Breaking News
मुन थकालीको ‘कदम कदम’ सार्वजनिक (भिडियो)

काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन्। गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ।

नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ। भिडियोको छायाँकन र सम्पादन पनि नितेश लामाले नै गरेका हुन्। जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियो उत्कृस्ट बनेको छ। भिडियो मुन थकालीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

निर्देशक सुवेदीको चलचित्र ‘सतीदेवी’ को पोस्टरको चर्चा सर्वत्र

काठमाडौं । सामाजीक कथानक चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको पोस्टरमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देखिएकी छिन । उनलाई गाउँलेहरुले लखेटिरहेका छन् ।

यसअघिका चलचित्र तथा म्युजीक भिडियोका कारण लभर गर्लका रुपमा परिचीत भएकी मलिकालाई ‘सतीदेवी’ बाट चरित्रमा डुबेर अभिनय गर्ने मिहिनेती अभिनेत्रीका रुपमा लिन थालिएको छ । फस्र्टलुकबाटै चर्चाको चुलिमा परेको ‘सतीदेवी’ को अगामी दिनका प्रचार सामाग्री,टिजर,टेलर तथा गीत कस्तो होलान् भनेर अहिले दर्शकमाझ कौतुहलता बढेको पाइएको छ ।
निर्देशक सुवेदीको चलचित्र ‘सतीदेवी’ को पोस्टरको चर्चा सर्वत्र
‘सतीदेवी’ को फस्र्टलुकको तारिफ गर्दै दीपकराज गिरी,रेखा थापा,पूजा शर्मा,केकी अधिकारी,बर्षा शिवाकोटी,सुरक्षा पन्त,गजीत बिष्ट,प्रताप दासलगायतका सेलिब्रेटीले फेसबुकमा शेयर गरेका छन् भने सरोज खनाल,स्वस्तिमा खड्का,पल शाह,बर्षा राउत,कुन्साङ बमजनलगायतले इस्टामा शेयर तथा शुभकामना ब्यक्त गरेका छन् । सार्वजनिक पोस्टरलाई अधिकाम्स चलचित्र पत्रकारहरुले पनि सामाजिक संजालमा शेयर गर्दै तारिफ गरेका छन्।

सार्वजनीक पोस्टरमा रातो कुर्थासुरुवाल लगाएकी अभिनेत्री मलिका भाग्दै गरेकी छिन् । मुहारमा कालो मोसो दलिएको मलिकाको घाटीमा जुत्ताको माला भिराइएको देखिन्छ । उनका आँखाबाट आँशु झर्नुका साथै मुहारमा पीडाको पहाड प्रष्ट देखिन्छ । गाउँले पृष्टिभूमि चित्रित पोस्टर हेर्दा मलिकाले सामाजीक बिद्रोह गरेको आँकलन गर्न सकिन्छ ।

एउटा पोस्टरबाटै प्रयाप्त कुतुहलता जगाउन सफल चलचित्रमा मलिकाको भूमिका के हो ? त्यो भने निर्देशक सुवेदीले खुलाएका छैनन । उनले पोस्टरमा यो फिल्म आफ्नी स्वर्गबासी आमा तेजकुमारी र बा भक्तिराम सुवेदीमा समर्पित गरेको उल्लेख गरेका छन् ।

पोस्टरको एक छेउमा–‘इश्वरका उपहार,सृष्टि चलाउछन्,हैनन् कर्महारा, छोरी बुझौं,छोरी पुजौँ,यिनै संसार सारा..’ भन्ने कवितात्मक भाव प्रस्तुत गरिएको छ । जसबाट ‘सतीदेवी’ छोरी प्रदान चलचित्र भएको स्पष्ट संकेत मिल्दछ । निर्देशक सुवेदीले चलचित्र बिसुद्ध सामाजीक कथामा बनेको दावी गर्दै आइरहेका छन् ।

दिलासा कृएसन प्रालिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्रको स्क्रिप्ट र गीत निर्देशक सुवेदी स्वयम्ले लेखेका हुन् । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् ।

मलिका शीर्ष भूमिकामा रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बाँनीया बालकलाकार अहम् भूमिकामा रहेको बताइन्छ । साथमा कुलदीप अधिकारी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,रमेश बुढाथोकी,भोला सापकोटा,सुजीता शिबाकोटी,सन्देश लिम्बू,मनिषा सापकोटा,बिमल श्रेष्ठ,इश्वरी सिंहलगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास,दीपा लामा,ममता गुरुङ र सवीन सुवेदीको स्वर छ । बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामीछाने र पाश्र्व संगीत सम्राट थापाको छ । कुनाल कँुवरको कलर ग्रेडिङ रहेको चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनीक गरिने बताइएको छ ।

रोहितको ‘फर्की फर्की’को शुभमुहुर्त,अनमोल र जसिताको जोडी पर्दामा

काठमाडौँ। रोहित अधिकारीको निर्माणमा बन्ने चलचित्र ‘फर्की फर्की’ को शुभसाइत सम्पन्न भएको छ । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने छ। चलचित्रको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ । यो चलचित्रलाई आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

