Breaking News
लेउवा संघमा रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च

लेखनाथ । स्थानिय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा छलफल तथा अन्तरक्रिया गर्दै रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्र्तगतको श्रम तथा रोजगार शाखाको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले स्थानियस्तरमा रोजगारीका क्षेत्र पहिचान गर्न मञ्च उपयोगी हुने बताउँदै आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताईन ।

स्थानिय निकायका रोजगार सेवा केन्द्रबाट वेरोजगारीहरुको सुचिकृत गरी स्थानिय संघ संस्था, उद्योगी व्यवसायीहरुसँग समन्वय गरी रोजगारी सृजना गर्नु पर्ने र स्थानिय निकायले आधुनिक प्रविधिका दक्ष जनशक्तिको तयार गरी घरेलु तथा साना उद्योगहरुलाई विषेश ग्राहियता दिई बजारीकरण देखी अन्य क्षेत्रहरुमा पनि सहयोग गर्नु पर्ने बताईन ।

उक्त अवसरमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले अबको चरण आर्थिक विकासको चरण भएको वताउँदै त्यसका लागी उत्पादनमा वृद्धि गर्न जरुरी रहेको वताएका थिए । उत्पादनको लागी पनि सिपयुक्त जनशक्ति राज्यले निकाल्नुपर्ने र त्यसका लागि तालिममा लगानी गर्नुपर्ने वताएका थिए ।

उनले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेजस्तै गरि प्रत्येक एक–एक व्यक्तिलाई सिपयुक्त तालिम दिनुपर्ने र सिप नभएको कोही छैन भनेर घोषणा गर्नुपर्ने पनि वताएका थिए । काम ठुलो र सानो भन्ने सोच समाजमा रहेको वताउँदै यस्तो सोचलाईलाई अबका दिनमा चिरेर अगाडी वढ्नुपर्नेमा उनको जोड थियो । पोखरा महानगरपालिकाले आगामी असार १९ गते पोखरामा रोजगार मेला आयोजना गर्ने र त्यसमा सहभागी हुन पनि आग्रह गरेका थिए ।

कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत नवराज सुवेदी र पोखरा महानगरपालिका श्रम तथा रोजगार शाखाका प्रमुख विष्णु प्रसाद दाहालले विषयवस्तुमाथी प्रकाश पार्नुका साथै कार्यपत्र प्रस्तुत गरेका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य विरेन्द्रराज भुर्तेलले गरेका थिए ।

सिलाई कटाई तथा प्लम्बीङ तालिमको समापन
संघमा सोमबार नै ३ महिने अर्थात ३९० घण्टे सिलाई कटाई तथा प्लम्बीङ तालिमको समापन गरिएको छ ।
सामाजीक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश अन्र्तगत व्यवसायीक तथा सिप विकास तालिम केन्द्रको आयोजना तथा संघको समन्वयमा तालिम सञ्चालन गरिएको थियो ।

तालिमको समापनका अवसरमा सीप विकास तालिम केन्द्र पोखरामा कार्यालय प्रमुख अनिल सुवेदीले सिकेका सिपको व्यवहारमा उपयोग गरि उद्यमशिल एवं रोजगार बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए ।

तालिमका सहभागीहरुलाई सोमबार नै प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन संघका कार्यसमिति सदस्य एवं तालिम उप–समिति संयोजक सुजन न्यौपानेले गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21915, citypokhara.com

सौराहबाट जाउँ है पोखरा अभियान सुरु

चितवन । यसबर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।
कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रबर्द्धनमा यो अभियान संचालन गरिएको हो ।
आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने तृकोणीय पर्यटन प्रबर्द्धनको उद्देध्य समेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताए ।
कालीका नगर प्रमुख रेग्मीले आफ्नो नगरले कृषि पर्यटनमा जोड दिएको बताए । सबै भन्दा धेरै मह र च्याउ उत्पाद गर्ने नगरपालिका कालीका भएको दाबी उनले गरे ।
होटल संघ नेपालका केन्द्रिय सदस्य सुमन घिमिरेले आन्तरिक पर्यटन प्रबर्द्धनमा जाउँ है पोखरा अनुकरणीय अभियान भएको बताए । सिल्भर ट्र्याङ्गलको अवधारणा अन्तर्गत सयुक्त पर्यटन प्याकेज विकासको प्रस्ताव उनले राखे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले सिल्भर ट्र्याङ्गलको अवधारणा पुन: अगाडि बढाईएको स्मरण गराए । जाउँ है पोखरा अभियानसँग बोर्ड सुरुवाती समयबाटै जोडिएको उनले जानकारी गराए ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले चितवनका पर्यटकीय क्षेत्रबारे अवगत गराए । पर्यटकलाई सहज हुने खालका नीति सरकारले ल्याउनुपर्ने उनले सुझाव राखे ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नयाँ पदमार्गहरुको खोजी, उत्थान र प्रबर्द्धनमा आफ्नो संस्था लगिरहेको जानकारी दिए । पर्यटनलाई भिन्न र नयाँ ढंगले अगाडि बढाउनु पर्ने अवस्था आएको उनले बताए ।
कार्यक्रममा पर्यटन विज्ञ विश्व सुवेदीले दामोदर कुण्ड र त्रिवेणी धाम जोड्ने गरी हरिहर परिक्रमा पथ विकासको प्रस्ताव राखे ।
कुमरोज मध्यवर्ती सामुदायिक बनका अध्यक्ष राजु सिलवाल र रत्ननगर नगरपालिका ७ का वडा सदस्य सूर्यबहादुर तामाङले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वाती पाण्डेले गरेकी थिईन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21905, citypokhara.com

संघीयतामा आमसञ्चार र संसदीय-अदालती रिपोर्टिङ अभिमुखीकरण पोखरामा सुरु

‎‎​पोखरा ।

‎संसदीय पत्रकार मञ्च, गण्डकीको आयोजनामा ‘संघीयतामा आमसञ्चार अन्तरक्रिया एवं संसदीय र अदालती रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रम शनिबारदेखि पोखरामा सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा सञ्चालित उक्त कार्यक्रम आइतबारसम्म चल्नेछ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसद, सरकार र पत्रकार एकअर्काका परिपूरक भएको बताए । संघीयताको आगमनपछि जनताले सरकारलाई नजिकबाट चिन्ने र अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेको उनको भनाइ थियो ।

‎प्रजातान्त्रिक परिपाटीमा सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले प्रशासनिक सुधारका क्रममा एउटै प्रकृतिका काम गर्ने कार्यालयहरूलाई मर्ज गर्न सकिने भए तापनि कतिपय अवस्थामा कानुनी व्यवधान बाधक बन्ने गरेको उल्लेख गरे ।

‎​कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले सरकारका काम-कारबाही र संसदीय गतिविधिलाई पारदर्शी बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए । पौडेलले सरकारका विषयहरू सही रूपमा बाहिर ल्याउन पत्रकारहरूको भूमिका कमजोर हुन नहुनेमा जोड दिए ।

संघीयतामा आमसञ्चार र संसदीय-अदालती रिपोर्टिङ अभिमुखीकरण पोखरामा सुरु

संसदीय पत्रकार संघसँगको सहकार्यको प्रशंसा गर्दै उनले संसदीय समितिहरूका बैठकमा पत्रकारहरूको उपस्थिति अझ बाक्लो हुनुपर्ने र उनीहरूको क्षमता अभिवृद्धि गरिनुपर्ने बताए । संसदीय गतिविधिसँगै अदालती र कानुनी पाटो जटिल हुने भएकाले सञ्चारकर्मीहरूले यसको मर्म बुझेर निगरानी राख्नुपर्ने उनको भनाइ थियो।

‎​कार्यक्रममा नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता सुशीला सिंखडा, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मी लगायतले सञ्चार क्षेत्र र संसदीय मामिलाका विविध पक्षमा आफ्ना भनाइहरू राखेका थिए ।

‎​संसदीय पत्रकार मञ्चका अध्यक्ष विशन क्षेत्रीको अध्यक्षतामा सुरु भएको उक्त दुई दिने अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21899, citypokhara.com

