Breaking News
संविधान कार्यान्वयनमा कानुन अभावदेखि राजनीतिक संस्कृतिसम्मका चुनौतीबिच छलफल

पोखरा । नेपालको मानवअधिकारको अग्रणी संस्था मानव अधिकार संरक्षण मञ्च (मासम) नेपालको ४३औँ स्थापना दिवसका अवसरमा पोखरामा ‘नेपालको संविधान कार्यान्वयनका १० वर्षः अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

मासम कास्की र गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको कार्यक्रममा संविधानका उपलब्धि, कार्यान्वयनका चुनौती तथा भावी कार्यदिशाबारे विभिन्न क्षेत्रका विज्ञ, कानुन व्यवसायी र नागरिक समाजका प्रतिनिधिले धारणा राखेका थिए।

कार्यक्रममा मासमका केन्द्रीय महासचिव डा. श्रीकान्त खतिवडाले अवधारणापत्र प्रस्तुत गर्दै मासम नेपालको पहिलो संगठित मानवअधिकार संस्था भएको उल्लेख गरे। उनले २०७२ सालमा जारी संविधानले लोकतन्त्र, समावेशिता, विधिको शासन, मौलिक हक तथा संघीय शासन प्रणालीलाई संस्थागत गरे पनि यसको प्रभावकारी कार्यान्वयनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए । संविधान कार्यान्वयनका क्रममा देखिएका संस्थागत, वित्तीय तथा प्रशासनिक चुनौतीहरूको वस्तुनिष्ठ समीक्षा गरी नागरिक समाजका सुझावसहितको प्रतिवेदन राज्यलाई बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक पदमशरण रेग्मी र वरिष्ठ अधिवक्ता हरि सुवेदीले नेपालको संवैधानिक विकासक्रमको समीक्षा गर्दै वर्तमान संविधानले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको धारणा राखे। संविधान कार्यान्वयनका लागि आवश्यक करिब ३०० देखि ४०० ऐन अझै बन्न बाँकी रहेको तथा संविधानमा व्यवस्था गरिएका ३१ वटा मौलिक हकको पूर्ण कार्यान्वयन हुन नसक्दा नागरिकमा निराशा बढ्दै गएको उनीहरूको भनाइ थियो।

छलफलमा वरिष्ठ अधिवक्ता गणेशबहादुर आलेले न्याय परिषद्, संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिमा दलीय भागबण्डा र नातावाद हाबी हुँदा न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न उठेको बताए ।

मासम गण्डकी प्रदेश सदस्य डोलराज पाण्डेले संविधानसभाबाट बनेको भनिए पनि अन्तिम मस्यौदा सीमित शीर्ष नेताहरूको सहमतिमा तयार भएकाले कार्यान्वयनमा समस्या देखिएको टिप्पणी गरे।

नागरिक समाजका प्रतिनिधि विष्णुप्रसाद बरालले संविधानको सफलताको मापन नागरिकको जीवनस्तरमा आएको परिवर्तनबाट हुनुपर्ने धारणा राखिन्अ । मानवअधिकारकर्मी इन्दिरा पौडेलले महिला तथा सीमान्तकृत समुदायको सम्मानजनक सहभागिता अझै सुनिश्चित हुन नसकेको उल्लेख गर्दै नेतृत्वको सोच परिवर्तन आवश्यक रहेको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा मासम कास्कीका संस्थापक अध्यक्ष डा. विश्वकल्याण पराजुलीले मानवअधिकारको अवधारणा समयसँगै विकसित हुने विषय भएको उल्लेख गर्दै राष्ट्रिय मानवअधिकार आयोगको स्थापना नागरिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले राजनीतिक दलहरूले संविधानको मर्म र संवैधानिक मर्यादाभित्र रहेर शासन सञ्चालन गर्नुपर्नेमा जोड दिए।

इन्सेक गण्डकीका संयोजक गणेश भण्डारीले लोकतन्त्र र संविधानको संरक्षणका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने उल्लेख गर्दै सरकारको विरोधभन्दा पनि रचनात्मक खबरदारी आवश्यक रहेको धारणा राखे।

