Breaking News
नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण

काठमाडौं ।

प्रेस काउन्सिल नेपालमा आज पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिताको अक्षरस पालना भएमा सञ्चार माध्यमको विश्वसनीयता झनै बढ्ने बताउनुभयो । पत्रकार तथा सञ्चार माध्यमले सूचना प्रविधिको विकाससँगै बढेको दुष्प्रचारलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । एआइ लगायतका प्रविधिहरूलाई सहयोगी मात्र बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा स्रोत व्यक्ति रहनुभएका रत्नराज्य क्याम्पसका उपप्रध्यापक एवं आमसञ्चार र पत्रकारिता विभाग प्रमुख डा.जगत नेपालले पत्रकार आचारसंहिताबारे जानकारी गराउनुभएको थियो । उहाँले पछिल्लो समय प्रविधिको विकासकै कारण स्वरोजगारमूलक सञ्चार माध्यमहरू र मूलधारका सञ्चार माध्यम भन्ने भाष्य हट्दै समानरूपमा बुझ्न थालिएको उल्लेख गर्नुभयो । प्रविधिलाई सहीरूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसलाई अवसर र चुनौतीका रूपमा लिनुपर्ने बताउनुभयो । आचारसंहिताका व्यवस्थाबारे प्रष्ट पार्दै उहाँले तथ्यगत पुष्ट्याईंबेगरका सामग्री सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभयो । काम गर्दै जाँदा त्रुटी भएमा तत्काल सच्याउनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय केही सञ्चार माध्यमले भ्युजका लागि अश्लील र गालीबेइज्जतीलाई प्रश्रय दिइरहेकोमा चिन्ता व्यक्त गर्दै यसले समग्र सञ्चार माध्यम र पत्रकारको विश्वसनीयता गुम्नेमा सचेत रहन ध्यानाकर्षण गराउनुभयो । एकपटक विश्वसनीयता गुमेका सञ्चारमाध्यम फेरि पुरानै अवस्थामा फर्कन कठिन हुने भन्दै क्षणिक लाभ नहेरेर तथ्यपरक, विश्वसनीय पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा अर्का स्रोत व्यक्ति पत्रकार थमन प्रसाद भुसाल (टिपि भुसाल)ले निर्देशिकाहरूबारे स्पष्ट पार्नुभएको थियो । बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिक सञ्चार निर्देशिका, २०७८मा उल्लेख भएका व्यवस्थाबारे जानकारी गराउँदै उहाँले सत्य र तथ्यको फरक छुट्याउनुपर्ने बताउनुभयो । भाइरल सामग्रीले केही क्षण दर्शकको ध्यान खिच्न सक ेपनि दीर्घकालीन नहुने बताउनुभयो । आचारसंहिता पालना भएमा मात्र व्यावसायिक साख जोगिने र कानुनी कारबाही र विवादबाट मुक्त हुन सकिने बताउनुभयो । पत्रकार पनि आम नागरिकसरह भएकोमा जोड दिँदै कानुनी अज्ञानता क्षम्य नहुने बताउनुभयो ।

कार्यक्रममा चालु आर्थिक वर्षमा सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चार माध्यम सञ्चालनका लागि अनुमति लिएका सञ्चार माध्यमका सम्पादक र सञ्चालकहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले काउन्सिलबाट हुने कामकारबाही बारे जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा र उठेका प्रश्नहरूको जवाफ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले दिनुभएको थियो । साथै उहाँले काउन्सिलको अनुगमन र उजुरी सुनुवाई का साथै पछिल्लो समय देखिएका प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा काउन्सिलका लेखा अधिकृत सिर्जना घिमिरेले सूचीकरणपश्चात अनलाइन सञ्चार माध्यमहरूले न्यूज पोर्टल सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण शाखा अधिकृत सुवास राईले गर्नुभएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/06/15/11822/, www.presscouncilnepal.gov.np

दोस्रो पोखरा खेलकुद महोत्सव सुरु, ११ खेल समावेश

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा ‘दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल २०८३’ शनिबारदेखि औपचारिक रूपमा सुरुवात भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी तथा प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजित महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले खेलकुद व्यक्तिगत स्वास्थ्य, अनुशासन र समग्र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको बताए। विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रवर्द्धन गर्न सकिए भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो। महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षका बाँकी खेल गतिविधि सम्पन्न गर्ने क्रममा खेल महोत्सव आयोजना गरिएको र आगामी वर्ष पनि खेल क्षेत्रलाई विशेष प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले महोत्सव असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिए । उनका अनुसार महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता र पाँच वटा ग्रासरुट तहका खेल कार्यक्रम रहेका छन् । साथै ह्विलचियर बास्केटबल, बौद्धिक अपाङ्गता दौड, बोसिया तथा दृष्टिविहीन क्रिकेट जस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन् ।