फालिएकाे पत्रिकाको दोस्रो जीवन : ‘पोख्रेली सिसाकलम’

फोहोर व्यवस्थापन, महिला सिर्जनशीलता र आत्मनिर्भरताको उदाहरण

बालकुमारी पौडेल (तारा)
पोखरा ।
पहिले घरको कुनामा थन्किने पुराना पत्रपत्रिका अहिले पोखरा र आसपासका बालबालिकाको हातमा सिसाकलम बनेर पुगिरहेका छन् । फालिने कागजलाई आम्दानीको स्रोतमा बदल्ने पोखराका पाँच महिलाको प्रयासले फोहोर व्यवस्थापन, महिला उद्यमशीलता र वातावरण संरक्षणलाई एउटै सूत्रमा बाँधेको छ ।

नेपालका अधिकांश सहरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कागजको बढ्दो प्रयोगसँगै पुनः प्रयोग गर्न सकिने सामग्री ठूलो परिमाणमा फोहोरमा परिणत भइरहेका छन् । यस्तै अवस्थामा पोखराका पाँच महिलाले पुराना पत्रपत्रिकालाई वातावरणमैत्री सिसाकलममा रूपान्तरण गर्दै फोहोर व्यवस्थापनलाई आयआर्जन र रोजगारीसँग जोडेका छन् ।

पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापन तालिमबाट जन्मिएको यो उद्यम अहिले महिला आत्मनिर्भरता र स्थानीय उत्पादन प्रवद्र्धनको उदाहरण बनेको छ । ‘पोख्रेली सिसाकलम’ ले दिगो विकासको अवधारणालाई व्यवहारमा उतार्नुका साथै समुदायमा फोहोर व्यवस्थापनप्रति सकारात्मक सन्देश पनि फैलाएको छ ।

पुराना पत्रपत्रिका तथा कागज पुनः प्रयोग गरेर वातावरणमैत्री सिसाकलम उत्पादन गर्ने यो अभियान पोखरा महानगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने शान्ति अधिकारी, विमला देवी भण्डारी अधिकारी, सिर्जना तिवारी, गीता सुवेदी र पद्मा पौडेल आचार्यको सामूहिक प्रयासबाट अघि बढिरहेको छ ।

फालिएकाे पत्रिकाको दोस्रो जीवन : ‘पोख्रेली सिसाकलम’

तालिमबाट उद्यमसम्म

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक र प्राविधिक सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा रिसाइक्लिङ र अपसाइक्लिङ परियोजनाअन्तर्गत फोहोर व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा महानगरपालिकाका ३३ वटै वडाका १ सय ३६ टोल विकास संस्थाका ४ हजार ८० सहभागीलाई विसं २०८१ पुसदेखि चैतसम्म तीन चरणमा प्रशिक्षण दिइएको थियो ।

फोहोर वर्गीकरण, पुनः प्रयोग र आयआर्जनका सम्भावनाबारे तालिममा जानकारी दिइएको थियो । यही क्रममा शान्ति अधिकारीले ‘पेपर टु पेन्सिल’ अर्थात् पुराना पत्रिकाबाट सिसाकलम बनाउने व्यावसायिक अवधारणा प्रस्तुत गरिन् । सहभागीमध्ये उनको अवधारणा उत्कृष्ट व्यावसायिक योजनाका रूपमा छनोट भयो ।

त्यसपछि पाँच महिलाले मिलेर गत वर्ष जेठको पहिलो सातादेखि ‘पोख्रेली सिसाकलम’ उत्पादन सुरु गरे । उद्यम सञ्चालनका लागि कोइकाले करिब ७ लाख ३० हजार रुपैयाँ बराबरको रोलिङ मेसिन, साइज कट मेसिन र ड्रायर उपलब्ध गरायो । पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रबाट ७० हजार रुपैयाँ सहयोग प्राप्त भयो ।

यसका अतिरिक्त महिलाहरूले आफ्नै श्रम, समय र व्यक्तिगत लगानी पनि व्यवसायमा खर्च गरेका छन् । सुरुवाती चरणमा प्राविधिक कठिनाइ आए पनि अभ्यास र अनुभवसँगै अहिले उत्पादन व्यवस्थित रूपमा अघि बढिरहेको उनीहरू बताउँछन् ।

सिसाकलम बन्ने प्रक्रिया

सिसाकलम उत्पादनका लागि आवश्यक पुराना पत्रपत्रिका विद्यालय, संघसंस्था, समुदाय र कबाडीबाट संकलन गरिन्छ । घरघरमा पढेर थन्किएका पत्रिका पनि उनीहरूले खरिद गर्ने गरेका छन् ।

संकलित पत्रिकालाई निश्चित आकारमा नापेर काटिन्छ । त्यसपछि दुई मिलिमिटर मोटाइको लिड राखेर पत्रिकालाई सावधानीपूर्वक बेरिन्छ । बेर्दा पत्रिकाका तह एकआपसमा नटाँसिने गरी मिलाइन्छ । एकै पटक १० देखि १५ वटासम्म सिसाकलमको लिड बेर्न सकिन्छ भने एक जनाले दैनिक करिब पाँच सय वटासम्म लिड तयार गर्न सक्छन् ।

त्यसपछि रोलिङ मेसिनमार्फत सिसाकलमलाई अन्तिम आकार दिइन्छ । मेसिनबाट निस्किएको सिसाकलमलाई दुई दिन ओसिलो ठाउँमा राखेर सुकाइन्छ । त्यसपछि थप ३ देखि ४ दिन घाममा सुकाइएपछि अन्तिम चरणमा तिखारेर आवश्यक आकारमा काटिन्छ । त्यसपछि मात्रै उत्पादन बजारका लागि तयार हुन्छ ।
यी सिसाकलम सामान्य बजारमा पाइने ‘सार्पनर’ ले नै तिखार्न सकिन्छ । हाल ‘पोख्रेली सिसाकलम’ अन्तर्गत कालो र रंगीन दुवै प्रकारका सिसाकलम उत्पादन भइरहेका छन् ।

विमलाको संघर्ष र सफलताको यात्रा

उद्यमी विमलादेवी भण्डारी अधिकारीको व्यावसायिक यात्रा संघर्ष, धैर्य र आत्मविश्वासले भरिएको छ । उद्यममा संलग्न हुनुअघि उनी सानो व्यवसाय सञ्चालन गर्थिन् । श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गएपछि साना छोराछोरीको जिम्मेवारी र व्यवसाय दुवै सम्हाल्नु उनका लागि चुनौतीपूर्ण थियो ।

तर उनले एक्लैले पसल सञ्चालन गर्दै छोराछोरी हुर्काइन् । दुई वर्षपछि श्रीमान्ले जापान बोलाए । छोराछोरीलाई बुबाआमाको रेखदेखमा छोडेर विदेश गइन् । त्यहाँ चार वर्ष मेहनत गरेपछि उनी स्वदेश फर्किइन् ।

नेपाल फर्किएपछि आफ्नै देशमा केही नयाँ काम गर्ने इच्छा जाग्यो । त्यही समयमा उनलाई ‘पोख्रेली सिसाकलम’ उद्योगसँग जोडिने अवसर मिल्यो । पाँच जना साथीहरूसँग मिलेर उनले सिसाकलम उत्पादनको व्यवसाय सुरु गरिन् । अहिले उनीहरू उत्पादनसँगै ब्रान्डिङ र प्याकेजिङमा पनि विशेष ध्यान दिइरहेका छन् ।

विमलाका अनुसार परिवारको सकारात्मक सहयोगले व्यवसाय अघि बढाउन सहज भएको छ । उद्यममा जोडिएपछि उनको जीवनमा पनि परिवर्तन आएको छ । पहिले फुर्सदमा बित्ने समय अहिले उत्पादन र व्यवस्थापनमा खर्च भइरहेको छ । घरखर्चमा सहयोग पुगेको छ भने आफ्नै आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरूमाथि निर्भर हुनुपर्ने अवस्था हटेको छ ।

उनको अनुभवमा आर्थिक आत्मनिर्भरता केवल आम्दानीको विषय मात्र होइन, आत्मविश्वास र सम्मानसँग पनि जोडिएको विषय हो । यही कारण उद्यमबाट प्राप्त सफलताले परिवारमा समेत सकारात्मक प्रभाव पारेको छ ।