अधिवक्ता कमलप्रसाद अर्यालले लोकतन्त्र र संवैधानिक निकायहरूको संरक्षणका लागि नागरिक समाजको निरन्तर निगरानी आवश्यक रहेको बताए ।
मासम नवलपुरकी सदस्य हरिकुमारी चौधरीले थारू, मुसहरलगायत अल्पसंख्यक तथा सीमान्तकृत समुदायका लागि संविधानले सुनिश्चित गरेको समानुपातिक तथा समावेशी प्रतिनिधित्व प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ राज्यले विशेष पहल गर्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका मासम कास्कीका अध्यक्ष ध्रुव खड्काले छलफलबाट प्राप्त सुझाव र कार्यपत्रलाई समेटेर आधिकारिक प्रतिवेदन तयार गरी सरकार तथा सम्बन्धित निकायमा बुझाइने जानकारी दिए। संविधान कार्यान्वयनसम्बन्धी यस्तो बहसलाई अन्य प्रदेशमा पनि अभियानका रूपमा विस्तार गरिने प्रतिबद्धतासहित उनले कार्यक्रम समापन गरे।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22172, citypokhara.com

दशाैं पोखरा स्पोर्ट्स अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ को आय–व्यय सार्वजनिक गरेको छ। आइतबार आयोजित आय–व्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा मञ्चले अवार्ड कार्यक्रमबाट ३४ लाख ७५ हजार ९३८ रुपैयाँ आम्दानी, २७ लाख ४ हजार ५२० रुपैयाँ खर्च भएको तथा ७ लाख ७१ हजार ४१८ रुपैयाँ बचत भएको जानकारी दिएको हो।

मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको दशौं संस्करण गत वैशाख ३१ गते पाेखरामा सम्पन्न भएको थियो। कार्यक्रममा हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ मुख्य प्रायोजक तथा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल सह–प्रायोजक रहेका थिए।

‎विसं २०७२ देखि निरन्तर आयोजना हुँदै आएको पोखरा स्पोर्ट्स अवार्डलाई यस वर्ष पनि गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत विभिन्न स्थानीय तह, व्यावसायिक संस्था तथा सामाजिक संघ–संस्थाको सहयोग रहेको मञ्चले जनाएको छ।

‎यस्तै, खेल संस्था, व्यावसायिक प्रतिष्ठान, खेलाडी, खेलप्रेमी, पूर्वखेलाडी तथा विदेशमा रहेका नेपाली खेलप्रेमीहरूको आर्थिक सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको मञ्चले उल्लेख गरेको छ। आय–व्यय सार्वजनिक कार्यक्रममा सहभागीहरूले कार्यक्रमको समीक्षा गर्दै आगामी संस्करणलाई अझ प्रभावकारी र भव्य बनाउन सुझाव दिएका थिए।

‎मञ्चले अवार्डलाई सफल बनाउन आर्थिक तथा नैतिक रूपमा सहयोग गर्ने सबै प्रायोजक, सहयोगी संस्था, खेलकर्मी, खेलप्रेमी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22155, citypokhara.com

फिर्केखोला करिडाेर अभियान अधुरै, अतिक्रमण हटाउन पुनः दबाब

पोखरा । नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला करिडोर अभियानलाई पूर्णता दिन माग गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले खोलाघर खाली गर्ने अभियान बीचमै रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोग सुनिश्चित गर्न सबै अतिक्रमित संरचना हटाउन सम्बन्धित निकायसँग आग्रह गरेका हुन्।

विज्ञप्तिअनुसार पोखरा महानगरपालिका–१८, २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा हुँदै फेवातालको गाईघाटमा समाहित हुने करिब ८ किलोमिटर लामो फिर्केखोला जैविक विविधता र पर्यावरणीय दृष्टिले पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा हो। विगत १५ वर्षदेखि नागरिकस्तरबाट ‘फिर्केखोला बचाउ अभियान’ हुँदै ‘फिर्के–बुलौदी खोला बृहत् सफाइ अभियान’ सञ्चालन गरी फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म करिडोर, पैदलमार्ग तथा साइकल लेन निर्माणको अवधारणासहित दबाबमूलक अभियान सञ्चालन हुँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।

फिर्केखोला करिडाेर अभियान अधुरै, अतिक्रमण हटाउन पुनः दबाब

नागरिक समाजले पछिल्ला वर्षमा अनियन्त्रित अतिक्रमण, फोहोरमैला व्यवस्थापनमा कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनको अभावका कारण फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि गम्भीर चुनौती थपिएको जनाएको छ।