कार्यक्रममा खेलकुद विकास समितिका सल्लाहकार तेजबहादुर गुरुङ, समितिका सदस्य पोषण बहादुर थापा लगायतले खेलकुदको विकास र समावेशी सहभागिताको महत्वबारे धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारी ले गरेका थिए।

महोत्सवअन्तर्गत दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ। यस प्रतियोगितामा टिम ‘बी’ विजेता तथा टिम ‘ए’ उपविजेता बनेका  थिए । विजेता टोलीले २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले १० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

यसैबीच, मार्सल आर्ट फेस्टिभल २०८३ अन्तर्गतको मुवाथाई प्रतियोगिताको समेत महानगर प्रमुख आचार्यले उद्घाटन गरेका छन्। सो अवसरमा अन्तर्राष्ट्रिय मुवाथाई प्रशिक्षक दीपक श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा सांस्कृतिक नृत्य प्रस्तुतिले थप आकर्षण थपेको थियो। खेलकुद महोत्सवले खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीलाई उत्साहित बनाएको आयोजकको भनाइ छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21840, citypokhara.com

महिला पत्रकारका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण सुरु

पोखरा । सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालयको सहयोगमा महिला पत्रकारहरूका लागि दुई दिने ’आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण’ कार्यक्रम शनिबारदेखि पोखरामा सुरु भएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले परिस्थिति अनुसारको मनस्थिति बनाउन आध्यात्मिक ज्ञानको ठुलो आवश्यकता रहेको औँल्याइन् । अब सरकारले समेत स्वास्थ्य क्षेत्रमा काउन्सिलरहरू राखेर काम गर्नुपर्ने समय आइसकेको उल्लेख गर्दै उनले पत्रकारिताको बद्लिँदो स्वरूप र चुनौतीपूर्ण समाजमा सूचनाको होडबाजीमा लाग्दा पत्रकारले आफ्नो लागि समय छुट्याउनु एकदमै जरुरी रहेको बताईन् ।

प्रतिस्पर्धी समाजमा नकारात्मक सञ्जालमा नलागी आत्म–करुणाका साथ एकआपसमा एकता कायम गरी मानसिक र व्यावहारिक कार्यक्षमतालाई निखार्नुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ’जबसम्म पत्रकारको मस्तिष्क शान्त, सन्तुलित र केन्द्रित हुँदैन, तबसम्म उसले समाजलाई दिने सूचना पनि पूर्ण रूपमा सन्तुलित हुन सक्दैन।’ यससँगै हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्ने वातावरण पूर्ण रूपमा बनिनसकेको तर बिस्तारै यसबारे चेतना जाग्दै गएको उनले बताइन् ।

कार्यक्रममा प्रशिक्षक ब्रह्माकुमारी मञ्जु राउत (मञ्जु दिदी) ले आध्यात्मिकता भनेको के हो ? र यसलाई जीवन जिउने कलाका रूपमा कसरी अपनाउने ? भन्ने विषयमा गहन प्रशिक्षण दिइन् । ’महिला पत्रकार र आध्यात्मिक सशक्तीकरण’ विषयमा केन्द्रित रहँदै उनले महिलाहरूलाई आत्मविश्वासी, सक्षम र आत्मनिर्भर बनाउन आन्तरिक आत्मिक शक्ति (सोल पावर) जागृत गराएर समाजमा बलियो व्यक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइन् ।

उनले पत्रकारहरू केवल समाचार लेखक वा वाचक मात्र नभएर समाज परिवर्तनका संवाहक समेत भएकाले अब आध्यात्मिक र मानसिक स्वास्थ्यका विषयमा खुलेर लेख्न र आवाज उठाउन आवश्यक रहेको बताइन् ।