आर्थिक आत्मनिर्भरताको आधार

‘पोख्रेली सिसाकलम’ ले वातावरणीय लाभसँगै स्थानीयस्तरमा आर्थिक अवसर पनि सिर्जना गरेको छ । साधारण सिसाकलम १० रुपैयाँमा बिक्री हुन्छ भने रंगीन तथा डिजाइनयुक्त सिसाकलमको मूल्य १२ देखि २५ रुपैयाँसम्म पर्छ ।

व्यक्ति वा संस्थाको नाम, लोगो तथा विशेष सन्देश अंकित सिसाकलम उत्पादन गरिने भएकाले यसको माग क्रमशः बढिरहेको उद्यमीहरू बताउँछन् । उनीहरूले दैनिक औसत १ हजार ५ सय वटा तथा मासिक करिब १७ हजार सिसाकलम उत्पादन गर्न सक्ने क्षमता विकास गरेका छन् । उत्पादनका लागि एक वर्षमा करिब ४ सय ६० किलो पुराना पत्रपत्रिका पुनः प्रयोग गरिएको छ ।

हाल उनीहरूको प्राथमिकता आम्दानीभन्दा पनि ‘पोख्रेली सिसाकलम’ लाई दिगो स्थानीय ब्रान्डका रूपमा स्थापित गर्नु रहेको छ । अहिले सिसाकलम पोखराका स्टेशनरी, विद्यालय, होटल तथा विभिन्न संस्थामार्फत बिक्री भइरहेको छ । काठमाडौं, हेटौंडा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र मकवानपुरलगायत जिल्लामा समेत यसको बजार विस्तार भएको छ ।

करिब ५० नियमित ग्राहक छन् । केही ग्राहकले पुनः बिक्रीका लागि सिसाकलम लैजान्छन् भने केहीले आफ्नै प्रयोगका लागि खरिद गर्छन् । उद्यमीहरू सामाजिक सञ्जाल, वेबसाइट, मेला–महोत्सव तथा विद्यालयस्तरीय कार्यक्रममार्फत उत्पादनको प्रचारप्रसार गरिरहेका छन् । हप्ताको एक–दुई दिन उनीहरू आफैं बजार पुगेर उत्पादनको मार्केटिङ पनि गर्छन् ।

उद्यममा संलग्न पाँचै जना महिला यस कार्यमा लाग्नुअघि गृहिणी थिए । परिवारको सहयोग र प्रोत्साहनका कारण उनीहरू निरन्तर सक्रिय रहन सकेका छन् । आफ्नै श्रम र सीपबाट आम्दानी गर्न थालेपछि आत्मविश्वास, खुसी र आत्मनिर्भरताको भावना बढेको उनीहरू बताउँछन् ।

उनीहरूले उत्पादनमात्र होइन, समुदायमा फोहोर व्यवस्थापनसम्बन्धी चेतना फैलाउने काम पनि गरिरहेका छन् । हरेक महिनाको दुई गते समुदायमा प्लास्टिकजन्य फोहोर संकलन गरेर रिसाइकलमा पठाउने कामसमेत गर्दै आएका छन् । प्लास्टिक बिक्रीबाट प्राप्त रकम महानगरलाई तिर्नुपर्ने फोहोर शुल्कमा उपयोग हुने गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको लक्ष्य

उद्यमीहरूको अबको लक्ष्य ‘पोख्रेली सिसाकलम’ लाई व्यवस्थित ब्रान्डिङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु हो । हाल एक उद्यमीको घरको बरन्डा र स्टोररुममा सञ्चालन भइरहेको उद्योगलाई उपयुक्त स्थानमा विस्तार गर्ने योजना उनीहरूको छ । आधुनिक मेसिन र सरकारी सहयोग प्राप्त भए उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने उनीहरूको विश्वास छ । उनीहरू भन्छन्, ‘नेपाललाई पेन्सिल उत्पादनमा आत्मनिर्भर बनाउने र आयात घटाउने हाम्रो सोच छ ।’

उनीहरूले आर्थिक रूपमा कमजोर तथा अवसरको खोजीमा रहेका महिलालाई उद्यमशीलतामा जोडिन आग्रह पनि गरेका छन् । व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई महत्व दिँदै विभिन्न विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क सिसाकलम वितरण गर्दै आएका छन् । बजार विस्तारसँगै उनीहरू तालिममार्फत इच्छुक र आर्थिक अवस्था कमजोर महिलालाई पनि उद्यमशीलतामा जोड्ने योजना बनाइरहेका छन् ।


                              ‘पोख्रेली सिसाकलम’ केवल एउटा सिसाकलम होइन।

                                 यो फालिएको पत्रिकाले पाएको दोस्रो जीवन हो ।


समाज र विद्यालयको साथ

‘पोख्रेली सिसाकलम’ लाई फोहोर व्यवस्थापन, वातावरण संरक्षण र महिला आत्मनिर्भरतासँग जोडिएको प्रशंसनीय अभियानका रूपमा नागरिक समाज कास्कीका संस्थापक संयोजक तथा वातावरण महाअभियानका संयोजक रामबहादुर पौडेलले लिएका छन् ।

उनका अनुसार पढिसकेका पत्रिका जथाभावी फाल्ने बानी सुधारेर पुनः प्रयोगमार्फत उत्पादनमा जोड्नु सकारात्मक अभ्यास हो । उनी भन्छन्, ‘महिलाले समूहमा संगठित भएर सिर्जनशील काम गरेका छन् । यस्ता प्रयासलाई स्थानीय सरकार, व्यवसायी र नागरिक समाजले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्छ ।’

उनले विद्यालय स्तरमै बालबालिकालाई वातावरणमैत्री सामग्री प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताए । प्रारम्भिक लेखन तथा खेस्रा तयार गर्न यस्ता सिसाकलम उपयोगी हुन सक्ने उनको विश्वास छ ।

विद्यालयमा बढ्दो आकर्षण

‘पोख्रेली सिसाकलम’ ले विद्यालयस्तरमा पनि राम्रो स्थान बनाउँदै गएको छ । वातावरणमैत्री उत्पादनप्रतिको बढ्दो चासो, प्रयोगमा सहजता र गुणस्तरका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकमाझ यसको लोकप्रियता बढ्दै गएको देखिन्छ ।

पोखरा–२ स्थित मुना मन्टेश्वरीकी प्रिन्सिपल मौजा गुरुङले विद्यालयमा करिब एक वर्षदेखि ‘पोख्रेली सिसाकलम’ प्रयोग भइरहेको बताइन् । सुरुमा वातावरणमैत्री सोचका कारण प्रयोग सुरु गरिएको भए पनि पछि यसको गुणस्तरले विद्यार्थी र अभिभावकलाई आकर्षित गरेको उनको अनुभव छ ।
उनी भन्छिन्, ‘अभिभावकले विद्यालयमा बच्चाको अक्षर राम्रो भएको तर घरमा त्यस्तो नभएको बताउन थालेपछि हामीले घरमा पनि यही सिसाकलम प्रयोग गर्न सुझाव दिएका छौं ।’

उनका अनुसार पेपरबाट बनेको भएकाले यो चिप्लिँदैन, समात्न सहज हुन्छ र लिड गाढा भएकाले लेखाइ स्पष्ट देखिन्छ । आकर्षक प्याकेजिङ र रंगीन डिजाइनले बालबालिकालाई थप आकर्षित गरेको छ ।

गुरुङका अनुसार नेपाली बजारमा ‘मेड इन नेपाल’ स्टेसनरी सामग्रीको अभाव छ । ‘पोख्रेली सिसाकलम’ ले त्यो खालीपन पूरा गर्न सक्ने सम्भावना बोकेको छ । स्वदेशी उत्पादनको मागअनुसार अघि बढ्न सके यसको भविष्य उज्ज्वल रहेको उनको विश्वास छ ।

