Breaking News
मुकुन र लक्ष्मीको ‘बिच्छेद’ टिजर र पोस्टर सार्वजनिक

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ ।

यसअघि मुकुन र लक्ष्मीले चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन् । नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको निर्देशक सत्यराज चौलागाईंले बताए । यो चलचित्रका निर्माताहरू राज कुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन् । सह निर्माता प्रबिन राजथला हुन् ।

अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन् । गाउँले परिवेशमा आधारित रहेको यो चलचित्रको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ । मुकुन र लक्ष्मीका अलावा यस चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।

चलचित्रका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ भने एसडी योगी, सुनिता थेगिम, हृतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर रहेको छ । सुरेन बसेल कोरियोग्राफर हुन् । चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ शुभारम्भ

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो ।

‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।‘कान्तिपुर सिनेमाज्’मा दर्शकले सुरुवातमा ‘ज्याकी आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ फिल्म हेर्न सक्नेछन् । यस्तै, सिरिज ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ पनि हेर्न पाउनेछन् । सर्ट फिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ लगायत पनि एपमा उपलब्ध छन् ।

कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । ओलीले शुभकामना दिदै नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सुरु भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे । उनले भने–‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन । यसैले, यहाँ थुप्रै फिल्म चलेर पनि कलाकारहरुलाई जीवन जिउन गाह्रो छ । धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चलेपनि जिन्दगी बन्छ । तर, यहाँ दीपकराज गिरी जस्ता कलाकारहरुलाई अझै भोली के हुने हो भन्ने चिन्ता छ ।’ ओलीले यस्तो परिस्थितीको बिचमा सुरु भएको ‘कान्तिपुर सिनेमाज्’ले विश्वभर रहेका नेपालीहरुको मन जित्न सक्ने भन्दै शुभकामना दिएका थिए ।

कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए । पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिजहरू हेर्न पाउनुहुनेछ ।’ उनले अगाडि भने–‘संसारभर यस्ता खालका ओटीटी प्लेटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।’ उनले, यस्तै प्रकारको प्लेटफर्मको विकास आफूहरुले गर्न चाहेको पनि बताए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभर रहेका नेपाली सिनेमाका पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।
नेपाली सिनेमाको ओटीटी रिलिज गर्न पनि मेकर तयार हुने अवस्था सिर्जना गर्न ‘कान्तिपुर सिनेमाज’ सफल हुने उनको धारणा थियो । यसले विश्वभरका नेपालीलाई जोड्ने माध्यमको काम गर्ने भुवनको भनाई थियो । कार्यक्रममा बोल्दै हाँस्य कलाकार दीपकराज गिरीले ओटीटी प्लेटफर्म संचालन गर्नु भनेको एउटा ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे । सानो बजार रहेकाले कन्टेन्टको आवश्यकता हुने र नयाँ सिनेमा पाउनु र दर्शकलाई दिन सक्नु नै ओटीटीका लागि मुख्य चुनौती भएको गिरीको भनाई थियो ।

चलचित्र ‘चित्रा’को छायांकन ३० दिनमा सकियो

काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको चलचित्र ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । यो चलचित्रको प्रदर्शन मिति पनि तय गरिएकोछ । चलचित्रलाई माघे संक्रान्तीको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने चलचित्रका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिए ।

चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार चलचित्रले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ । चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द, महेश पौडेलको छायांकन छ । चलचित्रमा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

ओटिटीमा जारी चलचित्र

काठमाडौँ, ३० असोज । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप) प्रति सबैको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका छन् । नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् ।

आइफ्लिक्स र चलचित्र टिभीले भने सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप ‘सिनेमा घर’ले भने पछिल्लो समय दर्शक पाइरहेको त्यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । दर्शकको अपेक्षा बुझेर सब्सक्रिप्सनको सुविधा हटाइ चलचित्रअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाइएपछि एप निर्माताका लागि नयाँ आम्दानीको स्रोतसमेत बनेको छ ।