त्यसैगरी, कार्यक्रममा तनाव व्यवस्थापन तथा स्व–हेरचाह (सेल्फ केयर) का बारेमा विशेष प्रशिक्षण दिँदै वरिष्ठ पत्रकार बबिता बस्नेतले व्यस्त र तनावपूर्ण पत्रकारिता जीवनमा ’आफूले आफूलाई सम्हाल्न सक्नु’ नै सबैभन्दा उत्तम उपाय भएको बताइन् । उनले थपिन्, ’हामीले पहिले आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ, अनि मात्र हामीले समाजलाई सही दिशा दिन सक्छौ ।’

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष राधिका कँडेलले यस कार्यक्रमले महिला पत्रकारहरूको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको मानसिक स्वास्थ्यलाई सबल बनाउन ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

‎प्रशिक्षणमा गरिएका विभिन्न अभ्यास तथा आध्यात्मिक खेलहरूमा सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो, जसले उनीहरूमा नयाँ ऊर्जा र सकारात्मक सोचको सञ्चार गराएको छ । आइतबारसम्म चल्ने उक्त प्रशिक्षणमा विभिन्न जिल्लाका ३७ जना महिला पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21837, citypokhara.com

कास्कीमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयनमा जोड

पोखरा । सरकारले आगामी २०८५ साल वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम सफल बनाउन कास्कीमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीद्वारा आयोजित कार्यक्रममा स्थानीय तह, शिक्षक, शिक्षा क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालको संविधान, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा राष्ट्रिय शिक्षा नीतिले व्यवस्था गरेका शिक्षासम्बन्धी अधिकार, दायित्व र कार्यान्वयनका रणनीतिबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा आधारभूत तहसम्मको शिक्षा सबै बालबालिकाको पहुँचमा पु¥याउने, विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान गर्ने, विद्यालय नक्साङ्कन, वैकल्पिक शिक्षाको व्यवस्था तथा समावेशी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो ।

कास्कीमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयनमा जोड

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका अतिरिक्त सचिव दामोदर सुवेदीले शिक्षासम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउँदै सरकारले अघि सारेको कार्ययोजना सफल बनाउन सबै सरोकारवालाको साझा दायित्व रहेको बताए । उनले कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौती समाधानका लागि सबै पक्ष सजग र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कार्ययोजनाबारे जानकारी गराउँदै कास्कीका पोखरा महानगरपालिका तथा चारवटै गाउँपालिकालाई स्थानीय आवश्यकता अनुसार कार्ययोजना तयार गरी कार्यान्वयनमा जुट्न आग्रह गरे ।

उनले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने भन्दै स्थानीय तहले तथ्याङ्क अद्यावधिक, शिक्षा योजना निर्माण, पूर्वाधार विकास, शिक्षक व्यवस्थापन र विद्यार्थी सहायता प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

अन्तरक्रियामा सहभागी वक्ताहरूले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

पोखरा महानगरपालिका सामाजिक विकास समितिका सदस्य श्रीकृष्ण लामिछाने, अन्नपूर्ण गाउँपालिकाका तुलसीप्रसाद अधिकारी, शिक्षक महासंघ कास्कीका अध्यक्ष भोलानाथ पौडेल, शिक्षा अभियन्ता डिल्लीराम पौडेल, पत्रकार यदुनाथ बञ्जरा तथा सामुदायिक सिकाइ केन्द्र हेम्जाकी अध्यक्ष गंगा त्रिपाठी लगायतले कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

वक्ताहरूले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै विद्यालय पूर्वाधार, छात्रवृत्ति, दिवा खाजा, समावेशी शिक्षा तथा अपाङ्गता भएका र सीमान्तकृत बालबालिकाका लागि विशेष सहयोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

इकाइ प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत बलराम भुगाईँले गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुत सुझावहरूलाई आगामी कार्ययोजनामा समेट्दै कास्की जिल्लामा अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21832, citypokhara.com

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बीच सञ्चालक समितिमा आजै स्वागत समेत गर्नुभएको छ ।

नवनियुक्त सञ्चालक भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ ।

पूर्व सचिव भट्टराईले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको काम गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गर्नुभएकी भट्टराईले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एण्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट नन्प्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गर्नुभएको छ ।

उहाँ हाल साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टको कार्यकारी सदस्य र प्रोफेसलन होल्डिङको स्वतन्त्र सञ्चालकका रूपमा हुनुहुन्छ ।

उहाँको आगमनसँगै बैंकको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व र दिगो विकासका लक्ष्यहरूलाई अझ परिष्कृत रूपमा अगाडि बढाउन मद्दत पुग्ने बैंकले विश्वास रहेको छ ।

स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कोलकत्तामा पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्दै नाट्टा गण्डकी

‎पोखरा । नाट्टा गण्डकी प्रदेशले भारतको कोलकत्तामा पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्ने भएको छ। ‎नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले यहि जेठ २८ गतेदेखि असार १ गतेसम्म भारतको पश्चिम बंगालस्थित कोलकत्तामा ‘पोखरा–नेपाल प्रमोसनल क्याम्पेन तथा बीटुबि सेल्स मिसन’ आयोजना गर्ने बुधबार आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएकाे छ।

संस्थाले पोखरा, गण्डकी प्रदेश तथा समग्र नेपालको पर्यटन प्रवर्द्धन, बजार विस्तार तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको हो।

‎नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले संस्थाले विगतदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनात्मक अवलोकन भ्रमण, सेल्स मिसन तथा विभिन्न अभियान सञ्चालन गर्दै आएको बताए । यसअघि भारतका पटना, वाराणसी, अयोध्या, गोरखपुर र सिलिगुडी लगायतका सहरमा सम्पन्न कार्यक्रमले भारतीय पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको दाबी गरिएको छ।

हाल राजनीतिक घटनाक्रम तथा प्राकृतिक विपद्का कारण पोखरा क्षेत्रको पर्यटन सुस्ताइरहेको अवस्थामा भारत र चीन प्रमुख स्रोत बजार भएकाले भारतीय बजारमा लक्षित प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिन लागिएको नाट्टाले जनाएको छ।

‎कोलकत्तामा हुने कार्यक्रममा नाट्टा गण्डकीका पदाधिकारी, पर्यटन व्यवसायी, पत्रकार तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूको सहभागिता रहनेछ। कार्यक्रममा पोखरा र नेपालको पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन, प्रवर्द्धनात्मक सामग्री वितरण तथा बीटुबि (B2B) अन्तरक्रिया गरिने अध्यक्ष दाहालले जानकारी दिए ।

‎त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्भावनाबारे सम्बन्धित निकायसँग छलफल गरिनेछ। साथै कोलकत्ताका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमणसमेत गरिने कार्यक्रम रहेको छ।

‎नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालको नेतृत्वमा २१ सदस्यीय टोली सहभागी हुने जनाएको छ। संस्थाले यस्ता अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक अभियानमार्फत पोखरा र नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रभावकारी रूपमा स्थापित गर्दै विदेशी पर्यटक आगमन वृद्धि गर्ने अपेक्षा गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21827, citypokhara.com

ठगी कसूरका प्रतिवादी पक्राउ

पोखरा । ठगी कसूरमा पक्राउ पुर्जी जारी भएका जितेन्द्र थापा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी थापा ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन्।

उनीविरुद्ध बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखरा–८, सृजनाचोकबाट पक्राउ गरेको हो।

पक्राउपछि थप अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21823, citypokhara.com

गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।

सिफारिसअनुसार गुरुङले आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। यसअघि उनी चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए।

गुरुङको कार्यकालका क्रममा उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो। पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्दै गुरुङलाई पुनः गृहमन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

त्यसैगरी, प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सिफारिस गरेका छन्। पुनले पनि आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21817, citypokhara.com

परामर्शमा विश्वास, सेवामा समर्पण: कस्मस एजुकेशनको १२औँ वर्षको यात्रा

पोखरा ।
वैदेशिक अध्ययनका लागि भरपर्दो शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कस्मस एजुकेशन नेटवर्क प्रा. लि. आफ्नो स्थापनाको १२औँ वर्षमा प्रवेश गरेको छ ।

विगत ११ वर्षदेखि विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न सहजीकरण गर्दै आएको संस्थाले वार्षिकोत्सवको अवसरमा सेवामूलक कार्यक्रम आयोजना गर्दै समाजप्रतिको उत्तरदायित्वसमेत निर्वाह गरेको छ ।

यस अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरूलाई भोजन गराएको छ ।

परामर्शमा विश्वास, सेवामा समर्पण: कस्मस एजुकेशनको १२औँ वर्षको यात्रा

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मान्यता प्राप्त यस संस्थाले स्थापनाकालदेखि नै विद्यार्थी तथा अभिभावकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

संस्थाका सञ्चालक कमल बरालका अनुसार कस्मस एजुकेशन नेटवर्कले UK, Australia, Canada, New Zealand तथा विभिन्न European मुलुकहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई विश्वसनीय र गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

​

यसैबीच, आगामी भर्ना सत्र (Upcoming Intake) का लागि UK, Australia, Canada, New Zealand तथा विभिन्न European देशहरूमा अध्ययनका लागि आवेदन दिन चाहने विद्यार्थीहरूका लागि आवेदन खुला गरिएको संस्थाले जनाएको छ ।

​वैदेशिक अध्ययनको तयारीमा रहेका तथा उचित मार्गदर्शनको खोजीमा रहेका विद्यार्थी एवं अभिभावकहरूले पोखराको चिप्लेढुङ्गा (मारवाडी भोजनालयको अगाडि, तेस्रो तल्ला) स्थित कस्मस एजुकेशन नेटवर्कको कार्यालयमा सिधै सम्पर्क गर्न वा फोन नम्बरहरू ०६१-५४३०१३, ९८५१००९०९२ तथा इमेल cosmosedu.net@gmail.com मार्फत थप जानकारी लिन सक्ने सञ्चालक बरालले बताए । विस्तृत जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट www.cosmosedu.com.np मा पनि हेर्न सकिने जनाइएको छ ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21806, citypokhara.com

दुर्गम बस्तीमा विशेषज्ञ चिकित्सक, ताकमका सयौँ नागरिकले पाए निःशुल्क उपचार

पोखरा । म्याग्दी जिल्लाबाट पोखरामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था “म्याग्दी–पोखरा चौतारी” को आयोजना तथा धवलागिरि गाउँपालिका–मुना को सहआयोजनामा, नेपाल चिकित्सक संघ गण्डकी प्रदेश र मेट्रोसिटी हस्पिटल, सृजनाचोक पोखरा को प्राविधिक सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमस्थित ताकम माध्यमिक विद्यालय प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

भौगोलिक रूपमा दुर्गम ग्रामीण क्षेत्रका नागरिकलाई सहज, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविरमा ताकमसहित धवलागिरि गाउँपालिकाका विभिन्न वडाका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा ४८६ जनाले स्वास्थ्य परीक्षण तथा १०० भन्दा बढी सेवाग्राहीले भिडियो एक्स–रे सेवा लिएका थिए।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भरत बहादुर खत्रीको नेतृत्वमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरेका थिए। शिविरमा हाडजोर्नी तथा नसा रोग, सामान्य चिकित्सा, स्त्रीरोग, नाक–कान–घाँटी, फिजियोथेरापी तथा भिडियो एक्स–रे लगायतका सेवाहरू प्रदान गरिएको थियो। विशेषज्ञ चिकित्सकहरूको सिफारिसअनुसार आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

शिविरमा सामान्य चिकित्सातर्फ डा. आयुषा कर्ण र डा. सुदीप कुमार सुवेदी, हाडजोर्नी तथा नसा रोगतर्फ वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भरत बहादुर खत्री (मेट्रोसिटी हस्पिटल, पोखरा) तथा डा. मदन सापकोटा (गण्डकी हस्पिटल), स्त्रीरोगतर्फ डा. सविन श्रेष्ठ र डा. मेरिना श्रेष्ठ, नाक–कान–घाँटी रोगतर्फ डा. अशोक कुमार महतो (मणिपाल हस्पिटल), फिजियोथेरापीतर्फ डा. शाहकृष्ण सुनुवार तथा भिडियो एक्स–रे सेवातर्फ डा. सुस्मित काफ्ले लगायत १७ जना चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो।

शिविरको समापन कार्यक्रम धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षता तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भरत बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष अशोक खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने म्याग्दी–पोखरा चौतारीका अध्यक्ष डा. मेखबहादुर खत्री तथा वरिष्ठ उपाध्यक्ष एवं स्वास्थ्य शिविर संयोजक गोपाल घिमिरेले संस्थाको स्थापना, उद्देश्य तथा स्वास्थ्य शिविरको महत्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

स्थापनाकालदेखि नै स्वास्थ्य शिविर, रक्तदान तथा विभिन्न सामाजिक सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको “म्याग्दी–पोखरा चौतारी” ले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रसँग सम्बन्धित जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिने म्याग्दी–पोखरा चौतारी का सदस्य हरि घिमिरेले जानकारी दिनुभयो।