पोखरा–२१ की गीता कार्कीले पनि करिब एक वर्षदेखि ‘पोख्रेली सिसाकलम’ प्रयोग गर्दै आएकी छन् । सुरुमा उत्सुकतावश खरिद गरेको सिसाकलमले गुणस्तर, लेखाइ र वातावरणमैत्री पक्षका कारण आफूलाई आकर्षित गरेको उनी बताउँछिन् ।

उनका अनुसार काठका सिसाकलमभन्दा फरक अनुभव दिने यो उत्पादन घरका भाइबहिनीले समेत मन पराएका छन् । पोखराको एक निजी विद्यालयमा अध्यापन गर्दै आएकी कार्कीले आफ्ना विद्यार्थीलाई पनि यो सिसाकलम प्रयोग गर्न प्रेरित गर्दै आएकी छन् । अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारस्वरूप सिसाकलम प्रदान गर्ने गरेको उनले बताइन् ।

उनी भन्छिन्, ‘विद्यार्थीले यो कहाँ उत्पादन हुन्छ भनेर चासो राख्छन् । आफूहरूले पनि प्रयोग गर्न चाहेको बताउँछन् ।’ उनका अनुसार ‘पोख्रेली सिसाकलम’ वातावरणमैत्री मात्र होइन, गुणस्तरीय पनि छ । फालिएका कागजको पुनः प्रयोगबाट बनेका यस्ता सामग्रीले वातावरण संरक्षणसँगै महिलाका लागि आयआर्जनको अवसर पनि सिर्जना गरेका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले पनि उत्पादनको गुणस्तरप्रति सकारात्मक धारणा रहेको देखाउँछ ।

बालमन्दिर माध्यमिक विद्यालय, नदीपुरमा कक्षा ८ मा अध्ययनरत समीक्षा चापागाईंले पनि करिब एक वर्षदेखि ‘पोख्रेली सिसाकलम’ प्रयोग गर्दै आएकी छन् । दिदीले उपहारस्वरूप दिएपछि उनले यसको प्रयोग सुरु गरेकी हुन् ।

उनका अनुसार अन्य सिसाकलम चाँडै भाँचिने र राम्रोसँग तिखार्न गाह्रो हुने समस्या हुन्थ्यो । तर पेपर पेन्सिल टिकाउ र प्रयोगमा सहज लागेको छ । उनी भन्छिन्, ‘यो सिसाकलम राम्रोसँग तिखारिन्छ र लामो समयसम्म टिक्छ ।’

उनका अनुसार यसले लेखाइ सफा र आकर्षक बनाउन सहयोग गरेको छ । वातावरणमैत्री हुनुका साथै प्रयोगमा सहज भएकाले उनी यसलाई अन्य सिसाकलमभन्दा फरक र विशेष मान्छिन् । उनका साथीहरूले पनि यो सिसाकलम मन पराएर ल्याइदिन आग्रह गर्ने गरेको उनले सुनाइन् ।

स्थानीय सरकारको सहयोग

कोइका र युएनडिपीको साझेदारीमा सञ्चालित जिसिआरयु परियोजनामार्फत महिलाहरूले सञ्चालन गरेको फोहोर व्यवस्थापन अभियानले महानगरलाई उत्साहित बनाएको पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्र तथा पर्यटन प्रवद्र्धन कार्यक्रम प्रमुख नवराज अधिकारी बताउँछन् ।

उनका अनुसार महिलाले ‘फोहोरलाई मोहोरमा बदल्ने’ अवधारणासहित सुरु गरेको अभियानले फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको छ । उनी भन्छन्, ‘यो अभियानले फोहो

र व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ । वातावरणमैत्री उत्पादनमार्फत महिलाले उद्यमशीलताको राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।’

महानगरले ‘मेकिङ पोखरा, मेड इन पोखरा’ कार्यक्रममार्फत स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ, मार्केटिङ र प्रवद्र्धनमा सहयोग गरिरहेको छ । साथै प्रविधि हस्तान्तरण, मेन्टरिङ, तालिम तथा वित्तीय र प्राविधिक सहयोगका कार्यक्रम पनि सञ्चालन गरिरहेको उनले बताए । महिला उद्यमीलाई सहुलियत दरमा कर्जा प्रवाह, व्यवसाय विस्तार र सीप विकासका क्षेत्रमा पनि महानगरले काम गरिरहेको अधिकारीको भनाइ छ ।

उनका अनुसार ‘पोख्रेली सिसाकलम’ जस्ता वातावरणमैत्री उत्पादनले पोखरालाई सफा, सुन्दर र आत्मनिर्भर बनाउने अभियानमा सकारात्मक योगदान पु¥याएका छन् ।

महिला उद्यम, रिसाइकल र दिगोपन

महिला सीप विकास संस्था पोखराकी कार्यकारी निर्देशक रामकली खड्काले फोहोर कागजबाट सिसाकलम बनाउने प्रयासलाई महिला आर्थिक सशक्तीकरण, वातावरण संरक्षण र स्थानीय उद्यमशीलताको सकारात्मक उदाहरणका रूपमा लिएकी छन् ।

खड्काका अनुसार महिलाले उद्यम सुरु गर्दा परिवारको सहयोग नपाउने, आर्थिक स्रोतको अभाव हुने, बजार खोज्न कठिन हुने र समाजले साना उत्पादनमूलक कामलाई कम मूल्यांकन गर्ने जस्ता चुनौती सामना गर्नुपर्छ । उनी भन्छिन्, ‘उत्पादन बनाएर मात्र पुग्दैन । ग्राहकसम्म पुग्ने क्षमता, गुणस्तर, व्यवहार र निरन्तर बजार खोजी पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’

उद्यमको सुरुआती चरणलाई उनले सानो बच्चाको हेरचाहसँग तुलना गरिन् । उनका अनुसार सुरुवातमा धेरै मेहनत, धैर्य र समर्पण आवश्यक हुन्छ । एउटै क्षेत्रमा निरन्तर काम गर्दै गुणस्तर कायम राख्न सके मात्र स्थायी पहिचान स्थापित गर्न सकिन्छ । उनी भन्छिन् कि धेरै महिलालाई परिवारकै समर्थन प्राप्त गर्न कठिन हुन्छ । घरको जिम्मेवारी, सामाजिक हेपाइ र आर्थिक अभाव उद्यमशीलताका प्रमुख चुनौती हुन् ।

उनका अनुसार उद्यमको सफलताका लागि निरन्तरता, नवप्रवर्तन, सीप, बजार र संस्थागत सहयोग अपरिहार्य छन् । सहुलियतपूर्ण ऋण, सरल कर प्रणाली, सहज नवीकरण प्रक्रिया, कच्चा पदार्थमा सहुलियत तथा बजार व्यवस्थापनमा सहयोग उपलब्ध भए यस्ता उद्यम अझ दिगो बन्न सक्छन् ।

वातावरणविद् कुशल गुरुङका अनुसार ‘पोख्रेली सिसाकलम’ केवल पुनः प्रयोग गरिएको कागजबाट बनेको उत्पादन मात्र होइन, फोहोर व्यवस्थापन, वातावरण संरक्षण र स्थानीय आर्थिक विकासलाई एकसाथ जोड्ने चक्रीय अर्थतन्त्रको व्यावहारिक उदाहरण हो ।

उनले परम्परागत काठका सिसाकलम उत्पादनका लागि हुने रुख कटानले वन विनाश, जैविक विविधता र कार्बन अवशोषण क्षमतामा असर पु¥याउन सक्ने बताए । उनका अनुसार वन क्षेत्रले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले रुख संरक्षणसँग जोडिएका यस्ता प्रयासलाई सामान्य व्यवसायका रूपमा मात्र हेर्नु उचित हुँदैन । गुरुङले फालिने अवस्थामा पुगेका पत्रपत्रिकालाई पुनः प्रयोग गरेर सिसाकलम उत्पादन गर्नु दोहोरो लाभको अभ्यास भएको बताए ।

यसबाट फोहोरको मात्रा घट्नुका साथै नयाँ कच्चा पदार्थको माग कम हुन्छ र आर्थिक मूल्य पनि सिर्जना हुन्छ । उनका अनुसार फोहोर जहाँ उत्पादन हुन्छ, त्यहीँ व्यवस्थापन गर्नुपर्छ । नेपालको फोहोर व्यवस्थापन प्रणाली अझै पनि ‘संकलन गर, ढुवानी गर र ल्यान्डफिलमा फाल’ भन्ने सोचमा आधारित रहेको उनले बताए । गुरुङ भन्छन्, ‘फोहोर आफैंमा एउटा स्रोत हो । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सकियो भने वातावरण संरक्षणसँगै आर्थिक अवसर पनि सिर्जना हुन्छ ।’

उनका अनुसार समुदायस्तरमै पुनः प्रयोग, पुनर्चक्रण र अपसाइक्लिङ गर्न सके लागत घट्नुका साथै स्थानीय रोजगारी पनि सिर्जना हुन्छ । यस्ता अभ्यासलाई दिगो बनाउन नीति, बजेट, प्राविधिक सहयोग र बजार व्यवस्थापन आवश्यक रहेको उनको सुझाव छ ।

हरित अर्थतन्त्र र स्थानीय रोजगारीको आधार

पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत अर्थशास्त्री डा. लेखनाथ भट्टराई ‘पोख्रेली सिसाकलम’ जस्ता उद्यम केवल उत्पादनमूलक गतिविधि मात्र होइनन्, हरित अर्थतन्त्रका व्यावहारिक अभ्यास भएको बताउँछन् । उनका अनुसार प्रयोग भइसकेका सामग्रीको पुनः प्रयोगले वातावरणीय दबाब कम गर्नुका साथै आर्थिक मूल्य पनि सिर्जना गर्छ ।

थोरै लगानी र सामूहिक प्रयासबाट सुरु गर्न सकिने यस्ता उद्यमले स्थानीय रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनी भन्छन्, ‘सहरी क्षेत्रमा बेरोजगारी र गरिबी बढिरहेका बेला यस्ता साना उद्यमले मानिसलाई उत्पादनमूलक काममा जोड्ने र परिवारको आय बढाउने अवसर दिन सक्छन् ।’

उनका अनुसार स्थानीय स्रोतमा आधारित यस्ता उद्यम हरित अर्थतन्त्र र रोजगारीका आधार बन्न सक्छन् । सीप, प्रविधि, इन्क्युबेसन सेवा तथा बीजपूँजीको पहुँचले यस्ता प्रयासलाई दीर्घकालीन बनाउन मद्दत गर्छ ।

स्थानीय तथा प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जनामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । भट्टराईका अनुसार ‘पोख्रेली सिसाकलम’ जस्ता उत्पादनलाई स्थानीय पहिचान र मौलिकतासँग जोडेर ब्रान्डिङ गर्न सके बजार विस्तारको सम्भावना अझ बढ्न सक्छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम

यस्ता उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले उद्योग तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै आएको दाबी गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ‘उद्योगको विकास, प्रदेश समुन्नतिको आधार’ भन्ने संकल्पका साथ स्थानीय स्रोतमा आधारित उद्योग, महिला उद्यमशीलता, ब्रान्डिङ तथा बजारीकरणलाई प्राथमिकता दिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा विपन्न महिलाको आर्थिक सबलीकरणका लागि ‘एक महिलाः एक सीप’ कार्यक्रम सञ्चालन गरी उद्योग स्थापना र बजारीकरणमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

यो उद्यमले महिलालाई आम्दानीसँगै सीप, आत्मविश्वास र सामूहिक रूपमा काम गर्ने अवसर दिएको छ । उद्यमी शान्ति अधिकारीका शब्दमा, ‘देशमा केही छैन भनेर विदेशिनेभन्दा आफ्नै ठाउँमा साना उद्यम गरेर पनि सफल हुन सकिन्छ ।’ उनीहरूका लागि फोहोर अब फाल्ने वस्तु मात्र होइन, उत्पादन र अवसरको स्रोत बनेको छ ।

कागजका सिसाकलम काठका सिसाकलमभन्दा वातावरणमैत्री विकल्प मानिन्छन् । रिसाइक्लिङसम्बन्धी अन्तर्राष्ट्रिय तथ्यांकका अनुसार एक टन पत्रिका पुनः प्रयोग गर्दा १७ वटा परिपक्व रुख काटिनबाट जोगिन्छ । यद्यपि यो संख्या कागजको प्रकार र प्रयोग गरिएका कच्चा पदार्थअनुसार फरक पर्न सक्छ ।

आवश्यक नीति, बजार र संस्थागत सहयोग प्राप्त भए यस्ता साना तर सिर्जनशील प्रयासले वातावरण संरक्षण, स्थानीय रोजगारी, हरित अर्थतन्त्र र महिला आत्मनिर्भरतामा अझ ठूलो योगदान दिन सक्छन् ।

‘पोख्रेली सिसाकलम’ केवल एउटा सिसाकलम होइन । यो फालिएको पत्रिकाले पाएको दोस्रो जीवन हो । साथै, सिर्जनशील सोच, सामूहिक प्रयास र आत्मनिर्भरताको एउटा अर्थपूर्ण उदाहरण पनि हो ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21860, citypokhara.com

खानेपानी माग्दै होटलकर्मी खानेपानी संस्थानमा

पोखरा । पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले झण्डै पाँच अर्ब रुपैयाँ खर्च गरेर खानेपानी आयोजना सम्पन्न गरे पनि पानी अभाव हुनु साह्रै लाजमर्दो विषय भएको होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले बताए । पोखरामा २० वर्ष खानेपानीको अभाव हुन्न भनेर जाइकाले आयोजना बनाइदिए पनि धारामा पानी नआएपछि व्यवसायी र पोखरेली आक्रान्त बन्नु परेको परराजुलीले दुःखेसो पोखे ।

‘दिनदिनै ट्यांकरमा पानी किनेर व्यवसाय चलाउनुपरेको छ,’ होटल संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका पराजुलीले भने, ‘पर्यटकीय राजधानी भनेपछि कम्तिमा खानेपानी त दिनुस् ।’ खानेपानी अभाव हुनुको कारणबारे बुझ्न आफूहरु संस्थान पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
ठूलो आयोजना सम्पन्न भएपनि खानेपानीको मुहान मर्दीखोलाबाट पोखरासम्म आउने मुख्य पाइप नै सानो हुँदा समस्या भएको संस्थानका इञ्जिनियर लक्ष्मण पाण्डेले बताएको सल्लाहकार परिषद् संयोजक पराजुलीले जानकारी दिए ।
‘जाइका मार्फत् ठूलो रकम खर्च गरेर पनि पानी दिन नसकिएको स्वयं संस्थानका इञ्जिनियले बताए’, पराजुलीले भने, ‘ठूलो पाइप राख्ने माग तपाइँहरुले नै सरकारसँग गरिदिनुपर्यो भनेर इञ्जिनियले उल्टो हामीसँग आग्रह गरे ।’

समस्या समाधानका लागि पोखरा महानगरपालिका र प्रदेश सरकारले गंभीर भएर ध्यान दिनुपर्ने पराजुलीको सुझाव छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ठूलो पाइप राख्नका लागि बजेट छुट्याउनुपर्ने माग पराजुलीको छ । मेयर र मुख्यमन्त्रीले यसमा इनिसियसन लिनुपर्छ, उनले भने । पानी अभावका कारण धाराहरुमा लामो लाइन देखिने गरेको उनले बताए ।

पोखरेलीलाई प्रशोधित पानी पु¥याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जाइकाले नेपाल सरकारलाई २०८१ मंसिरमा हस्तान्तरण गरिसकेको छ ।
यो आयोजना बनाउन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लगानी भएको छ । आयोजना अन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक ८ करोड लिटर भन्दा बढी पानीको माग छ ।
पोखराको मुख्य पानीको श्रोत १२ किलोमिटर उत्तरको मर्दिखोला हो । पुरुञ्चौरमा शुद्धीकरण गरिएको पानी वितरणका लागि २० इन्चका चारवटा पाइपबाट पोखरामा ल्याइएको छ ।
यसका लागि २० लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिएको भए पनि हाल पोखरा– ५ पस्र्याङ र पोखरा– ११ फूलबारीबाट पानी वितरण हुँदै आएको छ । पोखरा– १५ कोलपाटनको ट्यांकी भने प्राविधिक कारणले संचालनमा आउन सकेन ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21881, citypokhara.com

खेल पत्रकारलाई एआई तालिम

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ तालिम सुरु भएको छ ।

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबार सकिनेछ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् ।

तालिम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्ने बताइन् । प्रविधिले विश्वलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज) मा परिणत गरिसकेको भन्दै उनले पत्रकारितामा एआईको प्रयोगले कार्यक्षमता वृद्धि गर्ने धारणा राखिन् । उनले भनीन्, ‘पत्रकारितामा एआई हाम्रो विकल्प खोज्न आएको होइन, तपाईंको क्षमतालाई दशौँ गुणा गुणात्मक बनाउनका लागि आएको हो, यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’

तथ्य जाँच (फ्याक्ट चेक) मा शुद्धता ल्याउन र नेपाली सञ्चार सामग्रीलाई विश्वव्यापी पहुँचमा पु¥याउन एआईले महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क थियो । पत्रकारितामा तथ्यांक र एल्गोरिदमको युग सुरु भइसकेकाले अब पुरानै ढर्रामा रमाएर बस्न नहुने उनको भनाई थियो ।

प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएको अल्छीपन र ‘काम गरिदिनुस् न’ भन्ने जस्ता परनिर्भरतालाई त्यागेर सक्रियता बढाउनुपर्ने बताइन् ।

गण्डकी प्रदेश सरकारले आमसञ्चार क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिँदै उनले आगामी दिनमा पोडकास्ट, मल्टिमिडिया र डाटा पत्रकारिताका लागि करिब ८ हप्ताका विशेष कोर्षहरू सञ्चालन गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारलागतयले तालिमले गण्डकी प्रदेशको खेल पत्रकारितालाई नयाँ उचाइमा पु¥याउने र समाचारको गुणस्तरमा यसको प्रभाव देखिने बताएका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पर्शुराम शर्माले गरेका थिए । तालिममा सहभागीहरुलाई उपाध्यक्ष राजाराम पौडेलले स्वागत गरे ।

२ दिनसम्म सञ्चालन हुने तालिममा ६५ खेल पत्रकार सहभागी छन् । उनीहरुलाई पत्रकार अजय शर्मा र सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकाली प्रशिक्षण दिनेछन् ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21878, citypokhara.com

फोहोर उठाउँदै भविष्य जोडेका महिलाहरु

बालकुमारी पौडेल/पोखरा ।
घरबाहिर निस्केर आर्थिक गतिविधिमा संलग्न हुनु महिलाका लागि चुनौतीपूर्ण मानिन्छ । तर, यी चुनौतीलाई अवसरमा बदलेका छन् पोखरा ७ मा बसोबास गर्ने ५ महिलाहरुले । फालिएका प्लास्टिकका बोटलहरु संकलन गर्ने र बिक्री गर्ने काम हेर्दा सामान्य देखिए पनि महिलाहरुको लागि रोजगारीको आधार बनेको छ । यो उद्यम फोहोर व्यवस्थापन मात्र होइन, महिलाको आर्थिक सशक्तीकरण, आत्मसम्मान र सामाजिक रूपान्तरणको उदाहरण पनि हो । यसले अन्य महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिएको छ । संगीता शर्माको नेतृत्वमा पोखरा–७ मा सञ्चालित यस उद्यमले ‘फोहोरलाई मोहोरमा बदलौं’ भन्ने भनाईलाई सार्थकता दिएको छ ।

समाजसेवाबाट उद्यमसम्मको यात्रा

यस यात्रामा सहयात्री बनेर लागेका महिलाहरु समूहकी संयोजक संगिता शर्मा, बुद्धिमाया गुरुङ, विमला श्रेष्ठ, शोभा थापा र लालकुमारी गुरुङ हुन् । सुरुमा वातावरणीय सरसफाईलाई महत्व दिएका उनीहरुले गत असोजमा “बोटल बैंक सञ्चालन समूह” नामक संस्था दर्ता गरेर नै व्यवस्थित रूपमा काम थालेका हुन् ।

सुरुवातमा २०७४ सालदेखि माछापुच्छ्रे महिला क्लबले पोखरा–७ मा फोहोर व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएको थियो । उनीहरुले पोखरा वृहत सरसफाई अभियानमा लागेर सरसफाई कार्यक्रममार्फत जनचेतना फैलाउने काम गरे । सुरुमा महिलाहरुले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर कवाडीमा बिक्री गर्न थाले । यसरी बिक्री गरी संकलन गरिएको करिब ४० हजार रुपैयाँ संस्थाको खातामा जम्मा भएपछि आफुहरुमा आत्मविश्वास बढेको बताउँछिन् संयोजक शर्मा । कोभिड–१९ को महामारी हुदा संक्रमणको डर र फोहोर जम्मा हुँदा आउने जोखिमकाबीच केहि समय काम रोकिए पनि पछि उनीहरु त्यसमै लागि परे । यो काम व्यवसायिक भन्दा पनि वातावरण सरसफाईमा केन्द्रित थियो ।

यसै क्रममा गत वैशाखमा पोखरा महानगरपालिका र विभिन्न साझेदारी संस्थाहरुसँगको सहकार्यमा फोहोर रिसाइकलिङ, अपसाइकलिङ र उद्यमशीलतासम्बन्धी तालिममा संगिता शर्मा सहभागी भईन् । यसपछि असारमा भएको दोस्रो चरणको तालिममा फोहोरबाट व्यवसाय गर्ने सीप सिकाइयो । जुन तालिममा संगिता शर्मा र बुद्धिमाया गुरुङ सहभागि थिए । त्यसपछि उनीहरुले “वातावरण सफा राखौं, जनचेतना फैलाऔं” भन्ने उद्देश्यसहित ‘बोटल बैंक सञ्चालन समूह’ स्थापना गर्ने निर्णय गरे । जसमा थप तीन जना महिला जोडिए ।

यस उद्यमका लागि जिसिआरयु (GCRU) ले करिब ६ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग ग¥यो । उनीहरुले भदौदेखि सात वर्षका लागि मासिक चार हजार रुपैयाँ भाँडा तिर्ने गरी जग्गा भाडामा लिएर काम सुरु गरे । उनीहरुले ट्रस निर्माणका लागि चार लाख रुपैयाँ सामूहिक रुपमा लगानी गरे । यसमा स्थानीय तहबाट भने अझै आवश्यक सहयोग पाउन नसकेको अवस्था छ ।

बोटल संकलन र बिक्री प्रकृया

बोटल बैंकमा महिलाहरु प्लास्टिकका बोटलहरु मात्र हैन् पेय पदार्थका बोटल र प्लाष्टिक पनि संकलन गर्छन् । पहिला पानीका बोटल मात्र संकलन गर्ने गरिएतापनि स्थानियवासीको आग्रह अनुसार उनीहरुले नकुहिने अन्य वस्तुहरु पनि संकलन गर्ने गरेका हुन् । उनीहरुले संकलन गरेका करिब १० हजार केजी बोटलहरु नीजि उद्योगमा बिक्री गरिसकेका छन् । त्यसबाहेक प्लास्टिक, बियरको बोटल, क्यान गरी ९ सय केजी भन्दा बढि बिक्री गरिएको छ । सामानकोे प्रकारअनुसार प्रतिकेजी फरक–फरक मूल्यमा बिक्री हुन्छ । कुनै पनि सामानहरुको निश्चित बिक्री मूल्य निर्धारण भएको छैन् । तर पनि नीजि कम्पनीले दिएको मूल्यमा आफूहरु सन्तुष्टि मान्ने गरेको महिलाहरु बताउँछन् ।

उनीहरू पार्टी प्यालेस, होटल, सडकछेउ र स्थानीय क्षेत्रबाट बोटल संकलन गर्छन् । फालिएका सामानहरु मात्र संकलन र बिक्री गर्ने मात्र नभइ सामानको प्रकृति र परिमाण हेरेर निश्चित मूल्यमा खरिद पनि गर्छन् । कहिले स्थानीयवासीले बोटल बैंकसम्म नै सामानहरु ल्याइदिन्छन् ।