नेपाल सरकारको नीतिअनुसार देशभर सञ्चालन गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत फिर्केखोलामा सुरु गरिएको डोजर अभियानलाई स्वागतयोग्य कदम भन्दै विज्ञप्तिमा सुरुआती चरणमा उत्साहजनक रूपमा अघि बढेको अभियान केही दिनमै सुस्ताएर स्थगित हुनु दुःखद भएको उल्लेख गरिएको छ। अभियानलाई बीचमै रोक्नु भनेको फिर्केखोला करिडोर निर्माणको उद्देश्यलाई नै कमजोर बनाउनु भएको नागरिक समाजको ठहर छ।

फिर्केखोला करिडाेर अभियान अधुरै, अतिक्रमण हटाउन पुनः दबाब

विज्ञप्तिअनुसार वडा नम्बर ४, ५, ७ र ८ का विभिन्न स्थानमा खोलाघरभित्र निर्माण गरिएका घर, टहरा, पर्खाल, समाजघर, विद्यालय, कुखुराघरलगायतका संरचना अझै पूर्ण रूपमा हटाइएको छैन। केही स्थानमा संरचना आंशिक रूपमा मात्र हटाइएकाले त्यहाँ अझै बसोबास तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गरिएको छ। कतिपय वडामा पर्खाल र गौंडासमेत हटाउन नसक्नु सम्बन्धित जनप्रतिनिधिको निरीहता भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ।

विज्ञप्तिमा वडा नम्बर ४ अन्तर्गत पर्याङ पुल क्षेत्र, भयरस्थान तथा साबिक स्काउट कम्पाउण्ड आसपासका संरचना, वडा नम्बर ५ मा रेडियो नेपाल, रिठेगौंडा, रेडक्रस पुल र पोखरा इन्जिनियरिङ कलेज आसपासका भवन, वडा नम्बर ८ मा विभिन्न समाजघर, पोखरा इन्जिनियरिङ कलेज, लिटिल स्टेप स्कुल आसपासका संरचना तथा वडा नम्बर ७ मा मासबार–रत्नचोक पुल क्षेत्र, लिटिल स्टेप स्कुल उत्तरतर्फ र मालपोत नजिकको कुखुराघर अझै नहटाइएको उल्लेख गरिएको छ।

नागरिक समाज कास्कीका प्रवक्ता गोकुलबहादुर कार्की र वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा फिर्केखोलाको दीर्घकालीन संरक्षणका लागि अभियानलाई निष्पक्ष, प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गरी खोलाघरभित्र रहेका सम्पूर्ण अतिक्रमित संरचना हटाएर करिडोर निर्माण कार्यलाई पूर्णता दिन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22150, citypokhara.com

पोखरालाई वेलनेस पर्यटन गन्तव्य बनाउन बोर्ड सदस्य पोखरेलको जोड

पोखरा। नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरालाई नेपालकै वेलनेस (आरोग्य) पर्यटनको केन्द्रका रूपमा विकास गर्ने विषयमा बहस सुरु भएको बताएका छन्।

‎शनिबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्राकृतिक सौन्दर्य, आतिथ्यता (हस्पिटालिटी) र वेलनेस पर्यटनको उच्च सम्भावना बोकेको पोखरालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

उनका अनुसार पोखरा नेपालको पर्यटन राजधानी भएकाले यहाँ पर्यटन विकासका प्रशस्त सम्भावना छन्। पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र, सरोकारवाला निकाय र सञ्चारकर्मीबाट प्राप्त सुझावलाई कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता उनले जनाए।

पोखरेलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न गुणस्तरीय प्रचार सामग्रीको अभाव रहेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगमार्फत भिडियो, अडियो तथा डिजिटल सामग्री तयार गरी विश्व बजारमा प्रभावकारी प्रचार गर्नुपर्ने आवश्यकता औंल्याए। नयाँ पर्यटकीय गन्तव्यको खोज, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई पनि बोर्डले प्राथमिकतामा राखेको उनले बताए।

आगामी बजेटबारे बोल्दै उनले चालु आर्थिक वर्षमा नयाँ पूर्वाधार निर्माणभन्दा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइने जानकारी दिए। बहुवर्षीय योजनाअन्तर्गत सञ्चालनमा रहेका तथा एक–दुई वर्षभित्र सम्पन्न हुने आयोजनालाई भने निरन्तरता दिँदै आवश्यक बजेट सुनिश्चित गरिने उनको भनाइ थियो।

‘अहिले बोर्डको बजेट पारित भएको छैन। बजेट तयारीको प्रक्रिया चलिरहेको छ भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नियुक्त हुन बाँकी छ,’ उनले भने।

