूर्ण स्वामित्व अवधिभर उत्कृष्ट तथा इमानदार सेवा प्रदान गर्नु कम्पनीको दायित्व रहेको बताए। उनले विद्युतीय सवारीको बजार विस्तारसँगै देशभरको सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक ग्राहकलाई विश्वसनीय र सहज सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।

करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको अत्याधुनिक सर्भिस सेन्टर विशेष रूपमा विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका लागि निर्माण गरिएको हो। सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, हाई–भोल्टेज प्रणालीका लागि छुट्टै कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज, डेडिकेटेड वासिङ बे तथा अन्य आवश्यक प्राविधिक पूर्वाधार रहेका छन्। कम्पनीका अनुसार सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ।

‎ग्राहकले यहाँ नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट–पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सेवा, जेन्युइन स्पेयर पार्ट्स तथा डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्।

‎कम्पनीका अनुसार पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले नेपालमा विद्युतीय सवारीको बिक्रीसँगै बिक्रीपछिको सेवा सञ्जाललाई पनि थप सुदृढ बनाउनेछ।

आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरिरहेको बीवाईडीले नेपाली बजारमा दीर्घकालीन लगानी र विश्वस्तरीय सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22314, citypokhara.com

प्रेस काउन्सिल नेपालका पछिल्ला प्रकाशनहरूको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपालका पछिल्ला प्रकाशनहरूको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले काउन्सिलद्वारा हालै प्रकाशित विभिन्न प्रकाशनहरूको लोकार्पण गर्नुभएको छ । उहाँले प्रेस काउन्सिल नेपालको कानुन संग्रह-२०८३, प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ आमसञ्चार माध्यममा आचारसंहिता विशेष अनुगमन अन्तिम प्रतिवेदन र संहिता त्रैमासिक जर्नल (असार ६९ औँ अङ्क) सार्वजनिकीकरण गर्नुभएको हो । बिहीबार काउन्सिल सभाहलमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले काउन्सिलका प्रकाशनहरुलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।

यसैगरी संहिता त्रैमासिक जर्नलका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले काउन्सिलका प्रकाशन आमसञ्चार र मिडिया जगतकै लागि ‘ट्युटरशाला’ भएकोले व्यवसायिक ढङ्गबाट संहिता जर्नललाई परिस्कृत गरिँदै लैजानुपर्ने कुरा बताउनुभयो ।

सदस्य-सचिव छबीन्द्र पराजुलीले आएका सुझावलाई ध्यान दिँदै प्रकाशनको गुणस्तर अभिवृद्धिका लागि गरिने बताउनुभयो । प्रकाशनहरुको उद्देश्यमाथि प्रकाश पार्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले परम्परागत तथा नयाँ मिडियाहरुको चाप दिनप्रतिदिन बढ्दै जानुले मिडिया जगतले थप चुनौतीपूर्ण अवस्था सामना गरिरहेको बताउनुभयो ।

काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले सहजीकरण गर्नुभएको  कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरालगायतले प्रेस काउन्सिलबाट प्रकाशित सामग्रीहरुले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित, उत्तरदायी र स्वनियमनतर्फ डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित

पोखरा ।
सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् ।

फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५/२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो ।

कार्यक्रमका कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले जिल्ला प्रशासन र पत्रकार एकआपसमा जोडिएको बताए । जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पुरस्कृत पत्रकार खेम सारु मगरले जीवनको आधा समय पत्रकारिता क्षेत्रमा व्यतित गरिरहँदा यो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु आफ्नो लागि अहोभाग्य रहेको बताए । त्यस्तै अर्का सम्मानित व्यक्ति जिटीले पत्रिका वितरकको रुपमा काम गर्दागर्दै पत्रकारिता क्षेत्रमा जोडिदा यो पुरस्कारले यही क्षेत्रमा अझै केही अगाडि बढ्ने प्रोत्साहन मिलेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङ, नवनियुक्त पोखरा प्रज्ञा प्रतिष्ठान उपकुलपति तिलप्रसाद पुन “तिलक”, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य, लेखक, फोनिजका सदस्य रवीन्द्र माकाजू, पुरस्कारदाता बिमलमान गुभाजूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रवीन्द्र माकाजूले स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूका विषयमा जानकारी गराएका थिए । त्यस्तै गण्डकी प्रदेश फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित प्रतिभा परिचय दिएकी थिइन् ।
सम्मानित पत्रकार सारु विगत ३ दशक यता कास्कीको पोखरा तथा जिटी स्याङ्जामा विगत २ दशक यता पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।

यसभन्दा अगाडि यो पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बाग्लुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केवी राना मगर, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरका कमला राना मगर र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् ।

फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरज थापामगरले सञ्चालन गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22311, citypokhara.com

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन

काठमाडौँ- काठमाडौँको गुह्येश्वरीमा निर्माण गरिएको गुह्येश्वरी ढल प्रशोधन केन्द्रले हाल दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन गर्न थालेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा निर्माण गरिएको उक्त ढल प्रशोधन केन्द्रले हाल दैनिक रुपमा तीन करोड २४ लाख लिटर ढल प्रशोधन गरिरहेको पिआइडीका प्रमुख एवम् इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढिरहेको छ । पिआइडीले सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा समेत ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । ती केन्द्रको निर्माण शीघ्र सम्पन्न हुने जनाइएको छ ।

पिआइडी प्रमुख एवम् इन्जिनियर श्रेष्ठले काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् । काठमाडौँका नदी र वातावरण सफा राख्न अझै थप यस्ता ढल प्रशोधन केन्द्र निर्माण गर्नु पर्दछ ।”

प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न ढलको पानी र बर्सातको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ । यसका लागि स्थानीय तहसँग समेत प्रभावकारी समन्वय र आवश्यक नीति कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पानीको चाप बढ्ने, बाटोमा भएका बालुवा, इँटा, मरेका जनावर लगायतका फोहोर प्रशोधन केन्द्रमा पुगी त्यको क्षमता घटाइदिने गरेको छ ।

ढल र बर्सातको पानी एउटै प्रणालीबाट बगाउँदा प्रशोधन केन्द्रमा अनावश्यक पानीको चाप बढ्ने भएकाले छुट्टाछुट्टै पाइप प्रणाली विकास गर्न सके ढल प्रशोधनको क्षमता र प्रभावकारिता बढाउन सकिने पिआइडीले जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22296, citypokhara.com