हाल महिलाहरूले औसतमा मासिक ५–६ हजार रुपैयाँ कमाइरहेका छन् । गर्मी मौसममा यो आम्दानी १० हजार रुपैयाँसम्म पुग्ने अनुमान छ । भविष्यमा प्रत्येक सदस्यले मासिक १० हजार रुपैयाँ कमाउने उनीहरुको लक्ष्य छ ।

व्यवसायका अलवा यस समूहले टोलका १ सय ५ घरधुरीमा कुहिने र नकुहिने फोहोर छुट्याउने कम्पोस्ट विन वितरण गरेको छ । सबै सामग्री निःशुल्क उपलब्ध गराइएको हो । यस अभियानबाट वडा नम्वर ७ का धेरै घरमा कौसी खेतीसमेत सुरु भएको छ ।


 ‘फोहोर उठाउँदा आत्मसम्मान घट्दैन । बरु आत्मनिर्भर भएको महसुस हुन्छ ।’ महिलाहरु भन्छन्, ‘फोहोरमा मोहोर छ भनेर गर्वका साथ भन्न सक्ने भएका छौं ।’


फोहोर उठाउँदै भविष्य जोडेका महिलाहरुसामूहिक काम, पारिवारको साथ

फोहोर व्यवस्थापनलाई आम्दानी र आत्मनिर्भरतासँग जोड्दै उदाहरणीय काम गरिरहेका महिलाहरुले यो उद्यममा लाग्नको लागि आ—आफ्नो परिवारको पूर्ण साथ र सहयोग पाएका छन् । पारिवारिक सहयोग, सामूहिक प्रयास र निरन्तर संघर्षका कारण उनीहरू आज समाजका लागि प्रेरणाको स्रोत बनेका छन् ।

फरेष्टर श्रीमानको साथ र सहयोगबाट उद्यममा लागेकी समूहकी संयाजेक शर्मा आफूहरु यो व्यवसायको लागि छनोट हुदाको खुसीको क्षण स्मरण गर्छिन् । जसमा उनलाई चार जना साथीले दिएको साथ अमूल्य भएको बताउँछिन् । ‘घरको सबै काम सकेर बाँकी समयको सदुपयोग गरेर व्यवसाय गरेका छौँ । यसले पारिवारिक जिम्मेवारीमा असर नगरी आर्थिक योगदान दिएको छ ।’ उनी भन्छिन् ‘पहिला हामी सामाजिक सेवाको रूपमा काम गथ्र्यौं । अहिले फोहोरमा मोहोर (आम्दानी) देखेर काम थालेका छौं ।’

बुद्धिमाया गुरुङ फोहोरमा पनि सम्भावना देखेको बताउँछिन् । ‘हामीलाई कतिपयले कवाडीको रूपमा हेर्छन्, तर हामी वातावरण जोगाउँदै उद्यमी बन्न चाहन्छौं ।’ उनी भन्छिन्, ‘एक्लैले गर्न सकिँदैन, सामूहिक रूपमा लाग्नुपर्छ ।’

फोहोर व्यवस्थापनबाट आम्दानीसँगै वातावरण पनि सफा भएको लालकुमारी गुरुङको भनाई छ । ‘घरको काम सकेर समय निकाल्छु । परिवारको पूर्ण साथ छ,’ उनी भन्छिन् । वैदेशिक रोजगारबाट फर्केका श्रीमानको सहयोगसमेत पाएकी लालकुमारी विस्तारै उद्यमी बन्ने सोचमा छिन् ।

शोभा थापालाई वडा सदस्य श्रीमानको साथ छ । उनी यस उद्यममा दृढ भएर लागिरहेकी छन् । उनी भन्छिन् ‘नगरपालिकाको गाडीमा पैसा तिरेर फोहोर फाल्नुपर्छ । तर वर्गीकरण गरे मल बन्छ, आम्दानी पनि हुन्छ ।’

श्रीमान जागिरे भए पनि पूर्ण साथ रहेको बताउने विमला श्रेष्ठ काम सानो–ठूलो हुँदैन भन्नेमा विश्वास गर्छिन् । लगानी गरेपछि जिम्मेवारी पनि बढेको बताउँदै उनले स्थानीयवासीलाई फोहोर संकलनमा सहयोग गर्न आग्रहसमेत गरेकी छन् ।

चुनौतीहरू

सामुहिक उद्यममा लागेका उनीहरू ७ नम्बर वडा र पोखरा महानगरमै नमूना बन्ने लक्ष्यसहित अघि बढिरहेका छन् । तर उनीहरु सामु चुनौती पनि उतिकै छ । उद्यम सञ्चालन गर्न फोहोर संकलन गर्ने ठाउँका लागि जग्गा पाउन उनीहरुलाई निकै गाह्रो भयो । जग्गा पाइहाले पनि फोहोर थुपार्ने हुनाले घर वरिपरि दुर्गन्धित हुन्छ भन्ने जस्ता अनावश्यक अफवाहले उनीरुलाई ठूलैै समस्या सिर्जना गर्यो ।

उनीहरुले सामाजिक सोचको पनि चुनौती सामाना गरे । अन्य पेशा व्यवसाय गर्न छोडेर फोहोर बटुलेर उद्यमी बन्छौ भनेर लागेका छन् भन्ने अरु व्यक्तिहरुको भनाईलाई उनीहरुले शक्तिमा बदलेर अघि बढे । फोहोर वर्गीकरण गर्न धेरै व्यक्तिहहरुले अल्छी गर्ने, दर्ता प्रक्रिया झन्झटिलोे, मूल्य निर्धारणमा निजी कम्पनीको मनपरी जस्ता समस्या पनि उनीहरुले भोगेका छन् । यो परियोजना सकिएपछि पनि टिकाइराख्न स्थानीय सरकारको दीर्घकालीन सहयोग, उचित मूल्य निर्धारण, पूर्वाधार र नीति आवश्यक रहेको उद्यमी महिलाहरुको भनाई छ ।


समाजमा पैसा कमाउन सजिलो भए पनि सम्मान पाउन गाह्रो हुने उनीहरूको अनुभव छ । तर कामको निरन्तरताले सोच परिवर्तन हुँदै गएको छ ।


भावी योजना

बोटल बैंक सञ्चालन समूहका महिलाहरुले अरुबाट पाएको आर्थिक सहयोगको सही सदुपयोग गर्दै यस व्यवसायबाट नै सफल उद्यमी बनेर स्थापित हुने सोच राखेका छन् । यिनै कच्चा पदार्थहरुबाट नयाँ प्रविधि प्रयोग गरि नयाँ वस्तुको उत्पादन र बिक्री गर्ने दीर्घकालिन लक्ष्य उनीहरुको छ । उनीहरुले बिमा र आकस्मिक कोष सञ्चालन, महिला उद्यमीका लागि कर छुट र सहज दर्ताको लागि पहल गर्ने जस्ता योजनाहरू बनाएका छन् ।

निकट भविष्यमै वडा नम्वर ७ भित्रका प्रत्येक सरकारी कार्यालयहरूमा एक/एक वटा केज राख्ने योजना छ । तत्कालका लागि १५ वटा कार्यालयमा बोटल संकलनका लागि केज राख्ने पहल भइरहेको छ ।

हालै मात्र पनि यो समूहले टुरिस्ट बसपार्कमा सबै प्रकारका फोहोर राख्नको लागि छुट्टाछुट्टै केज राख्ने तयारी गरिरहेको छ । पार्क र सार्वजनिक स्थानमा समेत जनचेतना अभियान चलाइएको छ । विद्यालयमा जनचेतना कार्यक्रम गर्ने पनि उनीहरुको योजना छ ।

थोरै लगानी, निरन्तर मेहनत र संस्थागत सहयोगले महिलालाई आत्मनिर्भर बनाउँछ भन्ने उदाहरण “बोटल बैंक सञ्चालन समूह”का यी महिलाहरुले प्रस्तुत गरेका छन् । फोहोरलाई आम्दानीको स्रोत बनाउँदै वातावरण संरक्षण, आर्थिक सशक्तीकरण र सामाजिक परिवर्तनबीचको सम्बन्ध उनीहरुले कामबाट देखाएका छन् ।
फोटो खिचेर देखाउने वजेट भन्दा पनि संघर्ष, लगनशीलता र आत्मविश्वासका साथ अघि बढ्न चाहाने महिलाहरूलाई निरन्तर सहयोग प्राप्त भएमा उनीहरु सफल र दिगो उद्यमी बन्न सक्छन् । २०८२ चैत्र ११ गते अन्नपूर्ण पोष्टमा प्रकाशित फिचर स्टोरी ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21855, citypokhara.com

पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर

पोखरा । पोखरामा नेपालकै ठूलो एक्सचेन्ज इभेन्टका रूपमा दाबी गरिएको ‘यामाहा फेस्ट’ सुरु भएको छ। नेपाली ग्राहकहरूमाझ लोकप्रिय यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एम.ए.डब्लु राइड्स प्रा.लि. को⁠ पोखरास्थित आधिकारिक विक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.ले इभेन्ट आयोजना गरेको हो।

पोखरा–१० स्थित रंगशाला गेट नम्बर २ नजिकको खेल मैदानमा सञ्चालन भइरहेको इभेन्ट असार १० गतेसम्म जारी रहने आयोजकले जनाएको छ।

इभेन्ट अन्तर्गत ग्राहकहरूले पुराना सवारी साधन एक्सचेन्ज गर्दा हाई भ्यालु एडिसन वापत ८ हजार रुपैयाँ र स्योर–सट क्यास डिस्काउन्ट अन्तर्गत थप ६ हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै नयाँ सवारी साधन खरिद गर्ने ग्राहकलाई दुई वर्षसम्मको सवारी कर निःशुल्क तथा पाँच वर्षसम्म निःशुल्क सर्भिस सुविधा उपलब्ध गराइनेछ।

इभेन्ट अवधिभर अवलोकनका लागि आउने ग्राहकहरूका लागि विभिन्न डोर प्राइजको व्यवस्था गरिएको छ। साथै लक्की ड्रमार्फत आईफोन १७ प्रो म्याक्स जित्ने अवसर पनि रहेको आयोजकले जनाएको छ।

भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक सरोज श्रेष्ठले ग्राहकलाई अधिकतम लाभ उपलब्ध गराउने उद्देश्यले विशेष योजना ल्याइएको बताए। ग्राहकमैत्री सेवा र आकर्षक अफरमार्फत ग्राहकलाई थप सुविधा प्रदान गर्ने प्रतिबद्धताअनुसार इभेन्ट आयोजना गरिएको उनको भनाइ छ।

एम.ए.डब्लु राइड्स प्रा.लि.का रिजनल म्यानेजर राम बोगटीका अनुसार मेलामा १२५ सिसीको रे जेडआर स्कुटर, १४९ सिसीको एफजेड सिरिज तथा १५५ सिसीका उच्च प्रदर्शनयुक्त विभिन्न मोटरसाइकल भेरियन्टहरू उपलब्ध छन्।

मेलामा सरल प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमा विशेष फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ। ‘यामाहा लैजाऔँ, घरमा नागरिकताकै भरमा’ योजना अन्तर्गत ग्राहकहरूले सहज रूपमा सवारी साधन खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यामाहाका मोटरसाइकल तथा स्कुटरहरू अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधियुक्त रहेको कम्पनीको दाबी छ। उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन, इन्धन दक्षता तथा सहज राइडिङ अनुभवका कारण यामाहा नेपाली बजारमा लोकप्रिय ब्रान्डका रूपमा स्थापित हुँदै आएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21851, citypokhara.com

समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय

पोखरा । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरु विद्यार्थीको अभावका कारण अस्तित्व संकटमा परिरहेका वेला यहाँको एउटा आधारभूत विद्यालय स्थानीय समुदायको सकृयताले जोगिएको छ । विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको पोखरा २८ को भुर्तेल आधारभूत विद्यालय समुदायको सक्रियतामा स्थानान्तरण गरेर जोगाइएको हो ।
वि.स.२०२० सालमा गाउँको उच्चस्थान सिम्ले चौतारामा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि वेगनासतालको जलाधार क्षेत्र स्याङ्गखुदीमा सारेर सञ्चालन गरिएको हो । विद्यालय स्थानान्तरण गर्न स्थानीयले गाँस काटेर आर्थिक सहयोग जुटाएका हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज भुर्तेलका अनुसार २४ लाख रुपैयाँमा १२ आना जग्गा खरिद गरिएको जमिनसंग जोडिएको करिव पाँच रोपनी सार्वजनिक जग्गामा विद्यालयको नयाँ भवन निर्माण गरेर सञ्चालन गरिएको छ । विद्यालयमा हाल २८ जना विद्यार्थी अध्ययनरत छन् ।
स्याङखुदी खोलाको तटमा रहेको उक्त जग्गामा १९ लाखको लागतमा निर्माण गरिएको सात कोठे ट्रष्ट भवनमा कक्षा पाँच सम्मको पढाई सञ्चालन भएको उहाँले भन्नुभयो, पोखरा २८ को १४ लाख रुपैया र पाँच लाख बराबरको स्थानीय जनसहभागिता परिचालन गरि भवन निर्माण सम्पन्न गरिएको हो ।
  पोखरा महानगर शिक्षा महाशाखाको एक लाख रुपैयाको आर्थिक सहयोमा भवनको सुरक्षाका लागि कम्पाउण्ड वाल निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टिकाराम लामिछानेले जानकारी दिए । विभिन्न तीन वटा सामुदायिक वन उपभोक्ता समुहले आवश्यक काठ उपलव्ध गराएका थिए ।
पुर्खाले आप्mना छोरा छोरी उज्यालो शिक्षाको घामवाट बञ्चित नहुन भनेर स्थापना गरेर सञ्चालन गरेको विद्यालय विद्यार्थीको अभावमा अन्यत्र मर्ज हुने अवस्थामा पुगेपछि स्थानीय वासिन्दाको आम भेलाले गाउँको विद्यालय वेसीमा सार्ने सर्वसम्वत निर्णय गरिएको बताउँदै लामिछानेले भन्नुभयो, विद्यालयमा गुणस्तरीय शिक्षा र यातायातको लागि भ्यान समेत खरिद गरिएपनि टाँढाको निजी विद्यालय छोराछोरी पाठाउने क्रम अहिले पनि रोकिएको छैन ।
सामुदायिक विद्यालयहरु बन्द हुने क्रम बढिरहेका वेला भुर्तेल आधारभूत विद्यालयको संरक्षण र विकासका लागि स्थानीय तह तथा समुदायले गरेको पहललाई उदाहरणीय प्रयासका रुपमा हेरिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21848, citypokhara.com

रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठी लाई लायन्स क्लब अफ पोखरा हेम्जाले सम्मानपत्रसहित सम्मान गरेको छ।
क्लबद्वारा आयोजित विशेष कार्यक्रममा त्रिपाठीको नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेम्जाका निर्देशक समेत हुन्।

सम्मान ग्रहण गर्दै त्रिपाठीले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउँदै समाज र राष्ट्रप्रतिको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले लायन्स क्लबसँगको मित्रता, सहकार्य र सामाजिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे।रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान

कार्यक्रममा क्लबका सचिव लायन कृष्णमान श्रेष्ठ र लियो लायन मनोज त्रिपाठीको जन्मदिनको अवसरमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो।

उक्त अवसरमा लायन्स वर्ष २०२५/२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेल, संस्थापक अध्यक्ष लायन तीर्थबहादुर थापा, निवर्तमान अध्यक्ष लायन सन्तमान श्रेष्ठ, प्रथम उपाध्यक्ष लायन सुरेन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष लायन नवराज त्रिपाठी तथा लियो लायन विष्णुप्रसाद दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित व्यक्तित्वको सफल कार्यकाल र सामाजिक योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सम्मानित नवीन त्रिपाठी, सचिव कृष्णमान श्रेष्ठ तथा लियो लायन मनोज त्रिपाठीलाई उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफल जीवनको शुभकामना व्यक्त गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21844, citypokhara.com