‎विगतमा नेपाल पर्यटन बोर्डले विभिन्न प्रवर्द्धनात्मक भ्रमण सञ्चालन गरे पनि प्रभावकारी प्रचार सामग्रीको अभावका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ थियो। निजी क्षेत्रको प्रतिनिधित्व गर्दै हालै कार्यकारी सदस्यमा नियुक्त भएका होटल व्यवसायी तथा नाट्टा गण्डकीका पूर्वअध्यक्ष पोखरेलले सरकार र निजी क्षेत्रबीच समन्वयकारी पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

‎अन्तरक्रियामा पत्रकार विजय नेपाल, दीपक परियार, कृष्ण दवाडी, गौरव त्रिपाठी, दीननाथ बराल तथा पर्यटन विज्ञ दीपेन्द्र पहारीलगायतले पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित गर्न, दिगो पर्यटन प्रवर्द्धनका लागि छिमेकी मुलुकदेखि विश्व बजारसम्म प्रभावकारी प्रचार–प्रसार गर्न तथा पोखरामा हुने मेला, महोत्सव र खेलकुद प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जोड दिन सुझाव दिएका थिए।

यसैबीच, पोखरा प्रवर्द्धन केन्द्रले कार्यकारी सदस्यमा नियुक्त भएका पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22145, citypokhara.com

समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति

पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले पत्रकार सुमन ढुंगानामाथि समाचार प्रकाशन/प्रसारणका विषयलाई लिएर दिइएको धम्की र दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पोखरा महानगरपालिका–३३ स्थित नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी रिसोर्ट सञ्चालन गरिएको विषयमा पत्रकार ढुंगानाले तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा–३३ का समिति सभापति दिनेश आचार्यले पटक–पटक व्यक्तिगत सन्देशमार्फत आपत्तिजनक शब्द प्रयोग गर्दै धम्की दिएको जनाएकाे  छ।

‎अध्यक्ष माेतिसागर अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटना निन्दनीय, आपत्तिजनक तथा प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको उल्लेख गरिएको छ। संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने कुनै पनि किसिमका आपराधिक तथा अराजक गतिविधि स्वीकार्य नहुने प्रेस चौतारी कास्कीको भनाइ छ।

प्रेस चौतारी कास्कीले घटनाको कडा भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारलाई निर्वाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22128, citypokhara.com

गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक

पोखरा । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भिमबहादुर काकीले पदभार ग्रहण गरेको १०० दिनमा मन्त्रालयअन्तर्गत सम्पन्न मुख्य कार्यहरू सार्वजनिक गरेका छन्। मन्त्रालयले २०८३ वैशाख २ गते मन्त्रिपरिषद् पुनर्गठनपछि नीति निर्माण, बजेट कार्यान्वयन र प्राथमिकताका कार्यक्रमहरू अघि बढाइएको जनाएको छ।

मन्त्रालयका अनुसार ‘रिटर्न टु भिलेज’ कार्यक्रममार्फत युवालाई स्वदेशमै उद्यमशील कृषि व्यवसायमा आकर्षित गर्न कृषि ऋणमा ब्याज अनुदानसहित सञ्चालनका लागि रु. २ करोड विनियोजन गरिएको छ। त्यसैगरी, उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’ का लागि रु. १ करोड छुट्याइएको छ।
कृषिमा देखिएको रासायनिक मल अभाव व्यवस्थापनलाई पनि मन्त्रालयले मुख्य उपलब्धिमध्ये एकका रूपमा उल्लेख गरेको छ।

संघीय सरकारसँगको समन्वयमा डीएपी र युरिया मलको सहज आपूर्ति सुनिश्चित गर्न जिल्ला कार्यालय र स्थानीय तह परिचालन गरिएको तथा प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि रु. २ करोड ६० लाख बजेट विनियोजन गरिएको छ। विपद् प्रभावित ८७० कृषक व्यवसायीलाई रु. १९ लाख राहत वितरण गरिएको र राहत, पुनर्स्थापना तथा पुनरुत्थानका लागि रु. १ करोड ५१ लाख ८० हजार छुट्याइएको मन्त्रालयको विवरणमा छ।