“पहिला चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र युट्युबमा राखिन्थ्यो । यद्यपि अहिले एपकै माध्यमले आम्दानी निर्माताले गरिरहेका छन् । पछिल्लो समय नयाँ चलचित्रले राम्रै मुनाफा दिइरहेको छ”, अध्यक्ष लामिछानेले भने, “यसले आगामी दिनमा निर्मातालाई झनै लाभान्वित गराउनाका साथै नयाँ मेकर्सलाई दर्शकसम्म पुग्ने अवसर सिर्जना गरेको छ ।”

उनले एपमा प्रदर्शन सुरू गरिएको जारी चलचित्रले सहजै दर्शक पाइरहेको जानकारी दिए । चलचित्र भवनमा रुचाइएको चलचित्रलाई एपमा पनि दर्शकको उस्तै साथ मिल्ने गरेको छ । “जारीले नयाँ दर्शकलाई समेत एपमा ल्याएको देखिएको छ । यसवर्ष हामीले कबड्डी–४, महापुरुषजस्ता चलचित्रमार्फत नयाँ दर्शकसम्म पुग्ने अवसर पायौँ । आउँदो समयमा ओटिटीले धेरै दर्शकसम्म नेपाली चलचित्र पु¥याउछ”, अध्यक्ष लामिछानेले भने । उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र जारीमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अङ्कित खड्कालगायत कलाकारले अभिनय गरेका छन् । रासस

इमान्दार शिक्षकको कथा ‘कौसीद’

काठमाडौँ, ३० असोज । केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ । यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ ।

संस्कृत भाषामा ‘कौसीद’को अर्थ बैंकबाट लिइएको ऋणसम्बन्धी हो । मधेसको मिथिलानगरी जनकपुरमा जन्मेर हुर्केका निर्देशक भाष्करले सिङ्गो नेपालको समास्यालाई चलचित्रको विषय बनाए । केही पुस्तकलाई मैथलीमा अनुवाद र केही छोटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक भाष्करको यो ठूलो पर्दाका लागि पहिलो काम हो ।

“मैले शिक्षकको समस्यालाई भोग्ने शिक्षक भेटेको थिएँ । छोरालाई उच्च शिक्षा पढाउनुपर्यो, छोरीको विवाह गराइदिनुपर्यो, घर बनाउनुपर्यो, यो बेला सम्झिने भनेको बैंक हो । तर यी सबमा एक इमान्दार शिक्षक एक्लो हुन्छ, त्यहीँ भोगाइ पर्दामा छ”, निर्देशक भाष्करले भने, “यसलाई मैले दुई वर्ष अगाडि नै लेखेर तयार गरेको थिएँ । अहिले यो समस्या सबैको आँखामा परेको छ । हामीले चलचित्रमार्फत आफ्नै समाजको मौलिक विषयलाई उठाउन खोजेका थियौँ ।”

चलचित्रले एक शिक्षकको कथा व्यक्त गरेको छ । इमान्दार शिक्षकको भूमिकामा भोलाराज सापकोटा छन् । उनको श्रीमती ऋचा शर्मा र एक छोरा र एक छोरी छन् । छोरीको जन्मदिन मनाउने क्रममा घरबेटीले भाडाको विषय किचलो गरेपछि शिक्षक परिवारको जोडबलमा ऋण गरेर भए पनि घर बनाउन सफल हुन्छन् । श्रीमती, छोराछोरीको रहर हुँदै गर्दा सालोले बैंकमा चिनजान भएकाले सस्तो ब्याजमा ऋण मिलाइदिने भनेपछि शिक्षक सहमत हुन्छन् ।

यद्यपि विद्यालयको तलबले घरघर्च टार्न नै धौधौ हुन्छ । इमान्दार भएकाले विद्यालयको विभिन्न निर्माणसम्बन्धी बोलपत्र, शिक्षक नियुक्तिका विषयमा उनले अनैतिक काम गर्दैनन् । यद्यपि बैंकको ब्याज तिर्न नसक्दा उनको नाम नै पत्रिकामार्फत खराब ऋणीको रूपमा प्रकाशित हुन्छ । त्यसपछि ती इमान्दार शिक्षकले के गर्छन् ? भन्ने विषयवस्तु नै चलचित्रमा देखाइएको छ ।

“यो कथाले आकर्षित गरेर मैले काम गरेको हुँ । यस्ता चलचित्र नेपालमा कमै बन्छन् र बनेकालाई एउटा कलाकारका हिसाबले हामीले हौसला दिनुपर्छ”, अभिनेता सापकोटाले भने । चलचित्रमा रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले समेत अभिनय गरेका छन् । रासस

राजेश पायल र रचनाको दशैं गीतमा आमेश र दिपिका (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसर पारेर दशैं गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायक राजेश पायल राई र गायिका रचना रिमालको स्वरमा दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘गरौँ रमाइलो’ बोलको गीतमा शब्द रचना बिष्णु भण्डारीको र संगीत बिशाल निरौलाको रहेको छ।

केहि दिन अघि मात्र गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको दशैं गीत निर्देशन गरेर सार्वजनिक गरेका निर्देशक कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन्। हिन्दुहरुको महान चाड दशैंको माहोलमा दशैं गीत सार्वजनिक गर्दा दर्शक श्रोतालाइ मनोरंजन संगै आफ्नो कला संस्कृतिको माया झनै बढ्ने निर्देशक पौडेलले बताए। लामो समय देखि परदेशमा बस्दै आएका बिष्णु भण्डारीले आफ्नो देश र चाड पर्वको सम्झनमा यो गीत निर्माण गरेको बताए।

आमेश भण्डारी र दिपिका थापा फिचर्ड भिडियोमा सुरेश काफ्लेको डिओपी,आरडी दुलालको छायांकन,बिष्णु खड्काको सम्पादन र कलर संयोजन रहेको छ। भिडियो साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनीक गरिएको छ।

भष्मे डनले आंचल संग सेल्फी खिच्न नपाएपछि पशुपतिमा लफडा (भिडियो)

काठमाडौं। आगामी शनिबार अर्थात् कार्तिक ४ गते फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘प्रिभ्यू’मा अभिनेता भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा छायांकन भैरहेका एक चलचित्रको सेटमा पुगेपछिको अवस्था चित्रण गरिएको छ ।

जहाँ अभिनेत्री आँचल शर्माले छायांकन गरिरहेकी हुन्छिन् । भष्मे डनले उनीसँग फोटो खिच्न चाहान्छ, तर प्रोडक्सनले उनलाई फोटो खिच्नबाट रोक्छन् । त्यसपछि भष्मेले आफ्ना केटाहरु बोलाएर छायांकनमा अवरोध गरेको देख्न सकिन्छ । यो सँगै प्रोडक्सन टिमले भष्मेलाई फकाउन सुटिङ अनुमति लिएको कागज पत्रदेखि सवै देखाएको दृश्यले दर्शकलाई उत्साहित बनाउँछ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल,रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

मोफसलका हलमा पुग्दै ‘परदेशी २’ टिम

काठमाडौँ। गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ टिम प्रदर्शनकै दिनदेखि काठमाडौं उपत्यकाका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिइरहेको छ । चलचित्र हेरिसकेका दर्शकले पनि यसलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएपछि कलाकारहरू अब भने मोफसल यात्रामा निस्किने भएका छन् ।

अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी पश्चिमका ठूला सहरका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने भएका हुन् । उनीहरूले दर्शकलाई भेट्ने, हलमा संगै बसेर चलचित्र हेर्नुका साथै चलचित्रलाई साथ दिएकोमा प्रत्यक्ष धन्यवाद समेत दिनेछन् । मोफसलका दर्शक भेट्नका लागि कलाकारहरू उत्साहित देखिएका छन् । आइतवार बेलुका भिडियो सन्देश सार्वजनिक गर्दै कलाकारहरूले देशभरबाट पाएको उत्साहजनक साथका लागि दर्शकप्रति आभार समेत प्रकट गरेका छन् ।

प्रकाश, केकी र वर्षा सोमवार चितवनका हलमा पुग्दैछन् । त्यहाँका दर्शक भेटेर प्रतिक्रिया लिनुका साथै उनीहरूलाई धन्यवाद दिएपछि कलाकारहरू बुटवलका हलमा पुग्नेछन् । त्यसपछि नेपालगञ्ज र पोखराका हलमा पुगेर कलाकारहरू काठमाडौं फर्किनेछन् । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई चलचित्रमा देखाइएको छ ।