चलचित्रलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन् । चलचित्रमा सुयोग गुरुङको निर्देशन रहनेछ । चलचित्रमा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् ।

चलचित्रमा अनमोल र जसिताको साथमा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ । यस्तै चलचित्रमा रवि काफ्ले र समृद्धी अर्यालले डेब्यू गर्दैछन् । चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहने छ । फिल्म ‘फर्की फर्की’मा प्रोडक्शन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । निर्माणपक्षले दिएको जानकारी अनुसार, चलचित्रको छायांकन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ ।

तेस्रो आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ। तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको थियो । शनिवार दिनभर चलेको महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् भने समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।

महोत्सवकै अवसर पारेर चौथो आइर्वाट लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई मन्त्रीको शर्माको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो । महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेट लामा चलचित्रहरूले सहभागिता जनाएको सो प्रतियोगितामा अनुष्का अर्यालद्वारा निर्देशित ‘सङ्कुल’ प्रथम भयो । त्यस्तै, अनिता स्याङबो निर्देशित ‘वर्थ’, श्रेयन राजभण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ‘नोटबुक’ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे ।

डेलिगेट्सको रूपमा महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रस्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बङ्गलादेशकी फिल्ममेकर, मानवअधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्ममेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापन वन्दना राणा, आइर्वाट नेपालकी पूर्व अध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार) प्रसुना डङ्गोल लगायतको उपस्थिति रहेको थियो । महोत्सवमा भएको ‘प्यानल डिस्कसन’मा डेलिगेट्सहरूको सहभागिता थियो ।

महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । कम्बोडियाको ‘सेक्रेट किलर’, ट्युनिसियाको ‘द नाइट अफ द ब्लाईन्ड मुन’, तान्जानियाको ‘मुहाली’, किर्गिस्तानको ‘सागा अन ओमेन’ लगायतका चलचित्रहरूको प्रदर्शन भएको थियो ।

कार्यक्रमको उद्घाटनको क्रममा उपसभामुख राना मगरले फिल्ममेकरले उठान गरेका हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्ने बताइन् । केही चलचित्र हेरेपछि सम्बोधनको क्रममा उनले भनिन्, “हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्छन् । लैङ्गिक हिंसा महिलालाई मात्र नभई पुरुषलाई पनि हुन्छ भन्ने चलचित्र हेर्न पाइयो । नेपालमा हामीले यस विषयमा बहस समेत सुरु गर्न सकेका छैनौँ ।” मगरले भूकम्प र कोभिडको समयमा महिलामाथि भएका हिंसाका थुप्रै घटनाहरूलाई चलचित्र मार्फत देखाउन आग्रह गरिन् । उनले थपिन्, “महामारीका बेला महिलाहरूमाथि थुप्रै हिंसाहरू भए । ती हिंसाका घटनाहरूलाई चलचित्र मार्फत बाहिर ल्याउन जरुरी छ । हामीले देखाउने धेरै कथाहरूले हाम्रो समाज परिवर्तन गर्न सक्छन् ।”

कार्यक्रमको समापन समारोहमा मन्त्री शर्माले समाज परिवर्तनमा महिला चलचित्रकर्मीहरूको प्रयासलाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, “हामीले अहिले विभिन्न क्षेत्रमा महिला सशक्तीकरणका अभ्यासहरू भइरहेको देखेका छौँ । चलचित्र क्षेत्रमा समाजलाई सन्देश दिने ढङ्गले जसरी महिला चलचित्रकर्मीहरूले जुन प्रयत्न गरिरहनुभएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । यो कामले निरन्तरता पाउन सकोस् ।” शर्माले समाजका विभिन्न कामहरूमा महिलाले आफ्नो पुरै जीवन कसरी त्याग गर्न सक्छन् भन्ने चलचित्रहरू पनि हेर्न पाएको बताइन् । उनले थपिन्, “महिलालाई किन धर्ती भनिएको हो भन्ने अर्थ यी चलचित्रमा पाइन्छ । यो महोत्सवमा देखाइएका सबै चलचित्रहरू एकदमै प्रेरणादायी छन् ।” साथै शर्माले सरकारले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिने खालका योजनाहरूमा काम गरिरहेको बताइन् ।

महोत्सवमा काठमाडौँ महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए । एक भिडियो सन्देशमार्फत महानगरपालिकाकी उप प्रमुख सुनिता डङ्गोलले यो चलचित्र महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताइन् । उनले भनिन्, “यस महोत्सवले धेरै भन्दा धेरै महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिनेछ । नयाँ पुस्ताका चलचित्रकर्मीहरूलाई पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य बनाउने आशा दिनेछ । त्यति मात्र नभएर धेरैलाई प्रोत्साहन र अवसर सँगसँगै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा आशा लिएका छौँ ।”

रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो । नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गरिएको फेस्टिभल निर्देशक सङ्गीता श्रेष्ठले बताइन् । आइवार्टले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरेको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् ।