त्यस्तै, पशुपालन क्षेत्रमा सिंचाइ पूर्वाधार, न्यूनतम समर्थन मूल्य कार्यक्रम, सार्वजनिक–निजी–सामुदायिक साझेदारी, कृषि–पशुपन्छी–मत्स्य बिमा, कृषक सम्मान, जीवाणुनाशक विषादी विकेता अनुमति तथा नवीकरण, र पेपरलेस प्रणालीको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ। खाद्य अधिकारसम्बन्धी विधेयकको मस्यौदा तयार भई प्रदेश सभामा पुर्‍याइएको र कृषि एप निर्माणका लागि समेत बजेट विनियोजन गरिएको छ।

मन्त्रालयका अनुसार पशु पूर्ण खोप कार्यक्रमअन्तर्गत ८५ वटै स्थानीय तहमा १८ लाख ९८ हजार ३९६ डोज खोप लगाइएको छ। दूध उत्पादक सहकारीमार्फत ११ हजार २३२ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन सहायता उपलब्ध गराइएको, १८ वटा चिलिङ भ्याट जडान गरिएको र यसबाट करिब ७ हजार ५०० कृषक घरधुरी लाभान्वित भएको उल्लेख छ। आलु, खाद्यान्न बाली र फलफूल विकासका कार्यक्रम पनि १०० दिनभित्र अघि बढाइएको मन्त्रालयको दाबी छ।

यस अवधिमा सहकारी क्षेत्रका १७ वटा उजुरीको मिलापत्र गराइएको, भूमि नीतिको मस्यौदा तयार पारिएको, १२ किलोमिटर सार्वजनिक बाटो अद्यावधिक गरिएको तथा JICA को सहयोगमा केही कर्मचारीलाई जापान र श्रीलंकामा क्षमता अभिवृद्धि तालिमका लागि छनोट गरिएको मन्त्रालयले जनाएको छ। साथै, १०० भन्दा बढी कृषक समूह, सहकारी र अन्य सरोकारवालासँग छलफल तथा अनुगमन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22119, citypokhara.com

पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन

‎पोखरा ।
‎पोखरा महानगरपालिका वडा नं. १४ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ सदस्यीय स्थानीय समिति गठन गरिएको छ। वडाध्यक्ष बोधबहादुर कार्कीको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो।

‎​’Actng Against Sexual Exploitation, Trafficking and Human Atrocity’ को आयोजना, पोखरा महानगरपालिका वडा कार्यालय–१४ को समन्वय तथा ‘गुड सेफर्ड इन्टरनेशनल फाउन्डेसन नेपाल’ (Good Shepherd International Foundation Nepal) को सहयोगमा उक्त कार्यक्रम गरी समिति गठन गरिएको हो। कार्यक्रममा ‘बाल तथा महिला सशक्तिकरण समाज-नेपाल, कास्की’ (CWES) को पनि संलग्नता रहेको छ।

पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन

नवगठित समितिको संयोजकमा वडाध्यक्ष बोधबहादुर कार्की रहेका छन् भने सदस्यहरूमा दिलमाया गुरुङ, मिना लक्ष्मी शर्मा, काशीनाथ घिमिरे, पूर्ण दीप सुवेदी, अभिषेक सुनार, मोतीसागर अधिकारी, राजेन्द्र चापागाईं, राधा गरम्जा, नमूनाथ पाध्या र तिलकराम लम्साल चयन भएका छन् । समितिका बाँकी दुई सदस्य पछि थप गरिने जनाइएको छ।

‎​स्थानीय स्तरमा मानव बेचबिखन, ओसारपसार, बाल शोषण तथा यौन शोषण जस्ता अपराध नियन्त्रण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो समिति गठन गरिएको हो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22115, citypokhara.com

विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड

पोखरा ।

‎नेपालको मुलुकी संहितामा व्यवस्था गरिएको २० वर्षको विवाह उमेर हद बालबालिकाको सर्वोत्तम हितअनुकूल नभएको भन्दै यसलाई अन्तर्राष्ट्रिय कानुनअनुसार समयसान्दर्भिक संशोधन गर्न पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय महासन्धिहरूले १८ वर्षमुनिलाई बालबालिका मानेकाले कानुनी उमेर हद १८ वर्ष कायम गरी व्यावहारिक अवस्थासँग तालमेल मिलाउन आवश्यक रहेको उनीहरूको भनाइ छ।

‎​राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरामा सम्पन्न ‘बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझकाे प्रादेशिक परामर्श’ मा सरोकारवालाहरूले कानुनी उमेर हद १८ वर्षमा झार्नुपर्ने वा विद्यमान उमेर हद कायम राखिए पनि सजायका वैकल्पिक उपाय तथा पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्।

विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले बालविवाह सामाजिक, आर्थिक र सांस्कृतिक कुरीतिसँग जोडिएकाले कानुनी कठोरताका साथै तीनै तहका सरकार, राजनीतिक दल र धार्मिक अगुवाको एकीकृत प्रयास आवश्यक रहेको बताईन् । उनले प्रदेश सरकारले बालमैत्री स्थानीय शासन र बालविवाह न्यूनीकरणलाई बजेट तथा नीतिमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा आयोगका पूर्व सदस्य गौरी प्रधानले बालविवाहले बालबालिकाको समग्र भविष्यमा पार्ने असरबारे चर्चा गरेका थिए । त्यसैगरी गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा र कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले तल्लो तहसम्म सचेतना फैलाउनुपर्ने र कानुनी कार्यान्वयन चुस्त हुनुपर्नेमा जोड दिए ।

जाँचबुझ कार्यक्रमअन्तर्गत किशोर-किशोरी, धार्मिक तथा सामाजिक सम्प्रदाय, बाल अधिकारकर्मी, कानुन व्यवसायी, जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज र पत्रकार गरी १०० भन्दा बढी सहभागीहरूलाई विषयकेन्द्रित समूहहरूमा विभाजन गरी सघन छलफल गराइएको थियो ।

कार्यक्रममा आयोगकी प्रदेश कार्यालय प्रमुख नितु गर्तौलाले गण्डकी प्रदेशमा बालविवाहको वर्तमान अवस्था र यसले मानव अधिकारमा पारेको असरका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । आयोगले यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका र पर्वतको महाशिला गाउँपालिकामा गरिएका लक्षित समूह छलफलका निष्कर्षहरू प्रस्तुत गर्दै बालविवाहले किशोरीहरूको शारीरिक, मानसिक, आर्थिक र सामाजिक क्षेत्रमा बहुआयामिक असर पारिरहेको जानकारी गराएको थियो।

आयोगका सदस्य मनोज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मानव अधिकार अधिकृत टंक खनालले गरेका थिए । छलफलको सहजीकरण अनिता घिमिरे, मधु सुनाम, शिलु सुब्बा, सृष्टि कोलाक्षपति, निरुपण ढकाल तथा ‘गर्ल्स नट ब्राइड्स’ (GNB) र आयोगको प्रादेशिक टोलीले गरेका थिए।

आयोगले यो प्रादेशिक परामर्शबाट प्राप्त निष्कर्षहरूलाई एकीकृत गरी सरकारलाई आवश्यक कानुनी र नीतिगत सुधारका लागि सिफारिस बुझाउने जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22109, citypokhara.com

बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिएका हुन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले सोही मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ। साथै राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।

सरकारबाट बाहिरिने एमालेका मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

गत ३२ असारमा मन्त्रिपरिषद् बैठकमा सहभागी भई काठमाडौं फर्किएका उनीहरू पाँच दिनपछि राजीनामा बुझाउन हेटौंडा पुगेका थिए। मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वबाट सरकारबाट बाहिरिन निर्देशन प्राप्त भएको थियो। सोही निर्देशनअनुसार मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालनमा थियो। करिब दुई वर्षपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका छन्। अब नेपालको संविधानअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22106, citypokhara.com

राम्जा–पोखरा सम्पर्क समाज नेपालद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

पोखरा, साउन ४ — राम्जा–पोखरा सम्पर्क समाज नेपालले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा पर्वत जिल्लाको मोदी गाउँपालिका–८, मल्काहा, चित्रेका एक विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ।

समाजका अध्यक्ष तोयानाथ तिमल्सिनाको नेतृत्व तथा कार्यसमितिका पदाधिकारीहरूको सहभागितामा आयोजित कार्यक्रममा चामल, दाल, तेल, नुन, चिउरा लगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीसँगै लत्ताकपडा हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा अध्यक्ष तिमल्सिनाले समाजले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न मानवीय तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहयोग प्राप्त परिवार तथा स्थानीयवासीले समाजप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक अभियानले विपन्न परिवारलाई ठूलो राहत पुगेको बताएका छन्।

राम्जा–पोखरा सम्पर्क समाज नेपालले वार्षिकोत्सवलाई औपचारिक समारोहमा मात्र सीमित नराखी समाजसेवामार्फत मनाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ।