Breaking News
प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा

काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दि चलचित्र ‘ऐरी’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो ।

‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो भिडियोले सिनेमाको कथा बाघको सिकारको सेरोफेरोमा बन्ने संकेत गरेको छ ।

हिन्दीको अलावा दक्षिण भारतीय भाषाहरूमा समेत डबिङ हुने चलचित्र जीवन थापाले निर्देशन गर्न लागेका हुन् । सुवास काले, प्रसान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माणमा चलचित्र बन्न लागेको हो । आगामी वर्ष रिलिज हुने चलचित्र बिग बजेटमा तयार हुने बताइएको छ।

अर्पण बने ‘रङ्गेली’ मा भगवान् दादा

काठमाडौँ। नेपाली चलचित्र ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो ।

‘रङ्गेली’मा थापाले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ र मिरुनाको प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यो चलचित्र आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।

रंगकर्मी विमललाई थाईल्याण्डमा क्रियटिभ डिरेक्टरको अवार्ड

काठमाडौँ। रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड मा मोस्ट क्रियटिभ डिर्क्टरको अवार्ड प्राप्त गरेका छन् । इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाईल्याण्डको संस्थाले आयोजना गरेको यस अवार्डका लागि संसारभरका ३० बढी देशबाट ८९७० दाबेदार थिए । यी सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पारेका हुन् । केन्याका राजदूतश्री लिन्ड्से किमवलकिपतिनेस र मंगोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रुपमा विमल सुवेदीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

विमलले यसघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र गत वर्ष मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरेका थिए । यसबाहेक उनका कामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विभिन्न अवार्डहरु हात पारिसकेका छन् । अभिनयबाट आफ्नो यात्रा सुरु गरेका विमल सुवेदी, नाट्य निर्देशनमा अत्यन्त सफल निर्देशक मानिन्छन् ।

दिल्लीको नेसनल स्कुल अफ ड्रामाका ग्रयाजुएट विमल राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा परिचित नाम हो । उनको लेखन तथा निर्देशन रहेका नाटक २५ भन्दा बढी देशका मञ्चमा प्रस्तुत भइसकेका छन् । उनले विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयतथा संघ संस्थाहरुसँग सहकार्य गरिसकेका छन् । विमल सुवेदी थिएटर भिलेज नेपालका फाउण्डर तथा निर्देशक पनि हुन् । थिएटर भिलेज नेपालमा नयाँ शैलीका नाटक मञ्चन गर्ने समूहको रुपमा स्थापित छ । ।
विमलका नाटकमा मनोरञ्जनभन्दापनि सामाजिक अवस्था, राजनीति सिमान्तकृत आवाज तथा समसायिक कुराहरुको मिश्रण पाइन्छ । यही कारण उनका नाटक देशसँगै विदेशका मञ्चमा पनि प्रशंसित छन् ।

२०१३मा विमलले थाईल्याण्डमा, ४ हजार भन्दा बढीको संख्यामा रहेका महिला कैदीलाई थाइल्याण्डकै केन्द्रीय जेल भित्रै थिएटर फर रिह्याविलिटेशन वर्कशप गरेका थिए । जसले उनीहरुमाथि परिवर्तनकारी काम गरेको थियो र यसको थाइल्यान्डको प्रेसले पनि प्रशंसा गरेको थियो । विमलका यस्ता धेरै कामहरु र उनका २० वर्ष लामो योगदानको कदर गर्दै थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत, मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्राप्त गरेका हुन् ।
कार्यक्रम, थाइल्यान्डको राजधानी नजिकै, पातुमथानीमा यही मंसिर ९ गते शनिवार सम्पन्न भएको थियो ।

घनश्याम लामिछानेको चलचित्र ‘चित्रा’ को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘चित्रा’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, फिल्मको दोश्रो पोष्टरमा फिल्मका मुख्य तीन अभिनेत्रीहरु शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईलीसँगै अभिनेताहरु अर्पण, प्रमोद र सन्तोषलाई देख्न सकिन्छ ।

पोस्टरमा शुभेक्षा र अन्जना मुस्कुराइरहेका छन् भने सन्तोष, अर्पण, प्रमोद र मेनुका गम्भीर भावमा छन् । यस्तै तेश्रो पोस्टरमा मुख्य अभिनेता सन्तोषले फिल्ममा छोरी बनेकी बाल कलाकार आयुशीलाई पिठ्यूमा बोकेका छन् भने अभिनेत्री सिम्रन खड्का मुस्कुराइरहेको देख्न सकिन्छ । बाबुछोरीको कथा प्रस्तुत गरिएको पारिवारिक फिल्मका यी पोस्टरले फिल्मका अभिनेत्री मध्ये ‘चित्रा’ आखिर को हुन् त ? भन्ने कौतुहलता उत्पन्न गराउँछ ।

ग्रे र कलरफुल थिममा तयार पारिएका यी पोस्टरले सम्बन्ध र तीनका आयातनको कथा दर्शकलाई पस्किने सहज अनुमान गर्न सकिन्छ । ‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अन्जना, सिम्रन, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाँजा’ बनाएपछि प्रशंसा बटुलेका थिए । यसैले, ‘चित्रा’ उनका लागि चुनौतीपूर्ण छ ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ ।महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् । फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।

शंकर घिमिरेको ‘तेल भिसा’ मा विपिन र वर्षा

काठमाडौँ। शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘तेल भिसा’ मा कलाकार फाइनल भएका छन् । कलाकारसँगै चलचित्रले प्रदर्शन मिति समेत घोषणा गरेको छ। चलचित्रमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ ।
विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं सिनेमाका निर्माता हुन्।

चलचित्र नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ। सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको चलचित्र चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ। ‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुशन प्रजापतीले खिच्ने चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।

चलचित्र ‘दुई कदम’ को ‘ए मेरा बाबैनी’ सार्वजनिक

काठमाडौँ। मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुलाई फिचर्ड छन् ।

चलचित्रको सार्वजनिक गीतमा आशिष अविरलको संगीत तथा स्वर निरुषा भट्टराईको शब्द रचना सँगै स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

उदय सुब्बा निर्देशित चलचित्रमा इवोन लिम्बु,सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ। दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गमा

काठमाडौँ। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गको ११ नम्बरमा उक्लिएको छ । शुक्रवार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको थियो। चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । चलचित्रले १७ लाख दर्शक पाई सकेको छ।

महेश दवाडीले लेखेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’लाई सौरभ लामाले खिचेका हुन् । एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रलाई अमित बस्नेत, अजित कुमार थापा र परी राना मिलेर बनाएका हुन् । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनयमा डेब्यू गरेका हुन् । चलचित्रमा सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल, मरिस्का पोखरेल लगायतको अभिनय छ ।

नयाँ स्वाद दिने चलचित्र ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?

काठमाडौं। फरक स्वाद दिने नेपाली चलचित्र हेर्ने चाहाना राख्ने दर्शकहरु नेपालमा विस्तारै बढिरहेको छ । त्यस्तै यस्ता खाले सिनेमा निर्माणको क्रममा पनि जारी छ । यसै क्रममा नयाँ चलचित्र ‘जम्प’ निर्माण भएको छ। डेब्यू निर्देशक आशुतोषध्वज कार्कीले यस्तै ‘जम्प’ लिएर आएका छन् । चलचित्र मंसिर २९ गते प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा कार्कीले पहिलो ट्रेलर सार्वजनिक गरेको दुई सातापछि चलचित्रको फाइनल ट्रेलर सार्वजनिक गरेका छन् ।

सार्वजनिक ट्रेलरमा मुख्यपात्रको वास्तविक जीवन बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत गरिएको छ । सिनेमाले आशिष जो पेसाले एथ्लेटिक्सका खेलाडी हुन्, उनले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा पेस गर्छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।

क्रिएटिभ माकुरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री। अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको प्रमुख अभिनय रहेको छ । चलचित्रको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्रलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।